बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९९ वर्षिय खड्गबहादुर थापा लौरी टेकेर जिल्ला सदरमुकाम बेनी तिर जादै हुनुहुन्थ्यो र उहाँको साथमा उहाँकी पत्नी खिरकुमारी पनि सँगै । एक सय टेक्नै लागेका खड्ग र ८४ वर्षिय खिरकुमारी बेनी नगरपालिकाले प्राइम कमर्सियल बैंकको खातामा डिपोजिट गरिदिएको सामाजिक सुरक्षा भत्ता निकाल्नका लागि जानुभएको थियो ।

भनिन्छ नि ‘हुने हार, दैव नटार’ यो उखान उहाँहरुको जीवनमा ठ्याक्कै मिलेको भन्नुहुन्छ थापा दम्पतिका छिमेकी ध्रुवसागर शर्मा । बुढेसकालको शरिरले आराम खोज्छ तर बिहान बेलुकीको खर्च जुटाउन र आगो बाल्नका लािग दाउराका झिँजा बटुल्दै दिन कटाउन विताउने गर्नुभएको उहाँको भनाई छ । छिमेकीहरू सुनाउनुहुन्छ ‘सुखको क्षणिक अनुभवसम्म गर्न नपाउनुभएका थापा र उहाँकी श्रीमतीका जीवन दुःखैदुःखको भुमरीमा घुम्दाघुम्दै वितिरहेको ।’

दुःख र पिडा जति सुकै भए पनि सधैभरी हसिंलो देखिने थापाको मन भित्र रहेको दुःखको सुनामी कहिल्यै बाहिर हामीले देख्न पाएनौं –शर्माले सुनाउनुभयो । जस्तो सकुै अवस्थाहरु आएपनि भोगेरैसहेरै जीवनका खुड्कीलाहरु पार गर्दै एक शतक छुनै लाग्नु भएका उहाँले हाल सम्म अहिले भर्खरका पुस्तादेखि आफ्नै उमेर सम्मकाले पनि दर्शाउन सक्ने माया र अपहेलना दुवै थापा बताउनुहुन्छ ।

जीन्दगीका अहिले सम्मको समय बिताउँदै जाँदा उहाँले भोगेको तितो अनुभव थापा यसरी सुनाउनुहुन्छ– ‘मान्छे सबै स्वार्थी नै हुन्छन् तर, सबैभन्दा स्वार्थी मान्छे सम्पत्ति उपभोग गर्नेहरु नै हुँदारहेछन् ।’ उहाँ थप्नुहुन्छ ‘मेरो सबै थिए, धन सम्पत्ति पनि थियो, तर अहिले असहाय बनेर गाउँलेहरुको दया मायामा पालिएको छु ।’

४२ वर्ष अघि छोरा मीनबहादुर थापाको युवा अवस्थामा नै मृत्यु भए पछि श्रीमती खिरकुमारीसँग आफन्तको सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्ना कोही छैनन् । थापा दम्पत्तिका बोल्न सुन्न नसक्ने एउटी छोरीको बेनी नगरपालिका–३ तोराखेत बिबाह भएको छ । देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहारा बिना हिड्न सक्नुहुन्न ।

गाउँ यताउता घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही जे पाइन्छ ल्याएर खाने गर्नुहुन्छ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस ।

आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा निकै समस्या पर्ने गरेको उहाँका अर्का छिमेकी टेकबहादुर कार्कीको भनाई छ । सय वर्ष पुग्नै लाग्नु भएका थापाले भन्नुहुन्छ–‘मर्दिन बाबु म सानोतिने रोगले मर्दिन, एक सय १० वर्षसम्म बाँच्छु, बरु भोकले मरुँला रोगले मलाई लैजादैन ।’

थापा दम्पतिले बिहानै उठेर धारामा नुहाएर निधारमा चन्दन लगाए पश्चात दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्नुहुन्छ । ९ बजेतिर खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणी शर्माले बताउनुभयो ।

‘लिएर आएको कर्म नभोगि सुखै हुँदोरहेनछ’ थापाले भन्नुभयो ‘सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्पत्ति खाने मान्छेले फर्केर पनि हेर्दैन् ।’ ठिकै छ मलाई ज्योतिषिले एकसय १० वर्षसम्मको आयु रहेको बताउनुभएको छ म सानोतिने रोगले मर्दिन, एक सय १० वर्षसम्म बाँच्छु, बरु भोकै मरुँला रोगले मलाई लान्न उहाँले भन्नुभयो ।

“बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” थापाले भन्नुभयो, “सहारा दिने मान्छे नभए पछि आफ्नै जीवन आफैलाई बोझ हुँदोरहेछ ।”

सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका संघसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । आफूले दुःख पाएर पनि अरुलाई दुःख दिन नचाहने थापा दम्पत्ति गाउँमा सबैका प्यारा भएर बसेका छन् ।

कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरुले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् । यता बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरभित्रका सबै वडामा भत्ता वितरण गरिएको बताउनुभयो । उहाँले दिर्घरोगीहरूले भत्ताभन्दा र्दिघरोगी सुविधा बावत मासिक ५ हजार बुझ्ने ५२ जनालाई सिधै खातामा पठाउने गरिएको र अन्यलाई वडा कार्यालयबाट वितरण गरिने बताउनुभयो ।

‘भत्ता वितरणमा देखिएको गुनासो धेरै हटेको छ,‘केही गुनासोहरु वित्तिय संस्थाका प्रतिनिधिलाई बोलाएर छलफल गर्छु, बृद्धबृद्धालाई सकेसम्म घरमै उपलब्ध गराउने वातावरण बनाउँछु’ मेयर केसीले भन्नुभयो । म्याग्दीको रघुगंंगा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभु बैंकले समयमै भत्ता उपलब्ध नगराएको भन्दै पालिकाका प्रबक्ता मनकुमार शेरपुञ्जाले सामाजिक सञ्जालमार्फत गुनासो गरेपछि बल्ल पठाइएको थियो । भत्ता वितरण

 

Leave a Reply