बिहान उठेपछि बारीमा पुगेर किबी खेती हेर्नु, चराचुरुङ्गी धपाउनु र किबीको स्याहारसुसार गर्नु एक किसानको दैनिकी हो। किबीलाई समय समयमा गोडमेल, सिचाइँ, मलमुत्रको व्यवस्थापन पनि गर्नुपर्दछ । यसका साथै व्यावसायिक रुपमा कृषि खेती गरेका किसानहरुले नगदेबालीको विशेष हेरचाह गर्ने गर्दछन् ।

यही किबी खेतीको व्यावसायिक उत्पादनमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली मुसुङका किसान लालबहादुर घर्ती हिजोआज किबी खेतीको स्याहारसुसारमा निकै व्यस्त हुनुहुन्छ । उहाँले विदेशका विभिन्न मुलुकमा पुगेर रोजगारी गरेर गाउँ फर्किएपछि तीनवर्ष अघिदेखि किबी खेती सुरु गर्नुभएको थियो ।

उहाँले १० वर्ष ओमान र ३ वर्ष साउदीअरब बसेर घर फर्किएर स्याउ र किबी खेती लगाउनुभएको हो । विदेशबाट फर्किएको सुरुमा ५० बोट स्याउ खेती गर्नुभएका कृषक घर्तीले स्याउबाट भने जस्तो उत्पादन नभएपछि किबी खेती गरेको जानकारी दिनुभयो । उहाँले तत्कालीन कृषि विकास कार्यालय म्याग्दीबाट अनुदानमा स्याउका विरुवा लगेर लगाए पनि स्याउले खासै उत्पादन दिन सकेन ।

गाउँका अरु किसान साथीभाइले स्याउ लगाएको देखेपछि आफूले पनि स्याउ खेती गरेको उहाँको भनाइ छ । तर विदेशबाट फर्किएलगत्तै गरेको स्याउ खेतीबाट पनि प्रतिफल राम्रो आएन । वि.सं. २०५१ सालमा ओमान जानुभएका किसान घर्ती १० वर्षसम्म त्यहाँ बसेपछि २०६१ सालमा घर फर्किनुभएको थियो ।त्यसपछि ३ वर्ष साउदीअरब जानुभयो र फर्किएर पुनः ओमान जानुभयो । ओमानमा कार्पेन्टर काम गर्ने भनेर गएको भए पनि कम्पनीले कहिले उँट त कहिल भेडा चराउन जङ्गल पठायो ।

उहाँले ओमानमा एक महिना उँट र भेडा चराएपछि कम्पनीको काम गर्न मन लागेन अनि आफ्नै खर्चमा टिकट काटेर घर फर्किनुभयो । धेरै धन कमाउने लोभमा पुनः ओमान गएर पनि एक महिनामै घर फर्किनु परेपछि व्यावसायिक रुपमा फलफूल खेतीतर्फ आफू आकर्षित भएको घर्ती बताउनुहुन्छ । उहाँले सुरुमा स्याउ खेती गर्नुभयो, त्यसपछि किबी ।

कृषि विकास कार्यालयबाट स्याउका विरुवा ल्याएर लगाएको तर उत्पादन राम्रो नभएपछि २०७६ सालमा किबी खेती सुरु गरेको घतीले जानकारी दिनुभयो । उहाँले भकिम्ली वडा कार्यालयबाट अनुदानमा किबीका १ सय ५० बोट र कृषि ज्ञान केन्द्रबाट एकलाख ५० हजार रुपैयाँको अनुदान सहयोग पाएपछि व्यावसायिक किबी खेती गरेको बताउनुभयो । उहाँको अहिले ७ रोपनीको बारीमा कोदोसँगै किबी लटरम्मै फलेको छ ।

किसान घर्तीका अनुसार स्याउ र किबी खेतीका लागि हालसम्म पाँचलाख रुपैयाँभन्दा बढी लगानी भएको छ । उहाँले मनोज पशुपन्छी तथा जडिबुटी कृषि फर्म दर्ता गरेर सोही फर्ममार्फत फलफूल खेती गरिरहनुभएको छ । किबीसँगै किसान घर्तीले डिभिजन वन कार्यालय म्याग्दीको अनुदान सहयोगमा १ सय ५० बोट टिम्मुरका विरुवा पनि लगाउनुभएको छ । कोदोसँगै किबी लगाउनुभएका घर्तीले बारीको छेउछाउ र बारमा टिम्मुर खेती लगाएको बताउनुभयो ।

मुसुङमा उत्पादित किबी बोटबाटै प्रतिकेजी दुईसय पचास रुपैयाँको दरमा बिक्री हुने गरेको छ । गत वर्षदेखि उत्पादन दिन सुरु भएको किबी म्याग्दी सदरमुकाम बेनीबजार हुँदै बागलुङ, पर्वतको कुश्मा र पोखराको बजारसम्म पुग्ने गर्दछ । भकिम्लीको मुसुङसहित सिम, भुकभुके, छापलगायत स्थानका किसानहरुले व्यावसायिक रुपमा किबी खेती गर्दै आएका छन् ।

स्वास्थ्यका हिसाबले निकै पोषिलो मानिने किबी फल धेरै फल्नुका साथै उत्पादन गर्न सहज हुने भएकाले यसले बजार पनि सजिलै पाउँछ । यसको फल अण्डा आकारको खैरो रङको मसिनो झुसले ढाकेको हुन्छ ।

लहरामा फल्ने किबी हरेक वर्ष फागुन चैतमा पूmल फुल्ने र कात्तिक, मंसिरमा पाकेपछि टिप्ने गरिन्छ । किबीमा भिटामिन सी, इ, के र अन्य खनिज पदार्थहरु पाइने कृषि प्राविधिकहरु बताउँछन् । समुन्द्री सतहको एक हजार मिटरदेखि २५ सय मिटरको उचाइसम्म किबी खेती हुने गरेको छ ।

हिमाली जिल्ला म्याग्दीमा पछिल्लोपटक व्यावसायिक रुपमा किबी खेती लगाउने किसानहरुको सङ्ख्या बढ्दै जान थालेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा नगदेबाली किबीलगायत फलफूलहरुको उत्पादन हुने गर्दछ ।फलफूल खेतीमध्ये उत्कृष्ट मानिने किबी खाँदा निकै स्वादिलो र रसिलो हुने भएकाले यसको माग बजारमा उच्च रहेको छ । ।

Leave a Reply