राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् नेपाली वैज्ञानिक महावीर पुन मंगलबार गृह जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा आफ्नो जिवन कथा’नामक पुस्तक बेच्दै थिए । पैदल हिडेर बजारका चोक र गल्लीमा पुगेका महाविरको किताब किन्नेको घुईचो थियो ।

जनप्रतिनिधि,ब्यापारी, सरकारी कर्मचारी, सुरक्षाकर्मीदेखि बाटोमा हिड्दै गरेका बटुवालाई आफ्नै हस्ताक्षर गरेको किताब बिक्री गरिरहेका महाबीरले यूवापुस्तालाई स्वदेशमै रोजगारीको सन्देश दिने र उत्पादनमुखी क्षेत्रमा आर्कषित गर्ने सन्देश सहित पूर्व–पश्चिम यात्रामा निस्किएको बताए । नेपालमा रोजगारी नभएको भन्दै दैनिकजसो यूवाहरू पलायन हुन थालेको अवस्थामा यूवाजनशक्तीलाई बाहिर जान नदिने उद्देश्यले नै किताब प्रकाशन आफ्नै हातले बिक्री गर्न हिडेको बताए ।

पुनले संघीय र प्रदेश सरकारले आफूसंग गरेका सहमति कार्यान्वायनमा इमान्दारीता नदेखाएको दुखेसो समेत गरे ।अनुसन्धान, अन्वेषण र आविष्कारका क्षेत्रमा सरकारले दिने भनेको सहयोगलाई ऐन र विभिन्न झमेलाबाट वाक्क भएपछि किताब बेचेर आएको सम्पूर्ण पैसा वीरगंजको कृषि औजार कारखाना संचालनमा खर्च गरिने राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

म्याग्दी र पर्वत क्षेत्रमा महाबीरको किताब बिक्रीमा सहयोग गरिरहेका प्रतिनिधि चित्र तिलिजाले म्याग्दीको सदरमुकाम बेनीमा उत्साहजनक बिक्री भएको बताए । उनले आफ्नै जिल्लामा आएका महाबीरलाई पहिलोपटक भेट्ने यूवाहरुले समेत पुस्तक किनेको बताए । पर्वत जिल्लामा करिब डेढ सय किताब बिक्री भएको छ भने म्याग्दीमा ३ सयको हाराहारीमा बिक्री हुने प्रतिनिधि तिलिजाले बताए।

नेपाली बैज्ञानिक नै सडकमा आफ्नो जिवनी बिक्री गदैं हिड्नुपर्ने अवस्था देखेर दुख लागेको लायन्स क्लव अफ बेनी लभ्लीहिलका अध्यक्ष नेत्रराज सुबेदीले बताए । ‘बैज्ञानिक नै सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गरी सरकारले सहयोग गर्नुपर्छ,उहाँको सीपलाई प्रयोग गर्न सरकारी निकायबाट भइरहेको बेवास्ताले नै यूवापुस्ता पलायनको बाटो बनेको छ’ यूवा सुबेदीले भने ।

सदरमुकाम बेनीमा किताब खरिद गर्ने अधिकांसले आविष्कारको क्षेत्रमा खटिएका एक बैज्ञानिकलाई किताब बिक्री गरी कारखानामा खर्च गर्नुपर्ने बाध्यता बनाएको भन्दै सरकारी संयन्त्रको आलोचना गरेका थिए ।

राजनीतिक भर्ती, अनावश्यक सहयोग तथा उपचारका नाममा ठूला नेताहरुले बर्षेनी करोडौं खर्चिने गरेको अवस्थामा आविष्कार केन्द्रलाई बजेट नदिएर राज्यका निकायले गम्भीर गल्ती गरेको म्याग्देलीको भनाई छ । गण्डकी प्रदेशले गण्डकी रत्नबाट विभूषित गरेपनि महाबीरको आविष्कारको क्षेत्रमा भने बजेट खर्चिन हिच्किचाइरहेको छ ।

रामोन म्यागासेसे’ पुरस्कार सहित विभिन्न अन्तराष्ट्रिय सम्मान पाइसकेका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नागी गाउँमा जन्मिएका हुन् । सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेका हुन् ।

उनले स्नातकोत्तर पूरा गरेपछि २४ वर्षपछि जन्म गाउँ फर्किएर कम्प्युटर शिक्षा र आय स्रोत वृद्धिलाई ध्यानमा राखी आफ्ना योजना अगाडि बढाएका थिए।सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफा रहित संस्था ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरेर प्रविधिको खोजी र अनुसन्धानमा तल्लीन रहँदै आएका छन्। नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्वपूर्ण योगदान वापत पुनले दर्जनौ सम्मान पाइसकेका छन् ।

Leave a Reply