माघको कठ्याङ्ग्रिने चिसो मौसम । दुईदिन अघिको हल्का वर्षा र हिमपातले चिसो ह्वात्तै बढेको छ । खेत र बारीमा पहेँलपुर तोरी फुलिरहेको छ । तोरीको फुलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन् । बारीको छेउकुना तथा सडकको दायाँ र बायाँ भने मानिसहरु भुलिरहेका छन् ।

उत्तरतर्फ फर्किने हो भने मनोरम हिमश्रृङ्खला ठ्वाक्कै देखिन्छ । पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा पहेँलै तोरी फुलेको छ । गाउँको बीचमा कालोपत्रे गरिएको चिल्लो सडकको दायाँ र बायाँ भू–भागमा परम्परागत तथा आधुनिक घरहरु बनेका छन् । तोरी फूलेर पहेँलै बनेको रत्नेचौरको भ्रमणमा नपुगेका सायद कमै होलान् । समुन्द्री सतहदेखि ७ सय ९२ मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–१ नम्बर वडामा पर्ने रत्नेचौर गाउँ अहिले तोरी फुलेपछि पहेँलपुर बनेको छ ।

बेनी–बागलुुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरका खेत र बारीमा तोरी फूलेर पहेँलै भएको छ भने गहुँ, केराउ र आलुले हरियाली छाएको छ । खेत, बारीमा लगाएको तोरी फुलेर रत्नेचौर गाउँ नै यतिबेला पहेँलपुर बनेको छ भन्दा फरक पर्दैन ।

तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि रत्नेचौर निकै सुन्दर, आकर्षक र मनमोहक देखिएको छ । रत्नेचौरबाट संसारको सातौं अग्लो ८ हजार १ सय ६७ मिटर उचाइको चुचुरो धौलागिरी हिमाल देखिन्छ ।

तोरी फूलेर पहेँलै बनेको रत्नेचौरमा खेतको बीचमा रहेको सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले आकर्षण थपेको छ ।

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली हुँदै बराङ्जा पुग्ने सडकखण्डको १८ सय मिटर सडकमा पूर्व सांसद भूपेन्द्रबहादुर थापाको पहलमा आर्थिक वर्ष २०७५÷०७६ मा चार करोडको बजेटबाट कालोपत्रे र ढलान गरिएको थियो ।

अहिले तोरी फूलेर पहेँलपुर बनेपछि रत्नेचौरको तोरी बारीमा पुगेर फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरुको भीड बढ्दै जान थालेको छ ।

म्याग्दीसहित पर्वत, बागलुङ, भैरहवा, चितवन, काठमाडौं र इन्डियाबाट समेत पर्यटकहरु आएर तोरीबारीमा रमाउने गरेको भानु माध्यमिक विद्यालय रत्नेचौरका निवर्तमान प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो । विगतभन्दा पछिल्लो वर्षमा रत्नेचौरमा पर्यटकको चहलपहल बढेको बताउँदै उहाँले भन्नुभयो, ‘रत्नेचौर म्याग्दीको तराई भनेर चिनिन्छ ।

 

 

 

यहाँ अन्नको भण्डार र मलिलो जग्गा छ । त्यसपछि अहिले तत्काल बनेको यो भाइरल रोडको कारणले र दुईतिर तोरी र बीचमा रोड बनेको छ । धौलागिरि हिमाल पनि यहाँबाट प्रत्यक्ष सिधै देखिने भएको कारणले र मनमोहक दृश्यको कारण पनि मानिसहरु अलिकति यो वर्ष विगतको वर्ष भन्दा अझ धेरै आइरहेको अवस्था देखिन्छ ।

 

प्रायजसो शुक्रवार, शनिवार र विदाको दिनमा धेरै पर्यटकहरु रत्नेचौरको तोरी बारीमा फोटो खिच्न र रमाउन आउने गरेको स्थानीयवासी बताउँछन् । फराकिलो र सम्म परेको फाँट, रत्नेचौर–कुडुँले जोड्ने नवनिर्मित झोलुङ्गे पुल, खुलाचौर, खाने, बस्ने ठाउँ तथा पहेँलपुर तोरी फुलेका कारण धेरै पर्यटकहरु रत्नेचौरमा घुम्न जान्छन् । यसका साथै रत्नेचौरमा मगर समुदायको पोशाक लगाएर फोटो, भिडियो खिचेर रमाउन समेत पाइने भएपछि आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै गएको पाइन्छ ।

रत्नेचौरको तोरी बारीमा विदाको दिन र शनिबार करिब ५ सयजना पर्यटकहरु पुग्ने गरेको अनुमान गरिएको छ । पर्यटकहरु रत्नेचौरको भ्रमण गर्न मोटरसाईकल, स्कुटर, ट्याक्सी, जिप र स्कारपिओमा जाने गरेका छन् । तोरी फूलेपछि स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु रत्नेचौर पुगेर तोरी बारीमा मज्जाले रमाउनुका साथै फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाउने गर्छन् ।
रत्नेचौरको तोरीबारीमा खिचेका भिडियो र तस्विर फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक, स्टोरी, रिल्सलगायत सामाजिक सञ्जालहरुमा पोष्ट हुन्छन् । तोरी फूलेको कारण कालोपत्रे गरेको चिल्लो सडक समेत ‘भाइरल रोड’ बनेको छ । वरिपरीको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्यका साथै समथर भू–भागमा पहेँलपुर तोरीले पर्यटन प्रवद्र्धन गरेको छ भने स्थानीयको व्यापार, व्यवसायमा पनि सघाएको छ ।


आन्तरिक पर्यटक जमुना आचार्यले तोरी फूलेर पहेँलै भएपछि साथीहरुसँग रत्नेचौरको भ्रमण गर्न आएको हुँदा आफूलाई निकै रमाइलो लागेको अनुभव सुनाउनुभयो । ‘रत्नेचौर घुम्न आउँदा धेरै रमाइलो भयो । वरिपरी तोरी फुलेर पहेँलै बनेको रहेछ । डाँडाकाँडा र हिमाल छ । आफ्ना साथीभाइ, इष्टमित्रसँगै आयो, घुम्यो, आन्तरिक पर्यटनको हिसाबले छोटो समयमा पनि आउन सकिने । रमाइलो गरेर फर्किन सकिने । धेरे सुन्दर ठाउँ यो तोरीले रत्नेचौरको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ । अहिले त अझ डे«स लगाएर पनि फोटो खिच्न पाइँदोरहेछ । बोर्ड समेत राख्नुभएको रहेछ । धेरै रमाइलो भयो । आनन्दले मन खुसी र प्रफुल्ल भयो । तपाईहरु पनि घुम्न आउनुहोस् है’– उहाँले भन्नुभयो ।


रत्नेचौरमा धेरै पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो । मौरीपालन तथा मह उत्पादनको हिसाबले उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगमा फुलेको तोरीले गाउँको सुन्दरतामा निखार ल्याउने गरेको छ । मिलमा पिँधेर बनाइने तोरीको तेल तथा त्यसबाट निस्कने पिनालाई मानिसको कपालमा पर्ने चायाँ हटाउन पिनाले नुहाउने गरिन्छ ।


नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका गाउँघरमा पहेँलो रङको तोरी उत्पादन हुँदै आएको छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुने कृषि प्राविधिकहरु बताउँछन् । तेलहन बालीअन्तर्गत पर्ने तोरी ३ महिनामै पाक्छ । समथर भू–भाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिन्छ ।।

Leave a Reply