विपद्जन्य घटनाको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्को क्षति न्यूनीकरण गर्न सकिने सरोकार भएका निकायका प्रतिनिधिहरूले बताउनुभएको छ ।
आज काठमाडौँमा पूर्वसूचना प्रणालीको राष्ट्रिय कृत्रिम घटना अभ्यासअन्तर्गत तीनदिने अभ्यास कार्यक्रमको उद्घाटनका अवसरमा सहभागीहरूले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले पूर्वसूचना प्रभावकारी र समयसापेक्ष हुँदा पूर्वतयारी र प्रतिकार्य प्रभावकारी भई क्षति न्यूनीकरणमा टेवा पुग्ने धारणा राख्नुभयो । उहाँले सबैका लागि पूर्वसूचनाको राष्ट्रिय मार्गचित्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीले सरकारले पूर्वसूचनालाई जोड दिइरहेको उल्लेख गर्दै सोहीअन्तर्गत यो कार्यक्रम भएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्ल, आइएफआरसीका हेड अफ कन्ट्री डेलिगेसन डेभिड फिसर, विश्व खाद्य कार्यक्रमका कार्यक्रम निर्देशक हेइले अबेराले पूर्वसूचना प्रणालीको महत्वबारे धारणा राख्नुभएको थियो ।
अभ्यासमा सबैका लागि पूर्वसूचनासँग सम्बन्धित सङ्घीय मन्त्रालय तथा विभागहरु, प्रदेश तथा स्थानीय तह, सुरक्षा निकाय, राष्ट्रसङ्घीय निकाय, रेडक्रस एवं साझेदार संस्थाका प्रतिनिधिको सहभागिता छ । अभ्यासका क्रममा दोस्रो दिन ‘टेबल(टप अभ्यास’ हुनेछ भने तेस्रो दिन कीर्तिपुरको टौदहमा स्थलगत अभ्यास हुने प्राधिकरणले जनाएको छ ।
सबैका लागि पूर्वसूचना प्रणालीका चारवटा स्तम्भ छन् । जसमा पहिलो विपद् जोखिमको ज्ञान हो । दोस्रोमा अवलोकन, विश्लेषण र पूर्वानुमान पर्दछ । त्यसैगरी, तेस्रोमा चेतावनीको प्रवाह र सञ्चार छ भने चौथोमा पूर्वतयारी, प्रतिकार्य र क्षमता विकास रहेको छ । रासस








