---Advertisement---

यस्तो छ सांसद महावीर पुनको सम्पत्ती

On: April 29, 2026 3:12 PM
Follow Us:

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहनुभएका पुनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।

उहाँले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गर्नुभएको छ । त्यो सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले उल्लेख गर्नुभएको छ । उहाँले नेपाल बैँक लिमिटेडमा चार लाख रुपियाँ नगद रहेको र राष्ट्रिय वाणिज्य बैँकमा २५ लाख रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । उक्त रकम उहाँले चुनावी अभियानका क्रममा सहयोग स्वरूप सङ्कलन भएको बताउनुभएको छ ।

उक्त रकम उहाँले बेनीमा सम्पर्क कार्यालय खोलेर सरकारी सेवामा जिल्लावासीलाई सहजीकरण गर्न खर्च गर्ने योजना निर्वाचित भएलगत्तै बताउनुभएको थियो । अहिले उहाँले बेनीमा सम्पर्क कार्यालय पनि सञ्चालनमा ल्याइसक्नुभएको छ । उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरणमा कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको उल्लेख छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘‘यो विवरण मैले शिक्षामन्त्री हुँदा पनि बुझाएको थिएँ । उतिबेलाको सरकारले सार्वजनिक गरिदिएन । त्यसैले सङ्घीय संसद सचिवालयले पनि सार्वजनिक गर्दैन कि भन्ने शङ्का लागेर यो विवरण सचिवालयमा बुझाउनुभन्दा पहिला नै सार्वजनिक गरेको छु ।

मेरो सारा भौतिक धन सम्पतिको विवरण हेर्नुहोस् खासगरी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपारेको छ भन्ने विद्वानहरू र रिस गर्ने व्यक्तिहरूले यो हेर्नु होला र छानबिन गर्नु होला ।’’ उहाँले आफ्नो सम्पत्तिको छानबिन समेत गर्न अनुरोध गर्नुभएको छ।

Leave a Comment