रेशम बहादुर भण्डारी
समुन्द्र सतहबाट करिब ३४१८ मिटर उच्चाईमा रहेको जलजला म्याग्दी जिल्लाको धवलागिरी गा.पा. वार्ड न–२ लुलांग खोरिया र लम्सुङ्गको र ढोरपाटनको माथिल्लो भू–भूभाग वार्ड न १ गुर्जाको स्वामित्व मानिन्छ । साथै जलजला लगायत ढोरपाटन क्षेत्रमा वार्ड न ३ र वार्ड न ७ को पनि चलन–भोग रहेको छ, यो क्षेत्र सिंगो धवलागिरी गा.पा.को प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्र हो । यसलाई सहि सदुपयोग गर्न सकेमा, धवलागिरी गा,पा म्याग्दी जिल्ला र पश्चिम नेपालको नै समृद्धि बिकासको आधार हो ।
यँहाका भू–भागहरुमा हाम्रा पुर्खाको पसिना, संघर्ष र इतिहास जोडिएका छ । सयौं वर्षदेखि, हाम्रा बुबा–बाजेहरूले यही भूमिमा गाईवस्तु चराए, आलु–फापर लगाए,च्याउ, टुसा, निंगालो जडीबुटी संकलन गरेर आफ्नो जीविकोपार्जन गरि जीवन बिताएका थिए । त्यसैले यहाँका पाटन, बनजंगल, खोल्सा, पाखा र गोठहरूले हाम्रा पुर्खाको कथा बोलिरहेका छन् ।

ढोरपाटन शिकार आरक्ष र जलजला क्षेत्रमा सम्भावना अत्यन्तै ठूलो छ । यदि सही योजना, स्थानीय अधिकार र दिगो विकासलाई जोड्न सकियो भने यो क्षेत्र पश्चिम नेपालको नमुना पर्यटकीय तथा आर्थिक केन्द्र बन्न सक्छ । अहिले हाम्रो सिमा मिचिएको महसुस भएको छ, हाम्रो अधिकार खोसिएको अनुभूति देखिएको छ, हामी स्पष्ट भन्न चाहान्छौ — हाम्रो सिमा शुरक्षित गर्न चाहान्छौ ढोरपाटन, जलजला क्षेत्र यहाँका स्थानीय जनताको जीवनसँग गाँसिएको भूमि हो । यसको चलनभोग, र संरक्षण गर्नै अधिकार पुस्तौं देखि याँहाको जनतासंग थियो अब फेरीपनि त्यो अधिकार हाम्रो नै हुनुपर्दछ । संरक्षणका नाममा स्थानीयलाई नै आफ्नो भूमिबाट टाढा बनाउने काम अब बन्द हुनुपर्छ ।

ढोरपाटन क्षेत्रमा हुने पूर्वाधार बिकासको कार्य स्थानिय सरकार तथा सम्बन्धित निकायले सहजै गर्न पाउनुपर्छ । यहाँबाट शिकार खेल्ने, यहाँका वन–जंगल र स्रोत प्रयोग गरेर उठ्ने राजस्वमा स्थानीय जनताको पहिलो अधिकार हुनुपर्छ । त्यो राजस्व यही धवलागिरी गाउँपालिकाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीमा खर्च हुनुपर्छ ।
ढोरपाटनलाई केवल आरक्षणको घेराभित्र सिमित नगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्छ । यहाँका प्राकृतिक सौन्दर्य, हिमाल, वन, जडीबुटी र संस्कृतिले संसारलाई आकर्षित गर्न सक्नुपर्दछ । यहाँका प्रभावित स्थानीय समुदायले आफ्नो परम्परागत चरीचरण, खेतीपाती र जीविकोपार्जन गर्न पाउनुपर्छ । होटल, रिसोर्ट, होमस्टे र पर्यटन व्यवसाय सञ्चालन गर्न पाउनु पर्छ । संरक्षण भनेको स्थानीयलाई हटाउनु होइन, स्थानीयलाई साथ लिएर विकास गर्नु हो ।
त्यसैले हामी राज्य र सबै सम्बन्धित निकायहरु लाई आग्रह गर्दछौँ, स्थानीय जनताको इतिहासलाई सम्मान होस् । उनीहरूको अधिकार सुनिश्चित होस् र ढोरपाटन – जलजलालाई जनताको समृद्धिसँग जोडेर विकास होस् । हामी आफ्नो भूमि खोस्न खोजिएको टुलु–टुलु हेरेर चुप लागेर बस्न बाध्य छौ । यस्मा सम्बन्धित निकायको ध्यान पुगोस् । हामी विकास पनि चाहन्छौँ, संरक्षण पनि चाहन्छौँ, तर त्यो स्थानीय जनताको सम्मान र अधिकार माथि टेकेर हुनुपर्छ ।

ढोरपाटन हाम्रो इतिहास हो, ढोरपाटन हाम्रो पहिचान हो, र ढोरपाटन भावी पुस्ताको भविष्य पनि हो ।
यहाँका मुख्य सम्भावना धेरै छन ः ति मध्ये मेरो नजरमा रहेका यस्ता छन् ।
पर्यटनको बिकासको सम्भावना ः यहाबाट अबलोकन गर्ने हिमाल, जंगल, खुला मैदान, दुर्लभ वन्यजन्तु र प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्र भएकाले आन्तरिक तथा विदेशी पर्यटनको ठूलो सम्भावना छ । स्थानीय स्तरमा होमस्टे, होटल, रिसोर्ट, गाइड सेवा, यातायात र स्थानीय उत्पादन बिक्रीबाट सयौलाई रोजगारी दिन सकिन्छ ।
जडीबुटी तथा प्राकृतिक सम्पदाको सम्भावना यार्सागुम्बा, पाँचऔंले, सतुवा, जटामसी लगायतका बहुमूल्य जडीबुटीलाई वैज्ञानिक रुपमा व्यवस्थापन गरेर जडीबुटी खेती, प्रशोधन र निर्यात गर्न सकिने सम्भावना रहेको छ ।

जंगली र स्थानीय पशुपन्छी पालन ः राज्यबाट स्वीकृत जंगली पशुपन्छी र स्थानीय गाई, भैंसी, भेडा, च्याङ्ग्रा पालन चरीचरण खुला चरन क्षेत्रलाई व्यवस्थित गरेर स्थानीयको जीविकोपार्जन मजबुत बनाउन सकिन्छ ।
अर्गानिक कृषि उत्पादन ः
हिमाली बालीको उत्पादन ब्रान्ड बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिन्छ । ढोरपाटन अर्गानिक उत्पादन” भनेर चिनाउन सकियो भने यसको बजार मूल्य र माग संसारलाई पुग्ने छ ।
सांस्कृतिक, साहसिक खेल तथा ऐतिहासिक पर्यटन ः
हाम्रा पुर्खाहरूको इतिहास, गोठ संस्कृति, परम्परागत जीवनशैली र संघर्षलाई पर्यटनसँग जोड्न सकिन्छ ।
उच्च जलबायु र भूगोलका खेलहरु ः गल्फ, फुटबल. क्रिकेट, बास्केट बल,आदि, उच्च जलबायु र भूगोलका खेलहरु खेलाएर राष्ट्र अन्तरास्ट्रिय खेलाडीहरु प्रवेश गराउन सकिने छ । स्थानीय संस्कृति, भेषभूषा, गीत–संगीत र परम्परालाई संरक्षण गर्दै आम्दानीको स्रोत बनाउन सकिन्छ ।
वातावरणीय तथा अनुसन्धान केन्द्र ः जैविक विविधता, भरिपूर्ण वन्यजन्तु र हिमाली वातावरणका कारण यो क्षेत्र अनुसन्धानका लागि पनि महत्वपूर्ण बन्न सक्छ । विश्व बिधालय तथा रास्ट्र र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरेर अध्ययन केन्द्र बनाउन सकिन्छ ।

यदि राज्यले स्थानीय जनताको अधिकारलाई सम्मान गर्दै योजना बनायो भने, ढोरपाटन–जलजला क्षेत्र केवल आरक्षणको नाममा सीमित रहने छैन, यो धवलागिरी गा.पा. म्याग्दी जिल्ला र पश्चिम नेपाल कै समृद्धि बिकासको आधार रोजगारीको केन्द्र बनाउन सक्ने छ ।

ढोरपाटन शिकार आरक्ष र जलजला क्षेत्र केवल भूगोलका नाम होइनन्, यी धवलागिरी गाउँपालिका र म्याग्दी जिल्लाको आत्मा हुन् । यी ठाउँसँग हाम्रो इतिहास जोडिएको छ, हाम्रो संस्कृति जोडिएको छ, र हाम्रो भावनात्मक सम्बन्ध गाँसिएको छ । यो हाम्रो अस्तित्व, पहिचान र भविष्य हो । प्रकृतिले दिएको यस्तो अनुपम उपहारलाई जोगाउनु, सम्मान गर्नु र भावी पुस्तासम्म पु¥याउनु हामी सबैको साझा जिम्मेवारी हो । जय जलजला, जय ढोरपाटन ।
ध.गा.पा. ३ म्याग्दी हाल : काठमाडौं










