Wednesday, April 30, 2025
17.4 C
Beni
17.4 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 1526

फलफूलका बोक्रा किन फाल्नु हुँदैन ?

0

हामी फलफूल खान्छौँ र यसको बोक्रालाई काम नलाग्ने ठानेर मिल्काउँछौँ । तर, फलफूलको बोक्राबाट अनेक फाइदा लिन सकिन्छ ।

सुन्तला

– सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्व हुन्छ । सक्नुहुन्छ भने सुन्तलाको बोक्रा म¥याङम¥याङ चपाएर खानुस् । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ ।
– सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ । यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बन्न पुग्छ ।
– सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउने गर्नाले कब्जियतको समस्या हटेर जान्छ ।

अनार

– घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सञ्चो हुन्छ ।
– गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ ।
– अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यो खाने गर्नाले रक्तअल्पतालगायत समस्याबाट समेत जोगाउँछ ।

केराको बोक्रा

– केराको मूल फलमा भन्दा यसको बोक्रामा बढी उपयोगी तत्व हुन्छन् । केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।
– केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोगप्रतिरोधी क्षमता बढाउनेलगायत काम गर्छ ।
– आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ ।

खरबुजा

– शरीरको वजन नघटेर वाक्कदिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुस् । यसले वजन घटाउन सहयोग गर्छ ।
– खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले ससानो टुक्रा पारी खाने गर्नुस् । यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन–खुर्सानीमा चोपेर खाने गर्नुस् ।

काँक्रो

– काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ ।
– शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु बडो उपयोगी हुन्छ ।
– काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ ।

स्याउ

– स्याउमा पाइने पोषक तत्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन् । त्यही भएर बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नु हुँदैन ।
– स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्व पाइन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउँछ ।
– स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्व पनि पाइन्छ ।

कागती

– कागतीको बोक्रा खाने गर्नाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ ।
– कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ ।
– कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ ।
– कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ

स्वस्थ रहन यी खानेकुरा नछुटाउनुहोस्

0

अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन् । फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ ।

व्यस्तताका कारण धेरैले स्वास्थमा ठूलो मुल्य चुकाएका छन् । खानपिन र आहारमा राम्रो बिचार पु-याएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् । नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउने विज्ञहरुको भनाई छ । तल उल्लेखित खानाले उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजबाट मुक्त गर्न सकिने उनीहरुको जोड छ ।

स्याउ: दिनहुँ एउटा स्याउ खाँदा रोग भाग्छ भन्ने अंग्रेजी उखान अहिले व्यवहारिक रुपमा नै सत्य सावित हुँदैछ । स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ । स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । स्याउमा हुने एन्टिअक्सिडेन्टले त सम्भावित क्यान्सरबाट बचाउँछ ।

देशी बदाम र ओखर: नियमित आल्मोन्डको सेबनले स्मरण क्षमता बृद्धि गर्छ । सबैभन्दा महत्वपूर्ण त यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ । शरीरको खराब कोलेस्ट्रोल घटाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ बदाम र ओखर । आल्मोन्डले छालामा चमक ल्याउछ ।

अंगुरः तौल घटाउन चाहनेका लागि अंगुर अचुक उपाय हुन सक्छ । नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउछ ।

गेडागुडीः प्राय सबै मौसमी गेडागुडीले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ ।

केराः पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन ।

ग्रीन टिः तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ ।

दहीः दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग पुर्‍याउछ । माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।

अन्डा कति स्वस्थकर ?

0

अन्डामा पाइने प्रोटिनले मांसपेशी निर्माण र सुरक्षामा सघाउँछ भने सन्तुष्टि पनि बढाउँछ । अन्डामा डाएटरी कोलेस्टेरोल उच्च र स्याचुरेटेड फ्याट थोरै मात्रामा पाइन्छ, जुन ब्लड कोलेस्टेरोलका लागि खराब मानिन्छ ।

अन्डा पोषणले भरिपूर्ण खाने कुरा हो । यसमा उच्च गुणस्तरको प्रोटिन हुन्छ अर्थात यसमा हाम्रो शरीरका लागि अत्यावश्यक ९ वटा एमिनो एसिड पाइन्छ ।

अन्डामा पाइने यी एमिनो एसिड कृत्रिम रुपमा उत्पादन वा बनाउन सकिँदैन । यी एमिनो एसिड प्राप्त गर्न कुनै न कुनै प्राकृतिक खानेकुरा नै खानुपर्छ । अन्डामा पाइने प्रोटिनले मांसपेशी निर्माण र सुरक्षामा सघाउँछ भने सन्तुष्टि पनि बढाउँछ । यी दुवै कुरा शरीरको तौल नियन्त्रण गर्न महत्वपूर्ण हुन्छन् ।

भिटामिन डी पाइने केही स्रोत मध्ये अन्डा पनि पर्छ । अन्डामा पाइने पोषक तत्व कोलिन (मिटामिन बी का तत्व मध्ये एउटा)ले नवजात शिशुलाई जन्मदा आउन सक्ने खराबीबाट जोगाउन मद्दत गर्छ ।

यस्तै अन्डामा भिटामिन ए, भिटामिन बी १२, रिबोफ्लविन (बी२) र एन्टिअक्सिडेन्ट सेलेनियमसँगै लुटिन र जियाक्सान्थिन पाइन्छ । लुटिन र जियाक्सान्थिनले आँखालाई स्वस्थ राख्न सघाउँछ ।

अन्डामा पाइने भिटामिन, खनिज जस्ता अधिकांश पोषक तत्व र क्यालोरी (ऊर्जा) यसको पहेंलो भागमा हुन्छ । तर के अन्डामा पाइने कोलेस्टरोलका बारे पनि यस्तै भन्न सकिन्छ ?

अन्डाको पहेंलो भागमा डाएटरी कोलेस्टरोल उच्च मात्रा पाइन्छ । तर सँगै के पनि सत्य हो भने अन्डाको पहेंलो भागमा स्याचुरेटेड फ्याट थोरै मात्रामा भएपनि यसले रगतमा खराब कोलेस्टरोलको मात्रा बढाउँछ ।

हालै गरिएको एउटा अध्ययनमा धेरै अन्डा (दैनिक एउटा) खानु र मुटुसम्बन्धी रोग र मस्तिष्कघातको जोखिमबीच कुनै सम्बन्ध देखिएन ।

सन् २०१६ मा फिनल्यान्डमा एक हजार भन्दा बढी व्यक्ति सामेल अर्को अध्ययनले कोलेस्टेरोल युक्त भोजन वा अन्डाको सम्बन्ध मुटुसम्बन्धी रोगको जोखिम बढ्नुसँग सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो । यो अध्ययनमा वंशाणुगत रुपमा डायटरी कोलेस्टरोलको प्रभाव ब्लड कोलेस्टरोलमा देखिएका व्यक्ति समेत सामेल थिए ।

बरु अन्डा पकाउने र खाने तरिकाका साथै अन्डा अरु कुन खाने कुरामा मिसाएर खाइन्छ त्यसले स्वास्थ्यमा असल वा खराब असर पार्न सक्छ ।

एउटा ठूलो पोच अन्डामा ७१ क्यालोरी र २ ग्राम स्याचुरेटेड फ्याट हुन्छ भने पालुंगोमा एउटा अन्डाको पहेंलो भाग मिसाएर बनाएको अमलेटमा करिब करिब यति नै क्यालोरी र स्याचुरेटेड फ्याट हुन्छ । तर बेकन र हलेन्डाइज सस सहितको एग बेनेडिक्टमा भने ८ सय क्यालोरी र २६ ग्राम स्याचुरेटेड फ्याट हुन्छ ।

त्यसैले अन्डा खानुको मजा त लिनुहोस् तर कसरी खानुहन्छ, खाने तरिकामा भने विचार पु¥याउनुहोस् । अन्डा खाँदा अन्य फाइबयुक्त स्वास्थ्यवद्र्धक फलफूल, सागसब्जी र अन्नसँग खानुहोस् ।

कपाल झर्न नदिन के गर्ने, के गर्दै नगर्ने ?

0

कपाल झर्ने समस्या अहिले आम बनेको छ । युवा अवस्थामै कपाल झरेर बुढ्यौलीको महशुस गर्दै तनाव लिनेहरु थुप्रै छन् । त्यसैले कपाल झरिसकेपछि उमार्न अनेक उृपाय लगाउनुभन्दा झर्न नदिने निम्न उपाय अपनाउन सकिन्छ ।

– नुहाएपछि टाउकोमा घ्युकुमारी दल्ने र १५ मिनटपछि धुने । यसो गर्नाले पनि कपाल झर्ने क्रम रोकिन्छ । सातामा तीनपटक यस्तो गरेमा चाँडै सुधार देख्न पाइन्छ ।
– पानीमा नीमको पात हालेर पानी आधा नसुकुञ्जेल उमाल्ने र यसरी उमालेको पानी सेलाएपछि कपाल धुनाले कपाल बलियो हुन्छ । नीमपानीले नुहाउँदा पानी आँखामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।
– सुकेको अमला तोरी अथवा नरिवलको तेलमा केही बेर भिजाइ मसाज गर्दा कपाल बलियो हुन्छ ।
– राति मेथी भिजाउने, बिहान यसलाई राम्रोसँग पिस्ने र कपालको जरासम्म लाग्नेगरी टाउकोमा दल्ने । ४० मिनेटपछि कपाल धुने । यसो गर्दा कपाल झर्ने क्रम रोकिन्छ ।
– प्याज पिसेर यसको रस निकाल्ने, त्यसमा रुवा चोपेर कपालको टुप्पोदेखि फेदसम्म लाग्नेगरी दल्ने र ४० मिनेटपछि धुनाले कपाल झर्न रोकिन्छ ।
– ग्रीन टीको दुईवटा ब्याग तीन कप तातो पानीमा डुबाउने र यसलाई नसेलाइञ्जेलसम्म त्यसै छोडिदिने । त्यसपछि सेलाएको पानीले कपाल धुने अथवा मसाज गर्ने । यसो गर्दा कपाल बलियो हुन्छ ।
– अण्डाको पहेँलो भाग हटाइ सेतो भाग कपालको जरासम्म पुग्नेगरी टाउकोमा दल्ने र २० मिनेटपछि नुहाउने । अण्डामा रहेको प्रोटिन, भिटामिनले कपाल झर्ने क्रम रोक्छ ।
– कपाल बढी नै झर्ने गरेको छ भने सातामा पाँच दिन करिब ३० मिनेटका हिसाबले व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा टाउकाको रक्तसञ्चार तीव्र भई अक्सिजन पुग्छ र कपाल कमजोर हुन पाउँदैन ।
– कपाल झर्ने समस्या भएकाले प्रोटिन, आइरन, जिंक, सल्फर, भिटामिन–सी, भिटामिन–बी युक्त खानामा जोड दिनुपर्छ । यसले कपाललाई बलियो बनाउँछ ।
– समयसमयमा कपालमा मेहदी लगाउनाले  पनि कपाल बलियो हुन्छ ।
– कपाल बलियो बनाउन र झर्न नदिन सातामा दुईपटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउनुपर्छ ।

के नगर्ने ?
– कपाल झर्ने समस्या भएकाले कपाल कसेर बाँध्नु हुँदैन ।
– कपाल भर्ने समस्या छ भने कपाल कोरिरहनु हुँदैन । यसो गर्दा कपाल झर्ने क्रम बढ्न जान्छ ।
– कपाल झर्ने समस्या छ भने घाममा धेरै हिँड्डुल गर्नु हुँदैन । घाममा निस्किँदा छाता बोक्नुपर्छ ।
– कपाल बढी नै झर्ने गरेको छ भने बढी तातो पानीले नुहाउनु हुँदैन ।
– कपाल नझरोस् भन्ने चाहनेले कपाल रंगाउने, स्ट्रेट गर्नु हुँदैन । कपाललाई प्राकृतिक अवस्थामै रहन दिनुपर्छ ।
– कपाल भर्ने समस्या भएकाले नुहाएपछि कपाल जोडसँग पुछ्नु हुँदैन ।
– कपाल झर्ने समस्या छ भने रातो मासु कम खानुपर्छ ।
– फर्सीको बियाँ (सुकाएको), बन्दा, ब्रोकाउली, काउली, दाल आदि बढी खानुपर्छ ।
– जंक फुडमा क्यालोरीको मात्रामात्रै उच्च  हुने र अन्य पोषक तत्व नहुने भएकाले यसले कपाल थप झार्न सक्छ ।स्वास्थ्य खबरपत्रिका

के हो जेनेटिक रोग, कसरी जोगिने ?

0

डा. नीलम ठाकुर

हरेक आमाबुबालाई चिन्ता हुन्छ कि आफ्नो पछिल्लो पुस्ता आफू ग्रसित रोगको शिकार पो हुन्छ कि ? आजकल डायबिटिज, मोटोपना, उच्च रक्तचाप, थाइराइडजस्ता बिमारी सामान्य भइसकेका छन् । त्यसबाहेक निःसन्तान अर्काे समस्याका रुपमा देखिएको छ ।

रक्त क्यान्सर, ब्रेस्ट क्यान्सर, पाठेघरको क्यान्सर, सिकलसेल एनिमिया, थाइलेसेमियाजस्ता रोग पनि धेरै देखिन थालेका छन् । सुस्त मनस्थिति, जन्मजात अपांग, बच्चा खेर जानेजस्ता रोगको उपचारका लागि विभिन्न विधि छन् । विदेशतिर यी रोग लिएर डाक्टरकहाँ पुग्नेबित्तिकै एउटा प्रश्न अनिवार्य सोधिन्छ– तपाईंको वंशजमा कसैलाई यो रोग थियो कि ? नेपालमा भने कुनै रोगको उपचारका लागि वंशज केलाउने परिपाटीको विकास भर्खरै मात्रै भएको छ ।

 

के हो जेनेटिक डिजिज ?

हाम्रो शरीर अर्बाैं सेल मिलेर बनेको हुन्छ । हरेक सेलमा २३ जोडी क्रोमोजोम्स हुन्छन् । पुरुषबाट ‘एक्स’ वा ‘वाई’ मध्ये कुनै २३ क्रोमोजोम र महिलाबाट २३ ‘वाई’ क्रोमोजोम मिलेर २३ जोडी क्रोमोजोम्स बन्छन् । क्रोमोजोम, डीएनए, आरएनए र प्रोटिन्सलबाट बनेका हुन्छन् । क्रोमोजोम्सले शरीरका गुण–अवगुण अघिल्लो पुस्तामा स्थान्तरण गर्छ । शरीरको डिएनए वा आरएनएमा जिन्स मिल्छन् । अर्थात् एक क्रोमोजममा धेरै जिन्स मिल्छन् । कति जिन्स सक्रिय हुन्छन् त कति निष्क्रिय पनि हुन्छन् । सामान्य अर्थमा क्रोमोजम्स नै आमाबुबाबाट बच्चासम्म पुग्छन् । यसरी सर्ने क्रममा कतिपय अवस्थामा रोग पनि सँगै सर्छन् । यिनै जिन्स सँगै सरेका रोगलाई जेनेटिक वा हेरिडिटरी डिजिज भनिन्छ ।
हाम्रो शरीरमा लगभग २५ हजार जिन पाइन्छन् । यी जिनमा कतिपय समयमा यस्ता रोग भेटिन्छन्, जुन वातावरण वा जिनमा कुनै प्रकारको गडबडीले हुन्छन् । पारिवारिक इतिहासमा भने उक्त रोग हुँदैन । यस्तो रोग जेनेटिक भए पनि आनुवंशिक होइन । यीमध्ये थैलेसिमिया, हिमोफिलिया, डायबिटिज, हाई कोलेस्ट्रल, मुटुरोग आनुवंशिक रोग हुन् । क्यान्सरमध्ये युवावस्थामा हुने क्यान्सर, ब्रेस्ट क्यान्सर, गर्भाशयको क्यान्सर, पेट क्यान्सर, रक्त क्यान्सर र किड्नी क्यान्सर आनुवंशिक हुने सम्भावना अधिक हुन्छ ।

किन गराउने जेनेटिक जाँच ?

आमाबुबा दुवैको परिवारमा आनुवंशिक रुपमा सर्दै आएको रोग सन्तानमा सर्ने सम्भावना बलियो हुन्छ । नेपालमा कतिपय जातिमा मामाफुपूका छोराछोरीबीच विवाह गर्ने चलन छ । त्यो समुदायमा आनुवंशिक रुपमा जनेटिक हुने सम्भावना धेरै हुन्छ ।
विदेशतिर विवाह गर्नुअघि परिवारको स्वास्थ्य अवस्थाका बारेमा समेत सोधिनु सामान्य भइसकेको छ । नेपालमा भने छिटफुट रुपमा विवाहअघि स्वास्थ्य जाँचपड्ताल गर्न आइरहेका भेटिन्छन् । यो अघिल्लो पुस्ताको स्वास्थ्यका लागि लाभदायी हुन सक्छ ।
पछिल्लो समय घरमा सबै बच्चा अशक्त रहेको भन्ने समाचार नेपालमा पनि धेरै आउने गरेका छन् । एउटा बच्चा असाधारण अवस्थाको जन्मियो भने सचेत हुनुपर्छ । अर्काे बच्चा पाउनुअघि वंशाणुगत इतिहास हेरेर ‘रिस्क क्यालकुलेसन’ गर्नु जरुरी छ । नेपालमा समेत यो बच्चालाई भविष्यमा रोग हुन सक्छ कि सक्दैन भन्नेसम्मको प्रविधि आइसकेको अवस्थामा जाँच गर्न सकिन्छ । पछि परिवारलाई भार हुनुभन्दा बेलैमा सचेत भएको राम्रो हुन्छ ।

नेपालमा देखिएका समस्या

नेपालमा अहिले सन्तानसँग जोडेर धेरै वंशाणुगत समस्या लिएर जाँच गर्न आएको भेटिन्छन् । बच्चा नहुने, बच्चा अपांग वा अशक्त जन्मिने, जन्मिनेबित्तिकै वा एक हप्तामाgenetic खेर जाने र जवान भइसक्दा समेत रजस्वला नहुने समस्या धेरै देखिन्छ । त्यसपछि काम्ने रोग, तीन, चार वर्षको उमेर भएपछि मस्कुलर डिस्ट्रफी हुने पनि देखिन्छ । क्यान्सरमा रक्त क्यान्सर, ब्रेस्ट क्यान्सर, पाठेघरको क्यान्सर, सिकलसेल एनिमिया, थैलेसिमिया जस्ता रोग देखिन्छन् ।
यसअघि जेनेटिक रोगको जोखिमका लेखाजोखा गर्ने जनशक्ति र प्रविधिको अभाव हुँदा धेरैले विभिन्न उपचार पद्धति अपनाएर लाखौं खर्च गर्दा पनि समस्या समाधान नभएको देखिन्छ । पछिल्लो समय यो प्रविधि र जनशक्ति भएपछि यस्ता समस्या लिएर आउने धेरै भएका हुन् ।

कसरी लड्ने वंशाणुगत रोगसँग ?

जेनेटिक रोग भएपछि त्यसको अन्त्य त्यति सहज छैन । बरु हुनुअघि नै थाहा पाएर त्यसको समाधान गर्न सकिन्छ । कतिपय अवस्थामा जेनेटिक रोग आगामी पुस्तामा स्थान्तरण नहोस् भनेर आफ्नो पुस्तामै रोकथामको उपाय अपनाउन सकिन्छ । पछिल्लो सयय यसका लागि प्रविधिको सहारा लिने गरिएको छ । नेपालमा प्राकृतिक रुपमा बच्चा पाउन नसक्नेले आइभिएफको सहारा लिइरहेका छन् । वंशाणुगत रोग हुनेले नयाँ प्रविधिको सहारा लिँदा रोकथाम हुन सक्छ । त्यसैगरी थैलेसिमिया, गर्भपतन, सिस्टिक फाइब्रोसिस, डाउन सिन्ड्रोम, हिमोफिलियाजस्ता रोगबाट पनि यस प्रविधिका माध्यमबाट जोगाउन सकिन्छ ।
त्यसैले गर्भाधानको समयमा सतर्क रहनु सबैभन्दा जरुरी छ । दम्पतीले सन्तान योजना बनाउनुअघि आफ्नो परिवारको इतिहासका बारेमा जानकारी लिनुदिनु राम्रो हुन्छ । गर्भाधारण गर्नु दुई महिनाअघि नै जनेटिक रोग विशेषज्ञलाई समेत आफ्नो परिवारको इतिहासका बारेमा बताएर सल्लाह लिँदा खराब जिनका कारण सन्तान रोगी हुनबाट जोगाउन सकिन्छ । कतिपय पारिवारिक बिरामीबाट जोगाउनका लागि औषधिको प्रयोग मात्रै पनि लाभदायी हुन्छ ।

 

कहिले गराउने जाँच ?

कुनै परिवारमा ५० भन्दा तलको उमेरमा क्यान्सर र मुटुरोग देखिएको इतिहास भएमा ४५ वर्षको उमेरअघि नै जाँच गराउनुपर्छ । भर्खरै विश्वचर्चित अभिनेत्री एन्जेलिना जोलीले आफ्नो परिवारको यही इतिहासका कारण बेलैमा चेकजाँच गरेर क्यान्सर हुने सम्भावना देखिएपछि स्तन फालेकी हुन् ।
परिवारमा हजुरबुबा, हजुरआमा, आमाबुबा वा कुनै नजिकको नातेदारमा ४० देखि ४५ वर्षको उमेरमा ब्रेस्ट क्यान्सर, पाठेघर क्यान्सर देखिएको थियो भने १८ वर्षको उमेर पुगेबाटै चेकजाँच गर्न सुरु गर्नु उपयुक्त हुन्छ । चाँडै जाँच गर्दा रोग गम्भीर हुनुभन्दा पहिल्यै उपचार गर्न सकिन्छ ।
पितृसत्तात्मक देश भएकाले नेपालमा वंशाणुगत भन्नेबित्तिकै पिताकै परिवारको इतिहास केलाउनेहरु हामीले भेटेका छौं । रोगका लागि माता वा पिता छुट्टिँदैनन् । त्यसैले दुवैतर्फको इतिहास केलाउनु जरुरी हुन्छ । आमाबुबा दुवैतिरका नातेदारको समेत इतिहास बुझिराख्नु अझ हितकर हुन्छ । किनभने कतिपय रोग केही पुस्ता छाडेर फेरि देखिन सक्ने जोखिम हुन्छ । वंशाणुगत रोगमध्ये कुनै आमाबाट छोरामा सर्ने खालका हुन्छन् । यसको पनि बेलैमा जाँच गर्दा रोकथाम हुन सक्छ ।

 

वंशाणुगत रोगका प्रकार

शरीरमा क्रोमोजोमको संख्यामा गडबड हुँदा डाउन सिन्ड्रोम (जस्तो ः क्रोमोजोम ४६ हुनुपर्छ । क्रोमोजम थप भयो वा ४६ का ठाउँमा ४७) हुने सम्भावना हुन्छ । त्यसैगरी क्रोमोजोम कम (४६ को ठाउँमा ४५ मात्रै) भयो भने टर्नर सिन्ड्रोम हुन्छ । क्रोमोजोमका केही भाग गुम्नुलाई डिलिसन र व्यवस्थापन गलत तरिकाले हुनुलाई ट्रान्सलोकेसन भनिन्छ ।
सिंगल जिन डिसअर्डरका लागि एउटा मात्रै जिन उत्तरदायी हुन्छ । मसलन, सिस्टिक फाइब्रोसिस, सिकलसेल, एनिमिया आदि यसकारण हुन्छन् । एक्स लिन्क्ड रोगमा हिमोफिलिया र मस्कुलर डिसट्रफी आउन सक्छ । मल्टीफेक्टोरियल समस्या धेरै जिन्सका कारण हुन्छ । यसमा वातावरणबाट हुने समस्यालाई समेत समेटिएको छ । मसलन, ब्रेन वा स्पाइनका समस्या यसमा पर्छन् । यी रोगबाट जोगिनका लागि जेनेटिक काउन्सलरको सहयोग लिन जरुरी हुन्छ । उनीहरुले डिएनए टेस्ट गरेर यथार्थ बताइदिन्छन् ।

 

जेनेटिक रोग

थैलेसिमिया
हिमोफिलिया
सिकलसेल एनिमिया
मस्कुलर डिस्ट्रोफी
निःसन्तान
धेरैपटक बच्चा खेर जाने
सुस्त मनस्थिति हुने वा जन्मजात विकलाङ्ग हुने
क्यान्सरहरु
युवावस्थामै मस्तिष्कघात
अल्जाइमर
मुटुरोग
डायबिटिज
हाइकोलेस्ट्रोल
थायराइड

छाला चाउरी पर्ने कारण

0

-डा. स्मृति श्रेष्ठ, एमडी, डर्माटोलोजी, धुलिखेल अस्पताल

उमेर बढ्दै जाँदा शरीरमा त्यसको असर देखिँदै जानु प्रकृतिको अपरिहार्य नियति हो । तथापि सधैँ युवावस्थामै रहिरहन चाहन्छन् मानिस । त्यसैले बूढो हुने प्रक्रियालाई बुझ्नु आवश्यक छ । यहाँ उमेर बढेपछि छाला चाउरी पर्नुका कारण, लक्षण र रोकथामका उपायबारे चर्चा गरिएको छ ।
कारण :

छाला चाउरी पर्नुका आन्तरिक र बाह्य कारण हुन्छन् ।

आन्तरिक कारण : यसमा वंशानुगत, छालाको रंग, महिला, कोषिकाहरू नष्ट हुँदै जानु आदि पर्छन् । यी कारण परिवर्तनशील होइनन् । वंशानुगत विविधताले मानिसको अनुहार तथा बाह्य स्वरुपमा फरक परेजस्तै बूढो हुने जिनमा पनि भिन्नता हुनसक्छ ।
क्रोमोजमको टेलोमेरेज विभिन्न जाति र भेगका मानिसमा छिट्टो वा ढिलो नष्ट हुन्छ । जसका कारण कोही वंशानुगत रुपमै छिटो बूढो हुन्छन् । गोरो छाला, रातो कपाल र नीलो आँखा हुनेमा खैरो र कालो छाला हुनेभन्दा कम मेलानिन तत्व हुन्छ र छिटो बूढो हुन्छ । रंग बनाउने मेलानिनको कमीले घामका हानिकारक तत्वबाट छालालाई बचाउन गा¥हो हुन्छ ।

बाह्य कारण : बाह्य कारणमा सूर्यको किरण ७० प्रतिशत जिम्मेवार हुन्छ । यसबाहेक चुरोट तथा रक्सीको सेवन, प्रदूषित वातावरण, अत्यधिक मोटोपना, धेरै खाने बानी, पौष्टिक आहार तथा व्यायामको कमी, मधुमेह, रक्तचाप, थाइरायड, पानीको कमी, मानसिक तनाव वा चिन्ता पनि पर्छन् ।
घाममा हुने विभिन्न किरणमध्ये अल्ट्राभायोलेट किरणले प्रत्यक्ष र अप्रत्यक्ष रुपबाट छालालाई हानि गर्छ । अल्ट्राभायोलेट–ए र अल्ट्राभायोलेट–बी किरणका कारण चाउरी पर्ने हुन्छ । अल्ट्राभायोलेट–एले छालाको दोस्रो पत्रलाई पातलो बनाउँछ । यस तहको कोल्याजन घरको जग भनेझैं छालाको प्रमुख आधार हो । कोल्याजन घट्दै गएपछि छाला झोलिने र लचिलो हुन्छ, चमक गुम्छ । बिहान र साँझको घाम पनि उत्तिकै हानिकारक हुन सक्छ । घामबाट छालाप्रति देखिने नकारात्मक असरको मापन ३० वर्षमाथिका व्यक्तिको अनुहार र जीउको छालाको अन्तर दाँजेर हेर्दा थाहा हुन्छ । घामले छोपिएका भागमा धेरै कम असर देखिन्छ । महिलामा पुरुषमा भन्दा कम कोल्याजन हुन्छ । त्यसैले छिटो उमेर ढल्छ ।

कस्ता परिवर्तन हुन्छन् ?

छालाका तह पातलो हुने, कोषिकाहरूको सूक्ष्म क्षति, पानी तत्व घट्ने, तेल र पसिना बनाउने ग्रन्थी सुक्ने, कपाल, नङ र छालाले काँचुली फेर्न कम हुने, घाउ ढिलो पुरिने आदि परिवर्तन आउँछन् ।

लक्षण 

चाउरीपना, पहेँलोपना, पोतो, चाया, छाला लचिलो हुने, साना रक्तनली देखापर्ने, सुख्खापन, दाग, चमक घट्ने र कपाल फुल्ने हुन्छ । लामो समय घामको असरले क्यान्सरको खतरा हुन सक्छ ।

उपचार रोकथाम

उमेर ढल्ने क्रममा ढिलाइ गर्न सनस्क्रिनको अहं भूमिका हुन्छ । दिनहुँ ३ देखि ४ पटक सनस्क्रिनको सही मात्रामा प्रयोग गर्नाले घामको असरबाट ९७ प्रतिशतसम्म बच्न सकिन्छ । एकपटक प्रयोग गरेको आधा चम्चा सनस्क्रिनले २–३ घण्टा काम गर्ने हुँदा ८ बजे, ११ बजे, २ बजे र बजार निस्कनु परेमा ४–५ बजेसमेत लगाउनु राम्रो हो । सनस्क्रिन किन्दा एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) हेर्नु उचित हुन्छ । नेपाली छालामा एसफिएम ४० सम्म उपयुक्त हुन्छ । पौडी खेल्दा २० देखि ४० मिनेटसम्म एकपटक लगाएको वाटर रेसिस्टेन्ट सनस्क्रिनले काम गर्छ ।
यसबाहेक टोपीको प्रयोग, चस्मा र मास्कले छालाको बचाउमा सहयोग गर्छ । हरियो सागपात तथा फलफूल खाने र प्रशस्त पानी पिउनाले आन्तरिक एजिङलाई रोकथाम गर्छ  । छालाको हेरचाह गर्नुपर्छ र समयअनुसार मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

चाउरीका उपचार

१. पिलिङ–रसायनको माध्यमबाट गरिने यस उपचारले छालाको काँचुली फेर्न सहयोग गर्छ । चाउरी तथा पोतोमा यसको विशेष भूमिका छ । यो महिनाको एकपटक गरिन्छ र त्यति महँगो हुँदैन ।
२. लेजर– कृत्रिम किरणको सहायताले कोल्याजन बनाउँने क्रम बढाइन्छ ।
३. मल्हम– विभिन्न मल्हमहरूले केही हदसम्म काम चाउरीपनालाई कम गर्छ । तर असर देखिँदैन । असर देखिनका लागि १–२ वर्ष नियमित प्रयोग गर्नुपर्ने हुनसक्छ । यद्यपि मल्हमहरूले पिलिङ या लेजरजति काम गर्दैनन् ।
४. बोटोक्स –आँखा वरपर र निधारको चाउरी घटाउन बोटुलिनम टक्सिन नामक इन्जेक्सन प्रयोग गरिन्छ । यसबाट छाला खुम्चिने बन्द हुन्छ । यो ३ देखि ६ महिनामा सुईको माध्यमबाट दिनुपर्छ । एक खालको ब्याक्टेरियाको टक्सिनबाट निर्मित यो इन्जेक्सन नेपालमा पाइन्छ । तर राम्रोसँग नलगाएमा यसबाट आँखा टोसिस हुने, मुख बांगिने र कसै–कसैलाई सम्पूर्ण जिउ नै प्यारालाइसिस हुने सम्भावना हुन्छ ।
५. फिलर– कोल्याजनजस्तै कृत्रिम रसायन सुईबाट लचिलो छालामा राखिन्छ । यसले छालालाई पहिलेकै अवस्थामा ल्याउँछ र ६ महिनादेखि २ वर्षसम्म काम गर्छ ।
६. प्लास्टिक सर्जरी– यसबाट आँखाको रुप नै  सच्याउन सकिन्छ ।
७. लाइपोसक्सन – यसअन्तर्गत शरीरको बोसो काटिन्छ ।

 

यस्ता छन् आत्महत्या रोकथाम गर्ने उपाय

0

-डा कपिलदेव उपाध्याय, वरिष्ठ मानसिक रोग विशेषज्ञ

१५ वर्षअघिको कुरा हो, मानसिक स्वास्थ्य समस्याबारे जनचेतना जगाउने उद्देश्यले कास्कीको एउटा चौकीमा महिला स्वास्थ्य स्वयम्सेविकाको समूहसंग म डिप्रेसन रोगका बारेमा कुरा गर्दै थिएँ । डिप्रेसन हुँदा मन नरमाईलो हुने, थकाई धेरै लाग्ने, बोल्न, हाँस्न मन नलाग्ने र निद्रा र भोक नलाग्ने हुन्छ । बिरामीले उपचार पाएन भने रोग बढ्दै जान्छ र आत्महत्या गर्ने संभावना हुन्छ भनेर मात्र भनेको थिएँ समूहकी एक महिला बरबर आँशु झारेर रुँदै हुनुहुन्थ्यो । हामी सबैको ध्यान उहाँतर्फ गयो । उहाँले भन्नु भयो– ‘५ महिना पहिले मात्र यो कुरा थाहा पाएको भए उहाँलाई बचाउन सक्थेँ ।’

पाँच महिना पहिले उहाँको श्रीमानले झुण्डिएर आत्महत्या गर्नुभएछ र आत्महत्या गर्नू पुर्व नखाने, नसुत्ने, नबोल्ने, टोलाएर बस्ने, रुन खोज्ने र मनमा कुरा खेल्यो भन्ने मात्र गर्नु हुन्थ्यो रे ।

डिपे्रसन रोग आत्महत्याको प्रमुख कारण मानिन्छ । त्यस्तै मदिरापानको लत लागेर उत्पन्न हुने पारिवारिक, आर्थिक , सामाजिक तथा स्वास्थ्य समस्याका कारण पनि आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । अन्य रोगमा मानसिक असन्तुलन, लागुपदार्थ दुव्र्यसन, एचआईभी÷एड्स, छारे रोग, निको नहुने खालका धेरै पीडा दिने शारीरिक रोग पनि पर्दछन् ।

सबै आत्महत्या रोगका कारण हुने भने होइनन् । आवेशमा आएर, प्रेममा आफुले भनेजस्तो नभएर, आफ्नो उद्देश्यमा असफल भएर, यातना खप्न नसकेर, आफ्ना गल्ती ढाकछोप गर्न र ठुलो मानसिक तनाव वा वेदनाका कारण पनि आत्महत्या गर्ने  मानिस हुने गर्दछन् । तर पनि आत्महत्याको प्रमुख कारण डिप्रेसन लगायतका केही मानसिक रोग र एचआईभी÷एड्सलगायत केही शारीरिक रोग नै मानिन्छन् ।

आत्महत्यामा जीवन समाप्त पार्ने इच्छा आफूभित्रै बाट उत्पन्न हुन्छ र जानीजानी , आफ्नै इच्छाले आफ्नो जीवन समाप्त पार्छन् । भनिन्छ–आत्महत्या गर्ने मानिसले आफ्नो जीवन समाप्त पार्ने बाटो मात्र देखेको हुन्छ, अरू सम्भावनाबारे उसले विचारै गरेको हुँदैन ।

आत्महत्या गर्ने प्रमुख तरिकामा विष सेवन, झुण्डिएर, आत्मदाह गरेर, पानीमा डुबेर, आफैँलाई गोली हानेर, अग्लो घर, छतबाट हाम्फालेर आदि पर्दछन् ।

आत्महत्या उनको परिवारका लागि अचानक र कल्पनै नगरेको घटना हुन्छ र यसको असर परिवारले लामो समयसम्म या जिन्दगीभर नै भोग्नुपर्ने हुन्छ । आत्महत्या गर्ने व्यक्तिको परिवारलाई , छारोछोरीलाई वा बाबुआमालाई समाजले राम्रो परिवार हो भन्दैन । उल्टै यसको परिवारका मान्छे विष खाएर मर्छन् वा झुण्डिएर मर्छन् भन्ने कुरा चल्छ र परिवारलाई एकप्रकारको कलंक नै लाग्दछ ।

घरको मुल तथा आयआर्जन गर्ने व्यक्तिले आत्महत्या गर्दा परिवारमा ठुलो आर्थिक समस्यासमेत पर्न सक्दछ । परिवारका सदस्य जस्तै बालबालिकामा शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पर्न सक्छ । छोराछोरीको विवाहमा असर पर्न सक्दछ ।

अध्ययन तथा पेशा गर्न कठिनाई पर्न सक्छ । त्यसैले एउटा आत्महत्याले एक व्यक्तिको जीवन मात्र जाने होइन परिवारका पाँच–सात जनालाइ दीर्घकालीन नराम्रो असर पर्छ ।    आत्महत्याका कारण संसारमा बर्सेनि करिब आठलाख मानिस मर्छन् भन्ने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर, आत्महत्याबाट बर्सेनि मर्नेको संख्या योभन्दा बढी रहेको अनुमान गरिएको छ । गरिब देशमा जनसंख्याको चाप बढी छ, आत्महत्या गर्नेको संख्या पनि बढी छ ।

भनिन्छ, संसारमा युद्ध, दुर्घटना वा विभिन्न प्राकृतिक प्रकोप जस्तै भुइँचालो, बाढी, सुनामीलगायतका घटनाबाट ज्यान गुमाउनेभन्दा आत्महत्या गरेर मर्नेको संख्या ढी छ ।  यी तथ्यांक हेर्दा आत्महत्या एउटा जनस्वास्थ्य समस्या हो र यसलाई रोकथाम गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरा प्रस्ट हुन्छ ।

आत्महत्या रोकथाम गर्ने उपाय

व्यक्ति स्तरमा

आत्महत्या गर्न सक्ने सम्भावना भएका व्यक्तिको पहिचान गरी भेट्नुपर्छ । त्यस्ता व्यक्तिको कुरा ध्यानपूर्वक सुन्नुपर्छ । त्यसबाट खास समस्या के रहेछ भनेर जानकारी पाईन्छ र त्यो समस्याले उसको भावनामा कति गहिरो चोट पु¥याएको रहेछ भनेर अनुमान लगाउन सकिन्छ ।

– प्राय मानवीय स्वभाव अरुलाई सल्लाह दिने हुन्छ । भनिन्छ सबैजना सल्लाह दिन चाहन्छन्, तर लिन कोही पनि चाहदैँँनन । त्यसैले आत्महत्या गर्ने विचार गरिरहेका व्यक्तिलाई सल्लाह दिन नहतारिनुुस् । उसको कुरा राम्ररी सुनेर समस्याको समाधान गर्ने के–के तरिका छन्, के–के उपाय छन् त्यसबारे छलफल गर्नु उपयुक्त हुन्छ ।

– जीवनमा आशा हुँदासम्म मानिसले आफ्नो जीवन अन्त्य गर्नेबारे सोचेको हुँदैंन । आत्महत्या गर्र्ने निर्णय गरेको व्यक्तिको आशा पूरै मरिसकेको हुन्छ । केही आशा जगाउन सके आत्महत्यालाई टार्न सकिन्छ ।

– शारीरिक वा मानसिक स्वास्थ्य समस्या रहेछ भने उपचार गराउन सम्वन्धित विशेषज्ञकहाँ लिएर जाने, आवश्यकताअनुसार अस्पतालमा भर्ना गर्ने वा उपचार गर्ने गर्न सकिन्छ ।

– आत्महत्या गर्न सक्ने सम्भावना भएका व्यक्तिलाई एक्लै नछाड्नुस । उसको परिवार, केटाकेटी, साथीभाई, आफन्त मिलेर कुराकानी तथा अन्य सामान्य क्रियाकलाप गरेर भुलाउने, व्यस्त राख्ने प्रयास गर्नुहोस् ।

– आत्महत्या गर्ने धेरै सम्भावना भएको व्यक्तिको मनमा बारम्बार आत्महत्या गर्ने विचार आउँदासम्म संकट रहिरहन्छ , जब यस्ता विचार घट्दै जान्छन् तब मात्र संकट पनि घट्दै जान्छ । चिकित्सक वा मनोवैज्ञानिक परामर्शदाताले परीक्षण गरेर खतरा बढी छ वा छैन सल्लाह दिन सक्छन् ।

 परिवारबाट सहयोग

पारिवारिक  कलह, श्रीमानश्रीमतीबीचको सम्वन्धमा समस्या तथा विश्वासको कमी र पारिवारिक सहयोग नहुँदा पनि आत्महत्या गर्ने सोचाईको बिजारोपण हुनसक्छ । परिवारमा सहयोगको भावना, माया, प्रेम, विश्वास र राम्रो सम्वन्ध आत्महत्या रोक्नका लागि सहयोगी हुन्छन् ।

आत्महत्या गर्ने विचार भएको व्यक्तिले सिधा वा घुमाउरो तरीकावाट आफ्नो विचार पोखेका हुन्छन् । जस्तैः अब धेरै दिन बाँचिन्न होला, संगै बस्ने दिन सकिँदैछन्, हाम्रो यो भेट अन्तिम पनि हुन सक्छ आदि । यस्ता कुरालाई सामान्य  रूपमा लिनुहुँदैन ।  मानसिक वा शारीरिक उपचार गराईराखेका बिरामीलाई बेलाबेलामा चिकित्सकलाई देखाउने, सरसल्लाह लिने, औषधि उपचार गराउने आदि जिम्मेवारी परिवारको हो ।

 समुदायको सहयोग

आर्थिक समस्या, जनचेतनाको कमी, अन्धविश्वासलगायतका कारण मानसिक रोगीले उपचार गराएका हुँदैनन् । परिवारले सहयोग गर्नुको साटो अवहेलना, असहयोग गरिराखेका हुन्छन् । आत्महत्या घटाउनका लागि समुदायका चेतनशील वर्ग ले ठुलो सहयोग गर्न सक्छन् ।

आत्महत्या कुनै पनि समस्याको समाधान होइन । समस्यासँग लड्न, डटेर सामना गर्ने वा आत्महत्याको बदला अर्को बाटो पहिल्याउन सक्यो भने अकालमा जीवन जाँदैन । स्वास्थ्य खबरपत्रिका

पेटको बोसो घटाउने ९ घरेलु उपाय

0

१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात

दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

२. खैरो चामलको भात खानुहोस्

यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । (खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहोला)

३. गुलियोबाट टाढा रहनुहोस्

यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

४. पानी धेरै पिउनुहोस्

पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

५. काँचो लसुन खानुहोस्

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

६. मांसाहारबाट टाढै रहनुहोस्

मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।

७. धेरै सागसब्जी खानुहोस्

खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

८. खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्

खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

९. बदामको प्रयोग गर्नुहोस्

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन । स्वास्थ्य खबरपत्रिका

हातखुट्टा मर्किए के गर्ने ?

0

डा. सजु प्रधान

मर्कनु एउटा दुर्घटनाबाट सृजना हुने शारिरीक समस्या हो । जोर्नीहरूको वरिपरि डोरीजस्तो तन्तुहरु हुन्छन् जसलाई लिगामेन्ट भनिन्छ । लिगामेन्टसले जार्नीलाई कस्सिएर एउटा बन्धनमा सुरक्षित राखेका हुन्छन् । जोर्नीका यीनै लिगामेन्टस् बटारिएर उत्पन्न हुने समस्या र चोटपटकलाई मर्कने भनिन्छ ।

सामान्य अवस्थामा मर्कने भनेको व्यक्तिको क्षणीक लापरवाहिका कारणले हुने समस्या हो । यो कुनै व्यक्ति लडेर वा नलडिकन पनि जोर्नीहरु मर्कन सक्छन् । प्राय हातखुट्टा र हिप बढी मर्कने अंग हुन । कहिलेकाहीँ मर्कदा टिस्यु समेत ड्यामेज हुने तथा चुँडिन, च्यातिन वा तानिन सक्छन् । टिस्यु ड्यामेज भएको ठाँउमा रक्तश्राब हुन्छ र सुन्निन गई दुखाई बढी हुने गर्दछ ।

सामान्य मर्काइले कुनै असर गर्दैन । यो सामान्यतयाः १ देखि ६ हप्तामा उपचार नगरे पनि आफँै ठीक भएर जान्छ । मर्काइ पनि विभिन्न प्रकारको हुन्छ । ग्रेड एक भनेको एउटा सामान्य अवस्था हो । ग्रेड दुईमा लिगामेन्टस्को केही अंश मात्र चुँडिने हुन्छ भने ग्रेड तीनमा पुरै च्यातिने हुन्छ । लिगामेन्टस् च्यातियो भने शल्यक्रिया गरी मिलाउनु पर्ने हुन्छ । ग्रेड एक र दुईको उपचार शल्यक्रिया बिनानै गरिन्छ । मर्केर सुन्निएको छ भने आइसले सेकेर सुन्निने र दुखाई कम गर्न सकिन्छ । कहिले काहीँ बढी सुन्नियो भने चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।

मर्काइमा सावधानी अपनाउनु पर्ने हुन्छ । ग्रेड एक र दुईलाई सामान्य रुपमा क्रेप व्यान्डेज गर्ने, आराम गर्ने, बैसाखी लिएर मात्र हिड्ने गर्नु पर्दछ भने ग्रेड तीनमा जोर्नी फुस्कने गरी मर्केको छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । लामो समयसम्म उपचारपछि पनि ठिक भएन भने फिजियोथेरापी मार्फत पनि उपचार गर्न सकिन्छ । मर्काइमा चिकित्सकसको सल्लाह लिनु सबैभन्दा उपयुक्त हुन्छ ।

मर्काइमा जर्बजस्ती हिँड्ने गर्नुहुँदैन । जर्बजस्ती गर्नाले गोलीगाँठाहरु फुट्न सक्छन् । कसै कसैले मर्कने बित्तिकै जोडले माँड्ने, तन्काउने गर्दछन् तर यस्तो गर्नु हुदैन । मर्केपछि हड्डि भाँचिएको छ कि छैन पत्ता लगाउन एक्सरे गर्नुपर्छ । मर्कने समस्यालाई धेरै व्यक्तिले ठूलो समस्याको रुपमा हेरेको पाइदैन । कतिपय अवस्थामा मर्काइले जटिल समस्या समेत सृजना गर्न सक्छ

शान्ति समाजको सभापतीमा शर्मा

0

मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा नवौ अधिवेशन तथा पन्ध्रौ साधारणसभा सम्पन्न भएको छ ।अधिवेशनले ठाकुरप्रसाद शर्माको अध्यक्षतामा शाखाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपसभापतीमा नवराज पौडेल, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा मुकुन्दप्रसाद आचार्य र सहसचिवमा शिवप्रसाद सुवेदी चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा हरिप्रसाद पौडेल, सन्तोष ढुङ््गाना, निरमाया मिजार, भिमकुमारी बानिया (लक्ष्मी), शिव पौडेल, बिनोदकुमार श्रेष्ठ र नवराज रिजाल रहनुभएको छ । कार्यसमितिको पहिलो बैठकले थप ३ जना सदस्य मनोनित गर्ने जनाइएको छ ।

अधिवेशनको उद्घाटन गर्दै ज्येष्ठनागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले मानव अधिकारको रक्षा, शान्ति तथा सुव्यवस्था र हिंसाको अन्त्यका लागि नागरीक समाजको सक्रियता आवश्यक रहेको बताउनुभयो । समाजका उपसभापति रामजीप्रसाद सुवेदीले शान्ति समाजले समय आन्दोलन, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुता प्रर्वद्धनलाई प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा शाखाका सल्लाहकार सञ्जयकुमार श्रेष्ठ, अमृतदेवी बानिया, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेल, म्याग्दी जेसीजका अध्यक्ष नारायणकुमार बराल, नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव कमल खत्री र महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष रेखाकौशल रेग्मीले मानवअधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुबीचको सहकार्यमा जोड दिनुभयो ।

साधारणसभाले सचिव सन्तोष गौतमले प्रस्तुत गरेको प्रगति र कोषाध्यक्षको तर्फबाट सहसचिव मुकुन्दप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । समाजका शाखा सभापती मुक्तिप्रसाद ढुङगानाको अध्यक्षता, उपसभापती ठाकुरप्रसाद शर्माको स्वागत र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य सन्तोष ढुङ्गानाले २० बुँदे अवधारणापत्र तथा शिवप्रसाद सुवेदीले शान्ति समाजको नीतिका विषयमा जानकारी गराउनुभएको थियो ।

error: Content is protected !!