Thursday, June 26, 2025
22.2 C
Beni
22.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 1539

पढ्न मन लागेन ? यसो गर्नुहोस्

पढ्ने कुरा नितान्त प्राबिधिक तथा मनोवैज्ञानिक कुरा हो भन्ने जान्दा जान्दै पनि हामी बलपूर्वक पढ्न खोज्छौं । बलपूर्वक पढ्दा पनि केही कुरा तत्कालका लागि याद त हुन सक्छ । तर यसले दिगोपना दिन नै सक्दैन । अर्को कुरा, बलपूर्वक पढ्दा हाम्रा अगाडि किताब त हुन्छ, तर मन हामीसँग हुँदैन । अन्तै विचरण गरिरहेको हुन्छ । त्यस समय न पढाइ राम्रोसँग हुन्छ, न त अन्य कार्य नै । हाम्रो अधिकांश समय ब्यर्थमा गैरहेको हुन्छ ।

अर्कोतर्फ, मन नलागी नलागी कुनै काम गर्दा सो काम पीडादायी पनि हुन जान्छ । त्यसले चैनले बस्न पाउने अधिकार खोस्छ र अन्तमा पढाइ भन्ने विषयप्रति नै नकारात्मक धारणा पैदा गराउँछ । सबैभन्दा खतरनाक पक्ष त बलजफ्ती पढ्दा सिर्जनशीलता नष्ट हुँदै जान्छ । यसै पढाइलाई पढुँपढुँ लाग्ने, पढेर छिटो बुझिने र दीर्घकालसम्म सम्झिरहने बनाउन पाए बिद्यार्थी जीवन कति सुन्दर हुँदो हो ? कति आनन्ददायी हुँदो हो ?

असाध्यै खुसीको कुरा सुनाउँ । यो सम्भव छ । यो सब हामी आफैं नै गर्न सक्छौं । प्रत्येक व्यक्तिले गर्न सक्छ । यसका लागि हाम्रो मनका केही स्वभावहरुका बारेमा जानकारी हुनै पर्दछ ।

हाम्रो मस्तिष्क शरीरको एक अंग हो भने मन त्यसको अपरेटिङ्ग सिस्टम हो । यसै मनको सहायताले हामीले हाम्रो शरीरलाई डुलाउन, नचाउन, स्थिर राख्न, रुवाउन, हँसाउन सक्छौं । अनि यी सब क्रियाकलापको असर हाम्रो शरीरमा पर्छ । मनले कल्पना गरेर कागती खानुस् मुखमा पानी आउँछ । आफूलाई डरलाग्दो जनावर भालुले लखेटेको कल्पनामा ल्याउनुस् तपाईंको शरीरमा साँच्चैको भालुले लखेट्दा हुने परिवर्तन आउन थाल्छ । यी सबको सार के हो भने मनको प्रयोगले हामीले मष्तिष्क लगायत सम्पूर्ण शरीरमा प्रभाव पार्न सक्दछौं ।

मनको यो स्वाभाव तथा शरीर र मनवीचको सम्बन्धको रहस्यलाई बुझेर त्यसलाई पढाइमा प्रयोग गर्न सकिन्छ ।

रुचीपूर्ण अध्ययनका सात रहस्यहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।

मनलाई अाफ्नो गन्तव्य स्पष्ट भन्नुहोस्

अरुलाई भन्नुस्/ नभन्नुस् तर अाफ्नो मनलाई अाफ्नो गन्तव्यका बारेमा स्पष्ट पार्नै पर्छ । गन्तव्य प्रष्ट छैन भने पढ्नमा अल्छी लाग्ने, विषय कठिन लाग्ने कुनै पनि बहानामा पढाइ छोड्न खोज्छ मनले । मैले आज के पढ्नुछ र कति पढ्नु छ ? सो प्रष्ट हुनै पर्छ । अनि आज मैले यति पढें भने के हुन्छ ? मेरो जीवनको लक्ष्यमा यसले के प्रभाव पार्दछ, सो पनि जोड्न सके अझ राम्रो ।

लक्ष्य स्पष्ट हुनुले कार्यमा अलमल हुँदैन । भीरमा अल्झेको मानिसले त्यहाँबाट मुक्ति पाउनु बाहेक केही सोच्नै सक्दैन । चोकमा तरकारी किन्न निस्केको कुनै व्यक्तिले बाटोमा भेटिएका हरेक ब्यक्तिलाई त्यतिकै महत्व दिएको हुन्छ । तर, सोही व्यक्ति निर्धारित समयमा एयरपोर्ट पुग्दै गरेको अवस्था छ भने बाटोमा कोही नभेटिए हुन्थ्यो भन्ने हुन्छ । पढ्ने कुरालाई यसै गरी स्पष्ट पार्नु पर्छ । आवश्यक र अनावश्यक विषयका आधारमा प्राथमिकता निर्धारण गरी तत्काल अध्ययन गर्नैपर्ने विषयलाई प्रष्ट पार्नु पर्छ । यो पढुँ कि त्यो पढुँ भन्ने दुविधा हुन दिनु हुँदैन ।

अर्को कुरा, महान लक्षले महान कार्य गराउँछ हामीसँग । जब जीवन बचाउन भूकम्प आएका बेला दौडिनुपर्छ, त्योबेला आफू खासै पैदल हिँडनमा रुची नराख्ने वा खुट्टामा घाउ लागेको वा अन्य केही बाहानाहरु सबै ओझेलमा पर्छन् ।

कुनै कुरा पढ्नुको कारण पुष्ट्याइँ गर्नुहोस्

यो पाठ किन पढ्ने ? अहिले नै किन पढ्ने ? यी सवै प्रश्नको स्पष्ट जवाफ हुनुपर्छ तपाईसँग । अन्यथा तपाईको मनले तपाईलाई पत्याउँदैन । जसको परिणाम पढ्नमा रुची रहँदैन । कुनै काम गर्नैपर्ने बाध्यता किन पर्‍यो, त्यसको जवाफ दिनुपर्छ मनलाई । गरे पनि हुने र नगरे पनि हुने सुविधा भएसम्म पढाइ लगायत कुनै पनि कार्यहरु प्रभावकारी हुँदैनन् । यी सबैकुरा प्रष्ट पार्न सक्नुभयो भने मात्र तपाईंको मनले विश्वास गर्छ । पढ्नमा सहयोग गर्छ ।

परिणाम मापन गर्ने आधार तयार पार्नुहोस्

परिणाम प्रष्ट नहुने कार्यप्रति निरन्तर लगाव लागिरहन सक्दैन । जति पढे पनि कति जानेको छु नै थाहा नहुने, आफ्नो अवस्था जाँच गर्न नसकिने, कति अध्ययन गर्दा के हुन्छ सो परिणाममा नदेखिने भयो भने पढाइ प्रभावकारी हुन सक्दैन । हरेक कार्यको परिणाम खोज्छ हाम्रो मनले । परिणाम नदेखिने र निरन्तर प्रयास मात्र गरिने कुनै पनि काम रुचीपरक हुन सक्दैन ।

मानौं तपाईं कुनै यात्रामा निस्कनुभयो, आˆनो गन्तव्य अझ कति टाढा छ र म हालसम्म कति किलोमिटर हिँडिसके भन्ने केही थाहा भएन भने त्यो यात्रा निकै कष्टकर बन्नेछ । जति नै लामो यात्रा भएता पनि मैले यति हिडें र अब यति बाँकी छ भन्ने प्रष्ट छ भने मनले शरीरलाई थप अगाडि बढाउनमा आदेश गर्छ । यही कुरा पढाइमा पनि लागू हुन्छ । आफूले कति पढ्दा के नतिजा पाएको छु सो थाहा पाउनुपर्छ । यो पाठ पढेर मैले यो यो कुरा जानेँ र यो यो अझै जान्न बाँकी छ भन्ने हुनु पर्दछ ।

समयको सीमा निश्चित गरौं

कति समयभित्र के पढ्नै पर्ने भन्ने स्पष्ट समयसीमा नभइकन पढाइले प्राथमिकता पाउँदैन । अन्य कुरा हावी हुन्छन् । परीक्षाको २/४ महिना अगाडि र परीक्षाको २/४ दिन अगाडिको पढाइमा फरक हुनुको कारण पनि यही हो ।

मैले यो च्याप्टर राम्रोसंग अध्ययन गरिसक्नका लागि आज १ दिनको मात्र समय छ भन्ने स्पष्ट किटान हुनुपर्छ । त्यसो नभै जति पनि समय छ भन्ने म्यासेज तपाईंको मनले पायो भने अनावश्यक कुरालाई प्राथमिकतामा ल्याइदिन्छ । अहिले नपढेमा फेरि पढ्न समय पाउँदिन भन्ने स्पष्ट नपार्दासम्म पढाइ प्राथमिकतामा नै पर्दैन । पढाइमा मात्र नभै अन्य कार्यमा पनि सोही नियम लागू हुन्छ ।

मानौं कि तपाईं घनघोर जंगलको वीच बाटोबाट हिँडिरहनु भएको छ । साँझ पर्न लागिसकेको छ । एक घण्टाभित्र सो जंगल पार नगर्ने हो भने बस्ती भएको ठाउँमा नपुग्दै जंगलमा नै रात पर्दछ । यस्तो अवस्थामा हाम्रो हिँडाइको गति कस्तो होला ? बाटोमा दायाँ बायाँ रहेका मन लोभ्याउने कुराहरुले तान्लान् या नतान्लान् ? यस्ता अन्य कुराहरुले महत्व पाउलान् या नपाउलान् ? अवश्य नपाउलान् । किन यस्तो भयो भने यहाँ लक्ष्य प्रष्ट छ । समयसीमा निश्चित छ । यसै रहस्यलाई पढाइमा लगाउनुपर्छ ।

जिज्ञासा (खुल्दुली)को सिर्जना गरी पढौं

सक्रिय पढाई गर्नका लागि जिज्ञासा जगाउनैपर्छ । जब कुनै विषयवस्तुप्रति जिज्ञासा जाग्छ, अनि जिज्ञासा शान्त पार्न मनले नै आफै खोजी गर्छ ।

जस्तो-मानौं, तपाईको कुनै साथीहरुसँग पाठ्यक्रमको कुनै विषयवस्तुमा छलफल भयो । कुनै कुरामा तपाईंको चित्त बुझेन भने अब पुस्तक पाउने वित्तिकै त्यो विषय हेरुँ हेरुँ भैहाल्छ । पढाइले मनलाई तान्ने भनेको यही हो ।

हाम्रो मन, दिमाग र शरिरको रहस्यलाई बुझेर नै एफ पी रविन्सले पढाएका पाँच चरणहरु प्रचलनमा ल्याएका थिए ।
पढ्नु अगाडि जिज्ञासा सिर्जना गर्न निम्न प्रयत्न गर्न सकिन्छ :

छलफल गर्ने: कुनै पनि जान्नुपर्ने विषयमा साथीभाइ बीच छलफल चलाउने, छलफलमा खड्केका विषयहरु जान्न परीक्षण गर्न खोज्छ मनले । त्यसका लागि पुस्तक वा सामग्री पढ्न आफैं खोज्छ ।

प्रश्न/उत्तर: विषयवस्तुका बारेमा आफै विभिन्न प्रश्न निर्माण गर्ने र सो को उत्तर दिने प्रयत्न गर्ने । आफूले दिएको उत्तर मिल्यो कि मिलेन भनेर तपाईको मनले खोजी गर्छ ।

परीक्षाहरु दिइरहने: औपचारिक परीक्षा होस् वा स्वेच्छाले दिइने नमूना परीक्षा होस्, परीक्षा दिँदा परीक्षा दिइएको प्रश्नको विषयमा आफै खुल्दुली सिर्जना हुन्छ र सो विषयको अध्ययनमा भोक जाग्छ ।

आत्म विश्वास कहिल्यै घट्न नदिउँ

म यो गर्न सक्छु भन्ने नभै कुनै पनि कार्यहरु सम्पन्न हुँदैनन् । उपलब्धि हासिल हुँदैनन् । सजिल्यै गर्न सकिने कार्य पनि आत्मविश्वास कमजोर हुँदा राम्रोसंग गर्न सकिँदैन । जस्तो-कुनै एकै व्यक्ति भूईमा राखिएको एक फिट चौडा २० मिटरको फलेकमा सजिलै हिँड्न सक्छ । तर, सोही एक फिट चौडा फलेक केही मिटर १०/१५ माथि आकासमा फिट गरियो र सोही ब्यक्तिलाई त्यहाँ हिड्न लगाइयो भने कति सजिलो गरी हिँड्न सक्ला ? अवश्य पनि असजिलो हुन्छ । यहाँ डरले तान्छ । असफल भैहाल्यो भने त जिन्दगी खत्तम ! साच्चिँकै उ सफल हुने सम्भावना कम हुन्छ । आफैंप्रतिको अविश्वासले गर्दा सो कार्य गर्न सकिँदैन ।

सजिलै जानिएका कुराहरु परीक्षाको सिटिङ्गमा बिर्सिएको, राम्रो तयारी गरेर जाँदा पनि भाषण गर्दा अक्मकाएको, सजिलै प्वालमा छिराउने क्यारेमबोर्डको गोटी गेमको समयमा असजिलो भएको आदि घटनाहरु सामान्य जीवनमा घट्ने घटना हुन् । कतै विगि्रन्छ कि, बिराइन्छ कि भन्ने डरका कारण, आत्मविश्वास नहुनुका कारण यस्ता घटनाहरु घट्छन् ।

आत्मविश्वास बढाउनका लागि आफैंले आफ्ना सकारात्मक पक्षहरुलाई हाइलाइट गर्दै जाने हो अरुले वाह वाह गरेर सिर्जना भएको आत्मविश्वास भन्दा यो दिगो हुन्छ । आफ्ना सफलताका नजिरहरुलाई अगाडि बढाउँदै, तिनीहरुलाई सिंढी मान्दै अगाडि बढ्ने हो ।
साइको साइबरनेटिक्सका जन्मदाता प्लाष्टिक सर्जन म्याक्सवेल माल्जले लामो समयसम्म आफूले प्लाष्टिक सर्जरी गरी अनुहार बनाएका हजारौं ब्यक्तिहरुको त्यस पश्चातको जीवन सफल रहनुको कारण खोजी गर्दा भेटिएको रहस्य यो थियो कि ती हरेक ब्यक्तिहरुले प्लाष्टिक सर्जरी पश्चात म कमजोर भन्ने कुरा नै बिर्सिए ।

आनन्द, मस्ती र मनोरञ्जनसँग पढाइलाई जोडौं

आनन्द/ मनोरञ्जन/मस्तीले तान्छ मनलाई । जाँचैको अघिल्लो दिन नै भए पनि पार्टी/पिकनिक/ सिनेमा/डेटिङ्ग आदि प्राथमिकतामा पर्नुको कारण पनि यही हो । यस्तै कुनै योजना बनाउन पर्‍यो, जसले पढाइमा मस्ती आओस । मस्ती जोडियोस् ।

पढाइमा मस्ती जोड्ने दुई तरिका छन्ः

(क) पढाइलाई नै तत्काल आनन्द, मस्ती वा रमाइलो कुरा प्राप्तिसँग जोड्ने

बच्चालाई कुनै पाठ पढ्नुपूर्व चक्लेटको लोभ देखाएर पढाएझै हामीले आफैले आफ्नो मनलाई पनि लोभ्याउन सकिन्छ । यति सके भने अनि यस्तो यस्तो रमाइलो गर्ने । यो जानें भने मात्र पिकनिकमा जाने । पार्टीमा जाने । फिल्म हेर्न जाने आदि आदि । पढाइ सकेपछि साँच्चै नै रमाइलो पनि गर्ने । नियमित रुपमा यसरी मनलाई बानी नै पार्न सकियो भने पढाइ रमाइलो प्राप्तिको कारण बन्दछ ।

(ख) पढाइलाई लक्ष्य प्राप्ति हुँदाको रमाइलो कल्पनासँग जोड्ने

काल्पनिक उपलब्धिबाट पनि बास्तविक आनन्द पाउन सकिन्छ । अझ भनौं आनन्दलाई भविष्यदेखि वर्तमानमा इम्पोर्ट गर्न सकिन्छ । लक्ष्य प्राप्ति हुँदाको रमाइलो कल्पनामा डुब्दै त्यो कल्पनामा भएको रमाईलो महशुस गर्दै त्यसको कारक तत्वको रुपमा आजको पढाईलाई जोड्न सकिन्छ ।

एकैछिन त्यो महान लक्ष्य जसका लागि तपाईं आज मेहनत गरिरहनु भएको छ, त्यो प्राप्ति भएको कल्पना गर्नुहोस । मानौं तपाईंले देखेको महान ब्यक्ति बन्ने सपना आज पूरा भएको छ । तपाईं मात्र होइन तपाईंको परिवार, आफन्त, साथीभाइहरु सवै खुसीले नाचिरहेका छन् । सबैको प्रेरणाको पात्र तपाईं बनिरहनुभएको छ । माला, अवीर, टीका आदिआदि सकेसम्मको रमाइलो कल्पनाको आनन्द महसुस गर्नुहोस् । कल्पना दृश्यात्मक बनाउनुहोस् । सकेसम्म इमोशनल बनाउनुहोस् । जति इमोशनल हुन्छ, त्यति सवकन्सियस माइन्डमा छाप पर्छ ।

कुरा त कल्पनाको नै हो, तर यसले प्रभाव साँच्चैको पारेको छ । हाल प्राप्त गरेको आनन्द त साँच्चैको हो नि । यस्तै अभ्यास गरिरहँदा हाम्रो मनले यो प्राप्त गरी छाड्ने दिशामा क्रमिक रुपमा हामीलाई अगाडि बढाउँछ । जब त्यो आनन्दको रसामृतको स्वादका बारेमा सवकन्सियस मनमा छाप पर्छ, अनि हरेक पल मन त्यतै त्यतै ढल्किन्छ ।

अनमोल आनन्द पाउने प्रक्रियाका हरेक सानातिना कठिनाइ कठिनाइ हुँदैनन् । एउटा प्रेमिकालाई आˆनो जीवनमा पाए पछिको आनन्दलाई सम्झेर प्रेमिले रातभर नसुती प्रेमपत्र लेख्न पर्यत्न गर्छ । हेर्दै जाने हो भने स्वतस्फूर्त गरिने कुनै पनि कार्यहरु आनन्दसंग जोडिएका छन् ।

जे होस् हाम्रो मनले आनन्द प्राप्तिका लागि शरिरलाई काम गराउने नै रहेछ । पढेपछि आनन्द पाइन्छ भन्ने विश्वास मात्र दिलाउन सके हुनेरहेछ । पढाइ मस्तीको विषय बन्यो भने त के चाहियो र ? onlinekhabar.com

आफन्तको पुण्य तिथीका दिन शेरचन परिवारद्धारा शान्तिकोषलाई सहयोग

यहाँको एक शेरचन परिवारले आफन्तको पुण्य तिथीका अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् । बेनी नगरपालिका ७ न्यूरोड स्थित सुन्दरमान शेरचनकी स्वर्गीय माता रुपदेवी शेरचनको नवौं पुण्य तीथीको अवसरमा शान्तीकोषलाई सात हजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

जटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति कोषले सञ्चालन गरेको अभियानमा शेरचन परिवारका तर्फबाट सो रकम हस्तान्तरण गरिएको हो ।कोषमा हालसम्म पाँच सय भन्दा वढीले आजिवन सदस्यता लिएका छन भने १८ जनाले दुई लाख सहयोग गरेर संरक्षक भएका छन् ।

करिब ४० जना मुटु, मृगौला, रक्तक्यान्सर, आँखा लगायत रोगबाट थलिएका विपन्नलाई सहयोग जुटाएको कोषलाई तिन लाख भन्दा बढी सहयोग गरेर मोना कतार र बहराईन संस्थागत सदस्य बनेका छन् । विभिन्न प्रकृतीका बिरामीहरुलाई पचहत्तर लाख भन्दा बढी सहयोग जुटाएको कोषको डेढ करोडको अक्षयकोष स्थापनाका लागि हालसम्म पचास लाख रुपैयाँ भन्दा बढी सहयोग घोषणा भएको छ ।

प्रेम सञ्जाल बढाउने सुवेदीको गित रातारात बाहिरियो

एल्बममा सजाइएको शब्द र लय मार्फत युवायुवतीलाई प्रेम सञ्जालमा फसाउने एउटा लोकिगत बजारमा आएको छ । चर्चित कलाकार अमिर सुवेदीको शव्द लय तथा स्वरमा सजिएको ‘तिम्रै चिन्ता भो, रोएरै वित्या छन् रात र दिन त भो’ लोकगितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

अवसर डिजिटल प्रा.लि.ले बजारमा ल्याएको उक्त गितमा सुमुधुर स्वरकी धनी कृष्ण परियारले स्वर दिएकी छिन् । म्युजिक भिडियोमा किशोर रिजाल र ममता गुरुङको अभिनय रहेको छ भने निर्देशन सिर्जन बरालले गरेका छन् ।दर्जनौ गित बजारमा ल्याएर हिट बन्दै गएका सुवेदीको उक्त गित आलोचनाको भागी बन्नुपर्ने देखिएको छ ।गोपाल जिसी

 

 

थाली नाचको म्युजिक भिडियो सार्वजनिक

बिहानी डिजिटल प्रालिको प्रस्तुतिमा दिलकुमारी राजाली गर्वुजाको “थाली नाच” गीतको म्युजिक भिडियो युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।कला संस्कृतिको धनी देशमा विभिन्न मौलिक पररम्पराहरु रहेको हाम्रो देशमा जातजाति धर्मको आ–आफ्नै परम्परा र संस्कृतिहरु छन् ।

यस्तै मध्येका थाली नाच पनि एक हो। बिशेष गरी म्याग्दी र आसपासका जिल्लाहरुमा ‘थाली नाँच’ नाच्ने प्रचलन छ । निकै रोचक र आकर्षक थाली नाच म्याग्दीमा मात्र सीमित नभई हाल भने देश विदेशमा समेत पुगिसकेको छ । थाली नाचमा नाच्ने व्यक्तिले हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नाच्छन् ।

मोडेल दिलकुमारी रामजाली गर्वुजाको  ‘थाली नाँच’को म्युजिक भिडियो तयारी पारेकी छिन् । राम गगनको निकै मिठो मौलिक लय र शब्दमा तयार भएको गीतमा मिना गर्वुजा र लाली बुढाथोकीले निकै मिठो स्वर भरेका छन ।बिहानी डिजिटलले बजार ल्याएको यस म्युजिक भिडियोलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

दिलकुमारी रामजाली गर्वुजा,जालामाया  बुढाथोकी, पानु रोक्का, मिरा राम्जाली, र किस्मत तामाङको उत्कृष्ट अभिनय रहेको भिडियोलाई उमेश गुरुङले निर्देशन गेरेको छ । मधुर बस्नेतको छायांकन र सुजन शाहीको सम्पादन रहेको छ ।भिडियोलाई  क्वालिटी फिल्मसले निर्माण गरेका हुन् भने उत्पादक वितरण बिहानी डिजिटललाई दिएको छ ।

कारागारका कैदीबन्दीलाई पुस्तकालय

जिल्ला कारागार म्याग्दीका कैदीबन्दीमा पुस्तक सहयोग गरिएको छ । १० औ पुस्तकालय दिवसको अवसरमा बिहिबार म्याग्दी सामुदायिक पुस्तकालय, जिल्ला पुस्तकालय सञ्जालले कारागारका कैदीबन्दीलाई लक्षित गरी पुस्तकालय स्थापनाका लागि विभिन्न १ सय ६१ वटा पुस्तक, खेलकुदका साम्रागी हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले जेललाई विद्यालयको रुपमा प्रयोग गर्न कैदीबन्दीलाई अनुरोध गरे ।

‘पुस्तक झरनाको पानी जस्तै हुन्छ । यसलाई नियमित पिउन सिक्नुहोस्’ प्रजिअ अधिकारीले भने । उनले समाजलाई शिक्षित बनाउन सकेको भए कारागारको आवश्यकता नहुने बताउँदै फुर्सदको समयलाई अध्ययनमा प्रयोग गर्न सकेमा बाँकी जीवन सफल बनाउन सकिने बताए ।

सोही अवसरमा जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी विश्वप्रकाश रेग्मीले पुस्तकालय भित्र रहेका पुस्तकले जेलबाट निस्किएपछि समाजमा स्थापित हुन सहज हुने बताए । विश्वका चर्चित लेखकहरुले जेलबाट आफ्नो परिचय स्थापित गरेका छन् । सुधारगृहबाट आफ्नो नयाँ जीवनका थालनी गर्नुहोस्’ उनले भने ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, म्याग्दी सामुदायिक पुस्तकालयका निर्वतनमा अध्यक्ष धनञ्जय कुमार श्रेष्ठ, म्याग्दी पुस्तकालय सञ्जालका अध्यक्ष भक्त बहादुर कार्की लगाएतको उपस्थिती रहेको थियो । कैदीबन्दीले समय अनुकुलका पुस्तकहरु उपलब्ध गराउन अनुरोध गरेका थिए । त्यस्तै एसईई र उच्च माविमा अध्ययरत विद्यार्थीहरूलाई निशुल्क पुस्तक र भर्नाको ब्यवस्था गर्न समेत माग गरेका थिए । यसैविच सामुदायिक पुस्तकालयले स्थापना गरेको जेल पुस्तकालयलाई थप पुस्तक, फर्निचर लगाएतका साम्रागीहरुको समेत ब्यवस्थापन गरिने अध्यक्ष सन्तोष रावलले बताए ।

‘पुस्तकलाई नियमित थप गर्नेछौ, यहाँका सबै कैदीबन्दीलाई पुस्तकालयको प्रयोगका बारेमा जानकारी गराउँछौ’ उनले भने । यसैविच रुम टु रिड नेपालको आर्थिक तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको ब्यवस्थापनमा म्याग्दी जिल्लाका विभिन्न विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा समेत विविध कार्यक्रमको आयोजना गरी पुस्तकालय दिवस मनाइएको छ । ‘समृद्ध नेपालको आधार पुस्तकालयको विकास’ भन्ने नाराका साथ हरेक विद्यालयमा विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको छ ।

म्याग्दीका विद्यालयमा मनाइयो पुस्तकाल दिवस

जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा १० औ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।रुम टु रिड नेपालको आर्थिक तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन बागलुङको ब्यवस्थापनमा विद्यालय स्थापना गरिएको पुस्तकालयमा ‘सबै कुरा छोडौं र पढौं’ भन्ने अभियान अन्र्तरगत बिहिबार प्राथमिक तहका विद्यार्थीले आफुँलाई मनपर्ने पुस्तक अध्ययन गरेर दिवस मनाएका थिए ।

विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उदेश्यले आयोजित कार्यक्रममो पुस्तकालय दिवसरको महत्व र पुस्तकालयले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराएको सरस्वती आधारभुत विद्यालयकी पुस्तकालय शिक्षक देवी शर्माले बताउनुभयो ।

पुस्तकालय भित्र हरेक दिन घण्टी अनुसार प्रवेश गर्ने, शिक्षकले आफ्नो तालिका अनुसार पुस्तकालय गतिविधि गर्ने गरेपनि दिवसको दिन अन्य पठनपाठनका कार्यहरुलाई रोकेर पुस्तकालय दिवस सहित विभिन्न रचनात्मक गतिविधिहरू गरिएको थियो ।

स्वतन्त्र पाठकको रुपमा पुस्तकालयमा प्रवेश गरेका विद्यार्थीलाई शिक्षकले आवश्यकता पठन क्रियाकलापमा सहयोग समेत गरेको विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले बताउनुभयो । ‘पुस्तकालयको प्रयोगले विद्यार्थीको पढाईमा रुची बढेको छ । पुस्तकालय भित्र बर्गिकरण गरेका पुस्तकहरुबाट विद्यार्थीको पढाई क्षमता समेत सहजै पहिचान गर्न सकिन्छ’ गौतमले भन्नुभयो ।

बेनी नगरपालिका–१ अर्जमस्थित ज्ञानकुञ्ज प्रावि, मालिका गाउँपालिकाको तल्लो दुखुमा रहेको सती प्रावि, मंगला गाउँपालिका–१ कुहुँको दिपशिखा मावि, बेनपा–२ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालय लगाएत १२ वटा विद्यालयमा कार्यक्रम गरिएको थियो ।

रुम टु रिड नेपालको सहयोगमा जिल्लामा स्थापना भएका विद्यालयमा हरेक बर्ष दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक संग रमाउने कार्यलाई प्राथमिकताका साथ सञ्चालन गर्ने गरेको छ ।सन् २०१४ सालमा बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि गाउँपालिकाका २० वटा विद्यालयमा स्थापना भएका पुस्तकालयमा दिवसको अवसरमा कार्यक्रम गरिएको थियो । पुस्तकालय दिवस देखी अन्र्तराष्ट्रिय साक्षरता र शिक्षा दिवससम्म पुस्तकालय सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिन्छ। म्याग्दीका ९९ विद्यालयमा रुम टु रिड नेपाल मार्फत पुस्तकालय स्थापना गरिएको छ ।

 

ढिलो आमा बन्दै हुनुहुन्छ भने ख्याल राख्नुहोस् यी कुरा

यो शास्वत सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना पनि घट्दै जान्छ । हालै सार्वजनिक भएको अध्ययनमा आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौं महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ । ब्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई महिलाहरुलाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले गर्भधारण गर्ने उपयुक्त साइत नै जुरेको छैन ।

बेलैमा सन्तान नजन्माएका तर रोजगारीमा संलग्न हुने महिलाहरुलाई ‘पार्ट टाइम मदर’ भनेर होच्याउने गरिएको केहीले महिलाले गुनासो गर्न थालेका छन् । आफूहरुले सासु–ससुरा, साथी र सहकर्मीहरुको आशालाई पूरा गर्न नसकेकोमा अधिकांश बिबाहित महिला चिन्तित देखिन्छन् ।

करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरु ढिलो सन्तान जन्माउने गरिहिरहेकै बेला विज्ञहरुले महिला उर्वरत्व जोगाउने विषयमा केही टिप्स दिएका छन् ।

यौनजन्य रोगहरुबाट बच्नुहोस्
महिलाको उर्वरता सम्बन्धी एक तिहाई समस्या यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमान्सँग मात्र यौन सम्पर्क गर्दा पनि यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपछ । नियमित परीक्षण गर्नुभयो भने तपार्इंको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ ।

धुमपान छोडिदिनुहोस्
धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धुमपान नगर्नेको तुलनामा धुमपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई ३ वर्ष बढी समय लाग्छ । धुमपानले अन्डाशयको काममा नकारात्मक अशर प्रभाव पर्छ । धुमपानको अशरले महिला अन्डा निस्काशन गर्न बाधा पुु¥याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुमपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअघि नै बन्द हुन्छ ।

अकुपन्चरबारे सोच्नुहोस्
अकुपन्चरको शरिरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभीएफ गर्न, महिलाको अन्डासयबाट अन्डा निस्काशन हुने प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला हुने पिडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएको छ । अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निस्काशन गर्न पनि सहयोग पुर्‍याउँछ ।

सन्तुलित खाना खानुहोस्
शरिरको फ्याटलाई सदैब सन्तुलित राख्नुहोस् । धेरै बढी पनि होइन, कम पनि होइन । बढी तौल र न्यून तौल दुबैले बाझोपनको समस्या ल्याउँछ । आफूलाई मन पर्ने व्यायाम गर्नुहोस र पोषणलाई पनि राम्रोसँग ध्यान दिनुहोस् । परिस्कृत वा परिमार्जित खाना र बढी चिनि सम्भव भएसम्म नखानुहोस् । खानलाई सकेसम्म प्राकृतिक अवस्थामै खानुहोस् । मोटा महिलाहरुको सेक्स हर्मन दबिने हुँदा उर्वरतामा समस्या आउन सक्छ । त्यस्तै न्यून फ्याट भएमा पनि अन्डकोशबाट अन्डा निस्काशन हुने प्रक्रियामा असर पर्छ । तपाईंको भोजनमा स्वस्थ र पोषणयुक्त खानेकुरा जस्तै माछा, पर्याप्त सागपात र गेडागुडी खानुहोस् । यदि मदिरा पिउने लत छ भने तत्कालै त्यागिदिनुहोस् । यसले बाँझोपन ल्याउनुका साथै पाठेघरमा समस्या ल्याउँछ ।

पारिवारिक ईतिहास बुझ्नुहोस्
तपार्इं¬को शरिर र मासिक धर्मको चक्रलाई राम्रोसँग बुझ्नुहोस् । नियमित मासिक धर्मको चक्र महिला उर्वरताको शारीरिक वास्तविकता हो । यही चक्रलाई बुझेर नै महिलाको सामान्य स्वास्थ अवस्था र उर्वरताबारे बुझ्न सकिन्छ । तपाईको पारिवारिक ईतिहास विशेष गरी आमाको गाइनोलोजी र मासिक धर्म बारे बुझ्नुहोस् । यदि तपाईको आमाको ४५ वर्षसम्म मासिक धर्म भएको थियो भने तपाईंको उर्वरता पनि त्यति समयसम्म हुने सम्भावना हुन्छ । यदि आमामा मिसक्यारियज भएको वा त्यस्तै अन्य समस्या भएको थियो भने तपाईंमा पनि हुन सक्छ । स्वास्थ्य खबरपत्रिकाबाट

मानसिक असन्तुलन हुनबाट जोगिने यस्ता ८ उपाय

सन्तानको मृत्यु, सम्बन्ध विच्छेद, नोकरीबाट निकालिनुजस्ता तनावपूर्ण घटनाबाट हुने नकारात्मक असरले मस्तिष्क बुढो बनाउन सक्छ। अमेरिकाको एउटा अनुसन्धानकर्ताको समूहले हालै यस्तो दाबी गरेको छ।

अनुसन्धानकर्ताहरूले ५० वर्षका १३ सय जनाको स्मरणशक्ति र सोच्ने क्षमता जाँच गर्न एउटा परीक्षण गरेका थिए। अध्ययनमा मस्तिष्कमा पर्ने नकारात्मक असरको खतरामाथि ज्यादा ध्यान दिइएको थिएन। विशेषज्ञहरूले यस्तो खतराका कारण मानसिक सन्तुलनमा फरक आउनसक्ने बताएका छन्।

अनुसन्धानको प्रतिवेदन लन्डनमा आयोजित अल्जाइमर्स एसोसिएसनको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको थियो।

अनुसन्धानमा तनावको जोखिमको सम्बन्धमा ठोकुवा गरेर केही भनिएको छैन। तर, तनावपूर्ण जीवनयापनले मस्तिष्कको काम प्रभावित हुने र मानिसको बिस्तारै बिस्तारै मानसिक सन्तुलन गुम्नसक्ने बताइएको छ।

क्षीण स्मरणशक्ति

सिद्धान्ततः तनावका कारण जलन (पोल्ने/दुख्ने) र सुन्निनेजस्ता समस्या बढ्छन्। यस्ता लक्षणबाट बिस्तारै मानसिक रोगको अवस्था पनि आउन सक्छ। यसबारे साउथह्याम्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शोध गरिरहेका छन्।

विस्कन्सिन स्कुल अफ मेडिसिन युनिभर्सिटीले गरेको अनुसन्धानमा अफ्रिकी र अमेरिकीहरूलाई अन्य मानिसको तुलनामा तनावको जोखिम धेरै हुने पत्ता लागेको थियो। स्मरण परीक्षणमा उनीहरूको नतिजा निकै खराब थियो।

अरु अध्ययनले पनि जीवनको पूर्वाद्ध (सानो उमेर) मा लिइने तनाव र बस्ने कोठाको असरले पनि कतिपयलाई मानसिक असन्तुलतर्फ डोर्‍याउन सक्ने देखाएका छन्।

अल्जाइमर्स सोसाइटीका अनुसन्धान निर्देशक डा. डग ब्राउनले भने, ‘चिन्ता र तनावजस्ता स्थितिको बेग्लाबेग्लै परीक्षण गर्न कठिन छ। यी सबैले बिस्तारै बिस्तारै कडा मानसिक रोगको खतरा बढाउँछन्।’

करिब ८ लाख ५० हजार बेलायती मानसिक असन्तुलनको सिकार छन्। तीमध्ये अधिकांश व्यक्ति ६५ वर्षभन्दा माथिका छन्। करिब ४२ हजार व्यक्ति भने ६५ वर्षमुनिका छन्।

मानसिक असन्तलुनको खतरा न्यून पार्ने उपायः

१. सातामा कम्तिमा पनि पाँच दिन दैनिक आधा घन्टा शारीरिक काम वा व्यायाम गर्ने।

२. धूमपान नगर्ने, गरिरहेकाले त्याग्ने।

३. स्वस्थ र सन्तुलित भोजन गर्ने। भोजनमा माछा, फलफूल, हरिया सागसब्जी समावेश गर्ने। रातो मासु र चिनीको मात्रा घटाउने।

४. मदिरा सेवन गर्नेले सातामा १४ युनिट (बेलायतमा जारी मदिरापान सम्बन्धी नयाँ निर्देशिका अनुसार) भन्दा बढी नपिउने।

५. उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र टाइप–टु मधुमेह ख्याल गर्ने।

६. मस्तिष्कघात, हृदयरोग र मधुमेहको जोखिमबाट जोगिन आफ्नो शारीरिक वजनको पनि ख्याल गर्ने।

७. मस्तिष्कलाई सक्रिय राख्ने, वर्ड सर्च, माइन्ड गेम खेल्ने र नयाँ कुरा सिक्ने।

८. आफूलाई सामाजिक रुपमा सक्रिय राख्ने अर्थात् एक्लिनबाट जोगिने।

(साभार बिबिसी)

नोटः १ युनिट अल्कोहल भन्नाले १० मिलिलिटर वा ८ ग्राम शुद्ध अल्कोहललाई जनाउँछ। सामान्यतया २५ मिलिलिटर ह्विस्की (अल्कोहल बाई भोल्युम–एबिभी ४० प्रतिशत) बराबर १ युनिट अल्कोहल हुन्छ। यसैगरी, १ पिन्ट बियर (एबिभी ५ प्रतिशतदेखि ६ प्रतिशत) को एक तिहाइ वा स्ट्यान्डर्ड आधा ग्लास (१७५ मिलिलिटर) रेड वाइन (एबिभी १२ प्रतिशत) बराबर पनि १ युनिट अल्कोहल हुन्छ।

शाकाहारी भए के हुन्छ? यस्ता छन् तथ्य

यदि विश्वभरका सबै मानिस सधै‌ंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला?

१. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन हुने खानेकुरा खाँदै नखाने हो भने बर्सेनि कम्तिमा पनि ८० लाख मानिसको जीवन जोगिनेछ।

२. अक्सफोर्ड मार्टिन स्कुलको फ्युचर अफ फुड प्रोग्रामका अनुसन्धानकर्ता मार्को स्प्रिङ्म्यानका अनुसार खाद्य सामाग्रीबाट हुने ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशत घट्नेछ। उत्सर्जनमा आउने यो कमी रातो मासु (रेड मिट)को उपभोग बन्द भएकाले हुनेछ। किनभने रातो मासु उत्पादन हुने पशुले मिथेन ग्यास उत्सर्जन गर्छन्।

३. तर, यसबाट विकासशील राष्ट्रका किसान भने अत्यधिक प्रभावित हुनेछन्। किनभने शुष्क र अर्धशुष्क भूभागमा पशुपालन गरिन्छ। अफ्रिकामा सहारा मरुभूमिको दक्षिणी छेउ सहेलल्यान्डका बासिन्दा पशुपालनमा निर्भर छन्। विश्व नै शाकाहारी भए त्यहाँका बासिन्दा अन्यत्र विस्थापित हुनुपर्नेछ। यसो भए उनीहरूको सांस्कृतिक पहिचान संकटमा पर्नेछ।

४. पशुचरनबारे फेरि एकपल्ट विचार गर्नुपर्ने हुन्छ। जलवायु परिवर्तनको असर घट्नेछ, वनजंगलमा यसको प्रभाव पनि कम हुनेछ र सन्तुलन कायम हुनेछ। किनभने शाकाहारी जनावर जोगाउन मांसाहारी जनावर मार्ने काम रोकिनेछ। लोपोन्मुख जैविक विविधता जोगिनेछ।

५. पशुपालन र योसँग जोडिएको उद्योगमा संलग्नहरूले नयाँ काम खोज्नुपर्नेछ। उनीहरू खेतिपाती, बायोऊर्जा र निजी वनतर्फ लाग्न सक्नेछन्। उनीहरू कुनै अर्को नोकरी वा पेसामा जान नसके बेरोजगारको संख्यामा ठूलो वृद्धि हुनेछ। यसले समाजमा द्वन्द्व निम्तिनसक्छ।

६. जैविक विविधतामा पनि केही मात्रामा खराब प्रभाव पर्नेछ। भेडा चराइले शताब्दियौंदेखि भूबनोटको स्वरुप/आकार दिन सघाएको छ। त्यसमाथि पशुपालन गर्न चाहनेले कर तिर्नुपर्ने हुनसक्छ।

७. विश्व नै शाकाहारी भए विभिन्न उत्सव र परम्पराहरू पनि प्रभावित हुनेछन्। किनभने विश्वका अधिकांश मानिसले मनाउने उत्सव÷पर्वमा मासु प्रयोग गरिन्छ। कतिपय समुदायमा त विवाह र उत्सवमा मासु वा मासुका लागि पालिने पशु उपहार दिने प्रचलन छ। क्याम्ब्रिज विश्वविद्यालयका बेन फिलोङका अनुसार यसैकारण विश्वलाई शाकाहारीमा परिणत गर्ने प्रयास सफल हुँदैनन्।

८. मासुको खपत नहुँदा मुटुसम्बन्धी रोग, मधुमेह, मस्तिष्कघात र विशेषखालका क्यान्सरबाट पीडित हुने सम्भावना न्यून हुन्छ। यसो भए औषधिउपचारमा खर्च हुने विश्वभर जिडिपीको २–३ प्रतिशत रकम पनि जोगिनेछ।
तर, हामीले पोषणका केही वैकल्पिक खानेकुराले मासुलाई विस्थापन गर्नुपर्छ। अहिले विश्वभर करिब दुई अर्ब मानिस कुपोषणग्रस्त भएको अनुमान गरिन्छ। खाद्यान्नको तुलनामा मासु र यसबाट उत्पादित खानेकुराबाट धेरै पोषण प्राप्त हुन्छ। स्वास्थ्य खबरपत्रिकाबाट

मुटु स्वस्थ राख्न बिहान नास्ता खानुस्,खाजा नखानेलाई २७ प्रतिशत बढि खतरा

यदि तपाइँ आफ्नो मुटु स्वस्थ राख्न चाहनुहुन्छ भने बिहान नास्ता खान नभुल्नुहोस् । विहान खाजा नखाने मानिसको मुटु अस्वस्थ हुने खतरा बढि हुने एक अध्ययनले देखाएको छ ।

अमेरिकी शोधकर्ताहरुले २७ हजार मानिसमा गरेको शोधबाट यस्तो निष्कर्ष निकालेका हुन् । हार्वर्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुको यो शोध सम्बन्धि समाचार सर्कुलेशन नामक जर्नलमा छापिएको छ । शोधकर्ताहरुको निष्कर्ष छ एक पटक खाना नखानु भनेको मस्तिष्कमा अतिरिक्त बोझ थप्नु हो ।
यसअघि ब्रिटिस हार्ट फाउण्डेसनले समेत बिहानको खाजाले मानिसहरुलाई दिउसोको लन्च अघि गुलियो खानेकुरा खानबाट रोक्ने र त्यसको सकारात्मक प्रभाव मुटुमा पर्ने बताएको थियो ।
शोधका क्रममा ४५ देखि ८२ वर्ष उमेरका पुरुषमा १६ वर्षसम्म अध्ययन गरियो । जसका क्रममा डेढ हजार जना भन्दा बढि मानिसलाई हृदयाघात भयो वा मुटुले पूरै काम गर्न छाड्यो ।


खाजा नखानेलाई २७ प्रतिशत बढि खतरा
अध्ययनले के देखायो भने जो मानिसले बिहान खाजा खाँदैनथे उनीहरुमा बिहानको खाजा खाने मान्छेमा भन्दा २७ प्रतिशत बढि मुटुरोग देखियो । शोधकर्ताहरुले जिवनशैली सँग जोडिएका अन्य कुरा जस्तै धूमपान तथा व्यायाम लगायतका विषयलाई पनि मध्यनजर गरेका थिए ।
शोधकर्ता डाक्टर लिया काहिलका अनुसार बिहान उठेको एक घण्टाभित्र केही न केही खाजा खानैपर्छ ।
खाने विषय स्वास्थ्यका लागि निकै महत्वपूर्ण रहेको र खानका लागि सधै दिउसो सम्म पर्खिँदा स्वास्थ्य विस्तारै कमजोर हुँदै जाने उनको भनाइ छ । यसबाट अन्ततः उच्च रक्तचाप, मोटोपन तथा मधुमेह जस्ता रोगको खतरा बढ्छ र मुटुमा दीर्घकालीन असर पूराउँछ ।
ब्रिटिस हार्ट फाउण्डेसनका पोषण विज्ञ भिक्टोरिया टेलका अनुसार यो शोध केवल ४५ वर्ष भन्दा माथिका पुरुषमा भएको हुँदा यसको निष्कर्षलाई अझै विश्वसनीय बनाउनका लागि अन्य उमेर समूहका मानिसमा पनि यसको अध्ययन गर्नुपर्ने आवश्यकता छ ।
बिहानको खाजाले पोषणमा विविधता ल्याउनुका साथै दिउसो स्न्याक्स तथा गुलियो लगायतका खानेकुरा खाने दरमा कमी ल्याउने हुनाले मुटु स्वस्थ राख्न सघाउ पुग्छ । यसबाट बढि भोजन गर्ने दरमा पनि कमी हुन गई मोटोपन लगायतका समस्या समेत कम हुन्छन् । बिहानको भोजनमा अन्न, गेडागुडी, फलफूल लगायतका हल्का भोजन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने छ ।