Sunday, June 1, 2025
18.2 C
Beni
18.2 C
Beni
Sunday, June 1, 2025
Home Blog Page 18

मान्छे सहर रोज्छन् तर गाउँले बढी बाँच्छन्

मुगुको छायाँनाथ रारा नगरपालिका-९ मा रहेको मुर्मा गाँउ । यो रारा राष्ट्रिय निकुन्ज भित्र रहेको गाँउमा रारा तालको दृश्यावलोकन गर्न आउने पर्यटकहरु बास बस्ने गर्दछन । तस्बिर : नृपेन्द्र बहादुर मल

आरामदायी जीवनशैली र अत्याधुनिक सेवासुविधामा पहुँच पुगेका कारण सम्पन्न सहरिया बढी बाँच्छन् भन्ने सही नभएको पाइएको छ। हालै सार्वजनिक भएको एक तथ्यांकले नेपालमा गाउँमा बस्नेहरू नै बढी बाँच्ने गरेको तथ्य उजागर गरेको छ।

नेपाल सरकार राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपालमा मृत्यु स्थिति’सम्बन्धी प्रतिवेदनले मृत्यु हुने एवं बाँच्न सक्ने सूचकहरूका बिचमा सहरी–ग्रामीण, जातजाति र सम्पन्नताका तहअनुसार पर्याप्त भिन्नता रहेको तथ्य निकालेको छ।

कार्यालयका निर्देशक विनोदशरण आचार्यले प्रस्तुत गरेको राष्ट्रिय जनगणना–२०७८ ले नेपालमा मृत्युसम्बन्धी विषयगत प्रतिवेदनको नतिजामा सहरियाभन्दा गाउँलेहरू बढी बाँच्ने गरेको उल्लेख छ। तथ्यांकअनुसार सहरी क्षेत्रमा बस्नेको औसत आयु ७१.७ वर्ष र गाउँमा बस्नेको औसत आयु ७२.३ वर्ष रहेको छ।

‘गाउँको साधारण जीवनशैली, स्वच्छ वातावरण र अझै पनि शुद्ध खानपिनकै कारण गाउँलेहरू बढी बाँच्ने गरेको देखियो,’ निर्देशक आचार्यले भने, ‘अर्धसहरी क्षेत्रमा बसोबास गर्नेहरू भने ७१.४ वर्ष बाँच्ने गरेको जनगणनाले देखाएको छ। ग्रामीण क्षेत्रका महिलाको बाँच्ने उमेर पनि सहरिया महिलाको भन्दा एक वर्ष बढी देखिएको छ।’

तराईका दलित पनि बढी बाँच्छन्

जनगणना २०७८ को तथ्यांकले तराईमा रहेका दलित समुदायको बाँच्ने उमेर उच्च रहेको छ। पहाडी दलितको औसत आयु सबैभन्दा कम अर्थात् ६७.३ वर्ष मात्र देखिएको छ र योभन्दा थोरै माथि तराई दलितमा ६८.८ वर्ष रहेको छ। सम्पन्नताको वर्गीकरणका आधारमा सबै भन्दा तल्लो अर्थात् अति विपन्न वर्गमा औसत आयु ७१.३ वर्ष छ भने अति सम्पन्न वर्गमा यो सूचकको मान ७३.१ वर्ष छ।

नेपालीहरूको औसत आयु ७१.३ वर्ष छ। महिलाका हकमा यो मान ७३.८ वर्ष र पुरुषका हकमा ६८.२ वर्ष छ। २०६८ सालमा नेपालमा अक्सर बसोबास गर्नेको औसत आयु ६६.६ वर्ष मात्र थियो, जुन २०७८ सालमा उल्लेखनीय रूपले बढेको छ। यो वृद्धि पुरुषमा २०६८ सालमा ६५.५ वर्ष थियो तथा महिलामा ६७.९ वर्ष मात्र थियो। दुवैका हकमा यो निकै बढेको हो।

‘सहरिया महिलाभन्दा गाउँले महिलाको औसत आयु पनि एक वर्षले बढी छ। जसका मुख्य कारणमा गाउँले महिलाले शारीरिक श्रम बढी गर्नु, स्वच्छ र शुद्ध आहारा लिनु रहेका छन्,’ कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीले भने, ‘गाउँको स्वच्छ वातावरणले पनि गाउँले जीवनशैली स्वस्थकर बनेको अध्ययनले देखाएको छ। बढीजसो संयुक्त परिवारमा बसोबास गर्ने भएकाले पारिवारिक वातावरण पनि स्वस्थकर नै रहेकाले गाउँलेहरू बढी बाँच्ने गरेको तथ्य जनगणनाले देखाएको छ।’

उनले जनगणनाको विधि र सिद्धान्तले पनि केही हदसम्म यसमा प्रभाव पारेको बताए। ‘किनभने उपचारका क्रममा सहरमा आउनेहरूको मृत्यु हुँदा त्यो मृत्युको अभिलेख पनि सहरमै बस्छ,’ उनले भने, ‘यसले पनि गाउँमा मृत्यु कम देखिन्छ। महिला बढी बाँच्नुको कारण महिलामा कायम रहेका रोगप्रतिरोधात्मक क्षमताले पनि काम गरेको हो।’

बढी मृत्यु हुनेमा सडक दुर्घटना

जनगणना २०७८ अनुसार कुल एक लाख ९२ हजार एक सय ७८ परिवारमध्येबाट गणनाको दिनभन्दा ठिक अगाडिको १२ महिनाको समयावधि २०७७ कात्तिक २५ देखि २०७८ कात्तिक २४ सम्म कुल एक लाख ९८ हजार चार सय ६३ जनाको मृत्यु भएको देखिन्छ। मृत्यु हुनेमा पुरुष ५८ प्रतिशत छन् भने महिला ४२ प्रतिशत मात्र। तर राष्ट्रिय स्तरमा हेर्दा कुल घरपरिवार ६६ लाख ६० हजार आठ सय ४१ मध्ये २.९ प्रतिशत परिवारमा मात्र कुनै सदस्यको मृत्यु भएको पाइयो। प्रदेशस्तरमा परिवारका आधारमा मृत्युको अनुपात केलाउँदा कोसीमा सर्वाधिक ३.१ प्रतिशत र सबैभन्दा न्यून अर्थात् २.२ प्रतिशत कर्णालीमा देखिन्छ। जिल्लास्तरको तथ्यांक तुलना गर्दा सर्वाधिक ३.८ प्रतिशत कपिलवस्तु र न्यूनतम १.८ प्रतिशत रुकुम–पश्चिममा छ।

‘प्रतिवेदनले नसर्ने प्रकृतिका रोगहरू जुन सामान्यतया जीवनशैली, खानपान, वातावरणीय तŒव आदिसँग अन्तरसम्बन्धित हुन्छन्,’ अध्यक्ष बुर्लाकोटीले भने, ‘नसर्ने प्रकृतिका रोगका कारणले कुल मृत्युको झन्डै ५० प्रतिशत हिस्स ओगटेको छ। उता सरुवा रोगहरू जुन कमजोर सरसफाइका कारण प्रत्यक्ष प्रभावित हुन्छन्। यसले गर्दा हुने मृत्ुयुले कुल मृत्युको १२.६ प्रतिशत हिस्सा ओगटेको छ। प्राकृतिक प्रकोपका कारणले ४.८ प्रतिशत, सडक र अन्य दुर्घटनाबाट हुने मृत्यु ५.९ प्रतिशत छ। आत्महत्याले पनि २.७ प्रतिशत हिस्सा ओगटको छ।’

उनले ६ हजार मृत्यु सडक दुर्घटनाबाट भएको जानकारी दिए। ‘सवारीसाधन चलाउनेमा पनि पुरुष नै बढी छन्। यसकारण अब राज्यले सडक दुर्घटनासँग सम्बन्धित नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्ने र नयाँ नीति कार्यक्रम बनाउनुपर्ने आवश्यकता छ भने नसर्ने रोगबारे पनि राज्यले अब नयाँ किसिमको नीति तथा कार्यक्रम तय गर्नुपर्ने आवश्यकता देखियो,’ उनले भने।

प्रदेशगत रूपमा हेर्दा कुल मृत्युमा नसर्ने रोगका कारणबाट सबैभन्दा बढी कोसी प्रदेशमा ५७ प्रतिशत मृत्यु भएको तथ्यांक छ भने न्यूतम मधेस प्रदेशमा ४१ प्रतिशत देखिन्छ। जिल्लास्तरमा नसर्ने रोगको कारणले भएको उच्चतम ६२ प्रतिशत मृत्यु इलाममा रहेको पाइयो भने न्यूनतम सोलुखुम्बुमा ७ प्रतिशत देखियो। तुलनात्मक रूपमा सडक दुर्घटनाका कारणले हुने मृत्यु अधिकतम तराईका जिल्ला र कर्णाली प्रदेशमा देखिएको छ।

१५–२४ वर्ष उमेर समूहकाबाट बढी आत्महत्या

उमेरअनुसार मृत्युको कारणलाई विश्लेषण गर्दा १५ देखि २४ वर्षसम्मका युवाको आत्महत्याको दर उच्च रहेको जनगणना २०७८ ले देखाएको छ। महिलातर्फ कुल आत्महत्याजन्य मृत्युमा करिब ४० प्रतिशत १५–२४ वर्ष उमेर समूहभित्रै परेको छ। यस उमेर समूहमा पुरुषतर्फको हिस्सा ३५ प्रतिशत छ।

८० प्रतिशत जनसंख्या ६० वर्षसम्म बाँच्ने अनुमान

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले २०७८ को मृत्युसम्बन्धी प्राप्त तथ्यांक र कारणहरूको विश्लेषण गर्दा सुधारात्मक औषधि उपचार र मानिसमा बढ्दै गएको स्वस्थ जीवनशैलीसम्बन्धी सचेतनाका कारण औसत आयु बढ्दै गई बुढ्यौली जनसङ्ख्यामा वृद्धि हुँदै गएको बताए।

उनले नेपालको करिब ८० प्रतिशत जनसंख्यामा ६० वर्षसम्म बाँच्ने अपेक्षा गरिएको जनाए। ‘यस उमेरसम्ममा ८५ प्रतिशत महिला र ७५ प्रतिशत पुरुष बाँच्न सक्ने देखिन्छ,’ प्रवक्ता लामिछानेले भने, ‘६० वर्षको उमेरसम्म बाँच्न सक्ने अनुपात सम्पन्नताको उच्चतम पाँचमा पर्ने परिवारका जनसंख्याका हकमा ८४.७ प्रतिशत छ भने अति विपन्न परिवारका जनसंख्याका हकमा ७७.७ प्रतिशत मात्र छ। अब राज्यले विगतका नीति कार्यक्रमहरूमा परिमार्जन गर्नुपर्ने देखियो। जनगणनाले उजागर गरेको तथ्यहरूमा आधारित रहेर सोहीअनुसारको नीति तथा कार्यक्रम तय गर्नुपर्छ।’ Nagariknews.com

२३ दिनदेखि सम्पर्कविहीन सतिश सकुशल भेटिए

म्याग्दीको बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठलाई परिवारले फेला पारेका छन् । हराएको २३ दिनमा उनलाई परिवारले फेला पारेको दाजु शैलेश श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक, टाटु खोपे भेटिएपनि पोखराबाट सम्पर्कविहिन भएका थिए ।

उनलाई कहाँबाट फेला पारियो भन्ने बारे परिवारले खुलाएका छैनन् । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका शिक्षक समेत रहनुभएका सतिशले टाटु खोपेको सिसीटिभी फुटेज फेला परेको थियो । उनी भारतमा समेत पुगेको अनुमानपछि परिवारका सदस्यहरु भारतका विभिन्न सहरमा खोजीकार्यमा जुटेका थिए ।

Sailesh Shrestha is with Tulsi Shrestha and 

भाई शतिश श्रेष्ठ (विज्ञान)लाई सकुशल भेटाएका छौं । खोजीकार्यमा सहयोग गर्नुहुने सम्पूर्णप्रति हामी ऋणी छौँ । भाई शतिश र हाम्रो परिवारलाई यो कठिन समयलाई व्यवस्थापन गर्न समय दिनुहुन सादर अनुरोध गर्दछौं । कृपया मेसेन्जर र फोनमा अत्यन्त जरुरी सम्पर्क मात्र गरिदिनुहुन पनि अनुरोध गर्दछौं । धन्यवाद !!

दरबाङमा निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापन र अपर म्याग्दी हाईड्रोपावर लिमिटेड मुख्य प्रायोजक रहेको निःशुल्क आँखा शिविरको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । उद्घाटनपश्चात् शिविरलाई सम्बोधन गर्दै अध्यक्ष गर्बुजाले दुर्गम गाउँवस्तीका बिरामीहरुलाई गाउँपालिकाको केन्द्रमा नै आँखाको उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।

उहाँले शिविरमा सहभागी बिरामीहरुले पूर्ण रुपमा शिविरको फाइदा लिनुपर्ने भन्दै शिविरलाई सफल बनाउनुपर्ने बताउनुभयो । अपर म्याग्दी हाईड्रोपावर लिमिटेडका सुरक्षा अधिकृत सुरेश घलेले हाईड्रोपावरमार्फत पश्चिम म्याग्दी क्षेत्रको विभिन्न सामाजिक क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा पनि स्वास्थ्यसँग सम्बन्धित शिविरहरु सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी हाईड्रोपावर लिमिटेडले आफ्नो क्याम्पलाई लक्षित गरेर उपलब्ध गराएको एम्बुलेन्सको सेवा स्थानीयवासीसहित सबैले लिन सक्ने जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले समुदायस्तरबाट अन्धोपन निवारण गर्ने उद्देश्यले संघमार्फत जिल्लाको विभिन्न स्थानमा निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

उहाँले मानव स्वास्थ्यमा सबैभन्दा संवेदनशील अङ्ग आँखा भएकाले संसार देख्ने आँखालाई उच्च प्राथमिकतामा राखेर उपचार गर्नुपर्ने बताउँदै आँखा शिविर जस्तो पवित्र कार्यक्रमलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

हिमालयन आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डाक्टर हरिबिक्रम अधिकारीले स्क्रिनिङ क्याम्पको क्रममा मोतियाविन्दुको समस्याका बिरामीहरुको अप्रेसन गरिने बताउनुभयो ।

उद्घाटनको क्रममा स्वागत मन्तव्य व्यक्त गर्दै पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलले सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा रचनात्मक एवं सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

शिविरमा धवलागिरि गाउँपालिकाबाट उपचार सेवा लिन आउनुभएकी ९३ वर्षीया लक्ष्मी पुनलाई नामदर्ताको पुर्जा हस्तान्तरण गरी शिविरको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रमको सञ्चालन मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले गर्नुभएको थियो ।

शिविर उद्घाटनसत्रमा मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, दरबाङका वडा अध्यक्ष पथबहादुर रोका, शिविर आयोजक र सहयोगी संघसंस्थाका प्रतिनिधिहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

शिविरमा हिमालयन आँखा अस्पताल, दरबाङ आधारभूत अस्पताल, मालिका गाउँपालिका, आँखा उपचार केन्द्र बेनी र दरबाङबाट खटिएका स्वास्थ्यकर्मीहरुले बिरामीहरुको आँखा चेकजाँच गर्नुका साथै उपचार गरिरहेका छन् ।

दरबाङमै मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने भएपछि मालिका गाउँपालिकासहित धवलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट समेत सर्वसाधारण, बिरामीहरु उपचार सेवा लिन आएका छन् । तीन दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन करिब ३ सय जनाले नामदर्ता गराएका छन् ।

विपन्न विद्यार्थीको शिक्षादीक्षाका अक्षय कोषमा स्थापना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,घारस्थित मुक्तिमार्ग माध्यामिक विद्यालयमा ह.कुलबहादुर बरुवालको चौरासी बर्ष प्रवेश गरेको अवसरमा कोष स्थापना गरिएको छ । विपन्न परिवारका बालबालिकालाई शिक्षादीक्षामा सहयोग गर्ने उद्धेश्यले छोरा शिवकुमार र बुहारी ज्ञानु बरुवालले सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा १० लाख ८ हजार ४ सय ८४ रुपैयाँको ‘कुलबहादुर÷स्व.मनकुमारी’ अक्षयकोष स्थापना गरिएको हो ।

मोना अन्तराष्ट्रियका संस्थापक कोषाध्यक्ष शिवकुमारले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि स्थापित अक्षय कोषको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनको प्रमुख आतिथ्यतामा विद्यालयका प्रधानध्यापक ठकराज बरुवाललाई हस्तान्तरण गरिएको छ ।

कोषबाट प्राप्त हुने बार्षिक ब्याजले मुक्तिमार्ग मावि र छिमेकी भुवानी आधारभुत विद्यालयका बालबालिकालाई बार्षिक रुपमा छात्रवृति प्रदान गरिने सहयोगदाता शिवकुमारले बताउनुभयो। मुक्तिमार्ग माविका पूर्व ब्यवस्थापन समितिका अध्यक्ष, एवम् भुवानी आधारभुत विद्यालयका संस्थापक समेत रहनुभएका बुबा कुृलबहादुरको योगदानलाई निरन्तरता दिन उक्त कोष स्थापना गरी विद्यार्थीलाई सहयोग गरिएको सहयोगदाता शिवकुमारको भनाई छ ।

‘‘मैले पढेको र बुबाले योगदान गरेको दुबै विद्यालयमा कोष स्थापना गर्न पाउँदा निकै खुसी लागेको छ, आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा निरन्तर सहयोग हुने छ ।’’ सहयोगदाता शिवकुमारले भन्नुभयो ।

यसैबीच मुक्तिमार्ग माविका प्रअ बरुवालले बेल्जियमलाइ कर्मथलो बनाएका बरुवाल दम्पत्तीको गाउँको सेवामा अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले विगतमा शैक्षिक, भौतिक क्षेत्रमा विभिन्न माध्यमबाट विद्यालयमा सहयोग गर्नुभएको बताउँदै यस कोषले समेत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक गतिविधिमा सहज हुने बताउनुभयो । प्रअ बरुवालले शैक्षिक क्षेत्रको विकासका लागि अक्षय कोषले नियमित सहयोग गर्न सकिने बताउनुभयो ।

म्याग्दीमा रहेको अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाउने

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ । विश्वमै आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको कारण जेठो हिमाल भनेर समेत चिनिने अन्नपूर्ण हिमालको प्रचारप्रसार सहित यसका बारेमा जानकारी दिन हिरक महोत्सव गर्न लागिएको हो ।

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा समेत जोडिएको अन्नपूर्ण हिमालको आरोहणका गर्ने आधारशिविर सहित मार्ग र तत्कालिन समयमा गरिएका आरोहणस्थलको सम्पूर्ण भूगोल म्याग्दीमा पर्छ ।

आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन आवश्यक यतारी गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । अध्यक्ष पुन भन्नुहुन्छ,‘‘तयारीमा जुटेका छौ, सबैको साथ र सहयोगको अपेक्षा गछौं ।’’ अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको बारेमा यो नै पहिलो हिरक महोत्सव भएकाले एतिहाँसिक बनाउने गरी तयारी सुरु भएको छ ।

महोत्सवको कार्यतालिका सहित अन्य विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक भएको छ । जस अन्तरगत महोत्सवको अवसरमा जेठ १६ देखि १९ गतेसम्म नारच्याङदेखि अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा, १९ गते प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्गोजले लेखेर फ्रान्सेली राजदुतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम तय भएको पर्यटन अभियान्ता तेज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा आगामी जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका सबै८ वटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुख्र्यौली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य, जेठ २० गते आधार शिविरदेखि नारच्याङसम्म म्याराथन दौड प्रतियोगिता, आधार शिविरमा राखिएका आरोहीका शालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्गोज पदमार्गको उद्घाटन, मूल समारोह, सम्मान तथा पुरस्कार वितरण र २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा महोत्सवमा समापन गरिने छ ।

महोत्सवको आयोजक अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) रहेको छ भने अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक तोकिएको छ । महोत्सवमा स्थानीय नारच्याङमा रहेका संघसंस्थाका साथै अन्नपूर्ण भित्रका यूवा क्लवहरूलाई समेत विभिन्न जिम्मेबारी प्रदान गरिएको छ।

पछिल्लो समय म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य बनेको अन्नपूर्ण बेसक्याम्पमा आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ। आधार क्षेत्र नजिकै रहेको पञ्चकुण्ड ताल पर्यटकको आर्कषक मानिन्छ । मुस्ताङको कुञ्जो हुदै आधार शिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो । बि.स. २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । नारच्याङबाट तेस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ ।

 

 

 

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन सुरू

मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् ।

यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति (सिएमसी) ले यार्सा सङ्कलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेस गरेका थिए । सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीमा अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा सङ्कलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए।

हालसम्म मुस्ताङका तीनवटा संरक्षण व्यवस्थापन समितिले एक्याप कार्यालयबाट यार्सा सङ्कलन अनुमतिपत्र लिइसकेको र अरू समिति पनि क्रमश: अनुमतिका लागि आउने क्रममा रहेको बताए। मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका उच्चलेक तथा पाटनमा बहुमूल्य जटीबुटी यार्सागुम्बा पाइने गर्छ । मुस्ताङको थासाङस्थित कोवाङ र टुकुचेको उच्चलेक तथा पाटनमा वैशाखको पहिलो सातादेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिए।

थासाङको कोवाङलेमा यार्सा सङ्कलनका लागि स्थानीयलाई तीन हजार र जिल्लाबाहिरका नागरिकहरूलाई रू छ हजार शुल्क तोकिएको संरक्षण व्यवस्थापन समिति अध्यक्ष जीवन थकालीले बताए। अहिलेसम्म स्थानीय २२ जना र जिल्लाबाहिरका १०० गरी कुल १२२ जनाले यार्सा सङ्कलन अनुमतिपत्र लिइसकेको उनले जानकारी दिए। कोवाङ समितिअन्तर्गत मूली खर्क, मार्चेलेकलगायत आधा दर्जन पाटनमा यार्सा सङ्कलन गर्ने सुविधा रहेको अध्यक्ष थकालीको भनाइ छ ।

यसैगरी, थासाङको टुकुचेमा पनि धमाधम यार्सा सङ्कलन पुँजी वितरण भइरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेका सचिव दीपसागर थकालीले उल्लेख गरे। टुकुचे समितिबाट ३ वैशाखदेखि यार्सा पुर्जी वितरण भइरहेकामा अहिलेसम्म ५५ जनाभन्दा बढी यार्सा सङ्कलन गर्न लेकतर्फ प्रस्थान गरिसकेको सचिव थकालीले जानकारी दिए। थासाङको कोवाङ समितिले स्थानीयलाई एक हजार र अन्य व्यक्तिलाई तीन हजार शुल्क उठाउने गरेको सचिव थकालीले बताए। थासाङको टुकुचे समितिबाट पुर्जी लिएकाले मार्चेलेक, बतासेलेक चिउदोखर्क र धम्पुसलेकमा यार्सा सङ्कलन गर्न पाउने सचिव थकालीको भनाइ छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि सोमबारदेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति जोमसोमका सचिव पवन गुरूङले जानकारी दिए। एक्यापको अनुमतिमा समितिमार्फत पहिलो दिन ४० जनालाई यार्सा सङ्कलन अनुमतिपत्र वितरण गरिएको सचिव गुरूङको भनाइ छ । जोमसोम संरक्षण व्यवस्थापन समितिले सङ्कलनलाई स्थानीय कुरिया दर्ता भएकोलाई चार हजार र कुरिया दर्ता नभएको र अन्यलाई रू ६ हजार यार्सा सङ्कलन शुल्क लिने गरेको सचिव गुरूङले उल्लेख गर्नुभयो । यार्सा सङ्कलन पास वितरण एक हप्तासम्म रहने सचिव गुरूङले जनाए।

मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिकामा यार्सागुम्बा सङ्कलन सुरू हुँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यार्सा सङ्कलन कार्य सुरू भइनसकेको मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिका सचिव लाक्पाटसी गुरूङले जानकारी दिए। मुक्तिनाथ समितिले अझै यार्सा सङ्कलनका लागि एक्यापसँग पूर्वस्वीकृति समेत लिएको छैन । समितिका सचिव लाक्पाटसी गुरूङले यार्सा सङ्कलन पुर्जी वितरणका लागि चाँडै नै समितिको बैठक बसेर निर्णय लिइने जानकारी दिए।

“हामी कहाँ अन्यत्रको भन्दा केही ढिलो सुरू हुन्छ, यसको कारण उच्चलेक र पाटनमा हिउँ जमेको छ,” सचिव गुरूङले भने, “सम्भवत: जेठको दोस्रो साता यार्सा सङ्कलन फुकुवा गर्ने कुरा छ, हामी त्यही अनुसारको सुविधा दिनेगरी अघि बढ्छौँ ।”

मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले आफ्नो मातहतमा पर्ने मुक्तिनाथलेक, रिसम्वालेक, नेरलेक र लुप्रालेकलगायतमा यार्सा सङ्कलन पुर्जी दिने गरेको सचिव गुरूङको भनाइ छ । गत वर्ष समितिले १ जेठदेखि यार्सा सङ्कलन अनुमति दिएको र यो वर्ष केही ढिला हुनसक्ने बताए। मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले गत वर्ष स्थानीयलाई दुई हजार र अन्यलाई सात हजार शुल्क लिएको सचिव गुरूङले जानकारी दिए।

यस्तै, मुस्ताङका अन्य लेकमा पनि आंशिक रूपमा यार्सा सङ्कलन हुने गरेको छ । एक्यापको अनुमतिमा सम्बन्धित समितिले सङ्कलन गरेको यार्सा सङ्कलन शुल्क समितिले सामाजिक कार्यका लागि खर्च गर्न पाउने अधिकार छ । मुस्ताङमा एक्यापले १५ असारसम्म उच्चलेक र पाटनमा यार्सा सङ्कलन गर्न पाउनेगरी सम्बन्धित संरक्षण व्यवस्थापन समितिलाई अनुमति प्रदान गरेको हो।

यार्सा सङ्कलन अवधिभर सम्भावित सुरक्षा जोखिम र दुर्घटना न्यूनीकरण गर्न सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने र सङ्कलकलाई सचेत बनाउने, वन्यजन्तु तथा अन्य वनपैदावारहरूको संरक्षणका लागि चोरी–सिकारी र अवैध गतिविधि हुन नदिने, वन डेढेलो हुनबाट रोक्ने र उच्चलेक र पाटनमा फोहोर प्रदूषण गर्न नपाइने गरी सङ्कलकलाई सचेत गराइएको छ । एक्याप, डिभिजन वन कार्यालय, संरक्षण व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूले सम्बन्धित स्थानमा नियमित यार्सा सङ्कलन क्षेत्रमा पुगेर अनुगमन गर्ने निर्णय गरिएको छ ।

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घँैटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो ।

तर अब ती इतिहास भइसके । कहीँकतै भग्नावशेष मात्रै देख्न पाइन्छन् । पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे । निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन् । सडक विस्तारसँगै ऐतिहासिक महत्वका पाटी, पौवा तथा धर्मशाला लोप भएका हुन् ।

दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ८२ वर्षीय बुद्धिमान श्रेष्ठले भन्नुभयो, “केही वर्षअघिसम्म गाउँमा मोटरबाटो थिएन, घरघरमा सबै मान्छे हुन्थे, धर्मकर्ममा बढी आस्था राख्ने चलन थियो, तर अहिले गाउँगाउँमा मोटरबाटो आयो, पहिला मेलापात होस वा कतै जाँदा प्रयोग हुने बाटो प्रयोग हुन छाडे । नयाँ पुस्ताले त्यस्ता कुराको वास्ता नराख्दा यस्ता चौतारा र घैँटोमा पानी राख्ने चलन लोप भयो ।”

चैत वैशाखको गर्मीमा प्यास लाग्दा चौतारामा धर्म हुन्छ बटुवाले खाओस् भनेर घैँटोमा सक्नेले महखुदो नसक्नले पानी राख्ने चलन  अब नरहेको राइनास नगरपालिका–८ हर्राबोटकी युनिता गुरुङ बताउनुहुन्छ ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीका रामबहादुर कार्कीले भन्नुभयो, “चौतारीमा घैँटामा राखिएको पानी गोठाला, बटुवा, खेताला, भरियाले पिउने गर्थे, तर अहिले गाउँघरमै वैशाखमा चौतारीमा ‘धर्मघडा’ राख्ने चलन हरायो ।” भएका चौतारीको पनि संरक्षण हुन छाडेको उहाँ बताउनुहुन्छ ।

परम्पगत चलन संरक्षण गर्न बेँसीसहर नगरपालिका–११, चिती तिलहारका ऋषिराज दवाडी र पत्नी सुमित्रा दवाडीले चौतारोमा माटोको घैँटोमा चिसो पानी राख्नुभएको छ  । संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन चौतारीमा पानी राख्ने गरेको दवाडीको भनाइ छ ।  रासस

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित गरिने

मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ।

मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय प्रवर्द्धन गर्न सकिन्छ भनेर उनीसहितको टोलीले गत शनिबार भ्रमण समेत गरेको थियो।

यहाँका तीन धार्मिक सम्पदासँग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा करिब चार किलोमिटर दूरीमा पदमार्ग निर्माण गर्नुपर्ने उनले जानकारी दिए। उनले भने, ‘स्थानीय नागरिकसँगै मिलेर मुक्तिनाथ विकास समितिले पदमार्ग निर्माणलाई अघि बढाउने छ।’

प्रजिअ भुसालसहित प्रशासन कार्यालयका कर्मचारी प्रकाश पौडेल, पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जगदिशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीलगायत एघार जनाको टोली रहेको थियो।

टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाइएको छ। रासस

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजोको बैठकमा यसबारे छलफल भएको छ ।

पश्चिम नेपालमा गएको भूकम्प तथा गएको वर्षको मनसुनजन्य विपदपछिको पुनर्निर्माण तथा पुनस्र्थापना योजना कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

सम्भावित मनसुनजन्य विपद्को प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्राधिकरणबाट यथाशीघ्र अन्तिम रुप दिने तथा कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

कार्यकारी प्रमुख इन्जिनियर भट्टका अनुसार विगत वर्षमा मनसुनजन्य विपदबाट उच्च जोखिम बेहोरेका कारण यस वर्ष छिट्टै पूर्वतयारी थालिएको हो ।

वर्षेनि मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी शुरू गर्ने गरिएकामा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी थालेको उहाँले उल्लेख गर्नुभयो ।

ट्रयाक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।

गत असार महिनामा ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ । विसं २०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा संकलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो।

हाल तीन दशमलब पाँच देखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँ हुँदै डाडाँगाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १(२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीले बताए ।

जुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रु चार करोड बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन २० करोडको बजेटको स्रोत सुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रु एक करोड ५० लाख मात्र विनियोजन भएको छ । सडकको शनिबार अनुगमन गरेका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिए ।

लुरवाङ–तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ । यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका–५ मल्कवाङ र –६ मराङ तथा मालिका गाउँपालिका– ६ दिच्यामका बासिन्दा लाभान्वित हुने खाराका बासिन्दा बुद्धी जुग्जालीले बताए। धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुम्न तथा दर्शन गर्न जाने पर्यटक एवम् भक्तजनलाई सहज हुनेछ। सुन्तला, आलुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस