Wednesday, June 11, 2025
23.3 C
Beni
23.3 C
Beni
Wednesday, June 11, 2025
Home Blog Page 16

जैमिनीमा बढ्दो बसाइँसराइ : २ वर्षमा १ हजार ७ सय ९ जनाले गाउँ छाडे

बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन् ।  घर जीर्ण बन्दै गएका छन् । सेवा सुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको हो । जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रूपमा जैमिनीलाई लिइन्छ ।

जैमिनीबाट पछिल्लो दुई वर्षमा ४८२ घरपरिवारका एक हजार ७०९ जनाले गाउँ छाडेका छन् । विसं २०८० मा २६३ घरपरिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन् भने विसं २०८१ मा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छाडेका छन् । दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । विक्रम संवत् २०८० वर्ष नौ परिवारका ४२ जना आए र विसं २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।

नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख ताराप्रसाद पौडेलका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ र कम वडा नम्बर ६ बाट बसाइँसराइ भएको छ । वडा नम्बर ८ बाट दुई वर्षको अवधिमा १०७ घर परिवारबाट ४०३ जनाले बसाइ सरेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ बाट ४२ घरका १५७, वडा नम्बर २ बाट ७७ घरका २५८, वडा नम्बर ३ बाट ३४ घरका १०० र वडा नम्बर ४ बाट ५२ घरका १९१ जनाले बसाइँसराइ गरेका छन् ।

यस्तै वडा नम्बर ५ बाट २४ घरका ८३, वडा नम्बर ६ बाट १४ घरका ५५, वडा नम्बर ७ बाट ५४ घरका १८६, वडा नम्बर ९ बाट ३९ घरका १२९ र वडा नम्बर १० बाट ३९ घरका १४७ जनाले बसाइँसराइ गरेको पौडेलले बताउनुभयो । जैमिनीबाट बसाइँसराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवलमा गएको उहाँको भनाइ छ ।

जैमिनीका मेयर हरिहर शर्माले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई गाउँमै उद्यमी बनाउने र आत्मनिरर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । बस्तीबस्तीसम्म सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गरेको उहाँको भनाइ छ । गाउँमा ठूलो सम्भावना हुँदा हुँदै पनि धेरैले सहर बजार रोज्ने गरेको शर्मा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘मानिसका चाहना असीमित हुन्छन्, स्थानीय सरकारले गर्नसक्ने विकास गरिरहेका छौँ, पर्याप्त नहोला तर गाउँमा पहिलेको जस्तो विकास नपुगेको भन्ने छैन, जताततै अहिले गाडी गुड्छन्, खानेपानीको सुविधा छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी गरेका छौँ, हुने खानेहरु धेरैले सहर बजार रोज्न थाले, तर गाउँमा भएकालाई गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ, नागरिकलाई उद्यमी बनाने र आय आर्जनसँग जोड्ने खालका कार्यक्रम पनि चलाइरहेका छौँ ।’

प्रकृतिलाई खुसी बनाउन लिङ्गो जुधाई प्रतिस्पर्धा, कान्छी गाउँ विजय

म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन एकता क्लव दग्नामले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा कान्छी गाउँ विजय भएको हो । कुनैबर्ष दुबै गाउँबाट लिंगोहरु जुधाउँदा बराबरी समेत हुने गरेको छ ।

करिब चार सय बर्ष पुरानो इतिहाँस बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो बर्ष पनि दग्नामबासीले निरन्तरता दिएका हुन् । दग्नाको भूमे पूजाको मुख्य आर्कषणको रुपमा लिइएको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दुई गाउँका स्थानीय भेला भएर प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउने गर्दछन् ।

दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजासहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराउने गरिन्छ ।

प्राचीनकालदेखि भुमेथानको पुजाको अवसरमा लिङ्गो जुधाउने प्रतियोगितालाई नयाँ पुस्ताले समेत पुर्खाको कला र संस्कृतिको रुपमा निरन्तरता दिँदै प्रतियोगिताको जर्गेना गर्ने अभियानमा यूवाको सक्रियता बढेको एकता यूवा क्लव दग्नामका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । ‘यूवापुस्ताले निरन्तरता दिएको छौ, यो गाउँको मुख्य पहिचान बनेको छ’ अध्यक्ष तिलिजाले भन्नुभयो ।

स्थानीयले पुख्र्यौली, गीत, पञ्चेबाजाको रमाइलो उत्सवसहित जातीय भेषभूषामा सजिएर भूमे देवताको पूजा गरेपछि दिउँसो देवतालाई खुशी बनाउनका लागि लिङ्गो जुधाउने गरिन्छ ।भुमे देवतालाई जती खुसी बनाउन सकिन्छ, त्यती नै प्रकृतिले साथ दिने जनविश्वास अनुसार भुमे पुजा पर्वको अवसरमा स्थानिय दुई गाउँविचमा लिङ्गो जुधाउने प्रतिस्पर्धा हुदै आएको समाजसेवी धनीलाल गर्बुजाले बताउनुभयो ।

भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि, देउराली,भारा, खोला र मण्डलीको पुजाआजा गरेका छन्।वर्षभरीको खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोपसहित विनाश नहोस्, स्थानीयको मनोकामना पुरालगायत भूमे देवतालाई विधि पुरा गरी पुजाआजा गर्ने गरेको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले बताए । लिङ्गो जुधाई प्रतियोगिताको अवसरमा रघुगंगा गाउँपालिका अन्तरगत छिमेकी वडाबाट समेत अवलोकन गर्न आउने गरेका छन् ।

लिंगो जुधाउने खुसियाली र भावनात्मक प्रतिस्पर्धासँगै एकताको प्रतिकको रुपमा लिने गरिन्छ ।  जेठा भुमेको रुपमा चिनीने भएकाले दग्नामबासीले हरेक बर्षको जेष्ठ महिनामा बर्षभरिको खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस, स्थानियबासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौदेखी भुमे देवताको पुजा गर्दै आएका छन् ।

तस्वीर सौजन्य धनीलाल गर्बुजा

‘राधाकृष्ण नाच’ संरक्षणमा ताकमवासी

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् ।

हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजनकिर्तनको साथमा अभिनयसहितको नृत्य रहने राधाकृष्ण नाचको संरक्षण गर्न स्थानीय ताकम धार्मिक नाट्य समूह नै गठन गरेर अघि बढेका छन् ।

समूहले लोप हुन लागेको राधाकृष्ण नाचको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरेका स्थानीय कलाकार ऋषिराम सुवेदीले बताउनुभयो । “यो नाच यस क्षेत्रको करिब २०० वर्ष पुरानो सांस्कृतिक चिनारी मानिन्छ, हरेक वर्षको हरितालिका तीजमा अनिवार्य रूपमा ताकम गाउँमा उत्सवको रूपमा राधाकृष्ण नाचलाई देखाउने चलन छ, अहिले अन्य पर्व र उत्सवमा समेत यो नाच देखाउन थालिएको छ”, उहाँले भन्नुभयो ।

राधाकृष्ण नाचका लागि समूहले भजनकिर्तन भाकामा गीतको रचनासमेत गरेका छन् । यो नाचमा हिन्दु धर्मवलम्बीको भगवान शिव, पार्वती र राधा कृष्णको माया प्रेमसहितको नाचगान तथा भगवान गणेश र खलपात्र जोक्करको भूमिकालाई नृत्य तथा अभिनयबाट प्रस्तुत गरिन्छ । राधाकृष्ण नाचमा परापूर्वकालमा देवीदेवता र भगवानको माया प्रेम, जीवन दर्शनलाई भजनकिर्तनका भाकामार्फत व्यक्त गरेर अभिनयसहितको नृत्य आकर्षक तथा मनोरञ्जनात्मक हुने गर्छ ।

पुर्खाबाट पुस्तान्तरण हुँदै आएको यो नाचलाई संरक्षण गर्न नयाँ पुस्तासमेतलाई सहभागी गराउन थालिएको ताकम धार्मिक नाट्य समूहका सचिव नेत्र सुवेदीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय विभिन्न उत्सव, समारोह र सार्वजनिक कार्यक्रममा समेत राधाकृष्ण नाच देखाउन थालिएको छ । हालै गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा समेत राधाकृष्ण नाच धेरैको रोजाइ बनेको थियो ।

गाउँपालिकाले पुर्ख्याैली संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले नयाँ पुस्तालाई संस्कृतिको पुस्तान्तरण संगै सांस्कृतिक पर्यटन प्रवर्धनसमेतमा सघाउ पुग्ने समूहका सचिव सुवेदीले बताउनुभयो । राधाकृष्ण नाचमा सबै कलाकार पुरुष हुन्छन् । पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् । ताकम गाउँको सांस्कृतिक पहिचान र चिनारीका रूपमा रहेको यस राधाकृष्ण नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षण गर्न स्थानीय अग्रसर बनेका छन् ।

अहिले ताकम गाउँमा मात्रै नभएर सो गाउँपालिकाका र जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, उत्सव मेला महोत्सवमा समेत प्रर्दर्शन हुन थालेको छ । धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रूपमा चिनिएको ताकमको राधाकृष्ण नाच पर्यटन प्रवर्धनको माध्ययम बन्ने अपेक्षा गरिएको छ । रासस

बागलुङ नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड

बाङेचौर खेल मैदानमा सम्पन्न तेस्रो संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ ।

२५ स्वर्ण, ६ रजत र १० कांस्य पदक जितेर ४१ अंक जोडेर बागलुङ नगरपालिकाले तेस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड जितेको हो । खेलमा झण्डै एक हजार विद्यार्थी सहभागी थिए ।

यस्तै, ११ स्वर्ण, १५ रजत र ९ कांस्य पदक जितेर २५ अंक जोडेको बडिगाड गाउँपालिका प्रतियोगिताको उपविजेता बनेको छ । २४ अंक जोडेर जैमिनी नगरपालिकाले तेस्रो स्थानमा चित्त बुझाएको छ । जैमिनीले ७ स्वर्ण, १० रजत र ७ कांस्य  पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका कार्यालय सचिव राजेश बास्कोटाले जानकारी दिनुभयो ।

जिल्लाका दशवटै पालिकामा खेल सम्पन्न भएपनि जिल्ला स्तरीय प्रतियोगितामा बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिका गरी ५ टिम सहभागि थिए । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागि बन्न पाउनेछन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्सलआर्टका खेल भएका थिए ।

प्रतियोगितामा काठेखोला र गलकोट नगरपालिकाले समान २० अंक जोडेर चौथो भए । काठेखोलाले ३ स्वर्ण, ४ रजत र १३ कांस्य पदक जित्दा गलकोट नगरपालिकाले ५ स्वर्ण, ५ रजत र कांस्य पदक जित्न सफल भयो । प्रतियोगिता ढोरपाटन नगरपालिकाले एउटा पनि स्वर्ण पदक जित्न सकेन । ढोरपाटनले कराँतेमा १ स्वर्ण, ५ रजत र ५ कांस्य पदक जित्यो ।

प्रतियोगिताको आर्कषक खेलका रुपमा रहेको भलिबल खेलमा गलकोट र जैमिनीले स्वर्ण पदक जित्न सफल भएका छन् । प्रतियोगिताको विजेता टोली बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले शिल्ड प्रदान गर्नुभएको थियो । बजेट अभाव झेलिरहेको खेलकुद विकास समितिले बागलुङका स्थानीय तहहरुको सहकार्यमा प्रतियोगिता गरेको हो ।

ढोरपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा

नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ ।

सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत विभिन्न ठाउँमा आयोजित बधाई तथा शुभकामना सहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो ताउनुभएको हो । काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक छोटो दूरीको हो।

‘मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको दरबाङ–मुना–ढोरपाटन–पुर्वी रुकुम जोड्ने सडक आयोजना पश्चिम म्याग्दीको लाइफ लाइन हो । समृद्धिको आधार पनि हो ,’ कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले भन्नुभयो ,‘ संघ र प्रदेश सरकारको साझेदारीमा यो आर्थिक वर्षभित्र जोड्ने लक्ष्यका साथ निर्माण भइरहेको मुनादेखि ढोरपाटन जोड्ने सडक आयोजना अन्तिम चरणमा पुगेको छ । दरबाङदेखि मुना सम्म कालोपञ गर्न लागि १०–१२ दिन भित्र एक अर्बको ठेक्का आह्वान हुँदैछ ।

यो आयोजना निर्माण भएपछि म्याग्दी सहित बागलुङ ,पुर्वी रुकुमका साथै डोल्पाली नागरिकको समेत जीवनस्तर उकास्न ठुलो सहयोग पु¥याउँछ।’ यो सडक आयोजा निर्माणका लागि आफुले सम्बन्धीत मन्त्रालय ,निकायमा दौडधुप र पटकपटक संसदमा समेत आवाज उठाएको बताउनुभयो । आगामी वर्षमा म्याग्दीदेखि डोल्पा जोड्ने उहाँले बताउनुभयो ।

केही विकास भएन भनेर निराश नहुन आग्रह गर्दै उहाँले भन्नुभयो,‘हामी निर्वाचित भएर आएपछि जिल्लाकै दुर्गम गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा छ । अन्य ठुला सडक खानेपानी ,सिंचाइ लगायत पुर्वाधार विकासका कामहरु धमाधम भइरहेका छन् ,’उहाँले थप्नुभयो ।

यसैगरी उहाँले जिल्लाभित्र निर्माणाधिन जलविद्युत आयोजना बनेपछि जिल्ला र देशलाई ठुलो आर्थिक सहयोग पुग्ने बताउँदै समयमै सम्पन्न गर्नका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गर्बुजाले नदी कटान र बाढीका कारण हुने क्षती रोक्न नदी कटानको उच्च जोखिममा रहेका दरबाङ,तातोपानी बजार,बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रणका आयोजना निर्माण भइरहेको र आगामी आर्थिक वर्षमा थप आयोजना संचालन हुने बताउनुभयो ।

धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै थप विकास आयोजना ल्याउन र साझेदारीमा निर्माणाधिन योजनालाई बजेट पठाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । राज्यमन्त्री संगै मन्त्रालय अन्तर्गत सिंचाइ विभागका डिडिजी सन्तोष कैनी ,सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख विदुर श्रेष्ठ लगायतले सहभागि हुनुहुन्थ्यो ।

धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन ,मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन ,मंगला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा ,संविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,कांग्रेस म्यादीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी ,कांग्रेस प्रदेशसभा (ख) कार्यसमिति सभापति टंकप्रसाद पुन लगायत स्थानीय नेता तथा कर्यकर्ता लगायतले बोल्नुभएको थियो ।

नेपालमा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन्। कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेको जानकारी दिइन्।

उनका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन्। विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले उल्लेख गरे।

‘घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन्। बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन्। चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्,’ प्राधिकरणकी सहसचिव श्रेष्ठले भनिन्।

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका उनले जानकारी दिइन्। कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन्।

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ। लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सहसचिव श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन्। प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन्।

नेपालमा विपदबाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए। गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए।

सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ। हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उनले उल्लेख गरे।

चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ। सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए।

‘विकसित मुलुकको तुलनामा नेपालमा बढी मानवीय तथा भौतिक क्षति हुनुका कारण चेतना र प्रविधिको अभाव हो,’ जलवायु विज्ञ सिग्देलले भने, ‘हामीले गरेको सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाएका छौँ। त्यस्तो क्षतिलाई रोक्न सकिने सम्भावना छ।’

मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उनले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताए। त्यस्ता कामहरू मध्याह्नअगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतःन्यूनीकरण हुने उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन्। ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले जानकारी दिए। उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उनले बताए।

घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उनले बताए। स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायकाबारेमा वडा र टोलसम्म पर्याप्त मात्रामा सचेतना पुर्याउनुपर्नेमा उनले जोड दिए। रासस

दिपक माविका विद्यार्थीले सुरु गरे च्याउ खेती

बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउ खेती थालेका छन् । बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी गछौं’ परियोजना मार्फत विद्यार्थीलाई च्याउ खेती सिकाउन थालिएको हो ।

कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीले सामुहिक रूपमा ‘केन्ये’ जातको च्याउ खेती छनौट गरी उत्पादन सुरु गरेको विद्यालयका प्रधानाध्यापक विष्णु ढुङ्गानाले जानकारी दिनुभयो । ‘विद्यार्थीले निकै राम्रोसँग सिक्दैछन्, हामीले विद्यालयमा सिकाएर घरमै पनि उत्पादनका लागि अभिभावकलाई प्रोत्साहन गदैछौ’ प्रअ ढुंगानाले भन्नुभयो।

उहाँका अनुसार २० भारी पराल पकाएर एक सय ५० वटा प्लास्टिकको थैलामा च्याउको बिउ सहित विद्यालयको पुरानो भवन प्रयोग गरिएको छ । विद्यार्थीलाई बेनी नगरपालिकाकाी कृषि प्राविधिक दिव्या बरालले च्याउ खेती प्रविधि सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम दिनुभएको थियो ।

बेनी नगरपालिकाले विद्यार्थीलाई किताबी ज्ञान बाहेक समय सुहाउँदो शिक्षालाई समेत प्राथमिकता दिएर चालु आर्थिक वर्ष २०८१–०८२ मा दिपक माविसहित बेनी नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयलाई हामी सक्छौ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाले प्रत्येक विद्यालयलाई एक–एक लाख सहयोग गरेको नगर प्रमुख सुरत केसीले बताउनुभयो । सदरमुकाम बेनीबजारमा रहेका विद्यालय सहित ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुका विद्यार्थीको यो परियोजनामा आर्कषण रहेको छ ।

 

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सोही ठाउँ बस्ने १५ वर्षीय निरव मल्ल  पौडी खेल्ने क्रममा यही शनिबार नदिमा डुबेर बेपत्ता भएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मल्लको शव सोमबार दिउँसो  १२ः३० बजे करीव १५ फिट गरिहाइबाट निकालेको हो । उहाँको खोजीकार्यका लागि नं. २४ कालिका गण कास्किबाट सोमबार बिहान चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।

भगवतीमा नसर्ने रोग सम्बन्धि सचेतना कार्यक्रम

म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा रघुगंगा गाउँपालिका-२ भगवतीमा उच्च रक्तचाप दिवसको अवसरमा नसर्ने रोग सम्वन्धी एक दिने सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । समुदायमा आधारित शिक्षा अन्तरगत क्याम्पसले प्रदेश जनस्वास्थ्य कार्यालय बेनी म्याग्दीको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमको वडा अध्यक्ष अमृत भण्डारीले उद्घाटन गर्नुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय बेनी म्याग्दीको प्रमुख भुवन ठकुरानीले एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने, सूक्ष्म जीवाणुबाट नहुने मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग) को पहिचानका लागि समुदायस्तरमा सचेतनामुलक अभियान आवश्यक रहेको बताउनुभयो । नसर्ने रोग बढ्नुको प्रमुख जोखिम तत्वहरुमा सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक गतिविधिको कमी, मादक पदार्थको सेवन, अस्वस्थकर खानपान र जीवनशैली रहेको बताउनुभयो ।

मुक्तिधाम माविका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सुवेदी, देवेन्द्र वहादुर मल्ल समाजसेवी, तप्त बहादुर थापा समाजसेवी र चेतनाथ सुवेदी, भगवती आमासमूह, सिर्जनशील आमा समूहका पदाधिकारी तथा सदस्यहरु, मुक्तिधाम मा.वि.का कक्षा १० मा अध्ययरत विद्यार्थीहरु गरी ५६ जनाको उपस्थिति रहेको थियो ।

सहजीकरण जनस्वास्थ्य अधिकृत गणेश सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीले स्वागत मन्तव्य तथा सञ्चालन म्याग्दी बहुमुखी क्याम्पसका उपप्राध्यापक नाराणय पौडेलले गर्नुभएको थियो ।

महिलालाई स्वरोजगार बनाउन अल्लो कपडा बुनाई तालिम

बेनीका महिलाहरुलाई स्वरोजगार बनाउनका लागि एक महिने बनपैदावारमा आधारित अल्लो कपडा बुनाई तालिम आइतबारदेखि सुरु भएको छ ।

डिभिजन बन कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा महिला उद्यम विकास समितिको आयोजनामा बेनी नगरपालिका–२,ज्यामरुककोटस्थित हाँडेभीर नजिकै महिला उद्यमीलाई लक्षित गरेर साझा सुविधा केन्द्र आयोजित तालिममा १० जना महिलाको सहभागिता रहेको छ ।

म्याग्दीमा ब्यवसायिक रुपमा अल्लो उत्पादनमा आर्कषित महिलालाई गाउँघर तथा पाखो ठाउँमा उम्रिएर त्यत्तिकै खेरजाने अल्लोको पुवाबाट महिलाहरुले विभिन्न उत्पादनहरु बनाउन सञ्चालन गरिएको तालिमको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले उद्घाटन गर्नुभयो ।

अल्लोको धागोबाट उत्पादित थान कपडाको माग स्वदेश तथा विदेशमा रहेको छ । अल्लोबाट कोट, स्टकोट, टोपी, झोला, जुत्ता, चप्पल, सललगायत दैनिक उपभोग्य सामग्रीहरु बनाउने गरिन्छ । अल्लोको कपडा स्वास्थ्यबद्र्धक हुने भएकाले पनि बजारमा यसको माग उच्च रहेको छ ।

तालिममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, डिभिजन बन कार्यालयका सहायक बन अधिकृत चन्द्रमणि सापकोटाले म्याग्दीका महिला उद्यमीलाई बनपैदावारमा आधारित तालिम सञ्चालनसँगै उद्यमी बनाउन विभिन्न माध्यमबाट सहयोग गरिएको बताउनुभएको थियो ।

तालिमको अध्यक्षता एवम् स्वागत गदैं महिला उद्यम विकास समितिकी सभापति अम्बिका श्रेष्ठले महिलाको रुचीको आधारमा उद्यमशिलता अनुसारका विभिन्न तालिम सञ्चालन भइरहेको बताउनुभयो। उहाँले अहिले बजारमा स्वरोजगार बनाउने तालिमहरु सरकारी तथा निजी संस्थासँग सहकार्य गरी समितिमार्फत तालिम सञ्चालन भइरहेको बताउनुभयो ।

सभापति श्रेष्ठले बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजनामा एक महिने बुटिक तालिम समेत सञ्चालन भइरहेको जानकारी दिनुभयो । बनपैदावारमा आधारित अल्लो कपडा बुनाई तालिमको सञ्चालन समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले गर्नुभएको थियो ।