Sunday, June 8, 2025
19.6 C
Beni
19.6 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 25

ऊर्जा राज्यमन्त्री गर्बुजाको पद तथा गोपनीयताको शपथ आज

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुने भएको छ ।आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

गत वैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभामा म्याग्दीबाट निर्वाचित गर्बुजालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको हो । नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुनुहुन्छ ।

गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए। उनी बर्खास्तीमा परेपछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन्।

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ ।
सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार निर्माण भएको छ ।

उक्त पूर्वाधारहरुको गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रि एबम् प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । यसैगरी बिमबासीहरुले स्वदेश तथा विदेशमा चन्दा संकलन गरेर रु. २८ लाख लगानीमा निर्माण भएको गोलघरको बिम–काठमाडौ सम्पर्क समाजका विदेश विभाग प्रमुख कृष्णप्रसाद जुग्जालीले उद्घाटन गर्नुभयो ।

स्थानीय काठ, ढुंगा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर बनाउन प्रवासमा रहेका बिमबासीहरुले सहयोग गरेका जुग्जालीले बताउनुभयो । उद्घाटनका अवसरमा ध्यान केन्द्र सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न उहाँले रु. २५ हजार सहयोग गर्नुभयो ।

परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको प्रभुचेला धुरी प्रर्वद्धन समाजका अध्यक्ष टिकाबहादुर जुग्जाली (नविन)ले बताउनुभयो ।

परापुर्वकालमा ऋषीमुनीहरुले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ । विभिन्न दाताहरुले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनु भएको छ ।

पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुननिर्माण गर्नुभएको छ । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनु भएको छ । रुपलाल पुनको संयोजकत्वमा स्व. मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र टंकी निर्माण भएको छ ।

गोलघर र आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राती, हिउँ, पानी परेको र घाम चर्किदाँ आश्रय लिन सहज भएको छ । परापुुर्व कालमा ऋषिमुुनीहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरु पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो ।

वस्तीदेखि टाढा र जंगलको बिचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट बजेट बिनियोजन गराएको उहाँले बताउनुभयो । रु. २० करोड बजेट बिनियोजन गरेर खारादेखि बिम जोड्ने सडक स्तरोन्नति थालिएको जानकारी दिदै उहाँले प्रभुचेला र मालिका धुरी जोड्ने सडकलाई पनि स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकहरुलाई सहज भएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सदस्य समेत रहेका वडा अध्यक्ष टकलाल पुनले बताउनुभयो । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङ देखि प्रभुचेला धुरीलाई सडकले जोडिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।

बिम गाविसका पूर्व अध्यक्ष रुपप्रसाद पुनका अनुसार प्रभुुचेलाको धार्मिक महत्व नभुुझेर यहाँ केही वर्षअघिसम्म स्थानीयबासीले गाईभैसी र भेडाबाख्राको गोठ राख्ने खर्क बनाएका थिए ।

प्रभुचेला धुरीमा एक सय वर्षअघि सम्म ऋषिमुनीहरुका लागि तपस्या स्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.स. १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङखला अवलोकन गर्न पाउनु अर्को विशेषता भएको प्रभुचेला धुरी प्रर्वद्धन समाजका सचिव सुरमान गर्बुजाले बताउनुभयो ।

समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाईमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना रहेको प्रभुचेलाको व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो ।

उद्घाटन कार्यक्रममा बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, बिम मालिका संघ काठमाडौका रामबहादुर जुग्जाली, नविन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेल, ओमकुमारी थापा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कलाकार दिलु पुनले गित, नौमती बाजा समूहले बाजा, स्थानीय आमा समूह र योग समूहहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

 

मार्स मल्टी मिडियाको मैत्रीपूर्ण फुटसल म्याग्दी मिडिया सोसाईटीले जित्यो

मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहेको बताउनुभएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका मेयर केसीले सञ्चारमाध्यमले आलोचना र प्रशंसा सत्यताको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । शुभारम्भको अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीमा अध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष अमित विश्वकर्मा, लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष धुब्र जिसी लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच म्याग्दी टाइम्सको शुभारम्भको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी मिडिया सोसाईटीले जितेको छ । पहिलो चरणको खेलमा नेपाल पत्रकार महासंघ म्याग्दी ‘ए’ र लोकदोहोरी गित प्रतिष्ठान म्याग्दी बिच भएको खेलमा दुईका विरुद्ध ६ गोल गर्दै पत्रकार महासंघ फाइनलमा प्रवेश गरेको थियो ।

त्यसैगरी पत्रकार महासंघ ‘बि’ र म्याग्दी मिडिया सोसाईटी बिच भएको खेलमा २ का बिरुद्ध ९ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले फाइनलको यात्रा तय गरेको थियो ।

फाइनलमा नेपाल पत्रकार महासंघ म्याग्दी ए र म्याग्दी मिडिया सोसाईटी बिचको खेलमा २ का बिरुद्ध ३ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले प्रथम म्याग्दी टाइम्स फुटसलको उपाधी जितेको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता म्याग्दी मिडिया सोसाईटीका किरण कार्की र उत्कृष्ट खेलाडी पत्रकार महासंघका गोलरक्षक कृष्ण कार्की घोषित भएका थिए ।

विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र मार्स मल्टी मिडिया हाउस प्रालिका अध्यक्ष शिव बोहोराले ट्रफी,मेडल वितरण गर्नुभएको थियो ।

 

 

 

गोवर्धन महायज्ञको छैठौँ दिन, ३० लाखबढी दान संकलन

म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारामा जारी गोवर्धन महायज्ञको छैठौँ दिन शनिबारसम्म ३० लाखभन्दा बढी दान संकलन भएको छ । पश्चिम नेपालमै पहिलो पटक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा गएको बैशाख १५ देखि सुरु भएको महायज्ञमा दिनप्रतिदिन उत्साहजनक उपस्थिी रहेको महायज्ञ मुल समारोह समितिका दिर्घ रिजालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

महायज्ञमा शनिबार सदरमुकाम बेनी, छिमेकी बागलुङ, पर्वत तथा विभिन्न क्षेत्रबाट भक्तजनहरु पुग्नुभएको थियो । पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा प्रमुख वाचक आचार्य श्रीसुदर्शन बडालले गर्नुभएको छ ।

महायज्ञमा क वर्गको सदस्यताका लागि रु सातलाख ५५ हजार पाँच सय ५५ सेवाशुल्क तोकिएको छ भने उक्त सदस्यता जम्मा एक जनालाई मात्र वितरण गरिने छ । त्यसैगरी ख वर्गको सदस्यताका लागि रु पाँचलाख ५५ हजार पाँचसय ५५ निर्धारण गरिएको छ । उक्त सदस्यता दुईजना दाताले प्राप्त गर्न सक्नुहुने छ ।

त्यसैगरी पाँच जनालाई ग वर्गको सदस्यता वितरण गरिने छ । जसको शुल्क रु तीन लाख ५५ हजार पाँच सय ५५ रहेको छ। ११ जनालाई वितरण गरिने घ वर्गको सदस्यता शुल्क रु दुईलाख ५५ हजार पाँच सय ५५,१५ जनालाई दिइने ङ वर्गको सदस्यता शुल्क रु एकलाख,५५ हजार, पाँच सय ५५, च वर्गको सदस्यताका लागि रु ५५ हजार,पाँच सय ५५ र छ वर्गको सदस्यताका लागि रु २५ हजार,पाँचसय ५५ शुल्क निर्धारण गरिएको छ । च वर्गको सदस्यता ३५ जना र छ वर्गको सदस्यता १०८ जनालाई वितरण गरिने छ ।

बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमामहायज्ञमा वचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला, बहुउद्धेश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने वडा अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । आगामी बैशाख ३० गतेसम्म हुने गोवर्धन बिराट महायज्ञमा जिल्लामा क्रियाशिल संघसंस्थाले समेत सामुहिक दान गरेका छन ।

 

 

बेनी नगरमा १५ दिने महिला फुटबल प्रशिक्षण सुरू

बेनी नगरपालिकामा महिला फुटबल खेलाडी उत्पादन गर्न १५ दिने निःशुल्क महिला फुटबल प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिकाको मुख्य आर्थिक सहयोग तथा विभिन्न फुटबल प्रेमीहरुले गरेको सहयोगमा बेनी नगर फुटबल संघद्धारा आयोजित तालिमको शनिबार नगरपालिकाको सभाहलमा उद्घाटन गरिएको छ।

बेनी नगर प्रमुख सुरत केसीले नगरपालिका भित्र फुटबल खेल्न चाहने छात्रालाई सुन्दर अवसर भएकाले यसपटकको प्रशिक्षण प्रभावकारी भएमा आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। सोही अवसरमा उपमेयर ज्योति लामिछाने पौडेलले खेलकुदमा छात्राका लागि आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो।

प्रशिक्षण उद्घाटन कार्यक्रममा बेनी नगर फुटबल संघका अध्यक्ष देबेन्द्र चोखालले प्रशिक्षणबाट नगरपालिकास्तरीय महिला फुटबल टिम तयार गरिने बताउनुभयो । यसपटक प्रशिक्षणबाट म्याग्दी जिल्लाका पालिकास्तरमा रहेका छात्रा फुटबलका खेलाडीको पहिचान हुने अध्यक्ष चोखालको भनाई छ ।

आइतबारदेखि खुल्लामञ्चमा हुने प्रशिक्षणमा एन्फा मान्यताप्राप्त प्रशिक्षकले प्रशिक्षण गर्ने छन् । प्रशिक्षणको उद्घाटन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष चोखाल, स्वागत जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ र सञ्चालन सचिव छवि आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अणबहादुर खड्का, सदस्य सन्दिप खत्री, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती, पूर्व अध्यक्ष बिरेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघको सहकार्यमा हुने प्रशिक्षणमा फुटबलको आधारभूत, प्राविधिक पक्षमा ज्ञान दिइने छ भने अभ्यास खेल समेत खेलाइने छ ।

म्याग्दीमा हुने महिला फुटबल प्रतियोगिताकै कारणमहिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट मंगला गाउँपालिका–२, सहस्रधाराकी निकिता सिङ ठकुरी र मालिका गाउँपालिका–५, देविस्थान दांगाकी दिपा बुढा टिममा छनौट हुनुभएको थियो ।

त्यस्तै गण्डकी प्रदेश फुटबल संघको प्रतियोगिताका लागि छनोट खेलमा ११ जिल्लाबाट १३५ जना खेलाडीको उपस्थिति रहेकोमा म्याग्दीबाट ९ जनमध्ये ८ जना पहिलो चरणमा पर्न सफल भएकाले प्रदेशस्तरीय तालिमका लागि छनौट भएको अवस्थामा बेनी नगरपालिकास्तरीय प्रशिक्षणले थप नयाँ खेलाडीलाई अवसर मिल्ने बताइएको छ ।

 

 

 

स्वास्थ्यकर्मीलाई सुत्केरी सेवाको निरन्तरताबारे अभिमुखीकरण

म्याग्दी– स्वास्थ्यकर्मीहरुका लागि दुईदिने गर्भवती सेवा तथा सुत्केरी सेवा निरन्तरता सम्बन्धी विषयमा शुक्रवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा जिल्लाको विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर अभिमुखीकरण गरिएको हो ।

स्वास्थ्यकर्मीहरुको क्षमता अभिृवद्धि गराउन, मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन र यो कार्यक्रमबाट एच्त्ए र ःएम्क्च् प्रणाली सुदृढ बनाउन तथा स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी बनाउन सक्षम बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको धौलागिरि अस्पताल बागलुङका स्त्रीरोग विशेषज्ञ डाक्टर विजय ओझा, प्रदेश अस्पताल बेनी म्याग्दीका अस्पताल नर्सिङ निरीक्षक झरना श्रेष्ठ र प्रदेश जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सारती कुँबरले सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा गभर्वती सेवा तथा सुत्केरी सेवाको निरन्तरता, ब्लतष्(कजयअप न्बचmभलतक, पिपिआर, प्रसुतिपश्चात्को रक्तस्राव, रक्त विशाक्तता, रेकर्डिङ तथा रिपोर्टिङमा आइपर्ने चुनौती, समस्या र समाधानका उपायहरु, सम्मानजनक प्रसुति सेवालगायत विषयहरुमा सहजीकरण गर्नुका साथै अन्तत्र्रिmया र छलफल गरिएको थियो । तालिममा म्याग्दी जिल्लाका सबै स्थानीय तहभित्र सञ्चालित स्वास्थ्य संस्थाहरुबाट ३२ जना नर्सिङ कर्मचारीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रमको समापन गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले आमा र बच्चा दुवैलाई स्वस्थ राख्न सकेमा खोप कार्यक्रम समेत प्रभावकारी बन्ने बताउनुभयो । उहाँले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने उपकरण, औजार तथा तालिम र गोष्ठी चाहिएमा कार्यालयसमक्ष माग गर्न तालिमका सहभागीहरुलाई सुझाव दिनुभयो । तालिमका सहभागी पुलाचौर स्वास्थ्यचौकीका सिनियर अनमी अमृता सुनारले कार्यक्रममा आफ्नो अनुभव सुनाउनुभएको थियो ।

यसअघि बिहीबार मातृ तथा नवजात शिशु सेवा, गभर्वती दर्ता तथा अनुगमन (एच्त्ए) र मातृ तथा पेरिनेटल मृत्यु, मृत्यु निगरानी एवं प्रतिकार्य (ःएम्क्च्) कार्यक्रमको समीक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रममा म्याग्दी जिल्लाको स्थानीय तहभित्र रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत ३५ जना नर्सिङ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको मेडिक मोबाइलका प्रोजेक्ट अफिसर नारायण रिजाल, प्रदेश अस्पताल बेनी म्याग्दीका नर्सिङ अधिकृत खेमकुमारी पन्त, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मनदेवी गौतम र प्रदेश जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सारती कुँबरले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले अनुभव सुनाउनुभएको थियो ।

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो ।

म्याग्दी जिल्ला भलिवल संघ विसं. २०६१ सालमा गठन भएको हो । हाल संघका अध्यक्ष तेजेन्द्र बाँनिया रहेका छन् । भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडिसँगै प्रशिक्षक, रेफ्रि उत्पादन भइसकेका छन् । म्याग्दीमा हाल व्यवस्थित खेलमैदान नभएको हुँदा भलिबल कभर्ड हल निर्माणका लागि संघले
अग्रपहलकदमीको भूमिका निर्वाह गरिरहेको छ । संघले हल निर्माणका लागि भन्दै २०८० सालमै अक्षयकोष स्थापना गरि ४७ लाख जम्मा गरिसकेको छ । संघले आधुनिक मापदण्ड अनुसारको म्याग्दी भलिबल कवर्डहल ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने योजना समेत अगाढी सारेको छ ।

अहिले संघले ७ वर्ष माथि उमेर समूहका बालबालिकाहरुलाई खेलकुदमा आकर्षण गराउँदै ग्रास रुटबाट खेलाडी उत्पादनका लागि प्रशिक्षण दिँई खेल संस्कारको विकास र विस्तार गर्दै आएको छभने विभिन्न भलिबल प्रतियोगिता गर्दै आएको छ । त्यसैगरि संघले २०७९ सालमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरिसकेको छभने एनभिए अवार्ड २०८० र गण्डकी प्रदेश भलिबल संघबाट सम्मानित भइसकेको छ ।

त्यस्तै संघले २०६१ सालदेखी म्याग्दीमा धेरै खेलाडी उत्पादन गरिसकेको छ । जसमा राष्ट्रिय खेलाडी कमला पुन, नेपाली टिम कप्तान अरुणा शाही, राष्ट्रिय खेलाडी राजु थकाली, मिलन मल्ल, झमानसिङ परियार, सम्राट भण्डारी, गण्डकी प्रदेश टिमका उपकप्तान सुजन चोखाल, गण्डकी टिम सदस्य पवित्रा बिसी, रेविना घर्ति, मनिसा तिलिजा, अस्मि पुन, रिक्जिना बोटे, काजल छन्त्याल, सजिना बुढाथोकीलगाएतका उत्कृष्ट खेलाडीहरु उत्पादन गरिसकेको छ । त्यसैगरि तेजेन्द्र बानिया, मलिन रोका, कुमार किसान जस्ता प्रशिक्षक उत्पादनसँगै रेफ्रिहरु समेत संघले उत्पादन गरिसकेको छ । यस्ता उत्कृष्ट कार्यले गर्दा नै म्याग्दी जिल्ला भलिबल संघ पोखरा स्पोर्टस् अवार्डबाट सम्मानित हुन लागेको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएको छ ।

नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै सहारा क्लब पोखरा, टाईगर ग्रुप अफ पोखरा नेपाल, निट डेन्टल केयर प्रालि, सिटीजन फर्निचर, भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, बुम¥याङ रेष्टुरेण्ट, एन्फा गण्डकी, पोखरा पिज्जा हाउस, सोल्टी पिउने पानी र यती एयरलाईन्सलगाएत सहयोगी रहने मञ्चले जनाएको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्दछ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।

बेनीमा फोहोर संकलन दौड प्रतियोगिता, महारानीथान समुहकी र्सिजना र मिनाको जोडी प्रथम

सफा र स्वच्छ समाज बनाउन म्याग्दी जेसीजले शनिबार सदरमुकाम बेनीबजारमा फोहोर संकलन दौड आयोजना गरेको छ। सबै नागरिक मिलेर सर्वाजिनक स्थानलाई फोहोर रहित बनाउनुपर्ने सन्देश सहित आयोजित प्रतियोगितामा बेनी नगरपालिका वडा नं ७ महारानीथान समुहकी सिर्जना शर्मा र मिना जिसीको समुहले उनीहरुले ४२.७२ केजी फोहोर संकलन गदैं प्रथम भएको छ ।

यसैगरी द्धितिय बिटी चोककी बिनम थजाली, एन्जल थजालीले ४२.४१ केजी र तृतिय जिल्ला फुटबल संघको तर्फबाट जिल्ला फुटबल संघको प्रजिया कार्की र रिधिमा भट्टचनले ३३.५१ केजी फोहोर संकलन गरी उपाधी जित्न सफल भएको म्याग्दी जेसीजका सहसचिव गोकुल सुनारले जानकारी दिनुभयो ।

प्रतियोगीले संकलन गरेको फोहोरलाई जोखेर घोषणा गरिएको थियो । विजेतालाई भित्ते घडी, करुवा र सरसफाई साम्रागी नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष बिनय श्रेष्ठ, खम थापामगर, बिरेन्द्र श्रेष्ठ, शाखा अध्यक्ष बिनोद घर्ती क्षत्रीले वितरण गर्नुभएको थियो ।

सोही अवसरमा बेनी नगरपालिकाका सरसफाई कर्मचारी राजु किसान, राम मगर र उमेश पटेललाई नगद १५ सय सहित उपहार प्रदान गरिएको कार्यक्रम संयोजक एवम् शाखाका महासचिव देबेन्द्र घिमिरेले बताउनुभयो ।

कालिपुल बसपार्कबाट सुरू भएको फोहोर संकलन दौड बेनीबजारका विभिन्न टोल हुदै बिरेन्द्रचोकमा पुगेर समापन भएको थियो । दौडमा २ जनाको जोडी बनाएर ४५ मिनेटको अवधिमा बेनीबजारको सार्वजनिक स्थानबाट ३ सय केजी फोहोर संकलन गरिएको थियो ।

प्रतियोगितामा विभिन्न संघसंस्था, नेपाल प्रहरी सहित विद्यार्थी गरी २० टिमले सहभागिता जनाएका थिए भने अप्रतियोगि ५ जनाले समेत फोहोर संकलन अभियानमा सहभागिता जनाएका थिए । म्याग्दी जिल्लालाई नै स्वच्छ बनाउने अभियानका बारेमा सचेतना फैलाउन प्रतियोगिताको आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।

 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि दश लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशिल २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याक खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गर्नुभएको थियो ।

म्याग्दीका तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बीमा गरिएको छ । दुर्घटना बिमाका लागि शिखर इन्स्योरेन्ससँग सम्झौता गरिएको छ । यो योजनाअन्तर्गत पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि दश लाख रुपैयाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपैयाँसम्मको लाभ प्रदान गरिनेछ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष पौडेलले पत्रकारको पेशागत सुरक्षाका लागि नयाँ कार्यसमितिका कार्यहरु प्रशंसनीय भएको बतायनुभयो । ‘कसैको पनि दुर्घटना नहोस् भन्ने हाम्रो कामना हो, तर आकस्मिक घटनामा राहत प्रदान गर्न यो बीमा योजना उत्कृष्ट छ ।’ प्रमुख अतिथि पौडेलले भन्नुभयो ।

यसैबीच मृगौला रोगबाट ग्रसित म्याग्दीकाली एफएमका कार्यरत सञ्चारकर्मी दिपा बुढाथोकीकी आमा लिला पुनको उपचारका लागि पत्रकार महासंघको आपतकालिन कोषबाट ३२ हजार ५ सय सहयोग हस्तान्तरण गरिएको छ ।

पत्रकार महासंघले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुका साथै परिवारका सदस्य वा कुनै समस्या परेमा कोषमार्फत सहयोग गर्ने छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता गौतम, स्वागत उपाध्यक्ष दलप्रसाद विश्वकर्मा र सञ्चालन सचिव ठाकुरप्रसाद आचार्यले गर्नुभएको थियो ।

बि.स २०८१ साल मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिले हालसम्म नयाँ पत्रकार उत्पादन र पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि पत्रकारिता पाठशालामार्फत तालिम, सूचना तथा प्रसार विभागबाट प्रेस कार्ड सहित घुम्ती शिविर, स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता, हिमाली जिल्ला अन्तरगत म्याग्दीका सञ्चारमाध्यमहरुलाई सुविधाको माग सहित विभिन्न कार्यक्रमहरु गरेको छ ।

अन्नपूर्ण पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा

‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ ।

शुक्रवार पालिकाको केन्द्र पोखरेबगरमा आयोजित एक समारोहबीच अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।    बच्चा जन्मेदेखि १५ महिनासम्मका ९९ जना र १६ महिनादेखि ५९ महिनासम्मका ४ सय ३७ जनासहित सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरिएको छ । बालबालिकाहरुले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न प्रकारका खोपहरु पाएका छन् ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरु सबैले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो ।

उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् । अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्न यसअघि गएको चैत २२ गते ५ नम्बर वडा शिखबाट वडास्तरमा पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यको सुरुवात गरिएको थियो ।

पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो ।

दोवा, भूरुङ–तातापानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेसहित ८ वटा वडा रहेको अन्नपूर्णमा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

कार्यक्रमको अवसरमा अन्नपूर्ण गाउँपालिकाबाट पूर्णखोप घोषणा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रमा खटिएका ८ वटा वडाका ८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ८ वटा स्वास्थ्यचौकीका ८ जना स्वास्थ्यकर्मी तथा एकजना स्वास्थ्य शाखाको कर्मचारीलाई महत्वपूर्ण सहयोग पु¥याएको भन्दै प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

यसैक्रममा जिल्ला खोप समन्वय समितिको तर्फदेखि अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितताको घोषणा भएको तथा दिगोपना कायम राख्नको लागि प्रशंसा–पत्र समेत प्रदान गरिएको थियो ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले पूर्णखोप कार्यक्रमले अपाङ्गतादर तथा बाल मृत्युदर घटाएर औषत आयु बढाउनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो ।

उहाँले खोप कार्यक्रम नेपाल सरकारको आधारभूत स्वास्थ्य सेवाको रुपमा रहेको बताउँदै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम प्रभावकारी रहेकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट वडास्तरमा खट्ने सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले नेपाल सरकार र नेपालको संविधानले सबै बालबालिकाहरुलाई निःशुल्क रुपमा खोप पाउने अधिकारको व्यवस्था गरेको बताउँदै पूर्णखोप कार्यक्रमले स्वस्थ तथा सक्षम र सबल नागरिक उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले पूर्णखोप पालिका घोषणा गर्ने कार्यलाई आउँदा दिनहरुमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पूर्णखोप कार्यक्रममा नेपाल सरकारको ४० प्रतिशत र दातृ निकायको ६० प्रतिशत लगानी रहेको जानकारी दिनुभयो ।

उहाँले पूर्णखोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बालमृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने बताउँदै खोप कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरुको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो ।

अन्नपूर्ण–६ घारका वडा अध्यक्ष रामबहादुर खड्काले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमको प्रतिवेदनवाचन र सञ्चालन तथा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक ओमप्रसाद फगामीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका र आमा समूहले नृत्य प्रस्तुत गरेका थिए । अन्नपूर्ण गाउँपालिका जिल्लामा पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा हुनेमा पाँचौं पालिका बनेको छ भने यसअघि धवलागिरि, मालिका, मंगला र रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भैसकेका छन् । अब बेनी नगरपालिका घोषणा भएपश्चात् जिल्लालाई पनि पूर्णखोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिनेछ ।