Thursday, June 26, 2025
26.1 C
Beni
26.1 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 26

मल्लाजका बिनायकजय मल्लले ५ पटक सगरमाथा आरोहण

पर्वत जिल्ला जलजला गाउँपालिका–३,मल्लाजका बिनायकजय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथामा ५ पटक आरोहण गर्नुभएको छ । ३७ बर्षिय मल्लले सन् २०१७ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।
इलाइट एक्सपेडमा कार्यरत अन्तर्राष्ट्रियस्तरमा गाइडको लाइसेन्स प्राप्त मल्लले म्याग्दीको धवलागिरी गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरी हिमालमा सन् २०१७ मा आरोहण गर्नुभएको थियो ।

त्यसैगरी मनास्लुमा ५ पटक, ल्होत्से हिमाल १ पटक आरोहण गरेको मल्लले बताउनुभयो । ‘‘आरोहण बाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जिवन दिन पाउँदा पेशाप्रति गर्व लाग्छ’’ मल्लले भन्नुभयो ।

८ हजार मिटर अग्ला हिमाल बाहेक यूरोप, इण्डोनेसिया,पाकिस्तानको हिमालमा दर्जनभन्दा बढीपटक आरोहण गरेको मल्लको भनाई छ । हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताउनुभयो ।

हिमाल आरोहण टोलीसँगै मल्ल केहीदिनमा पाकिस्तान जादै हुनुहुन्छ । म्याग्दी र पर्वत क्षेत्रको पर्यटन प्रर्वधनका कार्यहरुमा समेत सक्रिय रहनुभएका मल्लले किर्तीमानी आरोही निर्मल पूर्जाबाट प्रभावित भएको बताउनुहुन्छ । उहाँले हिमाल आरोहणसँगै पर्यटन प्रर्बधनका क्षेत्रमा आगामी दिनमा समेत झनै सक्रिय हुने बताउनुभयो ।

यो सँगै सगरमाथामा धौलागिरी क्षेत्रबाट निर्मल पूर्जा निम्स पछि सबैभन्दा धेरै आरोहण गर्ने आरोहीमा मल्ल हुनुभएको छ । मल्लले नेपाल र विश्वका विभिन्न देशमा रहेका ८ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा ल्याउन थालेका छन् । बेनी नगरपालिकाले सञ्चालन गरेको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा व्यावहारिक ज्ञान, सीपको क्षमता विकास गरेर किसानहरूले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा स्थानीय वानस्पतिक विषादी बनाएर प्रयोगमा ल्याएका हुन् ।

पाठशाला सञ्चालनका लागि करिब एक रोपनी क्षेत्रफलमा गरिएको कोसेबालीमा देखिएका रोग कीराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायत तीतो, पिरो, टर्रो र अमिलो हुने प्रजातिका वनस्पति र वस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताउनुभयो ।

“पहिले खेतीबालीमा केही समस्या भए बजारबाट विषादी किनेर ल्याउने गथ्र्यौँ, अहिले सिमीमा लागेको रोग कीरामा वानस्पतिक झोलको प्रयोग गर्यौँ, समस्या पनि हल भयो, नगद खर्च पनि भएन”, उहाँले भन्नुभयो । वानस्पतिक विषादीको प्रयोगले कृषि उपजसमेत स्वस्थकर हुने गर्छ । डम्मरा माझखेत कृषक समूहका २२ जना महिला किसान सहभागी पाठशालामा खेतीबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मको व्यावहारिक ज्ञान, सीप र क्षमता विकासका गतिविधि भइरहेका छन् ।

गत माघ २० गतेदेखि सञ्चालन भएको कृषक पाठशालामा सहजकर्ता सोबित शर्माले किसानहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नुभएको छ । पाठशाला सञ्चालन भएपछि गाउँघरमा रहेका स्रोत र साधनलाई प्रयोग गरेर कृषिको उत्पादन बढाउने र रोग कीराको पहिचान गरेर उपचार गर्ने ज्ञान सीप हासिल भएको तालिममा सहभागी स्थानीय किसान पशुपति भण्डारी खत्रीले बताउनुभयो ।

हरेक साताको बिहीबार चार–चार घण्टाका दरले डम्मरा माझखेत आइपिएम कृषक पाठशाला सञ्चालन हुँदै आएको छ । वडाध्यक्ष कृष्णसिंह बानियाँले समूहका लागि पाठशाला सञ्चालन गर्न निःशुल्क रूपमा उपलब्ध गराउनुभएको करिब एक रोपनी बारीमा कोसेबालीअन्तर्गत सिमी र बोडीखेती गरिएको छ । तालिममा सिमी र बोडीखेतीसँगै आलुलगायत तरकारीखेती र अन्नबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मका सिकाइ भएको स्थानीय कमला परियारले जानकारी दिनुभयो ।

कृषक पाठशालामा किसानहरूलाई व्यावहारिक सिकाइका लागि लगाइएको भट्टेसिमी, एसनाइन सिमी, हाइब्रिड सिमी, मिटरबोडी, मालेपाटन बोडीखेती गरिएको छ । सिमी र बोडी उत्पादन भएपछि किसानले घरायसी प्रयोगदेखि बिक्री गरेर नगद आम्दानी गर्न थालेका छन् । आइपिएम कृषक पाठशालाले एउटा बाली विशेषमा किसानलाई पूर्ण रूपमा तालिमप्राप्त बनाउने गर्छ ।

पाठशालामा कोसेबाली लगाउनेदेखि बिरूवाको हेरचाह, स्थानीय स्रोत र साधनको प्रयोग गरेर थाँक्रा बनाउने र फल उत्पादनका लागि बोटको काँटछाटका विषयमा व्यावहारिक तालिम प्रदान गरिएको छ । पाठशालामा सहभागी किसानले आफैँ लगाएका सिमी र बोडीको आफैँले स्याहार र गोडमेलका साथै स्थानीय वानस्पतिक विषादीको प्रयोग गरेर रोग कीराको उपचार गर्ने तरिकासमेत सिकेको पाठशालाका सहजकर्ता सोबित शर्माले बताउनुभयो । किसानको हातबाट खेतबारीमा बीउ लगाएर फल उत्पादन गरी बजारीकरणसम्मको सबै पक्षलाई पाठशालामा नियमित प्रशिक्षण र व्यावहारिक तालिममा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सिमी, आलु, गोलभेँडा, काउली, अकबरे खुर्सानीलगायत तरकारीखेतीमा विभिन्न सात ठाउँमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । विषादीरहित कृषि उपज उत्पादन, रोग कीराको नियन्त्रण र उपचारमा स्थानीयस्तरमा हुने जैविक र प्राङ्गारिक मलको प्रयोग गरी स्वस्थवर्द्धक कृषि उपजको उत्पादनमा आइपिएम पाठशाला किसानका लागि उपयुक्त थलो बनेको छ । खेतबारीमै पुगेर किसानलाई व्यावहारिक ज्ञान, सीपबारे पढाउनका लागि आइपिएम कृषक पाठशाला प्रभावकारी बनेको छ । रासस

नाँगीको डोको..

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा स्थानीयलाई उद्यमशिलतामा जोड्न डोको बुन्ने २० दिने तालिम आयोजना गरिएको छ । जङ्गलमा पाइने निगोलोबाट पानी बोक्न, घाँस दाउरा ल्याउनलगायत काममा डोका प्रयोग हुने गर्दछ । तस्वीर दिवा पुन तिलिजा

दानाको ज्ञानप्रकाश माविका विद्यार्थीलाई पोषण शिक्षा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित ज्ञानप्रकाश माविमा विद्यालय स्वास्थ्य पोषण सप्ताह अन्तरगत विद्यार्थीलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह–२०८२ को अवसर पारेर बालबालिकाहरुको स्वास्थ्यमा पोषणको अवस्था पत्ता लगाएर उनीहरुको अभिभावकहरुलाई सचेतना गराउने उद्देश्यले कार्यक्रम गरिएको दाना स्वास्थ्य चौकीकी प्रमुख रञ्जीता पाइजाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा पोषणको परिचय, प्रकार, महत्व, पोषणको कमीले बालबालिकाहरुको स्वास्थ्यमा पार्ने असर, समाधानका उपायहरु, दिवा खाजालाई पोसिलो बनाउने तरिकालगायत विषयहरुमा सहजीकरण गरिएको चौकी प्रमुख पाईजाको भनाई छ ।

विद्यालयमा पोषणासम्बन्धि ज्ञानले विद्यार्थीको जंगफडको प्रयोग घट्ने र निरुत्साहित गर्ने अभियानमा बल पुग्ने प्रधानाध्यापक शान्त नेपालीले बताउनुभयो । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण अनुसार पोषणको कमीबाट २५ प्रतिशत पुड्कोपना, १९ प्रतिशत कम तौल र ११ प्रतिशत बालबालिकाहरुमा ख्याउटेपन रहेको पाइएको छ ।

न्यू वेष्ट प्वाइन्ट र लिटिल गार्डेनमा बालबालिकाहरुको पोषण लेखाजोखा

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित क्याम्पसचोकमा सञ्चालित लिटिल गार्डेन एकेडेमीमा बिहीबार ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ८ नम्बर वडाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह–२०८२ को अवसर पारेर बालबालिकाहरुको स्वास्थ्यमा पोषणको अवस्था पत्ता लगाएर उनीहरुको अभिभावकहरुलाई सचेतना गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्था मिलन म्याग्दीले जनाएको छ । लिटिल गार्डेन एकेडेमीका प्रिन्सिपल दिपक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बेनी नगरपालिका ८ नम्बर वडाका वडा सदस्य यामबहादुर बानियाँले उद्घाटन गर्नुभएको थियो ।

मिलन म्याग्दीका सामाजिक सुपरिवेक्षक छवि पूर्जाको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा मिलन संस्थाका अध्यक्ष दिलमाया बिटालुले कार्यक्रममा स्वागतसँगै उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । बालबालिकाको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रमको मिलन म्याग्दीका अध्यक्ष बिटालु र पोषण विज्ञ बालकुमारी पुनले बालबालिकाहरुको स्वास्थ्यमा पोषणको लेखाजोखा गर्नुका साथै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडानम्बर ८ का वडा सदस्य नरु थजाली, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पोषणको परिचय, प्रकार, महत्व, पोषणको कमीले बालबालिकाहरुको स्वास्थ्यमा पार्ने असर, समाधानका उपायहरु, दिवा खाजालाई पोसिलो बनाउने तरिकालगायत विषयहरुमा सहजीकरण गरिएको थियो । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण अनुसार पोषणको कमीबाट २५ प्रतिशत पुड्कोपना, १९ प्रतिशत कम तौल र ११ प्रतिशत बालबालिकाहरुमा ख्याउटेपन रहेको पाइएको छ ।

यसैगरी बुधवार न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा पनि बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका भाइस प्रिन्सिपल सरोज लकान्द्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य नरु थजालीको विशेष उपस्थिति रहेको थियो । दुवै विद्यालयको कार्यक्रममा विद्यालयका अभिभावक तथा बालबालिकाहरुले उल्लेख्य सहभागिता जनाएका थिए ।

गलेश्वर बजारमा अनुगमन, म्याद सकिएका सामान नष्ट गरियो

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा बिहीबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा गलेश्वर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरी म्याद सकिएका सामान जफत गर्नुका साथै नष्ट गरिएको हो ।

अनुगमन टोलीले गलेश्वरको शुद्ध शाकाहारी भोजनालय, लक्ष्मी पुजा सामग्री पसल, ओजन किराना सप्लायर्स, कुमारी किराना पसल, लक्ष्मी खाजाघर, सुमित्रा किराना पसल, केलेन किराना पसल, कृतिका किराना स्टोर्स, आकृति किराना पसलसहित विभिन्न १२ वटा खुद्रा तथा किराना, होटल एवं रेष्टुरेण्ट, पुजा सामग्री तथा फलफुल पसलहरुको संयुक्त रुपमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश पसलहरुमा म्याद सकिएका दैनिक उपभोग्य सामग्रीहरु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । अनुगमन गरिएका पसलहरुबाट म्याद सकिएका चिसो पेयपदार्थ, मिठाई, बत्ती बाल्ने तेल, भुजा, कुरकुरे, आटालगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु जफत गरी नष्ट गरिएको कार्यालयका खाद्य निरीक्षण अधिकारी सहन्साकुमार मेहताले जानकारी दिनुभयो । अनुगमनमा केही पसल तथा रेष्टुरेण्टमा सरसफाइ गर्न र म्याद सकिएका सामग्रीलाई अलग्गै व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

अनुगमनको क्रममा गलेश्वरका विभिन्न पसलहरुबाट गरी कुल १६ हजार नौसय पाँच रुपैयाँ बराबरको म्याद सकिएका दैनिक उपभोग्य सामग्रीहरु जफत गरेर नष्ट गरिएको खाद्य निरीक्षण अधिकारी मेहताले बताउनुभयो । अनुगमनमा एउटा नामको पसल दर्ता गरेर अन्य प्रकृतिको सामानहरु बिक्री वितरण गरेको, मूल्यसुची नटाँसेको, लेबल नराखेका मिठाइलगायत सामानहरु बिक्री गरेको, पसल दर्ता नगरेको, प्याकेजिङ गरी सामान बेचेको, साईनबोर्ड नराखेको जस्ता कमीकमजोरीहरु भेटिएका छन् । पसल सञ्चालक तथा प्रोप्राइटरलाई अनुगमनको क्रममा भेटिएका सबै कमजोरीहरु सुधार गर्न समेत निर्देशन जारी गरिएको छ ।

अनुगमन कार्यक्रममा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख अमृतप्रसाद कँडेल, बेनी नगरपालिकाका वरिष्ठ प्रशासन सहायक प्रकाश आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमृत बास्कुनेलगायत सहभागी थिए । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा सञ्चालित पसलहरुको समय समयमा अनुगमन भैरहेको छ ।

चौथो पुस्ताको प्रविधि गूर्जामा फोर-जी विस्तार

म्याग्दीको धवलागिरी गाउँपालिका-१,गूर्जामा नेपाल टेलिकमले चौथो पुस्ताको प्रविधि फोर–जी विस्तार गरिएको छ । नेपाल टेलिकम म्याग्दीले फोरजी सेवा विस्तारसँगै ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज उपलब्ध गराउने छ ।

थ्रि जी सेवा प्रयोग गरिरहेका गुर्जाबासीलाई फोर जी सेवाले सहज हुने वडा अध्यक्ष भक छन्त्यालले बताउनुभयो । फोर जी सेवा विस्तार भएपछि सेवाग्राहीहरुले साविकको मूल्यमा दोब्बर डाटा पाउनेछन् । टेलिकमले दुर्गम बस्तीमा समेत फोर जी सेवा विस्तारले सर्वसाधारणलाई इन्टरनेट प्रयोगमा सहज भएको छ ।

मुस्ताङबाट एकैदिनमा पुगिन्छ तिलिचो ताल

विश्वकै सबैभन्दा अग्लो स्थानमा मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–९,मा पर्ने तिलिचो तालमा मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँबाट एक दिनमै पुग्न सकिन्छ । स्वदेशी तथा विदेशी पर्यटकको आर्कषणको केन्द्र मानिएको तिलिचोमा पुग्न मुस्ताङको भ्रप्सोसम्म सडक सञ्जाल पुगेपछि त्यहाँबाट पैदलयात्रा गरी तिलिचो तालसम्म पुग्न सहज भएको हो।

ठिनी गाउँबाट करिब १६ किलोमिटर सवारीसाधनको यात्रा गरी भ्रप्सोसम्म आइपुगिन्छ। त्यहाँबाट करिब ७ घण्टा पदैलयात्राबाट तिलिचो ताल पुगिने ठिनीका स्थानीय यूवा निरज थकालीले बताउनुभयो । पर्यटन ब्यवसायी थकाली भन्नुहुन्छ,‘‘अहिले तिलिचो ताल पुग्न मुस्ताङबाट निकै सहज छ, पदयात्रा गरिरहेकाहरू सवारीसाधन र पदैलमार्गबाट एकैदिनमा तिलिचो पुगेर फर्किएका धेरै हुनुहुन्छ ।’’

सवारीसाधनबाट माथिल्लो क्षेत्रसम्म पुगिने र पदैलयात्राका लागि समेत सहज भएपनि पहिलोपटक यात्रा गर्दा लेक लाग्ने समस्यालाई मध्यनजर गरी छोटो दुरीको प्याकेजमा १ दिने र लामो दुरीका लागि ३ दिनको तयारी गरी यात्रामा निस्किदा सहज हुने ठिनीका यूवा आसिम थकालीले बताउनुभयो।

तिलिचो तालको अवलोकन गरेपछि फर्किनेलाई केहीदिन अगाडी एक्याप जोमसोमले समुन्द्री सतहदेखि चार हजार ५४५ मिटर उचाइमा पर्यटक आश्रयस्थल बनाएको छ । हिमालको काखैमा बसेको अनुभुति हुने गरी बनाइएका आश्रयस्थलमा बसेर फर्किने पर्यटकहरूको संख्या पनि उत्तिकै छ ।

पदमार्गमा खाना पकाउन मिल्ने विभिन्न आश्रयस्थलको व्यवस्था गर्ने योजनासहित गाँउपालिका, प्रदेश, एक्यापबाट भइरहेको पूर्वाधार विस्तारको अभियानले समेत पर्यटकलाई थप सहज भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो,‘‘मुस्ताङबाटै तिलिचो जाने पर्यटकलाई कुनै समस्या हुन नदिने गरी पूर्वाधार बनाउन केन्द्रित भएका छौ, अहिलेको पर्यटकको आगमन लोभलाग्दो छ ।’’ तिलिचो तालमा जाने स्थानमा संकेत चिन्ह, दुरी सहित अन्य जानकारीमुलक बोर्डले समेत सहज भएको अध्यक्ष लालचनको भनाई छ ।

मुस्ताङबाट पछिल्लो समय धार्मिक तिर्थयात्रु समेत पुग्ने गरेका छन् । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्तीका कारण मुक्तिनाथ मन्दिरको दर्शनका लागि आएका धार्मिक पर्यटक जल लिनका लागि समेत पुग्ने गरेको पाइन्छ ।

तिलिचो जाने पदमार्गमा पर्ने ठिनी गाउँ, हिमचितुवाको गुफा, कृषकको दैनिकी, भेडाच्याङग्रा, चौरीको बथानका साथै ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, नमखु लेक, ह्यारझु भ्यू प्वाइन्ट, थकाली जातिको कला र संस्कृतिका साथै निलगिरी सहित हिमश्रृंखला लगायत प्राकृतिक सौन्दर्ययुक्त दृष्यावलोकन गर्न पाइन्छ । तिलिचोमा असोज देखि मंसिर महिना र फागुनदेखि जेठ महिनासम्म धेरै पर्यटक मुस्ताङ हुदै यात्रा गर्ने गरेका छन् ।

 

शुरु भयो यार्साको सिजन, हिमाली क्षेत्रमा यार्सा खोज्नेको लर्को

म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ ।  धवलागिरि गाउँपालिका– १ गुर्जा, वडा नं– ४ मुदी र रघुगंगा गाउँपालिका– ७, चिमखोलाका बासिन्दा यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी पाटनमा पुगेका छन् । गुर्जा, चुरेन र धौलागिरि हिमालको फेदीमा यार्सागुम्बा पाइने गर्छ ।

धवलागिरी गाउँपालिका– १, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जाका अधिकांश घरबाट यार्सा खोज्न हिमाली क्षेत्रमा गएकाे बताए। गुर्जामा गत वैशाखको २६ गतेदेखि यार्सा संकलन गर्न खुला गरिएको थियो । गुर्जामा रहेका २५० घरपरिवारमध्ये एक घरबाट कम्तीमा एकजना यार्सा खोज्न गएकाे वडाध्यक्ष छन्त्यालले बताए।

रघुगंगा गाउँपालिका– ७, चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले हिउँदेबाली भित्र्याउने र बर्खेबाली लगाउने तथा उपभोक्ता समितिमार्फत सञ्चालित विकास आयोजनाको काम सकेर स्थानीयवासीहरू यार्सागुम्बा खोज्न धौलागिरि हिमाल फेदीको कालीबराह बुकीमा गएका बताए ।

चिमखोलाबाट करिब ५० स्थानीयवासी यार्सागुम्बा खोज्न बुकीमा गएका छन् । वैशाखको अन्तिम सातादेखि जेठ महिनाको तेस्रो हप्तासम्मका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा लिएर यार्सा खोज्न बुकी गएका हुन् । अनुकूल मौसम हुँदा दैनिक एक सय वटासम्म यार्सागुम्बा संकलन हुने र एकजनाले दुई लाखभन्दा बढी आम्दानी गर्ने बताइएको छ ।  

यार्सा संकलकहरू बुकीमा ओडार र त्रिपालको छाप्रो हालेर वास बस्ने गरेका छन् । संकलन भएको यार्सा स्थानीयस्तरमा प्रतिगोटा दुई सयदेखि २५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गरेका गमान गर्बुजाले बताए।

यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ । यार्सा टिप्न जानेहरूले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् । यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी बनेको छ ।

यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केही वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरूमा मात्रा घटेको छ । चालू आर्थिक वर्षमा हालसम्म कसैले यार्सागुम्बा संकलनको अनुमति नलिएका डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए ।

यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । गत वर्ष आधा किलोग्राम यार्सागुम्बाका लागि छोडपुर्जी जारी भएको थियो । प्रतिकिलो यार्सागुम्बा निकासी गर्न १० हजार राजस्व तिर्नुपर्छ ।

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोहीबमोजिमको संकलन पुर्जी काट्ने चलन छ । सर्वसाधारणबाट व्यवसायीहरूले प्रतिकिलो पाँच लाखदेखि  ६ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो आठ लाखदेखि १० लाखसम्म रहेको जानकार बताउँछन् ।

सहकारीले दियो कृषकलाई दूध बोक्ने ठेकी

बेनी नगरपालिका-४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले दूग्ध कृषकहरुलाई दूध बोक्ने ठेकी(क्यान) वितरण गरेको छ । गएको चैत अन्तिम सम्म सम्म मात्रै एक लाख तीन हजार लिटर भन्दा बढी दूध बिक्री गरेको सहकारीले आफ्नो संस्थाका दूग्ध सदस्यहरुलाई सहकारीको संकलन केन्द्र सम्म दूध ल्याउनका लागि ठेकी प्रदान गरेको हो । सहकारीले यस पटक ५० जना कृषकलाई पाँच तथा १० लिटर क्षमताको दूधको ठेकी बितरण गरेको हो ।

संस्थाका अध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार सहकारीका ८० जना सदस्यहरुले दूध उत्पादन गर्ने र सहकारीको संकलन केन्द्रमा ल्याउने गरेका छन् । यस भन्दा अगाडी पनि कृषकको आवश्यकता अनुसार संस्थाले दूध बोक्ने ठेकी खरिद गरेर उपलब्ध गराएको र बाँकी रहेका ५० जना कृषकलाई यस पटक वितरण गरेको हो ।

सहकारीमा कुल चार सय ५० जना शेयर सदस्यबाट दुई करोड ५४ लाख शेयर पुँजी संकलन गरिएको सहकारीका व्यवस्थापक दिपक सापकोटाले बताउनुभयो । सहकारीको विभिन्न कोषमा डेढ करोड रहेको छ । संस्थाले नौ करोड ३० लाख बचत संकलन गरेको सहकारीले दुई सय ७० जनालाई नौ करोड ८० लाख ऋण लगानी गरेको छ ।

सहकारी संस्थाले कृषकको आवश्यकता अनुसार गाइ भैसी खरिद गर्नका लागि सहकारीबाट सहुलियत पूर्ण ऋणको समेत प्रबन्ध मिलाउने गरेको सहकारीका दूग्ध संकलन संयोजक कोपिलाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कृषकहरुले आफूले उत्पादन गर्ने दूध बिहान ५ बजे सहकारी संस्थाको कार्यालयमा रहेको संकलन केन्द्रमा ल्याए पछि सहकारीले संकलन गरेर बजारमा बिक्रीका लागि पठाउने गर्दछ ।

अहिले सहकारीले दैनिक रुपमा तीन सय लिटर भन्दा बढी दूध संकलन गर्ने गरेको संस्थाले जनाएको छ । हरेक दिन बिहान ८ देखि साढे ८ बजे सम्ममा दूध प्रयोग गर्ने ग्राहक सम्म दूध पुग्ने गरेको दूग्ध व्यवस्थापक विजुन चोखालले जानकारी दिनुभयो ।सहकारीले नै गाइभैसी खरिदका लागि ऋण व्यवस्थापन गर्ने, दूध खरिद गर्ने र आवश्यकता अुनसार भाँडाहरु पनि उपलब्ध गराउने गर्दा व्यवसाय गर्न सजिलो हुने गरेको दूग्ध कृषक नर्मता पौडेलले जानकारी दिनुभयो ।