Thursday, June 26, 2025
26.1 C
Beni
26.1 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 27

मंगलामा सूर्यमुखीको परीक्षण खेती सफल

म्याग्दीको मंगला गाउँपालिका–२,सिममा पहिलोपटक गरिएको सूर्यमुखीको खेती सफल भएको छ। स्थानीय धुब्र केसीले तेलहन बालीअन्तर्गत पर्ने सूर्यमुखीको बिउ लिएर २ रोपनीमा क्षेत्रफलमा गरेको खेतीले उत्पादन दिएपछि उत्साहित हुनुुहुन्छ। बेनी–बावियाचौर सडकखण्ड नजिक गरिएको सूर्यमुखी खेतीलाई आगामी बर्ष ५ रोपानीमा विस्तार गर्ने कृषक खत्रीले बताउनुभयो । ‘खेती गरेको पहिलोपटक नै सफल भए अब यसलाई विस्तार गर्छु’ कृषक केसीले भन्नुभयो ।

पछिल्लो समय सूर्यमुखीको फूल फुल्न थालेसँगै टिकटक बनाउने, फोटो खिच्ने र घुम्न आउने थालेपछि कृषक केसी उत्साहित हुनुहुन्छ ।सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएपछि कृषक खुुसी छन् । सूर्यमुखी फूलको खेती प्रमुख नगदे बालीका रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना रहेको कृषक केसीको भनाई छ ।

मंगला गाउँपालिकामा पहिलोपटक सूर्यमुखीको खेती गरिएकाले परीक्षण उत्पादन अनुसार आगामी दिनमा अनुदान सहित प्रोत्साहनका कार्यहरू गरिने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । सूर्यमुखीले कोलेस्ट्रोलको मात्रा घटाउने तथा भिटामिन, प्रोटिन, खनिज पाइने भएकाले म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा नियमित खेती गर्ने गरिन्छ।

 

बस्ती जोखिममा पार्ने हाइटेन्सन लाइन हटाउने राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले बस्तीसँगै जोडिएको हाइटेन्सन लाइनको विवरण उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रलाई निर्देशन दिनुभएको छ ।

बुधबार मंगलाघाटमा रहेको केन्द्रको कार्यालयमा निरीक्षण गदैै बस्ती, सडक, खेतबारीमा विद्युत पोलबाट हुने करेन्ट प्रवाहका कारण मानवीय तथा भौतिक क्षतीलाई न्यूनिकरण गर्न तत्काल कार्यालयबाट मन्त्रालयमा विवरण पठाउन निर्देशन दिनुभएको हो ।

गत बैशाख ५ गते बेनी नगरपालिका–१ रत्नेचौर बेलबोटमा नेपाल विद्यु्त प्राधिकरणको ३३ केभी प्रशारण लाइनबाट करेन्ट प्रवाह भई ज्यान गुमाएका १६ बर्षिया शिव थापाको क्षर्तीपर्ती सहित हाइटेन्सन लाइनको हटाउने बारेमा राज्यमन्त्री गर्बुजाले केन्द्र प्रमुख प्रमुख सत्यनारायण गामी समक्ष चासो राख्नुभएको थियो ।

परिवारलाई उचित क्षर्तीपुर्ती दिने ढिलाइ नगर्न र थप मानवीय क्षती रोक्ने कार्य अगाडी बढाउन र दिर्घकालिन रुपमा त्यहाँबाट हटाउने योजना पठाउन समेत केन्द्र प्रमुख गामीलाई निर्देशन दिनुभएको प्रमुख स्वकिय श्रीप्रसाद रोकाले बताउनुभयो ।

घरसँगै जोडिएको नाङ्गो विद्युत लाइनका कारण बेनपा वडा नं १ सारेमारे,बेलबोट र बागलुङ नगरपालिका–४,ढोडेनी बस्तीका सर्वसाधारण त्रसित छन् ।

त्यस्तै राज्यमन्त्री गर्बुजाले म्याग्दीमा रहेका विद्युतको ट्रासफर्मर पूरानो भएको, खुल्ला स्थानमा हुदाँ दुर्घटनाको जोखिमका बारेमा समेत गुनासो आएको भन्दै पुरानो र कम क्षमताका ट्रासफर्मर परिवर्तन गर्नुपर्ने विवरण समेत पठाउन निर्देशन दिनुभएको छ । यसैबीच राज्यमन्त्री गर्बुजाले जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयको समेत निरीक्षण गरी खानेपानी तथा सिचाईको अवस्था तथा थप योजनाका बारेमा कार्यालय प्रमुख झलकमोहन ओझासँग जानकारी लिनुभएको थियो ।

राज्यमन्त्री गर्बुजाले जिल्लामा हुने विकास निर्माण तथा आवश्यकताका बारेमा सिधै सम्पर्क गर्न, जनतालाई गुनासोसहित सेवा दिन जिल्लास्थित कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । नेपाल निजामति कर्मचारी यूनियन, नेपाल शिक्षक संघद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा समेत राज्यमन्त्री गर्बुजाले कर्मचारीको शिर उच्च हुने गरी कार्यसम्पादनमा सघाउने बताउनुभएको थियो ।

बेनी-कालिगण्डकी जलविद्युत यथास्थितिमा अघि नबढाउन अनुरोध

कालीगण्डकी नदीमा प्रस्तावित बेनी-कालिगण्डकी जलविद्युत आयोजनालाई यथास्थितीमा अघि नबढाउन सरकारलाई अनुरोध गर्ने सर्वदलीय तथा सर्वपक्षीय भेलाले निर्णय गरेको छ ।

बेनी नगरपालिकाले म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठूलो पहिरोमा बाँध राख्ने गरी ५०.५ मेगावाट क्षमताको विद्युत आयोजनाको प्रक्रिया रोक्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक संघसंस्था एकठाउँमा उभिएर संघीय सरकारको ध्यानार्कषण गराउने निर्णय भएको मेयर सुरत केसीले बताउनुभयो। ‘प्रस्तावित मोडालिटीमा काम हुनसक्दैन भन्ने निस्कर्षसहित थप प्रक्रिया अगाडी बढेमा कानुनी उपचार खोजिन्छ, यसमा जिल्लाका सरोकारावाला निकाय सहमत हुनुहुन्छ’ मेयर केसीले भन्नुभयो ।

भेलामा प्रतिनिधिसभा सदस्य गोविन्द पौडेल, रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्री, नेपाली कांग्रेसका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुबेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष छवि आचार्य, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष बिरबहादुर थापा सहित बेनपा वडा नं ७ र ८ का अध्यक्षद्धय रमेशकुमार श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, बेनीबजारबासीको उपस्थिती रहेको थियो ।

भेलामा बोल्ने अधिकांंसले कालिगण्डकी नदीबाट जलविद्युतको विरोध नभई अहिले प्रस्तावित क्षेत्रबाट निकाल्दा बेनीबजारलाई पर्ने असरलाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

भेलामा बोल्ने अधिकांसले पहिलो चरणको अनुरोधलाई अटेर गरेमा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । भेलाका बारेमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी तथा सञ्चालन प्रशासकीय अधिकृत यूवराज थापाले गर्नुभएको थियो । गत साता सम्पनन भएको १० औं जिल्लासभाले समेत अहिललाई आयोजनाको काम स्थगित गर्ने निर्णय पारित गरेको थियो ।

बेनी कालीगण्डकी जलविद्युत आयोजना गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनी नगरपालिका वडा नं ६ ठुलाखोला र जलजला गाउँपालिका वडा नं २ को सिमानामा बाँध निर्माण गरि तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला–४ मा पर्ने शेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकाल्ने तयारी छ । बि.स २०७७ सालमा उर्जा, जलस्रोत मन्त्रालयले प्रारम्भिक सर्वेक्षण सहितका कार्यका लागि ३९ लाख ९४ हजार बजेट बिनियोजन गरेको थियो ।

यसका बारेमा उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले समुदायलाई असर गर्ने आयोजना बनाउन नदिने प्रतिबद्धता जनाउनुभएको छ भने थप जानकारी मन्त्रालयमा पुगेपछि लिने बताउनुभयो ।

रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाईको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ। आठ अर्व २० करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

दरबाङका ६ वटा अवैध औषधि पसल बन्द

अवैधरुपमा सञ्चालन गरेको भन्दै म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङका ६ वटा औषधि पसललाई ’सिलबन्दी’ गरिएको छ । बुधबार मालिका गाउँपालिकाले गरेको अनुगमनमा बिना दर्ता सञ्चालनमा रहेको औषधि पसललाई बन्द गरिएको हो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की सहितको टोलीले गरेको अनुगमनको क्रममा औषधि पसल दर्ता नभएको, औषधिहरुको सुरक्षित भण्डारण र रकेर्ड नराखेको, नियमित बिक्रि वितरणका बारेमा जानकारी नराखेको देखिएको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।

‘बजारदेखि ग्रामिण क्षेत्रसम्म दर्ताबिना सञ्चालित पसल बन्द गछौं, अनुगमनलाई तिब्रता दिन्छौ’ स्वास्थ्य संयोजक कार्कीले भन्नुभयो । अनुगमनमा गाउँपालिका अध्यक्ष गर्बुजाले औषधि ब्यवस्था विभाग, गाउँपालिकामा दर्ता नभएका औषधि पसललाई कडाई गरिने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गर्बुजाले कानुनी प्रक्रिया पूरा नगर्ने,अनधिकृत व्यक्तिबाट औषधि बिक्री गर्ने, चिकित्सकले प्रेसक्रिप्सन (पुर्जा)मा बिरामीलाई औषधि दिने गरेको गुनासोका आधारमा अनुगमन सुरु गरिएको बताउनुभयो।

मालिका गाउँपालिकाले ७ वटै वडामा रहेका अवैध औषधि पसलको विवरण संकलन सुरू गर्ने जनाएको छ । म्याग्दीमा ८५ वटा औषधि पसल सञ्चालन रहेकामा औषधि ब्यवस्था विभागमा दर्ता भएका करिब १५ वटा औषधि पसल रहेका छन् । म्याग्दीमा विना दर्ता सञ्चालित औषधि पसलले बिरामीको उपचार समेत गर्ने गरेको पाइन्छ ।

दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ: महावीर पुन

नेपाली वैज्ञानिक एवं सामाजिक अभियान्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्कमाथि कटाक्ष गरेका छन्। विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउन लागिपरेका मन्त्री खड्काले ‘दिउँसै रात पार्न खोजेको’ भन्दै उनले कटाक्ष गरेका हुन्।

सामाजिक संजालमा पुनले ऊर्जमन्त्री खड्कालाई विवेकहीन र लोभीपापीको संज्ञासमेत दिएका छन्। उनले भनेका छन्, ‘अहिलेको ऊर्जामन्त्री जस्तो विवेकहीन र लोभीपापी व्यक्तिले अहिलेसम्म भित्रभित्रै कति भ्रष्टाचार गरे होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ। राम्रो काम गर्ने व्यक्तिलाई हटाउन मरिमेटेर लाग्ने मन्त्रीलाई भोट दिने जनताहरूले एकपटक सोच्नुहोस्। अहिलेको जमानामा दिउँसै रात पार्न खोजेका छन् गाँठे।’

देशको अर्थतन्त्रमा विद्युत् प्राधिकरणको ठूलो योगदान रहेको उल्लेख गर्दै पुनले अघि लेखेका छन्, ‘…अर्थतन्त्र ध्वस्त भएपछि देश मर्छ र खत्तम हुन्छ। २१औं शताब्दीमा विद्युत भनेको कुनै पनि देश निर्माण गर्ने र देश बचाउने एउटै मात्र शक्ति हो। विद्युत् भएन भने देश कस्तो होला? भनेर आँखा चिम्म गरेर एक मिनेटसम्म कल्पना गर्नुहोस् त। मर्न लागेको नेपाल विद्युत् प्राधिकरण अहिले बचेको छ।’पुनले सके जनपक्षीय काम गर्न नभए गलत नगर्न सुझाएका छन्। अहिलेसम्म गरेको गल्तीमा माफी माग्नसमेत उनले भनेका छन्।

मालिकाधुरी: जंगलमै बास बसेर मन्दिर बनाउँदै आमाछोरी

अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास। मालिका,रघुगंगा गाउँपालिकाको सीमानामा अवस्थित मालिकाधुरीेमा रघुगंगा गापा-६,पाखापानीकी थममायाँ पाईजा मन्दिर बनाउन जंगलमै बास बसिरहेकी छन् ।

म्याग्दी जिल्लाकै प्रख्यात धार्मिकस्थल मालिकाधुरीमा विहानैदेखि अबेरसम्म मन्दिर निर्माणमै ब्यस्त हुन्छिन् । हिउँ कुल्चिदै मालिकाधुरीमा उक्लिएकी रेशु पाईजाले पनि जंगलमै बास बसेर मन्दिर बनाउन लागेको ५ महिना पुग्यो ।

परिवारको एकल लगानीमा स्थानीयलाई नै रोजगारी दिएर आमाछोरीले मालिका, कालिका,जालपा, शिव मन्दिरको काम अन्तिम चरणमा पुगेको छ । मालिकाधुरीमा दिनरात नभनी मन्दिर बनाउन खटिएकी थममायाँलाई अमेरिकामा रहेका श्रीमान मोतिबहादुर पाईजा (भक्त)ले साथ दिएका छन् ।

मन्दिर बनाउन अहिलेसम्म २२ लाख खर्च भएको र अब ३ लाख खर्च हुने अनुमान गरिएको थममायाँको भनाई छ । ‘मालिकाधुरीको जंगलमा रात वितेको धेरै भयो, अब हाम्रो परिवारको सपना पूरा हुदैछ’ थममायाँले भनिन् ।

त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि मालिकाधुरी पुग्ने गरेकोमा अहिले मन्दिर तथा आसपासका क्षेत्रमा भक्तजनलाई सहज हुने गरी काम गरिरहेको बताइन् । मन्दिर नजिकै चट्टानमा गणेशको मन्दिर समेत मर्मत गरिएको छ । घरायसी काम तथा रासनपानी ल्याउन आमाछोरी आलोपालो गाउँ जान्छन् ।

बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीे जाडोयाम, मुसलधारे बर्सात सहितको चट्याङ, बन्यजन्तुको समेत प्रवाह नगरी आमाछोरीले मन्दिर बनाउन थालेपछि मन्दिरमा पुग्ने भक्तजनहरू समेत दंग छन् । ‘मन्दिर बनाउँदै गर्दा धेरै भक्तजनले खुसी मान्नुभएको छ, उहाँहरूको मनोकामना पूरा होस् भन्दै प्रार्थना गछौं’ छोरी रेशु पाईजाले भनिन् ।

उनले आमाबुबाको मन्दिर बनाउने योजना बनाएपछि साथ दिएको बताइन् । उनले दैनिकजसो मन्दिरमा भइरहेको काम अमेरिकामा बुबालाई भिडियो र फोटो पठाउँछिन् । मन्दिरसँगै आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार बनाउन आगामी दिनमा पनि श्रमदान गर्ने बताइन्। मालिकाधुरीम नयाँ मन्दिर बनेपछि अहिले चिटिक्क देखिएको छ । मन्दिर बनाउन जंगलमा बसेर आमाछोरीले गरेको काम निकै प्रशंसनीय रहेको रघुगंगा गाउँपालिका–६,का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

‘उहाँहरूको लगानी र मेहनतको जति नै प्रशंंसा गरेपनि कमी हुन्छ, धार्मिक क्षेत्रका लागि धेरै गर्नुभएको छ’ गाउँपालिकाका प्रबक्ता समेत रहेका शेरपुञ्जाले भने । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा बर्षेनी आउने भक्तजनलाई सडक सञ्जाल, सत्तल सहितको सुविधाले सहज भएको छ ।

मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो । कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ । मन्दिरबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।

मालिकाधुरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाका अनुसार चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीकामा पूजाआजा हुन्छ। एकदशक अगाडीसम्म पूजाआजाका लागि पुग्ने भक्तजन ओढार र खुल्ला आकाशमा रात विताउने गरेकोमा अहिले सत्तल,खानेपानी र शौचालयको सुविधाले सहज भएको छ ।

कम्तिमा तिन पटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनको विश्वास रहेको छ। विगत लामो समय अगाडीदेखि पुजा गरिँदै आएको भएतापनि वि.स. २०२५ मात्रै मालिकामा सामान्य मन्दिर बनाइएको थियो । मालिका र रघुगंगा गाउँपालिकाले एकसाथ मालिकाधुरीलाई लक्षित गरी सडक सञ्जाल विस्तार गरिरहेको छ ।

रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै पनि मालिका पुग्न सकिन्छ । बेनी–कुहुँ– पूर्णगाउँ, बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुदै सडक पुगेपनि सबै क्षेत्रबाट करिब डेढघण्टाको यात्रा गरेपछि मालिका पुगिन्छ ।

गाउँ–सहर जोड्न ‘गाउँ पर्यटन मेला’ गरिँदै

गाउँ र सहरको पर्यटनलाई जोड्नेगरि पोखरामा गाउँ पर्यटन मेला आयोजना हुने भएको छ। पोखरामा तेश्रोपटक हुन थालेको यो मेलाले गाउँमा होमस्टे संचालन गरिरहेका पर्यटन व्यावसायीलाई सहरीया पाहुनासम्म पहुँच पुर्याउन सघाउने व्यावसायीको अपेक्षा छ।

जेठ ९ र १० गते हुने मेलामा गण्डकी प्रदेशका विभिन्न नौवटा जिल्लाका होमस्टे संचालक पोखरामा भेला हुने आयोजक पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने बताउँछन। उनका अनुसार प्रदेशभित्रका म्याग्दी र गोरखाबाहेकका जिल्लाका होमस्टे व्यावसायी पोखराको यो मेलामा सहभागि हुन आउनेछन्। मेलाका लागि गाउँ पर्यटन प्रर्वद्धन मञ्ज (भिटोफ) गण्डकी प्रदेशले सहकार्य गरेको छ।

‘यो मार्टले गाउँगाउँमा रहेका व्यावसायीलाई बजारसम्म जोड्ने काम गर्ने प्रयास गर्नेछ,’ लामिछानेले भने, ‘केही समयदेखि सुस्ताएको होमस्टेलाई उठाउनका लागि मेलाले सघाउनेछ।’ लामिछानेका अनुसार यसअघि पनि यस्तै मेला २०७३ र २०७६ मा पोखरामा आयोजना गरिएको थियो। लामिछानेका अनुसार पोखरा भेगका कतिपय होमस्टेमा अहिले पर्याप्त पाहुना पुग्ने गरेका छन भने कतिपयले पाहुना नपाएको अवस्था छ। यो मेलाले पाहुना नपाएको होमस्टेसम्म पाहुनाको पहुँच पुर्याउन सहयोग पुग्ने उनले बताए।

‘होमस्टेका पाहुना सहरमा पनि छन्। पोखरामा विदेशी पाहुना पनि भेटिन्छन। त्यस्तै पोखरेली बजारबासीलाई पनि होमस्टेसम्म तान्नका लागि यो मेलाले पुलको काम गर्नेछ,’ लामिछानेले भने, ‘होमस्टेले गाउँको पर्यटन क्षेत्रलाई उकासेको छ। गाउँमा रोजगारी सिर्जना गर्न पनि होमस्टेले सघाएको छ।’

गाउँबाट विदेश पलायन भएका युवालाई आयका अवसर सिर्जना गरि गाउँ फर्काउने माध्यम होमस्टे बनेको पनि लामिछानेले बताए। ‘विदेश पलायन भएका युवालाई गाउँ फर्काउने माध्यम होमस्टे हो। गाउँमै आयआर्जनको बाटो खुलाउने हो भने युवा विदेश जानबाट रोकिनेछन,’ उनले भने, ‘पर्यटकको बसाई अवधि र उनीहरुको खर्च बढाउन पनि होमस्टेको योगदान रहेको छ।’ महोत्सवले सामुदायिक होमस्टे र सेवाको बारेमा जानकारी दिँदै बजारीकरण गर्न पनि सघाउने उद्देश्य लिएको छ। गाउँमा रहेका पर्यटन व्यावसायी र संभावित ग्राहकबीच सम्पर्क स्थापना गर्न पनि यसले सघाउनेछ। गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने पनि उनले बताए।

भिटोफ गण्डकी प्रदेश अध्यक्ष सोभा सापकोटाका अनुसार यो मेलाले पर्यटकीय गाउँको प्रर्वद्धनमा सघाउ पुग्नेछ। त्यस्तै मेलाका सहभागिले आफुले संचालन गरेको होमस्टेको प्याकेजबारे जानकारी दिन सक्नेछन। गाउँमा उत्पादन हुने सामाग्री र सेवाको प्रर्वद्धन तथा सामुदायिक होमस्टेको व्यावसायिकता र बजार पहुँचको बिस्तारमा योगदान पुग्नेछ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा होमस्टेमा मात्र ३० करोड रुपैयाँ अनुदान दिएको थियो। त्यसपछि पनि होमस्टेमा अनुदान निरन्तर रहँदा पाँचवर्ष अवधिमा भण्डै ५ सय ५० होमस्टेलाई करिब ५२ करोड रुपैयाँ अनुदान बाँडिएको थियो। अनुदान पाएपनि अधिक होमस्टेले गति लिन सकेका छैनन्। कतिपय होमस्टे त संचालन हुनै छाडेका छन्। सरकारी अनुदान पाएका होमस्टेले पनि गति लिन नसकेको र कतिपयले नवीकरण गर्न समेत छाडेका छन्। अनुदान पाएका होमस्टेको अवस्था के छ भन्ने बारेमा पनि अहिलेसम्म कुनै तथ्यांक प्रदेशको पर्यटन मन्त्रालयसँग छैन।  nagariknews.com

बालमन्दिरमा बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावकलाई सचेतना

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुलमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयमा मङ्गलवार ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ८ नम्बर वडाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।
विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह–२०८२ को अवसर पारेर बालबालिकाहरुको स्वास्थ्यमा पोषणको अवस्था पत्ता लगाएर उनीहरुको अभिभावकहरुलाई सचेतना गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्था मिलन म्याग्दीले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले विद्यालय तहमा अध्ययनरत बालबालिकाहरुको पोषण अवस्था सुधार्न वडामार्फत पहल थालिएको बताउनुभयो ।
वडाध्यक्ष कर्माचार्यले बालबालिकाहरुको स्वास्थ्य राम्रो बनाउन पोषणयुक्त खाना खुवाउनुपर्ने भन्दै त्यसका लागि अभिभावकहरुले विशेष रुपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आजका स–साना बालबालिका भोलि गएर राष्ट्रको दक्ष जनशक्ति बन्ने भएकाले पोषणयुक्त खानेकुरा तथा गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो ।
बालमन्दिर माविका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले बालबालिकाहरुको स्वास्थ्यसँग सम्बन्धित पोषण सम्बन्धी कार्यक्रम अत्यन्त राम्रो रहेको भन्दै विद्यालयले नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो ।
विद्यालयका प्रअ केसीको अध्यक्षता र मिलन म्याग्दीका सामाजिक सुपरिवेक्षक छवि पूर्जाको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा मिलन संस्थाका अध्यक्ष दिलमाया बिटालुले कार्यक्रममा स्वागतसँगै उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
बालबालिकाको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रमको मिलन म्याग्दीका अध्यक्ष बिटालु र पोषण विज्ञ बालकुमारी पुनले बालबालिकाहरुको स्वास्थ्यमा पोषणको लेखाजोखा गर्नुका साथै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य जानकी विश्वकर्मा, वडानम्बर ८ का वडा सदस्य नरु थजाली, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा पोषणको परिचय, प्रकार, महत्व, पोषणको कमीले स्वास्थ्यमा पार्ने असर, समाधानका उपायहरु, दिवा खाजा पोसिलो बनाउने तरिकालगायत विषयमा सहजीकरण गरिएको थियो । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण अनुसार पोषणको कमीबाट २५ प्रतिशत पुड्कोपना, १९ प्रतिशत कम तौल र ११ प्रतिशत बालबालिकाहरुमा ख्याउटेपन रहेको पाइएको छ ।

राज्यमन्त्री गर्बुजाद्धारा जनभेटघाट, विकास योजना अनुगमन

नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले मंगलबार जभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ ।

अन्नपपूर्ण गाउँपालिका, वडा नं.३ दाना, वडा नं.४ नारच्याङको गाडपारमा आयोजना गरिएको बधाई तथा शुभकामना र सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री गर्बुजाले जनताको आवश्यकताका आधार योजना बनाउन र जनताको गुनासो र सुझावहरु संकलन गर्न आफु जिल्लाको विभिन्न बस्तीहरुमा आएको बताउनुभयो ।

दानामा बोल्दै मन्त्री गर्बुजाले दानाका स्थानीयले राखेका वस्ती संरक्षण, खानेपानी र सडक निर्माण जस्ता योजनाहरुलाई अव आउने आर्थिक बर्षमा तत्काल आवश्यक भएका योजनाहरुमा बजेट आउने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाको सभाहल पोखरेबगरमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका समेत रहनुभएका मन्त्री गर्बुजाले पर्यटनको विकासमा आफुले सक्ने सहयोग गर्ने बताउनुभयो ।

‘उहाँले वडा नं. ५ र पालिका जोड्ने सडक स्तोरोन्ती, घोडेपानी जाने सडकमा भएको सास्ती संगै पालिका भित्रका बस्ती संरक्षण र खानेपानी, अहिले सम्म विद्युत नपुगेको बस्तीहरुमा विद्युत पुराउने गरी बजेट व्यवस्थापन गर्नेछु ।’ मन्त्री गर्बुजाले भन्नुभयो ‘यस पालिका धेरै जलविद्युतका आयोजनाहरु छन् ती आयोजनाहरुले स्थानीय प्रभावित क्षेत्रमा गर्नुपर्ने कामहरु नगरेको गुनासो आएको बताउदै ति समस्याको बारेमा तत्काल समाधन हुने गरी काम गर्ने बताउनुभयो ।’

यसैबिच रघुगंगाको गाउँपालिका–३ राहुघाटको अम्वाङमा बन्न लागेको डाडाखेत सवस्टेशनको अनुगमन गर्दै मन्त्री गर्बुजाले सव स्टेशन निर्माण कार्य समयमा नै सक्क निर्देशन दिनुभएको छ। उहाँले आयोजना प्रमुख रोशन अग्रवाललाई केही समस्या भए आफुले सहजिकरण गर्ने बताउदै सव स्टेशन निर्माणलाई समयमा नै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । बेनी बजार संरक्षण आयोजना अनुगमन समेत गर्नुभएका गर्बुजाले आगामी बर्ष समेत संरक्षणका योजनाले निरन्तरता पाउने बताउनुभयो।

यसैगरी उहाँले जिल्लाभित्र निर्माणाधिन जलविद्युत आयोजना बनेपछि जिल्ला र देशलाई ठुलो आर्थिक सहयोग पुग्ने बताउँदै समयमै सम्पन्न गर्नका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री गर्बुजाले नदी कटान र बाढीका कारण हुने क्षती रोक्न नदी कटानको उच्च जोखिममा रहेका दरबाङ, तातोपानी बजार, बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रणका आयोजना निर्माण भइरहेको र आगामी आर्थिक वर्षमा थप आयोजना संचालन हुने बताउनुभयो ।

राज्यमन्त्री संगै मन्त्रालय अन्तर्गत सिंचाइ विभागका डिजी सन्तोष कैनी, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख विदुर श्रेष्ठ लगायतले सहभागि हुनुहुन्थ्यो । संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, कांग्रेस म्यादीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी लगायत स्थानीय नेता तथा कार्यकर्ता लगायतले विभिन्न स्थानमा भएको कार्यक्रममा आफ्नो आधारणा राखेका थिए ।

बृत्तचित्रमा करबाकेलीका चामबहादुर

म्याग्दीको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चामबहादुर पुनको जीवनीमाथि पत्रकार अमृत भादगाउँलेले बनाएको वृत्तचित्र मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ। करबाकेली क्षेत्रको धार्मिक, सामाजिक एवम् पर्यटन विकासमा समर्पित लाहुरेको कथामा आधारित वृत्तचित्र ‘चामबहादुर पुन, एन एक्जेप्लरी एक्स गोर्खा ब्रिटिस सोल्जर’को मङ्गलबार काठमाडौंमा प्रदर्शन गरियो।

समाजसेवी पुनले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने करबाकेली क्षेत्रको विकासमा दुई दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन्। त्यहाँको काफलडाँडामा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर आदि बनाइएका छन्। त्यति मात्र होइन, पुनहिलदेखि करबाकेली थान भएर बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«क’का रुपमा ब्रान्डिङ गरिएको छ ।

पुन समुदायको पहिचानसँग जोडिएका यी सबै कामको नेतृत्व चामबहादुरले गरेका हुन्। उनको अगुवाईमा स्थानीयको सहयोगमा सबै काम भएका हुन्।

सामाजिक अभियन्ता पुनले जीवनका उर्बर १५ वर्ष बेलायती सेनामा विताए। त्यसपछि सेकेण्ड करियरका रुपमा १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे। ब्रुनाईबाट फर्केपछि उनी जन्मथलो करबाकेली क्षेत्रलाई उज्यालो बनाउने अभियानमा खटिएका छन्।

यी सबै काम वृत्तचित्रमा दृश्याङ्कन गरिएको छ। राधा पुनको निर्माण, भवानी शिलाकारको सिनेम्याटोग्राफी, जी पुनको संगीत र सुदीप श्रेष्ठको सम्पादन रहेको वृत्तचित्र १७ मिनेट लामो छ।

मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यमा भएको वृत्तचित्र प्रदर्शन कार्यक्रममा अन्सारी सहित निर्देशक भादगाउँले, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, चलचित्र निर्देशक रवी सायमी, सामाजिक अभियन्ता पुन र लेखक शेखर खरेलले सम्बोधन गरेका थिए। प्रेरणादायी वृत्तचित्रले जन्मलोलाई माया गर्न सिकाउने उनीहरूले बताए।