वैदेशिक रोजगारीका लागि रोमानिया पुग्नुभएका एक म्याग्देलीको मृत्यु भएको छ । मंगला गाउँपालिका वडा नं ५ धाराका ३३ बर्षिय विवश विश्वकर्माको गत असार ५ गते साइकलमा यात्रा गर्ने क्रममा दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको हो । बि.स २०७९ फागुन १० गते रोमानीय पुग्नुभएका विश्वकर्माको स्थानीय अस्पतालमा उपचारपछि कोठामा आराम गरेको अवस्थामा मृत्यु भएको त्यहाँबाट रुबिन तामाङले जानकारी दिनुभएको छ ।
मृतक विश्वकर्माको शब नेपाल पठाउन आर्थिक समस्या भएको छ । कम्पनीबाट अलग भएर बस्नुभएका विश्वकर्माका शब नेपाल ल्याउन कानुनी प्रक्रिया सहित आर्थिक संकलन गरिदिन अनुरोध गरेका छन् । मृतकका घरमा श्रीमति, एक छोरा एक छोरी छन् । मृतकका परिवारले स्वदेशमै ल्याएर अन्त्येष्टी गर्ने भन्दै म्याग्दी प्रवासी नेपाली संघ मोना तथा अन्य नेपाली संघसंस्थालाई अनुरोध गरेका छन् । रोमानीयामा रहेका म्याग्देलीले समेत विभिन्न माध्यमबाट आर्थिक संकलन गरी शब घर पठाउने पहल भइरहेको जनाएका छन् ।
प्रतिनिधिसभा बैठक
काठमाडौँ, ९ असारः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः रत्न श्रेष्ठ÷रासस
प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको बैठक बहिष्कार गरेका छन् ।
केही दिनदेखि राप्रपाले बैठक बहिष्कार र रास्वपाले बेल घेराउ गर्दै आएकामा आज दुवै दलले बैठक बहिष्कार गरेका हुन् । बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाउनुभयो ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् ।
प्रतिनिधिसभाकाे बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने क्रम चलिरहेको छ । संसद्को चौथो र पाँचौं ठूलो दलको विरोध र बहिष्कारकै बीच सभामुख देवराज घिमिरेले बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभएको हो ।
विद्युत सेवा चुहावट हुँदा छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा दश खच्चर मरेका छन् । जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा सो करेन्ट लागेको थियो ।
प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चड धनी छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गरे। उनले भने, “पानी परिरहेका बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको रहेछ हामीलाइ थाहै भएन, एक्कासी १० खच्चर करेन्ट लागेर मरे, मलाई पनि करेन्ट लागेको थियो चप्पल लगाएको हुनाले सामान्य झड्कामात्र लाग्यो म बचेँ ।”
उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजारभन्दा बढी पर्दछ । उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरे । छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चार, वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन् । गत शुक्रबार मात्र पनि वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो ।
नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए। केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीबतासका कारण विद्युत सेवा प्रभावित हुँदा समस्या भएको र नियमानुसार पाउने क्षतिपूर्तिका लागि आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिए।
बागलुङको बरेङ गाउँपालिकाले स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि दश लाख विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिलिपकुमार पुनले डल्ले खुर्सानी र बेसारको प्रशोधनका लागि बजेट बिनियोजन गरेको जानकारी गराए ।
गाउँपालिकाले स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले डल्ले खुर्सानी र बेसारलाई प्राथमिकतामा राखेको हो । यहाँका सबै वडामा दुवै मसलेबाली उत्पादन हुन्छ । बजारमा माग र मुल्य दुवै राम्रो रहेको डल्ले खुसार्नी र बेसारमा बरेङले ध्यान दिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए ।
गाउँपालिकाले “बरेङको सान, आन्तरिक पर्यटन” को नारासहित गाउँपालिकाभित्र रहेका पर्यटकीय सम्भावनाका स्थानहरूमा पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवर्धन कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । कृषिमा प्रविधि बरेङमा समृद्धिको नारालाई सार्थक तुल्याउन साझेदार निकायसँगको साझेदारीमा सञ्चालित “साना किसानसँग बरेङ” कार्यक्रमका लागि ८० लाख बजेट छ । “घरमै गरौँ च्याउ खेती आत्मनिर्भर बनौँ अबदेखि“, “आफ्नै बारी, आफ्नै तरकारी, आत्मनिर्भर बरेङ हाम्रो जिम्मेवारी” जस्ता कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३८ करोड ९० लाख ४० हजार ८ सय २८ रुपैयाँको बजेट ल्याएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले शिक्षकहरूको आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा ३२ दिनको ढिलाइ भएको बताए ।
गत वर्ष २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरू काठमाडौँमा सडक आन्दोलन गरेका थिए । जसका कारण उत्तर पुस्तिका समयमा परीक्षण हुन सकेको थिएन । ढिला गरी उत्तर पुस्तिका परीक्षा सुरु भएको थियो ।
उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको कम सकिएर अहिले अङ्क इन्ट्री गर्ने काम भइरहेको भट्टराईले बताए । ‘सम्परीक्षण भन्दा पछाडिको इन्ट्री लगायतका काम भइसहेको छ । त्यो प्रोसेसिङको लागि ३५ दिन लाग्ने हो । परीक्षा नियन्त्रण कार्यालयलाई लाग्ने ३५ दिन हो । शिक्षकहरूले ३२ दिन ढिलाइ गर्नुभयो,’ भट्टराईले भने ।
यो ढिलाइलाई कम गर्न बोर्डले रातदिन काम गरिरहेको उनको भनाइ छ । ‘हामीले ३२ दिनको ढिलाइलाई १० देखि १६ दिनमा झार्ने प्रयास गरिरहेका छौँ । यसका लागि हामीले डबल सिफ्टमा काम गरिरहेका छौँ,’ डाक्टर भट्टराईले भने ।
बोर्डले असारको तेस्रो वा चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ । यद्यपि, तोकिएको मिति भने अझै निश्चित भएको छैन । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशनमा भएको ढिलाइले कक्षा ११ को भर्ना प्रक्रिया पछि धकेलिने भएको छ ।
बोर्डले वार्षिक कार्य तालिका अनुसार २०८२ असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने र असार २२ गतेसम्म पुनर्योग गर्ने तथा साउन १२ गते पुनर्योगको नतिजा प्रकाशन गर्ने रहेको थियो । साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गर्ने र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने कार्यतालिका थियो । तर, नतिजा प्रकाशनमा ढिलाइ हुने भएपछि अन्य कार्यक्रममा समेत ढिलाइ हुने देखिएको हो ।
नेकपा माओवादीका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमकाे किताब च्यातिदिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका उनले रोष्ट्रमबाटै पुस्तक च्यातिदिएका हुन् ।
उनी बजेट मार्फत आफ्नो जिल्लामा अन्याय भएको भन्दै रुष्ट बने । ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु ।’
जुग्जालीले बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर पुस्तक च्यातेको बताए । ‘यो बजेटमा सत्ताको पनि उकुसमुकुस छ । सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट मैले बहिष्कार गर्न चाहन्छु । पुस्तक च्यात्न चाहन्छु,’ उनले भने । गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरू पनि रुष्ट छन् ।
आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका-७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले टिकोटको हरिमूल कृषि तथा पशुपक्षी कृषक समूह मार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले २० जना आबद्ध समूहमार्फत १४० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएको बताए।
“समूहमा आबद्ध नभएका कृषकलाई पनि समेटेर बन्दा, काउली, काँक्रो, करेला लगायत तरकारी खेती भएको छ,” उनले भने, “पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधि सहयोग गरेका छौं।”
गाउँपालिकाको ११ लाख ९९ हजार ३२२ रूपैयाँ र कृषकको आठ लाख ५४ हजार ८९८ गरी कुल २० लाख ५४ हजार २२१ रूपैयाँको लागतमा यस वर्ष विभिन्न कार्यक्रम भएको छ। कृषकले सिँचाइ सामग्रीमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशत अनुदान पाएका छन्।
आठ प्लाष्टिक घर निर्माण, चार मिनिटेलर हलो, पाँच तराजु, एक हजार लिटर क्षमताको १३ सिँचाइ ड्रम, दुई हजार ४०० मिटर पाइप, २५ वटा पाँच लिटर क्षमताको हजारी, १६ लिटर क्षमताको १३ वटा स्प्रेयर, २०० क्रेट, नौ थोपा सिँचाइ सेट, १४० थान स्पिङ्कल, ९८ किलोग्राम लुज पाइप र १०० सिड ट्रे वितरण गरिएको छ।
एक लाख ३५ हजारको बीउ, एक लाखको सुष्म तत्त्व र जैविक मल, एक लाखको विषादी तथा ३० हजार रूपैयाँ बराबरको २०० किलोग्राम पिटमस वितरण गर्नाका साथै तीनदिने तरकारीखेती सम्बन्धी तालिम सञ्चालन भएको थियो।
उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारी खेती राम्रो हुने भएकाले पकेट क्षेत्र स्थापना गरिएको हरिमूल कृषि समूहका अध्यक्ष थमबहादुर पुर्जाले बताए। टिकोटका कृषकले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङ लगायतका ठाउँमा बिक्री हुने गर्छ।
दुई वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा छ लाख रूपैयाँ बजेट प्रस्ताव गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए।
रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताए । अबको १५ दिनमा परीक्षण सकिने उनको भनाई छ ।
रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्र्याउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए ।
विद्युतगृहबाट सुरुङको आउटलेटको उचाइ तीन सय ६० मिटर छ । विसं २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो । चार ठाउँबाट सुरुङ खनिएको थियो ।
माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युतगृहबाट रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।
प्रसारण लाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ । चिमखोला–मङ्गले–राहुघाटसहित तुदी पावर नै प्रवर्द्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत रु १४ अर्ब रहेको छ ।
अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला–मङ्गले–राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलव तीन मेगावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र जिल्लाकै ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक खण्ड अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरो विकल्पमा वैकल्पिक बेलीब्रिज बन्ने निश्चित भएको छ । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को सक्रिय पहलमा संघीय भौतिक पुर्वाधार तथा यातायात ा मन्त्रालयले बेलीब्रिज उपलब्ध गराउने सहमती जनाएपछि पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलीब्रिज बन्ने निश्चित भएको हो ।
बेनी नगरपालिका–४, र मंगला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत पहिरोका कारण दुई दशक भन्दा लामो समयदेखि म्याग्दीबासीले सास्ती व्यहोर्दै आएका छन् ।सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवतजावत बन्द हुने र ढुङ्गा, माटोसहितको पहिरो खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ ।
‘लामो समयको निरन्तर प्रयासपछि म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख)को सिमानामा पर्ने फापरखेत पहिरो विकल्पमा म्याग्दी नदीमाथि बेलिब्रिज संगै वैकल्पिक सडक बन्ने निश्चित भएको छ ,’ राज्यमन्त्री गर्बुजाले भन्नुभयो ,‘बेलीब्रिज र सडक बनेपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र जिल्लाकै ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक खण्डमा पर्नेउक्त क्षेत्रमा पहिरोको कारण वर्षौदेखि म्याग्दी संगै पश्चिम बागलुङबासीले खेप्दै आएको सास्ती हट्नेछ ।’
म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित राज्यमन्त्री गर्बुजाले उक्त पहिरो क्षेत्रमा दिर्घकालिन समस्या समाधानका लागि पहल जारी रहेको जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले पनि उक्त पहिरोको विकल्पमा वैकल्पिक सडक निर्माण गर्नका लागि आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ । साउन महिनाको पहिलो सातादेखि नै बेलीब्रिज र सडक निर्माण सुचारु गर्नेगरी समन्वय भइरहेको राज्यमन्त्री गर्बुजाको सचिवालयले जनाएको छ ।
राज्यमन्त्री गर्बुजाले बेलीब्रिजका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । ‘बेलीब्रिज उपलब्ध गराउन विशेष सहयोग गर्नुहुने नेपाल सरकारका गृहमन्त्री रमेश लेखक ,नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ,भौतिक सचिवकेशव कुमार शर्मा ,गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे ,प्रदेश सभाका सदस्य ,स्थानीयतहका जनप्रतिनिधि लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
गत वर्ष उहाँकै नेतृत्वमा मंगला गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, सडक डिभिजन बागलुङका प्राविधिक र स्थानीयबासी लगायतको टोलीद्धारा प्रस्तावित स्थानको प्रारम्भिक अध्ययन गरिएको थियो । गाउँपालिका उपाध्यक्ष क्षत्रीले ,मंगला–२, बाबियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षत्री लगायत स्थानीले मंगला गाउँपालिका–३, पखेर र वडानम्बर २ स्थित सिमलचौर पुछार जोड्ने सडक निर्माण तथा म्याग्दी नदिमाथि बेलीब्रिज बनाएर सडक सञ्चालन गर्न प्रस्ताव गर्नुभएको थियो ।
बेनीमा आइतबारदेखि रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा आठ जिल्ला सहभागी छन् ।
आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता रहेको प्रतियोगिता लिग प्रणालीमा खेलाइने म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो । असार ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बिजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख तथा तेस्रो हुने टिमले नगद रु. ५० हजार तथा चौथो हुने टिमले नगद रु. २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बाँनियाले बताउनुभयो ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । हरेक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक सहित (कुल १४ जना)लाई आयोजनाले आवास, खाना र खाजाको व्यवस्था मिलाएका छन् ।
महिला भलिबलका राष्ट्रिय टिम क्याप्टेन अरुणा शाही लगायत थुप्रै भलिबल खेलाडीहरुको जन्मथलो म्याग्दीमा भएको प्रतियोगिताले म्याग्दीमा खेलकुदको सम्भावनालाई उजागर गराउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।
म्याग्दी, तनहुँ, स्याङ्जा र बागलुङ बिजयी प्रतियोगिताको पहिलो दिन चार वटा खेल सकिएको छ । आयोजक म्याग्दी जिल्ला खेलकुद विकास समितिले कास्कीलाई सोझो तीन सेट आफ्नो पक्षमा पार्दै बिजयी सुरुवात गरेको छ । स्याङ्जाले नवलपुर लाई पनि सोझो तीन सेटमा पराजित ग¥यो । तनहुँले मुस्ताङलाई एकका विरुद्ध तीन सेटले र बागलुङले पर्वतलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको छ ।
सोमबार स्याङ्जा र कास्की, तनहुँ र पर्वत, म्याग्दी र नवलपुर, बागलुङ र मुस्ताङ बीच प्रतिस्पर्धा हुने खेलतालिका छ । दुई जना रेफ्री र तीन खेलाडी सम्मानित प्रतियोगिताको उद्घाटन समारोहमा पाँच जना खेलाडी र रेफ्रीहरुलाई नगद रु. पाँच हजार सहित म्याग्दी जिल्ला भलिबल संघले सम्मान गरेको छ । रेफ्री टहलसिंग थापा, विकास गुरुङ र गण्डकी प्रदेशको पुरुष भलिबल टिमका क्याप्टेन सन्जु बिक्रम शाहलाई सम्मान गरिएको हो ।
थापा र शाह स्याङ्जा तथा गुरुङ गोरखाका हुनुहुन्छ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका झमानसिंह परियार र शसस्त्र प्रहरी क्लवमा आवद्ध बेनपा –५ का विरन दर्जीलाई पनि सम्मान गरिएको थियो । परियार नेपाल पुलिस क्लव र दर्जी शसस्त्र प्रहरी क्लवको भलिबल टिममा आवद्ध हुनुहुन्छ । भलिबल खेलको विकासमा योगदान गरेकाले सम्मान तथा पुरस्कृत गरेको म्याग्दी जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बताउनुभयो ।
बेनीमा भलिबल कवर्डहल बनाउने घोषणा म्याग्दी जिल्ला भलिबल संघले बेनीमा भलिबल कवर्डहल बनाउने घोषणा गरेको छ । संघका अध्यक्ष तेजेन्द्र बानियाले कवर्डहल बनाउन दुई रोपनी जग्गा खोजीसकेको जानकारी दिनुभयो । “जग्गा किन्नका लागि रु. एक करोड १० लाख रकम आवश्यक छ,” उहाँले भन्नुभयो “नेपाल भित्र र बाहिरका भलिबल खेलप्रेमीहरुबाट सहयोग जुटाएर जग्गा किन्छौ ।” संघले आफै जग्गा व्यवस्थापन गरेपछि सरकारी निकायको अनुदानमा कवर्डहल बनाउने योजना छ ।
संघले गत वर्ष भलिबल खेलको विकासका लागि रु. ४६ लाखको अक्षयकोष स्थापना गरेको थियो । प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले कवर्डहल बनाउने म्याग्दी जिल्ला भलिबल संघको योजनालाई साथ दिने प्रतिवद्धता जनाउनुभयो । “गर्मीमा घामले पोल्ने, झरिमा रुझेर भलिबल खेल्नु र अवलोकन गर्नुपर्ने अवस्थाको अन्त्यका लागि म्याग्दी जिल्ला भलिबल संघको अभियानमा हामीले पनि साथ दिन्छौ,” उहाँले भन्नुभयो “जग्गा व्यवस्थापन गरेपछि भवन बनाउन तीनै तहका जनप्रतिनिधीहरुको तर्फबाट साथ रहन्छ ।”