Friday, June 27, 2025
26.3 C
Beni
26.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 6

सिर्जनात्मकलेखन प्रतियोगितामा प्रकाश माविका अधिकारी प्रथम

सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सम्पन्न सिर्जनात्मकलेखन प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनी प्रथम भएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा बुधवार आयोजित प्रतियोगितामा सहभागी विद्यालयहरुमध्ये प्रकाश माविका मनिक अधिकारी प्रथम हुनुभएको हो ।

यसैगरी प्रतियोगितामा म्याग्दी एकेडेमी सिङ्गाका अनिशा तामाङ द्वितीय, राष्ट्रिय जनजागृति मावि पूर्णगाउँका युनिशा खत्री तृतीय, न्यू वेष्ट प्वाइन्ट आवासीय माविका प्राप्ति कँडेल र धौलागिरि मावि मुनाका निशा पुन सान्त्वना भएको सामाजिक विकास कार्यालयले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले क्रमशः नगद १० हजार, सातहजार, पाँचहजार र तीनतीन हजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन् ।

प्रतियोगिताको म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी, उपप्राध्यापक तारानाथ शर्मा र सहायक प्राध्यापक रेखाकौशल रेग्मीले मूल्याङ्कन गर्नुभएको थियो भने उपप्राध्यापक शर्मा, सहायक प्राध्यापकहरु गोरखनाथ सुवेदी, अर्जुन पौडेल र हरिहर शर्माले सहजीकरण गर्नुभएको थियो । उत्कृष्ट तथा सहभागी विद्यार्थीहरुलाई बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, सामाजिक विकास कार्यालय प्रमुख तारानाथ सुवेदी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विदुर शर्मा चापागाईँ र क्याम्पस प्रमुख सुवेदीले नगद एवं प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित सिर्जनात्मक क्षमतालाई बाहिर ल्याउने उद्देश्यसहित विद्यार्थीलाई लक्षित गरेर म्याग्दी बहुमुखी क्याम्पसमा सिर्जनात्मकलेखन कार्यशाला आयोजना गरिएको सामाजिक विकास कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । कार्यालय प्रमुख सुवेदीको अध्यक्षता र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोमबार र मङ्गलवार दुईदिनसम्म कार्यशालामा साईबर सुरक्षा, किशोरावस्थामा विवाहका चुनौतीहरु, जलवायु परिवर्तनका असर तथा न्यूनीकरणका उपायहरु, गण्डकी प्रदेशको विकास, म्याग्दी जिल्लाको अवस्थालगायत विषयहरुमा सहजीकरण गरिएको थियो । तालिममा म्याग्दीको छ वटा स्थानीय तहबाट गरी कुल ४८ जना विद्यार्थीहरुले सहभागिता जनाएकोमा उनीहरुमध्येबाट छनोट गरी तेस्रो दिन प्रतिस्पर्धा गराइएको थियो ।

जनप्रिय माविमा स्वर्णिम अक्षय कोष स्थापना

म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय माविले विद्यालयको सर्वाङ्गीण विकासका लागि जनप्रिय स्वर्णिम अक्षय कोष स्थापना गरेको छ ।
जिल्लाकै पूरानो विद्यालयको दिर्घकालिन आर्थिक स्थायित्व, सीप र प्रविधियुक्त गुणस्तरीय शिक्षा, विपन्न तथा जेहेन्दार विद्यार्थी, प्राविधिक धारको पूर्वाधार, नमुना विद्यालयको रुपमा स्थापित गर्न, स्नातक तह सहितको क्याम्पसका लागि पूर्वाधार तयार लगायतका लक्ष्य सहित स्थापित कोषको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो ।

गाउँपालिका अध्यक्ष गर्बुजाले सामुदायिक विद्यालयमा विद्यार्थीका आर्कषण बढाउने र बजार सुहाउँदो शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुर्व जिबिस सभापति, ओमप्रकाश शेरचन,पूर्व विद्यार्थी अमृत सापकोटा, कृष्ण सापकोटा, दम प्रकाश बस्याल, खिम पुन लगायतले अक्षय कोष अभियानलाई सफल बनाउन आर्थिक,भौतिक तथा नैतिक सहयोग गर्ने बताउनुभयो ।

विब्यस अध्यक्ष सन्तनाथ सुबेदी ज्युको अध्यक्षता, प्रधानध्यापक दिवाकर सुबेदीको स्वागत र सहायक प्रअ नगेन्द्र बहादुर खत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । शुक्रबार आयोजित कोषको शुभारम्भ समारोहमा करिब ८ लाख आर्थिक सहयोग संकलन भएको छ ।

शुभारम्भका दिनसम्म सहयोग गर्ने दाताहरु:-

१. बेग प्रसाद गर्बुजा ( अध्यक्ष मालिका गा. पा.):- ५०,०००/-
२. बिरेन्द्र किसान दरबाङ ( हाल अ्मेरिका):- १०३,३३३/-
३. मिना फगामी ( बि. ब्य. स. सदस्य) थापाचौर:- १०११११/-
४. ममता फगामी थापचौर हाल अस्ट्रेलिया:- ५०,५५५/-
५. सन्तनाथ सुबेदी ( बि. ब्य. स. अध्यक्ष ) दरबाङ :- ५५,५५५/-
६. गौमती चापागाई ( पुर्व बि ब्य स अध्यक्ष ) दरबाङ :- ५०,५५५/-
७. डिलमाया रोका (दिच्याम )हाल दरबाङ:- १०५,५५५/-
८. दिवाकर सुबेदी (प्र. अ. ) हाल दरबाङ :- ५५,५५५/-
९. नगेन्द्र ब. खत्री ( स. प्र. अ. ) पुलाचौर हाल दरबाङ:- ५५,५५५/-
१०. अभिषेक जि. शि. दरबाङ पोलिक्लिनिक:- २५,५५५/-
११. कमलनाथ शर्मा ( बि. ब्य. स. सदस्य) फुलवारी हाल दरबाङ:- २५,५५५/-
१२. अ्मृत सापकोटा हाल दरबाङ:- २५५५५/-
१३. तुलसीराम सुबेदी दरबाङ:- २६५५०/-
१४. तिलक सिङ ठकुरी दरबाङ:- २५१५०/-
१५. ॐ प्रसाद रोका र भाईहरु दिच्याम : ६०,०००/-
१६. भिम कुमारी खत्री (जुना )दरबाङ:- २५,५५५/-
१७. दम प्रकाश बस्याल( बि. ब्य. स. सदस्य) हाल दरबाङ:- १०५५५/-
१८. नन्द प्रसाद निउरे( अध्यक्ष हुलाक चोक टोल सुधार समिति ) दरबाङ :- ११,५५५/-
१९. समान सिङ पुन निस्कोट हाल दरबाङ:- १०,५५५/-
२०. सुमन जि. सी. प्रो. दरबाङ स्केट हाउस:- ११,१११/-
२१. रुपी पुन दरबाङ :- १०,१००/-
२२. सुरज भन्डारी बाबियाचौर हाल दरबाङ:- ११,१११/-
२३. मन कुमारी बोहोरा हाल दरबाङ:- १०,११०/-
२४. सुनिता जुग्जाली( PTA सदस्य):-५५,५५५/

झमझम पर्‍यो पानी गुर्जा घाटैमा

oplus_2

प्राकृतिक छटाले भरिएका हरिया भीरपहरा अनि डाँडापाखा। दन्त लहरझैं मिलेका हिमश्रृङ्खला। चिरबिरचिरबिर चराचुरुङ्गीका आवाज। हावाका झोक्काहरूको मन्द स्पर्श। छङ्छङ् झरना अनि कलकल खोलाको आवाज। खुल्ला आकाश, स्वच्छ अनि शान्त र मनोरम वातावरण। तपाईंको दिमागमा यतिबेला कस्तो चित्राङ्कित भयो? के तपाईंलाई यस्तै ठाउँमा जाऔं जस्तो लागेन?

सायदै कुनै नेपाली होला, यस्तो ठाउँमा जान नचाहने! धेरै समय भएछ यस्तो आनन्दित ठाउँको यात्रा नगरेको। यस्ता ठाउँमा घुम्न रुचाउने मान्छे हुँ तर अचेल धेरै भयो यस्तो अवसर नजुरेको। मान्छेले चाहनुपर्छ र निरन्तर प्रयास गर्नुपर्छ इच्छा पुरा हुँदो रहेछ!

हाम्रो म्याग्दीमा एउटा कथन छ ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’।

हो, त्यही यात्राको साइत जुुर्‍यो। ६ वर्ष पहिलेदेखि गुर्जा जाने सपना र योजना थियो। पहिलो गुर्जा यात्रा करिब १२ वर्ष अघि नै भएपनि धित मरेको थिएन, त्यसैले फेरि पुग्ने सपना साँचेको थिएँ।

म्याग्दी जेसीजको अभियानलाई जसरी हुन्छ गुर्जासम्म जोड्ने योजना थियो। पटक-पटक योजना बनाए पनि सफल हुन सकेको थिएन। वि.सं. २०२२ मा म म्याग्दी जेसीजको शाखा अध्यक्ष हुँदा सबै तयारी पुरा हुँदा अन्तिम समयमा आएर कार्यक्रम रोकिएको थियो। यस वर्ष भने सबै चाँजोपाँजो मिल्यो अनि हिँडियो गुर्जातिर।

म्याग्दी जेसीज वर्ष २०२५ को कार्ययोजना तयार गर्दै यसपटक जसरी पनि गुर्जा जानुपर्छ भनेर शाखा अध्यक्ष जेसी विनोद घर्तिलाई वार्षिक कार्ययोजनामा राख्न लगाएको थिएँ। धेरै योजना बनाउँदा पनि यात्रा सम्भव नभएपछि यसपटक भने करिब ५, ६ दिनको योजनामा गुर्जातिर म्याग्दी जेसीज परिवारको यात्रा प्रारम्भ भयो। कुनै समय बेनीबाट ३ दिन लगाएर गुर्जा पुगेको म आफैं यसपटक भने बिहानै बेनीबाट हिँडेर दिनमै गुर्जा पुग्ने लक्ष्य बन्यो।

ताकममा आमाले बनाउनु भएको खानाले बडो मिठो स्वाद दियो। गाउँको पानी नै मिठो, त्यसमा पनि आमाले पकाएको, आहा! बाटोमा जुका लाग्ला, लेक लाग्ला भनेर लसुन अनि टिम्मुरको छोप झोलामा हालिदिनुभयो, आमाको मन न हो।

यसको एउटा प्रभाव थियो, जुन केही दिन अगाडि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले गुर्जामा पुगेर दिएको वक्तव्य।

उहाँले भन्नु भएको थियो ‘जम्मा २ घण्टा हिँड्यो भने गुर्जा आइ त हालियो।’

gurja-visit--(3)-1750390433.jpeg
झक दाइसँग नजिकको सम्बन्ध भएकाले पनि सधै उहाँसँग समन्वय गरिरहेको थिएँ। तर जाने टुुँगो थिएन। त्यसैले शाखा अध्यक्ष विनोद घर्तिलाई म जाने नजाने टुङ्गो छैन, गुर्जामा सबै व्यवस्था हुन्छ, तपाईंहरुले जाने तयारी गर्नुस् भन्दा, अनुहार अध्यारो पार्नु भएको थियो। जब २५ गते बेलुका म पनि जाने पक्का भयो भने उहाँले आनन्दको सास फेर्नु भयो।

वि.सं. २०८२ वैशाख २६ गते बिहान ८ बजे बेनीबाट मोटरसाइकलमा १२ जना म्याग्दी जेसीजको टिम अघि बढ्यो। मेरो सारथी पर्नु भयो म्याग्दी जेसीजका पूर्वअध्यक्ष सुविन श्रेष्ठ। यात्रा दोस्रो भएपनि मनमा छुट्ट अनुभूति भइरहेथ्यो। उत्सुकता थियो अनि धेरै वर्षपछिको योजना सफल भएकोमा आनन्द पनि।

बिहानको खाना खान ९:३० बजे शाखा अध्यक्ष विनोदकै घर ताकममा पुुग्यौं। आमाले हामीलाई पर्खिएर बस्नु भएको रहेछ। हामी पुगिसकेपछि क्रमशः शाखा अध्यक्ष विनोद स्कुटर रन्काउँदै आइपुग्नु भयो, पूर्वअध्यक्ष खम थापा मगर र वीरेन्द्र श्रेष्ठ पनि सोही रफ्तारमा आइपुग्नु भयो।

आमाले बनाउनु भएको खानाले बडो मिठो स्वाद दियो। गाउँको पानी नै मिठो, त्यसमा पनि आमाले पकाएको, आहा!

गुर्जा पुग्ने भएकाले बाटोमा जुका लाग्ला, लेक लाग्ला भनेर लसुन अनि टिम्मुरको छोप झोलामा हालिदिनुभयो, आमाको मन न हो।

खानापछि हामी सबैजना भेला भयौं। गुर्जामा पुग्ने मात्र भन्दा पनि हामीले गर्न सक्ने कार्यक्रम गरौं भन्ने योजनासहित गएका थियौं। जसमध्ये गुर्जामा पर्यटनको सूूचना बोर्ड स्थापना गर्नु एक थियो। हामीले ताकममा बोर्ड बनाउन लगाएका थियौं। गाडीले माथिसम्म पुर्‍याइदिन्छ भन्ने कुराकानी थियो तर गाडीसँग सम्पर्क नभएपछि आफैं लैजानु पर्ने भयो।

बाइकमा समातेर लैजान अप्ठ्याराे देखियो अनि ‘जहाँ समस्या त्यहाँ उपाय’ भन्ने त उक्ति नै छ। महासचिव देबेन्द्रजीले विनोदजिको स्कुटरमा बलियोसँग डोरीले बाँध्नु भयो। अनि धुलो उडाउँदै मोटरसाइकल र स्कुटर हुुइँकिए, म्याग्दीको सबैभन्दा विकट भनिएको गुर्जातिर।
गुर्जाले ‘छिटो आऊ है म पर्खिरहेको छु’ भनेर बोलाएझैं लाग्यो। वडाध्यक्ष झक दाइलाई हामी ताकमबाट अघि बढेको फोनमार्फत् जानकारी गराएँ।

ताकमसम्म सडक धेरै स्तरोन्नती भएको रहेछ। उत्कृष्ट सडकमा मोटरसाइकल कुदाउँदा मसँगै बस्नु भएका सुविन दाइ गीत गुन्गुनाउँदै हुनुहुन्थ्यो, ‘बाइरोडको बाटोमा धुलो उडाउँदै……….’, ‘झमझम पर्‍यो पानीगुर्जा घाटैमा…..।’

यात्रा निकै उत्साहपूर्ण हुँदै थियो। सोही दिन नै गुर्जा देउराली पुगेर पर्यटकीय बोर्ड स्थापना गर्ने योजना थियो। लमसुङ पुग्ने बेलामा खोला तरेर सिधैं उकालो जानुपर्ने बाटो रहेछ, त्यसपछि मोटरसाइकलले हिँड्न अलि अप्ठ्यारो माने जस्तो गर्‍यो।

सुविन दाइलाई बाइकबाट ओरालेर त्यो उकालो कटाएँ। वीरेन्द्र दाइको बाइक त अझै अगाडिबाटै हिँड्न अल्छी मानेको रहेछ। अगाडि पनि पुरै उकालो रहेछ। मोटरसाइकलले तान्न निकै गाह्रो गर्‍यो। सायद बुढेसकाल लाग्यो होला, अनि हिँड्ने हतार भएकाले सर्भिसिङ्ग समेत गर्न पाइएको थिएन।

गुर्जा गाउँमा पर्यटनको प्रशस्तै सम्भावना छ। विशेषतः छन्त्याल जातिको कला संस्कृति र जीवनशैली अध्ययन गर्न सकिन्छ। प्राकृतिक हिसाबले पनि मनोरम छ।

लम्सुङबाट लुलाङसम्म पुग्न निकै गाह्रो भयो। त्यही बेलामा हल्काहल्का पानी पर्न थाल्यो, मानौकी गर्मीमा शिलता प्रदान गर्दैछ। एक्लै चढ्यो भने तान्ने तर दुई जना भयो भने पिकअप लिनै गाह्रो।

अब भने पानी वर्षन सुरु गर्‍यो। सुविन दाइ प्लास्टिक ओढेर हिँड्न थाल्नु भयो। म भने केही उकालो एक्लै बाइकमा उकालिएँ। दाइलाई हिँड्न निकै गाह्रो भएको महसुस गरेँ।

सबै साथी अगाडि गइसकेका थिए। पानी झन् दर्किन थाल्यो। यति हतार गरेर हिँडिएछ वीरेन्द्र दाइ, विनोदजी र मैले त पानीबाट बच्न कुनै ओढ्ने कुरा हाल्नै छुटेछ।

gurja-visit--(1)-1750390436.jpeg
पानीमा रुझ्नुको विकल्प थिएन। लुलाङ गाउँ कटेर केही माथि पुगिसकेका थियौ, अब गुर्जा नपुग्दासम्म कुनै घर वा बस्ती भेटिने सम्भावना नै थिएन। पानीमा रुझ्नुको पनि त छुट्टै मजा थियो।

साथीहरू पर्खिएर बस्नु भएको रहेछ। सुविन दाइलाई अर्को बाइकमा चढाएर अलि कम वजन भएको साथीलाई मेरोमा राखें। तर, अवस्था उस्तै। बढो जोडबलले केही माथिसम्म एक्लै चढ्दै, अनि उकालो आयो भने आफू झरेर बाइकलाई मात्र डोर्‍याउँदै, हल्का तेर्सो बाटो आयो भने साथीलाई चढाउँदै गयौं। शरीर साह्रै थकित भएपछि केहीबेर थकाइ मार्‍यौ।

गुर्जा पुग्ने एकजना बुबा डोकोभरि सामान बोकेर आउँदै हुनुहुन्थ्यो। उहाँसँग एकैछिन गफियौं। म, वीरेन्द्र, खम, विनोद सँगै थियौ भने अरु साथी कहाँ पुगे पत्तो थिएन। मोबाइल फोनबाट सोधौं भने नेटवर्क नै थिएन।

त्यही बेलामा सुमन बानियाँ पनि स्कुटर हुइक्याउँदै टुप्लुक्क आइपुगे। मेरो बाइकमा बस्ने साथीलाई उनले एकैछिन लिफ्ट दिएपछि भने बाइक हुइँकिन थाले। त्यसपछि त बाटो पनि अलि सहज नै रहेछ। सिमसिम पानीमा भिज्दै घनघोर जङ्गल, शान्त वातावरण, चराचुरुङ्गीको आवाज सुन्दै यात्रा गर्नुको छुट्टै मजा थियो। बजारको कोलाहल सुनेर थकित कान, आनन्दित थिए। नयनरु उत्साहित थिए। मन शान्त थियो। मात्र आनन्दै आनन्द थियो।

बाटोमा जाँदै गर्दा देउरालीमा एउटा मात्र घर। जहाँ पुगेर सुविन दाइले मकैभटमास भुट्न लगाउनु भएछ। तेजेन्द्र भाइ हामीलाई लिन फर्किए। मैले खम दाइलाई बाइकमा राखेर देउराली पुग्यौं। यहाँ त बाइकले पनि गजबले तान्यो सायद देउरालीको सौन्दर्य, अनि प्राकृतिक छटाले ऊर्जा दिएको हुनुपर्छ।

जब देउराली पुग्यौं पानी यसरी पर्‍यो कि, मानौ उसले भन्दै थियो, ‘तिमीहरू आज यहीँ बस, थकाइ मेटाउ अनि आनन्द लिएर जाऊ।’

पानी निरन्तर परिरहकै थियो। हामीले भने मकैभटमास, चाउचाउ र अण्डाको सुप बनाएर खायौं। आमाले दिएको टिम्मुरको छोपले थप स्वाद थप्यो। झण्डै एक घण्टापछि पानी अलि कम हुँदै गयो। त्यत्ति नै बेला खगेन्द्र र विशाल पनि टुप्लुक्क आइपुगे। उनीहरू ताकममै छुटेका थिए, हामी अघि बढ्दा।

पानी कम हुँदा झण्डै ३ बजेको थियो जबकि ३ बजे हामी गुर्जा पुग्ने योजनामा थियौं। बडो मुस्किलले उकालो कटेर आएका हामी, अब ओरालो झर्नु थियो।

अब भने बाइकले नतानेर हिँड्नुपर्छ वा उकालोमा धकेल्नुपर्छ भन्ने मानसिक तनाब थिएन। त्यो सपना पनि एकैछिनमा चकनाचुर भयो।

एउटा गीत छ नि ‘उडायो सपना सबै हुरिले’।

यहाँ सपना सबैले झरीले उडाएको थियो। भर्खर खन्दै गरेको ट्रयाक, देउरालीभन्दा तल गाडी, मोटरसाइकल खासै हिँडेका रहेनछन्। बाटो खनेपछि पानी पनि खासै परेको रहेनछ। केही ओरालो मात्र के हिँडेका थियौं, मोटरसाइकलले भुइँलाई माया गर्न पुगिहाल्यो।

चोटपटक भने कतै लागेन। अघिसम्म उकालो कसरी चढ्ने भनेर तनाव लिएका हामी अब ओरालो कसरी जाने भनेर पिरोलियौं।

पानी सिमसिम परिरहेकै थियो। बडो होसियारी साथ कोही ठाउँमा झर्दै, कोही ठाउँमा पछिबाट बाइकलाई अड्याउँदै, लड्दै, उठ्दै लोतबाङसम्म पुुग्यौं। कुनै कुनै बेला त बाइक आफैं लरररर अगाडि जान्थ्यो, बस आफूले बाइक अड्याए पुग्ने, जति साहसिक थियो यात्रा उत्ति मजा पनि।

बाटो खन्ने डोजरका चालक र अन्य साथी त्यहाँ टहरा बनाएर बसेका रहेछन्। बाटो तलसम्म नै पुगेपनि हामीले भने सुरक्षा र अन्य दृष्टिकोणले बाइक त्यही राख्ने निर्णय गर्‍यौं।

gurja-visit--(4)-1750390442.jpeg
एकछिन गोठमा रहेका दाजुभाइसँग गफियौं। पानी पर्न भने छाडेन। गुर्जामा स्थापना गर्ने पर्यटकीय बोर्ड त्यहाँसम्म त स्कुटरमा जसोतसो लगेका थियौ तर त्यहाँबाट कसरी पुर्‍याउने भन्ने समस्या भयो।

खच्चडहरू गुर्जासम्म सामान लैजान आएका रहेछन्। साथीहरूले उनीहरुलाई खच्चडमा बोर्ड लैजान आग्रह गर्दा आनाकानी गरेछन्। बोकेर लैजान सक्ने हाम्रो अवस्था थिएन । शाखा अध्यक्षले म सामु आए। म गएर कुरा गरेपछि अनि बल्ल राजी भए।

साँढे चार बजेतिर खच्चड सँगसगै हामी पनि ओरालो लाग्यौं। जे होस् बाटो तलसम्मै पुगेको रहेछ। हामीभन्दा धेरै अगाडि गएका साथीले मोटरबाटोको अन्तिम विन्दुसम्म बाइक पुर्‍याएका रहेछन्।

उहाँहरू धेरै अघि गइसक्नु भएको थियो। खच्चड हिँडाल्ने भाइहरू अमेश र हरिसँगै गफिँदै करिब १ घण्टा हिँडेपछि खाम्जा खानीमा पुग्यौं। अमेश भाइले बिहे गरेको भर्खर १ महिना जति भएको रहेछ, छिटो घर पुग्नलाई खच्चड छिटोछिटो हिँडालेको भनेर जिस्किएँ।

हामी सबै जना खित्का छाड्यौ। 

त्यहाँसम्म पुग्दा हाम्रो टोली ३ वटा समूह भइसकेको थियो, आ-आफ्नो हिँडाइ अनुसार। मसँग सँगै पछ्याउँदै तेजेन्द्र भाइ थिए भने, वीरेन्द्र, खम, विनोदलगायतको टोली बिचमा र सुविन दाइहरू अन्तिममा।

एउटा भनाइ छ नि, ‘सहरका घर नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँका घर टाढा हुन्छन् मन नजिक हुन्छ’। गुर्जामा त घर एकदमै नजिक रहेछन् अनि मनको त कुरै नगरौं, कति हो कति नजिक!

यतिका बेलासम्म ओरालो झरेका हामी अब भने उकालो हिँड्नु थियो। उकालो सुरु मात्र के भएको थियो, खुट्टाले थाहा पाइहाल्यो। केही हिँडेपछि ६० वर्षीया आमा भिमसरा विक र उहाँको बुहारी भेटिनु भयो। त्यो उमेरमा पनि डोकोभरि सामान बोक्नु भएको थियो।

यही त होला गाउँले जीवन, गाउँको हावापानी र खानपान!

हामी भर्खर ३०–३२का युुवा रित्तो ज्यान हिँड्न पनि सकसमा थियौं। मनमनै भनें, ‘सायद शरीर सहरिया भएछ।’

उहाँलाई देखेपछि बाल्यकाल सम्झें। म पनि गाउँकै हावापानीमा जन्मिएर, त्यहीको माटोसँग मितेरी गास्दै हुर्केको हुँ। तर, बानी परिवर्तन भएछ।

केही दिदीबहिनी तल फाँटमा मकै खन्दै हुनुहुथ्यो। माथि डाँडाबाट चिच्यायौं, उहाँहरू पनि तलबाट चिच्याउनु भयो।

फेरि उकालाको रफ्तार बढ्यो। अब भने पानी विस्तारै बिदा हुँदै थियो। देउराली भन्दा केही अगाडि पुग्दैगर्दा सप्तरंगी इन्द्रेणी लाग्यो, जुन असाध्यै मनमोहक थियो।

गुर्जाले ठूलो इन्द्रेणीको गेट बनाएर हामीलाई स्वागत गर्‍यो। साना बच्चा हुँदा गाउँबाट देखिथ्यो तर धेरै वर्षपछि यसरी इन्द्रेणी देख्न पाइयो।

दिनको २ बजे पुग्ने लक्ष्यसहित हिँडेका हामी साँझको ५:५०मा मात्र गुर्जाको देउरालीमा पुग्यौं। मौसमले पनि कुरा बुझेछ क्यारे, पानी बन्द भएर घाम लाग्यो।

अब त घाम अस्ताउने समय। रातो घाम गुर्जा हिमाल निकै मनमोहक देखियो, जस्तो कि बिहेमा सजिएकी दुलहीजस्तै।

टाढैबाट देखियो गुर्जा गाउँ। टम्म मिलेर बनेको गाउँ। देख्दै स्फूर्ती बढ्यो।

हामी त्यहाँ पुगेको झण्डै ३० मिनेटपछि अरु साथी पनि आइपुग्नु भयो। वडा अध्यक्ष झक दाइसँग सम्पर्क भयो। रात पर्न आँटेकाले सबै कार्यक्रम बिहान गर्ने सल्लाह भयो। अनि हामी गाउँभित्र पस्यौं।

झक दाइ, भाउजू र अन्य हामीलाई स्वागत गर्न बस्नु भएको रहेछ। हामी उहाँको आँगनमा पुग्यौं। फूलमालाले भव्य स्वागत गर्नुभयो। निकै स्नेहपूर्वक र आत्मीय स्वागत। त्यतिबेला हामीले बाटोका सबै दुःख बिर्सियौं। स्वर्ग कहीँ छ भने यही हो जस्तो लाग्यो।

मनमनै प्रकृतिलाई धन्यवाद दिएँ। मौसम सफा भएको भए, यात्रा सहासिक नभएको भए के यो यात्रा सधै स्मरणमा रहन्थ्यो होला र?

तातोपानी, चिया अनि मकैभट्ट टेबलमा आइपुग्यो। उकालो हिँडाइको थकान, केही भोक अनि गाउँको अर्गानिक खाजाले जिब्रो रमायो।

निकैबेर गफियौं झक दाइसँग। उहाँले गुर्जाका सम्भावनाका बारेमा, गुर्जालाई अन्य जिल्लासँग जोड्न सकिने बाटो, त्यसबिचमा हुनसक्ने व्यवसाय, पर्यटन प्रवर्द्धनलगायतका बारेमा धेरै कुरा सुनाउनुभयो।

gurja-visit--(2)-1750390435.jpeg
हामी उत्साही बन्यौं। एउटा नेतृत्वले चाहने र काम गर्ने हो भने कति काम सकिन्छ भन्ने एउटा उदाहरण पनि हो उहाँ। उहाँकै अथक मेहनत र प्रयासबाट अब केही वर्षमा गुर्जालाई सडकले छुनेछ।

तलबाट मोटरबाटो पुग्दा नपुग्दै दबाबस्वरुप गुर्जातिरबाट केही किलोमिटर मोटरबाटो केही वर्ष पहिल्यै उहाँकै नेतृत्वमा गाउँलेले खनिसकेका छन्।

गुर्जा भौगोलिक रुपले मात्र विकट हो। नत्र भने उहाँकै पहलमा त्यहाँ इन्टनेट पुगिसकेको छ, फोरजी सञ्चालनमा छ। स्थानीयको आर्थिक अवस्था निकै माथि छ। हामी गुर्जा पुग्ने अनि गुर्जाका करिब २०० जना युवा यार्चागुम्बा संकलन गर्न लेकतिर जाने भएछ।

गाउँमा स-साना बालबालिका, बुबाआमा धेरै हुनुहुन्थ्यो। हाम्रो समूहलाई दुई ग्रुपमा बाँडेर बास बसाइयो।

वर्तमान शाखा अध्यक्षसहित हामी सबै पूर्वअध्यक्षहरू झक दाइकोमा बस्यौं। बाँकी अर्को घरमा।

खानापछि साथीहरू बेडमा पल्टनु भयो म, झक दाइ र सुविन राति झन्डै ११ बजेसम्म तातो आगोको रापमा गफिएर बस्यौं। स्थानीय समस्या, सम्भावनादेखि देश तथा विदेशकासम्म कुराकानी गर्न भ्यायौं।

चराचुरुङ्गी चिरबिर चिरबिर आवाज, भालेकोे डाँकोले उज्यालो भएको संकेत गर्दै थियो। बिहान ५ बजेतिर निन्द्रादेवीले पनि उठाइन्। झ्याल खोरेर बाहिर हेरें, झिसमिसे अध्यारोबाट उज्यालो हुँदै थियो।

योगमा जोडिएपछि त बिहानै उठ्ने बानी लागेको छ।

झ्याल खोलेर बाहिर हेरें, अहा मनमोहक डाँडा!

साथीहरूमस्त निन्द्रामै थिए। नित्यकर्मपछि गुर्जा गाउँ हेर्न गल्लीभित्र पसें।

एउटा भनाइ छ नि, ‘शहरका घर नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँका घर टाढा हुन्छन् मन नजिक हुन्छ।’

यहाँ त घर एकदमै नजिक रहेछन् अनि मन, मनको त कुरै नगरौं कति हो कति नजिक!

गल्लीमा ढुंगा बिच्छाएर सुन्दर र आकर्षक सिँढी बनाइएको रहेछ। 

मानिस धारामा पानी भर्दै थिए। कोही गोठतिर जान उकाली चढ्दै थिए भने केही मेलापातका लागि। घरका धुरीबाट विस्तारै धुवाँ पुत्ताउन थालेको थियो।

गुर्जा गाउँको दृश्य साँच्चै लोभलाग्दो थियो। केही गल्ली छुटे होलान्, नत्र करिब सबै घर र गल्ली घुमेर फर्किएँ। साथीहरू उठ्ने क्रम जारी थियो।

तातोपानी र चिया तयार थियो। महसँग सातु र चिया खाइयो। अर्गानिक खाना पाएपछि जिब्रो पनि रमायो।

रहर अनि मन त गाउँभन्दा करिब २ घण्टा माथि डाँडामा पुग्ने थियो जहाँबाट गुर्जा लगायतका हिमाल हेर्न पाइन्छ। तर, हतारको यात्रा भएकाले गाउँभन्दा केही माथिसम्म उक्लियौं। अनि फरक्क फर्केर गाउँ हेर्‍यौं।

नयनले शितलता प्राप्त गरे, मनमा शान्ति छायो।

गुर्जामा पर्यटनको प्रशस्तै सम्भावना छ। छन्त्याल जातिको बाहुल्यता रहेको गुर्जामा सामुदायिक होमस्टे विकास गरेर छन्त्याल जातिको कलासंस्कृति अध्ययन केन्द्र बनाउन सकिन्छ। छन्त्याल जातिको सीप, संस्कृति र परिकार पर्यटकीय आकर्षण बन्न सक्छन्।

हामीले धेरै कार्यक्रम गर्ने योजना बनाएका थियौं। युवा लक्षित तालिम, खेलकुद, पुस्तक हस्तान्तरण, निःशुल्क कम्प्युटरमर्मत जस्ता कार्यक्रम पुरा गर्‍यौं। स्थानीय दाल, च्याउको तरकारी र खाना खाएर हामी फर्किर्यौं।

देउरालीमा पर्यटकीय बोर्ड राख्यौं। झक दाइ र केही स्थानीय हामीसँगै त्यहाँसम्म आउनुभयो। जाँदाखेरिको पानी चुटाइले मन चिसो बनाएको थियो, आज पनि पानी नपर्ला भन्ने अवस्था थिएन। दिउँसो ३/४ बजेपछि पानी पर्ने मौसम देखिएको थियो। त्यसैले हामीले त्यो समयभित्र देउराली कट्ने योजना बनाएर सबै काम सक्यौं।

फेरि आउँदा डाँडाबाट गुर्जा हिमालसँग आँखा जुधाउने मनमनै वाचा गरें।

हामीले बिदाइका हात हल्लायौं। अहँ गुर्जाले बिदा भन्न मानेन्। झक दाइ भन्दै हुनुहुन्थ्यो,  ‘कमसेकम दुुई दिन यतै बस्ने गरी आउनुभएको भए बल्ल यहाँको स्वाद पाउनुहुन्थ्यो।’

साथीहरूले घोडा चढ्ने इच्छा व्यक्त गरेपछि ८ वटा घोडा व्यवस्थापन भयो। १२ जनामध्ये ४ जना साथी हिँड्ने कुरा भयो। ओरालोमा घोडा चढ्ने कुरा भएन।

‘ओरालोमा मलाई बचाउनु, उकालीमा म बचाउँछु’ भन्छ रे घोडाले।

ओरालोमा घोडासँगै हामी पनि हिँडेर झर्‍यौं। खाम्जाखानीबाट घोडा चढ्न मिल्ने रहेछ। त्यहाँ पनि म, वीरेन्द्र र खम दाइ अघि थियौं। भाइले हामी सबैलाई घोडा चढाए। केही घोडा उनीहरूले डोर्‍याउनुपर्ने रहेछ, संयोगवश मलाई भने नियमित मान्छे बोकिरहने घोडा परेछ।

विनोदजीलाई परेको घोडा अलि चलाख नै रहेछ।

उहाँ चढ्ने वित्तिकै घोडा हिँड्न थाल्यो त्यो पनि पुल माथि। उहाँ आत्तिएर झण्डै लड्नु भयो। घोडा डोर्‍याउने भाइ र हामीले हौसला दिएपछि विस्तारै अगाडि बढ्यौ, वीरेन्द्रदाई अलि कमजोर घोडा परेछ उहाँ पनि हिँड्नु भयो।

जब घोडा चढ्यौं फेरि पानीले यात्रा ऐतिहासिक बनाउने संकेत गर्‍यो। पानी यसरी आयो कि, ओढ्ने कुरा केही नभएपछि रुझ्नुको त विकल्प नै थिएन। अलिकति ओरालो आउँदा पनि ज्यान सिरिङ्ग हुन्थ्यो। साँघुरो बाटो मनमा डर त लाग्ने नै भयो त्यसमा पनि पहिलोपटक यात्रा गर्नुछ। पानीमा यति मजासँग भिजियो कि फेरि पनि पानीको कुरा गर्‍यो वा आकाशमा पानी पर्न आँट्यो भने त्यही यात्राका चित्र स्मृतिमा आउने गरी।

लोतबाङ पुगेको धेरै समयसम्म पनि पानी परि नै रह्यो। सबैले बाइक चेक गर्‍यौं डर थियो कतै स्टार्ट नहुने त होइन भनेर।

स्टार्ट भएपछि आनन्दको सास फेर्‍यौं। अब तनाव थियो कसरी देउरालीसम्म पुग्ने। तल बाइक लगेर राखेका देबेन्द्रजीहरूलाई धेरै बेर कुर्‍यौ तर उहाँहरूको अत्तोपत्तो भएन। फोन सम्पर्क वा अन्य सम्पर्क केही हुने अवस्था थिएन। झन्डै १ घण्टा त्यही कुर्‍यौं।

अति भएपछि मैले बाइक लिएर अलि तलसम्म पुगेर हेरें बाटोमा बाइकको छाप देखेपछि पक्का भयो कि उहाँहरु फेरि पनि हामीलाई त्यही छाडेर अघि जानु भयो। बाटोको अवस्थाले सिंगल बाइकमा चालक जाने र पछाडि बस्ने साथी हिँड्दै छोटो बाटोबाट देउरालीसम्म जाने सल्लाह भयो। अनि हामी बाइक लिएर उकालियौं।

केही बाटो त सहजै गयौं तर अलि माथि पुगेपछि न त बाइकको टायर अडिन्थ्यो न त मान्छेका खुट्टा। हामी माथि जाने प्रयास गर्थ्याैं, बाटोले तल नै धकेल्थ्यो। केही साथीले पछिबाट धकेल्ने, बाइकबाट ओर्लिएर चलाउने गरेर बडो मुस्किलका साथ त्यो अप्ठ्यारो बाटो पार गर्‍यौं।

झण्डै ३ ठाउँमा बडो कठिनाइका साथ बाटो कटायौं। करिब ४ बजे बल्ल देउरालीमा पुग्यौं। हामी त पुग्यौ तर सुविन, खम दाइ अनि खगेन्द्रजी हिँडेर आउँदै हुनुहुन्थ्यो। करिब डेढ घण्टा कुरेपछि बडो थकित अवस्थामा उहाँहरू पनि आइपुग्नु भयो।

gurja-visit--(1)-1750390432.jpg
छोटो बाटो हिँडेर आउने भनेर छाडेर आएका थियौं तर उहाँहरू त बाटो हराइन्छ भनेर मोटर बाटैबाटो आउनु भएछ। खमलाई उकालोमा निकै गाह्रो भएछ। एकछिन हामी रिसाउनु पनि भयो, लिन आउन पदैन भनेर।

तातोतातो चाउचाउ र अण्डामा टिम्मुर राखेर सुप खुवाएपछि केही सहज भयो। उहाँहरूले आराम गरेपछि खाजा खाएर यात्रा अघि बढायौं। पानी विस्तारै कम हुँदै थियो। अघिल्लो दिन पनि यही देउरालीबाट पानीले भिजाउँदै लगेको थियो। र, भोलिपल्ट पनि पानीले त्यहीसम्मै रुझायो। मनैमनले भन्यो गुर्जाबाट पानी अघिल्लो दिन त्यहीसम्म लिन आयो अनि आज पनि यहीसम्म रुझाउँदै लिएर छाड्यो।

मौसम अनि देउरालीलाई मनमनै धन्यवाद दिएँ, पानी रोकिएर मौसम खुलेकामा। यात्रा स्मरणीय र ऐतिहासिक बन्यो। अघिल्लो दिन जाँदासम्म ठिक भएकोे बाटो फर्कंदा भने बाटोको पुरै माटो बगाएर गेगर मात्र बाँकी थियो। पानी कति ठुलो परेछ भन्ने कुराको प्रमाण बाटोले पेश गर्‍यो।

अगाडि जाने साथी त गइहाल्नु भो, बाँकी रहेका हामी सँगसँगै विस्तारै गुड्यौं। फर्कंदा पनि बाइकको फुट ब्रेकले धोका दियो बडो सजगताका साथ पानी हाल्दै हिँड्दै लमसुङ ओरालो कट्यौ। विनोदजी ताकममा बस्ने प्रस्ताव गर्दै हुनुहुन्थ्यो।

हामी रोकिएनौं। बाटोभरि जाँदा आउँदा भोगेका पीडा, महसुस गरेका अनुभूति दिमागमा सल्बलाइरह्यो। गुर्जाको सम्झना मुटुभरि साँचेर, बाटोमा भोगेका कठिनाइलाई साहसिक यात्राको अवसरका रुपमा ग्रहण गरेर फर्कियौं। मनमा गुर्जाबासीको आत्मीयता बोकेर।

रातको करिब १ बजे बेनी आएर टक्क रोकियो बेनी–गुर्जा एक्सप्रेस!

गलेश्वर बजार सौन्दर्यीकरण, सडकमा ढुङ्गा बिछ्याउन थालियो

बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । 

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यीकरण योजना सञ्चालन भएको हो । योजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग सडकमा  ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो । 

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २० लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले दुई–दुई लाख विनियोजन गरेको योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले  २४ लाख ३६ हजार ५७१ मा ठेक्का लिएको थियो ।

सडकलाई सम्याउने, नाली र पर्खाल बनाएर भुइँमा ढलान र कालोपत्रका विकल्पमा दुई इन्च बाक्लो कटिङ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भइरहेको बेनी नगरपालिकाका प्राविधिक गौरीश्वर रिजालले बताउनुभयो । उहाँका अनुसार चालु आवको बजेटबाट गलेश्वर प्रवेशद्वारबाट मन्दिरतर्फ एक सय छ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याइने छ । त्रिपन्न घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।

मुक्तिनाथ र मुस्ताङ जावतजावत गर्ने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनीहरूको बसाइ लम्ब्याउने उद्देश्यले सुरू गरिएको सौन्दर्यीकरणको योजनालाई आगामी आवमा पनि गलेश्वर शिवालय क्षेत्र विकास कोष र अन्य सङ्घसंस्थासँग साझेदारी गरेर निरन्तरता दिने वडाध्यक्ष केसीले बताउनुभयो ।

गलेश्वर बजारभित्रका सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी काेरिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारी साधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको डिजाइन गरिएको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । रासस

जामुनाखर्कका सार्कीको शब नेपाल पठाउने पहल सुरू

संयुक्त अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाउनु भएका बेनी नगरपालिका–६ जामुनाखर्कका हेमबहादुर सार्कीको शब नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरू गरिएको छ । तीन महिना अगाडी मृत्यु भएपछि सार्कीको शब अस्पतालमा अलपत्र परेपछि परिवारको पहिचान नभएको समाचार बेनीअनलाइनमा प्रकाशित गरेको थियो । मोना यूएईले नेपाली दुतावासमार्फत शब नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया सुरु भएको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले बताउनुभयो ।

‘आफन्तसँग सम्पर्क भयो, अब हामीले आवश्यक कानुनी प्रक्रियालाई अगाडी बढाउँछौ’ अध्यक्ष राम्जालीले भन्नुभयो ।मृतक सार्की कार्यरत कम्पनी, श्रम कागजात सहित अन्य विभिन्न सुविधाका बारेमा बुझ्ने काम भइरहेको छ । यता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँले यूएईबाट प्राप्त हुने क्षर्तीपुर्ती सहितका कागजातहरुका बारेमा मोनासँग समन्वय गरिने बताउनुभयो। घरको आर्थिक अवस्था कमजोर भएकाले यूएईमा रहेका म्याग्देलीलाई समेत आवश्यक आर्थिक सहयोग तथा थप समन्वयका लागि समेत अध्यक्ष बानियाँले अनुरोध गर्नुभएको छ ।

पानीका मूल सुक्न सक्ने भन्दै चिन्ता

अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी किनारमा रहेको तातोपानीका मुहान जलविद्युत्का कारण सुक्ने सम्भावना भएको भन्दै स्थानीयले चिन्ता गरेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु भएका र हुन लागेका जलविद्युत् आयोजनाका कारण पानीका मुहान सुक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानीमा आयोजना गरिएको ६६.३ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा सर्वसाधारणले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको उक्त जलविद्युत् निर्माण हुँदा पिउने पानी तथा तातोपानीको मुहानमा कुनै असर नपर्ने गरी मात्रै काम हुनुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएका छन् । तातोपानीका स्थानीय अनिल हिराचनले विगतमा कालीगण्डकीको सतह अनुसार तातोपानीको मुहानको स्थान फेरिएको सुनाउनुभयो । आयोजनाले नदी प्रणालीमा कम्तीमा १० प्रतिशत पानी छाड्ने कुरा ३६५ दिन नै हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हाम्रो मृत्यु संस्कार कालीगण्डकी नदी बगेको किनारमा हुँदै आएको छ, पानी सुरुङमा हालेपछि नदी प्रणालीमा पानी बग्न छाड्ने हो कि भन्ने चिन्ता छ ।”

अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ओम फगामीले अन्नपूर्ण क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माणको क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ बनाउँदा कम्पनका कारण पानीको मुहान सुकेको बताउनुभयो । 

आगामी दिनमा पानीका मुहानमा असर नपर्ने गरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले कालीगण्डकी नदी मात्रै नभएर मानव सभ्यता पनि भएको हुनाले यसलाई जोगाउनुपर्ने धारणा राख्नुभयो । कालीगण्डकी नदी नै रहेन भने यहाँको बसोबास र सभ्यता पनि नरहनेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका हाइड्रो सपोर्ट प्रालिका चन्द्रप्रसाद ढकालले तातोपानीको मुहान बचाउँदै स्थानीय जनजीवनमा कुनै पनि प्रभाव नपर्ने गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । कुनै पनि अवस्थामा स्थानीयलाई असर नपर्ने गरी काम गर्ने तयारी रहेको सुनाउँदै उहाँले त्यसमा आफ्नो प्रतिबद्धता रहेको धारणा राख्नुभएको थियो ।

जलविद्युत् आयोजना निर्माणका क्रममा सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि नौ करोड ७० लाख २४ हजार रुपियाँ विनियोजन गरिने जानकारी गराइयो । निर्माण थालिएको चार वर्षमा सम्पन्न हुने उक्त आयोजनाको १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार ७३० कुल लागत रहेको छ । 

भूमिगत विद्युतगृह रहने उक्त आयोजना निर्माण गर्दा अन्नपूर्ण गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुने भएका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ को पोखरेबगरभन्दा ठिक पारी अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ मा भूमिगत रहने विद्युतगृहबाट अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३, दानामा रहेको सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान हुने बताइएको छ । 

म्याग्दीमा हुने गण्डकी प्रदेशस्तरीय भलिबलको ट्रफि सार्वजनिक

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ । आगामी असार ७ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताका बारेमा बिहिबार जिल्ला खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिकी कार्यवाहक अध्यक्ष दिलकुमारी खत्रीले ट्रफि सार्वजनिक गर्नुभएको थियो । प्रमुख अतिथि खत्रीले प्रतियोगितामा सहभागि हुन आउने खेलाडी, अफिसियल सहितको टोलीलाई स्वागत तथा खेलअवधिभर कुनैपनि अभाव हुन नदिन अनुरोध गर्नुभएको थियो ।

प्रमुख अतिथि खत्रीले प्रतियोगिताले जिल्लाका भलिबल प्रतिभाको पहिचान तथा खेल पर्यटनमार्फत प्रचारप्रसार हुने बताउनुभयो । सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बर्षातको समयमा हुने खेललाई सफल बनाउन आयोजकको सक्रियता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द सुबेदी, जिल्ला खेलकुद विकास समिति,जिल्ला भलिबल संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताका बारेमा जिल्ला भलिबल संघका अध्यक्ष एवम् प्रतियोगिता संयोजक तेजेन्द्र बानियाँले प्रकाश पादैं जिल्लामा हुने प्रदेशस्तरीय प्रतियोगिताले खेल पर्यटनमा अतुलनीय योगदान दिने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जिल्लामा खेलकुदका प्रतिभालाई आवश्यक सुविधा सहित तालिम तथा प्रतियोगितामा सहभागिता गराउने गरी अगाडी बढेको बताउनुभयो । हरेक विधाका खेलमा म्याग्दीलाई सर्वोत्कृष्ट बनाउने र खेलाडीलाई लक्षित गरी बजेट ब्यवस्थापन गर्ने बताउनुभयो । प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर गरी ८ जिल्लाको सहभागिता हुने छ । प्रतियोगिताको उद्घाटन उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले असार ८ गते गर्ने आयोजकले जनाएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टिमले नगद रु २ लाख, उपविजेताले नगद रु १ लाख तथा तेस्रो हुने टिमले नगद रु ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५–५ हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु ३–३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । हरेक टिममा १२ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक (कुल १४ जना) को सहभागिता रहने छ भने हरेक जिल्लाले तीन जना राष्ट्रि«यस्तरका खेलाडीलाई समावेश गर्न पाउने नियम रहेको छ ।

यूएईमा मृत्यु भएका म्याग्देलीको शब अलपत्र,आफन्तको पहिचान भएन

Two feet of a dead body, with an identification tag. vector drawing. autopsy.

संयुक्त अरब इमिरेट्स (यूएई)मा तीन महिना अगाडी मृत्यु भएका एक म्याग्देलीको आफन्त पहिचानमा हुन सकेको छैन । गत अप्रिल ६ तारिकमा मृत्यु भएका बेनी नगरपालिका वडा नं ६ हेमबहादुर सार्कीको आफन्तको पहिचान नहुदाँ नेपाल पठाउन समस्या भएको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले बताउनुभयो । ‘मृत्युको कारण पहिचान हुन सकेको छैन, नेपाली दुताबासबाट खवर आएपछि मात्रै हामीलाई जानकारी भयो’ अध्यक्ष राम्जालीले बेनीअनलाइलाई भन्नुभयो ।
रोजगारीको शिलशिलामा कहिले युएई पुगेको, कुन अस्पतालमा छ भन्ने जानकारी दुतावासलाई रहेको छ ।

मृतककको पासर्पोटमासम्पर्क ब्यक्तिको नाम निरमीत सार्की रहेको मोना यूएईका सल्लाहकार राम गिरीले बताउनुभयो । मृतकको आफन्तको पहिचान तथा नेपालबाट आवश्यक कागजात नपुगेसम्म शब ल्याउन कठिनाई हुने भएकाले आवश्यक पहल गरिदिन मोना युएईका महासचिव काजीमान बुढाथोकीको भनाई छ । नेपाली दुतावासले म्याग्दी सहित नुवाकोटको रोमबहादुर कामीको समेत नेपालीमा रहेका आफन्तको खोजी गरिरहेको छ ।

यसैबीच बेनपा ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँले मृतकको आफन्तको खोजीकार्य भइरहेको बताउनुभयो । वडा अध्यक्ष बानियाँले आफन्तको पहिचान भएपछि शब नेपाल ल्याउन कानुनी प्रक्रिया सहित अन्तेष्टीमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

विद्योदय आविमा साइबर अपराध, लागूऔषध र बालविवाह रोकथाम कार्यशाला

बेनी नगरपालिका -१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयमा साइबर अपराध, लागुऔषधको दुर्व्यसन तथा बालविवाह रोकथामसम्बन्धी विहिवार एकदिवसीय चेतनामूलक कार्यशाला सम्पन्न भएको छ। विद्योदय बालक्लबको आयोजना र प्रहरी चौकी पाखापानी म्याग्दीको समन्वयमा कार्यशाला सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा सहभागी प्रहरी बरिष्ठ हवलदार याम बहादुुर थापाले साइबर अपराध, लागुऔषधको दुर्व्यसन र बालविवाहका सामाजिक, मनोवैज्ञानिक र कानुनी पक्षबारे प्रशिक्षण दिनुभयो । उहाँले साइबर अपराधको परिभाषा दिँदै भन्नुभयो, “कम्प्युटर, इन्टरनेट र मोबाइल प्रविधिको दुरुपयोग गरी हुने आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ।” नेपालमा फेसबुक ह्याक, अश्लील सामग्री प्रसारण, ठगी, धम्की, गोप्य सूचना चोरी, अनलाइन ठगीजस्ता घटनाहरू बढ्दो क्रममा रहेको उहाँको भनाइ थियो।

साइबर अपराधबाट जोगिन बलियो पासवर्ड प्रयोग गर्न, अनजान व्यक्तिसँग व्यक्तिगत विवरण साटासाट नगर्न र सामाजिक सञ्जालको सचेत प्रयोग गर्नुपर्ने सुझाव उहाँले दिनुभयो। साथै, बिधुतीय अपराध ऐन २०६३ अन्तर्गत साइबर अपराध गर्ने जो–कोहीलाई जरिवाना वा कैद हुने कानुनी व्यवस्था रहेको जानकारी पनि गराउनुभयो।

त्यस्तै, लागू औषधको प्रयोग विशेष गरी किशोर–किशोरीमा तीव्र रूपमा फैलिरहेको भन्दै उहाँले यसको कारणले मानसिक, शारीरिक, पारिवारिक र सामाजिक क्षति र्पुयाउने खतरा औंल्याउनुभयो। “विद्यालय वरपर समाजमा लागू औषधको पहुँच बढ्दै गएको छ, यसबाट जोगिन अभिभावक, शिक्षक र समुदाय सबैले मिलेर सचेतना फैलाउन जरुरी छ,” उहाँले भन्नुभयो।

बालविवाहसम्बन्धी जानकारी दिँदै अर्का सहजकर्ता प्रहरी जवान राम बहादुर बुुढाले बालविवाहले बालबालिकाको शिक्षामा बाधा पुग्ने, स्वास्थ्यमा समस्या ल्याउने र भावी जीवनमा असमानता तथा हिंसा निम्त्याउने हुँदा त्यसको रोकथाम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले २० वर्ष नपुगी विवाह गर्न वा गराउन नपाइने र उल्लंघन गरे कानुनी कारबाही हुने प्रस्ट पार्नुभयो।

कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तथा सुुचना अधिकारी अमृता जिसी रोकाले किशोर अवस्थामा प्रविधिको गलत प्रयोग, लागू औषधको दुव्र्यसन र बालविवाहले विद्यार्थीको भविष्य अन्धकारमय बनाउने हुँदा यस्ता कार्यक्रमले सचेतना फैलाउने र अपराध न्यूनीकरणमा टेवा र्पुयाउने बताउनुुभयो ।

बाल क्लब अध्यक्ष तथा कक्षा ८ की छात्रा सुुप्रिया पाइजाले सहभागीको तर्फबाट धारणा राख्दै भन्नुुभयो–“हामीलाई साइबर अपराध, लागू औषध र बालविवाहबारे धेरै जानकारी थिएन, तर यो कार्यक्रममा सहभागी भएर थुप्रै कुरा बुझ्न पाइयो। अब हामी सचेत भएर व्यवहार गर्नेछौं।” कक्षा ६ देखि ८ सम्मका करिब ४० जना विद्यार्थीहरू सक्रिय सहभागितासहित उपस्थित कार्यक्रमकोे सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख तथा शिक्षक सुजन पुनले गर्नुभएको थियो। विद्यालयले यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।

रघुगंगा गाउँपालिकाको बजेट ५० करोड

म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभा ५० करोडको बजेट पारित भएको छ । बिहिबार आयोजित गाउँसभामा अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार ८ सय २० रुपैयाँको बजेट पारित भएको हो ।

गाउँपालिका उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तीन करोड ६० लाख प्रस्ताव गरेकी थिइन् ।

संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक आय गरी उक्त बजेट ल्याएको उपाध्यक्ष पुनको भनाई छ । रघुगंंगा गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत महिलालाई उद्योग दर्ता निशुल्क, कृषिका साम्रागी खरिदमा ७५ प्रतिशतसम्म अनुदान, पशुपालन, पर्यटन, विकास निर्माण, शिक्षालाई गुणस्तरीय बनाउने विभिन्न कार्यक्रमहरुमार्फत स्वरोजगारमुलक गतिविधिलाई प्राथमिकता दिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन, वडा कार्यालयको भबन, उद्यमशिलता, बेरोजगारलाई रोजगारमुलक कार्यक्रमहरुका साथै किसानको बर्गिकरण गरी परिचय पत्र वितरण समेत गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । गाउँपालिकाले चालु खर्चतर्फ ३७ करोड ६७ लाख ६० हजार आठसय २० र पुँजीगततर्फ १२ करोड ४३ लाख ८० हजार बजेट प्रस्ताव गरिएको छ ।