Saturday, June 28, 2025
23.4 C
Beni
23.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 35

ईश्वरी कर्माचार्यका दुई कृति लोकार्पण 

जयराम बिडारी लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचनमा प्रतिनिधिमूलक प्रतिरोधी स्वरहरू गुन्जिए भने वरिष्ठ नागरिक ईश्वरी कर्माचार्यका दुई कृति ‘गङ्गाजल’ र ‘प्रत्यागत’ लोकार्पण गरिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट प्राज्ञ परिषद् सदस्य एवम् मूर्धन्य साहित्यकार डा. कृष्णराज अधिकारीले ‘हरेक लेखकले किन लेख्ने, कसका निम्ति लेख्ने, कसरी लेख्ने र कुन विधा लेख्ने भन्ने कुरामा लेख्नु अगावै प्रस्ट हुनुपर्ने बताए । उनले भाव, कल्पना, विम्ब, प्रतीक, अनुभूतिको बेजोड सङ्गम बनाउन साधनाको दरकार हुने तर्क गरे ।

लेखनले समाजलाई अग्रगति दियो भने त्यो उत्कृष्ट र कालजयी हुने उनको कथन थियो । कृतिबारे टिप्पणी गर्ने सिलसिलामा प्रगतिवादी सर्जक तथा समालोचक डा. हरिप्रसाद सिलवालले कर्माचार्यको उपन्यास ‘प्रत्यागत’को मुक्तकण्ठले प्रशंसा गरे । उनले माटोको प्रेम र रागात्मक प्रेमलाई दुई भागमा विभक्त गर्दै यसमा दुवै कुरा समेटिएको बताए । रागात्मक प्रेममा विफल पात्र देशप्रेममा भने निकै सफल भएको टिप्पणी गरे ।

सामान्य त्रुटिलाई सामान्यै रूपले अर्थ्याउनुपर्ने भन्दै पुस्तकको सन्देश असामान्य र उच्चस्तरको भएको जिकिर गरे । कर्माचार्यकै अर्को कृति ‘गङ्गाजल’को परिचर्चा गर्दै नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा प्रगतिवादी साहित्यकार दिल पौडेलले पुस्तकमा समेटिएका कतिपय विषयले समाजलाई दिग्भ्रमित गर्न सक्ने भन्दै अन्य विषय समुचित भएको बताए ।

उनले अनुक्रममा राखिएका हरेक शीर्षकको साङ्गोपाङ्ग शल्यक्रिया गरे । लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले विधागत रचना वाचन गरिने मासिक कार्यक्रममा यो पटक ‘प्रतिरोधी स्वरहरू’लाई समेटिएको बताए । यसमा सहभागी हुन हेटौंडा र रौतहटबाट पनि कविहरू सम्मिलित भएकोमा कविहरूप्रति कृतज्ञता ज्ञापन गरे । पाँच जना कविले तीन करोड नेपालीको आवाज प्रतिनिधित्व गर्ने दाबी गर्दै समाजको रूपान्तरणको माहोल यस्तै जागरण कविताबाट सम्भव हुने तर्क गरे ।

कृतिकार ईश्वरी कर्माचार्यले आफूले ७६ वर्षको उमेरबाट सिर्जनात्मक कर्मको प्रारम्भ गरेको भन्दै यसबाट अन्य तन्नेरीहरूले पाठ सिक्नुपर्ने धारणा राखे । उनले थपे- ‘सम्भवतः मेरी कान्छी श्रीमतीसँग सम्बन्धविच्छेद नभएको भए म यस कर्ममा संलग्न नहुन पनि सक्थेँ होला । यसर्थ उनी पनि मेरो सिर्जनशील कामको नकारात्मक प्रेरक हुन्’, उनको प्रस्टोक्ति थियो । उपस्थित पाहुनाहरू, परिवारजन र लोमश वाङ्मयप्रति उनी बेसी नै अनुगृहीत भए ।

प्रकाशक मित्र प्रेसका सञ्चालक उत्तमकुमार श्रेष्ठलाई पनि कर्माचार्यले आभार प्रकट गरे । ‘प्रतिरोधी स्वरहरू’ अन्तर्गत विशेष कविका रूपमा निम्त्याइएका कविहरू केशव सिलवाल, यश लामा, शोभा दुलाल र दिल पौडेलले समाजलाई सकारात्मक रूपान्तरण गर्न ऊर्जा थप्ने प्रगतिवादी कविता वाचन गरे भने पुरूषोत्तम आचार्यले भने छन्दोबद्ध कविता मात्र वाचन गरेनन् बरू एउटा जनश्रमिक उत्थानको गीत पनि गाए ।

कार्यक्रममा कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, खुसीराम डौलिया, सञ्जय सोती, बलराम विष्ट, गोपालकृष्ण अधिकारी, हरिप्रसाद घिमिरे, तीर्थराज अधिकारी, सुगीता शाह, समाश्री, गोमा चालिसे, दिलकुमारी डङ्गोल लगायतका डेढ दर्जन सर्जकले आआफ्ना रचना पस्केका थिए ।

यसरी नै समारोहस्थल प्रारम्भ वर्ल्डका झन्डै एक दर्जन बाल स्रष्टाले ‘आमा’लाई केन्द्रविन्दुमा राखेर रचिएका आआफ्ना सिर्जना वाचन गरे ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष उत्तमकुमार कर्माचार्य, कर्माचार्य सेवा समाजका महासचिव मिलन कर्माचार्य तथा सञ्चारकर्मी उत्तमकुमार श्रेष्ठ लगायतका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूले कृति सफलता तथा थप कृति बजारमा ल्याउन शुभाशिष् अर्पण गरेको सो कार्यक्रममा लोमश वाङ्मय प्रतिष्ठानकी सदस्य तथा गजलकार अप्सरा के.सी.ले उपस्थित अभ्यागतहरूलाई स्वागत गरेको उक्त कार्यक्रमको सहजीकरण सचिव नवीन पल्लवले गरेका थिए भने फेसबुक लाइभ प्रतिष्ठानकै अर्का सदस्य तथा गीतकार अनुप खनालले गरेका थिए ।

दानामा बससँग ठोकिँदा मोटरसाइकद चालकको ज्यान गयो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा मुस्ताङ तर्फ जादै गरेको बससँग ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ग १६ प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग २ ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्ला पर्सागढी नगरपालिका–५, का २१ वर्षीय फरमुला मियाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । मृतक फरमुला मियाँ दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएको खुलेको छ ।

मोटरसाइकल मर्मत केन्द्रमा कार्यरत मिस्त्रीले सडकमा मर्मतपछि चेकजाँच गर्दा तिब्र गतिमा सवारीसाधन चलाउने गरेको पाइन्छ ।घटनास्थलमा प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा पुगेको प्रहरीको टोलीले थप अनुसन्धानका लागि बस चालक मुस्ताङको थासाङ गाउँपालिका २ बस्ने ३६ बर्षिय कुल बहादुर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

म्याग्दीको धार्मिक पर्यटनमा सघाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटनका लागि पूर्वाधार विस्तारमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञमा आउनुभएका मुख्यमन्त्री पाण्डले धार्मिक स्थलको प्रवद्र्धनका लागि पूर्वाधार आवश्यक रहेकाले सडक, धार्मिक पर्यटनसँग सम्बन्धित क्षेत्रमा सघाउने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य मुक्तिनाथ, कालीगण्डकी, देवघाट, त्रिवेणीधाम, दामोदरकण्ड जस्ता प्रसिद्ध धार्मिकस्थलहरु रहेको बताउँदै त्यस क्षेत्रमा रहेका अन्य धार्मिक क्षेत्रको प्रर्बधनमा समेत सक्रिय हुने बताउनुभयो । धार्मिक तथा पर्यटकीय हिसाबले यस प्रदेशमा धेरै सम्भावना रहेकाले धार्मिक पर्यटनमार्फत समृद्ध हासिल गर्न सकिने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई पर्यटकीय केन्द्र बनाउनका लागि निरन्तर काम भइरहेको भन्दै अब धार्मिकस्थलसँग पर्यटकलाई जोड्न त्रिवेणीधामदेखि मुक्तिनाथसम्मका विभिन्न स्थानमा धार्मिक संरचना निर्माण गर्ने बताउनुभयो । पश्चिम नेपालमै पहिलो पटक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा गएको बैशाख १५ देखि सुरु भएको महायज्ञमा ३० गतेसम्म संचालन हुनेछ।

महायज्ञमा आइतबारसम्म १ करोडभन्दा बढी नगद संकलन भएको छ भने मन्दिर, गौसला तथा प्राकृतक आयूवेर्दिक चिकित्सालयका लागि स्थानीयबासीले जग्गा दान समेत गरेको वडा सदस्य चन्द्रकान्त रिजालले बताउनुभयो ।

महायज्ञमा सदरमुकाम बेनी, छिमेकी बागलुङ, पर्वत तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने ज्यामरुककोटबासी पुग्नुभएको थियो। पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा प्रमुख वाचक आचार्य श्रीसुदर्शन बडालले गर्नुभएको छ ।

गौश्वरा गोवद्र्धन गौ धाम समितिका अध्यक्ष डम्बरबहादुर खत्री, महायज्ञ सम्पादन समितिका संयोजक तथा बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर क्षेत्री, आर्थिक संयोजक पुर्व वडा अध्यक्ष हिरा बहादुर थापा सहित स्थानीयको सक्रियतामा सुरु भएको महायज्ञबाट संकलित आर्थिकबाट तत्कालै भौतिक संरचना निर्माण सुरु गरिने छ ।

महायज्ञमा क वर्गको सदस्यताका लागि रु सातलाख ५५ हजार पाँच सय ५५ सेवाशुल्क तोकिएको छ भने उक्त सदस्यता जम्मा एक जनालाई मात्र वितरण गरिने छ ।त्यसैगरी ख वर्गको सदस्यताका लागि रु पाँचलाख ५५ हजार पाँचसय ५५ निर्धारण गरिएको छ । उक्त सदस्यता दुईजना दाताले प्राप्त गर्न सक्नुहुने छ ।त्यसैगरी पाँच जनालाई ग वर्गको सदस्यता वितरण गरिने छ ।

जसको शुल्क रु तीन लाख ५५ हजार पाँच सय ५५ रहेको छ। ११ जनालाई वितरण गरिने घ वर्गको सदस्यता शुल्क रु दुईलाख ५५ हजार पाँच सय ५५,१५ जनालाई दिइने ङ वर्गको सदस्यता शुल्क रु एकलाख,५५ हजार, पाँच सय ५५, च वर्गको सदस्यताका लागि रु ५५ हजार,पाँच सय ५५ र छ वर्गको सदस्यताका लागि रु २५ हजार,पाँचसय ५५ शुल्क निर्धारण गरिएको छ । च वर्गको सदस्यता ३५ जना र छ वर्गको सदस्यता १०८ जनालाई वितरण गरिने छ ।

बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमामहायज्ञमा वचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला, बहुउद्धेश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने छ । आगामी बैशाख ३० गतेसम्म हुने गोवर्धन बिराट महायज्ञमा जिल्लामा क्रियाशिल संघसंस्थाले समेत सामुहिक दान गरेका छन ।

गूर्जामा म्याग्दी जेसीजको पहिलो कार्यक्रम, पर्यटन, शिक्षा र यूवा सशक्तीकरणमा सघाउने

म्याग्दीको धवलागिरी गाउँपालिका-१,गुर्जामा म्याग्दी जेसीजले पर्यटन प्रवद्र्धन, युवा सशक्तिकरण कार्यक्रम गरेको छ । जिल्लाको अति विकट मानिने गूर्जामा पर्यटन सूचना बोर्ड स्थापना गरिएको छ ।

यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास सँगै पर्यटन प्रर्बधनको क्षेत्रमा समेत सक्रिय रहेको म्याग्दी जेसीजले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी तस्वीर, भिडियो खिचाएर थप प्रचारप्रसारमा सघाउन गाउँको प्रवेशमा रहेको डाँडामा उक्त बोर्ड स्थापना गरिएको शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीले बताउनुभयो ।

सोही अवसरमा स्थानीय युवा क्लबलाई भलिबल, बास्केटवल, जाली,पम्प लगायतका खेलकुदका सामाग्री समेत हस्तान्तरण गरेको थियो ।जेसीजले लायन्स क्लब अफ बेनी पिस सिटीसंगको सहकार्यमा गुर्जामा रहेको जनकल्याण माविमा रहेको पुस्तकालयको लागि विभिन्न ५ दर्जन पुस्तकहरु समेत उपलब्ध गराएको थियो ।

म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष बिरेन्द्र श्रेष्ठले दुर्गम क्षेत्रका विद्यालयमा अगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

म्याग्दी जेसीजको टोलीले विद्यालयमा मर्मतसम्भार गर्नुपर्ने कम्प्युटरको मर्मत समेत गरेको म्याग्दी जेसीजका महासचिव देबेन्द्र घिमिरेले बताउनुभयो । सोही अवसरमा यूवाहरु लक्षित क्षमता विकास तालिम नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवं म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, शाखाका पूर्व अध्यक्षहरु खम थापा, विरेन्द्र श्रेष्ठ, सुमन बानियाँ लगायत म्याग्दी जेसीजका अन्य पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो । वडा अध्यक्ष झक छन्त्यालले धन्यबाद दिनुभयो ।

म्याग्दीमा लुकेको बस्तीको रुपमा चिनिएको गुर्जाको पर्यटन प्रर्बधनमा म्याग्दी जेसीजको यो पहिलो कार्यक्रम हो । शाखा अध्यक्ष घर्ती क्षत्रीले आफ्नो कार्यकालमा दुर्गम क्षेत्रका यूवाहरुलाई समेत जोड्ने गरी खुल्ला सदस्यताका साथै विभिन्न रचनात्मक कार्यहरुलाई प्राथमिकता दिनुभएको छ ।

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दी पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।  आइतबार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई गण्डकी प्रदेशमा यसवर्ष पनि पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो ।

बच्चा जन्मेदेखि १५ महिनासम्मका १२ सय ३५ जनाले नियमित खोप लगाइरहेका छन्भने १६ महिनादेखि २७ महिनासम्मका ३ सय ६३ र १६ देखि ५९ महिनासम्मका ३२ सय ८८ जना बालबालिकाहरु सबैले पूर्णखोप पाएको सुनिश्चिता गर्दै म्याग्दीलाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धतासहित पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको छ ।

बालबालिकाहरुले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न १४ प्रकारका खोपहरु पाएका छन् । जन्मेदेखि १५ महिना भित्रका बालबालिकाहरु सबैले हाल नियमित रुपमा खोप लगाइरहेका छन् ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएको उमेर समूहका बालबालिकाहरु सबैले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रिया पुरा गरी जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले बताउनुभयो ।

उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, धनुष्टङ्कार, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १४ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

जिल्लाको सम्पूर्ण घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो ।

एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा यसअघि वडा तथा पालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको जिल्लाको रुपमा घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यक्रमको अवसरमा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने अभियानमा खटिएका स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्थाहरु र पत्रकार महासंघलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा लामो समयसम्म सेवा गरेकोमा पालिकाअनुसार विभिन्न ६ जना महिला स्वयंसेविकालाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी प्रदेश खोप समन्वय समितिको तर्फदेखि म्याग्दीलाई पूर्णखोप सुनिश्चितता घोषणा भएको तथा दिगोपना कायम राख्नको लागि प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा आगामी दिनमा पनि म्याग्दीलाई पूर्णखोप सुनिश्चित र दिगोपना राख्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरिएको छ ।

पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेशभरी नै म्याग्दीलाई पहिलो पूर्णखोप सुनिश्चित जिल्ला बनाउने अभियानमा खटेका सबैलाई धन्यवाद दिनुभयो । उहाँले मानव जीवनमा सबैभन्दा महत्वपूर्ण स्वास्थ्य भएकाले प्रदेश सरकारमार्फत बजेट विनियोजन गर्ने क्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति युवराज रोका, प्रदेश स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक प्रविन शर्मा, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका खोप अधिकृत एकनारायण लम्साल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आगामी दिनमा पनि जिल्लालाई पूर्णखोप सुनिश्चितता र दिगोपना कायम राख्न निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख ठकुराठीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षता र जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले स्वागत गर्नुभएको कार्यक्रम शाखा अधिकृत अमृत सुवेदीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुले सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरेका थिए ।

यातायात व्यवस्था विभागले अत्यावश्यक पर्नेलाई पनि लाइसेन्स दिन नसक्ने

यातायात व्यवस्था विभागले अत्यावश्यक पर्नेलाई पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिन नसक्ने भएको छ ।

अध्ययन तथा रोजगारी, नेपाली सेना, नेपाल प्रहरी, शान्ति मिसनलगायत कार्यमा खटिन जानेलाई दिने गरिएको लाइसेन्स समेत उपलब्ध गराउन नसकिने भएको विभागले जनाएको छ ।

विभागका अनुसार, गएको बिहीबार (वैशाख २५)देखि लाइसेन्स प्रिन्टिङ प्रणालीमा समस्या आएको छ । उक्त समस्याका आएका कारण अत्यावश्यक लाइसेन्स समेत दिन नसकिने आइतबार विभागले एक सूचनामार्फत जानकारी गराएको छ ।

प्राविधिक समस्या समाधानको प्रक्रिया जारी रहेको र अर्को सूचना प्रकाशन नगरिँदासम्म लाइसेन्स छपाइ बन्द रहने विभागले स्पष्ट पारेको छ । प्राविधिक समस्या समाधान भएलगत्तै पुनः सेवा सञ्चालन गरिने विभागले जनाएको छ ।

शिक्षा मन्त्रालयले रोक्यो दक्षिण कोरियाको एनओसी

 सरकारले दक्षिण कोरियाका लागि जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी) स्थगन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि एनओसी जारी गर्न रोकेको हो । मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले तत्कालका लागि एनओसी जारी गर्न स्थगन गरिएको बताए । कोरियामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले दुःख पाएको गुनासो व्यापक रूपमा आएपछि तत्कालका लागि स्थगन गरिएको उनको भनाइ छ ।

गुनासो आउने थालेपछि परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली राजदूतावाससँग नेपाली विद्यार्थीहरूको अवस्थाबारे जानकारी माग गरेको थियो । त्यसको जवाफमा दूतावासले नेपाली विद्यार्थीको अवस्था र उनीहरूले पाउने डी–२ र डी–४ भिसाका विषयमा जानकारी गराएको थियो ।

दूतावासले कोरियामा दिनानुदिन नेपाली विद्यार्थीहरू समस्याग्रस्त हुँदै गएको जनाएको छ ।

विषेशगरी कोरियामा अण्डरग्रेजुएट अध्ययनका लागि जाने विद्यार्थीहरू डी–२ र डी–४ भिसामार्फत जाने गरेका छन् । डी–२ भिसामा आउनेहरू कोरिया पुगेर सिधै आफूले पढ्न चाहेको विश्वविद्यालय र कोर्समा भर्ना हुने गरेको दूतावासले जनाएको छ । तर, विद्यार्थीलाई कन्सल्टेन्सीहरूले जाने वित्तिकै अवैधानिक रूपमा भएपनि काम गर्न पाइन्छ भनेर आश्वासन बाँड्ने गरेको र विद्यार्थीहरू पढाइभन्दा काममा बढी फोकस हुने गरेको दूतावासको भनाइ छ ।

सोचेअनुसार नभएपछि मानसिक तनाव र समस्यामा पर्ने गरेका छन् । डी–४ भीषामा जाने विद्यार्थीहरू कोरिया प्रवेश गरेपछि ६ महिनादेखि एक वर्षसम्म भाषा अध्ययन गर्ने गर्दछन् ।

त्यसपछि डी–४ बाट डी–२ भिसामा जानका लागि अर्को विश्वविद्यालयमा आवेदन दिनुपर्ने हुन्छ । यसरी अर्को विश्वविद्यालयमा आवेदन गर्दा विद्यार्थीहरूले कालोसूचीमा रहेका विश्वविद्यालयहरूमा आवेदन गर्ने, क्रेडिट आवर कम भएका विश्वविद्यालयमा आवेदन दिने गरेको दूतावासले जनाएको छ ।

डी–४ भिसामा कोरिया प्रवेश गर्दा भाषा अध्ययन सकेपछि कुन विश्वविद्यालयमा भर्ना हुने भन्ने कुरा नेपालबाट कन्सल्टेन्सीहरूले सुनिश्चित नगरीकन, आउनेविक्तिकै काम गर्न पाउने र पैसा यथेष्ट कमाउने झुटो आश्वासन लिएर पठाउने गरेको पाइएको छ ।

कन्सल्टेन्सीहरूले विद्यार्थीहरूको ब्रेन वास गरेर अवैधानिक तरिकाले भएपनि कोरियामा काम गर्न पाइन्छ भनेर ‘कोरियाली सपनाको व्यापार’ गर्ने गरेको समेत दूतावासले जनाएको छ ।

डी–४ भिसाको नाममा अत्यधिक रकम असुली गर्ने, एउटै कामका लागि ३४ पटकसम्म पैसा उठाउने, कोरियामा भएका एजेन्ट मार्फत कोठा खोजिदिने लगायत विभिन्न बहानामा फेरि पनि पैसा लिई लुट धन्दा नै चलाउने गरेको भनि समस्यामा परेका विद्यार्थीहरूबाट दैनिक रूपमा गुनासो आउने गरेको दूतावासले जनाएको छ ।

दूतावासले नेपाली विद्यार्थीले दुःख पाइरहेको भन्दै परिपत्र गरेपछि शिक्षा मन्त्रालयले एनओसी जारी गर्न स्थगन गरेको हो ।

पर्यटकको पर्खाइमा गुर्जाको तास्नाधुरी

धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ ।

गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताउनुभयो । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । “पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन”, उहाँले भन्नुभयो, “दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सकेमा बसाइ लम्ब्याउन सकिन्छ ।”

गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुुर्जा गाउँको शिरमा भिरालो पाखोमा तास्नाधुरी अवस्थित छ । तास्नावरपरको पाखामा वसन्तयाममा गुराँस र बर्खामा बुकी फुलेर रङ्गिन्छ । तास्नाको बुकीपाटन घरपालुवा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्ने चरन खर्क हो ।

हालै गुुर्जा घुुमेर आउनुभएका बेनीका नारायण शर्माले हिमाल हेर्दै हाइकिङ गरेर तास्नाधुरी पुग्दा उकालो यात्राको थकान भुुलाएको अनुुभव सुनाउनुभयो । डाँडामा बसेर पृष्ठभूमिमा हिमाललाई नजिकबाट नियाल्न पाउँदा मन प्रफुल्ल भएको उहाँले बताउनुभयो । प्रकृतिसँग रमाउन तास्नाधुुरी उपयुक्त गन्तव्य भएको शर्माको अनुभव छ ।

गुर्जामा पाहुनाको बसाइ लम्ब्याउन तास्नाधुरीलाई सहायक गन्तव्यका रूपमा विकास गर्न पूूर्वाधार निर्माण थालिएको छ । वडाध्यक्ष झक छन्त्यालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट गुुर्जाको नाइलीबारीबाट तास्नाधुरी जोड्ने पदमार्ग निर्माण गरिएको बताउनुभयो ।

बीस जना बेरोजगार युवायुवती परिचालन गरेर तीन किलोमिटर पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ । गोठला र स्थानीयवासीले घाँस, दाउरा गर्न तास्नाधुरी जावतजावत गर्न प्रयोग गरेको परम्परागत बाटोलाई स्तरोन्नति गरेर पदमार्ग बनाइएको हो । माटो काट्ने र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पदमार्ग बनेपछि भिर र पाखोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने तथा बाटो बिराउने समस्या हटेको छ, यात्रा सुरक्षित भएको छ ।

बिचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा, चुरेन हिमालको आधार, डोल्पा र पूर्वीरुकुम जान सकिन्छ । रासस

डरलाग्दो भिरमा स्थानीयले बनाए पदमार्ग

म्याग्दीको मालिका गाउँपालिका–३, सिउदीभिरदेखि औल जाँदा स्थानीयले जोखिम मोलेर भीरमा यात्रा गर्नुपर्ने बाध्यता थियो। पैदलमार्गमा घाँस समाउँदै ज्यानको बाजी राखेर हिँड्नुपर्ने बाध्यताको अन्त्य स्थानीयले पदमार्ग निर्माण गरेपछि हटेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जोखिमपूर्ण भिर थिचोल्दै सिउदीभिर–डाँडागाउँ औलसम्म फराकिलो मापदण्डअनुसारको पदमार्गमा ३ सय मिटर सोलिङ गरी सुख्खा पर्खाल बनाएर १ सय २ सिँढी बनाएसँगै स्थानीयलाई निकै सहज भएको उपभोक्ता समितिका अध्यक्ष रेमन पुनले बताउनुभयो । ‘अब बालबालिका पनि सहजै हिड्न सक्छन्, थोरै बजेटबाट हामीले पदमार्ग नै बनाएका छौ’ अध्यक्ष पुनले भन्नुभयो ।

पाँच लाख ६७ हजारको लागतमा डाँडागाउँको सिउदीभिरदेखि औलसम्म १.५ मिटर चौडाईमा निर्मित नयाँ पदमार्गले आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाएको अध्यक्ष पुनको भनाई छ जोखिमपूर्ण बाटोबाट पैदलयात्रासँगै घाँसदाउरा गर्न समेत स्थानीयलाई सकस हुने गरेको थियो ।

पदमार्ग निर्माण क्रममा भिर काट्ने, सुख्खा पर्खाल लगाउने, सोलिङ्ग तथा सिँढी निर्माणजस्ता कठिन कार्यहरूमा स्थानीयको सक्रियताबाट सम्भब भएको पालिकाका रोजगार सहायक मिलन सुवेदीले बताउनुभयो । कठिन भूगोलमा जोखिम मोलेर स्थानीयले बाटो बनाएपछि गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले समेत धन्यवाद दिदैं सिमित स्रोतसाधनबाट भएको कामको प्रंशसा गर्नुभएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट मालिकामा दुई सय बढी रोजगार

पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित १४ वटा रोजगार योजनाबाट दुईसय १० जना स्थानीयले रोजगारी पाएका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट प्राप्त रु ५३ लाख ७४ हजार बजेटबाट पालिकाका सातवटै वडामा विभिन्न १४ वटा योजना सञ्चालन गरिएको र ती योजनहरुमा दुईसय १० जना स्थानीयले रोजगारी पाएका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

योजना कार्यान्वयनका लागि सबै योजनाका रोजगार उपभोक्ता समिति गठन गरी योजना सञ्चालन गरिएको उहाँको भनाइ रहेको छ ।

रोजगार कार्यक्रम मार्फत पदमार्ग निर्माण, मर्मत सम्भार, गोरेटो बाटो र सार्वजनिक शौचालय निर्माण लगायतका योजनाहरू निर्माण भइरहेका छन् । सञ्चालनमा रहेका ती योजनाहरुमा स्थानीयले न्यूनतम एकसय दिन रोजगारी प्राप्त गर्ने अध्यक्ष गर्बुजाले बताउनुभयो । रोजगार कार्यक्रममा सहभागि स्थानीयलाई तालिम र सुरक्षा सामग्री समेत प्रदान गरिएको छ ।

रोजगार कार्यक्रमअन्तर्गत पालिकाको वडा नम्बर ७ बिममा नरालेदेखि बिम्बाङ्गसम्म र वडा नम्बर ३ सिउदीभिर–औल पदमार्ग निर्माण सम्पन्न गरिएको पालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि सर्वसाधारणहरूलाई आवतजावत गर्न सहज भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा पालिकालाई प्राप्त भएको बजेट मध्य रु पाँच लाख ६७ हजारको लागतमा डाँडागाउँको सिउदीभिरदेखि औलसम्म तीन सय मिटर पदमार्ग निर्माण गरिएको गाउँपालिकाका रोजगार सहायक सुवेदीले जानकारी दिनुभयो । भिर काट्ने, पर्खाल लगाउने, सोलिङ र ढुङ्गाको सिँढी लगाएर पदमार्ग निर्माण गरिएको उहाँले बताउनुभयो । पदमार्ग निर्माण गरिएपछि वडावासीलाई आवतजावतमा सहज भएको उहाँले बताउनुभयो ।

यसैगरी, चार लाख १४ हजार रुपियाँ लागतमा बिम नरालेदेखि बिम्बाङ्ग सम्म एक सय ४२ मिटर नयाँ पदमार्ग र तीन सय ५० मिटर पदमार्ग मर्मतसम्भार गरिएको छ ।

चालु आर्थिक वर्षमा विनियोजन भएका विभिन्न १४ वटा योजना मध्य तीन वटा योजना सम्पन्न भएको र अन्य योजनाहरू निर्माणको अन्तिमचरण पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले बताउनुभयो । योजना कार्यान्वयनका लागि प्रत्येक वडामा गठन भएका रोजगार उपभोक्ता समितिहरू सक्रिय भएको उहाँले बताउनुभयो ।