Saturday, June 28, 2025
25.9 C
Beni
25.9 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 36

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ। पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो। पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ।

विसं २०७७ कात्तिक २७ गते सडक डिभिजन कार्यालयले रु सात करोड ६६ लाखमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। विसं २०७९ फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकामा तीन वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो। पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए।

नवनिर्मित पुल मालारानीबाट राजकुट–हर्पे–देवीस्थान रोल्पा–रुकुम–जाजरकोट आवागमन सहज भएको छ।  स्थानीय प्रेमबहादुर केसीले बडिगाडखोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए। गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरे पनि अब डोकोमा बोकेर बजार पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए।

पोखरा स्पोर्टस् अवार्डमा अरुणाको ह्याटिक

पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही तिनपटक उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाहीले बि.स २०७३ सालमा पहिलो उत्कृष्ट अवार्ड जित्नुभएकोमा बि.स ०७८ मा दोस्रो र यसपटक सम्पन्न नवौं पोखरा स्पोर्टस् अवार्डमा समेत अवार्ड जित्दै ह्याटिक गर्नुभएको हो ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न २०७२ सालदेखि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित हुनुभएको थियो ।

वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान प्राप्त गर्नुभयो । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्ले निवासी शाहीको कप्तानीमा भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा अरुणाको कप्तानीमा नेपाली महिला टोलीले भारतमाथि निकालेको थियो ।

२०८१ सालमै नेपालमै पहिलो पटक भएको महिला भलिबल लिगमा चितवन शक्तिको मार्की खेलाडीमा छनौट हुनुभएकी अरुणको कप्तानी नेपाली महिला भलिबलका लागि स्वर्णिम मानिन्छ ।

अरुणाले कप्तानी सम्हाल्नु अगाडी कमजोर रहेको नेपाली महिला भलिबलले अन्तराष्ट्रिय उपाधी सहित भलिबल खेलमा चमत्कारी नतिजा निकाल्न सफल भएको छ ।

सेन्ट्रल एसियन जोन काभा महिला भलिबल लिग सहित विभिन्न खेलहरुमा नेपालको उपस्थितीलाई बलियो दाबेदार सहित उपाधी समेत दिलाउन सफल अरुणालाई नेपाली महिला भलिबलमा सर्वाधिक सफल कप्तानको रुपमा हेरिन्छ । अहिले महिला भलिबलमा नेपाल दक्षिण एशियाली राष्ट्रमा बलियो पोजिसनमा छ भने सार्क राष्ट्रमा भारतलाई समेत टक्कर दिन्छ ।

अरुणाले कप्तानी सम्हालेपछि नेपाली महिला टोली लयमा रहेको छ जसका कारण अरुणालाई विभिन्न प्रतिस्पर्धाका विधामा समेत भलिबल प्रेमीले अवार्ड जिताउने गरेका छन् ।

रघुगंगा–२, भगवतीमा अवििस्थत मुक्तिधाम माविबाट आफ्नो खेल जीवनको गर्नुभएकी अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका मिलेको थियो । कप्तान शाही गण्डकी विश्वविद्यालयमा स्नातक तह खेलकुद व्यवस्थापन (विएसएम)मा पहिलो व्याचका छात्रासमेत हुनुहुन्छ ।

नर्थ अन्नपूर्ण बेस क्याम्प: चाँदीको हिमालमा सुनको जलप (फोटो फिचर)

  • टिका रेग्मी

यात्रालाई पैतालाको स्वाद मन पर्छ, आत्मालाई साधनाको । हरेक ६ महिना, वर्ष दिनको अन्तरालमा पैतालालाई काउकुती लाग्छ  ।  अनि आँखा हिमालको सामिप्य चाहन्छन् । बिदाहरू क्यालेन्डरबाट निस्किएर हामीसँगै हिमालका फेदीतिर दौडिरहन्छन् । यसपालि मजदुर दिवसको छुट्टीको छेको पारेर हामी अन्नपूर्ण बेस क्याम्प, म्याग्दी जाने भयौं ।

सन् १९५० मा फ्रान्सका नागरिक मौरिस हर्जोगका आँखा र पैतालालाई पनि अन्नपूर्ण हिमालको भोक लागेको रहेछ । लुई लासेनाललाई साथै लिएर हर्जोगले अन्नपूर्ण चढेका रहेछन् (अन्नपूर्ण, मौरिस हर्जोग, १९५१) । नेपालमा हिमाल आरोहणको शृंखला त्यही विन्दुबाट सुरु भएको मानिँदोरहेछ । यसपालि आरोहणको ७५औं वर्षमा हिरक जयन्ती मनाउने तयारी भइरहेको छ ।

हाम्रो यात्राको सुरुवात फरक विन्दुबाट थियो । तर गन्तव्य एउटै । पहिलो दिन म्याग्दीको भुरुङ तातोपानीमा भेट हुने र बास बस्ने सल्लाह थियो । यात्रामा ८ जना थियौं । तातोपानीसम्म व्यवस्थापन मिलाउन बेनीबाट सर्विन्द्र आएका थिए ।

भोलिपल्ट बिहानै तातोपानीदेखि हुमखोला जाने जिप आयो । उसै पनि ५ जनाको सिटमा ८ जना अटाउन सजिलो थिएन । बाटो हेर्दा हिउँद जस्तो लाग्दैनथ्यो । वर्षाका डोबहरू बाटोभरि छुटेका थिए ।

सुरेश दाइ बीचबीचमा ६ महिना अगाडि वर्षायाममा आउँदा पहिरो खसेको, भर्‍याङ राखेर पहिरो काटेको सुनाउँनुहुन्थ्यो ।

छेउको सिटमा बसेर तल हेर्दाको छाँगो होस् वा पछाडि छोडेर आएको, एकोहोरो उकालो चढ्ने, साँघुरो नागबेली, भीरको बाटो होस, हेर्दैमा मुटु चिसो भएर आउँथ्यो । बीचमा नरच्याङ, बेली गाउँ हुँदै  झन्डै दुई घण्टापछि फोर ह्विल लगाएर, दमको बिरामीझैँ सास फुलाउँदै जिपले हुमखोला पुर्‍यायो ।

हुमखोलामा अन्नपूर्ण आधार शिविर पदमार्ग, म्याग्दीका अभियान्ता तेज गुरुङको होटेल रहेछ । यो भन्दा माथि वस्ती भेटिँदैन । पदयात्रा यहींबाट सुरु हुन्छ । निलगिरिखोला हाइड्रोपावरको इन्टेक हुँदै बाटो उकालो लाग्छ ।

गुराँसेडाँडाको उकालो उक्लिसक्दा, गुराँसका थुंगाहरू बोटबाट झर्न तयारझैँ देखिन्छन् । सिजनको अन्तिम-अन्तिम गुराँसका थुँगाहरू मलिन छन् । हुन त, बिदाइ कसलाई पो मिठो लाग्दो हो ?

१५/२० मिनेट ओर्लंर्दैमा पुगिन्छ फुतफुते झरना । खोंचबाट निस्किएर निलो रङको तलाउ बनाएको झरना हेर्दैमा पेन्टिङ जस्तो देखिन्छ ।

छेउमै एउटा टेन्टमा टी सप खुलेको छ । यहाँ खान पाइन्छ, सुत्न पाइँदैन । यो पदयात्राको एउटा भव्य दृश्य, फुतफुते झरना मस्तिष्क र क्यामेरामा कैद गरेर हामी फेरि उकालो लाग्छौँ ।

साधिखार्कमा टेन्ट सहितको आवास र खानाको सुविधा भएको होटेल खुलेको छ । फुतफुतेबाट आधा घन्टामा सजिलै उक्लन सकिन्छ साधिखर्क । साधिखर्कदेखि सुन्दर काठको झोलुंगे पुल तरेर गुफाफाँट उक्लिन्छ ।

चिसो पाखामा प्री-मनसुनले अलिअलि पानी छिट्याउन थालेको छ । झन्डै एक घण्टामा गुफाफाँट आइपुगियो । होचा बुट्यानका पातहरूमा पानीका थोपा ठोक्किएर मिठो संगीत गुन्जिरहेको छ । शान्त,  स्निग्ध । बाटोमा फाटफुट बाहेक यात्रीहरू छैनन् । आत्माशान्तिको लागि साधनामा हिँडेझैँ छ, यो पदयात्रा ।

पारि पहरामा भीरमौरीको गोलो देखियो । प्रशान्तले सोध्यो, ‘हिमालतिर किन अरिंगालका गोलाहरू देखिँदैनन ?’ अर्जुन दाइले जवाफ दिनुभो, ‘अरिंगालहरू यता आए भने मेडिटेसनको लागि लोभिँदा हुन् ।  रिस नभएपछि उनीहरू पनि मौरी जस्तै भई जाँदा हुन्, अस्तित्व सकिने डरले अरिंगालहरू यता नआउने होलान् ।’

पानी मस्तारियो । हाम्रो दोस्रो दिनको गन्तव्य भुस्केटमेला हो । गुफाफाँटबाट भुस्केट पुग्न बाटो उकालो छैन ।  बीचमा कमिलाको गोलोझैँ माथि पहरामा प्वाल-प्वाल देखिने स्काई केभ भेटिन्छ ।

हामी खोला सँगसँगै मुहानतिर लागेका छौँ । एकघण्टा आसपास हिँडाइमै आइपुगियो भुस्केट । बाटोमा जीवन भाइ र म पछाडि छोडियौँ । त्यही मौकामा जीवनले सुनाइरहे, यसरी नै छोडिएको ‘असई सपना’ । भाइले अगाडि थपे, ‘दाइ, नदेखेकै जिन्दगी मिठो हुँदोरहेछ । जसरी हामीले यो ट्रेक आउनु अगाडि कुनै भिडियो नहेर्ने, एकैपटक आँखाले हेर्ने सल्लाह गरेका थियौं । जिन्दगीमा पनि जे आउँछ, जे देखिन्छ, त्यसैमा खुसी हुन आनन्द आउँदोरहेछ ।’

साधिखर्कदेखि माथि मोबाइलको नेटवर्क छैन । माइकल दाइलाई को आउँदैछ भन्ने सूचना आउँदैन । बरु यात्रीहरू नै आइपुग्छन्, अमिलो पोखिएझैँ साँझको रङ हिमालको प्रकाशमा मिसिने बेलातिर । कहिलेकाहीँ तलबाट आउने मान्छेले खबर बोकेर आउँछन्, ‘आज यति जनालाई सुत्ने व्यवस्था मिलाउनू ।’

हामी भुस्केट मेला पुग्यौं ।

फुसफुस गर्दै टेन्टका भित्तातिर कुइरो लटपटिँदै थियो । यो साढे ३५ सय मिटरको उचाइ हो । हावा चलेको बेला त चिसो मुटुमै ठोक्किन्छ । भुस्केट मेलामा माइकल दाइ अर्थात् वीरबहादुर पाइजा मगरको टेन्ट हाउस सहितको होटेल छ ।

एकैछिनमा हावाले हिमालको घुम्टो उघार्‍यो । एकातिर तिलिचो हिमाल देखियो, अर्कोतिर अन्नपूर्ण रेन्जका थुप्रै हिमटाकुरा ।

हामीपछि पनि दुईवटा समूह आइपुग्यो, बास बस्नेगरी । मसिना चामलको भात, डल्ले खुर्सानीको अचार, आलु भुजिया, मिक्स भेज तरकारी, सिमीको दाल र पनिर तावा सहित हाम्रो खाना तयार भयो । माइकल दाइले खाना खुवाउनुभो । टेन्ट न्यानो थियो ।

तेस्रो दिन बिहान साढे दुईघण्टाको बाटो खोलाको तिरैतिर हिड्यौँ । खोलाको मुहान त पञ्जकुण्ड ताल रहेछ, जहाँ हामीलाई पुग्नु थियो ।

सुनखोला आएर पञ्चकुण्ड तालबाट झरेको खोलामा मिसिन्छ । वर्षायाममा तर्नै सकिँदैन भन्ने सुनेको सुनखोलामा पहेंला ढुंगाको रङले सुनको गरिमा त राखेको थियो तर पानी थिएन ।

सुनखोला कटेपछि मसिना लेकका फूलहरू भेटिए । दिपक भाइ गुनगुनायो, ‘रानी फूल बसायो, तिम्रो माया नभाको कहाँ हो र, अरुले फसायो ।’

साढे ९ बजे हामी पञ्चकुण्ड ताल पुग्यौँ । गाढा निलो रङको हिमतालमा अन्नपूर्ण र यसका छिमेकी हिमालहरू ऐना हेरिरहेका भेटिए । हेरेर पनि केही हेर्न बाँकी जस्तो, आत्मा अघाएर पनि आँखा नअघाए जस्तो । अद्भुत, अलौकिक ।

११ बजे आइपासमा मौसम बिग्रियो । हिमाल ढाकियो । प्रदिप दाइ स्थानीय लवजमा जिस्किनुभो, ‘छिरिन-छिरिनमा ढाकिन्छ, छिरिन-छिरिनमा खुल्छ ।’

हामी खाना खाएर टेन्टमा छिर्‍यौँ । बाहिरको हावा बसिसक्नु थिएन । टेन्टको न्यानोमा निदाएर ब्युझिँदा त दिन ढलिसकेछ । साँझको साढे ४ बजेतिर मौसम खुल्यो । चाँदीको हिमालमाथि सुनको जलप थपिएछ । हिमालको स्पष्ट छाया तालमा देखियो । हिमाल लजाइरह्यो, प्रेमीको आँखामा आफ्नो तस्वीर देखेर लजाएकी प्रेमिका जसरी ।

तालको वरिपरि हिँडिरहँदा हरेक थुम्को आसपास हिमालको छाया फरक-फरक देखिन्थ्यो । आँखाले बोल्न जानेनन्, मुस्कुराइरहे । थिएटरमा नाटक हेर्दा दृश्य सकिएपछि पर्दा तानेझैँ, हुस्सुले हिमालको पर्दा तान्यो । अध्याँरोले दिन निल्यो ।

बेलुकीको ९ बज्यो । बाहिरबाट कोही चिच्यायो, ‘खुल्यो, खुल्यो ।’ हो त, हिमाल फेरि हिउँदको सम्झना बोकेर आएछ ।

खुर्पे जुन हिमालको शिरैमा टाँगिएको छ । वरिपरि ध्वजापताकाझैँ  ताराहरू मिलिक-मिलिक  गरिरहेका छन् । हामीले एकै दिनमा हिमालका तीन अवतार देख्यौँ । आत्मालाई शान्त बनायौँ । आँख मा कैद गर्‍यौँ । थोरै सम्झना फोटोमा अटायौँ र सिउसिउ गर्दै टेन्टभित्र छिर्‍यौँ ।

तालको छेवैमा शिव-पार्वतीको मन्दिर छ, नजिकै ढुंगाले बनेको बुद्धको ।

मौरिस हर्जोगले  सुरु गरेको अन्नपूर्ण आधार शिविर थोरै वर सरेको छ । बिहानमा आधा घन्टामै नयाँ आधार शिविर प्रथम पुगिन्छ । पहिरोले पर्वतारोही निलेको पुरानो आधार शिविरमा पुग्दा हामीलाई झन्डै एक घण्टा लाग्यो । हिमालहरू नाकैमा ठोक्किएलान्झैँ नजिक देखिए ।

तालछेउ फर्किएर बिहानको खाजापछि तेस्रो दिन ओरालो झर्ने निधो भयो । ४/५ घण्टामा हुमखोला झरेपछि तातोपानीसम्म जिपमा आजै पुगिन्छ ।

फर्किने बेला छेउको थुम्कोमा बसेर हिमाल, काखमा हिमताल र छेउमा टेन्टसहितको आवास हेरिरहेछौँ । सबैका आँखा खुसीले गह्रौं भए । शालिन हिमालहरू तालमा पोखिएर बुद्ध बाचिँरहेका छन् । हेर्नेहरू नतमस्तक छन् । चिच्याहटको उच्छृङ्खलता छैन । शालिन । शान्त । भद्र । मौन । हिमालहरू गाइरहेछन ‘ॐ मणि पद्मे हूँ ।

 

  

 

मुनामा राष्ट्रिय परिचयपत्र वितरण सुरू, परिचयपत्र लिन बेनी आउनुपर्ने बाध्यताको अन्त्य

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३, मुनामा शनिबार राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियान अन्तरगत पहिलो चरणमा धवलागिरी गापा वडा नंं ७, ताकमबाट सुरू गरिएको थियो।

शनिबार करिब ७० जनाले परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालयकी कम्प्यूटर अपरेटर बिष्णु खत्रीले बताउनुभयो ।‘जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचपत्रका लागि विवरण दिनुभएकाको कार्ड वितरण भइरहेको छ, स्थानीय तहका जनप्रतिनिधिले समन्वय गर्नुभएको छ’ कम्प्यूटर अपरेटर खत्रीले भन्नुभयो ।

पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सर्वसाधारणलाई सहज भएको वडा अध्यक्ष देबेन्द्र रोकाले बताउनुभयो । यो सुविधाले राष्ट्रिय परिचयपत्र लिनका लागि सदरमुकाम बेनी जानुपर्ने बाध्यताको अन्तय भएपछि स्थानीयबासीलाई सहज भएको वडा अध्यक्ष रोकाको भनाई छ ।

शनिबार मुना, आइतबार मुदी, सोमबार लुलाङमा परिचयपत्र वितरण गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो । जिल्लाका ६ स्थानीय तहमध्ये धवलागिरी, मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा वितरणको योजना बनाएपनि जनशक्ती र उपकरणको अभावले अहिले धवलागिरीमा केन्द्रित भएको प्रजिअ ढकालको भनाई छ ।

‘हामीले सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यसहित सम्बन्धित पालिकाबाटै परिचयपत्र लिने व्यवस्था मिलाएका छौ’ प्रजिअ ढकालले भन्नुभयो । राहदानी तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भरेको लामो समयसम्म पनि परिचयपत्र लिन नआएको २१ हजार भन्दा बढी परिचयपत्रको कार्ड वितरण हुन सकेको छैन ।

जिल्ला प्रशासनमा हालसम्म करिब ३० हजार राष्ट्रिय परिचयपत्र तयार भएको छ । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्छ ।

 

पोखरा स्पोर्टस् अवार्डः वर्ष खेलाडी बने अरुणा र विश्वास

नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् ।

पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा परेका थिए । पुरुषतर्फ टेनिसका प्रलिप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए ।

महिला वर्ष खेलाडी उपाधि बिजेता अरुणा शाही नेपाली महिला भलिबल राष्ट्रिय टिमकी कप्तान हुन् । मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् । अहिले उनी एकपछि अर्को सफलतामा रमाइरहेकी छिन् ।

२०८१ साल उनका लागि अझ स्वर्णिम बन्यो । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा नेपाली महिला टोलीले भारतमाथि निकाल्यो । भने फाइनलमा भारतसँगै पराजित भएर उपविजेता भएको थियो । टाइगर कपमा पनि आयोजक टाइगर ग्रुप पोखराबाट सहभागी बनेर उपाधि जिताएकी थिइन् । त्योभन्दा अघि आठौं एनभिए कपमा एभरेष्ट भलिबल क्लबबाट सहभागी बनेर टिमलाई द्वितिय बनाउन भूमिका खेलिन् । २०८१ सालमै नेपालमै पहिलो पटक भएको महिला भलिबल लिगमा चितवन शक्तिको मार्की खेलाडी थिइन् ।

पुरुषतर्फ वर्ष खेलाडी विश्वास अधिकारी नवलपुर बौद्धिकाली गाउँपालिका ३ बाझोबारीका उनी २ वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरे । मिडल ब्लकरको भूमिकामा खेल्दै आएका उनले २०६५ सालमा जन्मिएका विश्वासले श्रीलंकामा भएको काभा यु–२० भलिबल च्याम्पियनसिप खेल्दै रजत पदक हासिल गर्न सफल भएका थिए । उनका लागि राष्ट्रिय टिमबाट खेलेको यो पहिलो खेल समेत हो । उनले प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा समेत उनी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । ३४ औं राष्ट्रिय मेन्स भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल उनी टोलीमा थिए । आठौं पिएम कप महिला÷ पुरुष भलिबलमा दोस्रो, चौथो टाइगरकपमा दोस्रो समेत भएका थिए । १६ वर्षदेखी भलिबल खेल्न सुरु गरेका उनको पहिलो यात्रा स्थानीय क्लब नयाँछापबाट खेल्दै आएका थिए । त्यो बाहेक प्रदेशस्तरीय र पालिका स्तरीय खेलमा उनले प्राप्त गरेका पदकहरु पनि धेरै छन् ।

त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको मञ्चका सचिव एवं अवार्ड कार्यक्रमका प्रचारप्रसार संयोजक राजु गिरीले बताए ।

उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा थिए । टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त ग¥योभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाए । उनीहरूलाई ३५ हजारसहित अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुद मन्त्री बिन्दु कुमार थापाले स्वास्थ्य रहनको लागि खेलकुदको ठुलो महत्व रहेको बताए । साथै पर्यटन प्रवर्धनका लागि पनि खेलकुदको योगदान रहेको उनको भनाई थियो ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले खेल र खेलाडीका लागि गरिने यस्ता कार्यक्रमलाई सहकार्य गर्न तयार रहेको बताए । साथै खेलाडीको राष्ट्रप्रतिको योगदानलाई सम्मान व्यक्त गरे ।

त्यसैगरि पोखरा महानगरपालिका मेयर धनराज आचार्यले राज्यले आयोजना गर्नुपर्ने कार्य मञ्चले गरेको हुँदा निकै सह्रानिय कार्य भएको बताए । यस्ता कार्यक्रमले खेलाडीलाई प्रोत्साहन मिल्ने उनको भनाई थियो ।

त्यस्तै मञ्चका अध्यक्ष एमबि आस्था मगरले खेलकुद पत्रकारिता गर्नु भनेको समर्पण, धैर्य र इच्छाशक्तिको गहिरो परीक्षण रहेको बताए । ‘यस्ता चुनौतीबीच पनि हामीले सत्य, निष्पक्ष र तथ्यमा आधारित समाचार दिन निरन्तर प्रयास गरिरहेका छौं । र यस्ता अवार्डहरूले हाम्रो प्रेरणामा थप ऊर्जा थप्ने काम गरेका छन् ।’ –उनले भने  ।

यस्तै अवार्डको छनौट समितिका संयोजकमा रोहितराज पराजुली थिएभने सदस्यहरुमा सुदर्शन रञ्जित, सुमन गुरुङ, बिजय नेपाली, रिखिराम जिसी, मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा थिए । त्यसैगरि वर्ष उत्कृष्ट पत्रकार छनौट समितिको संयोजकमा केशव पाठक र सदस्यमा रमेश पौडेल, माधव बराल, रोहितराज पराजुली, एमबि आस्था मगर र परशुराम शर्मा रहेका थिए ।
अवार्ड कार्यक्रममा समिक्षा अधिकारीको प्रस्तुती थियोभने सैनिक आवसिय माविका विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।

मुडुला कार्कीको तेस्रो साधारणसभा तथा कुल मन्दिरको उद्घाटन

मुडुला कार्की क्षत्री बन्धु समाज सेवा समिति म्याग्दीको शुक्रवार तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बेनी नगरपालिका–५, गाजनेमा मौद्गल्य गोत्रीय मुडुला कार्की क्षत्री बन्धु समाजद्वारा नवनिर्मित कुल मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठा, अनावरणसहित साधारणसभा गरिएको हो ।

साधारणसभाको अवसरमा मुडुला कार्कीहरुले कुल पुजालाई लक्षित गरी सभाहल, पाकशाला र स्टोर निर्माण गरेका छन् । कुल मन्दिर निर्माणका लागि मुडुला कार्की क्षत्री बन्धुहरुबाट चन्दा सहयोग गरी कुल २९ लाख ४५ हजार आठसय ८३ रुपयाँ सङ्कलन भएकोमा मन्दिर निर्माणसहित विभिन्न शीर्षकमा २१ लाख ६८ हजार चारसय ८६ रुपैयाँ खर्च भएको समाजका कोषाध्यक्ष गणेशबहादुर कार्कीले जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा समाजका अध्यक्ष गुमानसिंह कार्कीले संस्थागत, सचिव यज्ञबहादुर कार्कीले प्रगति र कोषाध्यक्ष गणेशबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त साधारणसभाको अवसर पारेर कुल मन्दिरको निर्माण व्यवसायी चन्द्रबहादुर कार्की र दक्ष कालीगढ पूर्णबहादुर सिर्पालीलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ । ठेक्का प्रणालीमार्फत बनाइएको कुल मन्दिर तीनवटा तलाको रहेको छ । मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने उत्कृष्ट चन्दादाताहरुलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभा तथा नवनिर्मित संरचनाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मुडुला कार्की बन्धु समाजद्वारा हालै निर्माण गरिएको कुल मन्दिरले जगन्नाथ क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले परम्परागत रुपमा गरिने कुल पूजाको विधिलाई अहिले विज्ञानसँग जोड्न आवश्यक रहेकोमा जोड दिँदै बेनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासमा पहल गरिरहेको जानकारी दिनुभयो ।

बेनी नगरपालिका–५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले पुलाचौर क्षेत्र आफैमा धार्मिक हिसाबले प्रसिद्ध रहेकाले कार्की बन्धुहरुको नवनिर्मित कुल पूजाको मन्दिरले धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा पनि सहयोगी भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा मुडुला कार्की क्षत्री बन्धु समाज म्याग्दीका सल्लाहकारद्वय क्या. मिनबहादुर कार्की र भोजबहादुर कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मुडुला कार्की क्षत्री बन्धु समाज सेवा समिति म्याग्दीका अध्यक्ष गुमानसिंह कार्कीको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर कार्कीको स्वागत र महासचिव यज्ञबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभाबाट यसअघि प्रस्तुत तीनवटै प्रतिवेदनहरु छलफलपश्चात् पारित गरेको समाजले जनाएको छ ।

गौश्वारामा जारी गोवर्धन महायज्ञमा ७५ लाख बढी संकलन, भक्तजनको उत्साहजनक सहभागिता

म्याग्दीको बेनी नगरपालिक-२,ज्यामरुककोटको गौश्वारामा जारी गोवर्धन महायज्ञमा ७५ लाखभन्दा बढी दान संकलन भएको छ ।

पश्चिम नेपालमै पहिलो पटक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा गएको बैशाख १५ देखि सुरु भएको महायज्ञमा दिनप्रतिदिन उत्साहजनक उपस्थिी रहेको महायज्ञ मुल समारोह समितिका दिर्घ रिजालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहिबारसम्म बेनी नगरपालिका, वडा कार्यालय सहित भक्तजनहरुबाट ७५ लाखभन्दा बढी संकलन भएको छ भने शुक्रबार आज समेत उत्साहजनक रुपमा विहादैदेखि भक्तजनहरु महायज्ञस्थलमा आउने क्रम जारी छ ।

महायज्ञमा सदरमुकाम बेनी, छिमेकी बागलुङ, पर्वत तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने ज्यामरुककोटबासी पुग्नुभएको थियो । पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा प्रमुख वाचक आचार्य श्रीसुदर्शन बडालले गर्नुभएको छ ।

महायज्ञलाई ज्यामककोटको धार्मिक तथा एतिहाँसिक महत्वको प्रचारप्रसार सहित धार्मिक गन्तब्य बनाउनका लागि आयोजना गरिएको महायज्ञ मुल समारोह समितिले जनाएको छ । महायज्ञमा क वर्गको सदस्यताका लागि रु सातलाख ५५ हजार पाँच सय ५५ सेवाशुल्क तोकिएको छ भने उक्त सदस्यता जम्मा एक जनालाई मात्र वितरण गरिने छ ।

त्यसैगरी ख वर्गको सदस्यताका लागि रु पाँचलाख ५५ हजार पाँचसय ५५ निर्धारण गरिएको छ । उक्त सदस्यता दुईजना दाताले प्राप्त गर्न सक्नुहुने छ ।त्यसैगरी पाँच जनालाई ग वर्गको सदस्यता वितरण गरिने छ ।

जसको शुल्क रु तीन लाख ५५ हजार पाँच सय ५५ रहेको छ। ११ जनालाई वितरण गरिने घ वर्गको सदस्यता शुल्क रु दुईलाख ५५ हजार पाँच सय ५५,१५ जनालाई दिइने ङ वर्गको सदस्यता शुल्क रु एकलाख,५५ हजार, पाँच सय ५५, च वर्गको सदस्यताका लागि रु ५५ हजार,पाँच सय ५५ र छ वर्गको सदस्यताका लागि रु २५ हजार,पाँचसय ५५ शुल्क निर्धारण गरिएको छ । च वर्गको सदस्यता ३५ जना र छ वर्गको सदस्यता १०८ जनालाई वितरण गरिने छ ।

बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमामहायज्ञमा वचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला, बहुउद्धेश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने छ । आगामी बैशाख ३० गतेसम्म हुने गोवर्धन बिराट महायज्ञमा जिल्लामा क्रियाशिल संघसंस्थाले समेत सामुहिक दान गरेका छन ।

 

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् ।

जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका हुन् ।

रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा उत्तरबाट दक्षिणतर्फ आउने आयोजनाको र पश्चिमबाट पूर्व दिशातर्फ जाने डाँडाखेत–राहुघाटको प्रसारण लाइन एकापसमा ‘क्रसिङ’ हुन्छ । प्राविधिक हिसाबले बढी क्षमताको प्रसारण लाइनको तार कम क्षमताको लाइनभन्दा माथि हुनुपर्छ । क्रसिङ हुने ठाउँमा १३२ केभीको लाइनको माथिल्लो तारदेखि २२० केभीको तलको तार बीचको दूरी चार दशमलव पाँच हुनुपर्ने मापदण्ड छ ।

म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पुर्याएको छ ।

डाँडाखेत–राहुघाट प्रसारण लाइनको ‘एपीटु’ र ‘एपीथ्री’ नम्बरको टावरको बीचमा जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइन क्रसिङ हुन्छ । सन् २०२१ देखि निर्माण सुरू भएको डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि एक सय ३० दशमलव आठ मेगावाट क्षमताका चारवटा आयोजनाले अम्बाङको सबस्टेशनका विकल्पमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न पिप्लेबाट तिल्केनीचौरसम्म वैकल्पिक प्रसारण लाइन बनाएका हुन् ।

राहुघाट बेसिनमा ३७।५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छन् । डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जलविद्युत् आयोजनाहरूले समन्वय नगरी मापदण्डविपरीत जथभावी टावर बनाएर प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका बताउनुभयो ।

“जलविद्युत् आयोजनाले हाम्रो लाइन मुनि बनाएको लाइन हटाउन नौ महिनादेखि पत्राचार गरे पनि अटेरी र बेवास्ता गरेका छन्”, उहाँले भन्नुभयो, “१३२ केभीभन्दा माथि तार पर्ने गरेर अर्को टावर बनाएर लाइन तान्ने सहमति पनि कार्यान्वयन नगर्दा उनीहरूलाई समस्या पर्ने अवस्था आएको हो ।”

यस विषयमा प्रतिक्रिया लिन ठूलोखोलाका प्रतिनिधि गोपाल निउरे, अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुदी पावरका प्रतिनिधि इन्द्र ढकाललाई सम्पर्क गर्दा उहाँहरूले फोन उठाउनु भएन । तुदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले सहमतिअनुसार १३२ केभीको भन्दा २२० केभीको तार माथि पर्ने गरेर अग्लो टावर बनाउने तयारी गरेको प्रतिक्रिया दिनुभयो ।

पर्वतको कालञ्जरमा ३४ दिने महायज्ञ शुरु

पर्वतको जलजला गाउँपालिका–६ मा रहेको कालाञ्जर पर्वतमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ ।

अनन्तश्री विभुषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पमा कालाञ्जर पर्वतमा १ सय ८ श्रीमद भागवत महापुराण ज्ञानमहायज्ञको बुधबार देखी शुभारम्भ गरिएको हो ।

स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाई तथा जलजला गाउँपालिकाको व्यवस्थापनमा महायज्ञ संचालन गरिएको आयोजकले बताएका छन् ।

महायज्ञको शुभारम्भ गर्दै स्वामी कमलनयनाचार्यले आँफूले लामो समयसम्म तपस्या गरेको उक्त स्थलमा धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसारका सबै मान्यताहरु रहेको बताउनुभयो ।

उहाँका अनुशार यो क्षेत्र हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको सो पर्वतको कालञ्जर पर्वत उक्तम तीर्थस्थल भएकाले सबैले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरेर त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।

सो पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको स्वामी कमलनयनाचार्यले बताउनुभयो । तर पनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।

कालीगण्डकी नदीसँग जोडिएको उक्त पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ । यो क्षेत्र प्राचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सीमसार क्षेत्रका रुपमा उल्लेख छ ।

अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत्को पाचौ अध्यायमा राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् ।

महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वरधाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको धर्मग्रन्थमा उल्लेख रहेको पण्डीत सुर्दशन बडालले बताउनुभयो ।

सवारीमार्फत जानका लागि कुश्माबाट बनौं हुँदै हल्जुरे, शालिजाको तारे–जलजला पुग्न सकिन्छ भने पर्वतको वारीबेनीबाट १ घण्टा ३० मिनेटमा मल्लाज लेखफाँट कालोपत्रे सडक हुँदै शालिजाबाट जलजला पुग्न सकिन्छ ।

म्याग्दीमा विविध कार्यक्रमसहित विश्व रेडक्रस दिवस मनाइयो

म्याग्दीमा बिहीबार विविध कार्यक्रमहरुको आयोजना गरेर विश्व रेडक्रस दिवस–२०२५ मनाइएको छ । विश्व रेडक्रस दिवस र म्याग्दीको बेनी नगरपालिका स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम संयुक्त रुपमा आयोजना गरी दुवै दिवस मनाइएको हो । यसैगरी दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीद्वारा प्रकाशित वि.सं. २०८२ सालको वार्षिक भित्तेपात्रो (क्यालेण्डर) समेत सार्वजनिक गरिएको छ ।

उक्त क्यालेण्डर रेडक्रस म्याग्दीका सभापति अमर बानियाँ, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, वरिष्ठ प्रशासकीय अधिकृत युवराज थापा, बेनी नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, ८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, नगर कार्यपालिका सदस्य सृजना श्रेष्ठ र वडा सदस्य सोहन श्रेष्ठ (विश्वास)ले विमोचन गर्नुभएको थियो। ‘सेवा नै धर्म हो ।’ भन्ने मूल नारासहित स्थापित रेडक्रस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न २० जनाले रक्तदान गरेका छन् भने २० पिन्ट रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले जनाएको छ ।

विश्व रेडक्रस दिवसमा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्विरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, नगर कार्यपालिका सदस्य मनकुमारी विश्वकर्मा, रेडक्रस म्याग्दीका यशस्कर सदस्य तथा वडानम्बर ८ का वडा सदस्य यामबहादुर बानियाँ, रेडक्रस सिङ्गा उपशाखाका सभापति सुमन बानियाँ, बेगखोला उपशाखा सभापति टिका पूर्जा लगायतको उपस्थिति रहेको थियो ।

रेडक्रसले सञ्चालन गरेका विभिन्न गतिविधिहरु बाहिर ल्याउन क्यालेण्डर प्रकाशन तथा समुदायमा रेडक्रसको महत्वलाई बुझाउनको लागि विश्व रेडक्रस दिवसको अवसरमा विविध कार्यक्रमहरु आयोजना गरिएको रेडक्रस म्याग्दीका सभापति अमर बानियाँले बताउनुभयो ।

दिवसको अवसरमा जिल्लास्थित विभिन्न स्थानमा क्रियाशील रेडक्रसका उपशाखाहरुले रचनात्मक कार्यक्रमहरुको आयोजना गरेर विश्व रेडक्रस दिवस मनाएका छन् । यसवर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ देशैभर विश्व रेडक्रस दिवस मनाइएको छ ।

रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौं स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासका लागि सम्मान गर्न हरेक वर्ष ‘मे’ ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि यसै दिन पर्दछ । रेडक्रसका संस्थापक ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवम् अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामको बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन रहेको छ ।

बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वको वर्तमान विश्वमा मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्व समुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने विश्वास रेडक्रसका स्वयंसेवीहरूले व्यक्त गर्दै आइरहेका छन् ।