Saturday, June 28, 2025
24.5 C
Beni
24.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 37

‘समाजमा एकल महिलालाई क्षमता अनुसारको अवसर दिनुपर्छ’

एकल महिलाप्रति समाजमा विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन गरी आर्थिक सशक्तीकरणका लागि आत्मबल बढाउने कार्यक्रमहरूमा प्राथमिकता दिनुपर्ने बताइएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा एकल महिला तथा सशक्तीकरण केन्द्र बेनी म्याग्दीको समन्वय तथा सहजीकरणमा सदरमुकम बेनीमा आयोजित नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रममा एकल महिलालाई भत्ताको सुविधाले मात्रै समाजमा स्थापित हुन नसक्ने भन्दै क्षमता अनुसारको अवसरमा समेत उत्तिकै प्राथमिकता दिनुपर्ने बताइएको थियो ।

तालिमको उद्घाटन गदैं बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने पौडेलले एकल महिलाले एक्लै संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्यका लागि पालिकाबाट विभिन्न आयमुलक तालिम तथा साझेदारी निकायसँगको समन्वयमा काम भइरहेको बताउनुभयो ।

उपमेयर लामिछानेले एकल महिला समाजका लागि बलियो शक्ति भएकाले शिक्षा र सीपमूलक तालिम, स्वरोजगार कार्यक्रममा प्राथमिकता दिइएको बताउँदै आगामी बजेटमा समेत कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

तालिममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुबेदीले एकल महिला लक्षित कार्यक्रममार्फत क्षमता विकास, आत्मनिर्भर हुने कार्यक्रमहरु प्रस्ताव गरिएको बताउनुभयो ।

केन्द्रकी अध्यक्ष देबी केसीले म्याग्दीका सबै स्थानीय तहले एकल महिलालाई बजेट विनियोजन गरी औषधि उपचार, उद्धार र राहत पुनःस्थापना, कानुनी सहायता, सामाजिक मर्यादा अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम एवं एकल महिलाको हकहित संरक्षण र संवद्र्धनका लागि प्राथमिकता दिनुपर्नेमा जोडदिनुभयो ।

तालिमको सहजीकरण एकल महिला गण्डकी प्रदेशकी अगुवा प्रशिक्षक जुना केसी, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो । तालिमा ६ वटै स्थानीय तहबाट ३० जना भन्दा बढीको सहभागिता रहेको थियो। तालिमको अध्यक्षता केन्द्रकी अध्यक्ष केसी, स्वागत सहकोषाध्यक्ष सोनी शर्मा र सञ्चालन सचिव हिरा पौडेलले गर्नुभएको थियो ।

एसइई दिएका विद्यार्थीले लिए सौन्दर्यकलाको तालिम

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरुलाई म्याग्दीको सदरमुकाम बेनीमा सौन्दर्यकला सम्बन्धी विषयमा तालिम दिइएको छ ।

पोखराको गैह्रपाटनमा सञ्चालित पश्चिमाञ्चल सेकेण्डरी स्कुल र बेनीबजारको हुलाकचोकमा रहेको प्रजिया व्यूटीपार्लर एण्ड टेनिङ सेन्टरको संयुक्त आयोजनामा तालिम प्रदान गरिएको थियो । एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले सौन्दर्यकला सम्बन्धी तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

तालिमको समापन गर्दै महिला उद्यम विकास समिति म्याग्दीका सभापति अम्बिका श्रेष्ठले सौन्दर्यकलाको नयाँ उद्यमी सिर्जनाका लागि तालिम सञ्चालन गरेकोमा पश्चिमाञ्चल कलेज र प्रजिया व्युटीर्पालर एण्ड टे«निङ सेन्टरलाई धन्यवाद दिनुभयो । सभापति श्रेष्ठले सौन्दर्यकला तालिमले युवा विद्यार्थीहरुलाई स्वरोजगार बन्न सहयोग पु¥याउने बताउँदै सिप सिकेपछि रोजगाारीको अवसर आउने हुँदा तालिमलाई अब पेशा र व्यवसायमा जोड्नुपर्ने बताउनुभयो ।

पश्चिमाञ्चल सेकेन्डरी स्कुलका अध्यक्ष रामनाथ ओझा र प्रिन्सिपल सरोज कोईरालाले विद्यालयमार्फत देशका विभिन्न स्थानमा पुगेर विद्यार्थीलक्षित तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको जानकारी दिनुभयो ।

प्रजिया व्युटीपार्लरका प्रोप्राइटर गंगा थापा कार्कीले सिप सिकेर स्वदेशमै पेशा तथा व्यवसाय सञ्चालन गर्न सकिने र विदेशमा जाँदा समेत तालिमले सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका संस्थापक अध्यक्ष संगीता श्रेष्ठ र तालिमका सहभागी विद्यार्थी सम्पदा श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष कार्कीको अध्यक्षता, सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका सहकोषाध्यक्ष टिका पुनको स्वागत र पार्लरका विद्यार्थी नवीना बरालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यही वैशाखको दोस्रो सातादेखि सञ्चालित तालिममा एसइई परीक्षा दिएर बसेका २३ जना छात्राहरु सहभागी भएका थिए । दुई हप्तासम्म निःशुल्क रुपमा सञ्चालन भएको सौन्दर्यकला सम्बन्धी विषयको तालिममा विशेष गरी सहभागीहरुलाई स्किन केयर अर्थात् छालाको हेरचाह, मेकअप, फेसियल, हेयर स्टाइललगायत विविध विषयहरुमा सिकाइएको थियो ।

अब सजिलै पुग्न सकिन्छ भाले बास्ने ताल

केही बर्ष अगाडीसम्म पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ दुखुबेँसी र मङ्गला गाउँपालिका–२ मा पर्ने सहश्र्रधाराको सिमानामा अवस्थित भाले बास्ने ताल पुग्न र देख्न मुस्किल हुन्थ्यो । अक्करे भीर, जंगलभित्रको साँघुरो बाटोबाट तालसम्म पुग्न स्थानीयले समेत ज्यानकै बाजी लगाउनुपर्नेै बाध्यता थियो ।

भाले बास्ने तालका बारेमा सुनेका पर्यटकहरू समेत टाढाबाट अवलोकन गरी फर्किने गर्दथे । जङ्गलभित्र रहेका नियालोको सहारामा तालभन्दा माथि पर्ने जङ्गलसम्म पुगे पनि ताल भएको ठाउँमा भने जान सकिँदैन थियो ।

अहिले मालिका गाउँपालिकाले पदमार्ग सहित पुर्वाधार निर्माणमा प्राथमिकता दिएपछि पैदलमार्ग सहितको संरचनाले ताल नजिकै पुग्न स्थानीयबासी र पर्यटकलाई समेत निकै सहज भएको छ । निकै प्रख्यात तालको प्रचारप्रसारमा समेत स्थानीयबासी जुटेका छन् ।

गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आर्थिक वर्ष २०७७÷०७८ देखि गत वर्षसम्म ताल सम्म पुग्न दुखुबेँसी गाउँदेखि १५ लाख रुपैयाँ लागतमा करिब दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण गरेको छ । चालु आर्थिक वर्षमा चाल लाख रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण गरिएको पदमार्ग र मन्दिर पुर्ननिर्माण उपभोक्ता समिति अध्यक्ष गङ्ग रोकाले बताउनुभयो ।

उक्त मन्दिरको मङ्गलबार एक कार्यक्रमका विच दुखुबेँसीका ज्येष्ठ नागरिक पथनारायण रोकाले उद्घाटन गर्नुभयो । पदमार्ग निर्माण र मन्दिर पुनर्निर्माण भएपछि यात्रा गर्न र पुजाआजा गर्न सहज भएको अध्यक्ष रोकाले बताउनुभयो । पहिले पुजाआजा र ताल हेर्न जान कठिन यात्रा गर्नुपर्दथ्यो ।

ताल क्षेत्रमा थप पुर्वाधार निर्माण गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकेमा स्थानीयले ठुलो लाभ लिन सकिने भएपछि निवर्तमान वडा अध्यक्ष सन्तनाथ सुबेदीले आफ्नो कार्यकालमा पदमार्ग निर्माण सुरु गरिएको बताउनुभयो । सहस्रधारा, दुखुबेसी, दरुङ गाउँबाट यो तालमा पैदलमार्फत करिब ४५ मिनेटमा पुगिन्छ ।

विगतमा लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकमा सोधिने उक्त ताल कुन जिल्लामा पर्दछ ? भन्ने प्रश्नको उत्तर ‘म्याग्दी जिल्ला’ भनिए पनि म्याग्देलीहरूकै लागि भने यो ताल लोपोन्मुख सम्पदा हुन लागेको थियो ।

स्थानीयवासीमा यो तालमा अझै पनि बिहान–बिहानै कुखुराको भाले बास्न आवाज सुन्ने गरेको बताउँछन् । घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ। झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ। यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ।

दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ। दुवैतिर घना जङ्गल छ। झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ। यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको स्थानीय बुढापाकाको भनाई छ ।

ताल भएको ठाउँ (दुखु झरनाको पुछार) पहरामा जोखिम मोलेर मात्र पुग्न सकिन्छ । मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ।

दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन्। ताल नजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन्। बिहान कुखराको भाले बासेको आवाजले उनीहरु ब्युँझिँदा दुवै जना ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाएछन्। आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएछन्। सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ।ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइसमेत थियो।

बेनीबाट बेनी–दरवाङ सडकखण्डअन्तर्गत पर्ने सहश्र्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट यो ताल पुग्न सकिन्छ। बेनीबाट करिब एक घण्टामा सवारीसाधनमार्फत सहश्र्रधारा पुगिन्छ।भाले बास्ने तालको संरक्षणका लागि निरन्तर लागेको वडा अध्यक्ष पथबहादुर रोकाको भनाई छ । खोलामा आएको बाढीले तालको धेरै भाग पुरिएकाले ताललाई टाढाबाट देख्न नसकिएको अवस्थामा संरक्षणमा स्थानीय सक्रिय भएपछि वडाले समेत योजनामा प्राथमिकता दिएको छ।

 

बजेटमा म्याग्दीलाई प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेशको आर्थिक बर्ष २०८२÷८३ को योजना छनौट तथा बजेट बिनियोजनमा बिभिन्न शीर्षकमा बजेट सुनिश्चित गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस म्याग्दीका कार्यबाहक सभापति हरिकृष्ण श्रेष्ठको नेतृत्वमा समग्र जिल्लाको बिकासका लागि एक नगरपालिका र पाँच गाउँपालिकाको अति आबस्यक बिभिन्न शीर्षकमा रहेको योजनाहरु कार्यान्वयन तथा बजेट बिनियोजनको लागि नेपाल सरकार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा मन्त्रिपरिषदको कार्यालयलगायत सम्बन्धित कार्यालयका मन्त्रीहरुसंग भेटेर आवश्यक बजेट विनियोजन गर्न माग गरेका हुन्।

नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति एवम् सम्बिधान सभा सदस्य रेशमबहादुर बानियाँ, पुर्व सह–सभापति नेत्रबहादुर महत, उपसभापति कर्णबहादुर भण्डारी (केवी), पदाधिकारी सदस्य, महाधिबेसन प्रतिनिधि, गाउँपालिका सभापति, गाउँपालिका अध्यक्ष लगायत उपस्थिति रहेको नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादर पुनले जानकारी दिनुभयो ।

आर्थिक गतिविधि बढाउनेसँगै सामाजिक चेतनाको स्तर र जीवनस्तर रुपान्तरण गर्ने विकास योजनालाई प्राथमिकता दिन समेत आग्रह गरेका छन्। स्थानीय तहका प्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीले स्थानीय तहको समन्वय, सहकार्यमा मात्र बजेट विनियोजन गर्न र हाल सञ्चालनमा रहेका योजना सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गर्नु सुझाव दिएका छन् ।

 

ठाडाखानी गाउँमा बाख्रा र भेडा पालन

अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडा खानी गाउँका सङ बहादुर छन्त्याल उमेर ५० पुग्न थाल्नुभयो । उहाँले व्यावसायिक रूपमा भेडा पालन गर्नुभएको छ । हरेक दिन छन्त्याल बिहान खाना खाएर भेडा सँगै, चुयाँ र खाजा हालेर वन तिर लाग्नुहुन्छ । उहाँले वनमा भेडा मात्र हेर्नुहुँदैन भेडा हेर्दै डोका, थुन्से, माद्रोे लगायतका चुँयाबाट बन्ने सामान समेत तयार पार्नुहुन्छ ।

भेडा बिक्रीबाट वार्षिक २ लाख सम्म आम्दानी हुन्छ छन्त्यालले भन्नुभयो, ‘भेडा पालनले मात्र पुग्दैन यसो भेडा हेर्ने बेलामा डोका, थुन्से बुनेर पनि खाने बाटो गरेको छु ।’ उहाँले थप्नुभयो– विदेश गएर पनि दुःख नै गर्ने हो, त्यो दुःख यही गरौँ भनेर गाउँमा भएका सबैले भेडा बाख्रा पालन गरेका छौँ ।

छन्त्यालले मात्र होइन करिब ५० घरधुरी रहेको ठाडा खानी गाउँका ३५ घरपरिवारले व्यावसायिक रूपमा बाख्रा र भेडा पालन गरेका छन् । ठाडा खानीका सबै जसो घरपरिवार व्यावसायिकीकरण भेडा र बाख्रा पालनमा होमिएका हुन् ।

हरेकका घरमा भेडा र बाख्राको व्यवस्थित खोर बनाएका छन् । हरेक वर्ष गाउँमा भेडा र बाख्रा विक्री गरेर एक करोड पचाँस लाख सम्म आम्दानी गर्ने गरेका छन् । गाउँभरीकाले ठाडा खानी भुमे भेडा पालन समूह र ठाडा खानी मालिका भेडा बाख्रा पालन समूह बनाएर भेडा बाख्रा पालन गर्ने सबैलाई समेटेका छन् । बाख्रा पालन गर्ने अधिकांश वैदेशिक रोजगारीबाट फर्केका छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर ६ मा पर्ने ठाडाखानी गाउँ । परम्परागत ढुङ्गेघरहरु रहेको यस गाउँमा अल्पसङख्यक छन्त्याल जातिहरुको बाहुल्य बसोबास छ । तस्बिरः दलप्रसाद विश्वकर्मा/रासस
पुर्खाले पाल्दै आएका बाख्रा पालन व्यवसाय र कृषि उद्यमलाई व्यवस्थित र व्यावसायिक बनाएका लक्ष्मण वि.कको अहिले गाउँमा सबै भन्दा बढी ८० वटा बाख्रा छन् ।  ‘मेरै जस्तै गाउँका अरूले  बाख्रा पालन थालेका छन्, पिछडिएको र दुर्गम बस्ती भएकाले यहाँ अन्य अरू कुनै व्यवसाय गर्न सम्भव छैन, विकले भने, यही हामीले गरेको पेसालाई राम्रो गर्दै जाने हो भने यहीबाट राम्रो आम्दानी समेत गर्न सकिन्छ ।’ हरेक वर्ष छन्त्यालले बाख्रा विक्रीबाट ३ लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रा र भेडा पालनमा जुटेका कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । अहिले गाउँका ३५ घर परिवारका पन्ध्र सय भन्दा बढी भेडा बाख्रा छन् । भेडा बाख्रा चरणका लागि निकै समस्या हुने गरेको छ ।
अहिले गाउँमा युवा छैनन्, बुकी तिर गएर गोठ बस्न कोही मान्दैनन् ठाडा खानी भुमे भेडा पालन समूहका अध्यक्ष समेत रहेका छन्त्यालले भन्नुभयो ।‘बुढाखाडा मात्र गाउँमा छौ वरिपरिको वन क्षेत्रले मात्र पुग्दैन, यसले गर्दा भेडा बाख्राको सङ्ख्या बढाउने सोच हुँदाहुँदै पनि बढाउन सकेका छैनौँ ।’
रघुगंगा गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट अनुदान सहयोग गरेपछि केही भए पनि सहज भएको कृषक भनाई छ । वडा कार्यालयले भेडा र बाख्रा पालक कृषकहरूका सहजका लागी वडाबाट विभिन्न पहल भएको र वडाले आगामी दिनमा कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मन कुमार शेरपुन्जाले बताउनुभयो ।
हामीले वडा भित्र रहेका सम्पूर्ण कृषकहरूको तथ्याङ्क तयार पारेका छौँ अब उहाँहरूको आवश्यकताका आधारमा अनुदान तथा कार्यक्रम सञ्चालन गर्ने योजना भएको अध्यक्षको भनाई छ ।रघुगंगा गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट अनुदान सहयोग गरेपछि केही भए पनि सहज भएको कृषक भनाई छ ।

वडा कार्यालयले भेडा र बाख्रा पालक कृषकहरूका सहजका लागी वडाबाट विभिन्न पहल भएको र वडाले आगामी दिनमा कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मन कुमार शेरपुन्जाले बताउनुभयो । हामीले वडा भित्र रहेका सम्पूर्ण कृषकहरूको तथ्याङ्क तयार पारेका छौँ अब उहाँहरूको आवश्यकताका आधारमा अनुदान तथा कार्यक्रम सञ्चालन गर्ने योजना भएको अध्यक्षको भनाई छ । nepaltvonline.com

ओझेलमा परेको बागलुङको सिद्धि विनायक मन्दिर

बागलुङको जैमिनी-९ मा रहेको सिद्धि विनायकको मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।प्राचिनकालदेखि नै गणेशको आकृति भएको सो शिलाको धार्मिक र ऐतिहासिक महत्व हुँदा हुँदै पनि उति चर्चामा छैन ।

सिद्धि विनायक मन्दिरमा दर्शन गर्नाले मनोकाँक्षा पूरा हुने विश्वास स्थानीयलाई छ । त्यसो त मानिसहरु नियमित रुपमा सो मन्दिरमा ज‍ाने गर्छन ।

हिजोआज त आन्तरिक पर्यटकहरु पनि जाने गरेका छन । तर जति यो मन्दिरको महिमा छ उती मानिसहरुलाई थाहा नभएकोले सोचेजति धार्मिक पर्यटक आउन नसकेको जैमिनी-९ का स्थानीय रुद्रप्रसाद शर्मा (राजु) ले जानकारी दिनुभयो ।

बागलुङ करिडोर हुँदै कुस्मिसेरादेखि करिव ७ किलोमिटरको दूरीमा रहेको यो मन्दिरको संरक्षण स्थानीय समितिमार्फत भइरहेको शर्माले बताउनुभयो ।

खासगरी, हरेक हप्ताको मंगलबार यहाँ स्थानीयहरुको राम्रै उपस्थितिमा पूजा अर्चना हुने गरेको छ।

प्राकृतिक शिलामा गणेशको आकृति भएकोले पनि यसको महत्व अझ बढी रहेको छ ।

कालुङखोलाको किनारमा रहेको यो मन्दिर दर्शन गर्न जाँदा प्राकृितिक दृश्यहरुको पनि राम्रोसँग अवलोकन गर्न सकिन्छ ।

स्थानीय पालिकाले प्रयास गरिरहेको भएपनि अझै प्रचारप्रसार गरेर आन्तरिक तथा वाह्य धार्मिक पर्यटक भित्र्याउन पहल गर्नुपर्ने स्थानीयको सुझाव छ ।

यहाँ पर्यटकको संख्या बढाउन सके स्थानीय पालिकाको समेत आम्दानी बढ्ने उनीहरुको बुझाइ छ ।।

बागलुङको अधिकांश खेतीयोग्य जमिनमा अम्लियपना

बागलुङ नगरपालिका–८ सिगानामा गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५ जना किसानले माटो परीक्षण गराए ।

सुन्तलाखेती हुने यहाँको माटोमा अधिकांश अम्लियपना भेटियो । जसका कारण क्रमशः उब्जनीमा ह्रास आइरहेको छ । कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा जिल्लाको पाँच स्थानमा गरेको माटो परीक्षण शिविरमा सबैभन्दा बढी सिगानाको माटोमा अम्लियपना भेटिएको जनाएको छ ।

जम्मा ७५ किसानले माटो परीक्षण गराएकामा ६९ किसानले ल्याएको माटोमा अम्लियपना फेला परेको थियो । असन्तुलित मलखादको प्रयोगले माटोको प्राङ्गारिक पदार्थमा कमी आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालले बताए । उनले माटोको सही उपचार गर्न किसानलाई सुझाव दिए ।

जिल्लाका १० स्थानीय तहमध्ये यस वर्ष सात स्थानीय तहमा माटो परीक्षण घुम्ती शिविर गर्ने लक्ष्य लिइएको छ । पाँच स्थानमा माटो परीक्षण शिविर सम्पन्न भइसकेका छन् । स्थानीय तहको सिफारिसमा माटो परीक्षण गर्न थालिएको हो ।

प्रमुख सिलवालले बागलुङ नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला  गाउँपालिकामा ३०९ किसानले ल्याएको माटोको नमूना परीक्षण गरिएको जानकारी दिए । परीक्षण गरिएका मध्ये १७० नमूनामा अम्लियपना तथा १३ नमूनामा क्षारीय तत्व फेला परेको छ । त्यसैगरी १२६ नमूना माटो परीक्षणको रिपोर्ट सामान्य रहेको पाइएको छ ।

कृषि ज्ञान केन्द्रले तमानखोला गाउँपालिका–२ मा ४३ किसानले ल्याएको माटोको नमूना परीक्षण गरेकामा २८ नमूनामा अम्लियपना र १५ मा तटस्थ देखिएको छ । बडिगाड गाउँपालिका–६ मा आयोजना भएको माटो परीक्षण शिविरमा ५८ जनाको नमूना परीक्षण गरेकोमा १३ क्षारीय, १ अम्लियपना र ४४ तटस्थ देखिएको छ ।

ताराखोला गाउँपालिका–२ मा ७५ वटा माटोको नमूना परीक्षण गरिएकामा ५१ माटोको नमूनामा अम्लियपना र २४ मा तटस्थ देखिएको छ भने जिल्लाको गलकोट नगरपालिका–४ मा ५८ माटोको नमूना परीक्षण गरेकोमा २१ वटामा अम्लियपना र ३७ वटामा तटस्थ फेला परेको छ ।

“असन्तुलित मलखादले माटो बिग्रँदै गएको छ, माटोलाई समयमा उपचार गर्न आवश्यक छ, पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घट्नाले माटोमा अम्लियपना बढी भएको पाइएको छ”, केन्द्र प्रमुख सिलवालले भने, “क्षारीय र अम्लियपनलाई तटस्थमा ल्याउन प्राङ्गारिक मल, हरियो मल प्रयोग तथा र कोसेबाली लगाउन आवश्यक छ ।”

अम्लीय माटोमा कृषि चुना प्रयोग गर्न किसानलाई सुझाव दिएको कृषि ज्ञान केन्दका अधिकृत जमुना भण्डारीले बताए । उनले युरियाको बढ्दो प्रयोगले माटोको अवस्था बिग्रने भएकाले  नाइट्रोजन, फस्फोरस र पोटासको सन्तुलित प्रयोग गर्न सुझाव दिए । रासस

आज विश्व रेडक्रस दिवस, नेपालमा पनि मनाइँदै

आज विश्व रेडक्रस दिवस, नेपालमा पनि मनाइँदै छ । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ यो वर्ष विश्व रेडक्रस दिवस मनाउन लागिएको हो ।

रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौं स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासका लागि सम्मान गर्न हरेक वर्ष ‘मे’ ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि यसै दिन रहेको छ ।

रेडक्रसका संस्थापक ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवम् अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने  विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ ।

बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वको वर्तमान विश्वमा मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्व समुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने विश्वास रेडक्रसका स्वयंसेवीहरूले व्यक्त गरेका छन् ।

बाग्लुङमा हलगोरु पाल्ने एक सय ७८ किसानले पाए पोषणभत्ता

बाग्लुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ ।

गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत एक ७८ हलगोरु पाल्ने किसानलाई पाँच हजारका रुपैयाँका दरले पोषणभत्ता वितरण गरेको हो ।

परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार रुपैयाँ पोषणभत्ता सोझै किसानको हातमा पुर्‍याइएको अध्यक्ष राजु थापाले बताउनुभयो ।

हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि गाउँपालिकाले यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएको हो । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

यस्तै दूध उत्पादन गर्ने किसानले प्रतिलिटर साढे दुई रुपैयाँका दरले अनुदानसमेत पाएका उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका–७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महसूस गरेको बताउनुभयो ।

पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपन्छी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ ।

निःशुल्क आँखा शिविरबाट ७४ जनामा मोतियाविन्दुको शल्यक्रिया

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयजना भन्दाबढी बिरामी तथा सर्वसाधारणहरु लाभान्वित भएका छन् । ग्रामीण भेगका सर्वसाधारण, बिरामीहरुलाई लक्षित गरी गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको शिविरबाट कुल ७ सय १४ जना प्रत्यक्ष लाभान्वित भएका हुन् । सोमबारदेखि सुरु भएर बुधवार सम्पन्न शिविरमा महिला ४ सय ५३ जना पुरुष २ सय ६१ जनाले आँखा परीक्षण गराएर आवश्यक उपचार तथा परामर्श सुविधा लिएका छन् ।

यसैगरी शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित कुल ७४ जनामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरमा आँखा परीक्षण गर्न आएका सर्वसाधारण तथा बिरामीहरुलाई निःशुल्क रुपमा औषधी र चस्मा वितरण गरिएको थियो ।

शिविरको समापन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले विभिन्न संघसंस्थाको सहकार्य तथा समन्वयमा सर्वसाधारणहरुलाई आँखा उपचार सम्बन्धी सुविधा प्रदान गर्न गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले तीन दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शिविर सफल बनाउन खट्नुहुने प्राविधिक टोलीसहित संघसंस्थाहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गाउँपालिकामार्फत यस्ता रचनात्मक क्रियाकलापहरु सञ्चालनमा जोड दिइने बताउनुभयो । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले वर्षमा आयोजना हुने एक दुईवटा शिविरले दीर्घकालीन समाधान नभए पनि स्थानीयवासीहरुको स्वास्थ्य समस्याको पहिचान गरी आवश्यक योजना तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पु¥याउने बताउनुभयो ।

आँखा सम्बन्धी स्वास्थ्य शिविर लोककल्याणकारी कार्यक्रम भएको भन्दै उहाँले गाउँपालिकामार्फत आउँदा दिनहरुमा पनि यस्ता शिविरहरु आयोजना गरिने बताउनुभयो । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले समुदायस्तरमा लुकेर रहेको अन्धोपन निवारण गर्न नेत्रज्योति संघमार्फत निःशुल्क रुपमा आँखाको स्क्रिनिङ क्याम्प र मोतियाविन्दुको शल्यक्रियालगायत कार्यक्रम सञ्चालनको पहल गरिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सभापति भीमप्रसाद गौतम (जीवन) र अपर म्याग्दी हाईड्रोपावर लिमिटेडका वरिष्ठ सुरक्षा अधिकृत सुरेश घलेले रेडक्रस तथा हाईड्रोपावरमार्फत समुदायमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्ने गरिएको बताउनुभयो । आँखा शिविर कार्यक्रमको समापनसत्र मालिका गाउँपालिकाका उपाध्यक्ष घर्तीमगरको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

शिविर सञ्चालनमा सहयोग गर्ने विभिन्न संघसंस्था, आँखाको उपचारमा खटिने स्वास्थ्यकर्मीको टोली, स्वयंसेवा गर्ने विद्यालय, व्यक्ति र स्थानीयलाई प्रशंसापत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शिविर सञ्चालन गरिएको हो ।

रेडक्रस दरबाङ उपशाखाको व्यवस्थापन र अपर म्याग्दी हाईड्रोपावर लिमिटेड मुख्य प्रायोजक रहेको यस शिविरको रेड्ली आई फाउण्डेसनले मोतियाविन्दुको शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

शिविरमा हिमालयन आँखा अस्पताल, दरबाङ आधारभूत अस्पताल, मालिका गाउँपालिका, आँखा उपचार केन्द्र बेनी र दरबाङबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बिरामीहरुको आँखा चेकजाँच गर्नुका साथै उपचार एवं परामर्श सेवा उपलब्ध गराएका थिए । शिविरमा मालिका गाउँपालिकासहित धवलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट समेत सर्वसाधारण, बिरामीहरुले उपचार सेवा लिएका छन् ।