Saturday, June 28, 2025
22.4 C
Beni
22.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 38

टिकोट गाउँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा अवस्थित पर्यटकीय गाउँ टिकोट । अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गले समेटिएकोे टिकोटबाट हिमश्रृंखला सहित रमणीय प्राकृतिक दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर: विशाल विक

गण्डकी कप महिला फुटबल आउँदो असारमा हुने

प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आउँदो असार अन्तिम हप्ता पोखरा रङ्गशालामा हुने भएको छ ।

गण्डकी प्रदेश फुटबल सङ्घको आयोजना हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउँदो असार २८ गतेदेखि साउन ३ गतेसम्मको समय दिएको गण्डकी प्रदेश फुटबल सङ्घले जनाएको छ ।

गण्डकी प्रदेशमा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगितामा आठ वटा टिमले सहभागिता जनाउने सङ्घका महासचिव विनोद गुरुङले जानकारी दिनुभयो । ‘एन्फा’ को स्वीकृतिसँगै प्रतियोगिताको तयारी अगाडि बढाइएको उहाँको भनाइ छ ।

पोखरामा महिला फुटबलको गतिविधि न्यून भइरहेका बेला राष्ट्रियस्तरको प्रतियोगिता हुने भएपछि यहाँका खेलप्रेमीसमेत उत्साहित बनेका छन् ।

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै

 मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा उन्नत जर्सी गाईपालन व्यवसाय फस्टाउँदै जान थालेको छ । उन्नत गाईको दूधबाट मनग्ये आम्दानीका साथै किसानको फलफूल तथा तरकारी बगैँचामा गोबरबाट बनेको मल प्रयोग गर्नका लागि उन्नत जर्सी गाईपालन व्यवसाय अपनाइएको हो ।
डेढ दशकअघि मुस्ताङको जोमसोमलगायत आसपासका पर्यटकीय गाउँका होटल तथा रेष्टुरेन्टले सहरिया सिलबन्द गरिएका पाउडरको दूध प्रयोग गर्ने गथ्र्ये । जब मुस्ताङको स्याङ गाउँबाट उन्नत जर्सी गाईपालन सुरु भयो त्यसपछि भने यहाँ प्रयोग गरिने प्याकेटका पाउडरको दूध विस्थापित हुँदै जान थालेको स्थानीय बताउँछन् ।
अहिले मुस्ताङमा बजारिया पाउडरको दूध ९० प्रतिशत विस्थापित भइसकेको घरपझोङ–३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिए। उनका अनुसार जिल्लामा पाउडरको दूध विस्थापित हुनुको मुख्य कारण स्याङ गाउँको उन्नत जर्सी गाईपालन हो । गाउँमा सुरुआती चरणमा थकालीले उन्नत जर्सी गाईपालन सुरु गरेका थिए।

हिमाली क्षेत्रमा परीक्षणका रूपमा गाईपालन सुरु गरेको बताउँदै यो व्यवसाय प्रभावकारी देखिन थालेपछि स्याउ गाउँका अन्य किसानले पछ्याउन थालेका वडाध्यक्ष थकालीले उल्लेख गरे।

स्याङ गाउँका वडाध्यक्षले तत्कालीन समयमा उन्नत जर्सी गाईपालन जिल्लामा भित्र्याएपछि त्यसबेला साविक पशुसेवा कार्यालय र साविक जिल्ला विकास कार्यालयले दूध उत्पादनलाई बढाउने तथा प्रवर्द्धन गर्ने उद्देश्यले उन्नत जर्सी गाईपालन खरिदका लागि अनुदानका कार्यक्रम ल्याएको वडाध्यक्ष थकालीले स्मरण गरे।

परम्परागत हिमाली लुलु गाईले भन्दा उन्नत जर्सी गाईले मनग्ये दूध उत्पादन गर्ने भएकाले मुस्ताङका किसान उन्नत जर्सी गाईपालनतर्फ आकर्षित हुन थालेका वडाध्यक्ष थकालीले बताए। “एक दशकअघि हिमाली उपआयोजनाले मुस्ताङमा उन्नत जर्सी गाईपालन कार्यक्रम ल्यायो । त्यससमय उक्त आयोजनाले जिल्लाका किसानलाई ८० प्रतिशत अनुदानमा उन्नत जर्सी गाईपालन गर्न प्रोत्साहित गर्‍यो । त्यसपछि भने यहाँ उन्नत पालन व्यवसाय झाङ्गिँदै गएको हो”, उनले भने।

स्याङ गाउँमा उन्नत गाईपालनसँगै मुस्ताङ डेरी उद्योगसमेत स्थापना भएको छ । सहकारीमार्फत अनुदान पाएका किसानले उन्नत गाईको दूध डेरी उद्योगमा लगेर बिक्री गर्न पाउने भएका छन् । कतिपय किसानले डेरीमा बिक्री नगरी मोटरसाइकलमार्फत घरघरमा पुर्‍याउने गर्छन् । स्याङमा अहिले ४० घरधुरीले एक सयभन्दा बढी उन्नत जर्सी गाईपालन गरेका वडाध्यक्ष थकालीले जानकारी दिए। उनी मुस्ताङमा उन्नत जर्सी गाईपालन गर्ने पहिलो व्यक्ति हुन्।

वडाध्यक्ष थकालीले स्याङ गाउँ कृषिमा आधारित गाउँ भएकाले दूध बिक्री गर्न र गाईको मलमुत्र खेतबारीमा प्रयोग गर्न निकै सजिलो भएको बताए। स्याङ गाउँमा अहिले दैनिक चार सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको उनले जानकारी दिए।

घरपझोङ–३ स्याङका स्थानीय निमा फन्चोक गुरुङले चार वटा उन्नत जर्सी गाईपालन गरेका छन्। दश वर्षअघि ११ वटा गाई र एउटा गोरुबाट पशुपालन व्यवसाय सुरु गरेका गुरुङले अहिले दूधको बजारमा प्रतिस्पर्धा भएको, पशु आहारा र घाँसको मूल्य वृद्धि भएकाले सङ्ख्या घटाएको बताए।

दूधको मूल्य वृद्धि हुन नसकेको तर दाना र घाँसको मूल्य महँगो भएकाले कृषि प्रयोजनका लागि मात्रै गाईपालन गरिरहेको गुरुङले बताए। “पहिले दूध बिक्री गर्दा मनग्ये आम्दानी हुन्थ्यो, अहिले गाउँमा उत्पादन बढी हुँदा आम्दानीको स्रोत खुम्चिएको छ”, गुरुङले भने, “फलफूल बगैँचा र तरकारी बारीमा मल चाहिने भएकाले गाईपालनलाई निरन्तरता दिँदै आइरहेको छु ।” सुरुआती चरणमा ११ गाईबाट तीन सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने गरेकामा अहिले दैनिक ४० लिटर मात्रै बिक्री भइरहेको उनले जानकारी दिए।

बर्खायाममा दूधको माग अत्यधिक हुने गरेको भएपनि किसानमा समन्वय नहुँदा मूल्य वृद्धि हुन नसकेको गाईपालक कृषक जीवन थकालीले बताए। उनका अनुसार मुस्ताङको स्याङ गाउँबाट सुरु भएको उन्नत गाईपालन अहिले फैलिँदै जिल्लाको ठिनी, मार्फा, टुकुचे र कागबेनीसम्म पुगेको छ ।

पर्यटकीययामबाहेक हिउँदको तीन महिना उन्नत गाईको दूध बिक्री गर्न समस्या हुने गरेको किसान बताउँछन् । हिउँदयाममा पर्यटकको उपस्थिति कम हुने र जिल्लाका नागरिक बेँसी झर्ने भएकाले दूधको खपत कम हुने गरेको स्थानीय गाईपालकको भनाइ छ ।

दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो । करिब रु. पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका प्रमुख सिनियर डिभिजनल प्रमुख झलकमोहन ओझाले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. २० लाख बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा रु. चार लाख ६७ लाख ९६ हजार खर्च भएको छ । पर्याप्त बजेट बिनियोजन नहुँदा योजना निर्माण गर्न सात वर्ष लागेको हो ।

गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टंकीमा संकलन गरेर पाइपलाइन मार्फत घरघरमा लगेर वितरण गरिएको दोवा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाले बताए ।

मुहान, टंकी र मुख्य पाइपलाइनको भौतिक संरचना निर्माणमा सघाएको कार्यालयले मुख्य पाइपलाई निर्माण गरेको हो । शाखा पाइपलाईन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन् ।

योजनालाई व्यवस्थित र दीर्घकालिन रुपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्युनतम शूल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पूर्जाले बताए ।

अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीप गर्बुजाका अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो । आयोजना निर्माण भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका उनले बताए ।

स्थानीयबासी तालदेवी पुनले घरकै धारामा पानी आपुर्ति भएपछि समयको बचत भएको र झञ्जट हटेको बताए । “पानी लिनका लागि मुहानमा जान, आउन लाग्ने समय र झञ्जट हटेको छ,’ उनले भने, ‘शुद्ध र सफा पानी भएपछि दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमि आएको छ ।’ रासस

 

कतारमा थाली नाचकी एक्ली कलाकार यमुना पटेल

कतारमा रहेकी म्याग्दी मालिका गाउँपालिका–३,रूमकी यमुना पटेललाई नेपाली संघसंस्थाले आयोजना गरेका हरेक कार्यक्रममा थाली नाचका लागि निम्तो आउँछ । कतारको एक छात्रा अध्ययनरत कलेजमा सुपरभाइजर पदमा कार्यरत पटेलको थाली नाच नेपाली संघसंस्थाको रोजाईमा परेको छ ।

फुर्सद र विदाको समयमा मोना कतारको कार्यक्रममा नियमित जस्तै म्याग्दीको पहिचान थाली नाचमा नृत्य प्रस्तुत गर्नुहुन्छ । मोना कतारको मालिका गाउँपालिका प्रमुख, सांस्कृतिक विभाग एवम् कार्यसमिति सदस्य पटेलले हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृष्यबाट कतारमा रहेका नेपाली दंग पर्छन् ।

कतारमा रहेका करिब १ सय नेपाली संघसंस्थामा प्रतिनिधित्व गर्नेहरूले पटेलको नाचमा नजर पुर्याएका छन् । कलाकार पटेलको नाचमा नेपाली मात्रै नभई कतारमा रोजगारीका लागि गएका विदेशी र कतारीले समेत निकै निकै चासोपु्र्वक हेर्ने गरेको पाइन्छ ।‘नेपाली संघसंस्थाको पहिलो रोजाईमा पर्नुहुन्छ, म्याग्दीबाट सुरु भएको थाली नाच अहिले कतारमा निकै लोकप्रिय छ ।’मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले भन्नुभयो । म्याग्दीको मौलिक नाचमार्फत म्याग्दी जिल्लाको समेत प्रचारप्रसार भइरहेको अध्यक्ष भण्डारीको भनाई छ ।

हालसम्म कतारमा रहेका दर्जनौ संघसंस्थामा पुगेर थाली नाच प्रस्तुत गर्नुभएकी पटेलले थाली नाचबाट कतारमा नेपाली कला र संस्कृति झल्काउने अभियानमा सहयोग पुगेको बताउनुभयो । ‘थालीले म्याग्देली सांस्कृतिक पहिचान झल्किएको छ, मैले आफ्नो तर्फबाट सक्ने सबै ठाउँमा पुगेर नाच देखाइरहेको छु ।’ पटेलले बेनीअनलाइनलाई भन्नुभयो ।

पटेलले कामको ब्यस्तताले गर्दा सबैजसो कार्यक्रममा पुग्न नसकेपनि थाली नाच कतारमा भित्राएपछि अहिले भइरहेको चर्चाले मोना कतार समेत उत्साहित छ । थाली नाचमा नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कला भन्दा कमी नहुने भन्दै हरेक कार्यक्रममा प्रशंसा हुने गरेको मोना कतारका महासचिव शिव खड्काले बताउनुभयो।

दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचकपुर्ण हुन्छ। नाचमार्फत दर्शकको आर्कषक र आर्थिक सहयोग जुटाउन समेत आयोजकलाई सहज भइरहेको छ । डेढदशक अगाडीसम्म तौल भएको चरेसको थाल नचाउने चलन भएपनि अहिले स्टलको थाल नचाउने गरिन्छ ।

वि.सं २००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालिएको ‘थाली नाच’ अहिले म्याग्दीभित्र मात्रै देशभरका नेपालीबीच लोकप्रिय बन्दै गएको छ।

वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेकी थिईन्। वि.सं २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो।

बागलुङ श्रीनगरटोलमा घरको झ्यालबाट खसेर वृद्धको मृत्यु

बागलुङ नगरपालिका–४ स्थित श्रीनगरटोलमा आज बिहान घरको झ्यालबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।  आज बिहान पौने पाँच बजेको समयमा पक्की घरको तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञान माया खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

सुतिरहेको कोठाको झ्यालबाट सोझौ सडकमा खसेर खड्काको मृत्यु भएको प्रहरीको भनाई छ । खड्काको शव क्षतविक्षत अवस्थामा प्रहरीले अस्पताल लगेको थियो । शवको पोष्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल बगालुङमा राखिएको प्रहरीको भनाई छ । आल्मुनियमको झ्यालमा ग्रिल नभएकाले झ्यालबाट खसेको प्रहरीको भनाई छ ।

घरायसी विवादले लियो श्रीमान श्रीमतीको ज्यान

पोखरा १७ मा घरायसी विवादपछि श्रीमानले श्रीमतीको कायरतापूर्वक हत्या र आफूले आत्महत्या गरेका छन् । ५७ वर्षीय ऋषीराम बरालले घरायसी विवादका कारण श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् ।

३७ वर्षीय श्रीमती देवीमाया पराजुलीको हत्या गरेको प्रहरीको अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । देवीमायाको घाँटीमा र अनुहारमा चोट लागेको छ । ऋषिको नजिकै एक मेटासिड नामको विषको बोतल भेटिएको छ ।

ऋषिले आत्महत्या गर्ने समयमा जेठी श्रीमतीलाई केही म्यासेज पठाएका थिए । उक्त म्यासेजपछि जेठी श्रीमतीले घरमा आफन्त पठाउँदा २ जना नै घाइते अवस्थामा भेटिएका थिए । त्यसपछि स्थानियले प्रहरीलाइ खबर गरेका थिए । श्रीमतीको सोमबार नै मृत्यु भएको थियो भने श्रीमान ऋषिरामको मंगलबार बिहान करिब ७ बजे उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब १२ बजे उक्त घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रवत्ता बस्नेतले जानकारी दिए । उनीहरुले पोखरा १७ बिरैटामा फेन्सी पसल चलाउँदै आएका थिए । ३ वर्ष अघिदेखि ऋषिराम जेठी श्रीमतीलाई छाडेर देवीमायासँगै बस्दै आएका थिए ।

‘श्रीमान–श्रीमतीको घाँटीमा चोट छ । उनीहरुको घरायसी विवाद हो । श्रीमानको पनि आज बिहान मृत्यु भयो । दुवै जनाको घाँटीमा चोट लागेको छ । डेथ भएको श्रीमती कान्छी श्रीमती हुन्,’ डिएसपी बस्नेतले भने, ‘हामीले घटनास्थलमा मेटासिडको खाली बोतल समेत फेला पारेका छौंँ । मेटासिड आएको हो या होइन । त्यो पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा होला

दरबाङमा आँखा शिविर : दोस्रो दिन ४८ जनाको शल्यक्रिया 

मालिका गाउँपालिका–६, दरबाङस्थित दरबाङ आधारभूत अस्पतालमा सञ्चालित शिविरको दोस्रो दिन ४८ जनाको शल्यक्रिया भएको छ । निःशुल्क आँखा शिविर तथा मोतियाविन्दु सम्बन्धी निःशुल्क शिविरमा मङ्गलवार विभिन्न ४८ जना बिरामीहरुको शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया गरिएका ४८ जनामध्ये ३२ जना महिला र १६ जना पुरुष रहेको मालिका गाउँपालिकाले जनाएको छ । शिविरको दोस्रो दिन कुल २ सय ९९ जना सर्वसाधारण तथा बिरामीहरुले ओपिडी नामदर्ता गराई सेवा लिएका छन् ।

जसमध्ये महिला २ सयजना र पुरुष ९९ जना रहेको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनुभयो । यसअघि शिविरको पहिलो दिन कुल २ सय ८३ जनाले ओपिडी नामदर्ता गराएकोमा १ सय ७२ जना महिला र १ सय ११ जना पुरुषले सेवा लिएका थिए ।

पहिलो दिन २६ जनामा मोतियाविन्दुको शल्यक्रिया गरिएकोमा महिला २० र पुरुष ६ जनाको शल्यक्रिया भएको थियो । पश्चिम म्याग्दी भेगलाई लक्षित गरी दरबाङमा मोतियाविन्दुको शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गर्न यसअघि जिल्लाको विभिन्न स्थानमा स्क्रिनिङ क्याम्पहरु सञ्चालन गरेर मोतियाविन्दुका बिरामीहरुको पहिचान गरिएको थियो ।

उक्त स्क्रिनिङ क्याम्पमा भेटिएका मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई दरबाङमा सञ्चालित निःशुल्क शल्यक्रियाको शिविरमा आँखाको अप्रेसन गरिएको छ ।

सोमबार शल्यक्रिया गरिएका २६ जना बिरामीहरुको मङ्गलवार आँखामा लगाइएको पट्टी खोलिएको थियो भने दोस्रो दिन शल्यक्रिया भएका बिरामीहरुको आँखाको पट्टी बुधवार खोलिने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन्।

मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोग रहेको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापन र अपर म्याग्दी हाईड्रोपावर लिमिटेड मुख्य प्रायोजक रहेको आँखा शिविरमा रेड्ली आई फाउण्डेशनले मोतियाविन्दुको निःशुल्क शल्यक्रियाको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

हिमालयन आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. हरिबिक्रम अधिकारीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको् टिमले बिरामीको शल्यक्रिया गर्नुका साथै परामर्श सेवा दिएको छ ।

शिविरमा निःशुल्क रुपमा सर्वसाधारण तथा बिरामीहरुलाई औषधी र चस्मा समेत वितरण गरिएको छ । दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट बिरामी र सर्वसाधारणहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

भलिबल प्रशिक्षणमा रहेका विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले एसइई दिएर बसेका विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ । जिल्ला भलिबल संघ म्याग्दीद्धारा आयोजित एक महिने भलिबल प्रशिक्षणको क्रममा प्रशिक्षणस्थल माउण्ट एभरेष्ट आवासीय मावि महारानीथानमा पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराइएको हो ।

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सचेतना कार्यक्रमको अभियानमा खेल प्रशिक्षणमा रहेका विद्यार्थीलाई जोडिएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले बताउनुभयो ।

प्रमुख केसीले विद्यार्थी सूचनाका संवाह भएको अब जिल्लाका सबै विद्यालयस्तरमा यो कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो । विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा जानकारी गराइएको भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

विद्यार्थीहरुले पाएको ज्ञानबाट परिवार र समाज पनि लाभान्वित हुने भएकाले तालिम उपयोगी भएको बताइएको छ ।यसैबीच प्रशिक्षणको बेनी नगरपालिकाका मेयर सुरत केसीले समेत निरीक्षण सहित आफ्ना खेलसम्बन्धि अनुभव सुनाउनुभएको छ ।

गर्भको माया बोकेर आगोसँग लडिरहेकी थिई ‘काली’ !

भैँसी गुनिलो थियो र दूधालु पनि। घरमुलीले उसलाई मायाले ‘काली’ भन्थे। भैँसी अर्को महिना ब्याउने थियो। यो भैँसी बागलुङ, ताराखोला गाउँपालिका–१ भुस्कातकी माया विकले ऋण काढेर किनेकी थिइन्।

गोठमा उसैले जन्माएको डेढ वर्षको पाडो पनि थियो। गत बुधबार मध्यराति गोठमा अचानक आगलागी भयो। पाडो उतिबेलै जलेर मर्‍यो। गम्भीर घाइते भएको गर्भवती भैँसीलाई परिवार र छिमेकी मिलेर उद्धार गरे।

भैँसीको अधिकांश बाहिरी भाग जलेको थियो। दुवै आँखा फुटेका थिए। भैँसी न खान सक्ने न कराउन सक्ने अवस्थामा थियो। नाक र मुखबाट फिँज आइरहेको थियो।

एकातिर जलनको पीडा र अर्कातिर पेटमा हुर्किरहको गर्भ। त्यो अवोध भैँसीले त्यति कष्टसाध्य क्षण कसरी गुजार्‍यो होला ! मानवीयता भएका जो कोहीका लागि त्यो दृश्य हृदयविदारक थियो।

आगलागीको घटना थाहा पाएपछि पोखरामा बस्ने विकका छोरा सनम अर्कोदिन घर पुगे। उनी गाउँ पुग्दा गोठ खरानी भएको थियो। आमाको प्रिय भैँसी ‘काली’ अतिसय पीडा सहेर बाँचिरहेको थियो।

उसलाई बचाउन परिवारले सक्दो प्रयास गरे। पशु चिकित्सकलाई बोलाएर देखाए। बाँच्ने सम्भावना नभएपछि चिकित्सकले भैँसीलाई ‘युथोनाइज’ दिएर पीडारहित तरिकारले मृत्युवरण गराए।

पेटमा भएको पाडोलाई चिरेर निकाले। धड्कनको चाल महसुस गर्दागर्दै पाडोको पनि मृत्यु भयो। गोठ नजिकै बारीमा खाल्डो खनेर ‘काली भैँसी’ र उसको गर्भबाट निकालिएको पाडोलाईसँगै राखेर अन्त्येष्टि गरियो।

यसरी निर्दोष पशुको जीवन आगलागीमा परी समाप्त भयो। सनमले यही दर्दनाक घटनाको भिडियो फेसबुकमा साझा गरे। जसले धेरैको ध्यान खिच्यो। फेसबुकमा लाखौँले उक्त भिडियो हेरेका छन्।

फेसबुकमा साझा गर्ने र टिप्पणी गर्नेको सङ्ख्या पनि लाखाैं छन्। आगलागीबाट गोठ र पशुधन गुमाएका विक परिवारप्रति कैयनले सहानभूति प्रकट गरेका छन्।

कतिपयले पशुप्रेम र पशु कल्याणका पक्षमा धारणा राखेका छन्। सनमले “तिमीले मेरा लागि दिएको यो बलिदान खेर जाने दिने छैन काली, हार्दिक श्रद्धाञ्जलि ! अपराधी नबचाऔँ” भन्दै उक्त भिडियो ‘पोस्ट’ गरेका थिए।

सनमले ‘काली’ भैँसीलाई आमासँग तुलना गर्दै उ पनि गर्भमा रहेको बच्चाका लागि अन्तिम प्रहरसम्म बाँचेको उल्लेख गरेका छन्। “उनी पनि एउटी आमा हुन्। उनको श्राप र आँशु अवश्य लाग्नेछ”, सनमले भनेका छन्।

आगलागी अरु कसैले जानाजानी लगाइदिएको विक परिवारको आशङ्का छ। “घरमा बुबाआमा मात्र हुनुहुन्थ्यो, उहाँहरू सुतेको बेला राति ११.३० बजेतिर गोठमा आगलागी भएको हो”, सनमले भने, “दुर्घटना या लापरबाहीका कारण नभई यो मान्छेले जानजानी नियतवश लगाएको हो, हामीले प्रहरी र वडा कार्यालयमा उजुरी दिएका छौँ, घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ।”

‘काली भैँसी’ को मृत्युपछि आमा बिह्वल बनेको सनमले सुनाए। भैँसीको अन्त्येष्टिका बेला उनकी आमा छेउमा बसेर रोइरहेको दृश्यले सबैलाई स्तब्ध पारेको थियो।

वरिपरि जम्मा भएका मानिस त्यो बेला निःशब्द बनेका थिए। माया र स्याहारसुसारले पालेहुर्काएका पशुचौपायाको अनाहकमा मृत्यु हुँदा कस्को पो मन नरुँदो हो !

माया र उनको परिवारलाई पनि आज त्यही पीडाले सताएको छ। उक्त घटनाले पशुपक्षीप्रतिको मानवीय प्रेम र संवेदनालाई समेत उजागर गरिदिएको छ।

पशु कल्याणबारे सोच्न मानिसलाई बाध्य पारेको छ। उक्त घटनाका प्रत्यक्षदर्शी र सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त घटनामा दुःख व्यक्त गरेका छन्।

नियतवश आगलागीको घटना भएको भए छानबिन र न्यायका लागि उनीहरूले आवाज उठाएका छन्। घटना सार्वजनिक भएपछि विभिन्न ठाउँबाट सहयोग र सहानुभूति प्राप्त भइरहेको सनमले बताए।

वडा र गाउँपालिका कार्यालयले राहतका लागि पहल अगाडि बढाएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताराखोला गाउँ कमिटीले विक परिवारलाई भैँसी किनिदिन लागेको अध्यक्ष दिवस खत्रीले बताए।

“आफन्त, शुभेच्छुकलगायतबाट आर्थिक सहयोग आउने क्रम पनि सुरु भएको छ, यो घटनाले धेरैलाई छोएको छ। आगलागीका बारेमा छानबिन हुनुपर्छ”, उनले भने।

पशुचौपायाले सुरक्षित बाँच्न पाउने अधिकारप्रति सचेत हुन पनि यो घटनाले मानिसलाई सचेत गराएको छ। गण्डकी प्रदेशमा गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याइए पनि पशु कल्याणको पूर्ण सुनिश्चितता भने हुन सकेको छैन।

घरायसी प्रयोजनका लागि पालिने गाईबस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट हुने भएकाले ठूला व्यावसायिक गाईभैँसी फार्मलाई लक्ष्य गरी मापदण्ड बनाइएको हो।

उक्त मापदण्डले गाईभैँसीलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव हुन नदिने, पीडा, चोटपटक र रोगव्याधिबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको छ।

गाईभैँसीलाई गरिने निर्दयी व्यवहार रोक्ने र उनीहरूप्रति मानिसले निभाउनुपर्ने जिम्मेवारी र उत्तरदायित्वलाई मापदण्डले समेटेको छ। मापदण्डमा आहार, गोठ व्यवस्थापन, ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषय उल्लेख छन्।

नवजात पाडापाडी र बाच्छाबाच्छीलाई मार्ने नियतले सुकेनास गराउने, भोकै राख्ने, फाल्ने आदि गरेमा पशुप्रति निर्दयी व्यवहार भएको ठहर्ने मापदण्डमा जनाइएको छ।

गाईभैँसीलाई घाउचोट लाग्ने गरी हिर्काउन, नाक, खुट्टा बाँध्न, पुच्छर बटार्न र छाडा छोड्न नपाइने मापदण्डमा उल्लेख छ। गाईभैँसीलाई तापजन्य असुविधा हुन नदिन गर्मीयाममा पङ्खा या ‘फोगर’ र जाडोयाममा थप सोत्तरको व्यवस्था गर्नुपर्ने उल्लेख छ। पशुपक्षीलाई पनि मानवताको व्यवहार चाहिनेमा पशु अधिकारकर्मीले जोड दिँदै आएका छन्।

खुसी र स्वतन्त्रतापूर्वक बाँच्न पाउने पशुपक्षी अधिकारको संरक्षण हुनुपर्नेमा उनीहरूले जोड दिइरहेका छन्। कानुनी प्रबन्ध नभएका कारण पनि हिंसा र अत्याचारमा परेका पशुपक्षीको न्याय चुनौतीपूर्ण बन्दै जानकारहरू बताउँछन्।