Sunday, June 29, 2025
20.9 C
Beni
20.9 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 446

म अलि उदार भएँ, अस्तिको सम्बोधन अक्षरश: लागू गर्छु- प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै अक्षरश: लागू गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा उनले अब कामका आधारमा मूल्यांकन हुने बताए ।

प्रधानमन्त्रीले भने, ‘म अलि उदार भएँ । मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु । पहिला तपाईँहरूले यो कुरा आत्मसात गर्नुहोला । मैले अस्ति सम्बोधनमा जे कुरा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला । नियमित अपडेट हुनुहोला । आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौं । अरू काम पनि क्रमशः अगाडि बढ्छन् । सम्बोधन अक्षरशः पालना गरिन्छ ।’

उनले मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउने भएकाले सचेत भएर काम गर्न निर्देशन दिए ।

उनले भने, ‘नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा गुणात्मक परिवर्तन गर्दैछौं । योजना आयोग र अर्थ मन्त्रालयले पनि यो कुरा राम्रोसँग मनन गर्नुहोला । हाम्रो जिम्मेवारी राष्ट्र बनाउनु छ, जनताको आशा बचाउन पनि हामीले गम्भीररूपमा काम गर्नुपर्छ । यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला । हामीले काम गर्न सक्दैनौं भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला ।’

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, पुस १२ । सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।

क्लबले आधार शिविरमा सूचनामूलक बोर्डसहित दृश्यावलोकन केन्द्र स्थापना गरेको छ । क्लब अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा चिमखोलादेखि छरी–सुंगरथला हुँदै आधार शिविर पुगेका युवाको टोलीले समुद्री सतहदेखि चार हजार पचास मिटर उचाइमा सूचनासहितको स्वागत बोर्ड स्थापना गरेका हुन् । क्लब अध्यक्ष बुढा, उचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्बुजा, पर्यटन व्यवसायी कुशल पाइजा, क्लबका सदस्य एमन पुन, विशेष बुढा, थमन गर्बुजा, निसान गर्बुजा र ओविन्द्र गर्बुजाको टोलीले आधार शिविरको साथै कालीबराह ताल र सेतीनी छहरामा समेत दृष्यावलोकन केन्द्र स्थापना गरेका छन् । आइसफल पदमार्गअन्तर्गत पर्ने कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा अवस्थित रहेको छ ।

ताल परिसरमा रहेको कालीबराह थानमा स्थानीयले पूजापाठसमेत गर्ने चलन रहेको छ । क्लबले यसअघि चिमखोलामा स्वागत बोर्ड स्थापना गर्नुका साथै सोवाङधुरी र पानी डाक्ने डाँडामा दृष्यावलोकन केन्द्र (भ्यू पोइन्ट) स्थापना गरेको अध्यक्ष बुढाले बताए। “आइसफल पदमार्गका मुख्य–मुख्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि हामीले पहल थालेका हौँ, क्लब आफैँले यसको नेतृत्व गरिरहेको छ भने देश तथा विदेशमा रहेका चिमखोलावासीले हाम्रो प्रयासमा साथ दिनुभएको छ”, अध्यक्ष बुढाले भने ।

उनका अनुसार, पर्यटनको अथाह सम्भावना भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको धौलागिरि आइसफल पदमार्गलाई चिनाउन क्लबले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेको हो । टान, तत्कालीन जिल्ला विकास समिति म्याग्दीलगायतका विभिन्न निकायको अगुवाइमा म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी विसं २०६८ मा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको पहिलोपटक अध्ययन गरिएको थियो ।

पदमार्ग पहिचान गरेर पदमार्गलगायतका पूर्वाधार बनाउन थालेको एक दशक बढी समय भए पनि अझै यो क्षेत्र ओझेलमा रहेको आइसफल पदमार्ग निर्माण अभियानका अगुवा ध्रुव पाइजाले बताए । “धेरैजसो अप्ठेरो ठाउँमा बाटो बनायौँ, कतिपय ठाउँमा त हामीले बनाएको बाटो नै बाढीले पनि बगायो, तर फेरि पनि पदमार्ग बनाउने काम भइरहेको छ, यो पदमार्गमा पूर्वाधारसँगै प्रचारप्रसार र नक्साङ्कन गरेर योजनाबद्ध रुपमा अघि बढ्न जरुरी छ”, तिलिजाले भने ।

समुदायस्तरबाट धौलागिरि आइसफल र आधार शिविरको प्रचारप्रसारका लागि धेरै प्रयास भए पनि पदमार्गको नक्साङ्कनसहित सरकारी तवरबाट उचित पहलकदमी हुनुपर्ने उनको भनाइ छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट अहिले पनि धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण भइरहेको छ । गत आर्थिक वर्षमा पर्यटन विभागले ठेक्का लगाएको रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौताअनुसार, ससलधारा क्षेत्रबाट पदमार्ग बनाउने काम जारी रहेको छ ।

ठेक्का सम्झौता गर्दा भिरमा पदमार्ग बनाउने स्टिमेट नगरेको कारण उक्त बजेटबा पुछार ओढार र चेप्टेओढार क्षेत्रको भिरमा पदमार्ग बनाउन अझै बाँकी रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए । “यो बजेटबाट जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग अझै नबन्ने भएपछि हामीले पदेश र सङ्घीय सरकारसँग थप बजेटको माग गरेका छौँ, कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढाउन सकिन्छ की भन्ने अपेक्षा छ”, उनले भने । उनले कालीबराह खोलालगायतका ठाउँहरुमा झोलुङ्गे पुलको समेत अभाव रहेको बताए ।

आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरीलगायतका दर्जनौँ आकर्षक पर्यटकीय गन्तव्य रहेका छन् । प्राकृतिक रुपमा सुन्दर र मनमोहक दृष्यले भरिपूर्ण धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाले देखाएको सक्रियताले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुर्याएको वडाध्यक्ष पाइजाले जानकारी दिए । पदमार्गअन्तर्गत सेतिनी छहरा नजिकैको फाँटमा स्थानीय युवा कुशल पाइजाले होटल सञ्चालनमा ल्याएपछि पर्यटकको लागि ठूलो सुविधा भएको छ ।

पदमार्गमा खुलेको यस होटलमा खाना, खाजा र बसोबाससमेत सुविधा भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । चिमखोलादेखि दुईदिनको पदयात्रामा धौलागिरि आधार शिविर पुग्न सकिने भए पनि बीचमा होटल नहुँदा यसअघि पर्यटक टेन्ट र ओढारमा बास बस्नुपर्ने बाध्यता रहेको थियो । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी पूर्वाधार निर्माणको लागि पहल गरिएको रघुगङ्गा गाउँपालिकाले जनाएको छ ।

अहिले कुइनेमङ्गलेको छरीदेखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण भइरहेको छ भने आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।

नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।

म्याग्दी सदरमुकाम बेनीदेखि हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ वैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई सम्भाव्यतता अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको धौलागिरि आइसफल पदमार्गबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजीकबाट अवलोकन गर्न सकिन्छ ।

पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा गायतका जङ्गली पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालीबराह, लाटीबराह, निलीबराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुइनेमङ्गले, दोबालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

२९ बर्षसम्म बनेन गतिलो खेलमैदान

गफ दिन र काम गर्न कति फरक छ, त्यसको ज्वलंता उदहारण हो म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्च ।एक दशक अगाडीदेखि निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिले ठूल्ठूला गफ गदैं खुल्लामञ्चलाई ‘मिनी रंगशाला’ बनाउने घोषणा गरेर अहिलेसम्म म्याग्देली जनतालाई झुक्याइरहेका छन् ।

खुल्लामञ्चलाई रंगशाला बनाउने कामलाई तिब्रता नदिएपनि अहिलेसम्म गफ जोतेरै भएपनि सुन्दर खेलमैदानको सपना बाँडिरहेका छन् । गतबर्ष असोज–कात्तिक महिनामा म्याग्दीको सदरमुकामस्थित खुल्लामञ्चमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा बेनीको खुल्लामञ्चको पूर्वाधार विस्तारमा ४ करोड विनियोजन गर्ने सार्वजनिक रुपमै प्रतिबद्धता जनाएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ए बजेट नै पठाएनन् ।

मिनी रंगशालाको अवधारणा अनुसार नगरपालिकाले तयार गरेको डिपिआर सहित पटक–पटक सदस्य सचिव घिसिङलाई भेट्न जाँदा बेनी नगरपालिकाका मेयर सुरत केसी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा सहितको टोलीलाई समेत समय दिएनन् ।

‘सार्वजनिक भाषण र ब्यक्तिगत भेटघाटमा पनि बजेट हाल्ने प्रतिबद्धताले उत्साहित थियौ,‘म्याग्देलीलाई उनले धोका दिनुभयो,यसपटक नगरपालिका बाहेक कतैबाट पनि बजेट आएन’ मेयर सुरत केसीले भने ।

खुल्लामञ्चलाई ‘मिनी रंगशाला’ बनाउन खेलकुदका सदस्य सचिव घिसिङले मात्रै होइन संघीय, प्रदेशसभाका सांसदले समेत बोली पुरा गर्न सकेका छैनन् । खेलकुद कार्यक्रममा खुल्लामञ्चमा प्रमुख अतिथि भएर गएका सांसदले पोडियममा उभिएर चर्को प्रतिबद्धता जनाएपनि आफ्नै हातमा रहेको बजेट सामान्य योजनाहरूमा खर्च गर्ने गरेका छन् ।

सांसदले विनियोजन गर्ने बजेट ग्रामिण क्षेत्रका सामान्य खेलमैदानमा राजनीतिक प्रभाव हेरेर खन्याउने सांसदहरूले खुल्लामञ्चको पूर्वाधार विस्तारमा आँखा चिम्लिएका छन् । DPR

नगरपालिकाको बजेटबाट मात्रै मिनी रंगशालाको सपना पूरा नहुने अवस्थामा अहिलेका संघीय र प्रदेशसभाका सांसद र मन्त्रीले समेत खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने अभियानमा खुलेर बोलेका छैनन् ।विगत ५ बर्षदेखि संघीय सरकारबाट बजेट आएको छैन भने प्रदेश सरकारको समेत प्राथमिकतामा परेको छैन् ।

अव्यवस्थित मैदानका कारण फुटबलका फुटबलमा ११–११ जनाको टिम हुनुपर्नेमा खेलमैदानको मापदण्ड नपुग्दा ९–९ जनाको टिममा प्रतियोगिता हुने गरेको छ ।

मिनी स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारको काम बजेट अभावका कारण गति लिन नसकेको बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । ‘विगतमा कनिका छर्केजस्तै बजेट आउने गरेको थियो, अहिले त्यही पनि छैन’ वडा अध्यक्ष श्रेष्ठले भने । बेनी नगरपालिकाले चालु आवमा विनियोजन गरेको २० लाख बजेटबाट अहिले काम भइरहेको छ ।

अघिल्लो बर्ष बेनीमा आएका गण्डकी प्रदेशका सांसद एवम् पूर्व युवा तथा खेलकुद मन्त्रि राजिव गुरुङ (मनाङ्गे)ले खुल्लामञ्चको बिस्तारका लागि ८ लाख बिनियोजन भएको खवर सुनाएर फर्किएका थिए । मिनी रंगशालाका लागि करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११–११ जना फुटबल खेल्न मिल्ने मैदान बनाउन ९६ मिटर लम्बाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउन अहिलेकै अवस्थामा बजेट विनियोजन भए अझै एकदशक लाग्ने देखिन्छ ।

खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने गण्डकी प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भए करिब २ बर्षमै मिनी रंगशाला तयार हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

म्याग्दी नदी र कालीगण्डकी किनारतर्फ प्याराफिट बनाउने काम भइरहेको छ कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित खेल मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ८ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट राख्ने योजना छ ।

विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट १ लाख रूपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो ।

खेलमैदान सुधारको अभियान सुरू भएको २९ बर्षसम्म पनि सदरमुकाम बेनीको एउटा खेलमैदान बनाउन म्याग्दीबाट निर्वाचित भएर गएका सांसदहरू असफल भएका छन् । नेपालीमा एउटा उखान छ–आकाशको फल आँखा तरी मर । म्याग्देलीलाई मिनी रंगशाला’ खेल खेल्ने र अवलोकन गर्ने यो उखान चरितार्थ हुँदैछ ।

बगरफाँटवासीलाई हिउँदका दिन पनि कष्टपूर्ण

पुस महिनाको जाडोमा घाम प्यारो कसलाई पो नहोला र ? हिउँदको फुर्सदिलो समयमा पाहारिलो घाममा बसेर बदाम र सुन्तला खाँदै आफन्त र दौतरीहरुसँग गफिनुको मज्जा नै बेग्लै हुन्छ । तर भौगोलिक अवस्थिती र प्रतिकुल प्रकृतिका कारण यस्तो अवसर सबै ठाउँका मानिसहरुलाई भने मिल्दैन ।

जाडोको याममा पाहारिलो घाममा बसेर रमाउने यस्तो अवसरबाट बगरफाँटवासीहरु पनि ठगिएका छन् । बगरफाँटवासीलाई पुस,माघको जाडोमा पाहार (घाम) ताप्न गाउँ नै छोडेर पल्लो गाउँमा पुग्नुपर्ने वाध्यता छ ।

दक्षिणबाट उत्तरतर्फ फर्किएको बगरफाँट गाउँ म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पर्छ । चारैतिर उच्च भूगोल,शिरमा जंगल,जंगलमाथि तोराखेतको चट्टानी पहरो र पुछारमा म्याग्दी नदी पर्ने यो गाउँ सुविधा र उत्पादनका हिसावले सम्पन्न र प्राकृतिक सुन्दरताले युक्त हुँदाहँदै पनि हिउँदका तीन महिना (मंसिर,पुस र माघ) अत्यन्त कष्टकर छ ।

पूर्वबाट उदाएको घाम दक्षिणको छेको हुँदै पश्चिममा पुगेर अस्ताउने क्रममा तीन तिरका अग्गा डाँडाहरुले छेकिदिँदा बगरफाँट गाउँमा मुस्किलले दुईघण्टा भन्दा बढी घाम पर्दैन । यही समयमा आफ्नो घरको काम सकेर पाहार ताप्नका लागि यहाँका वासिन्दाहरु बगरफाँटकै तल्लो भेग पलाँसे तथा बगरफाँट र बेनी नगरपालिका ६ मा पर्ने डम्मरा जोड्ने म्याग्दी नदीको पुल तरेर पल्लो गाउँ डम्मरामा पुग्ने गर्छन् ।

“घरमा घामै पर्दैनन्,जाडोले बसीखानु हुँदैन,खाना खाएर डम्मरामा जान्छौं र तीन बजेसम्म घाम तापेर घर फर्कन्छौँ” बेनी नगरपालिका २ बगरफाँटका ७१ वर्षिय टेकबहादुर कार्कीले भन्नुभयो ।

टेकबहादुर मात्रै होइन,बगरफाँटको कुरुङ्दी,खहरेखोला र खहरेखोला पारीका तल्लो र उपल्लो भेगका वासिन्दाहरु घरको काम सकेर बालबच्चा सहित घामको खोजिमा घन्सेघरा,पलाँसे वा डम्मरामा पुग्नुपर्ने वाध्यतामा छन् ।

“घाम नपर्दा धोएका कपडा सुक्नै पाँच/सात दिन लाग्छ, जंगलको ओंत र म्याग्दी नदीको चिसो सिरेठोले मुटु कमाउँछ, खाना खाएर घामको खोजिमा कहिले डम्मरा,कहिले पलाँसे त कहिले बेनी नै जाने गर्दछु” स्थानीय इन्द्रबहादुर थापाले भन्नुभयो ।

स्थानीय बुद्धिजीवि नारायणबहादुर कार्कीका अनुसार वगरफाट वनजंगल, नदी किनारको काखमा रहेको रमणीय खेती योग्य उर्वर समथर भुमी भएर पनि हिउदको लागि प्रकृतीले पनि विभेद गरेको छ । “उत्तर फर्केको भूभाग,लभ्लीहिल देखि तोराखेत चिप्लेटीसम्मका अग्ला डाडाकाडाका कारण हिउदको पाहारिलो घाम उपभोग गर्न हामी वगरफाटवासी वन्चित छौँ” कार्कीले भन्नुभयो ।

उहाँका अनुसार समयक्रमसँगै रहन सहन, काम गर्ने तौरतरिकामा आएको फेरवदलको कारण घाम ताप्न पारी गाउमा जानुपरेको हो ।पहिले पहिले गाउँलेहरुले गाईभैसी पाल्थ्ये । दाउराले खाना पकाउनु पथ्र्यो । त्यसैले वहुसंख्यक मानिसहरू वनजंगल जान्थ्ये । वनजंगल पसे तातो हुन्छ भन्ने मान्यता थियो । महिलाहरू विस्कुन सुकाउने, गुन्द्री चकटी वुन्ने तान लगाउन र लोग्ने मानिस नाम्ला डोरी दाम्ला आदी तयार गर्ने गर्दथ्ये । अहिले सबै फुर्सदिला भएका कारण घामको खोजी गर्दै पारी गाउँ जाने गरेका उहाँले बताउनुभयो ।

त्यति मात्र कहा हो र रापिलो घाम ताप्दै हिउद पछि गरिने सामाजिक काम विवाह वर्तवन्ध एकाहा सप्ताह चारधाम पशुपतिनाथको दर्शन र विकास संग संम्वन्धित चौतारी पोखरी वाटाघाटहरू मर्मत संम्भार नया कामको थालनी ढाकर जाने नुन तेलको जोहो गर्ने अन्नपात धानका ढिकुडी जमाउने, जमाएका ढिकुडीलाई वोलकवोल गर्ने ,वनजंगल संरक्षण गर्ने कुला कुलेसा वनाउन तारतम्मे मिलाउने कामहरू हिउँदका दिनमा गरिने चलन अहिले हराउँदै गएको उहाँले बताउनुभयो ।

जाडोको समय सबैभन्दा गाह्रो यहाँका गृहिणीहरुलाई हुने गर्दछ । हिउँदको समयमा बिहानको घरधन्दा निकै कष्टकरहुने स्थानीय महिलाहरु बताउँछन् । हिउँदमा घाम नपर्दा जाडोमा सताउने बगरफाँट गाउँ वर्षाको समयमा गाउँको सिरानमा रहेको विशाल भीरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीब्र कटानका कारण पनि जोखिमपूर्ण र असुरक्षित बन्दै गएको छ ।

२०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न शुरु गरेको बगरफाँटमा रहेका २ सय घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिदै बग्ने म्याग्दी नदीको कटानबाट वर्षेनी त्रसित हुने गरेका छन् ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्षेनी संरक्षणको काम हुँदै आएको छ । नदी किनारमा ग्याबिन जाली लगाएर तत्कालका लागि नियन्त्रणको काम गरिए पनि दीर्घकालीन रुपमा संरक्षणका लागि बजेट र उपयुक्त प्रविधिको प्रयोग आवश्यक रहेको स्थानीय वासिन्दाहरुको भनाइरहेको छ ।

“हिउँदमा घाम नपरेर सास्ती छ ,बर्खामा पहिरो र नदी कटानको त्रास पनि उत्तिकै हुन्छ” स्थानीय डिलबहादुर घिमिरेले भन्नुभयो “गाउँ जोखिममा छ,शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसंग सुत्न सकिदैन,कतिबेला के हुन्छ भन्ने त्रास सधैंभरी रहिरहन्छ” ।

म्याग्दी नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफल भन्दा बढी खेतीयोग्य जमिन नास भैसकेको र पछिल्लो समय नदी कटान नियन्त्रणको प्रयास सफल भएको स्थानीय स्थानीय वुद्धिजीवि तथा नदी नियन्त्रणका लागि वर्षौदेखि लागिपर्नु भएका म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणवहादुर कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार बेनी नगरपालिका वडा नं ३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केहीमात्रामा भए पनि गाउँ सुरक्षित हन्छ ।

गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने हुँदा प्रदेश वा संघबाट नै ठूलो योजना आवश्यक पर्ने देखिएको छ । तर, यसतर्फ यहाँका कुनै पनि राजनीतिक दलहरुले चासो नदेखाएकाले यो समस्या विकराल बन्दै जाँदा सदरमुकाम बेनी बजारलाई समेत प्रभाव पार्ने स्थानीय बुद्धिजीविहरुको भनाइ छ ।

स्वर्गीय पिताको सम्झनामा शैक्षिक साम्रागी सहयोग

म्याग्दीको बेनी नगरपालिका-५पुलाडाँडास्थित चेतना आधारभुत विद्यालयमा एक यूवाले स्वर्गीय पिताको सम्झनामा शैक्षिक साम्रागी सहयोग गर्नुभएको छ । बेनपा–७ मंगलाघाट घर भई हाल अष्टेलियामा कार्यरत सुमन बानियाँले विद्यालयका पूर्व शिक्षक समेत रहनुभएका स्वर्गी पिता कृष्णबहादुर बानियाँको सम्झनामा शैक्षिक तथा खेलकुद साम्रागी वितरण गर्नुभएको हो। विद्यालयमा आयोजित एक कार्यक्रममा विपन्न विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुग्ने गरी १० हजार बराबरको सहयोग गर्नुभएको प्रधानाध्यापक टंकनाथ शर्माले बताउनुभयो ।

विद्यालयमा विपन्न दलित समुदायका बालबािलका समेत अध्ययनरत रहेकाले नियमित विद्यालय आउने वातावरण बनाउन दाताबाट सहयोग जुटाउने गरिएको प्रअ शर्माको भनाई छ । सोही अवसरमा विद्यालयका पूर्व शिक्षकद्धय पुरुषोत्तम शर्मा र कृष्ण बहादुर बानियाँको स्मृतिमा श्रद्धाञ्जली सभा समेत गरिएको थियो ।

सहयोगदाता बानियाँले स्वर्गीय पिताले शैक्षिक क्षेत्रमा पुर्याउनुभएको योगदानलाई सधै स्मरण हुने गरी सहयोग अभियानलाई जारी राख्ने बताउनुभयो । एभरेष्ट ग्लोबल भिजा सर्भिसेस बेनीका निर्देशक समेत रहनुभएका बानियाँले विपन्न विद्यार्थीको शैक्षिक गतिविधिमा सघाउन यसअगाडी समेत विभिन्न सहयोग गर्नुभएको छ।

बेनी-पाखापानी सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुरु हुन्छ-सांसद भण्डारी

म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुभएको छ ।

म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुुलडाडा र औलामा बुुधबार जनभेटघाटका क्रममा नेकपा (माओवादी केन्द्र)को गाउँपालिका कमिटि अध्यक्ष समेत रहनुभएका सांसद भण्डारीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत बेनी–पाखापानी सडक कालोपत्र गर्ने तयारी भएको जानकारी गराउनुभएको हो ।

“चालुु आर्थिक वर्षमा रु. पाँच करोड बजेट बिनियोजन भएको बेनी–पाखापानी सडकका लागि बहुबर्षीय ठेक्का लगाउन रु. २५ करोडको स्रोत सुनिश्चितता भएको छ,” उहाँले भन्नुभयो “पूर्वाधार विकास कार्यालयले यसै वर्ष २५ करोडको ठेक्का लगाउने तयारी गरेको छ । थप बजेट ब्यवस्थापन गरेर पाखापानी सम्मकै सडक कालोपत्र गर्न पहल गरेका छौ ।”

सांसद भण्डारीले ठाडाखानीको घोप्टेखोलामा मोटरेबल पुुल बनाउन रु. पचास लाख र कोटगाउँ–रायखोर सडक निर्माणका लागि रु. तीस लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रिम बहादुुर कटुवालले चुुनावमा गरेको प्रतिवद्धता अनुसारनै माओवादीका जनप्रतिनिधिहरुले म्याग्दीको विकासका क्षेत्रमा अगुवाई गरेका बताउनुभयो ।

संविधानको रक्षा र कार्यान्वयनका साथै संघीयताको सवलीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले प्रयास गरिरहेको नेता कटुवालले बताउनुुभयो । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी रुपान्तरण अभियान लिएर सांसद भण्डारी र नेता कटुवाल पाखापानी औला पुग्नुभएको हो ।

म्याग्दीमा सिसीटिभिको प्रयोग सम्बन्धि तालिम सञ्चालन

विश्व विख्यात सिसीटिभि उत्पादनक कम्पनी युएनभीले म्याग्दी जिल्लामा पहिलोपटक सिसीटिभि सम्बन्धित तालिम सञ्चालन गरेको छ । युएनभी र इगल टेक नेपालले विटेक आइटी सोलुसनको संयोजनमा बेनीमा सम्पन्न भएको एकदिने डिलरहरुलाई तालिम दिएको हो ।

सिसीटिभिको प्रयोग, जडान र मर्मतसम्भार लगायत प्राविधिक विषयमा तालिम सञ्चालन गरिएको थियो । तालिममा म्याग्दी, बागलुङ, पर्वतमा करिब ५० जना सहभागी भएका थिए ।

युएनभीको नेसनल डिस्ट्रिब्युटर इगल टेक नेपालका युएनभीका चिफ इन्जिनियर नारायण गैरेले सहजीकरण गरेका थिए ।युएनभीले उत्पादन गरेका सिसीटिभि गुणस्तरीय भएकाले ग्राहकको अत्याधिक मागलाई मध्यनजर गरी बेनीमा धौलागिरीस्तरीय तालिम सञ्चालन गरिएको विटेक आइटी सोलुसनका प्रोपाइटर खगेन्द्र खत्रीले बताए ।

उनले सिसिटिभीको दिगोपन र मर्मत र प्रयोगमा सहज हुने गरी तालिम सञ्चालन गरिएको बताए । उनले प्रयोगकर्तालाई समेत सिसीटिभी सम्बन्धि तालिम दिने गरिएको बताए ।

विटेक आइटी सोलुसनको युनएभीको धौलागिरीको चार जिल्लाको आधिकारिक डिलर हो ।कम्पनीका प्रमुख अनिल दाहालले कम्पनीका भावी रणनीतिबारे जानकारी गराए ।

इगल टेकका सञ्चालक बालकृष्ण उप्रेती, इगल टेकका प्रबन्ध निर्देशक मोहन ढुंगानाले ग्राहकले युएनभीका उत्पादन किन्दा पाउने सुविधा र स्किमबारे जानकारी दिए। १० हजारभन्दा माथिको खरिदमा स्क्याच कुपन र लक्की ड्रमार्फत् मोटरसाइलक जित्नेदेखि विदेश भ्रमणसम्मका अफर रहेको म्याग्दीका खगेन्द्र खत्रीले बताए ।

म्याग्दीको सदरमुकाम बेनीबजारमा युएनभीको सिसिक्यमेरा जडान गरी ट्राफिक व्यवस्थापनदेखि सुरक्षा व्यवस्थासम्म सघाइरहेको छ ।

बास्केटबलमा जम्दै भर्जुलाका नुकेश जुग्जाली

नेपाल बास्केटबल संघको आयोजनामा भएको यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा म्याग्दीको मंगला गाउँपालिका–१,भर्जुलाका नुकेश जुग्जाली सर्वोत्कृष्ट खेलाडी घोषित भए । काठमाण्डौको गोल्डेनगेट टिमबाट समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता खेलेका जुग्जाली सेमिफाइनल र फाइनलका सर्वाधिक गोलकर्ता हुन् ।

सेमिफाइनलमा जुग्जालीले १०५ स्कोरमा ४० स्कोर र फाइनलमा १ सयमा २८ स्कोर गदैं सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित भए ।यु–१९ बास्केटबलमा उदयमान खेलाडीको रुपमा स्थापित भएका १८ बर्षिय जुग्जालीले म्याग्दी जिल्लाबाट दुईपटक गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका थिए ।

गाउँको आर्दश यूवा क्लवबाट सानै उमेरमा बास्केटबल खेल्दै आएका उनको टिमले पोखरामा महानगरपालिद्वारा संचालित विद्यालयस्तरीय बास्केटबल,कीर्तिपुर नगरपालिकाद्वारा संचालित राष्ट्रव्यापापि अन्तर स्थानीय तहस्तरीय बास्केटबल प्रतियोगितामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजेता समेत भयो ।

राष्ट्रिय प्रतियोगितामा म्यान अफ दि म्याच घोषित भए ।कलिलै उमेरमा अनु्भवी खेलाडीहरुसँगै खेलमा सहभागी हुने अवसर पाएका जुग्जालीलाई क्लवले प्रतियोगितामा अफर गर्न थालेका छन् । म्याग्दीका साथै पर्वत, पोखरा, काठमाण्डौमा सक्रिय रहेका बास्केटबल क्लवले राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा म्यान अफ दी म्याच, सर्वोत्कृष्ट, उदयीमान खेलाडी जस्ता अन्य विभिन्न विधाबाट सम्मानित समेत भएका छन्।

गाउँको आदर्श युवा क्लब, कालिपुल युनाइटेड क्लब, बनौ क्लवमा धेरै खेल्ने गरेका जुग्जालीलाई म्याग्दी जिल्ला बास्केटबल टिम कोच बिसन राना, पूर्व म्याग्दी जिल्ला बास्केटबल कप्तान गिमिन पुर्जा,म्याग्दी जिल्ला बास्केटबल कप्तान पुस्कल छन्त्यालले समेत प्रोत्साहन गर्ने गरेका छन् ।

‘बास्केटबलमा अझै राम्रो खेल्ने प्रयास गरेको छु, नेपालको टिमबाट खेल्ने लक्ष्य सहित मेहनत गरिरहेको छु’ जुग्जालीले भने। उनले अहिले विभिन्न राष्ट्रिय च्याम्पियनमा सहभागी हुने अवसरले खेलमा सुधार भएको बताए । उनले विभागीय टोलीमा प्रवेश गरी राष्ट्रिय टिम प्रमुख लक्ष्य रहेको बताए ।

पछिल्लो समय म्याग्दीमा बास्केटबल प्रतियोगिता हुन थालेपछि खेलाडीले अवसर समेत पाइरहेको उनले बताए । जिल्लामा बास्केबलको प्रशिक्षण तथा प्रोत्साहनमा सरकारी निकायबाट सोचेजस्तौ सहयोग नभएको बताए । बास्केटबल खेलाडी जुग्जालीका दाजु मनकुमार जुग्जालीले उचित अवसर पाए बास्केटबलमा राम्रो सम्भावना भएको बताए ।

उनले बास्केटबल खेलका लागि परिवारबाट समेत प्रोत्साहनले थप उत्साहित भएको बताए । बास्केटकलमा राम्रो खेल देखाउन सफल भएपछि सहयोग समेत आउन थालेको बताए ।

उनले जिल्लामा सरकारी निकायबाटै नियमित प्रशिक्षण सहित बास्केटबल खेललाई समेत उच्च प्राथमिकता दिन सकेमा ओझेलमा परेका खेलाडीहरुले अवसर पाउने बताए । यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बास्केटबलका खेलाडीलाई प्रोत्साहन सहितका कार्यहरु गरिएको बताए ।

म्याग्दीमा फुटबल, भलिबलसँगै बास्केटबल निकै लोकप्रिय छ । स्थानीयस्तरमा यूवा क्लवले नै बास्केटबलका लागि पूर्वाधार बनाउने गरेका छन् । युवा पुस्तामाझ यति लोकप्रिय भइसक्दा पनि बास्केटबलको सहभागिता र उपलब्धिका बारेमा स्थानीयस्तरमा प्रतियोगिता सञ्चालन गर्ने संघसंस्थाले भलिबल र फुटबलजस्तै प्राथमिकता भने दिने गरेका छैनन् ।

गङ्गालालको निर्देशकमा डा. रबि मल्ल

म्याग्दीको रघुगंगा गाउँपालिका-२, भगवतीका डा.रवि मल्ल गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा नियुक्त भएका छन्। गत पुस ६ गते कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि निर्देशकमा डा. मल्ललाई चयन गरिएको हो ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले अनुभव र सक्रियताका हिसावले निर्देशकमा डा.मल्ल नै उपयुक्त रहेको राय सहितको निर्देशन दिएपछि नियुक्ती गरिएको मन्त्रालयले जनाएको छ । डा.मल्ल कार्डियो इन्टरभेसनल विशेषज्ञ हुन्।यो विशेषज्ञ अन्तर्गत कोरीनरी एन्जिओग्राफी र एन्जिओप्लास्टी सेवाका विज्ञ मानिन्छ । डा. मल्लको नेतृत्वमा देशका विभिन्न जिल्लाहरुमा शिविर हुने गरेको छ ।

न्यू दोभान यूथ क्लवले ५ लाखको अक्षय कोष स्थापना

म्याग्दीको बेनी नगरपालिका-७,मा सक्रिय न्यू दोभान युथ क्लबले दिवङ्गत पूर्वअध्यक्ष अनन्त गिरीको स्मृतिमा अक्षय कोष स्थापना गरेको छ । पहिलो र दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताबाट बचत भएको ५ लाखको अक्षय कोष बनाइएको हो ।

क्लवमार्फत अक्षय कोष स्थापनार्थ भएका प्रतियोगिताबाट बचतलाई कोषमा जम्मा आगामी दिनमा ब्याजबाट क्लवका गतिविधि सञ्चालन गर्ने अध्यक्ष उपेन्द्र गिरीले बताए । उनका अनुसार अक्षय कोषलाई बृद्धि गदैं जाने बताए । अक्षय कोषको कार्यविधि सहित अन्य प्रक्रियाहरु समेत पूरा गरी घोषणा गरिने छ ।

बेनीबजारमा सक्रिय रहेको क्लवले खेलकुदसँगै अन्य सामाजिक कार्यमा समेत सक्रियता देखाउने बताए । छात्रालाई फुटबल खेलप्रति आकर्षित गर्ने उद्देश्यले हरेक बर्ष फुटबल प्रतियोगिताको आयोजना गदैं आएको क्लवले वडा कार्यालयसँग समेत समन्वय गरी विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ ।