Sunday, June 29, 2025
21.1 C
Beni
21.1 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 445

उल्लासमय तरिकाले मालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटोफिचर)

म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बलमान पुनले उद्घाटन गर्नुभएको हो ।

शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले बताउनुभयो ।

प्रतियोगितामा विजेता विद्यालयले ८० हजार, उपविजेताले ६० हजार र तृतिय हुने विद्यालयले ४० हजार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।उद्घाटन कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्वुजाले विद्यार्थीहरुलाई अनुशासनपूर्वक खेल कौशल प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

खेलाडी उत्पादन गर्ने थलो विद्यालय भएकाले विद्यालय स्तरमा रहेका खेलाडीहरुको खेल क्षमता अभिवृद्धिका लागि राष्ट्रपति रनिङ शिल्डले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गर्वुजाले बताउनुभयो । खेल क्षेत्रको विकासलाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष गर्वुजाको भनाई थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उत्कृष्ट खेलाडीले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा समेत आफ्नो प्रतिभा देखाउन सक्ने भएकाले अनुशासनपूर्वक उत्कृष्ट खेल प्रदर्शन गर्न अनुरोध गर्नुभयो । साथै उहाँले निष्पक्ष र मर्यादित तवरले खेल संचालन गराउनका लागि सम्पूर्ण अफिसियलहरुलाई सपथ समेत गराउनुभएको थियो ।

उद्घाटन खेल स्वरुप आयोजित १५ सय मिटर दौडमा छात्रतर्फ किसानी मावि विमले स्वर्ण, जनप्रीय मावि दरवाङले कास्य र भिम मावि देविस्थानले रजत पदक जितेको छ । त्यस्तै छात्रातर्फ किसानी मावि विमले स्वर्ण, भिम माविले कास्य र जनप्रीय माविले रजत पदक जितेको छ ।

विजेता विद्यार्थीहरुलाई पालिका अध्यक्ष गर्वुजा, उपाध्यक्ष लक्ष्मीदेवि घर्ति पुन मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोका लगायतले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रीय माविका शिक्षिकाहरु, केवि एकेडेमी, फ्यचर स्टार मन्टेश्वरी लगायतका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षा शाखा अधिकृत अशोक रिजालको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोकाको स्वागत र जनप्रीय माविका प्रधानाध्यापक दिवाकर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।  

 

 

साउदी हिँडेका बिक्रम फ्लाइट छुटेपछि कहाँ हराए ?

पाल्पाको पुर्वखोला गाउँपालिका- १ सिलुवाका २३ वर्षे बिक्रम पंगेनी वैदेशिक रोजगारीको लागि साउदी अरब जाने फ्लाई दुबईको फ्लाइट मिस भएसँगै एक सातादेखि हराइरहेका छन्।

पंगेनी गत पुस ६ गते फ्लाईदुबई मार्फत साउदी अरेबिया जाने तरर्खरमा रहेका थिए। तर, प्लेनको टिकटमा भएको मितिमा झुक्किएर उनको फ्लाई मिस भएको थियो।

वैदेशिक रोजगारीमा जाने टिकटमा सामान्य त्रुटि भएर निराश भएका भाइ विगत एक सातादेखि घरपरिवार र आफन्तसँग सम्पर्कविहीन भएर हराइरहेको दाजु सागर पंगेनीले जानकारी दिए।

‘वैदेशिक रोजगारीको लागि भाइ साउदी अरेबिया जाने तयारीमा थिए। फ्लाइटको टाइमिङमा झुक्किँदा उनी उड्न पाएनन्,’ हराइरहेका बिक्रमका दाइ सागरले नागरिकसँग भने‘भाइ पुस ६ गते बेलुकादेखि परिवार तथा आफन्तजनसँग सम्पर्कमा छैनन्। त्यसैले जहाँ भएपनि तत्कालै परिवारसँग सम्पर्कमा आउन अनुरोध गर्दछु।’

बिक्रमले फ्लाईदुवई मार्फत साउदी अरब जानका लागि  पुस ६ गते बिहान पख १२ः ४५ बजेको टिकट काटेका थिए। तर उनी झुक्किएर पुस ६ गते बेलुका १२ः ४५ बजेको फ्लाइट समय भन्दै विमानस्थल पुगेका थिए।

उनलाई ६ गते बेलुका साढे ९ बजे आफन्त तथा इष्टमित्र विमानस्थलमा बिदाइ गर्न समेत पुगेका थिए। उनी आफन्तसँग बिदाइ भएपछि थप प्रक्रियाको लागि अघि बढेका थिए। परिवारका सदस्यले विक्रम हराएको भन्ने कुरा सूचना साउदी अरेबियामा रहेका आफन्तजनले  उनी नआएको बताएसँगै विक्रम हराएको पुष्टि भएको थियो।

‘साउदी अरेबियामा रहेका आफन्तले विक्रम नआएको जानकारी गराएसँगै भाइको सोधखोज गर्न थाल्यौँ,’ सागरले भने, ‘परिवारका सदस्यले पुस ११ गते महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा त्रिभुवन विमानस्थल परिसरको सिसी क्यामेरा हेर्दा विक्रम पुस ६ गते बेलुका फ्लाइट नभएर निराश हुँदै विमानस्थलबाट फर्किरहेको देख्यौँ। तर, भाइ अहिलेसम्म न त परिवारको सम्पर्कमा आएका छन्। न त आफन्तको नै। त्यसैले अहिले हामी सबै मिलेर खोजी कार्य गरिरहेका छौँ।’

परिवारका सदस्यले पुस ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा पनि विक्रम हराएको भन्दै सोधखोजको लागि निवेदन दिइसकेका छन्। परिवारका सदस्यले पुस ११ गते महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको सिसी क्यामेरा हेर्दा पुस ६ गते बेलुका ११ः१९ बजे विक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाट लगेज गुडाउँदै बाहिर निस्किएको दृश्य देखिएको थियो।

त्यहाँदेखि विक्रम परिवारको सदस्यसँग सम्पर्कमा छैनन्। ‘विमानस्थलको सिसी क्यामेरामा विक्रम विमानस्थलको गेटबाट बाहिरिएसँगै कुनै एक जना मान्छेसँग कुराकानी गरेर सिनामंगलतर्फ गइरहेको दृश्य देखिएको छ,,’ दाइ सागरले भने। आफन्तले हराइरहेका बिक्रमलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८६९४५७५४६ नम्बरमा सम्पर्क गराइदिन अनुरोध गरेका छन्।

बागलुङ महोत्सवः महिला भलिबल सुरु

सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश खुल्ला महिला भलिबल प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ ।प्रतियोगिताको पहिलो खेलमा प्रेम दाईको रेष्टुरेण्ट तंग्रामले धौलागिरी बहुमुखी क्याम्पस बागलुङलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । तंग्रामले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो ।

यस्तै बिहिबारको दोस्रो खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङ र काठेखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । सुनचाँदी व्यवसायी संघले २५–२०, २५–१३ र २५–१४ को सोझो सेटमा जित हात पारेको हो ।

प्रतियोगिता अन्तरगत भोली (शुक्रबार) पहिलो खेल गलकोट नगरपालिका–१० पाण्डवखानी र निर्माण व्यवसायी संघ बागलुङ विच हुनेछभने दोस्रो खेल नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङ र नव मालिका युवा क्लब बागलुङका विच हुनेछ।प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय हुने टिमले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने भलिबल संयोजक सञ्जय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

४ महिनामा गण्डकीका ६५ जनाको विदेशमा मृत्यु, म्याग्दीका ३ जनाले ज्यान गुमाए

चालू आर्थिक वर्ष २०८०र०८१ को चार महिनामा गण्डकी प्रदेशबाट विदेश गएकामध्ये ६५ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै नवलपुरका १६ जना, स्याङजा र कास्कीका ११ र११ जना, बागलुङका १० जना छन् ।

यस्तै, लमजुङ र तनहुँका ५र५ जना, म्याग्दी र गोरखाका ३र३ जना तथा पर्वतका १ जनाको पनि मृत्यु भएको छ। यसैगरी विदेशमा भएका गण्डकीका १८ जनालाई स्वास्थ्यमा समस्या आएको पाइएको छ । कतिपयको उपचार भएको छ भने कतिपय उपचार नपाएर गम्भीर अवस्थामा छन् ।

विदेश जाने नेपालीहरुलाई विदेशमा हुने प्रणालीगत व्यवस्थाबारे थाहा नहुँदा धेरै समस्यामा फस्ने गरेको र पाउने राहत तथा क्षतिपूर्ति पनि नपाउने अबस्था रहेको रटर्नी समिति तदर्थ समितिका सदस्य खेमराज सापकोटाले बताए ।विदेशी कामदारको हितमा पैरवी गर्ने विभिन्न संघ संस्थाको समन्वयमा विदेशमा ज्यान गुमाएकाको परिवारलाई ६ करोड ३६ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ । ५ जनालाई २३ लाख ३० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

गत आर्थिक वर्ष २०७९र८० मा १ सय ७२ जना मानिस वैदेशिक रोजगारीका क्रममा ठगिएको उजुरी गण्डकीमा रहेको वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन ९सामी० मा दर्ता भएको छ । यो संख्या आर्थिक वर्ष २०७८र७९ मा १ सय ३३ र २०७७र७८ मा ३५ वटा थियो । अघिल्लो वर्ष ठगीमा परेको उजुरीमध्ये ४१ जनाले न्याय पाएका छन् । सामीमा दर्ता भएका उजुरीका आधारमा एकैवर्ष ४ करोड भन्दा बढी ठगीको तथ्यांक छ ।

आव २०७९र८० मा ९५ लाख क्षतिपूर्ति दिलाइएको छ भने २०७८र७९ मा ६८ लाख तथा २०७७र७८ मा करिव ८ लाख पीडितलाई उपलब्ध गराइएको छ । कास्की प्रहरीमा वैदेशिक रोजगार ठगीसम्बन्धी पोहोर ४१ उजुरी दर्ता भए । जसमा साढे १ करोड रुपैयाँभन्दा बढी रकम ठगिएको दावी छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा मासिक ३० भन्दा बढी उजुरी पर्छ । चालू वर्षको पहिलो चौमासिकमा प्रदेशभित्र १ सय ६३ वटा ठगीका केस दर्ता भएका छन् । ३४ जनालाई सम्बन्धित निकायबाट आर्थिक भर्पाइ गरिएको छ । ६२ लाख १७ हजार रुपैयाँ भरण गरिएको हो ।

कास्की प्रहरीमा १५ उजुरी परेकोमा ८४ लाख ५० हजार रुपैयाँ बराबरको रकम ठगी भएको दाबी गरिएको प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । वैदेशिक रोजगारीमा जाने अधिकांश युवायुवतीहरु आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिएका छन् ।

ठगिएकाहरुसँग रकम लेनदेनको प्रमाण नभएका कारण बढी समस्या पर्ने गरेको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मी बताउँछन् ।‘ठगीको जालो छ । ठग्नेहरु पुर्व तयारीका साथ लाग्छन् । तर ठगिनेहरु सुरुदेखि नै प्रलोभन र दवावमा हुन्छन्,’ उनले भने, ‘ठगिएको कुनै प्रमाण हुँदैन । न्याय दिनका लागि पनि निकै कठिन हुन्छ कतिपय केसहरुमा ।’ यसरी ठगिनेमा महिला पुरुष उस्तै रहेको सामीले जनाएको छ । सामीमा परेका उजुरीहरु वैदेशिक रोजगार विभागमा पठाउने र रोजगारीसँग नजोडिएको भए जिल्लामै किनारा लाग्ने उनले बताए ।

गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी बागलुङ, नवलपुर, तनहुँ, स्याङ्जा, कास्कीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढी पाइन्छ । बैदेशिक रोजगारीमा नठगिनका लागि व्यापक जनचेतनाको आवश्यक्ता रहेको सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेलले बताए । उनले गण्डकीका ११ वटै जिल्लामा विभिन्न सञ्जाल बनाएर बैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने बताएका छन् ।

वडामै योजना सम्झौताले उपभोक्ता उत्साहित, समयमै योजना सम्पन्न गर्ने प्रतिबद्धता

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्ने कार्यलाई निरन्तरता दिइको छ । गाउँपालिकामा रहेका ८ वटै वडामा पुगेर योजना सम्झौता गर्ने भनेर शुरु गरीएको सम्झौता गर्ने कार्य अनुरुप गाउँपालिकाको १ नम्बर वडाको दोवामा पुगेर योजनाहरु सम्झौता गरेको छ ।

वडा नम्बर ८ राम्चे, ७ हिस्तान पछि वडा नम्बर १ दोवामा योजना सम्झौता भएका हुन् । त्यस पछि क्रमशः वडा नम्बर २, ३, ४ र ५ मा पनि योजना सम्झौता शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा कर्मचारी, प्राविधिक र बैंकका कर्मचारी सहितको टोली योजना सम्झौताका लागि १ नं. वडाको दोवामा पुगेका थिए ।

गाउँपालिकाले वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र पैसा खर्च बचत भएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका अध्यक्ष दिलिपक कुमार गर्बुजाले बताउनुभयो ।

उहाँले भन्नुभयो—‘वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र जान, योजना सम्झौता गरेर घर फर्कनका लागि दुईदेखि तीन दिन सम्म लाग्ने गरेको थियो तर वडामै योजना सम्झौता गर्न पाउँदा समय र पैसाको बचत भएको छ ।’

योजना सम्झौता र बैंक खाता खोल्नका लागि उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालय सम्म जान आउन गाडीभाडा, खाना, खाजालगायतको खर्च व्यक्तिगत रुपमै व्यहोर्नु पर्ने हुन्थ्यो तर गाउँमै गाउँपालिका एवम् बैंकको टोली आएर सम्झौता गर्दा समय सँगै पैसाको बचत भएको गोविन चोचाङ्गेले बताउनुभयो ।

सम्झौता गर्नका लागि गाउँपालिका जानु पर्दा कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झन्झट हुन्थ्यो तर वडामै सम्झौता गर्नकालागि गाउँपालिकाको इन्जीनियर, हाकीम अनि बैंकका कर्मचारी पनि आउदा निकै सहज भएको छ उहाँले भन्नुभयो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, इन्जीनियर इश्वर भण्डारी एवम् बैंकका कर्मचारी सहितको टोली योजना सम्झौता शिविर लिएर वडा नम्बर १ दोवा पुगेको थियो ।

दोवामा चालु आर्थिक वर्षमा छनौट भएका योजनाहरु सम्झौता गरीएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । घोरेटोबाटो तथा रेलिङ निर्माण, भुमेथान रेलिङ तथा सिडि निर्माण, वडा कार्यालयको शौचालय निर्माण, मरका खेलमैदान मर्मत तथा ढलानलगायतको योजना सम्झौता भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधिकारीहरूलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्नुका साथै योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय व्यवस्थापन सम्बन्धी तालिम पनि दिएका हौं ।’
आठ वटै वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधीकारीहरूलाई प्रशिक्षण दिइने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा १५० वटा योजना कार्यान्वयन गर्दैछ ।तीन लाख रुपैयाँ भन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता गर्ने अधिकार वडा सचिवलाई नै प्रत्यायोजन गरिएको र त्यो भन्दा ठूला योजनाहरु गाउँपालिकाले सम्झौता गर्ने कार्यविधि भएकोले पनि गाउँपालिकाको टोली वडामै आएर सम्झौता गरेको वडा सचिव मनकुमार गर्बुजाले बताउनुभयो ।

वडामै योजना सम्झौता गर्ने र अभिमुखिकरण गर्दा बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटी न्युनीकरण गर्न उपभोक्ता समितिलाई सहज र सजिलो हुने अपेक्षा गरिएको उहाँको भनाई थियो ।साही शिविरको अवसरमा गरिबी पहिचान परिचयपत्र समेत बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलीजा पुनले बताउनुभयो ।

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार६ सय ५० रुपैयाँ

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरेको हो।

बैठक निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको जानकारी दिइन्।

पर्यटकीय सम्भावना बोकेको गाम्फा धुरी ओझेलमा

पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ । हिमाल र पहाडी भूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुक्त स्थान भए पनि पूर्वाधार र प्रचारप्रसारको कमीले गाम्फाधुरीमा पर्यटक भित्रन नसकेका हुन् ।

पूर्वी रुकुमको चुरेनदेखि गुर्जा, धवलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे हुँदै गोर्खामा रहेका मनास्लुसहितका २० भन्दाबढी हिमशृङ्खला अवलोकन गर्न सकिने गाम्फाधुरी सुनसान छ ।

म्याग्दी, बागलुङ, पर्वत र कास्की जिल्लाकासमेत अधिकांश ग्रामीण बस्ती देख्न सकिने गाम्फाधुरीमा स्वामी परमानन्द महाराजले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधनास्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिने मङ्गला गाउँपालिका–४ का वडा सदस्य होममाया पुनले बताए ।

“व्यवस्थित पदमार्ग, खाने, बस्ने सुविधा, खानेपानी, विद्युत् सुुविधाविहीन गाम्फाधुरीको सौन्दर्य र विशेषता स्थानीयस्तरमा सीमित हुुँदा ओझेल परेको हो”, उनले भने, “घना जङ्गलको बीचमा रहेको अग्लो पहाडको टुप्पो, गाम्फा धुरीको सौन्दर्यको वर्णन गरिसाध्य छैन ।” गाम्फाधुरीमा परापूर्वकालमा स्वर्गद्वारीबाट आएका १००८ स्वामी परमानन्द महाराजले तपस्या गरेका थिए । बस्तीदेखि टाढा रहेको गाम्फाधुुरीमा तपस्वीले ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाएको संरचना छ ।

तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाउने बेनीका अमित विश्वकर्माले बताए । “सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यले मोहित बनायो”, उनले भने, “यस क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका लालीगुराँस, वनस्पति, विभिन्न चराचुरुङ्गी र जनावर पनि अवलोकन गर्न पाइन्छ ।”

गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण तथा प्रवद्र्धनमा जनप्रतिनिधिले चासो देखाएका छन् । मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडाले पहल थालेको बताए ।

“गाम्फाधुरी प्राकृतिक सुन्दरतासँगै ऐतिहासिकस्थल हो”, उनले भने, “यहाँ भग्नावशेषमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गरेर तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ ।”

विसं २०१७ देखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गरेका थिए । उनले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गरेका थिए । तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्दसहित उनका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने वडा कार्यालयको योजना छ ।

“गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको माग गरेका छौँ”, वडाअध्यक्ष रोकाले भने ।

गाउँपालिकाका सब–इञ्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठूलो रकम आवश्यकपर्ने बताए । गाम्फाधुरीमा पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घ सरकारसँग बजेटको माग गर्नलाई हाल वडा कार्यालयले सर्वेक्षण गरेको उनले बताए ।

म्याग्दीको सदरमुकाम बेनीबाट तातोपानी हुँदै मङ्गला–४ बुकेनीमा सवारी साधनमार्फत एक घण्टाको यात्रा र बुकेनीबाट करिब साढे तीन घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ । त्यस्तै मङ्गला–३ को झाँक्रीपानी भएर पनि उक्त स्थानमा पुग्न सकिन्छ । रासस

३ पदका लागि कांग्रेस गण्डकीबाट १७८ जनाको नाम सिफारिस !

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस गण्डकीले नाम सिफारिस गरेको छ । गण्डकीमा तीन क्लष्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गता÷अल्पसंख्यकमा १÷१ गरि तीन पद रिक्त हुँदैछ । त्यसकै लागि बुधबार कांग्रेस प्रदेश कार्यसमितिले १७२ जनाको नामावली सिफारिस गरेको हो ।

गण्डकीबाट निर्वाचित भई राष्ट्रिसभाका अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना सहित सदस्यहरु दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरुको पदावधि फागुन २० गते सकिँदैछ । सोही रिक्त पदमा सयौँले आकांक्षा राखेका हुन ।

दिपशिखा माविमा गणेश पोवीसरा स्मृति कोषको खेलकुद सुरू

गणेश पोवीसरा स्मृति कोषको आयोजनामा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँस्थित दिपशिखा माविमा पालिकास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

दिपशिखा माविको प्राङ्गनमा आयोजित मंगला गाउँपालिका स्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिताको कोषका उपाध्यक्ष रुकबहादुर राम्जाली र भेषमायाँ राम्जालीले उद्घाटन गर्नुभयो ।

शिक्षा, स्वास्थ्य लगायत सामाजिक कार्यमा सक्रिय रहेको कोषले खेल प्रतिभाको पहिचानका लागि हरेक बर्ष प्रतियोगिता गर्ने गरेको विद्यालयका प्रधानाध्यापक डा।नन्दबहादुर खत्रीले बताउनुभयो ।

प्रतियोगितामा छात्रतर्फ ८ र छात्रातर्फ ५ टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन गदैं प्रमुख अतिथि रुकबहादुरले कोषमार्फत भविस्यमा थप रचनात्मक कार्यहरु समेत गरिने बताउनुभयो ।

समाजसेवी स्वर्गीय गणेशबहादुर र पोविसरा रोकाको स्मृतिमा छोरा मुक्ति रोका र परिवारले दिपशिखा माविमा १० लाखको अक्षय कोष स्थापना गर्नुभएको छ।

कुहुँ तुसारेपानी घरभई हाल अष्ट्रिलियामा बस्ने रोकाले स्वर्गीय बुबाआमाको स्मृतिमा स्थापना गरेको कोषमार्फत खेलुकद सहितका शैक्षिक गतिविधिलाई थप सहज बनाउन कोष बृद्धि गरी १० लाख पु¥याएर जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता गरिएको छ ।

पोविसराले कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएपछि श्रीमान बि।स २०६३ सालमा तत्कालिन कुहूँ गाविसका सचिव गणेशबहादुर रोकाले दीपशिखा माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक पुरस्कार वितरण सुरु गर्नुभएको थियो । समाजसेवी रोकाको कोरोना संक्रमणको कारण निधन भएपछि कोषको नाम गणेशबहादुर र पोविसरा रोकाको स्मृति नामाकरण गरिएको थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष रिप्रसाद पुन, स्वागत प्रअ खत्री र सञ्चालन सहायक प्रअ हरिकृष्ण भट्टराइले गर्नुभएको थियो । सोही अवसरमा कोषले खेलकुद साम्रागी समेत वितरण गरेको थियो ।

म अलि उदार भएँ, अस्तिको सम्बोधन अक्षरश: लागू गर्छु- प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै अक्षरश: लागू गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा उनले अब कामका आधारमा मूल्यांकन हुने बताए ।

प्रधानमन्त्रीले भने, ‘म अलि उदार भएँ । मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु । पहिला तपाईँहरूले यो कुरा आत्मसात गर्नुहोला । मैले अस्ति सम्बोधनमा जे कुरा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला । नियमित अपडेट हुनुहोला । आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौं । अरू काम पनि क्रमशः अगाडि बढ्छन् । सम्बोधन अक्षरशः पालना गरिन्छ ।’

उनले मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउने भएकाले सचेत भएर काम गर्न निर्देशन दिए ।

उनले भने, ‘नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा गुणात्मक परिवर्तन गर्दैछौं । योजना आयोग र अर्थ मन्त्रालयले पनि यो कुरा राम्रोसँग मनन गर्नुहोला । हाम्रो जिम्मेवारी राष्ट्र बनाउनु छ, जनताको आशा बचाउन पनि हामीले गम्भीररूपमा काम गर्नुपर्छ । यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला । हामीले काम गर्न सक्दैनौं भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला ।’