Friday, June 27, 2025
24.3 C
Beni
24.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 473

सडक र बस्तीले खुम्चिँदै सिमसार क्षेत्र

A spectacular view of Niskot Baraha Lake at Malika Rural Municipality-1 in Myagdi district, on Friday, October 13, 2017. Photo: RSS

भिरोलो जमिनमा पूर्वतर्फ मोहोडा भएको गाउँ हो, निस्कोट । दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि बनेको पक्की पुल तरेपछि सुरु हुने निस्कोट गाउँ म्याग्दीको मालिका गाउँपालिका वडा नं १ मा पर्छ । पुल तरेपछि ठाडै उकालो मोटरबाटोबाट सवारी साधनमार्फत डेढ घण्टामा निस्कोट गाउँको शिरानमा रहेको आकर्षक बराहा तालमा पुगिन्छ । यो तालमा धौलागिरि र निलगिरि हिमालको छायाँ स्पष्टै देखिन्छ ।

प्रशस्तै मिथक र किंबदन्ती रहेको यस ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण हुनुका साथै जैविक विविधता र सिमसार महत्वलेसमेत  महत्वपूर्ण छ । समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित बराह तालको सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । तालदेखि करिब ७० मिटरको दूरीमा पूर्वतर्फ बस्ती विस्तार हुँदा तालको मौलिकस्वरुप नासिँदै गएको छ । तालको सिरानमा रहेको जङ्गल हुँदै मोटरबाटो खनेपछि माथिबाट बगेर आउने ग्रेगर र माटोले ताल पुरिनुका साथै यहाँको सिमसार क्षेत्र नासिँदै गएको स्थानीय ज्ञानेस पुन मगरले गुनासो गरे ।

पहाडको टुप्पोमा रहेको यस तालमा बिहानीपख धवलागिरि र निलगिरि हिमालको छायाँ ऐना हेरेजस्तै स्पष्टै देख्न सकिन्छ । गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै फोहर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पक्षीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दथे । तर पछिल्ला चार वर्षयता यहाँका रैथाने चरा देखिन छोडेको र ताल सफा गर्ने चरा पनि कम हुँदै गएका निस्कोट माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् स्थानीय बुद्धिबहादुर पुनले बताए ।

“ताल वरपरको क्षेत्रमा बस्ती विस्तार हुँदा यस तालको अस्तित्व नै सङ्कटमा परेको छ, सार्वजनिक जग्गामा यहाँका केही स्थानीयले अतिक्रमण गरी घर बनाएर बस्न थालेपछि तालमा फोहर बढ्नुको साथै तालको क्षेत्र पनि साँघुरिँदै गएको हो”, स्थानीयवासी टकबहादुर पुनले भने, “तालको सिरान र जङ्गलमा घुम्ती नै घुम्ती बनाएर मोटरबाट बनेपछि यस तालको सिमसार क्षेत्र पनि नासिएको छ, चिस्यान घटेको छ । यहाँका चरा देखिन छोडेका छन् । यही अवस्था रहिरहेमा यो तालको अस्तित्व नै खतरामा छ ।”

कुनै फोहर वा जङ्गलका रुखबाट झरेर पात यो तालमा परेमा चराले सफा गर्ने गर्दथे । तर पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेर अन्यत्र जान थालेका छन् । “आँखै अगाडि हिमाल तालमा तिनै हिमालको छायाँ लोभलाग्दो दृश्य हेर्न पाइन्छ”, ताल अवलोकनका लागि पहिलो पटक निस्कोटमा आउनुभएका पर्वत कुश्माका बलराम श्रेष्ठले भने, “बराह तालको जैविक विविधता र सिमसार संरक्षणका लागि स्थानीय तहको ध्यान जान आवश्यक छ ।”

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ता किसान बराहतालमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय घरवास सञ्चालक रामकुमारी पुनले बताइन् ।

झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको यो तालबाट मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिन्छन् । बराह तालमा पुगेका पर्यटक यहाँको प्राकृतिक सुन्दरता र जैविक विविधतामा रमाउने गर्दछन् । यो ताल एक सय १३ मिटर लम्बाई, ६५ मिटर चौडाइमा फैलिएको छ । बर्खाको समयमा करिब २० मिटर गहिराइ हुने यो ताल हिउँदको समयमा भने पानीको सतह घटदा ८देखि १० मिटर गहिराइमा रहने पुनले जानकारी दिइन् ।

बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृश्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ । बराह तालमा वन जङ्गल र हिमाल देखिने प्रतिविम्ब (छाया)समेत आकर्षक रूपमा देखिने गर्दछ ।

हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराह तालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् ।

बराह तालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन् । तर पछिल्लो समय ती जलहाँस देखिन छोडेको उनीहरुको भनाइ छ । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन् । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीत सुन्न पाइन्छ । बराह ताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ ।

बराह ताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्नका लागि पुग्ने गरेका छन् । बराह तालको पर्यटन प्रवद्र्धन गर्नका लागि यहाँको जैविक विविधताको संरक्षण गरी पर्यावरणीय शुद्धता कायम पालिकामार्फत आवश्यक पहल गरिने मालिका गाउँपालिका १ निस्कोटका  वडाध्यक्ष टङ्कप्रसाद पुनको भनाइ छ ।

अध्यक्ष पुनका अनुसार मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि दक्षिण भागमापर्ने निस्कोट गाउँको सिमाना म्याग्दीको मङ्गला गाउँपालिका र बागलुङ जिल्लासँग जोडिएको छ । निस्कोटको पहिचान बोकेको बराहा तालको संरक्षणका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त रु चार लाख बजेटले ताल वरिपरि पर्खाल लगाइएको छ । यहाँको सीमसार क्षेत्र संरक्षणका लागि पालिकाले पहल गरिरहेको उनले जानकारी दिए ।

कूल १७.३ वर्ग किमीमा फैलिएको निस्कोटमा जम्मा एक हजार नौ सय ९४ जनसङ्ख्या रहेको छ । जसमध्य महिलाको सङ्ख्या एक हजार २६ र पुरुष नौ सय ६८ रहेको उनले जानकारी दिए । निस्कोटमा मकै, कोदो, गउँ, जौँ, राम्रो हुन्छ । यहाँ पुग्ने पर्यटकलाई घरवास सेवा उपलव्ध छ । यहाँ स्थानीय उत्पादनका खानाका परिकार दिइन्छ । विशेषगरी साउन महिनामा निस्कोटमा रहेको बराह तालको दृृष्य निकै नै रमणीय देखिने वडाअध्यक्ष पुनले जानकारी दिए ।

मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो ।

कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्षा कक्ष सहित ३ कोठे हुने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो । भवन आगामी चैत्र महिनाभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ ।

भवनको शिलन्यास गदैं क्याम्पसका संरक्षक एवम् गाउँपालिका अध्यक्ष रोकाले भौतिक पूर्वाधारसँगै शैक्षिक गतिविधिलाई समेत तिब्रता दिदैं पश्चिम म्याग्दीको शैक्षिक हब बनाउनुपर्ने बताउनुभयो ।  क्याम्पसको प्रशासनीक भवनको ३ तलेको डिपिआर तयार गरिएकाले भविस्यमा एउटै भवनबाट प्रशासनीक कार्यसम्पादनका लागि थप संरचना थपिने क्याम्पस सञ्चालन समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।

हाल शिक्षा संकायमा पठनपाठन भइरहेको क्याम्पसमा प्राविधिक र ब्यवस्थापन संकाय समेत थप गर्ने गरी संरचना थपिने अध्यक्ष थापाको भनाई छ । प्रशासनीक भवन शिलन्यास कार्यक्रममा मंगला–२ का वडा अध्यक्ष धनबहादुर खाती, प्राध्यापक संघ मंगला शिक्षा क्याम्पसका अध्यक्ष कलम भण्डारी, स्ववियू सभापति भिममायाँ रोका, सञ्चालन समितिका सदस्यहरु सहितको उपस्थिती रहेको थियो ।

म्याग्दीको सदरमुकाम बाहिरको पहिलो क्याम्पस मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रियामा समेत अगाडी बढेको छ । क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगबाट भौतिक पूर्वाधार सहित तालिम, शैक्षिक अवलोकन भ्रमण,अनुसन्धानमुलक तालिम लगायतका गतिविधिमा समेत सहयोग भइरहेको छ ।

पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’

धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृश्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।

पाँच सय वर्ष पुरानो नेपालकै पृथक् शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

सहज सडक यातायातको सुविधाको अभाव र गाजनेको ऐतिहासिक तथा धार्मिक महत्त्वका विषयमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको जगन्नाथ गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्माले बताउनुभयो । “तत्कालीन बाइसेचौबिसे राजा दिलिपबम (डिम्ब)ले विसं १९५० को दशकमा बनाएको शिखर शैलीको जगन्नाथ मन्दिरको आकार पृथक् छ”, उहाँले भन्नुभयो, “गाजनेको नजिकै रहेको डढेकोटमा तत्कालीन पर्वत राज्यको दरबारको भग्नावशेष छन् । गुफाको डाँडाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।”

धार्मिक र पर्यटकीय हिसाबले चर्चित मुस्ताङको प्रवेशद्वारका रूपमा रहेको बेनी बजारदेखि गाडीमा एक घण्टाको यात्रामा पुग्न सकिने भए पनि जगन्नाथ मन्दिर, ऐतिहासिक डढेकोट दरबार र गुफाको डाँडो (केभहिल) सुनसान हुने गरेको गाजनेका बासिन्दा यामबहादुर बानियाँले बताउनुभयो ।

“मुस्ताङ जाने आउने पर्यटक र भक्तजनलाई गलेश्वर, पछै, ढोलथान, जगन्नाथ, डढेकोट, केभहिल, टोड्केमा भित्र्याउन सकेमा उनीहरूको बसाई लम्बिने र स्थानीयवासीको आर्थिक गतिविधिमा सहयोग पुग्ने थियो”, उहाँले भन्नुभयो, “यसका लागि धार्मिक पर्यटकीय कोरिडोर बनाएर यातायात र पर्यटन पूर्वाधार बनाउनुपर्ने देखिन्छ ।”

जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, बलभद्र र सुभद्रादेवीको मुर्ति रहेको जगन्नाथ मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासी रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार कुखुरा र बङ्गुर नपालिने २५ घरधुरीको बसोबास रहेको गाजने गाउँभित्र मासु र मदिराको पनि उपभोग हुँदैन ।

प्रसिद्ध पौराणिक ग्रन्थ ‘रामायण’का अनुसार महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीस्थित केभहिल प्राकृतिक सौन्दर्य र हिमशृङ्खला दृश्यावलोकन गर्न सकिन्छ ।

समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको केभहिलबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दाबढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दा रुद्रबहादुर श्रेष्ठले बताउनुभयो ।

गाजने धुरीमा रहेको डढेकोट दरबारमा तत्कालीन समयमा भीषण बज्रपातबाट दरबार नष्ट भएपछि ढोलठानामा नयाँ दरबार निर्माण गरिएको इतिहासमा उल्लेख छ । विशाल, बलशाली र समृद्ध चौबिसी राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरैपछि मात्र बेनी बजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक पुस्तकमा उल्लेख छ ।

विसं १८४२ मा गोरखा–पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यहाँको लोकगीतका आधारमा पनि भन्न सकिन्छ ।

बेनी नगरपालिका–५ का अध्यक्ष गोविन्द बानियाँले केभहिलमा दृश्य अवलोकन केन्द्र र गाजनेदेखि डढेकोट दरबार जोड्ने पदमार्ग निर्माण गरिएको बताउनुभयो । महायज्ञ आयोजना गरेर सङ्कलित रकमबाट रु ४७ लाख ९१ हजार नौ सय ७३ खर्च गरेर जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको छ ।

पुनःनिर्माण भएको मन्दिरको आइतबार उद्घाटन गर्न गाजने पुग्नुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी र विमला गौचनले बेनीदेखि पुलाचौर हुँदै गाजने जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

“पोखरादेखि मुस्ताङ र कोरला नाका आवतजावत गर्ने पर्यटकलाई म्याग्दीमा भुलाउन र अडाउन यहाँका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थलको विकास आवश्यक छ”, मन्त्री जुग्जालीले भन्नुभयो, “म्याग्दीलाई व्यापारिक र धार्मिक मार्गका रूपमा विकास गर्ने प्रयास जारी छ ।” रासस

जापानमा पञ्चेबाजा प्रर्वधनमा मोनाले सघाउने प्रतिबद्धता

जापानमा पञ्चेबाजाको संरक्षणमा सक्रिय रहेको देउराली पञ्चेबाजा टोकियोले मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्कालाई सम्मान तथा स्वागत गरेको छ । म्याग्देलीको साझा संस्था मोनाको अध्यक्ष खड्कालाई सम्मान गदैं समुन्द्रपारी पनि पन्चेबाचाको प्रर्बधनमा सघाउन अनुरोध गरिएको छ ।

कार्यक्रममा मोना आईईसीका अध्यक्ष खड्काले विश्वभर रहेका म्याग्देलीलाई एकाबद्ध बनाएर मोनामार्फत हरेक अभियान सञ्चालन गर्ने बताएका छन्। उनले जापानमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध भएर म्याग्दीको कला र संस्कृतिको जर्गेना गर्ने कार्यमा सक्रिय हुन समेत अपिल गरे । देउराली पञ्चेबाजा टोकियोका अध्यक्ष देबेन्द्र भण्डारीले जापानमा पञ्जेबाजामार्फत म्याग्दीको कला र संस्कृतिको जर्गेनाको प्रयास भइरहेको बताए । उनले समुन्द्रपारी झनै जन्मभूमीको कला र संस्कृतिको प्रचारप्रसार आवश्यक रहेको बताए ।

सन् २०१२ मा स्थापना भएको देउराली पञ्चेबाजा टोकियो, जापानले भुकम्प पिडित, मृगौला पिडित, बाढी पिडित लगायत अन्य पिडितहरुलाई पनि सहयोग गर्दै आईरहेको छ । नेपाली कला संस्कृतीको जगेर्ना गर्नुका साथै दुखी गरिबहरुलाई सहयोग गर्ने संस्थाको मुख्य उदेश्य रहेको कार्य समिती सदस्य ढक प्रसाद जुग्जाली मगरले बताए । कार्यक्रममा मोनाका हरेक सार्वजनिक कार्यक्रमहरुमा पञ्चेबाजालाई आर्कषकको रुपमा प्रस्तुत गरिने बताइएको थियो ।

जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ

म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा एक समारोहबीच पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको हो ।

जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरुको प्राणप्रतिष्ठा गरी पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको जगन्नाथ धाम (मन्दिर) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । २०६९ सालमा मंसिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको थियो ।

सप्ताहव्यापी सो महायज्ञबाट सङ्कलित एक करोड आठलाख रुपैयाँको रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्नका लागि कुल ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिनुभयो ।

अझै पनि महायज्ञमा विभिन्न चन्दादाताहरुले बोलेको झण्डै आठलाख रुपैयाँ रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ। मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ ।

पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।

उहाँले धर्म र पर्यटनलाई सँगसँगै जोडेर धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै म्याग्दीका प्रमुख धार्मिक तीर्थस्थल गलेश्वर, पौलस्त्य पुलहाश्रम, जगन्नाथ र ताकम कोटलगायत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको थियो । पछिल्लो समय देशमा धर्मको नाममा बिकृति र अराजकता फैलिँदै गएको बताउँदै मन्त्री जुग्जालीले यस्ता गतिविधिले समाजमा सद्भाव खल्बलिने हुँदा सचेत बन्नुपर्ने बताउनुभयो ।

मन्त्री जुग्जालीले विगतको तुलनामा भन्दा अहिले विकासको गति बढेको बताउँदै बेनीदेखि जगन्नाथसम्म सहज रुपमा आउन सक्ने गरी सडकको स्तरोन्नति र विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

संविधान सभा सदस्य गोविन्द पौडेलले आफू सभासद हुँदा अर्थुङ्गे–पुलाचौर–चिप्लेटी र नयाँगाउँ–जगन्नाथ जोड्ने सडकको ट्र¥याक खोलेको बताउनुभएको थियो । गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले प्रदेश सरकारमार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जगन्नाथ क्षेत्र धार्मिक हिसाबले उत्कृष्ट गन्तव्य रहेकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतम, बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, आर्किटेक इन्जिनियर विनोद खड्का, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, चन्दादाता गोपाल बानियाँ र जगन्नाथ मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गुठी व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँको अध्यक्षता र कोषाध्यक्ष रामचन्द्र पौडेलको स्वागत रहेको कार्यक्रममा सचिव निलकण्ठ शर्माले सञ्चालनसँगै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बेपत्ता भएकी पुष्पा सापकोटाको रहस्यमय मृत्यु

म्याग्दीको सदरमुकाम बेनीबाट ३ साता अगाडी बेपत्ता भएकी मंगला गाउँपालिका–३,बरंजाकी ३० बर्षिया पुष्पा सापकोटा आइतबार छिमेकी जिल्ला पर्वतको एक सामुदायिक बनमा मृतावस्थामा भेटिएकी छन् ।

गएको कात्तिक २१ गते विहान बेनी नगरपालिका–८,क्याम्पसचोकबाट सम्पर्कविहिन भएकी सापकोटाको आइतबार विहान करिब ९ बजे छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका वडा नं ३ ठुलो सल्लेरी र भिरमुनी सामुदायिक बनमा वीभत्स अवस्थामा भेटिएको थियो ।

मृतक सापकोटाको अनुहार नचिनिने अवस्थामा बनको सबैभन्दा अफ्ठारो ठाउँमा भेटिएको प्रहरीले जनाएको छ । कात्तिक २१ गते विहान पौने ११ बजे मेडिकलबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएपछि आफन्त, प्रहरीले तिब्र खोजी गरिरहेको स्थानको माथिल्लो क्षेत्रमा भिरबाट खसेको जस्तै देखिने गरी शब भेटिएको खोजीकार्यमा संलग्न आफन्तले बताएका छन् ।

मेडिकलमा काम गर्दागदैं हिडेको अवस्थमा कालिपुल हुदै गएकी सापकोटा करिब एकघण्टाभन्दा बढी पैदल हिडेर कसरी त्यहाँ पुगिन भन्ने बारेमा आफन्त र प्रहरीले समेत रहेत रहस्यमय भनेको छ ।

हराएको सूचना पाउनासाथ खोजतलासका लागि नेपाल प्रहरी, आफन्त र स्थानीय बासिन्दा खोजतलासमा जुटेको स्थानको माथिल्लो क्षेत्रमा शब भेटिएको छ ।

‘खोजीकार्य गर्दा निकै जोखिम र जानै नसक्ने ठाउँ भएकाले छोडिएको स्थानमै शब भेटिएको छ,‘घटनालाई गम्भीर भएर अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेका छौ’मृतक पुष्पाका आफन्तले भने ।

मेडिकलमा काम गरिरहेको अवस्थामा अचानक निस्किएर जानु,आत्महत्याकै लागि भए नदी तथा अन्य विकल्प हुदाँहुदैं कसरी पुगिन भन्ने बारेमा गम्भीरतापूर्वक अनुसन्धान गर्न आफन्तले माग गरेका छन् ।

मृतक पुष्पाले आफूँ समस्यामा परेको बारेमा कसैलाई जानकारी नगराएको रबेपत्ता हुनुभन्दा अगाडी मेडिकलमा काम गरिरहेको अवस्थाको सिसीटिभी फुटेज, सञ्चालकसँगको कुराकानीमा समेत नदेखिएकाले घटना नियोजित हुनसक्ने भन्दै पोष्टमार्टमका लागि पोखरा पठाइएको छ ।

घटनास्थलमा पुगेका एक प्रत्यक्षदर्शीका अनुसार टाउकोमा धेरै चोट देखिएको र बाहिरबाट हेर्दा शरीरका अन्य भागमा चोट कम देखिएको बताउँदै आत्महत्या क्षणिक आवेगमा घटाइने घटना भएकाले त्यहाँसम्म पुग्नुको कारण समेत अनुसन्धानको पाटो रहेको बताए । मृतक सापकोटाको शब पोष्टमार्टमसँगै कपडा सहित थप अनुसन्धानका लागि फरेन्सिक ल्याब परीक्षणमा समेत पठाइने छ।

अस्पतालचोकस्थित नेशलन पाण्डे मेडिकलमा काम गर्दागदैं निस्किएकी पुष्पाको मोवाइल लोकेशनको अनुसन्धान गर्दा क्याम्पसचोकको टावर रेन्जभित्र रहेको देखिएको थियो । मृतक सापकोटाले लगाएको सिंक्री, चप्पल र मोवाइल भेटिएको छैन । घटनास्थल पर्वतमा पर्ने भएकाले थप अनुसन्धन पर्वत प्रहरीले गर्नेछ ।

२० दिनदेखि बेपत्ता युवतीको शव फेला

विगत २० दिन अगाडी बेपत्ता भएकी म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाकी ३० बर्षिया पुष्पा सापकोटाको शव फेला परेको छ । गएको कात्तिक २१ गते विहान बेनी नगरपालिका–८,क्याम्पसचोकबाट सम्पर्कविहिन भएकी सापकोटाको आइतबार विहान करिब ९ बजे छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका वडा नं ३ ठुलो सल्लेरी र भिरमुनी सामुदायिक बनमा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार जंगलमा बेवारिसे अवस्थामा शब देखिएपछि पुगेको प्रहरीको टोलीले मृतक सापकोटा भएको पहिचान गरेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । ‘शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ,‘घटनाको अनुसन्धान पर्वत प्रहरीबाट भइरहेको छ’ प्रनाउ कुँवरले भने ।

अस्पतालचोकस्थित नेशलन पाण्डे मेडिकलमा कार्यरत सापकोटा गएको कात्तिक २१ गते विहान पौने ११ बजे मेडिकलबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

मेडिकलमा काम गर्दागदैं निस्किएकी पुष्पाको मोवाइल लोकेशनको अनुसन्धान गर्दा क्याम्पसचोकको टावर रेन्जभित्र रहेको देखिएको थियो । घटना र घटनास्थल हेर्दा अहिले नै भन्न सक्ने अवस्था नरहेकाले थप अनुसन्धान आवश्यक रहेको बताइएको छ । घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोलि खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शब परिवारको जिम्मा लगाइने छ ।

ग्रामीण महिलाको आम्दानी : आलु र कोदो

यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् ।  पश्चिम म्याग्दीको रणबाङ, बाबियाचौर, दरबाङदेखि निस्कोट, देविस्थान, रुमलगायतका गाउँका महिला कोही कोदो केलाउन, सुकाउन र बिक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन् । मङ्सिर जाडोको महिना ।

उत्तरतर्फ आँखै अगाडि चाँदी झैँ सेता टलक्क टल्केका हिमशृङ्खला । नागबेली हुँदै बगेको म्याग्दी नदी । चारैतिर हरियाली । हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा । चिसो सिरेठोबाट बच्न टाउकामा बाक्लो ऊनको टोपी र शरीरमा पछ्यौरी बेरेर काम गरिरहेका भेटिन्छन् यहाँका महिला । यस भेगका ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत भनेको कोदो र आलु हो ।

वैदेशिक रोजगार, सहर केन्द्रित बसाइसराइ र अध्ययन वा व्यापार-व्यवसायलगायत कारणले गाउँ बस्ती युवाविहीन बन्दै गएपछि यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्र महिलाकै कारण धानिएको मालिका गाउँपालिका-६ दरबाङका बुद्धिजीवी एवम् पूर्वजनप्रतिनिधि सन्तोष सुवेदीले बताउनुभयो । “पछिल्लो समय ग्रामीण क्षेत्रका महिला स्वरोजगार तर्फ उन्मुख हुँदै गएका छन् । कुनै सीप, इलम वा व्यवसाय नगरीकन गाउँमा महिला त्यसै बसेका भेटिँदैनन्”, उहाँले भन्नुभयो, “यस क्षेत्रका महिला विशेष गरी व्यावसायिक कृषिमा रमाउन थालेका छन् । आलुखेती र कोदोबाट मनग्य आम्दानी हुने भएपछि यही खेतीमा उनीहरूको रस बसेको छ ।”

पश्चिम म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु स्वादिष्ट र पोषिलो हुने भएकाले यहाँ उत्पादित आलुलाई बजारको अभाव छैन । मालिका-२ रुमकी टीकाकुमारी विकले यस वर्ष आलु (बर्खेआलु) बिक्री गरेर ३२ हजार आम्दानी भएको बताउनुभयो । विगतका वर्षमा बाँझै छोडिएको  बारीमा अहिले आलुसँगै कोदोखेती गरिरहेको उहाँले बताउनुभयो ।

“चार वर्ष बाझिएको जग्गालाई खनजोत गरी मल हालेर चार हजार खर्च गरी कोदो रोपेको छु । यहाँबाट सात मुरी कोदो उत्पादन भएको छ”, विकले भन्नुभयो, “कोदोका लागि अहिलेदेखि नै सहर बजारबाट माग भइरहेको छ । भकारीमा नथन्क्याउँदै खरिदका लागि ग्राहक आएका छन् ।” ओखरबोट र देविस्थानमा पनि पछिल्लो समय आलु र कोदो खेती विस्तार भएको छ ।

गत वर्ष चार मुरी कोदो र आलु बिक्री गरेर २२ हजार आम्दानी गर्नुभएकी मालिका-५ की सुकमती बुढाले यस वर्ष आलुबाट मात्रै १७ हजारभन्दा बढी आम्दानी भएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित आलु प्रतिपाथी एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुँदै आएको छ ।

मालिका गाउँपालिकाका सात वटै वडामा व्यावसायिकरुपमा आलुखेती गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । एकल र समूहगतरुपमा यहाँका महिलाले आलुखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका दरबाङका टीकाबहादुर सिउथानीले बताउनुभयो । उहाँका अनुसार आलुसँगै पछिल्लो समय यहाँका महिला कोदो उत्पादनतर्फ पनि आकर्षित भएका छन् ।

सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौँदेखि बाँझो रहेको जग्गामा खेती विस्तार गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताउनुभयो । “कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ । पछिल्लो समय कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्”, उहाँले भन्नुभयो, “पालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ । कोदोबाट बनेको मदिरालाई ब्राण्डिङ गरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।”

आफूले उत्पादन गरेको कृषिउपजले बजार पाएपछि यहाँका किसान खुसी भएका मालिका-१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । महिला आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । साथै, स्थानीय महिलाले वन पैदावारबाट पनि मनग्य लाभ लिँदै आइरहेका वडाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार वनमा पाइने रातो च्याउ, जङ्गली फलफूललगायतका वनस्पतिबाट पनि यहाँका महिला आम्दानी गर्दै आइरहेका छन् । रासस 

‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा पर्यटकको घुइँचो

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा शरद्‌याममा पनि पर्यटक जान थालेका छन् ।

नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुंगे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार-प्रसार भएपछि यसपालिको शरद्‌याममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।

अन्नपूर्ण ४ का वडा-सदस्य श्याम पुर्जाले शरद्‌याममा हिमाल आरोहणका लागि विदेशी पर्यटक नआए पनि देशका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकको चहलपहल बढेको जानकारी दिए । ‘विगतका वर्षमा वसन्त ऋतुमा हिमाल आरोहणका लागि हेलिकोप्टरबाट आउने पर्वतारोहीहरूको चहलपहल हुने अन्नपूर्ण आधार शिविर शरद्‌याममा सुनसान हुने गर्थ्यो,’ उनले भने, ‘दसैंपछि मात्रै दुई सय जनाभन्दा बढी आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका छन् ।’

नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्न हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । हुमखोलाबाट आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ ।

एकैदिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘अतुलनीय स्थान’ गन्तव्य घुम्न आएको पोखराका दीपक कार्कीले जनाए । पोखरा, बेनी, काठमाडौंलगायत ठाउँबाट टेन्ट, खाने, बस्ने सामान लिएर आधार शिविर पुग्ने गरेका छन् । स्थानीय युवाहरूले पर्यटकलाई घुमाउन लैजाने गरेका छन् ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथमालको आरोहण गरेका थिए । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुंगे पुल, आश्रयस्थललगायत पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले ४० लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका ६, पोखरेबगरकी सुम्निमा बरुवालले जनाइन् । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणका रूपमा छ ।

प्रवर्द्धनात्मक गतिविधिसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटक आगमन बढेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जनाए । आधार शिविरमा खाने-बस्ने सुविधा, सञ्चार, खानेपानीलगायत पूर्वाधारका लागि गाउँपालिकाले जोड दिने अध्यक्ष भारतकुमार पुनको भनाइ छ ।

 

बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु 

प्रमुख सामाजिक चुनौतिको रुपमा देखिएको लैङ्गिक हिंसा न्युनीकरणका लागि म्याग्दीका सरोकारवालाहरुले महिलाहरुको आर्थिक शसक्तिकरण जोड दिएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, सरकारी र सुरक्षा अधिकारीहरुले महिलाहरु आर्थिक र सामाजिक रुपमा कमजोर हुँदा उनिहरु हिंसाबाट पिडित भएका ठहर गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले लैङ्गिक हिंसा न्युनीकरणका लागि सचेतनामुलक कार्यक्रमसँगै आर्थिक रुपमा महिलालाई सक्षम बनाउनुपर्ने बताउनुभयो ।

“चेतनाको कमि र कानुनको प्रभावकारी कार्यान्वयनको अभावमा आर्थिक रुपमा विपन्न र एकल महिलाहरुमाथि हिंसा भएको छ,” उहाँले भन्नुभयो “पुरुषहरुलाई सचेत र महिलालाई आर्थिक रुपमा सक्षम बनाउन आवश्यक छ ।”

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले करणी, करणी उद्योग, कुटपिट जस्ता अधिकांश लैङ्गिक हिंसा चिनेजानेका र परिवारका सदस्यबाटै भएकाले घरघरमा विभेदरहित अभियानलाई निरन्तरता दिनुपर्र्नेे बताउनुभयो ।

दुर दराजका गाउँबस्तीसम्म प्रहरीले हिंसा र विभेद विरुद्धको लघुसचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको प्रनाउ कुँवरले बताउनुभयो ।

गत आर्थिक वर्षमा म्याग्दीमा ४४ वटा लैङ्गिक हिंसा विरुद्धको मुद्दा दर्ता भएकोमा चालु आर्थिक बर्षको हालसम्म ४ वटा रहेका छन् । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले राजनीतिक, प्रशासनिक लगायत क्षेत्रमा आरक्षण मार्फत महिलाको सहभागिता बढेपनि घरभित्र उनिहरुलाई सहज बातावारण नभएको पाइएको बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने प्रवृतिका कारण लक्षित समुदाय र सामाजिक विषय ओझेलमा परेको बताउनुभयो । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले जोड दिएको नगरप्रमुख केसीले बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले सचेतनामुलक र क्षमता विकाससँगै महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन “आमा समूहसँग उपमेयर” कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

आमा समूह मार्फत महिला शसक्तिकरण, रोजगारी सिर्जना र उद्यमशिलताको विकासमा जोड दिएको उपप्रमुख लामीछानेले बताउनुभयो । कार्यक्रमका क्रममा लैङ्गिक हिंसा र बालबिवाह विरुद्धको सन्देशमुलक लघुचलचित्र ‘जुना’को विशेष प्रर्दशन गरिएको थियो। औपचारिक कार्यक्रम अघि लैङ्गिक हिंसाविरुद्धका प्लेकार्डसहित नारा लगाउँदै बजार परिक्रमा गरिएको थियो ।

जनप्रतिनिधि, महिला अधिकारीवादी विभिन्न संघसंगठनका प्रतिनिधिहरू, विद्यार्थी र सुरक्षाकर्मीहरूको सहभागितामा प्रभातफेरी गरी १६ दिने अभियानको उद्घाटन गरिएको हो ।

अभियानका क्रममा स्थानीय तह, विभिन्न सङ्घसंस्था र महिला अधिकारकर्मीहरूको सहयोग र समन्वयमा जिल्ला प्रहरी कार्यालयले जिल्लाव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

अभियानको यस वर्षको नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने रहेको छ । हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुदै आएको छ ।