Saturday, June 28, 2025
25.9 C
Beni
25.9 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 487

नेपाली कांग्रेस म्याग्दीले गर्‍यो महासमिति सदस्य चयन

नेपाली कांग्रेस म्याग्दीले महासमिति सदस्य छनोट गरेको छ । आइतबार पार्टी कार्यालयमा सभापति खमबहादुर गर्बुजाको सभापतित्वमा आयोजित भेलाबाट सर्वसम्मतिले १२ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको हो ।

महाधिवेशन प्रतिनिधिमा सभापति खमबहादुर गर्बुजा, पूर्व सभापति रेशमबहादुर बानियाँ, सहसभापति नेत्रबहादुर महत, चित्रबहादुर केसी, याम हर्मेलभिम रोका,बलभद्र ढकाल, दिपु श्रेष्ठ, धनबहादुर छन्त्याल, मनकुमारी विक, ओमकुमारी फगामी थापा र देबी बुढा रहेको पार्टी सचिव भरतबहादुर रकालले बताए ।

महासमितिका सदस्यमा आकांक्षीले पार्टीको एकता र सहकार्यलाई थप उचाईमा पुर्याउन सहमतिबाटै टुंगो लगाउन सहमति जनाएका थिए ।

नेपाली कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी रहेका जिल्लालाई कात्तिक २४ का लागि डेडलाइन दिएको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य र पिछडिएका क्षेत्रबाट जनसङ्ख्याको बनोटको आधारमा छनौट गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ ।

पाँचौ सिंगा कप शुरु

म्याग्दीको बेनी नगरपालिका–४ मा आइतबारदेखि पाँचौ सिंगा कप खेलकुद प्रतियोगिता शुरु भएको छ । जनचेतना युवा क्लवले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले उद्घाटन गर्नुभयो ।

कात्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तरगत वडा स्तरीय पुरुष भलिबल र फाइभ ए साईड फुटसल खेल हुने जनचेतना युवा क्लवका अध्यक्ष सुरेन्द्र भण्डारीले बताउनुभयो ।

दुई वटै खेलमा बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाण–पत्र सहित क्रमश ः रु. ५५ हजार ५५५ र रु. २५ हजार ५५५ प्रदान गरिने खेलकुद संयोजक देवेन्द्र चोखालले बताउनुभयो ।

भलिबलमा उत्कृष्ट खेलाडी, सेटर, ब्लकर, डिफेण्डर, स्पाइकर, फुटसलमा उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र डिफेण्डरलाई रु. एक÷एक हजार नगद सहित ट्रफी प्रदान गरिने भएको छ ।

१८ टिम सहभागी फुटसल प्रतियोगिताको खेल शुरु भएको छ भने पुरुष भलिबलको नाम दर्ता जारी छ । खेलमैदान सानो भएकाले एक टिममा पाँच जना खेलाडी हुने फाइभ ए साइड फुटसल खेल सञ्चालन गरिएको क्लवले जनाएको छ । शुभ दिपावली पर्वको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

म्याग्दीको बेनी,बिम र काफलडाँडामा लोकवार्ता सङ्गोष्ठी हुने

लोकवार्ता परिषद नेपालले १२ औं लोकवार्ता सङ्गोष्ठी म्याग्दीको तीन स्थानीय तहमा हुने भएको छ । मौलिकता बोक्ने सांस्कृतिहरुलाई उत्थानमा सक्रिय रहेको लोकवार्ताको सङ्गोष्ठी ७ प्रदेशका प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिमा म्याग्दीको मालिका गाउँपालिका–७ बिम, अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडा र म्याग्दी बहुमुखी क्याम्पसमा हुने संयोजक प्रतिभा पुनले बताइन् ।

लोकवार्ता सङ्गोष्ठी गोठी कात्तिक २२ गते बिम, कात्तिक २३ गते .काफलडाँडा र कात्तिक २४ गते म्याग्दी बहुमुखी क्याम्पसमा संयोजक पुनको भनाई छ । ‘३८ वटा कार्यपत्र प्रस्तुत हुन्छ, म्याग्दीलाई चिनाउने विभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान समेत हुन्छ’ संयोजक पुनले भनिन् ।

उनका अनुसार कार्यक्रमस्थलमा रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको अध्ययन समेत गरिने छ । म्याग्दीका स्थानीय तहको आर्थिक सहयोग रहेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईज्यूको प्रमुख आतिथ्यता रहनेछ ।

लोकवार्ता परिषद नेपालले सांस्कृतिक महत्व झल्काउने झाँकीहरु, थाली नाच, पुख्यौली नाचका साथै स्थानीय कला र संस्कृतिको प्रदर्शनपछि औपचारिक कार्यक्रमहरु सुरू गर्ने जनाइएको छ । लोकवार्ताबारे खोज अनुसन्धान, विचार विमर्श, गोष्ठी–सम्मेलन तथा यसको अझ विस्तृत रुपमा हुने कार्यक्रमले जिल्लाको प्रचारप्रसारमा सघाउने मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।

लोकबार्ता विशेष समितिले गरेको निर्णयानुसार प्राज्ञिक कार्यद्वारा म्याग्दी जिल्लालाई चिनाएबका इतिहासकार कर्ण बहादुर बानियाँ, अमूर्त संस्कृति झांक्री परम्पराका संरक्षक थांइला झांक्रीका नामले परिचित यम बहादुर पुर्जा, यानीमायाँ लोकभाकाका संरक्षण तथा प्रवर्द्धनमा योगदान पुयाएक लालदेवी गर्बुजा,थाली नाचका संरक्षक तथा प्रवर्द्धनमा योगदान पुर्याएकी हिरामाया पुन र आफ्नो कला र गलाले म्याग्दीलाई चिनाउन योगदान दिएकी धन कुमारी थापालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

लोक वार्ताका सामग्रीको सङ्कलन, संरक्षण, संवद्र्धन, अध्ययन, विश्लेषण, प्रचारप्रसार र प्रकाशन गर्नु, जातजाती, धर्म तथा भाषाभाषीको पारस्परिक सद्भाव लोकवार्तासँग सम्बद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय विद्वान् तथा संघ–संस्थाबीचको सम्बन्धमा गाढा तुल्याउनु र तिनले गरेका कामको जानकारी लिनुे भएकाले स्थानीय संघसंस्थाले समेत सहयोगको प्रतिबद्धता जनाएका छन्।

 

योजना छनौट र प्राथमिकिकरणमा सुधारको पहल थालेका छौ-मन्त्री जुग्जाली

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट र प्राथमिकिरणमा सुधार गर्न पहल थालिएको बताउनुभएको छ ।

बेनी नगरपालिका–४ मा जनचेतना युवा क्लवले आयोजना गरेको पाँचौ सिंगा कप खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले योजना छनोट, सिफारिस र बजेट व्यवस्थापनको परम्परागत शैलीमा सुधार गर्न पहल थालेको बताउनुभयो ।

“सबैको चित्त बुझाउनलाई टुक्रे योजनामा बजेट छर्दा परिमाण नदेखिने समस्याको सुधारका लागि सबैले अपनत्व महशुस गर्ने गरि योजना छनौट र साझा प्राथमिकता बनाउनुपर्छ,” मन्त्री जुग्जालीले भन्नुभयो “टोल, वडा, पालिका र जिल्ला स्तरमा योजनाको प्राथमिकता निर्धारण गर्न सके जसलिने होडबाजी हट्छ । परिमाण देखिन्छ् ।”

म्याग्दी जिल्लाका योजनाहरुको प्राथमिकिकरण गर्न स्थानीय तह र जिल्ला स्तरका नेता तथा सरोकारवालासँग छलफल थालिएको मन्त्री जुग्जालीले बताउनुभयो । टुक्रे योजनामा छरिने बजेट प्राथमिकताप्राप्त योजनामा केन्द्रित गर्दा छिटो काम हुने र परिमाण देखिने उहाँको भनाई छ ।

सिंगा आगेबर जोड्ने म्याग्दी नदीमाथि पुल संघीय सरकारबाट पुल बनाउन पहल गरिएको, बेनी–सुर्केमेला–थामडाडा सडक यसै वर्ष मर्मत गरिने र डाडाखेत जोड्ने सडकलाई आगामी वर्षको योजनामा समेट्ने बताउनुभयो ।

सिंगा तातोपानी कुण्डको नदि नियन्त्रण योजनाका लागि चालु आर्थिक वर्षमा प्रदेश र संघीयबाट रु. पचास लाख बिनियोजन भएको जानकारी गराउदै थप बजेट व्यवस्थापन गर्न पहल गरेको बताउनुभयो ।

खेलकुदले सबैलाई सहकार्य, सद्भाव र समन्वयको सन्देश दिने बताउदै उहाँले मेलाजात्रालाई सुरक्षित र विकृतिरहित बनाउनुपर्ने बिचार व्यक्त गर्नुभयो । खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सिंगा देखि डाडाखेत जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको, डाडाखेतमा खानेपानी योजनाका लागि बजेट व्यवस्थापन भएको र सिंगा खेलमैदान निर्माणमा आगामी वर्षको योजनामा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

म्याग्दीको गुर्जा बाहेकका बस्तिका दुई हजार भन्दा बढी घरधुरीमा पूर्ण विद्युतीकरण गर्न रु. २० करोडको योजना शुरु भएको जानकारी दिदै सांसद भण्डारीले बेनी–भकिम्ली सडक स्तरोन्नति गर्न रु. दश करोड र बेनी–पाखापानी सडक कालोपत्र गर्न रु. २० करोडको यसै वर्ष ठेक्का लाग्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले म्याग्दीका खेलमैदान निर्माणमा प्रदेश सरकारले प्राथमिकताका साथ योजना सञ्चालन गरेको जानकारी गराउदै खेलकुद प्रतियोगितालाई नियमसंगत हिसावले व्यवस्थित रुपमा खेलाउनुपर्ने बताउनुभयो ।

बेनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्का भगवान, पुर्व वडा अध्यक्ष गोविन्द पौडेल, वडा सदस्य क्रेन खत्रीले सिंगा खेलमैदानमा प्याराफिट बनाउन मन्त्री जुग्जाली र सांसद भण्डारीको ध्यानाकर्षण गराउनु भएको थियो ।

धवलागिरी माविका शिक्षक रमेश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानिया, म्याग्दी जेसीजका अध्यक्ष सुमन बानिया लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जनचेतना युवा क्लवका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षता र पुर्व अधयक्ष देवेन्द्र चोखालको स्वागतमा सम्पन्न कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । खेलमैदान निर्माणमा योगदान गरेको भन्दै वडा कार्यालयले क्लव अध्यक्ष भण्डारी र चयन्द्र श्रीसलाई सम्मान गरेको थियो ।

म्याग्दीका विकास योजनाको साझा प्राथमिकता निर्धारण गर्न मन्त्री जुग्जालीको प्रस्ताव

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी जिल्लामा सञ्चालन गरिने विकास आयोजनाको प्राथमिकता निर्धारण गर्न प्रस्ताव गर्नुभएको छ ।

बेनी नगरपालिकाको कार्यालयमा जनप्रतिनिधि, निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुसँगको छलफलका क्रममा मन्त्री जुग्जालीले योजनाको माग, छनौट र कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि पालिका र जिल्लागत हिसाबले साझा रुपमा योजनाको प्राथमिकता निर्धारण गर्न आवश्यक छ ।

म्याग्दीमा प्रदेश र संघीय सरकारबाट सडक, सडक पुल, भवन, खानेपानी, सिचाई, नदी, पहिरो नियन्त्रण, पर्यटन पूर्वाधार लगायतका साझा योजना बनाएर त्यसलाई छनौट र प्राथमिकता निर्धारणका लागि सहजिकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासँग मन्त्री जुग्जालीले प्रस्ताव गर्नुभएको थियो ।

“योजना माग्ने, सिफारिस र छनौटको बिधि बसाल्न सबैले अपनत्व गर्ने गरी प्राथमिकता निर्धारणको अभ्यास म्याग्दीबाट शुरु गरौ,” उहाँले भन्नुभयो “स्थानीय तह, हामी प्रदेश र संघीय तहका जनप्रतिनिधिहरु प्राथमिकता निर्धारण गरेर छानिएको योजना भन्दा बाहिर नजाने घोषणापत्र जारी गरौ र त्यसको इमान्दारीताका साथ कार्यान्वयन गर्न प्रतिवद्ध बनौ ।”

सिमित स्रोतबाट नागरिकको अधिकतम अपेक्षा पुरा गर्नुपर्ने बाध्यताका कारण बजेट बिकेन्द्रित हुने, आवश्यक योजनाले बजेट नपाउने, अनावश्यक योजनामा पहुँचका भरमा बजेट पर्ने समस्या समाधानका लागि वडा र पालिकाका स्तरबाटै कुन योजनालाई प्राथमिकता दिने भनेर साझा धारणा बनाउन आवश्यक रहेको मन्त्री जुग्जालीले बताउनुभयो ।

सबैले अपनत्व गर्ने गरि साझा योजना छनौट गरि प्राथमिकता गर्न सकेमा जसलिने होडबासी गर्नै नपर्ने र जो जिम्मेवारीमा हुन्छ उसैले कार्यान्वयन गर्ने दायित्व हुने मन्त्री जुग्जालीको भनाई छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले साझा योजना छनौट गर्न जिल्ला स्तरमा छिट्टै भेला र छलफल कार्यक्रमको आयोजना गर्ने योजनामा रहेको बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले साझा प्राथमिकतामा परेका योजना छनौट गर्न सकेमा माग गर्ने देखि बजेट व्यवस्थापन र कार्यान्वयनमा सहजता हुने, प्रभावकारी र उपलब्धी देखिने बताउनुभयो । संविधानसभा सदस्य गोविन्द पौडेलले शान्ति प्रक्रीया लगत्तै विकास निर्माणमा सहजिकरण गर्न म्याग्दीबाट शुरु भएको अभ्यास जस्तै साझा योजना छनौट गर्ने अभ्यास शुरु गरेर देशभर सन्देश दिनुपर्ने बताउनुभयो ।

लोप भए पाटी, पौवा, ढुंगेधारा र धर्मशाला

गाउँघरका विकट वस्तीमा समेत सडकको पहुँच पुग्न थालेपछि म्याग्दीका विभिन्न ठाउँहरुमा बाटो हिड्ने बटुवाहरुका लागि बनाइएका पाटी,पौवा,ढुंगेधारा र धर्मशालाहरु लोप हुँदै गएका छन् ।

सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइसराई लगाएतका कारणले ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका प्राचीन तथा ऐतिहाँसिक ग्रामीण सम्पदाहरु गाउँघरबाट नै लोप हुन थालेका हुन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका पाटी,पौवा,धर्मशाला, पँधेरा र ढुङ्गेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका स्थानीयले बताएका छन् ।

बढ्दो जनसङ्ख्या र अव्यवस्थित वस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका यस्ता सम्पदाहरु भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा यी सम्पदाहरु लोप हुँदै गएका बेनी नगरपालिका २ ज्यामरुककोटका नारायण शर्माले बताउनुभयो ।

सडक सञ्जाल र होटल रेस्टुरेन्टको सुविधा नभएको समयमा बटुवा, तीर्थयात्रीलगायतका मानिसहरूका लागि विभिन्न ठाउँमा निर्माण गरिएका धर्मशाला,पधेरा,ढुंगेधारा र पाटीपौवाहरु संरक्षणको अभावमा संकटमा परेका उहाँले बताउनुभयो । धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र बटुवाका लागि पिउने पानी राखिदिने परम्परा अहिले हराएको छ ।
एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो । तर, अहिले धेरैजसो ठाउँमा निर्माण गरिएका पाटीपौवा र धर्मशाला जीर्ण बनेका छन् । त्यस्ता ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाइ मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैंटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो । तर, अहिले यो चलन हराएकोप्रति बुढापाका चिन्तित छन् ।

बाटोको छेउछाउमा पाटीपौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्ने बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने ज्यामरुककोटका बेदप्रसाद उपाध्यायले बताउनुभयो । बटुवाहरू दिनभर हिँड्दा थकान हुने र बास बस्नका लागि बस्तीहरू नभेट्याउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरेको उहाँले सुनाउनुभयो । पहिले–पहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएको हुँदा बटुवालाई बास बस्नका लागि धर्मशाला बनाइने गरिन्थ्यो ।

“पहिले त अहिलेको जस्तो होटलहरू थिएनन्, सडकको सुविधा पुगेको थिएन,गाडी चल्दैनथे, अहिले जताततै गाडी गुड्छन्, एक ठाउँबाट अर्को ठाउँमा पुग्न दिनभर हिँड्नुपथ्र्यो, हिँड्दा–हिँड्दै साँझमा कुनै बस्ती नभएको ठाउँमा पुगियो भने धर्मशालामा बस्ने गरिन्थ्यो,” उपाध्यायले भन्नुभयो, “रातभर त्यही धर्मशालामा बसेर अर्को दिन आफ्नो गन्तव्यमा पुगिन्थ्यो, अहिले त सरर्र गाडी चढ्यो, एक÷दुई दिन लाग्ने ठाउँमा पनि एकैछिनमा पुग्न सकिन्छ ।”

ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै म्याग्दीमा यस्ता मौलिक सम्पदा र परम्परा अत्यन्तै कम देख्न पाइन्छ । ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटीपौवा, धर्मशालाहरू भत्किएका छन् भने केहीका अवशेषसमेत बाँकी छैनन् । ग्रामीण क्षेत्रका सौन्दर्यसँग जोडिएका यस्ता सम्पदाको संरक्षणमा स्थानीय पालिकाले चासो देखाउन जरुरी भएको स्थानीय बताउँछन् ।

यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र धर्मशाला पछिल्लो समय सडकका कारण हराउँदै गएका धवलागिरि गाउँपालिका ७ का मेघनाथ सुवेदीले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौं पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा संकटमा परेका छन् ।

ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसंगै कंक्रिणका पक्की घर निर्माण हुने क्रम बढ्दै गएको छ । घरभित्रै बाथरुम (स्नान कक्ष), शौचालय र भान्छामा नै पानीको धारा भएपछि गाग्री बोकेर पधेरामा पानी लिन जाने झन्झटबाट गृहिणीहरुले मुक्ति त पाएका छन् तर, ग्रामीण सौन्दर्यका चिनारी पंधेरा र ढुङ्गेधाराहरु लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि नासिएको छ ।

पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दाले बताएका छन् । अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय जलसम्पदाहरु पुरिएका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

म्याग्दीका ग्रामीण भेगमा रहेका कयौं पँधेरा र ढुङ्गेधाराहरु लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरु देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराहरुको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनु पर्ने स्थानीय बूढापाकाहरुले बताएका छन् ।

भूकम्पको जोखिम कुन भेगमा कति ?

  • शिव सुवेदी

नेपाल भौगर्भिक अवस्थाले भूकम्पको उच्च जोखिममा भएको देश हो । हुन त पूरै हिमालयको क्षेत्रमा भएका देशहरूमा भूकम्पको जोखिम छ । वि.सं. २०७२ (सन् २०१५) मा गएको ७.८ म्याग्नेच्युडको भूकम्प र यसको परकम्पनले करिब नौ हजारको ज्यान लियो भने गत शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्रविन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा गरी हालसम्म एक सय ३२ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ४० जना घाइते भएका छन्।
नेपाल भौगर्भिक अवस्थाले भूकम्पको उच्च जोखिममा भएको देश हो ।

हुन त पूरै हिमालयको क्षेत्रमा भएका देशहरूमा भूकम्पको जोखिम छ । वि.सं. २०७२ (सन् २०१५) मा गएको ७.८ म्याग्नेच्युडको भूकम्प र यसको परकम्पनले करिब नौ हजारको ज्यान लियो भने देशको जीडीपीको आधाजसो क्षति गराएपछिको सबैभन्दा ठूलो भूकम्प हो ।

पृथ्वीमुनिका प्लेटहरूको चालका कारणले जम्मा भएको शक्ति पृथ्वीको सतहतिर आउने प्रक्रियालाई नै भूकम्प भनिन्छ । अर्को अर्थमा भूकम्प पृथ्वीमुनिको शक्ति निष्कासन गर्ने प्रक्रिया हो । कुनै देश वा क्षेत्रमा कत्तिको ठूलो र कति नियमित रूपमा भूकम्प आउँछ भन्ने कुरा उक्त क्षेत्रमा भएका टेक्टोनिक्स प्लेटहरूको गतिमा भर पर्दछ ।

नेपालमुनिको इन्डियन प्लेट हरेक वर्ष १८–२० सेन्टिमिटरका दरले तिब्बतियन प्लेटमुनि घुस्नु नै नेपाल र वरपरको क्षेत्रमा भूकम्प जानुको मुख्य कारण हो । विश्वमा भूकम्पमापक यन्त्र (सेस्मोमिटर) को प्रयोग हुन थालेको सन् १९६० को दशकबाट हो तर भूकम्प त्यसभन्दा पहिला पनि गइरहेकै थियो । भूकम्पमापक यन्त्रको आविष्कार हुनुअगाडिका भूकम्पलाई ऐतिहासिक भूकम्प भनिन्छ । ऐतिहासिक भूकम्पको बारेमा अध्ययन गर्न पुराना लेख, शिलालेख तथा सोही समयमा लेखिएका र पछि भेटिएका प्रमाणहरूलाई आधार मानिन्छ । नेपालमा अब ठूलो भूकम्प कैले जान्छ भन्ने प्रश्नको उत्तर दिनका लागि नेपाललाई तीन भागमा विभाजन गर्न आवश्यक देखिन्छ– पूर्वी, मध्य र पश्चिम नेपाल ।

पूर्वी नेपाल
कुनै ठाउँमा अब भूकम्प कैले जान्छ भनेर जान्नुअघि उक्त क्षेत्रमा इतिहासमा कुन म्याग्नेच्युडको भूकम्प कैले गएको थियो भन्ने जान्नु अनिवार्य छ । पूर्वी नेपालमा वि. सं. १९९० (सन् १९३४) मा ८ म्याग्नेच्युडभन्दा ठूलो भूकम्प गएको थियो जसलाई प्रमाणित गर्ने धेरै वैज्ञानिक आधारहरू भेटिएका छन् । पूर्वी नेपालभन्दा पूर्व सिक्किम हुँदै भुटानसम्मको भौगर्भिक अवस्थाले पनि भविष्यमा पूर्वी नेपालमा जान सक्ने भूकम्पलाई असर गर्न सक्छ ।

पूर्वी नेपालभन्दा पूर्व सन् १८९७ मा भुटानमा ठूलो भूकम्प गएको थियो । सन् १९३४ को भूकम्पले जमिनमुनिको शक्ति जमिनको सतहसम्मै ल्याएको केही अध्ययनहरूले देखाएका छन् । यसरी हेर्दा १९३४ को भूकम्पभन्दा पूर्वको क्षेत्रमा भुटानसम्म करिब सय वर्षको अन्तरालमा ठूला भूकम्प रेकर्ड गरिएको छैन । यसले उक्त क्षेत्रमा ठूला भूकम्पको जोखिम उच्च छ भन्ने देखाउँछ । पूर्वी नेपालमा सन् १९३४ को ८.२ म्याग्नेच्युडको भूकम्पपछि सोही वा सो बराबरको भूकम्प आउन ३०० देखि ५०० वर्षसम्म लाग्छ भन्ने केही अध्ययनको निष्कर्ष छ । यसो भन्दै गर्दा पूर्वी नेपालको सयौं वर्षसम्म शक्ति निष्कासन नभएको भागले अर्को ८ म्याग्नेच्युडको भूकम्प उत्पादन गर्न सक्छ भन्ने कुरालाई पनि नकार्न सकिँदैन ।

मध्य नेपाल
मध्य नेपाल देशभरिमै तुलनात्मक रूपमा धेरै भूकम्प रेकर्ड गरिएको भाग हो । सन् १२५५ मा तत्कालीन राजा अभय मल्लको मृत्यु भूकम्पका कारणले भएको केही रिपोर्टहरूले देखाएका छन् । सन् १२५५ पछि २०१५ सम्ममा यो क्षेत्रमा ७ वटा ७ भन्दा बढी म्याग्नेच्युडका भूकम्प गएको विभिन्न अध्ययनले देखाएका छन् । मध्य नेपालमा वि. सं. २०७२ भन्दा पहिला सन् १८६६, १८३३, १८१० मा पनि केही ठूला भूकम्प रेकर्ड गरिएका थिए ।

२०७२ को भूकम्पको दरार जमिनको सतहसम्म आएको देखिएन जुन कुराले मध्य नेपाल र काठमाडौंमुनिको शक्ति पूर्ण रूपमा ननिस्किएको प्रमाणित गर्दछ । यस्तो अवस्थामा पूरै शक्ति जमिनमा निस्कन कि ठूलो भूकम्प जानुपर्छ कि साना भूकम्प धेरै जान पर्छ । तर केही अध्ययनले हजारौं साना भूकम्पले निष्कासन गर्ने शक्ति नगण्य मात्रामा मात्र हुने र ठूलो भूकम्पको जोखिम नघट्ने देखाएका छन् । त्यसैले काठमाडौंवरिपरि ठूलो भूकम्पको जोखिम अझै रहेको भन्न सकिन्छ । विगतमा गएका भूकम्पका ढाँचा र वि.सं. २०७२ को भूकम्पले जमिनमुनिको शक्ति जमिनको सतहसम्म नल्याएका कारणले मध्य नेपाल उच्च जोखिममा रहेको देखाउँछ ।

पश्चिम नेपाल
भूकम्पविद्हरूलाई पनि अलिक अप्ठ्यारो ठाउँ हो पश्चिम नेपाल । किनकि त्यहाँको अध्ययन हुनै पाएको छैन । २०७२ को भूकम्पको दरार किन पश्चिमतिर गएन ? जबकि पश्चिम नेपाल पहिलेदेखि नै उच्च जोखिममा छ भनिँदै आएको थियो । यसको उत्तर भन्न पश्चिम नेपालमुनिको भौगर्भिक तथा भूकम्पीय अध्ययन गर्नुपर्छ । केही सीमित संख्यामा भएका अध्ययनले पश्चिम नेपालको जमिनभन्दा १०–२० किलोमिटर तलको बनोट मध्य नेपालको जस्तै भएको र मध्य नेपालमा जस्तै पश्चिम नेपालमा पनि ठूलो भूकम्प जान सक्ने देखाएका छन् ।

सन् १५०५ मा मुस्ताङमा गएको ठूलो भूकम्पका कारणले तिब्बतका राजाको मृत्यु भएको भन्ने प्रमाण भेटिएको हुँदा पश्चिम नेपालमा गएको पछिल्लो ठूलो भूकम्प त्यही नै रहेको आजसम्मको बुझाइ छ । यसको मतलब ५ सय वर्षभन्दा धेरै समयदेखि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन । इन्डियन प्लेट तिब्बतियन प्लेटको मुनि घुस्रिने दर समग्र हिमालयन क्षेत्रमा उस्तै–उस्तै छ । प्लेटको गतिको कारणले जमिनमुनि जम्मा हुने शक्तिको परिमाण पनि करिब बराबर नै हुनुपर्छ ।

यसको अर्थ पश्चिम नेपालमा जुनसुकै बेला पनि ८ भन्दा ठूलो भूकम्पको जोखिम छ जुन कुरा धेरै अध्ययनले भनिसकेका पनि छन् । भूकम्पको अध्ययन गर्ने अर्को कुरा सेस्मिक साइकल ( भूकम्पीय चक्र) हो । भूकम्पीय चक्रकै कुरा गर्ने हो भने पनि सन् १५०५ को भूकम्प दोहोरिने समय ३००–५०० वर्ष हामीले पार गरिसक्यौं । पश्चिम नेपाल गोर्खादेखि पश्चिम धनगढीसम्मको जमिनमुनिको अवस्था राम्रोसँग पत्ता लगाउन नसकिएका कारणले पश्चिम नेपालमा ठूलो भूकम्प जाँदा त्यसको दरार कहाँसम्म जान्छ वा दरारलाई केले रोक्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन ।

नेपालमा भूकम्पको जोखिम जहिल्यै धेरै छ । ठूलो भूकम्पले जमिनमुनि जम्मा भएको सबै शक्ति जमिनको सतहसम्म ल्याइदियो त्यसको केही समय अर्को ठूलो भूकम्पको जोखिम त्यति हुँदैन । तर नेपालको सन्दर्भमा त्यस्तो ठूलो भूकम्प पूर्वी नेपालमा सन् १९३४ मा गएको, मध्य नेपालमा निरन्तर गइरहेको तर पछिल्लो केही दशक नगएको र पश्चिम नेपालमा सन् १५०५ मा गएको हुँदा पूर्वीभन्दा मध्य र पश्चिम नेपालमा तुलनात्मक रूपमा भूकम्पको जोखिम उच्च भन्न सकिन्छ ।

तर पूर्वी नेपालमा सन् १९३४ को दरार नगएको ठाउँमा भने जोखिम बढी नै छ । नेपालमा भूकम्पीय अध्ययन गर्ने धेरै वैज्ञानिकको अध्ययनका आधारमा जति बेला पनि म्याग्नेच्युड ६.५ देखि ७ सम्मको भूकम्प जान सक्छ जुन ठूलो भूकम्पको परकम्प पनि हुन सक्छ ।

(सुवेदी स्विजरल्यान्डको लुजान विश्वविद्यालयमा पोस्ट–डक्टरल वैज्ञानिकका रूपमा कार्यरत छन् ।)

जनशक्ति नहुँदा किसानलाई बाली भित्र्याउन समस्या

यति बेला खेतभरीमा धान झुलेका छन् । बारीभरी कोदो फलेका छन् । गाउँघरमा पहिलेको जस्तो चहलपहल नहुँदा अर्मपर्म गर्ने जनशक्ति अभावले बाली भित्राउन समस्या भइरहेको छ ।

कामको निकै चटारो हुने यो समय कामदार पाउन मुस्किल छ । धेरैको रोजाइ विदेश र सहरबजार बनेपछि हिजोआज बाली लगाउन र स्याहार्न किसानलाई हम्मेहम्मे पर्छ ।

बागलुङका ग्रामीण क्षेत्रमा पछिल्लो आधा दशकयता विदेश जानेको सङ्ख्या बढ्दै गएपछि खेतबारीमा काम गर्ने पाइन मुस्किलपर्ने गरेको स्थानीयवासी रनबहादुर क्षेत्रीले बताउनुभयो । उनका अनुसार कुनै बेला युवाले गाउँ भरिने गरेकामा आजभोलि सुनसान जस्तै बन्दै गएका छन् ।

धान र कोदो भित्र्याउने यो समयमा कामदारको अभाव भएको छ । काम गर्न मान्छे थोरै हुँदा समयमै बाली स्याहार्न नपाएको किसानको गुनासो छ ।

जिल्लाको गलकोट नगरपालिकामा अझ बढी कामदार नपाइने समस्या छ । यहाँका प्रत्येक घरका कम्तीमा एकजना सदस्य जापान, कोरिया, अमेरिकालगायत देशमा रोजगारका लागि पुगेका छन् । गाउँमा भएका खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।

पहिले गाउँमा वरपरका छिमेकीसँग काम गर्दा रमाइलोसँगै समयमै बाली भित्र्याउने गरेको भन्दै अहिले काम गर्ने मान्छे नपाइँदा ढिला हुने गरेको क्षेत्रीले बताए । आजभोलि पहिलेको भन्दा निकै कम क्षेत्रमा खेती हुने गरेको सुनाउँदै उनले गाउँमा मान्छे कम हुँदै गएपछि उत्पादन पनि घट्दै गएको बताए ।

एकदशक अगाडिसम्म गैरी खेत र पाखोबारी सबैमा खेती हुने गरे पनि अहिले पाखाबारी सबै झाडीमा परिणत हुँदै गएका क्षेत्रीको भनाइ थियो । यही गतिमा गाउँ छाड्नेको सङ्ख्या बढ्दै गए अबको केही वर्षमा गाउँ रित्तै हुने र खेतबारीमा वनमारा पलाउने उनले बताए। सरकारले युवालाई गाउँमै रोक्न सके उत्पादन वृद्धि हुने र आत्मनिर्भर बन्न सकिने उनले बताए ।

‘आजभोलिका युवा १५/१६ वर्षमै विदेश जाने सपना देख्छन् र सहरबजार तथा विदेश जान्छन् । गाउँ त रित्तो हुन थालेका छन्’, क्षेत्रीले भने, ‘पहिले गाउँमा धेरै मान्छे हुन्थे । असोज/कात्तिक लाग्ने वित्तिकै धान, कोदो भित्र्याउन, बारीको खर काटेर ल्याउने गरिन्थ्यो । बारीमा उत्पादन भएको बालीले वर्षभरी खान पुग्थ्यो ।’

स्थानीय प्रेमबहादुर पुनले काम गर्ने मान्छे घट्दै गएपछि आफूले थोरै खेतबारीमा मात्रै खेती गरिरहेको बताए । पहिले एकै परिवारमा १० जनासम्म काम गर्ने हुने गरेको स्मरण गर्दै उनले अचेल गाउँभरी पनि दश जना काम गर्ने मान्छे नपाइने बताए।

गाउँमा कोहीलाई साह्रो गाह्रो पर्‍यो भने उद्धार गर्ने मान्छेसमेत नहुने स्थिति आउन थालेको पुनले बताए । गाउँमा थुप्रै सम्भावना हुँदाहुँदै पनि बढी महत्वकांक्षी हुँदा युवा विदेश छिरेको उनको भनाइ थियो ।

‘हाम्रो सुनसान बन्दै गएपछि काम गर्ने मान्छे पाइन छोड्यो । दसौँ वर्ष पहिले सयौँ मुरी धान फल्ने खेतमा अहिले धौधौले २० मुरी फलाउन सकिदैन’, पुनले भने, ‘खेती गर्ने ठाउँ घट्यो । मान्छेहरु पनि बसाइँसराइ गरी बजार झरे । धेरै युवाहरु विदेश गए । अहिले गाउँमा बुढाबुढी र केटाकेटी मात्रै छन् ।’

पश्चिम नेपाललाई चेतावनी

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट १५७ जनाको ज्यान गएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका हजारौं घर भत्किएका छन् । स्थानीय प्रशासन र जनप्रतिनिधिहरूका अनुसार जाजरकोट तथा रुकुम पश्चिमका धेरैमा घरमा क्षति पुगेको छ । कैयौं घर बस्नै नमिल्नेगरी भत्किएका छन् । आठ वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पनि ठुलो धनजनको क्षति भएको थियो । त्यसपछि पनि भूकम्प गइरहे । तर जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले अहिले ठुलो क्षति भएको छ ।

बारेकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्पको गएको थियो । यो परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । शुक्रबार राति ११ः४७ बजेपछि १२ः ०८ बजे ४.५, १२: २९ बजे ४.२ र १२:३५ बजे ४.३ रेक्टर स्केलका परकम्प गएका थिए । शनिबार साँझसम्म सयौं परकम्प गइसकेका छन् ।

भूकम्पविद्हरूका अनुसार ६.४ रेक्टर स्केललाई मझौला खालको भूकम्प मानिन्छ । भूकम्पविद्रले ४ रेक्टर स्केलभन्दा कमलाई सानो, ४ देखि ६.९ रेक्टर स्केलसम्मलाई मझौला र ७ रेक्टर स्केलभन्दा माथिलाई विनासकारी भूकम्प भनेर पहिचान गरेका छन् । मझौला भूकम्पले सामान्यतयाः घर चर्कनेसम्मको क्षति पुर्‍याउने बताइन्छ । मानवीय क्षति भने निकै कम मात्रै हुन सक्ने अनुमान गरिन्छ ।

तर जाजरकोटमा गएको मझौला खालको भूकम्पबाट भने अनुमानविपरीत जनधनको क्षति भएको छ । मझौला भूकम्पबाट ठुलो क्षति पुग्नुले नेपालको पश्चिम नेपाल भूकम्पीय जोखिममा रहेको प्रष्ट भएको छ । यसले पश्चिम क्षेत्रमा भूकम्पीय जोखिमको ऐना देखाएको टिप्पणी भूकम्पविद्ले गरेका छन् । ‘यसले राज्यलाई आफ्नो भूगोलमा भूकम्पीय जोखिम कति छ भन्ने प्रष्ट ऐना देखाएको छ,’ भूकम्पविद् डा. मुकुन्द भट्टराई भन्छन्, ‘मझौला भूकम्पले त यत्रो क्षति पुग्यो भने विनासकारीले कत्तिको क्षति होला । यो तथ्य राज्यले बुझ्नुपर्छ ।’

भट्टराईको जस्तै धारणा वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीको पनि छ । ‘यो भूकम्पले हाम्रा घर तथा भौतिक संरचना कति कमजोर छन् भन्ने तथ्य पनि उजागर पारेको छ,’ उनले भने, ‘कमजोर संरचनाले सानासाना भूकम्पको धक्का पनि थेग्न सक्दैनन् । अहिले भएको यही हो ।’

जाजरकोट भूकम्पले पश्चिमी क्षेत्र, त्यसमा पनि जाजरकोट र रुकुम पश्चिमको सामाजिक तथा आर्थिक स्तर पनि छ्याङ पारेको भूगर्भविद् इन्द्र लम्साल बताउँछन् । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापकसमेत रहेका उनी भन्छन्, ‘गरिबीमा रहेका परिवारले घर बनाउँदा ओतमात्रै पुग्ने बनाउँछन् । यसरी बनाइएका घर भूकम्पको सानो धक्कासमेत सहन नसकेर भत्केका हुन् ।’

जोखिम कायमै

पश्चिम क्षेत्रमा भूकम्पको जोखिम कायमै छ । भूकम्पविद्हरूका अनुसार गोरखादेखि पश्चिमको क्षेत्रमा भूकम्पको जोखिम कति छ भन्ने यो ‘ट्रेलर’ मात्रै हो । यस्तै ट्रेलर गत असोज १६ गते बझाङमा गएको ६.३ रेक्टर स्केलको भूकम्प र गत वर्षको कात्तिक २२ गते डोटीमा गएको ६.६ रेक्टर स्केलको भूकम्पले देखाइसकेका छन् । बझाङ भूकम्पबाट बझाङमा एकजनाको मृत्यु भएको थियो । बझाङ र बाजुरामा सयौं घर भत्किएका थिए भने दसौं हजार घरमा क्षति पुगेको थियो । यस्तै ६ जनाका ज्यान लिएको डोटी भूकम्पले डोटी र अछामका सयौं घरमा क्षति पुगेको थियो ।

यसरी मझौला भूकम्पबाट भएको क्षतिले ठूलो भूकम्पबाट हुने क्षति निकै डरलाग्दो हुने देखिएको भूकम्पविद् बताउँछन् । भूकम्पीय जोखिम भूगर्भमा सञ्चित शक्ति र मानिसले बनाएका संरचनाले निर्धारण गर्ने विज्ञ बताउँछन् । ‘पहिलो जोखिम भनेको स्वयं भूकम्पको शक्ति र तीव्रता हो ।

जति धेरै भूगर्भमा शक्ति सञ्चित छ, त्यति नै बढी शक्तिशाली भूकम्प आउने हो । शक्तिशाली भूकम्पले पुर्‍याउने क्षतिको जोखिम ठुलै स्केलमा हुन्छ,’ भूकम्पविद् भट्टराई भन्छन्, ‘दोस्रो जोखिम हामीले बस्न वा अन्य प्रयोजनका लागि बनाएका संरचना हुन् । हाम्रा संरचना कमजोर भए भूकम्प आउँदा ढलेर मानवीय क्षति हुन्छ ।’

जानकारहरूका अनुसार नेपालको पश्चिम क्षेत्रम भौगर्भिक शक्ति र संरचना दुवै कारणले अत्यधिक जोखिम छ । उसै पनि पश्चिम नेपालमा करिब ५७५ वर्षदेखि विनासकारी भूकम्प गएको छैन । १५०५ सालमा मुस्ताङ आसपास केन्द्रबिन्दु भएर ८.५ देखि ८.७ रेक्टर स्केलसम्मको भूकम्प गएको थियो । त्यसयता पश्चिम क्षेत्रमा ठुलो भूकम्प गएको छैन ।

यसरी लामो समयसम्म ठुलो भूकम्प नजानुको अर्थ भूकम्पीय जोखिम छैन भन्ने बुझ्न नहुने भूगर्भविद् एवं युनिभर्सिटी अफ एरिजोना (अमेरिका) का प्रोफेसर डा. टंकप्रसाद ओझा बताउँछन् ।

उनले नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरिरहेका छन् । उनका अनुसार पाँच करोड ५० लाख वर्ष पहिला इन्डियन प्लेट र एसियन प्लेट एकआपसमा ठोक्किदाँ नेपालको हिमाल निर्माण भएको हो । ‘दुई प्लेटको टकराव निरन्तर चलिरहन्छ । यसैले यो क्षेत्र निकै अस्थिर मानिन्छ,’ उनले भने, ‘त्यो टकरावको शक्ति भूगर्भमा सञ्चित भइरहन्छ । त्यो शक्ति बाहिर निस्कँदा भूकम्प आउने हो ।’

यसमा वरिष्ठ भूकम्पविद् अधिकारी पनि सहमत छन् । ‘लामो समयसम्म ठुलो भूकम्प नजाँदा भौगर्भिक शक्ति सञ्चित भइरहेको हुन्छ । त्यो शक्ति भूकम्प बनेर बाहिर आउने हो,’ उनले भने, ‘नेपालको पश्चिम क्षेत्रमा जतिबेला पनि भूकम्पको खतरा छ ।’ पछिल्लो समय साना तथा मझौला भूकम्प गइरहँदा पनि भूगर्भमा शक्तिको सञ्चय अत्यधिक रहेको बुझ्न सकिने अधिकारी बताउँछन् । यी भूकम्पले भूगर्भमा सञ्चित शक्ति कति कम भएको छ भन्न नसकिने उनले बताए ।

‘पश्चिममा लामो समयसम्म ठुलो भूकम्प गएको छैन । यसले ठूलै शक्ति सञ्चित रहेको अनुमान गर्न सकिन्छ,’ अधिकारी भन्छन्, ‘अहिलेका साना र मझौला भूकम्पले सञ्चित शक्ति घटाएको विश्वास गर्न गाह्रो छ ।’

उनका अनुसार भूगर्भमा सञ्चित भएको शक्ति घटाउन एक रेक्टर स्केलले ३२ गुणाको फरक पर्छ । ‘उदाहरणका लागि ८ रेक्टर स्केल बराबरको शक्ति सञ्चित भएको छ भने ७ रेक्टर स्केलका ३२ वटा भूकम्पले मात्र त्यो शक्ति कम गर्न सक्छ । त्यो शक्ति हटाउन ६ रेक्टर स्केलका १०२४ वटा भूकम्प जानुपर्छ,’ उनले भने ।

‘पूर्वी क्षेत्रमा १९९० सालमा भूकम्प गयो । त्यसले धेरै क्षति पु¥यायो । त्यसपछि नयाँ घर बन्दा केही सावधानी अपनाइयो । २०७२ सालमा फेरि भूकम्प जाँदा लगभग पुराना घर सकिए, पहिलेभन्दा कम क्षति भयो । अहिले नयाँ घर निकै सावधानीपूर्वक बनाइँदैछ । यसले अब त्यत्तिकै ठुलो भूकम्प आउँदा अझै कम क्षति हुन्छ,’ अधिकारी भन्छन्, ‘पश्चिम क्षेत्रमा त्यस्तो भएन ।

पुराना घर संरचना आफैं जोखिममा छन्, त्यसमाथि अझै असुरक्षित घर बनाउने क्रम रोकिएको छैन । यस्तो लापरबाही अब गर्न हुन्न ।’ आफू बझाङ जाँदा ढुंगामाथि ढुंगामात्रै राखेर बाहिरबाट प्लास्टर गरेर चारपाँच तलासम्मका घर बनाएको देखेको उनले बताए । ‘चेतनाको अभावमा यस्तो गरिएको हो । यस्ता संरचना भएका ठाउँमा भूकम्प जाँदा जोखिम बढी हुन्छ,’ उनले भने । nagariknews.com

बेनीमा शान्ति पार्क निर्माणको तयारी

म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा शान्ति बाटिका (उद्यान÷पार्क) निर्माणको तयारी भएको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ स्थित बिरेन्द्रचोक पछाडीको सार्वजनिक जग्गामा बनाउने तयारी गरेको पार्कमा प्रदेश सरकार र प्रवासीले लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, म्याग्दी प्रवासी नेपाली संघ (मोना)का अध्यक्ष दधिवल खड्का, नेपाल उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायत सरोकारवालाहरुको टोलीले प्रस्तावित उद्यान निर्माण स्थलको निरिक्षण गर्नुभएको छ ।

बेनी नगरपालिकाका प्रमुख केसीले बेनी आउने पाहुनाको बसाई लम्बाउन, बजारबासीलाई खुल्ला प्राकृतिक ठाउँमा रमाउने वातावरण बनाउन र बेनीको सौन्दर्यकरणका लागि शान्ति बाटिका बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको बताउनुभयो ।

“बेनीको पहिचान र आकर्षण बढाउन मात्र नभएर बजारबासीलाई फ्रेस हुने ठाउँका लागि पनि पार्क बनाउन आवश्यक महशुस गरेर डिपिआर तयार गरेका छौ,” केसीले भन्नुभयो “लगानीको स्रोतको खोजीमा छौ । प्रदेश, संघीय सरकार र सामाजिक संघ संस्थाबाट लगानीका लागि साझेदारीको अपेक्षा गरेका छौ ।”

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले पार्क बनाउन १० रोपनी जग्गाको खाली र उपभोग विहिन जग्गाको व्यवस्थापन गरिएको जानकारी दिदै सो ठाउँमा २०६० को बेनी भिडन्तको चिनोको रुपमा रहेको गोली लागेर प्वाल परेको पोल राखिने बताउनुभयो । ठाउँ तयार हुनेवित्तिकै काठमाडौमा रहेको पोल ल्याउन पोल राखेका मदन पुरस्कार गुठीका सञ्चालकसँग सहमति भएको थापाले बताउनुभयो ।

मोनाका अध्यक्ष दधिवल खड्काले मोनाले सामाजिक कार्यक्रम अन्तरगत बेनीमा पार्क बनाउन सहयोग गर्न मोना इच्छुक रहेको बताउनुभयो । उद्यानमा सार्वजनिक उपभोगका लागि मोना घर बनाउन इच्छुक रहेको खड्काले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बेनीमा पार्क बनाउन आवश्यक रहेको र जग्गा पनि व्यवस्थापन भइसकेकाले अब योजनाको कार्यान्वयनमा प्रदेश सरकारबाट बजेट व्यवस्थापन गर्न प्राथमिकता दिने बताउनुभयो ।

“बेनीमा पार्क बनाउन अति आवश्यक महशुस गरेको विषय हो,” उहाँले भन्नुभयो “पार्क निर्माणका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा म लविङ गर्छु । यो योजना सबै मिलेर कार्यान्वयन गर्न सकियो भने बेनीको पर्यटन क्षेत्रमा पनि दिर्घकालिन लाभ हुन सक्छ ।”