Friday, June 6, 2025
18.9 C
Beni
18.9 C
Beni
Friday, June 6, 2025
Home Blog Page 51

नेपाल र थाइल्याण्डबीच ८ वटा समझदारीपत्रमा हस्ताक्षर

नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरे।

सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुईवटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्याण्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

त्यस्तै परराष्ट्रमन्त्री डा देउवा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डका गैरसरकारी क्षेत्रहरूबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।

यसमा नेपाल नेत्र ज्योति सङ्घ र थाइल्याण्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरे।

त्यस्तै, जनता एग्रो एण्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्याण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र थाइल्याण्डको व्यापार बोर्डबीचको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्ड पर्यटन परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

मुस्ताङमा च्याङ्ग्रा जोन : ७८ फार्म सूचीकृत

च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्याङ्ग्रा जोन विकास कार्यान्वयनमा रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आव २०७८/७९ देखि च्याङ्ग्रा जोन विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मुस्ताङमा पुस्तौँपुस्तादेखि व्यावसायिक रुपमा यहाँका स्थानीय किसानले च्याङ्ग्रापालन व्यवसायलाई पेशाका रुपमा अपनाउँदै आइरहेका छन् । च्याङ्ग्रा पालन व्यवसायलाई परिस्कृत गर्दै लैजाने र च्याङ्ग्रा पालन व्यवसायलाई प्रर्वद्धन गर्ने गरी मासुको आयात प्रतिस्थापन गर्न च्याङ्ग्रा जोन विकास कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको हो ।

च्याङ्ग्रा जोन विकास कार्यक्रम कार्यान्वयनमा आएको चौथो वर्ष हालसम्म मुस्ताङका तीन स्थानीय तहमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा ७८ कृषि फार्म सूचीकृत भइसकेका छन् । च्याङ्ग्रा जोन विकास कार्यक्रमका लागि सूचीकृृत हुन बर्सेनि कार्यालयले प्रस्ताव आह्वान गर्ने र त्यसपछि प्राथमिकताका आधारमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृत गर्दे लैजाने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए ।

मुस्ताङका पाँच स्थानीय तहमध्ये मागका आधारमा तीन स्थानीय तहका किसानलाई च्याङ्ग्रा जोन विकास कार्यक्रममा आबद्धता गरिएको कार्यालय प्रमुख गौतमले बताए । जिल्लाको बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गरी कूल ७८ फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएका हुन् । त्यसअन्तर्गत बारागुङ मुक्तिक्षेत्रमा ५६ फार्म, लोघेकर दामोदरकुण्डमा १६ फार्म र लोमान्थाङ गाउँपालिकामा नौ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएको कार्यालय प्रमुख गौतमले उल्लेख गरे ।

च्याङ्ग्रा जोन विकास कार्यक्रमको पहिलो आव २०७८/७९ मा आठ फार्म, दोश्रो वर्ष आव २०७९/८० मा १६ र तेस्रो आव २०८०/८१ मा १७ फार्म सूचीकृृत भएका थिए । चालु आवको चौथौ वर्ष २०८१/८२ मा ३७ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएको परियोजना कार्यान्यन एकाइले जनाएको छ । च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो वर्ष रु ७५ लाख ३० हजार, दोश्रो वर्ष रु ७२ लाख ४० हजार, तेस्रो वर्ष रु ८० लाख ४७ हजार र चालु आवमा रु ५९ लाख ११ हजार बजेट विनियोजन भएको थियो ।

पहिलो वर्षको च्याङ्ग्रा जोन कार्यक्रममा रु ४९ लाख १० हजार, दोस्रो वर्ष रु ७२ लाख नौ हजार र तेस्रो आवमा रु ५७ लाख ९८ हजार बजेट खर्च भएको कार्यान्वयन एकाइले जनाएको छ । परियोजना कार्यान्यवन एकाइअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा च्याङ्ग्राको खोर सुधारतर्फ ८५ प्रतिशत अनुदान सहुलियत दिने गरी सूचीकृृत १० खोरका लागि रु ३० लाख बजेट बजेट छुट्याइएको छ ।

स्थानीय तहसंगको समन्वयमा पशु नश्ल स्रोत केन्द्र स्थापना सुदृढीकरण सूचीकृत एक फार्मलाई ८५ प्रतिशत अनुदानमा रु आठ लाख ९२ हजार बजेट परेको छ । लक्षित जोनमा पशु नश्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रममा रु १२ लाख, पशु आहारा व्यवस्थापनमा रु तीन लाख १८ हजार र जोन सुधार सहयोग तथा जोन क्षेत्रमा कृषि यान्त्रिकीकरणतर्फ रु पाँच लाख बजेट ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरी कार्यक्रम तय भएको कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए ।

यसअघि मुस्ताङमा सञ्चालित च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो आवमा सूचीकृृत आठ फार्मलाई च्याङ्ग्राका पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट, रेन्कोट र पाल वितरण गरिएको छ । खोर सुधारमा आठ फार्म, पशु नश्ल स्रोत केन्द्र स्थापना एक र खसी बोका संकलन केन्द्र स्थापना केन्द्रतर्फ एक फार्मले अनुदान पाएका थिए ।

आव २०७९/८० मा सूचीकृृत १३ फार्मले च्याङ्ग्रा पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट र डिजिटर तराजु पाएका थिए । यस्तै पशु रोग नियन्त्रण गर्न औषधि वितरण २१ फार्म, खोर सुधार १० फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापना दुई सूचीकृृत फार्मले च्याङ्ग्रा जोनको अनुदान प्राप्त गरेका थिए ।

यसैगरी आव २०८०/८१ मा च्याङ्ग्राका पाठापाठी वितरणमा १० फार्म, औषधि वितरण २९ फार्म, च्याङ्ग्रा आहारा ३६ फार्म, खोर सुधार सात फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापनातर्फ दुई पशु फार्मले जोन विकासको अनुदान लिएका थिए । परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख गौतमले पशु वृद्धि गर्न पाठापाठी वितरण, औषधि, पूर्वाधार निर्माणका साथै च्याङ्ग्रा पालनमा आवश्यक उपकरण तथा प्रविधि अनुदानमा उपलब्ध गराइएको बताए ।

आगामी वर्षमा पशुको नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादन तथा पश्मिना व्यवसायतर्फ पशु फार्मलाई आकर्षित गर्दै लैजाने योजना रहेको प्रमुख गौतमको भनाइ छ । जोन कार्यक्रममा रही अबका वर्षमा पश्मिना उद्योगमा जोड दिने कार्यालयको उद्देश्य रहेको उहाले उल्लेख गरे । च्याङ्ग्रा जोन कार्यक्रमले स्थानीय पशुपालकको व्यवसायको संरक्षण, व्यावसायिकरणका साथै सबै सूचीकृृत पशु फार्महरुमा कम्तीमा तीन÷चार जनाले रोजगारी प्राप्त गरेको प्रमुख गौतमले जानकारी दिए ।

मुस्ताङमा च्याङ्ग्रा जोन विकास कार्यक्रमले सम्बन्धित पशु फार्महरुले सरकारबाट प्राप्त सुविधा लिएर च्याङ्ग्राको उत्पादन तथा बिक्री वितरणका साथै पश्मिना निकालेर दोहोरो आम्दानी लिनसक्ने वातावरण सिर्जना भएको कार्यालय प्रमुख गौतमको भनाइ छ । रासस

चैते दशैँ शुरू भएसँगै बाग्लुङको कालिका मन्दिरमा पर्यटक बढे

चैते दशैँ शुरू भएसँगै बाग्लुङको कालिका मन्दिरमा धार्मिक पर्यटक बढेका छन् । आइतवारदेखि नवरात्र शुरू भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ ।

चैते दशैँमा बाग्लुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् । चैतको नवरात्रमा बाग्लुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ ।

गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा रहेकाे मन्दिरमा अहिले भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । मेला आयोजनाका लागि ५५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

मन्दिरमा छिमेकी देश भारतबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको छ ।

त्यस्तै स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

एसईईकाे परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो असार ७ गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ ।

यही चैत ७ गतेदेखि  शुरू भएको परीक्षा हिजो सकिएको हो । यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । एसईईमा सबैभन्दा धेरै काठमाण्डौमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ जना सहभागी थिए । जापानको एक परीक्षा केन्द्रमा २९ जनाले एसईई दिएका छन् ।

यस वर्ष परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । सरकारले परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । गएको वर्ष २०८० सालको एसईईमा ४८ प्रतिशतमात्रै विद्यार्थी पास भएका थिए ।

मार्च महिनामा एक लाख २१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए ।

जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए । मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए ।

यस्तै चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ ।

श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एशियाली देशका ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।

निःशुल्क मुटु परीक्षणको आज अन्तिम दिन, विपन्न रोगीको उपचारमा सहयोग हुने

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५ सय भन्दा बढीले सेवा लिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि शिविर सञ्चालन गरिएको हो ।

बुधबार साँझ सम्पन्न हुने शिविरमा अति विपन्न र जटिल समस्या देखिएकालाई निशुल्क र सहुलियतमा उपचार समेत गरिने छ । म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरमा म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका मुटुमा समस्या देखिएकाहरुको भिड लागेको जिल्ला समन्वय समितिका अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा रक्त परीक्षण गरिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका निर्देशक डा. रबी मल्लले यो अवसरको सदुपयोग गर्न समेत अनुरोध गर्नुभएको छ । मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिने शिविरमा विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सेवा दिइरहेको छजिल्ला समन्वय समितिका निमित्त प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।

शिविरमा म्याग्दी उद्योग वाणिज्य सङ्घ, राखु कल्याणकारी समाज, म्याग्दी जेसीज, नेपाल रेडक्रस सोसाईटी, ओमकुमारी शान्ति कोष र म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले स्वंयमसेवक परिचालन गरेका छन् भने बेनी नगरपालिकाको नगर प्रहरी सहितको अन्य थप जनशक्ती समेत खटिएको छ ।

लेखफाँटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ लेखफाँटमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग १ त २२६० नम्बरको ट्याक्टर लाउरी डाँडामा सडकदेखि ५० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक घनश्याम ढकालले जानकारी दिनुभयो।

दुर्घटनामा जलजला गाउँपालिका वडा नम्बर ५ का चालक २० वर्षीय अनिल रेग्मी गम्भीर घाइते भएको वडाध्यक्ष तिलक जिसीले जानकारी दिनुभयो। घाइते रेग्मीलाई उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको वडाध्यक्ष जिसीले बताउनुभयो।घटनाको बारेमा वारीबेनी प्रहरी चौकीवाट पुगेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको वारीबेनी प्रहरी चौकीका प्रमुख ढकालले बताउनुभयो।

मुटुरोग विशेषज्ञ डा. रबी मल्ल सम्मानित

गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक डा. रवि मल्ल गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । मुटुरोग विशेषज्ञ डा. मल्ललाई बुधबार एक कार्यक्रमका बिच म्याग्दी उद्योग बाणिज्य संघले दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ ।

बेनी नगरपालिका वडा नं ८ कालिपुलस्थित पर्यटक सुचना केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान सहित विपन्नको उपचार सहित ग्रामिण क्षेत्रमा शिविरमार्फत सेवा प्रवाहबाट नागरिक लाभान्वित भएको भन्दै संघले सम्मान गरेको हो ।

संघका अध्यक्ष सुविन श्रेष्ठ, पूर्व अध्यक्ष एवम् बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, सचिव मोतिलला पौडेल, महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

सम्मानित भएपछि डा. मल्लले जन्मभूमी म्याग्दीका नागरिकलाई मुटु रोगमा देखिएको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

डा. मल्ल जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा दुई दिनसम्म निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर बुधबार सकिदै छ।

 

जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ

बेनी । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । खेलकुद विकास समितिको उपाध्यक्ष विष्णु रोका मगर ,सचिव कुमार किशान र कोषाध्यक्षमा नरेश पुन मगर मनोनित हुनुभएको छ । मनोनित सबै पदाधिकारीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिब श्रीधर शर्माले सपथ ग्रहण गराउनुभएको हो ।

अध्यक्षमा मनोनित अध्यक्ष श्रेष्ठ नेपाल तरुणदलका केन्द्रिय सदस्य समेत हुनुहुन्छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध श्रेष्ठ सफल युवा व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ ।

जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष बन्नुभएकी रोका म्याग्दी जिल्ला भलिबल संघमा कोषाध्यक्ष र सचिव किसान भलिबल संघ म्याग्दीकै महासचिव हुनुहुन्छ । भने कोषाध्यक्ष नरेश पुन मगर म्याग्दी भलिबल संघ मालिका गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।

सोही अवसरमा म्याग्दी सहित ८ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले भागवण्डाको आधारमा खेलकुद विकास समितिका पदाधिकारीहरु मनोनयन गरेको हो । सोही बमोजिम म्याग्दीबाट अध्यक्ष सहित कोषाध्यक्ष कांग्रेस तथा उपाध्यक्ष र सचिव एमालेको भागमा परेको थियो ।

मल्क‌बाङ‌मा उद्‌घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

धवलागिरि गाउँ‌पालिकाको वडा नं. ५ मल्कबाङ्‌गमा ३ दिने उद्‌घोषण तथा क्षमता अभिवृध्दि तालिम सम्पन्न भएको छ । वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम २०८१ चैत्र १६ गते आरम्भ भई १८ गते सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय २४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अजयमिलन श्रेष्ठले सहजकर्ता प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि धवलागिरि गाउँपालिकाको अध्यक्ष प्रेमप्रसाद पुनले कार्यक्रम उपलब्धिमूलक भएको बताएका थिए । कार्यक्रममा प्रशिक्षक र सहभागीलाई प्रमाण-पत्र वितरण गरिएको थियो ।
वडा अध्यक्ष अमरबहादुर छन्त्यालको अध्यक्षता र वडा सचिव बेद‌नाथ सुवेदीको सञ्चालनमा भएको समापन कार्यक्रममा वडा सदस्यहरू भक्तबहादुर छन्त्याल, अङबहादुर पुन, दिपा वि.क., स्थानीय वि.व्य.स. अध्यक्ष दलमान पुन, नन्दीबाङ जलविद्युत आयोजनाका अध्यक्ष भीमप्रसाद छन्त्याल लगायतले मन्तव्य राखेका थिए ।