Friday, June 6, 2025
17.3 C
Beni
17.3 C
Beni
Friday, June 6, 2025
Home Blog Page 52

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, संकलन गर्न भ्याइनभ्याइ

आठ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ। यस कम्पनीमा तीन चिनियाँ र ३१ नेपाली कार्यरत छन्। कम्पनीले गुर्जो र चुत्रो संकलन गरी बिक्री गर्न ल्याउने संकलकलाई चुत्रोका डाँठको प्रतिकिलो २५ र जराको प्रतिकिलो ४० तथा गुर्जोको प्रतिकिलो २० रुपैयाँ दिन थालेको छ।खेतबारी तथा वनजंगलमा शताब्दीऔंदेखि उपयोगविहीन बनेको चुत्रो र गुर्जो बिक्री हुन थालेपछि अहिले गाउँगाउँका किसानलाई संकलन गर्न भ्याइनभ्याइ छ। कम मेहनत र लगानीमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि दैनिकजसो जंगलमा गएर चुत्रो संकलन गर्नेको संख्या ह्वात्तै बढेको मोदी गाउँपालिका वडा नं ४ क्याङका टीका पुनले जानकारी दिए।

वार्षिक सात सय ३० मेट्रिक टन चुत्रो र गुर्जो संकलन गर्ने लक्ष्य राखेको उद्योगले चार महिनामा २० टनभन्दा बढीको काम गर्न नसकेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले चुत्रो र गुर्जो प्रशोधन गरी धुलो बनाएर चीन पठाउने गरेको छ।

जिल्लाको जलजला गाउँपालिका वडा नं ६ शालिजाका युवा शेरबहादुर पुनले दुई सातामै एक हजार पाँच सय किलो चुत्रो र गुर्जो बिक्री गरेर ५५ हजार आम्दानी गरेको जानकारी दिए। घरभन्दा माथि रहेको तारे सामुदायिक वनबाट उक्त मात्रामा संकलन गरिएको हो। यस्तै, फलेवास नगरपालिका वडा नं ७ लिमीठानाका जगन्नाथ शर्माले बिक्री हुन थालेपछि चुत्रो र गुर्जो खोज्न वनजंगल जानेको संख्या बढेको बताए। उनले चुत्रो सहजै संकलन गर्न सकिने भए पनि गुर्जो खोज्न भने समय लाग्ने बताए। शर्माले यसको उपयोगसँगै खेतीसमेत विस्तार गर्नतर्फ ध्यान दिनुपर्ने बताए।

औषधिजन्य वनस्पति चुत्रो र गुर्जो संकलन तथा बिक्री भए पनि यसको दीर्घकालीन उपयोग र खेती विस्तारमा ध्यान नदिइएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्। नागरिकको विरोध बढेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको संयुक्त टोलीले उद्योगको स्थलगत अनुगमन गरेको थियो।

वन कार्यालयले अनुगमनपछि कम्पनीले आवश्यक कानुनी प्रक्रिया नपुर्‍याएको भन्दै पत्राचार गरी तत्काल संकलन कार्य रोक्न आदेश दिएको भए पनि कम्पनीले अटेर गर्दै धमाधम प्रशोधन गरिरहेको स्थानीयले बताए। डिभिजन वन अधिकृत झ्यामनारायण सापकोटाका अनुसार विदेशी कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षण नगरी परियोजना सञ्चालन गरिरहेको देखिएको थियो।

डिभिजन वन कार्यालयले पत्राचार गरेर यो विषयमा आफ्नो सरोकार देखाएजस्तो गरेको भए पनि व्यक्तिको दर्ता स्रेस्ता कायम भएका नम्बरी आबादीमा रहेका वनबाट जडीबुटी संकलन तथा ओसारपसारका लागि अनुमति दिन परिपत्र जारी गरिरहेको छ। कार्यालयले गण्डकी प्रदेश वन नियमावली २०८१ को अनुसूची १६ मा कायम गुर्जो र चुत्रो संकलन तथा ओसारपसार गर्न अनुमति प्रदान गरिएको सापकोटाले बताए।

डिभिजन वन अधिकृत सापकोटाले व्यक्तिगत वनबाट ल्याउने कुरालाई आफूहरूले रोक्न नमिल्ने बताए। कार्यालयका अनुसार पर्वतबाट यही पुसदेखि गुर्जो १० हजार पाँच सय किलो र चुत्रो तीन हजार किलो मात्र संकलन गरिएको छ। छिफु बायोटेक्नोलोजीका व्यवस्थापक हरिकुमार श्रेष्ठले भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत नभइसकेको तर अन्तिम प्रक्रियामा रहेको बताए। उद्योग परीक्षणकै क्रममा किसानले ठूलो परिमाणमा चुत्रो र गुर्जो संकलन गरेर ल्याएपछि वन कार्यालयले रोकेको दाबी गरे।

पैयुँ गाउँपालिकाले गत फागुन २७ मा चुत्रो र गुर्जो संकलन कार्य रोक्न सूचना नै जारी गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले गाउँपालिकाले अहिले पूर्ण रूपमा संकलन कार्यमा रोक लगाएको बताए। डिभिजन वन कार्यालयले गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो र गुर्जो पहाडी भेगमा सबैजसो ठाउँमा पाइने जनाएको छ। कम्पनीले पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, अर्घाखाँची, गुल्मी, स्याङ्जालगायत जिल्लालाई केन्द्रित गरेर प्रशोधन उद्योग सञ्चालन गरेको बताएको छ। रासस

मराङ पुर्णखोप सुनिश्चित वडा घोषणा

म्याग्दीको धवलागिरी गाउँपालिका-६,मराङलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । आइतबार मराङमा गाउँपालिकाद्धारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मराङलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो । यो सँगै यस वर्ष मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा भएको छ ।

घोषणा कार्यक्रममा वडा अध्यक्ष राजाराम सुवेदी, जिल्लासमन्वय समिति सदस्य श्रीप्रसाद गर्बुजा ,गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्री लगायतको उपस्थिती रहेको थियो । नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार वडा भित्र सर्वेक्षण गर्दा १६ देखि ५९ महिनाका ७२ जना बालबालिकाले पुर्ण खोप लगाएको आधारमा मराङलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष पुनले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताउनुभयो । ‘भौगोलिक विकटता कारण धवलागिरीमा पूर्ण खोप कार्यक्रम चुनौतीपूर्ण रहे पनि मराङलाई जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा गर्न सफल हुनु हाम्रो लागि ठुलो उपलब्धी हो,’अध्यक्ष पुनले भन्नुभयो ।

रोगको रोकथामका लागि खोपको अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि गाउँपालिकाले पनि प्रथामिकता दिएको उहाँले बताउनुभयो। वडा भित्र कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । आगामी दिनमा पनि नियमित खोप सुनिश्चतता गर्न आवश्यक रहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।

सात वटा वडा रहेका गाउँकाका अन्य सबै वडालाई पुर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी रहेको छ । सोमबार वडा नम्बर ५ मल्कबाङलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिने भएको छ । वडा अध्यक्ष सुवेदीको अध्यक्षता, मराङ स्वास्थ्य चौकीका प्रमुख मोहन गर्बुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य चौकी अनमी साहाना शाहले स्वागत मन्तव्य राख्नुभएको थियो ।

पुनहिल घुम्दै विद्यार्थी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल पुनहिलको अवलोकन लागि पुगेका शिख माविका कक्षा १–५ का विद्यार्थी र शिक्षक । यहाँ पुगेका विद्यार्थीलाई मनोरम प्राकृतिक दृष्यको अवलोकन,शान्त मनोरम वातावरण,अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरा सहितको जानकारी गराएका थिए ।

 

सामुदायिक वनमा आगो लगाउने एक पक्राउ

सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका ४ हुन्द्राको सरादी सामुदायिक वनमा आगलागी गरेको आरोपमा प्रहरीले सोही स्थानका ४९ वर्षीय ढाल बहादुर सार्कीलाई पक्राउ गरेको हो ।

सार्कीले शुक्रबार बारीमा आगो लगाउने क्रममा उक्त आगो सल्किई सरादी सामुदायिक वन, नीजि घर तथा पशु चौपाय बाध्ने गोठ र खानेपानीको पाईप जलेर क्षती भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो । सार्कीले लगाएको आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

सार्कीलाई आईतबार जिल्ला अदालत बागलुङबाट आपराधिक उपद्वव गर्न नहुने कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपि यादवले बताउनुभयो ।

वन जंगलमा आगलागी गरेमा वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

म्याग्दीका पत्रकारद्वारा कालोपट्टी बाँधेर विरोध

म्याग्दीका पत्रकारहरुले आइतबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा काम गरेका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ म्याग्दीको आह्वानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएको उपाध्यक्ष दलप्रसाद विश्वकर्माले बताउनुभयो ।

आफ्नो कार्यलय र समचार संकलनमा जाने क्रममा हातमा कालो पट्टी बाँधेर शुक्रबार भएको घटनाको विरोध जनाएको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ। भोलि सोमबार प्रमुख जिल्ला अधिकारीमार्फतकार्यक्षेत्रमा पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको सचिव ठाकुरप्रसाद आचार्यले जानकारी दिनुभयो ।

शाखा अध्यक्ष हरिकृष्ण गौतमले राजनीतिक मुद्दाका आडमा र अन्य विभिन्न बाहनामा पत्रकार र संचार माध्यममाथिको आक्रमण सह्य नभएको बताउँदै अवाञ्छित र अराजक गतिविधिको सधै विरोधमा गर्ने बताउनुभयो । स्वर्गीय रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गदैं शनिबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएर दबाबमुलक कार्यक्रम गरिएको थियो ।

गण्डकी प्रदेशमा थप चार दिन सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आउने वर्ष थप चार दिन सार्वजनिक बिदा दिने भएको छ। विक्रम संवत् २०८२ मा नेपाल सरकारले निर्णय गरेका बाहेक चार दिन बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले गरेको बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रविण ढकालले भानु जयन्तीका दिन असार २९ गते आइतबार, कोजाग्रत पूर्णिमाका दिन असोज २० गते सोमबार, गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते बिहीबार र चैते दशैं २०८२ साल चैत १२ गते बिहीबार गरी ४ दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो।

यी बिदामा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान बन्द हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।

हेभी सवारीसाधनले बेलिब्रिज छियाछिया

गण्डकी प्रदेशको ‘लाइफलाइन’ बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको उत्तरी क्षेत्रका बेलिब्रिजमा ‘हेभी’ सवारीसाधन आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक कार्यालयले कडाई गरेको छ । बेलिब्रिज र पक्की पुलको क्षमता मापन नगरी धेरै टन ढुवानी गर्दा फलामे बेलिब्रिजमा ठड्याइएका पाता, नटबोल्ट जीर्ण बन्दै गएपछि १२, १४ र १८ चक्केसम्मका सवारीसाधनलाई कडाई गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजकुमार केसीले बताए ।

‘पुलले धान्नै सक्दैन, अब पनि कडाई नगरे दुर्घटनाको जोखिम भएकाले कडाई गरिएको छ’ प्रमुख केसीले भने । म्याग्दी खण्डमा भुरुङ तातोपानी, रुप्से झरना र मुस्ताङमा करिब ३ वटा पुलहरूमा ‘हेभी’ सवारीसाधन आवतजावत नगर्ने गरी सामान ढुवानी गर्न अनुरोध समेत गरिएको छ ।

उत्तरी म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनलाई आवश्यक पर्ने ट्रान्सफर्मरसहित हेभी इक्युमेन्टसम्बन्धी सरकारी निकायको निगरानी बिनै पुलमा सामान्य ‘सर्पोट’ राखेर सवारीसाधन आवतजावत गर्दा विगतमा समेत पुलमा क्षती भएको थियो ।

म्याग्दी र पर्वत जोड्ने कालिपुल सहित सडकखण्डमा बनेका पुलमा भारवहन क्षमताको मापन गर्ने सरकारी निकायको प्राविधिक क्षेत्र नै बेखवर छ । क्षमताभन्दा बढी भारवहन सवारी पुल हुँदै आवतजावत गर्दा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले क्षमताभन्दा बढी सवारीसाधनलाई आवतजावतमा कडाई गर्न भनेपछि ट्राफिक प्रहरीले सक्रियता देखाएको छ ।

प्रजिअ ढकालले ठूला सवारीसाधन आवतजावत गर्ने क्षेत्रमा रहेका पुलको प्राविधिक पक्षसँग स्थलगत रुपमै अनुगमन गरी प्रतिवेदन समेत तयार गर्ने सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत नयाँ पुलको डिजाइन गर्दा तोकिएको भारवन क्षमताका बारेमा समेत अस्पष्ट भएकाले जलविद्युत् र सवस्टेशनका प्राविधिकले पुलमा थप सर्पोट राखेर ढुवानी गर्ने गरेका छन् ।

 

स्मल हेभनमा दीक्षान्त समारोह : २६ जना नानीबाबु दीक्षित

माउन्ट एभरेष्ट आवासीय माविद्धारा सञ्चालित स्मल हेमन मन्टेश्वरीमा शनिवार दीक्षान्त समारोह सम्पन्न भएको छ । बेनीबजारको रेडक्रस भवनमा सञ्चालित मन्टेश्वरीबाट शैक्षिक वर्ष २०८१ मा कक्षा युकेजीका २६ जना नानीबाबुहरु दीक्षित भएका मन्टेश्वरीका संयोजक विभा रोकाले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि बेनी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले स्मल हेभन मन्टेश्वरी बेनी बजार क्षेत्रको उत्कृष्ट मन्टेश्वरी भएको बताउँदै आफ्नै छोराछोरीलाई जस्तै स्नेहपूर्वक संस्कार सहितको शिक्षा प्रदान गर्न यो मन्टेश्वरी सफल भएको विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी प्रिन्सिपल राजु केसीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सहित व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप र चारित्रीक तथा नैतिव वल प्रदान गर्ने खालका विभिन्न कार्यक्रमहरु आयोजना गरिदै आएको बताउँदै नानीबाबुहरुको भविष्य निर्माणका लागि विद्यालयले समयसान्दर्भिक र बालमनोविज्ञानमा आधारित शिक्षण सिकाइ प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

विद्यालयमा बालविकासका लागि चाहिने सम्पूर्ण पूर्वाधार, शैक्षिक तथा शिक्षण सिकाइका सामग्रीहरु उपलव्ध हुनुका साथै घरको जस्तै माया र स्नेहका साथ मिस, म्याडमहरुले बालबालिकाहरुलाई शिक्षा प्रदान गरिरहनुभएको उहाँले बताउनुभयो । हाल युकेजीसम्म सञ्चालित मन्टेश्वरीलाई आगामी शैक्षिक वर्ष २०८२ मा कक्षा थप गरी एक कक्षा पनि सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी अभिभावक प्रतिक्षा श्रेष्ठ र दीपक सापकोटाले मन्टेश्वरीको शैक्षिक र व्यवस्थापकीय क्रियाकलापबाट आफूहरु सन्तुष्ट रहेको बताउनुभयो । अभिभावकले घरमा गर्ने स्याहार सुसार र दिने संस्कार विद्यालयले प्रदान गर्दै आएको विद्यालय र यहाँका मिस म्याडमहरुप्रति आफूहरु आभारी रहेको उहाँहरुको भनाइ थियो । कार्यक्रममा नानीबाबु र मिस म्याडमहरुले विभिन्न किसिमका सांस्कृतिक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका सञ्चालक रमेश गिरी र लिलाबहादुर बानियाँको पनि उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल राजु केसीको अध्यक्षता, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालको प्रमुख आतिथ्यता, शिक्षक धु्रवसागर शर्माको स्वागत र विभा रोकाको सञ्चालनसमा सम्पन्न भएको थियो । २०७२ सालमा स्थापना भएको स्मल हेभन मन्टेश्वरी विगत सात वर्षदेखि बेनीबजारको रेडक्रस भवनबाट सञ्चालन हुँदै आएको छ । मन्टेश्वरीमा हाल १३२ जना बालबालिकाहरु अध्ययनरत छन् ।

ढोरपाटनमा यसवर्षको दोस्रो शिकार याम : १३ नाउर, १० झारल र १२ बँदेलको शिकार गरिने

धौलागिरी हिमश्रृंखला भित्र बाग्लुङ, रुकुम र म्याग्दीमा फैलिएको नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकार याम चलिरहेको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गरिने भएको हो ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गएको माघ १५ मा शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा शिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छ वटा कम्पनीले अनुमति पाएका छन् ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका शिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा शिकार खेल्न आउन थालेका छन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार दोस्रो याममा आउँदो वैशाख १६ गतेसम्म शिकारीले सिकार खेल्न पाउने छन् ।

अहिलेसम्म दुई नाउर मात्र शिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले शिकारीमार्फत दुई नाउर र दुई बँदेल शिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर शिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी शिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल शिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन शिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई शिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् ।

नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन शिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल शिकार गर्ने अनुमति पाएका छन् । ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन शिकारीले एक नाउर, दुई झारल र तीन वटा बँदेलको शिकार गर्न अनुमति पाएका छन् । यो शिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट शिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको आठ लाख, नाउरको छ लाख २५ हजार पाँच सय तोकिएको छ ।

यसपाली सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा शिकार भइरहेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । दोस्रो याममा एक करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । शिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष दुई याम असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखमा शिकार खुला हुन्छ ।

आठौं म्याग्दी महोत्सवको आयब्यय सार्वजनिक

बेनीमा सम्पन्न भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा आयब्यय सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा पुस २८ देखि यही माघ ८ गतेसम्म आयोजना भएको महोत्सवमा १ करोड ९ लाख ५३ हजार ७ सय २९ रुपैयाँ आम्दानी र १ करोड ५ लाख ४३ हजार ८९० खर्च भएको संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा बिक्री भएको टिकटबाट सामाजिक उत्तरदाहित्व बहन अन्तरगत बिक्री भएको टिकटको आम्दानीबाट ब्यवसायिक हित कोषमा १२ लाख, म्याग्दी उवासंंघ विपद् ब्यवस्थापन कोष ३ लाख, धार्मिक पर्यटन प्रर्बधन ६० हजार, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा ५० हजार, म्याग्दी बालगृह २५ हजार र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान म्याग्दी शाखा ३५ हजार गरी १६ लाख ७० हजार सहयोग गरिएको कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

खर्च र सामाजिक उत्तरदाहित्व अन्तरगतको खर्चपछि ४ लाख ९ हजार ८२९ आम्दानी भएको छ । महोत्सवमा कूल दुई सय ३० वटा प्रदर्शनी कक्ष राखिएका थिए। महोत्सवमा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य, सूचना प्रविधि, कपडा, खाद्यान्न, भाडाको प्रर्दशनी गरिएको थियो।

स्थानीय उत्पादनका ३० वटा स्टलमा भने निःशुल्क प्रर्दशनीको व्यवस्था मिलाइएको थियो। संघको आयोजनामा २०५८ सालदेखि सुरु भएको महोत्सवले म्याग्दीको जातजातीको भेषभुषा पहिचान र जिल्लाको पर्यटन प्रवद्र्धनको सुरुवात समेत भएको थियो ।