Thursday, May 29, 2025
21.8 C
Beni
21.8 C
Beni
Thursday, May 29, 2025
Home Blog Page 56

म्याग्दीमा एसइईका २० जना परीक्षार्थी अनुपस्थित

आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीमा २० जना परीक्षार्थी अनुपस्थित भएका छन् । जिल्लाका ७ परीक्षा केन्द्रमा साधारणतर्फ छात्र १, छात्रा ५ जना र ग्रेडबृद्धितर्फ छात्र ११ जना र छात्रा ३ जना गरी शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।

बेनी सामुदायिक मावि केन्द्र, हेम मावि सिवाङ केन्द्र, जनप्रिय मावि दरबाङ केन्द्र, मंगला मावि केन्द्र, न्यु वेष्ट पोइन्ट आमावि केन्द्र, धौलागिरी मावि केन्द्र र प्रकाश मावि केन्द्रका परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर शर्मा चापागाईंले बताउनुभयो। परीक्षामा साधारणतर्फ छात्रा ८ सय ८२ जना, छात्र ८ सय ७५ गरी १७ सय ५७ जना र ग्रेडबृद्धितर्फ छात्रा ४७ जना छात्र ५० जना परीक्षार्थी सहभागि भएका छन् ।

 

मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकालीलाई सम्मानीत

लुलाङमा ट्याक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु, तीन जना घाईते

म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गुर्जा र लुलाङको सिमानामा देउराली देखि लुलाङ तर्फ आउँदै गरेको ग १ त ७१ ९६ नम्बरको ट्याक्ट १ सय ५० मिटर तल खस्दा तीन घाइते भएका छन् । दुर्घटनामा २० वर्षीय पुर्णलाल रसाइली र १८ बर्षिय देबीन विकको मृत्यु भएको छ ।

घाईते अवस्थामा उपचारका लागि लुलाङ स्वास्थ्यचौकीमा देवी विकको मृत्यु भएको ब जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्याक्टर चालक सुरक्षित छन् । दुर्घटनामा घाईते भएकालाई स्वास्थ्यचौकीमा उपचार भइरहेको र थप उपचारका लागि एम्बुलेन्समा बेनी अस्पताल ल्याउने तयारी भइरहेको छ ।

घाईतेहरुको नाम खुलेको छैन । घटनास्थलमा ताकम प्रहरी चौकीको टोली पुगेको छ । घाइतेको स्थानीयबासी र जनप्रतिनिधीहरुलृ उद्धार गरेर स्वास्थ्य चौकीमा लगेका थिए । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

न्याय खोज्दाखोल्दै बित्यो २१ बर्ष

बेनी नगरपालिका-५,का हुन् खड्के दमाई। उहाँले उचित राहतसहित न्यायको खोजीमा भौंतारिएको २१ वर्ष पूरा भएको छ। दुई दशकको अवधिमा पीडित दमाईले हरेक कार्यक्रममा एउटै गुनासो गरेको दुई दशक वित्दा समेत अहिलेसम्म राहत र पुनस्र्थापनामा कुनै सहयोग पाएनन्। अहिलेसम्म आश्वासनबाहेक केही नपाएको बताउनुहुन्छ ।

बेनी आक्रमणपछि भएका दर्जनौ कार्यक्रम बोल्ने बाहेक राहत तथा सुविधाका लागि कुनै काम नभएको भन्दै अब परिणाम आउने कार्यक्रम बाहेक अन्यमा नआउने बताउनुहुन्छ ।

पीडित दमाईसँगै आफ्नै आँखाअगाडि भएको आफन्तजनको हत्या, कुटपिट, बन्धक हुँदाको क्षण अझै ताजा भए पनि राज्यबाट हुने सहयोगको अनुभूति नगरेको म्याग्दीका द्वन्द्वपीडितको भनाइ छ। द्वन्द्वपीडितका नाममा सुविधा र राहतसँगै न्यायको खोजीमा लागेकाहरुलाई विभिन्न निकायहरुबाट हुने कार्यक्रम बाहेक अन्य सुविधाहरु आएको छैन ।

द्वन्द्वका क्रममा घाइते, अपांग तथा अंगभंग भएकालाई औषधोपचार तथा जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र निश्पक्ष रुपमा द्वन्द्वपीडितले न्याय पाउनुपर्ने माग उठाउँदै आएका श्रेष्ठ राज्यका निकायको हेपाहा प्रवृत्तिसँग हार भने खाएका छैनन्।

शारीरिक असक्तताका कारण दैनिक पीडदायी अवस्थामा बस्नुपरेका द्वन्द्वपीडितका नाममा पहुँचवालाकै हालिमुहाली रहेको बताए। मंगला गाउँपालिका–२ बाबियाचौरकी देवीकुमारी केसीले प्रहरीको गोली लागी ज्यान गुमाएका छोराको न्याय अझै नपाएको बताउनुभयो ।

‘हामीलाई न्याय भनेको क्षर्तीपुृर्ती मात्रै होइन, राज्यका निकायबाट हुने सम्मानले पनि पुग्छ, हामीले सदस्य गुमायौं अहिले गरेको ब्यवहार हेर्दा यूद्ध अपराधीजस्तो छ’ केसीले भन्नुभयो । राहतभन्दा पनि मलामी गएर फर्कदै गरेको छोराको आत्माले शान्ति पाउने गरी न्यायको प्रतीक्षामा रहेको बताउँदै न्यायका लागि रुदैं) हिड्ने पीडितलाई राज्यका तीनै तहबाट अब पनि न्याय नपाए ढिलो हुने बताउनुभयो ।

द्वन्द्वकालमा आफ्नै आँखाअगाडि भएको आफन्तजनको हत्या, कुटपिट, बन्धक हुँदाको क्षण अझै ताजा रहेको बताउँदै राज्य र विद्रोहीका पक्षबाट ज्यान गुमाएका र घाइते भएका परिवारका सदस्यले द्वन्द्वपीडितकै नाममा अर्बौं बजेट सकिए पनि वास्तविक पीडितका परिवारको अवस्था बेहाल रहेको बताउँदै गुनासो पोख्दापोख्दै २० वर्ष बितेको बताएका छन्।

द्वन्द्वका क्रममा घाइते, अपांग तथा अंगभंग भएकालाई औषधोपचार तथा जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र निश्पक्ष रुपमा द्वन्द्वपीडितले न्याय पाउनुपर्ने माग गरेका छन्। द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालले स्थानीय, प्रदेश र संघीय सरकारका कार्यक्रमहरुमा द्वन्द्वपीडित सदस्यका लागि समेत प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । ‘राज्यलाई आर्थिक भार नै नपर्ने कार्यक्रमहरु पनि दिन आनकानी गरेको देखिन्छ, पीडितका सन्तानलाई शिक्षा, स्वास्थ्य र रोजगारमुलक अवसर ले पनि धेरै हुन्छ’ घिमिरेले भन्नुभयो ।

द्वन्द्वपीडितलाई परिचय पत्र, सार्वजनिक यातायातमा सुविधा, आयआर्जनका क्षेत्रमार्फत उत्पादनमा जोड्ने कार्यक्रम, बालबालिकालाई शिक्षा, स्वास्थ्यसहितका राज्यबाट प्राप्त हुने सुविधामा छुट दिनुपर्ने माग प्राथमिकताका साथ उठाए पनि सुुनुवाइ नभएको द्वन्द्वपीडितको भनाई छ ।

‘जब बेनीबजारको नक्सा रुकुमको जंगलमा तयार भयो’

म्याग्दीको सदरमुकाम बेनीको उत्तरबाट पूर्व बग्दै गरेको कालीगण्डकी र पश्चिमबाट पूर्व बग्दै गरेको म्याग्दी खोलाको तीरमा बसेको बेनी बजार निकै सुन्दर छ । त्यही सुन्दर बेनी बजारको दक्षिणतर्फ म्याग्दी खोला बग्छ, जसको तीरमा राज्यको औपचारिक बसाई छ । अर्थात सरकारी कार्यालयहरु त्यहीँ बसेका छन् ।

आजभन्दा डेढ दशक अघि २०६० चैत्र ७ गते (राती १० बजेर ५५ मिनेटमा) यहि बेनी बजारको सुन्दर वगानमा भिषण युद्ध चल्यो । बन्दुकको नालबाट सत्ता जन्मन्छ र त्यो सत्ता जनपक्षिय सत्ता हुनेछ भन्ने सोचका साथ युद्धमा होमिएका थिए, गलकोट नगरपालिका ५ हरिचौरका पूर्णबहादुर राना।

उनी त्यो भन्दा पहिले भारतीय सेनामा कार्यरत थिए । गोरखा फौजमा कार्यरत उनी त्यहाँ पेन्सनमा फर्केपछि माओवादी राजनैतिक आन्दोलनमा लागे । हतियार चलाउन, फौजलाई युद्धको लागि तयार गर्न उनको लागि नौलो कुरा थिएन त्यसैले उनले तत्कालिन विन्दोही पक्ष माओवादीको लागि रोल्पा, डोल्पा, रुकुम लगायतका जिल्लामा रहेर युद्धका लागि फौजी नक्सा योजना बनाउन लागे ।

जनसेनालार्ई हतियार चलाउन सिकाउनेदेखि युद्धमा आक्रमणको रणनीति बनाउने काममा उनको अनुभवले महत्वपुर्ण काम गर्यो । त्यतिबेला उनले अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, विप्लबको कमाण्डमा काम गरे ।

बेनी आक्रमण गर्दा उनले नै नक्सा तयार गरी पासाङलाई दिएका रहेछन् । नन्दबहादुर पुन आफ्नो कमाण्डर भएका कारण उनले बेनी आक्रमण गर्दा कसरी जित्न सकिन्छ भन्ने रणनीतिक योजनासहितको नक्सा तयार गरेर देखाएका रहेछन् । ‘मैले कमेरड पासाङलाई बेनी आक्रमण कसरी गर्दा राम्रो हुन्छ भन्ने नक्साको डिजाइन गरी बुझाएको थिए र त्यही नक्साको आधारमा हमला भएको थियो ’ उनले भने ।माओवादी पार्टीको योजना अनुरुप बेनी सदरमुकाममा हमला गर्ने योजना चैत्र ९ गतेको थियो तर १५० को संख्यामा रहेको तत्कालिन शाहि सेनाको कमाण्डो फोर्स सदरमुकाम आएको सुचना पाए लगत्तै आक्रमण तोकिएको मितिभन्दा दुई दिनअघि नै गर्नु परेको राना बताउँछन्।

त्यस आक्रमणको राजनीतिक कमाण्ड नेत्रविक्रम चन्द ‘विप्लव’ले तथा सैन्य कमाण्ड नन्दकिशोर पुन ‘पासाङ’ले गरेका थिए । समयले आज विप्लवलाई पछिल्लो नवगठित माओवादी पार्टीको अध्यक्ष बनायो भने पासाङलाई मुलुकको दोस्रो उपराष्ट्रपति बनायो ।

तर समयले नै माओवादी आन्दोलनलाई पनि यसरी नै कैयौ धारमा विभाजित गरिदेला भन्ने उनले अनुमान गरेका थिएनन् ।सदरमुकाम बेनी हमला राज्य पक्षका लागि मात्र नभई स्वयंम आक्रमणको योजना बनाउने तत्कालिन माओवादी पार्टीका लागि पनि ठुलो नोक्सानी बेहोर्न परेको युद्ध मोर्चा थियो।

तर, सो भिषण युद्धमा ज्यान गुमाउनेको यकिन तथ्यांक न राज्य पक्षले सार्वजनिक गर्यो न विद्रोही माओवादीले । सोही भिडन्तमा १० सर्वसाधारणको पनि ज्यान गएको थियो । युद्धको भौतिक क्षतिको तथ्यांक राज्यले राखे पनि मानवीय क्षतिको तथ्यांक अझै एकिन छैन ।रातभर चलेको भिडन्तमा विद्राोहीले सदरमुकाममा पुरै कब्जा गर्न सफल भए पनि तत्कालिन शाही नेपाली सेनाको कालिप्रसाद गण भने कब्जा गर्न सकेन ।

तर तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली र डिएसपी रणबहादुर गौतम सहित १२७ जनालाई युद्धबन्दी बनाई लगे । जसमध्ये विभिन्न स्थानमा गरी विद्रोहीले ३७ जनालाई दुई दिनको अन्तरालमा रिहा गरे भने अन्य ९० जनालाई १७ दिन लगाई रोल्पाको थवाङ र्पुयाएका थिए ।

रोल्पाको थवाङबाट विद्रोहीले राज्यसँग विभिन्न माग राख्दै माग पुरा गरिदिने शर्तमा राज्यपक्षका कुल ९० जना युद्धबन्दीलाई विद्रोहीले हेलिकप्टर चढाई काठमाडौं पठाएका थिए । प्रमुख जिल्ला अधिकारी तथा डीएसपी अपहरणमा परेको भन्दै विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय मिडियामा निकै चर्चा पाएको माओवादीले उनीहरुलाई रिहा गर्ने सर्तमा आफ्ना पोलिटव्युरोका नेताहरुलाई राज्यले रिहा गर्नु पर्ने माग राखेको थियो ।

जसलाई सरकारले पुरा गर्नासाथ उनीहरुलाई मुक्त गरिएका थियो । ७ दलसँग विन्द्रोही माओवादीले दिल्लीमा गरेको १२ बुँदे विस्तृत शान्ति सम्झौता र त्यसपछिको परिर्वतनले अहिलेको यो अवस्थासम्म मुलुक आउने थिएन ।विस्तृत शान्ति सम्झौता भएसँगै माओवादी शान्ति प्रक्रियामा आयो र पहिलो संविधान सभाको निर्वाचनमा पहिलो पार्टीको रुपमा उदायो तर माओवादीको हिजोको त्यो एकिकृत मोर्चा अहिले विभाजित अवस्थामा छ । माओवादी आन्दोलन टुट, फुट र गुट कारण जनयुद्धको मुद्दाहरु कमजोर बन्दै गइरहेका छन् ।

यसअगाडी बेनीअनलाइनमा प्रकाशित साम्रागी समय सन्दर्भ मिल्ने भएकाले पुनः प्रकाशित गरिएको हो ।

बेनी आक्रमणको २१ वर्ष : द्वन्द्वपीडितले अझै पाएनन् न्याय

तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको चैत ७ गते आज २१ वर्ष पुगेको छ। २०६० चैत ७ गते राति ११ बजेदेखि भोलिपल्ट १०ः४५ बजेसम्म माओवादीले आक्रमण गर्दा रणभूमिमा परिणत भएको थियो। बेनी आक्रमणको २० वर्ष अर्थात् दुई दशक पुगेको छ।

पश्चिम डिभिजनको कमान्डमा भएको बेनी आक्रमण ‘जनयुद्ध’ को आठ वर्षको अनुभवमा माओवादीले जिल्ला सदरमुकाममा गरेका नौवटा आक्रमणमध्ये सैन्यबल र आक्रमणको व्यापकताको दृष्टिले सबैभन्दा ठूलो र लगातार १२ घन्टाभन्दा बढी समय लडाइँ गरेर मध्यान्हमा कब्जा गरेको पहिलो थियो।

बेनी आक्रमणमा माओवादीका विशेष क्षेत्रको पहिलो (मङ्गलसेन), भेरी–कर्णाली क्षेत्रको दोस्रो (सतबरिया), सेती–महाकाली क्षेत्रको तेस्रो (लिस्ने–ग्राम) र गण्डक क्षेत्रको (वासु स्मृति) चौथो ब्रिगेडअन्तर्गतका ६ बटालियनका करिब पाँच हजार माओवादी लडाकु सहभागी थिए।

माओवादीले प्रयोग गरेका ’मानव ढाल र अन्य भरिया’ गरी १० हजारको हाराहारीमा म्याग्दी आक्रमणका लागि आएको सरकारी पक्षको भनाइ छ भने माओवादीले जनयुद्धमा होमिएकाको मात्रै सहभागितामा बेनी आक्रमण गरेको दाबी गरेको छ। बेनी आक्रमणमा आउनुपूर्व माओवादी सेना रोल्पा जिल्लाको उत्तरपूर्वी थवाङमा जम्मा भई रुकुम जिल्लाको लुकुम हुँदै घुमाउरो बाटोबाट ढोरपाटन सिकार आरक्ष छिचोल्दै म्याग्दीको धवलागिरि गाउँपालिकाको मुना, लुलाङ, ताकम हुँदै आएको थियो।

थवाङबाट घुमाउरो बाटो छिचोल्दै १७ दिन लामो पैदल यात्रापछि ०६० चैत ७ गते राति १० बजे जिल्ला कारागार, प्रहरी र सैनिक ब्यारेकमाथि गोली बर्साएका थिए। बेनी आक्रमणको पहिलो गोली बेनीस्थित महारानीथान आसपासबाट भएको थियो भने मंगलाघाटमा गस्तीमा रहेका सेनासँगका जम्काभेटमा सेना र प्रहरी मारिएका थिए।

बेनीमा रहेको टेलिफोन रिपिटर टावर, गाविस भवन, कृषि, भेटेनरी, कृषि विकास बैंकलगायतका दर्जनौं कार्यालय विस्फोट÷जलाएर नष्ट पारिए। सदरमुकाम आक्रमणका क्रममा मात्र जिल्ला अदालत, जिल्ला प्रशासन, जिविस, प्रहरी, वन, कारागार, टेलिकमको एक्सचेन्ज स्टेसन, पुस्तकालय, मालपोत, नेपाल बैंक, अर्थुंगे गाविस कार्यालयलगायत दर्जनौं सरकारी कार्यालय नष्ट भएका थिए।

तत्कालीन रक्षा मन्त्रालयको विज्ञप्तिमा ५ सय माओवादी मारिएको र माओवादीले १ सय २५ जना ‘शाही सेना’ र २६ जना प्रहरी मारिएको दाबी गरे पनि बेनी आक्रमणमा तत्काल पुष्टि भएको भने १७ जना प्रहरी र १४ सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए। भिडन्तमा दुवैतर्फ गरी सयौंको संख्यामा घाइते भए।घाइतेमध्येबाट दुवैतर्फ केकति मारिए, यकिन तथ्यांक कहींकतै पाइँदैन। बेनी आक्रमणका क्रममा दुईजना बालबालिकासहित १९ जना सर्वसाधारण मारिए।

बेनी आक्रमणका क्रममा माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली, डिएसपी रणबहादुर गौतमसहित ४० जना कब्जामा परेका ‘युद्धबन्दी’ लाई माओवादी पश्चिम डिभिजन कमिसार नेत्रविक्रम चन्द ’विप्लव’ र कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ (पूर्व उपराष्ट्रपति) ले वक्तव्यमार्फत मातृका यादव, सुरेश आले र किरण शर्मालाई मुक्त गरेपछि मात्रै सरकारी टोली रिहा गर्ने घोषणा गरेका थिए।

तत्कालीन प्रजिअ पराजुलीले माओवादीले युद्धबन्दीका रुपमा सम्मान गरेको बताएका थिए। आक्रमणमा मारिएका कालिकोटको नरहरिनाथ गाउँपालिका कमलबहादुर बिष्ट र अमरबहादुर किकलाई मरणोपरान्त जनसेवाश्री पदकद्वारा विभूषित गरिएको छ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीले गरेका नौवटा जिल्ला सदरमुकाम आक्रमणमध्ये सैन्यबल र व्यापकताको दृष्टिले सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण एक हो। बेनी आक्रमणपछि माओवादी सैन्यशक्ति कमजोर भएको थियो भने माओवादीले त्यसपछिका आक्रमणमा सोचेजस्तो नतिजा नआएपछि शान्ति प्रक्रियामा प्रवेशको वातावरण बनेको थियो। बेनी आक्रमणमा सेनाको ब्यारेक कब्जा गर्न सकेको भए माओवादी युद्ध लम्बिने अवस्था रहेको म्याग्दीका माओवादी नेताहरूको भनाइ छ।

तत्कालीन समयमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययनमा माओवादीले बेनी आक्रमण गर्दा युद्ध अपराधको अन्तर्राष्ट्रिय नियमविपरीत नसालु पदार्थ सेवन गराएर कार्यकर्तालाई युद्धमा सामेल गराएको बताएको थियो।

आयोगले पाँच वर्ष समय लगाएर गरेको अनुसन्धानअनुसार युद्ध मोर्चामा रहेका लडाकुलाई उत्तेजनामा आउने नसालु पदार्थ सुई (सिरिन्ज) मार्फत सेवन गराइएको उल्लेख गरेपछि बेनी आक्रमण झनै चर्चा भएको थियो । जेनेभा महासन्धिले युद्धका बेला सर्वसाधारणलाई निसाना बनाउन र कुनै पनि युद्धमा औषधि प्रयोग गर्न वर्जित मानिन्छ।

द्वन्द्वपीडितले अझै पाएनन् न्याय

बुधबार स्मरणमा बेनी आक्रमणको २१ वर्ष, द्वन्द्वपीडितका अधिकार, परिपूरण र पुनर्निर्माण विषयक संवाद कार्यक्रममा सशस्त्र द्वन्द्वका बेला पीडित बनेका म्याग्दीका द्वन्द्वपीडितले अझै पनि राज्यका निकायबाट न्यायचित सुविधा नपाएको गुनासो गरेका छन्।द्वन्द्वकालमा आफ्नै आँखाअगाडि भएको आफन्तजनको हत्या, कुटपिट, बन्धक हुँदाका क्षण अझै ताजा रहेको बताउँदै राज्य र विद्रोहीको पक्षबाट ज्यान गुमाएका र घाइते भएका परिवारका सदस्यले द्वन्द्वपीडितकै नाममा अर्बौं बजेट सकिए पनि बास्तविक पीडितका परिवारको अवस्था बेहाल रहेको गुनासो गरेका थिए।

द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीलगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडितका नाममा सुविधा र राहतसँगै न्यायको खोजीमा २० वर्षदेखि भौंतारिएको पीडित कृष्णलाल श्रेष्ठले बताउनुभयो । ‘सहयोग माग्दामाग्दै २१ बर्ष पुगेछ, धेरै ठाउँमा रुदै याचना गरे, अहिले झनै पीडादायी अवस्था छ’ श्रेष्ठले बेनीअनलाइनसँग गुनासो गर्नुभयो ।अदालतका तत्कालीन कार्यालय सहयोगी बेनी नगरपालिका ७ पीपलचोकका कृष्णलाल श्रेष्ठ तीनवटा गोली लागेर घाइते हुनुका साथै एम्बुसमा परेर दाहिने खुट्टा गुमाउनुभएको छ ।

शारीरिक असक्तताका कारण जागिरसमेत छाडेका कृष्णलालले अहिलेसम्म राहतका लागि गरेका सबै प्रयास असफल भएको भन्दै द्वन्द्वपीडितका नाममा पहुँचवालाकै हालिमुहाली अझै रोकिएको छैन ।

द्वन्द्वकालमा आफ्नै आँखाअगाडि भएको आफन्तजनको हत्या, कुटपिट, बन्धक हुँदाको क्षण अझै ताजा रहेको बताउँदै राज्य र विद्रोहीका पक्षबाट ज्यान गुमाएका र घाइते भएका परिवारका सदस्यले द्वन्द्वपीडितकै नाममा अर्बौं बजेट सकिएपछि वास्तविक पीडितका परिवारको अवस्था बेहाल रहेको बताउँदै गुनासो पोख्दापोख्दै २१ वर्ष बितेको बताएका थिए।

म्याग्दीमा रहेका द्वन्द्वपीडितको अनुभव लिने समस्या सुन्न धेरै देशबाट आउने गरेपनि अहिलेसम्म दिर्घकालिन राहत पाउन नसकेको द्वन्द्वपीडित एवम् अधिकारकर्मी सुरेन्द्र खत्रीको भनाई छ । म्याग्दीमा बेनी आक्रमणमा ज्यान गुमाएकालाई सरोकारवालाले सम्झन समे छोडेका छन भने पीडितको अवस्था झनै दयनीय बनेको छ । बेनी आक्रमणपछि राजनीतिक दृष्य फेरिएपनि पीडितले माग्ने न्यूनतम आवश्यकतामा स्थानीय सरकारले समेत आँखा चिम्लिने गरेको छ ।

 

 

गुराँसको जंगल, प्रकृतिको रङ र जीवनको सौन्दर्य निबन्ध

यतिबेला पहाडहरू रातो भएर फक्रिएका छन्। लालीगुराँसको फेददेखि टुप्पासम्म सुकेको हिउँको फेदीसँग खेल्दै, सूर्यको मधुरो झुल्कोले नुहाउँदै, ती फूलहरू मानौँ वसन्तको गीत गाउँदैछन्। जब चिसो बतास बग्छ, बुट्यानहरू लर्खराउँछन् अनि तिनका रङ्गीन पत्रहरू नीलो आकाशमा तैरिन थाल्छन्। यो दृश्यले मनभित्र कुनै अनौठो कम्पन ल्याउँछ – जीवनको गहिराइमा एउटा सौन्दर्य, एउटा रसिक पल गुज्रिन थाल्छ।

लालीगुराँसको जंगल, त्यो वन, जहाँ प्रकृतिले आफ्ना सबै रङ छरिदिएको छ। प्रकृतिको रङमा मधुमासको सुवास, हरियो पातहरूको संगीतमय स्पन्दन। अनि तरेली पर्दै उभिएर परपरसम्म फैलिएको रातोपन – यी सबैले चेतनालाई एक किसिमको अनुपम आनन्दमा डुबाउँछन्।

प्रकृतिको यो सुन्दरतम् रूप आँखाले देख्ने चिज होइन, यो अनुभूत गर्ने कुरा हो। कुनै यायावर हिँड्दै गर्दा जब लालीगुराँसको जंगलभित्र पस्छ, ऊ आफूलाई अर्कै संसारमा पाउँछ। भुइँभरि रातो पत्रहरू छरिएका हुन्छन्, मानौँ प्रकृतिले प्रेमको गीत लेखेर छाडिदिएको छ।

लालीगुराँसको सुवाससँग घोलिएर बाँसुरीको धुन कतै गुञ्जिएको आवाज कानसम्म प्रतिध्वनित भइरहेको थियो। हावा हल्का चलिरहेको र शीतल थियो। अनि भुइँभरि ओछ्यान बिछ्याइएझैँ थियो– राताम्मे लालीगुराँसका फुलेका पत्रहरूले। म एक यायावरझैँ प्रकृतिको यो प्रेमिल उपहारभित्र पाइला सार्दै थिएँ।

जंगलभित्र पस्नेबित्तिकै संसारको स्वरूप फेरिएको महसुस भयो। वरपर उचालिएका रुखहरू, उनीहरूकै छायामा खेलिरहेका ससाना झाडीहरू। अनि गुराँसका ती आगोसरी दीप्त दिव्य फूलहरू- सबैले मलाई बाँधिरहेको थियो। हरेक हाँगाले नजिकै बोलाएझैँ लाग्थ्यो। हरेक पत्रले आत्मीय स्पर्श दिएझैँ अनुभूति भइरहेको थियो। जमीनमा उम्रिएका अधिकांश झारपात पनि मुस्कान पस्किँदै फुलिरहेका थिए। ती सबैले मेरा पाइला चुम्दै स्वागत गर्थे। ती दृश्यले मलाई औधी खुशी दिन्थ्यो।

मानौँ, प्रकृतिले मायाका असीम भावनाहरू बगाउँदै प्रेमपत्र लेखेर भुइँभरि छोडिदिएकी छ। त्यसलाई हृदयले पढेर हर्षको उत्सव मनाउने मेरो चाहना पूरा हुँदै थियो। म गुराँसको जंगलमा प्रकृतिको रङहरूमा मिसिँदै जीवनको सौन्दर्यपान गरिरहेको थिएँ।

म ती पुष्प–पत्रमाथि हिँडिरहेको थिएँ। के थाहा ती त मायालु स्पन्दनबाट छरिएका प्रेमिल झन्कार रहेछन्। त्यसरी नै त पाइला राख्नुपर्छ, जसरी कसैले प्रेमको उज्यालो फूलमाथि भरोसा राखेर यात्रा गर्छ। गुराँसको बासनाले मनभित्र कुनै पुरानो सम्झना बिउँझाइरहेको थियो- कुनै हिमाली यात्राको।

त्यही सम्झना र सपना मेरो आँखाको परेलीमा चित्रित हुन्छन्। जसमा हिमालको फेदीमा बसेका केही जोडा होटलहरू र पर पाखामा गुम्बाहरू्, जहाँ धूपको वासना छ, जहाँ चौरीगाईहरू, भेँडाच्याङ्ग्राहरू चरिरहेका छन्, जहाँ मान्छेका मनहरू स्वच्छ हावामा रमाइरहेका छन् । बुकिपाटनका फाँटहरूमा अघाउँजी बुर्कुसी मारिरहेका छन्।

लालीगुराँस फुलेका बेला सिङ्गो जंगल नै एउटा चित्रजस्तै देखिन्थ्यो। यो कुनै कुशल कलाकारको तूलिकाले कोरिएको क्यानभास थियो, जसमा रातो, हरियो र नीलो रङ मिलेर स्वर्गीय दृश्य सिर्जना गरेका थिए। जब वसन्तको हावा चल्थ्यो, ती गुराँसका पातहरू गह्रौँ भावनासहित टपटप झर्थे, मानौँ उनीहरू एकअर्कासँग बिदाइ माग्दै थिए।

गुराँस नेपाली मनको एउटा अभिन्न अंश हो। यसले हाम्रा गीतमा, हाम्रा कवितामा, हाम्रा कथामा, हाम्रा सपनामा आफैँलाई चित्रित गरिरहेको हुन्छ। कुनै गोठालो आफ्नो भेँडाबाख्राहरू चराउँदै गर्दा गुराँसको फूल टिपेर निधारमा सजाउँछ। कुनै यात्राप्रेमीले गुराँसको हाँगालाई स्याहारेर आफ्नो डायरीमा थिचेर राख्छ। कुनै चित्रकार आफ्नो क्यानभासमा गुराँसको रातो रङ पोत्छ र कुनै कविले यसको सुन्दरतामा गूढ अर्थ खोज्छ।

अन्ततः म पनि मेरा कलमबाट पोखिन थाल्छु। गुराँसको जंगल, प्रकृतिको रङ र जीवनको सौन्दर्य अक्षरहरूमा अभिव्यक्त गरेर रमाउँछु।

साँझ पर्न लागिसकेको थियो। घामको हल्का सुनौलो झल्को गुराँसका फूलमाथि परिरहेको थियो। ती झरेका पत्रहरूमाथि मेरो पाइला नरम भएर राखिन्थ्यो। बिस्तारै, म फेरि यात्रा अघि बढाउन लागेँ। गुराँसको सुगन्धले मेरा श्वासहरूलाई अझ सुगन्धित बनाइरहेको थियो।

यसरी नै त एउटा यायावर भौतिक यात्राबाट अनुभूतिको यात्रामा रूपान्तरित हुन्छ। अनि, गुराँसको यो राताम्मे जंगल  दृश्य होइन– यो अनुभूत गर्ने कुरा हो। प्रेम गर्ने कुरा हो।

चराहरूको चहक, हावाको सुस्केरा, रित्तिँदै गएर पनि निथ्रुक्क भरिएको त्यो रङ– यी सबैले जीवनको सार झल्काउँदै माया, प्रेम, सद्भाव र शुभेच्छाका कामनाहरू व्यक्त गरिरहेका थिए।

वास्तवमा लालीगुराँस मात्र फूल होइन, यो जीवनको एउटा प्रतीक हो। जब झरी पर्छ, यसको फूल झरिहाल्छ, तर फेरि अर्को वसन्त आउँछ, अनि फेरि फक्रिन्छ। मानौँ यो सिकाइ हो– जीवनमा पतन आए पनि पुनःरुत्थान सम्भव छ। पहाडको त्यो ढुंगेपर्खालको भित्तामा टाँसिएर उभिएको लालीगुराँस, जसलाई कहिलेकाहीँ हुरीले हल्लाउँछ। कहिलेकाहीँ सूर्यको तापले सुकाउँछ। तथापि प्रकृतिको यो नियमित क्रम सम्झेर ऊ मुस्कुराइरहेकै हुन्छ।

जीवन पनि यही हो। कहिले हुरी, कहिले वर्षा, कहिले चर्को घाम, कहिले शीतल पवन। तर हरेक पटक उठ्ने हिम्मत राख्नेहरूको सौन्दर्य कहिल्यै मर्दैन।

त्यसैले लालीगुराँसको जंगल वनस्पतिको समष्टि होइन, यो जीवनको दर्शन पनि हो। यो प्रकृतिले बोलेको कविता हो। यो हाम्रो आफ्नै आत्माको ऐना हो– रातो, रङ्गीन, उत्साहपूर्ण र कहिल्यै नमरून् भन्ने चाहनाले भरिएको।

गुराँसको जंगल, प्रकृतिको रङ र जीवनको सौन्दर्य यही हो।

म्याग्दीमा निर्धारित समयमै एसईई सुरू, बालमन्दिर माविबाट पहिलोपटक सहभागी हुदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू भएको छ । म्याग्दी जिल्लामा २२ सय १४ जना विद्यार्र्र्थी सहभागी हुने गरी ९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू भएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।

जिल्लाभरी रहेका परीक्ष केन्द्रमा ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । परीक्षार्थीलाई भयरहित वातावरणमा परीक्षा सञ्चालन भइरहेको छ । अनुगमन टोलीमा जिसस, स्थानीय तहका जनप्रतिनिधि सहित जिल्लास्तरीय परीक्षा समितिमा रहेकाहरु केन्द्रमा पुगेका छन्।

म्याग्दीमा नियमित साधारण तर्फ १६ सय ८९ जना र नियमित प्राविधिक तर्फ ७३ जना, नयाँ पाठ्यक्रका ग्रेडबृद्धितर्फ ४३१ जना, ग्रेडवृद्धि प्राविधिक तर्फ १७ जना र पुरानो ग्रेडवृद्धि २०७८÷०७९ र ०८० तर्फ ४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर शर्मा चापागाईंले बताउनुभयो।

यस वर्ष बेनी नगरपालिका–८, कालिपुलमा रहेको बालमन्दिर माविबाट पहिलोपटक १० जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् । प्रकाश माविको खुल्लातर्फबाट रेगुलर, ग्रेड वृद्दि १२ जना, ज्ञानोदय माविको स्रोत कक्षाबाट न्युन दृष्टिविहिन ३ जना, उज्यालो बैकल्पिक विद्यालयबाट ५ जना, जडभरत संस्कृत माध्यमिक विद्यालयमा नियमित ५ जना परीक्षार्थी सहभागि हुदैछन्।

 

 

एसईई आजदेखि, उच्च मनोबलका साथ निर्धक्क भएर परीक्षा दिन आग्रह

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ एसईईमा सामेल हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । भिडियो सन्देशमार्फत उहाँले एसईईमा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीलाई धेरै परीक्षा पास गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिन पनि आग्रह गर्नुभएको छ ।

यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी हुँदैछन् । गएको वर्षको एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । पोहोरभन्दा यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी हुने र काठमाण्डौको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यस वर्ष सबैभन्दा बढी काठमाण्डौमा ३९ हजार ६ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिँदैछन् । एसईई आजदेखि शुरु भएर १९ गतेसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश :

शान्तिपूर्ण रूपमा एसइई परीक्षा सुरु

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘देशभरका केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन।’

यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन्। कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन्। गत वर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए।

नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुद बनाएको उल्लेख गरे। परीक्षाका लागि प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिएका छन्। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष राखिएको छैन।

एसइईअन्तर्गत जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी छन्। जापानमा परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइएको उनले जानकारी दिए। काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिएका छन्।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन्। यस वर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिँदै छन्।

परीक्षा यही चैत १९ गते सञ्चालन हुने छ। तालिकानुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदै छ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ। चैत १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ।

बोर्डले यस वर्ष आगामी असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ। साथै न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुतीर्ण हुने समेत बोर्डको भनाइ छ। लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ। परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य छ। विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए।