Wednesday, May 28, 2025
26.6 C
Beni
26.6 C
Beni
Wednesday, May 28, 2025
Home Blog Page 57

चैत २४ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

हिजाे बसेकाे मन्त्रिपरिषद् बैठकले बिदाबारे निर्णय गरेको हो । चैत २४ गते रामनवमी पर्व परेको छ ।

सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो

सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च भएर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउ एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो । सुनको भाउ बढेर हिजो पनि कीर्तिमान बनाएको थियो । हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ थियो ।

बेलायती र सिंगापुरे लाहुरेले गरे साढे पाँच करोड लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङमा पाँच करोड ५० लाख रुपैयाँ लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ। चार जना भूतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर यो प्रशिक्षण केन्द्र सुरु गरेका छन्।

उनीहरूले बागलुङ नगरपालिका–४ स्थित डाँडाखेतमा बेलायती र सिङ्गापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधासम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन्। प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहने युवालाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जङ्गबहादुर पुनले बताए।

बागलुङ, म्याग्दी र पर्वतका युवा बेलायत र सिङ्गापुरको लाहुरेमा भर्ती हुन पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरूलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको पुनले बताए।

जैमिनी नगरपालिका–३ दमेकका बेलायती सेनाका भूतपूर्व लाहुरे पुनले तीन वर्षअघिबाट प्रशिक्षण केन्द्र निर्माण सुरु गरेको बताए। डाँडाखेतमा ६ रोपनी जग्गा खरिद गरी निर्माण सुरु गरिएको तालिम केन्द्रमा एक सय जना युवालाई एकसाथ राखेर तालिम दिन सकिने पुनको भनाइ छ।

‘बागलुङ, म्याग्दी र पर्वत क्षेत्रका धेरै युवा लाहुरे बन्न बढी चासो देखाउँछन्। यस क्षेत्रमा कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा हामीले यो सञ्चालनमा ल्याएका हौँ। हालसम्म तालिम केन्द्रमा पाँच करोड ५० लाख रुपैयाँ लगानी भइसकेको छ,’ पुनले भने।

अठार वर्षदेखि २१ वर्ष उमेर समूहका युवा सिङ्गापुर र बेलायती सेनामा भर्ती हुन योग्य हुने भए पनि तालिममा १६ वर्षपछि नै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाले बताए। राना सिङ्गापुर पुलिसबाट अवकासप्राप्त व्यक्ति हुन्। अहिले काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रूपमा खटिएका छन्। रासस

बोलेरो जिप दुर्घटना हुदाँ एकजनाको मृत्यु, तीनजना घाईते

म्याग्दीको मालिका गाउँपालिका-४, चिउरीबोट जादै गरेको बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सुङ्ग्रे पानिबाट चिउरीबोट तर्फ जादै गरेको ग १ ज ५६१२ नम्वरको बोलेरो जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोट बर्ष ३१ का नगेन्द्र रसाईलीको घटनास्थलमा नै मृत्यु भएको हो।

चालक सहित जम्मा ५ जना सवार रहेको बोलेरोमा ओखरबोटका ३३ बर्षिय शेर बहादुर बिक, चिउरीबोटका ३१ बर्षिय नगेन्द्र गोतामे र २२ बषि भिमप्रसाद गोतामेको जनाको दरबाङ आधारभुत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख भरत श्रेष्ठले बताउनुभयो । जीपमा सवार एक यात्रु सामान्य अवस्थामा छन् ।

घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।घाइतेको अवस्था सामान्य रहेको जनाएको छ । चालकले नियन्त्रण गुमाएपछि सडकदेखि तल झरेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दरबाङको टोली पुग्दै छ ।

 

जापानबाट नेपालमा जीवन बिमा गर्न सकिने, टोकियो, नागोया र ओसाकामा विशेष सेमिनार हुँदै

जापानमा रहेका नेपाली समुदायलाई थोरै बचतबाट पनि भविष्यमा ठूलो आर्थिक सुरक्षा प्रदान हुनेगरि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जापानभर सेवा उपलब्ध गराउने भएको छ । यसको लागि टोकियोमा रहेको जी एण्ड के कम्पनीले जापानवासी नेपालीहरुलाई सेवा उपलब्ध गराउन सहकार्य गर्न लागेको जानकारी गराएको छ ।

नेपालमा जीवन बीमाका क्षेत्रमा लोकप्रिय रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जापानमा अध्ययन, रोजगार तथा व्यवसायरत नेपालीहरुको स्वास्थ्य, दुर्घटना, बाल हेरचाह सहित भविष्यमा एकमुष्ट बचत प्राप्त गर्दै सुरक्षित भविष्यको लागि बीमा सेवा उपलब्ध गराउन लागेको जि एण्ड के कम्पनीका प्रमुख ददिवल खड्काले जानकारी दिनुभयो ।

जापानमा दुःखले कमाएको रकमबाट मासिक वा बार्षिक रुपमा थोरै मात्र बचत गरेर पनि भविष्यमा आकस्मिक अवस्थामा ठूलो सहयोग प्राप्त गर्न सकिने योजनाहरु सहित रिलायबल लाइफ इन्स्योरेन्सले जापानमा सेवा थालनी गर्न लागेको खड्काले बताउनुभयो ।

नेपालमा लाईफ इन्स्योरेन्स गर्न जापानबाट गएकै समयमा गर्नुपर्ने बाध्यता, छोटो समयको बिदामा खर्चनुपर्ने समयको चटारो लगायतले चाहेर पनि जीवन बिमा गर्न नसकिरहेकाहरुलाई मध्यनजर गर्दै जापानबाट नै नेपालमा लोकप्रिय रहेको लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बिमाको सूविधा लिन पाउने भएपछि जापानका नेपालीहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सका बीमा योजनाले विशेष गरी जापानमा कार्यरत नेपालीहरू, जापानमा भर्खरै जन्मेका बालबालिका तथा नेपालमा रहेका बालबालिका र युवा पुस्ताको भविष्यको आर्थिक पक्षलाई सुनिश्चित गराउनेगरि विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गर्ने तयारी गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ‘रिलायबल समुन्नति जीवन बीमा योजना’, रिलायबल सावधिक जीवन बीमा योजना, लघु सावधिक जीवन बीमा योजना, रिलायबल सजिलो जीवन बीमा योजना (एकल तथा सिमित अवधि भुक्तानी), रिलायबल सुलभ जीवन बीमा, रिलायबल उच्च शिक्षा योजना (बाल बच्चाको सावाधिक बीमालेख), सावधिक तथा आजीवन बीमा योजना, रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना लगायत ल्याएको छ ।

जीवन बिमा गराउँदा आकस्मिक रुपमा हुने स्वास्थ्य समस्यामा आर्थिक सहयोग, दुर्घटना वा अन्य आपत्कालीन अवस्थाहरूमा आर्थिक सुरक्षाको ग्यारेन्टी दिनेछ भने दीर्घकालीन योजनाहरूबाट बालबालिकाहरुलाई युवा अवस्थामा पुगेपछि र युवाहरुलाई बुढेसकालको सुरक्षित जीवनयापनका लागि समेत आर्थिक सहयोग पुग्नेछ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेवा औपचारिक रूपमा यही मार्च २९ तारिख शनिबारका दिन टोकियोमा एक विशेष कार्यक्रम मार्फत सुचारु गरिने भएको छ ।

कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका अगुवा, व्यावसायिक प्रतिनिधिहरू, बीमा क्षेत्रका नेपालबाट आउनुहुने विज्ञहरू लगायतको उपस्थिति रहने छ । टोकियो, खानागावा, नागोया र ओसाकामा कार्यक्रम हुँदै रिलायबल नेपाल लाइफ इन्स्युरेन्सले आफ्ना सेवाहरु जापानभर विस्तारका लागि टोकियो सहितका मूख्य शहरहरुमा कार्यक्रम गर्ने भएको छ । हालका लागि मार्च २९ तारिख टोकियो शिन ओकुबोमा रहेको बारकाडे रेष्टुरेण्टमा पहिलो औपचारिक कार्यक्रम सहित रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सको सेवा थालनीको घोषणा गरिने छ । कार्यक्रम साँझ ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

यसैगरि मार्च ३० तारिख हिगासी खानागावामा रहेको कोशेली रेष्टुरेण्टको सभाहलमा साँझ ५ बजेबाट कार्यक्रम सुरु हुनेछ । ओसाकामा मार्च ४ तारिख लाइफ ईन्स्योरेन्सको सेमिनार आयोजना हुने भएको छ ।

यसैगरि मार्च ५ तारिख नागोया शहरमा रहेको दियालो रेष्टुरेण्टमा साँझ ४ बजे जापानबाटै जीवन बिमा गर्न सकिने सेवाको थालनीबारे जानकारी दिन विशेष कार्यक्रम आयोजना हुनेछ । आयोजकले सबै कार्यक्रमहरुमा जीवन बिमा बारेमा चासो राख्ने तथा जीवन बिमा गराउन ईच्छुक व्यक्तिहरु उपस्थित हुनसक्ने वा तलको ठेगानामा सम्पर्क गरि सेवा लिन सक्ने जानकारी गराएको छ 小野ビル 202 Hyakuninchō1 Chome, 1 Chome-15-4 Hyakunincho, Shinjuku City, Tokyo 169-0073 03-6770-3783

म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी

म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ ।  नेविसंघका चोखाल क्षेत्री २८८ मत सहित विजयी हुनुभएको हो ।

अखिल क्रान्तिकारीका सन्दिप खत्रीले एक सय ६६,अनेरास्ववियुका दिनेश खत्री (सुजन)ले १९२ र अखिल नेपाल समाजवादीकी मनिषा दर्जीले ५ मत प्राप्त गर्नुभएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल क्षेत्री २८३ मत सहित विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारी २५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा प्रतक्षतर्फ नेविसंघका विशाल विक (२६४) ,ढकबहादुर भण्डारी (२८१) ,सम्पुर्ण जिसी (२५१) ,अनुपम क्षेष्ठ (२८९) विजयी हुनुभएको छ भने अनेरास्ववियुबाट अविजित शाही (२५८४ ) विजयी हुनुभएको छ ।

समानुपातिक र प्रतक्षतर्फ गरी नेविसंघले ७ , अनेरास्ववियुले ४ र अखिल क्रान्तिकारीले एक सदस्य जितेको छ । कुल मतदाता ८२४ मध्ये ६८६ मत खसेको थियो । समानुपातिक तर्फ अनेरास्ववियुले २७७ , नेविसंघले २४४ , अखिल क्रान्तिकारीले एक सय ४२ , अखिल समाजवादीले दश मत प्राप्त गरेका छन् । म्याग्दी क्याम्पस स्ववियु सभापतिमा नेविसंघले दोस्रो पटक जितेको हो । यस अघि २०६० साल फागुन १४ मा प्रेम सिकेले सभापति जित्नुभएको थियो ।

धौलागिरी क्याम्पसले पायो स्ववियुमा महिला सभापति

साविक धौलागिरीभित्रको एक मात्रै आंज्ञिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अनेरास्ववियुकी आस्मीन शेख सभापतिमा बिजयी भएकी छन ।

अखिल संयुक्त प्यानलको तर्फबाट सभापतिमा उम्मेदवार बनेकी शेख नेविसंघकी सृष्टि आचार्यलाई ६१ मतले पराजित गर्दै विजयी भएकी हुन् । शेखले ५५२ मत प्राप्त गरिन् भने आचार्यले ४९१ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार दिपक सुवेदीले ७ मत प्राप्त गरे । उनले आफ्नो उम्मेदवारी फिर्ता गरेर आचार्यलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

उनको जीतसंगै धवलागिरी क्याम्पसको स्ववियुले पहिलो महिला सभापति पाएको छ । उनले महिला सभापतिसहित नयाँ इतिहास रचेकी छिन् । स्नाकोत्तर अध्ययनरत शेख ‘हामी इतिहास पढने मात्र होइन, इतिहास बनाउने मान्छे पनि हो’ भन्ने नारासहित चुनावी मैदान थिइन् ।स्ववियुको सचिव र कोषाध्यक्षमा नेवि संघका सचिन हरिजन ५३४ मत र विशाल थापा ६५४ मत प्राप्त गरी विजयी भएका छन् । अखिल संयुक्त प्यानलका उम्मेदवार रुद्र वहादुर पुनले ५०९ र रेशा शर्माले ३८४ मत प्राप्त गरे ।

सदस्यहरुमा अखिल संयुक्त प्यानलको तर्फबाट विकल्प घर्ति मगर मात्रै विजयी भएका छन् । उनले ५६४ मत प्राप्त गरे । अन्य सवै सदस्यहरुमा नेवि संघका उम्मेदवार विजयी भए । नेवि संघका प्रशान्त सुवेदीले ६१२, दीपसागर सुवेदील्े ६११, सुदिप घर्तिले ५५८, सृष्टि घर्तिले ५४३, सुवासवावु घर्तिले ५२२, सेमन्त शर्माले ५१८ र शुभम राजभण्डारीले ४९६ मत प्राप्त गरी विजयी भएका छन् ।
हेर्नुहोस उम्मेदवारले प्राप्त गरेको पूर्ण मत विवरण:

क्षतिपूर्ति दिने सहमतिमा घिमिरेको अन्तेष्टी गरियो

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा दुर्घटनामा परी ज्यान गुमाउनुभएका बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेलाई बिमा सुविधा बाहेक पनि क्षतिपूर्ति दिने सहमतिपछि तालाबन्दी खुलेको छ ।

मंगलबार सर्वदलिय तथा सर्वपक्षीय भेलामा रााहुघाट जलविद्युत आयोजना र ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले मृतकका छोराछोरी र परिवारका लागि विमा बाहेकको सुविधाका लागि निर्णय गरी पठाउने निर्णय गरिएको थियो।

मृतक घिमिरेका आफन्त र गाउँले आन्दोलित भएसँगै सन्तानको शिक्षादीक्षा सहितका कार्यका लागि थप ५० लाख माग गरिएकोमा राहुघाट र ठेकेदार कम्पनीले सकारात्मक बचत दिएपछि पोस्टमार्टम र अन्तेष्टी गरिएको वडा अध्यक्ष यामबहादुर कार्कीको भनाई छ ।

‘सहमति पालनामा आनाकानी गरे आन्दोलित हुने चेतावनी दिएका छौ, सर्वपक्षीय भेलाको निर्णय भएकाले कायान्ययन हुने छ, हामीले निरन्तर दबाब दिइरहन्छौ’ वडा अध्यक्ष कार्कीले भन्नुभयो । मृतकका परिवारलाई सहमति हुने गरी ठेकेदार कम्पनी र आयोजना अगाडी नबढेसम्म शव आफन्तले बुझ्न मानेका थिएनन् ।

रघुगङ्गा गाउँपालिका–४ बुक्ल स्थित राहुघाट जलविद्युत आयोजनाको अडिट नं. २ मा फागुन २९ गते ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को डिपी टु ए ७०८३ नम्बरको मिस्कर दुर्घटनामा ज्यान गएको थियो । मिस्कर दुर्घटनामा घिमिरे सडकबाट ८० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीयले विभिन्न चरणमा छलफल गर्दा समेत निर्माण कम्पनी र आयोजनाले बेवास्ता गरेकाले पिप्ले स्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा सोमबार लगाइएको ताला मंगलबार खोलिएको पूर्व वडा अधयक्ष हिराबहादुर थापाले बताउनुभयो ।

म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा बर्षेनी मजदुरले दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । राहुघाट जलविद्युत आयोजनामा पछिल्लो ३ महिनामा भारतीय सहित ४ जनाले ज्यान गुमाएका छन् ।

म्याग्दीमा सूचना तथा प्रसारण विभागको पहिलो घुम्ती शिविर, तीन जिल्लाकाले लिए सेवा

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागको आयोजनामा म्याग्दीमा सञ्चालित घुम्ती शिविरबाट पत्रकार लाभान्वित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालित तीन दिनको तालिम तथा घुम्ती शिविरबाट मोफसलका पत्रकारहरु लाभान्वित भएका हुन् ।

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धी घुम्ती शिविरमा विभिन्न १६ जना पत्रकारहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्नुका साथै तीनवटा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता गरिएको पत्रकार महासंघ म्याग्दीले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन भएको तालिम र घुम्ती शिविरबाट म्याग्दीसहित विभिन्न जिल्लाका पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र जारी, अनलाइन दर्ता र नवीकरण गरिएको शाखा अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

घुम्ती शिविरमा म्याग्दीसहित पर्वत र बागलुङ जिल्लामा क्रियाशील पत्रकारहरुले सेवा लिएका थिए । तीन दिनसम्म सञ्चालित कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले तालिमबाट पत्रकारहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सूचना विभागद्वारा सञ्चालित तालिम तथा घुम्ती शिविर सञ्चालनमा पत्रकार महासंघ म्याग्दी शाखाले महत्वपूर्ण सहयोग पु¥याएकोमा आभार प्रकट गर्दै तालिमबाट सिकेका ज्ञान, सिपलाई कार्य क्षेत्रमा लागू गर्न सुझाव दिनुभयो । पत्रकार तथा सञ्चारकर्मीले आफ्नो क्षमता वृद्धि गरेर जिम्मेवारी पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालको पत्रपत्रिका सम्परिक्षण वितरण समितिका सदस्य एवं पर्वतका उद्यमी हरिओम शर्मा लामिछानेले नागरिक तथा आम पाठकवर्गले पत्रकारले कस्तो समाचार लेख्छन् भनेर मूल्याङ्कन गर्ने भएकाले समाजलाई सुसूचित गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

तालिमको समापन गर्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जिल्लामा क्रियाशील पत्रकारहरुको क्षमता वृद्धि गर्न तथा जिल्लामै प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध, नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ताको सुविधा उपलब्ध गराउन सूचना विभागसँगको समन्वयमा शिविर ल्याइएको बताउनुभयो ।

तीन दिनसम्म चलेको तालिममा प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले पत्रकारितासँग सम्बन्धित विभिन्न विषयहरुमा पत्रकारहरुलाई सहजीकरण गर्नुभएको थियो । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको पेशागत क्षमता वृद्धि र जिल्लामा प्रेस पास वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताका लागि शिविर सञ्चालन गरिएको थियो । कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्याय, जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको विशेष उपस्थिति रहेको थियो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवं तालिम संयोजक अमित विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागीद्वय शिव बोहोरा र सुनिता किसानले अनुभव सुनाउनुभएको थियो । गएको आइतबारदेखि सुरु भई मङ्गलवार सम्पन्न तालिम तथा शिविरमा म्याग्दीबाट स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरुमा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार र सञ्चारकर्मीले सहभागिता जनाएका थिए ।

वार्षिक पुण्यतिथिमा विद्यालय र संस्थालाई सहयोग

म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा अवस्थित श्री राष्ट्रिय माविको कक्षा ११ र १२ सञ्चालनका लागि आर्थिक सहयोग गरिएको छ। वार्षिक पुण्यतिथिको अवसरमा मालिका गापा-२ रुम बेली गाउँका स्वर्गीय शिवलाल पुनको परिवारले विद्यालयलाई ५१ हजार सहयोग गरेको हो ।

स्वर्गीय शिवलालका छोरा लाल पुन, बुहारी भिमसरा पुन सहित परिवारका सदस्यले विद्यालयका प्रधानाध्यापक प्रेम घर्ती र विब्यस अध्यक्ष खिम रसाइलीलाई हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा विद्यालयका प्रअ घर्तीले गाउँमा उच्च शिक्षाको वातावरणले पढाइ छोडेकालाई सहज भएको बताउँदै कक्षा सञ्चालनका लागि प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।

यसैबीच स्वर्गीय शिवलालकी नातिनी एवम् नेपाल मगर संघ शाखा इजरायलकी संस्थापक उपाध्यक्ष तथा निर्वतमान संरक्षक विष्णु पुन मगरले सामाजिक दायित्व सहित मगर उत्थानका लागि नेपाल मगर संघ इजरायलको अभियानलाई ३० हजार १५० रुपैयाँ सहयोग गर्नुभएको छ । स्वर्गीय शिवलालले गाउँमा विद्यालयलाई जग्गा सहित विभिन्न सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा सहयोग गदैं आउनुभएको थियो ।