Saturday, May 31, 2025
19.9 C
Beni
19.9 C
Beni
Saturday, May 31, 2025
Home Blog Page 55

शान्ति पार्क बनाउने अभियान अलपत्र

म्याग्दीको सदरमुकाम बेनीबजारमा शान्ति पार्क बनाउने अभियान अलपत्र परेको छ । एकबर्ष अगाडी जिल्ला समन्वय समितिका बसेको सर्वदलिय,सर्वपक्षीय भेलाबाट डिभिजन बन कार्यालयसँगै जोडिएको सार्वजनिक र बराहपाखो सामुदायिक बनको जमिनलाई पार्कका रुपमा विकास गरी आर्कषक संरचना बनाउने निर्णय भएको थियो ।

तत्कालिन राज्य र विद्रोही पक्षको भीडन्त भएको २०६० साल चैत्र ७ गते सहित यूद्धमा प्रयोग गरिएका हतियार सहितका साम्रागीहरुलाई समेत प्रर्दशनी गरी पर्यटकलाई आर्कषित गर्ने शान्ति पार्कको योजना माईन्युटमै सिमित भएको भन्दै स्थानीयबासीले चासो देखाएका छन् ।

शान्ति पार्क बनाउने स्थान पर्ने बिरेन्द्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बिरेन्द्रचोकबासीले पार्क बनाउन आवश्यक परेमा श्रमदान सहितका कार्यहरुमा समेत सहभागि हुने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नभएको बताउनुभयो ।

जिल्ला समन्वय समिति, बेनी नगरपालिका र वडा नं ७ को कार्यालयले धेरै चासो देखाएपनि डिभिजन बन कार्यालयको असहयोग र प्रक्रियागत अवरोध बाधक बनेको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

सार्वजनिक जग्गाको प्रयोग गरी शान्ति पार्क बनाएर स्वदेशी तथा विदेशी पर्यटक आर्कषित गर्ने स्थानीय सरकारको योजना रहेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । यो करिब १० करोडको प्रारम्भीक लागत अनुमान गरिएको थियो ।

करिब १० रोपनी क्षेत्रफलमा शान्ति पार्क र चिल्ड्रेन पार्क बनाउन जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि,सरोकारवाला निकायले सहमति जनाएपछि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारका लागि प्राविधिकसँग समेत समन्वय भइरहेको थियो ।पार्कलाई अपाङ्मैत्री बनाउने र पैदलमार्गबाट आवतजावत गर्न मिल्ने बनाउने योजनामा रहेपनि जग्गा सहित अन्य कानुनी प्रक्रियामा देखिएको समस्या समाधानका लागि सक्रिय रहेको मेयर केसीले सुरत केसीले बताउनु्भयो ।

पार्कस्थलमा शान्तिको सन्देश दिने संरचनाहरूलाई प्राथमिकता दिएपनि तत्कालिन विद्रोही नेकपा माओवादीले २०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनी आक्रमणमाको क्रममा छियाछिया परेको विद्युत पोललाई समेत राखिने छ । पार्क बनाउन वडाबाट आवश्यक सबै सहयोग गरिने बताउनु्भयो ।

शहरीकरणको चाप र त्यसले दिने तनावबाट मुक्त हुनका लागि शान्ति उद्यान आवश्यक भएको छ । बराहपाखो सामुदायिक बनसँगै जोडिएकाले बिहानदेखि बेलुकासम्म चराचुरुङ्गीको आवाज सुन्न पाइने, घुमफिर गर्नेदेखि फोटो खिच्ने र भिडियो बनाउन समेत मिल्ने भएकाले भविस्यमा सामुदायि बनभित्र समेत असर नगर्ने गरी जंगल सफारीका लागि समेत प्रयोग गर्न सकिन्छ ।

अन्तरजातीय विवाह गर्ने २८ जोडी पाँच हजार नगदसहित सम्मानित

पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ दम्पतीलाई ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार नगदसहित सम्मान गरेको हो।

गाउँपालिकाको केन्द्र लामाखेतमा भएको सम्मान कार्यक्रममा अन्तरजातीय विवाह गरेका प्रत्येक जोडीलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई, जिल्ला समन्वय समिति उपप्रमुख सोमबहादुर जिसी, गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्यले संयुक्त रूपमा जोडीलाई सम्मान गरेका गरेका हुन्।

गाउँपालिका अध्यक्ष आचार्यले जातीय भेदभाव हटाएर समाज परिवर्तनमा अन्तरजातीय विवाह गर्ने व्यक्तिको ठूलो योगदान रहेको बताए। कानुनले जातीय भेदभाव र छुवाछुत निषेध गरे पनि सामाजिक कुरीति कायम रहेकाले यस्ता विवाह गरेर उदाहरण बनेका दम्पतीलाई सम्मान गरिएको उनको भनाइ थियो। गण्डकी प्रदेशसभा सदस्य दमाईले गाउँपालिकाको यो सम्मानले सकारात्मक सन्देश दिएको बताए।

महिलामा फुटसल प्रति बढ्दो आकर्षण

बेनी नगरपालिका वडा नं ८,शिक्षामार्गमा रहेको फुटसलमा मैदानमा मधु रोका साथीहरुसँगै खेल्दै गरेको भेटिनुहुन्छ । रोकासँगै बविता पुर्जा, गंगा पुन, टिका पूर्जा साथीहरुसँग फुर्सदको समय फुटसल खेल्ने गर्नुहुन्छ ।

एक महिना अगाडीदेखि फुटसल सुरु भएपछि उहाँहरु मैदानमा खेलिरहेको भिडियो र तस्वीहरुले महिला फुटसलको क्रेज दिनप्रतिदिन बढ्दो क्रममा रहेको देखाउँछ ।

म्याग्दीमा नै पहिलोपटक बढ्दो फुटसल क्रेजलाई मध्यनजर गरी यूवा ब्यवसायी कुमार बानियाँ, हेमन्त श्रेष्ठ र जेनेस श्रेष्ठले सुरु गरेको फुटसलमा महिलाहरुले टिम नै बनाएर आउनुभएपछि रौनकता थपिएको ब्यवसायी बानियाँको भनाई छ ।

‘शिक्षक, गृहणी सहित विभिन्न पेशामा आवद्ध हुनुहुन्छ, फुटसलले कलिला बालबालिकादेखि पाकालाई समेत आर्कषित गरेको छ’ जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएका बानियाँले भन्नुभयो । महिलाहरुका लागि फुटसल ‘रिफ्रेस सेन्टर’ बनेको छ ।

८० लाखको लगानीमा प्याराफिट सहितको मैदानमा महिलाहरु खेल्दा नियमित खेल्न आउने फुटसल समुहले समेत हुटिङ सहित हौसला दिने गरेका छन् । बागलुङ र पोखरा खेल्न जानुपर्ने बाध्यताको अन्त्य गर्दै सुरु भएको फुटसलमा सार्वजनिक विदाको दिन भ्याइनभ्याई हुन्छ भने अन्य समयमा समेत नियमित समुह आउने गरेका छन् ।

बेनीबजारस्थित हुलाकचोकका मोवाइल ब्यवसायी नरेश श्रेष्ठले साँझपख फुटसल खेल्न जाने गरेको बताउनुभयो । दिनभरी ब्यवसायमा ब्यस्त हुने श्रेष्ठ मासिक शुल्क तिरेर समुह नै बनाएर खेल्न जानुहुन्छ ।

५ ए साइड मापदण्डको फुटसल मैदानमा महिला समुहलाई प्रति घण्टा १ हजार र पुरुषलाई शनिबार बाहेकका दिन १२ सय र अन्य समयमा १५ सय शुल्क निर्धारण गरिएको छ ।

खेलकुदमा आकर्षण बढाउन र बालबालिकालाई सानैदेखि फुटबलमा दक्ष बनाउने उद्देश्यसहित भविष्यमा एकेडेमी तथा प्रोड खेलाडीलाई फुटसल ट्रेनिङ सेन्टर बनाउने लक्ष्यसमेत राखिएको छ ।

डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

जलवायु सङ्कटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष/परोक्ष प्रभाव पर्दै गएको छ । जलवायु परिवर्तनकै कारण मुस्ताङको जनजीवनसमेत निकै प्रभावित भइरहेको छ । असमान मौसम परिवर्तन, प्राकृतिक प्रकोप, अनियमित हिमपात हुने र कुनै वर्ष हिउँ नै पर्न नसक्नेजस्ता प्राकृतिक प्रकोपको समस्या झेल्नुपर्ने अवस्था विद्यमान छ ।

जलवायुकै कारण पछिल्लो समय हिमालहरू कालापत्थरमा रूपान्तरण हुँदै थाले भने हिमनदीको स्रोत पनि सुक्दै जान थालेका छन् । यसरी जलवायु सङ्कटकै कारण हिमाली जिल्ला क्षेत्रको कृषि र पशुपालनलगायत क्षेत्रमा यसको नकारात्मक असरहरू देखिन थालेको छ ।

जलवायु सङ्कटकै यस्तै एउँट पीडा थेगिरहेको छ मुस्ताङको सम्जुङ गाउँ । लोमान्थाङ गाउँपालिका–२ मा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ गाउँ विगत डेढ दशकअघिदेखि मानवविहीन अवस्थामा छ । त्यहाँ १८ घरधुरी थिए । अहिले त्यहाँ पुरानो शैलीका परम्परागत घरहरू जिवितै छन् । सम्जुङमा पूर्ववत् अवस्थामा घरहरू यथास्थितिमा रहे पनि त्यहाँका मानिसहरू त्यहाँबाट विस्थापित भइसकेको पनि करिब डेढ दशक भइसकेको छ । त्यहाँ बर्खायाममा भेडाच्याङ्ग्रा र याकचौँरी चौँरी रेखदेख गर्ने केही घरधुरीका कुरूवा बस्ने गरेको पाइएको छ । त्यसबाहेक लोमान्थाङ–२ को सम्जुङ बस्ती मानवविहीन रित्तो अवस्थामा छ ।

(जोमसोम–कोरला) मुख्य राजमार्ग सडकबाट झण्डै पाँच घण्टा पैदल हिँडेर पुग्न सकिने मुस्ताङको समजुङ गाउँ भौगोलिक रूपमा निकै नै पिछडिएको र विकट स्थानमा अवस्थित छ । त्यहाँ डेढ दशकअघि स्थानीय घरधुरीले कृषि र पशुपालन व्यवसाय गरी बस्ने गर्थे । त्यहाँ कृषि र पशुपालनमा समस्या देखिन थालेपछि त्यहाँका स्थानीय घरधुरीले बस्ती स्थान्तरणको मार्ग रोजे । जलवायु परिवर्तनकै कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि त्यहाँको सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो । यसैका कारण जलवायु अनुकूलका लागि त्यहाँका स्थानीय नागरिकहरू त्यहाँबाट बसाइँसराइ बाटो रोजे ।

निकै अग्लो पठार नाङ्गो डाँडाकाँडाको फेदमा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ बस्तीले जलावायुको सङ्कट थेगिरहँदा त्यहाँका स्थानीय नागरिकलाई दैनिक जीविकोपार्जमा निकै नै ठूलो चुनौतीहरूको सामना गर्न बाध्य भए । यिनै जलवायु सङ्कटले गर्दा सिँचाइ, खानेपानी र चरनक्षेत्र असहज हुँदा बस्ती रित्तिन पुगेको हो ।

 जलवायुपीडित सम्जुङ गाउँ कहाँ सर्‍यो ?

उपल्लो मुस्ताङस्थित लोमान्थाङ–२ को सम्जुङ गाउँ डेढ दशकअघिदेखि सोही वडाको नामासुङ भन्ने स्थानमा स्थान्तरित भएको छ । त्यहाँका कूल १८ घरधुरीका पूरै नागरिक नामासुङमा सरेर नयाँ बस्ती निर्माण भइसकेको छ । राष्ट्रिय गौरवको जोमसोम–कोरला मुख्य सडकमार्गदेखि नजिकै छोसर खोलाको पूर्वतर्फको स्थानमा सम्जुङ बस्ती नामासुङमा स्थान्तरित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर विष्टका नाममा रहेको करिब एक सय रोपनी लालपुर्जावाला बाँझो जग्गा जलवायुले विस्थापित बस्ती सम्जुङ गाउँलाई निःशुल्क दान गरेपछि त्यहाँ नयाँ बस्ती बसेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ । त्यहाँ जलवायुले विस्थापित बस्ती समजुङको प्रत्येक घरधुरीलाई चार चार आना क्षेत्रफलमा टहरा निर्माण गर्ने र बाँकी क्षेत्रफलमा खेती गर्ने सुविधा उपलब्ध भएको अध्यक्ष विष्टले उल्लेख गरे ।

म्याग्दीकी यूवती सहित तीनजना पक्राउ

पोखराको छोरेपाटनबाट म्याग्दीकी एक यूवती सहित तीन जना लागू औषधसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा म्याग्दी स्थाइ घर भएर हाल कास्की पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने वर्ष २६ की एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ्रे गाउँपालिका– ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङ रहेका प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट कालोझोलामा लुकाई छिपाई राखेको लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४० मिलिग्राम, लागू औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाइजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुलगरी जम्मा ४२९ एम्पुल र मोबाइल चार थान बरामद गरिएको छ।

पोखरा– १७ छोरेपाटन स्थितमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो। पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

लभ्लीहिलमा घुम्न गएकाले गरेको फोहोर अनेरास्ववियु म्याग्दीले संकलन गर्यो

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीले बेनी नगरपालिका–२ स्थित लभ्लीहिल क्षेत्रमा घुम्न गएकाहरुले गरेको फोहोर सरसफाई गरेका छन् ।

घुम्न गएकाहरुले जथाभावी गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायत आसपासका क्षेत्रमा मदिराका बोतल, बिस्कुट, चाउचाउ, चकलेट, मिनरल वाटर, पेयपदार्थका बोतल फाल्दा कुरुप बनेको अवस्थामा अनेरास्ववियु म्याग्दीका अध्यक्ष खुमबहादुर किसानको नेतृत्वमा म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र यूनियनका सचिव मन्जुर कटुवाल क्षत्री, कोषाध्यक्ष अस्मिता भण्डारी सहितको टोलीले फोहोर संकलन गरी ब्यवस्थापन गरेको हो ।

“स्वच्छ वातावरण, स्वस्थ जीवन“ भन्ने नारासहित आयोजित सरसफाई कार्यक्रममा अनेरास्ववियुले नियमित गर्ने भएपनि घुम्न गएकालाई सभ्यता र सरसफाईको परिचय दिन समेत अनुरोध गरेका छन् । कार्यक्रमका संयोजकले वातावरण संरक्षणका लागि सबैको साझा दायित्व रहेको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सरसफाई अभियानमा संकलित फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो। पर्यटकीय आकर्षणको गन्तव्य बनेको लभ्लीहिलमा पुगेपछि संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण हिमालको समेत चुचुरो देख्न सकिन्छ । लभ्लीहिलबाट म्याग्दी सदरमुकाम बेनीबजार, गलेश्वर क्षेत्र, पौलस्त्य पुलहाश्रम, केभहिल, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्रहरु देखिन्छन् ।यस्तै म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ ।

कालीगण्डकी कोरिडोरः नौ किलोमिटर कालोपत्र

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी–घाँसा खण्ड कालोपत्र भएको छ।आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ।

अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका–२ तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको छ,’ उनले भने। विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ।

३० दिनभित्र फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता

सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्मले अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न सचेत गराएको हो । तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकामा सामाजिक सञ्जाल कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । साथै यस्ता कम्पनीले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म भाइबर, टिकटक र विटोक मात्रै मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेका छन् ।

आज विश्व कविता दिवस

आज पाँच अन्तर्राष्ट्रिय दिवस परेका छन्। संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन्।

आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस अन्तर्राष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तर्राष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका हुन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस, इरान, मध्य एसियाली देशमा वसन्त ऋतुको आगमन वा नयाँ दिनको प्रारम्भका रूपमा नौरोज दिवस मनाइन्छ। यो सांस्कृतिक पर्वले ती क्षेत्रका बहुसांस्कृतिक जाति र समुदायलाई एकताको सूत्रमा आबद्ध गर्दै आएको छ।डाउन सिन्ड्रोम एक मानव स्वास्थ्य समस्या हो। यसबाट विश्वका सबै क्षेत्र केहीहदसम्म प्रभावित छन्। रासस

मङ्गला गाउँपालिमा ६ गौरवका योजना

मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो ।

गाउँपालिकाले सङ्घीय समपूरक योजनाअन्तर्गत सबैभन्दा ठूलो योजनाका रूपमा रु चार करोड ४० लाख बजेटको सिम-कोत्रबाङ-खुम्ल्याह-पैयुपाटा-कुहुँ-पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति योजना तथा रु तीन करोड ४० लाखको पुलचोक-पिपलबोट-पाँखु-धारा-सिरकुम-टिकाबाङ मोटरबाटो स्तरोन्नति योजना सञ्चालन गरेको छ ।

प्रदेश समपूरक योजनाबाट गण्डकी प्रदेश सरकारको रु ६० र गाउँपालिकाको रु ४० लाख बजेट रहेको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला– मोटरबाटो स्तरोन्नति योजनामा धमाधम निर्माणकार्य भइरहेको छभने प्रदेश विशेष अनुदानअन्तर्गत महेन्द्ररत्न मावि बरङ्जाको छात्राबास भवन क्रमागत योजनाका लागि प्राप्त रु ४३ लाख बजेटको काम सम्पन्न भएको छ ।

यसैगरी, सङ्घीय विशेष अनुदानअन्तर्गत रु दुई करोड ६५ लाख बजेटबाट मङ्गला शिक्षा क्याम्पसमा छात्राबास भवन बनाउने योजना पनि अघि बढाएको छ । सङ्घीय सशर्त योजनाअन्तर्गत रु ८० लाख बजेट रहेको मङ्गला-५ को डिही कीरियापुत्री भवन निर्माण योजना ठेक्का मूल्याङ्कनको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए ।

“सङ्घ र प्रदेशबाट प्राप्त योजना साझेदारीमा सञ्चालन हुने र गाउँपालिकाको समेत ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वनय गर्न सुरु गरेका छौँ, कतिपय योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ, निर्माणकार्यलाई गुणस्तरीय बनाउन पालिकाबाट निरन्तर अनुगमन भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत शर्माले भने ।

सिम–कोत्रबाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति गर्ने सङ्घीय समपूरक बजेटअन्तर्गत सङ्घीय सरकार र गाउँपालिकाको ५०–५० प्रतिशत लागत साझेदारी रहेको यस योजनाका लागि त्रिशक्ति कन्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिले रु तीन करोड १३ लाख ६८ हजार एक सय ४९ मा ठेकका सम्झौता गरेर कार्यक्षेत्रमा परिचालन भएको छ ।

आगामी असार १० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण व्यवसायी कार्यक्षेत्रमा परिचालन भएका गाउँपालिकाले जनाएको छ । सिमचोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति गर्न थालिएको यस योजनामा यस वर्ष तीन सय ५० मिटर सडक ढलान हुनेछ । सिमचोक, पातलको उकालो, कुहुँ र पूर्णगाउँ क्षेत्रमा सडकमा ग्यावियन जाली लगाउने, मेसिनरी पर्खाल निर्माण गर्ने र सडक सुरक्षाका काम गरेर स्तरोन्नति गरिने गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले जानकारी दिए ।

यसअघि गत वर्ष कोत्रबाङ बस्ती क्षेत्रमा छ सय ६० मिटर सडक कालोपत्र गरिसकिएको छभने दुई सय ५० मिटर सडक ढलान गरिएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरबाट वडा नं २ को हिदी जोड्ने बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला हिदी सडकको भाइबा¬ङ्गखोला काफलचौर खण्डमा सडक ढलान गर्न थालिएको छ ।

कुल रु एक करोड बजेट विनियोजन भएको यस योजनामा ठेक्कामार्फत रु ९४ लाखमा ठेक्का लिएको मङ्गला कन्स्ट्रक्सन प्रालिले सडक ढलानको कामलाई तीव्र बनाएको छ । एक महिनादेखि कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले ग्यावियन जाली, मेसिनरी पर्खाल र प्लम पर्खाल लगाएर सडक ढलानको काम अघि बढाएको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर आचार्यले जानकारी दिए । उनका अनुसार यस सडकखण्डमा छ मिटर फराकिलो र एक सय १० मिटर सडकलाई यस वर्ष ढलान गरिनेछ ।

यस सडकखण्डमा यसअघि दुई सय ६० मिटर सडकलाई ढलान गरिसकिएको छ । पुलचोक–पिपलबोट–पाँखु–धारा–शिरकुम–टिकाबाङ मोटरबाटो स्तरोन्नति योजनामा ठेक्का लिएको डिभाइनलाइट आचार्य मङ्गला जेभीले ५० प्रतिशत निर्माण सकेको छ ।

पिपलबोट क्षेत्रमा सडक फराकिलो बनाएर ग्यावियन जाली, प्लम पर्खाल, मेसिनरी पर्खाल लगाएर सडक ग्राभेलसहित स्तरोन्नति गर्ने र मुहानेको उकालोमा दुई सय मिटर सडक ढलान गरिने गाउँपालिकाका सबइन्जिनियर रुचेन्द्र अधिकारीले जानकारी दिनुभयो । यस खण्डमा गत वर्ष हाँडेभिर नजिकको सडकमा ग्राभेल गरिएको थियो ।

मङ्गला शिक्षा क्याम्पसको छात्राबास भवनको ठेक्का लिएको आचार्य मङ्गला जेभीले गत वर्ष निर्माण सुरु भएको भवनलाई पूर्णता दिने र नयाँ एकतले भवन बनाउने कामलाई तीव्रता दिएको छ । यस योजनाबाट छात्राबास भवन क्षेत्रलाई मेसिनरी पर्खाल निर्माण गरेर घेराबार गर्ने योजना छ ।

गाउँपालिकाले यस वर्ष कुल एक सय १६ वटा पूर्वाधार निर्माणका योजना कार्यान्वनयमा ल्याएकामा अहिलेसम्म ७१ वटाको सम्झौता भएको र ४५ वटा सम्झौताको चरणमा रहेको प्रशासकीय अधिकृत सुदर्शन पौडेलले जानकारी दिए । “ठेक्का र उपभोक्ता समितिबाट कार्यान्वयन हुनेमध्ये सम्झौता भएका योजनामा धमाधम काम भइरहेको छ, बाँकी रहेका योजनाको लागत स्टिमेट तयार गर्ने काम भइरहेको छ”, उनले भने । गाउँपालिकाले पूर्वाधार निर्माणतर्फ सडक, खानेपानी, सिँचाइ, पदमार्ग, भवन, निर्माणलगायत योजना छनोट गरेको छ ।