Thursday, June 26, 2025
22.2 C
Beni
22.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 61

बुद्ध शिक्षा पढ्न भारतबाट मुस्ताङ

भारतको अरुणाञ्चल प्रदेशका तेन्जिङ मोन्पा मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे झिलिङ्घमा अवस्थित नालन्दा बौद्ध विद्यालयमा कक्षा ५ मा पढ्नुहुन्छ । आमाको काख छोडेपछि बौद्ध शिक्षाका लागि पश्चिम बङ्गालको दार्जिलिङबाट आउनु्भएका पेमा शेर्पा कक्षा ७ मा अध्ययरत हुनुहुन्छ । नेपाली भाषीको बसोबास रहेकाले दार्जिलिङबाट आएका विद्यार्थीलाई मुस्ताङीसँग घुलमिल हुन निकै सहज भएको छ ।

नालन्दा बौद्ध विद्यालयमा भारतका विभिन्न राज्यबाट नौ जना विद्यार्थी अध्ययनरत छन् भने मुस्ताङ जिल्लाबाहिरका करिब ५० जनाभन्दा बढी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताउनुभयो । प्रअ तुलाचन भन्नुहुन्छ, “भारतबाट हरेक वर्ष विद्यार्थी आउँछन्, जिल्लाबाहिरबाट आउने विद्यार्थीको आकर्षण राम्रो छ ।” विद्यालयमा मुस्ताङबाहेक म्याग्दी, बागलुङ, कास्कीसहित देशका विभिन्न जिल्लाबाट २५ भन्दा बढी विद्यार्थी निःशुल्क अध्ययनरत छन् । विद्यालयले नेपालको पाठ्यक्रम अनुसारका विषयमा आधारित पढाइ सञ्चालन गरेकाले आर्थिक अवस्था कमजोर भएका, अभिभावकविहीन बालबालिकालाई छात्रावासमै सबै राखेर पढाउने गरिएको प्रअ तुलाचनको भनाइ छ ।

बौद्ध शिक्षाबाहेक नेपाली पाठ्यपुस्तकमा आधारित माध्यमिक तहसम्मको पढाइपछि विद्यार्थीको चाहना अनुसार थप सहयोगसमेत गरिने प्रअ तुलाचन बताउनुहुन्छ । भारतको बौद्ध धर्मावलम्बीको बसोबास रहेको सिक्किम, दार्जिलिङ, अरुणाञ्चल प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीले चासो देखाएकाले आगामी शैक्षिक सत्रमा विद्यार्थीको सङ्ख्या थपिने नालन्दा बौद्ध विद्यालयले जनाएको छ । यस विद्यालयबाट माध्यमिक तहको परीक्षामा समेत समग्र जिल्लाको नतिजा उत्कृष्ट रहेको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले उच्च शिक्षामा आफूलाई सहज हुने विषयलाई निरन्तरता दिन सकिने प्रअ तुलाचनको भनाइ छ । यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १४ जना विद्यार्थी सहभागी भएका थिए ।

विसं २०६७ मा पद्मसम्भव च्यारिटी फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा अहिले कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित २४० विद्यार्थी अध्ययनरत छन् । यसैबिच मुस्ताङका अन्य पालिकामा रहेका बौद्ध विद्यालयमा विदेशी विद्यार्थी आउने गरेका छन् । सुविधायुक्त पठनपाठन हुने भएकाले जिल्लाबाहिरबाट आएका विद्यार्थी एसइई दिएपछि मात्रै विद्यालयबाट बिदा हुने गरेका छन् ।

झुण्डिएको अवस्थामा मृत फेला परे वडाध्यक्ष

बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए । रासस

बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी-अर्थुङ्गे-तोरीपानी–पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ ।

सङ्घीय सरकारको एक करोड ५० लाख समपूरक अनुदान र बेनी नगरपालिकाको एक करोड ५० लाख बजेट विनियोजनमार्फत उक्त सडक बेनी–५, ६, ९, १० र रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडा केन्द्रित हुनेगरी प्राथमिकतामा परेको आयोजना हो ।

बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्य वृद्धि, सामाजिकलगायत समस्या देखाएर कतिपय आयोजनाका काममा ढिलासुस्ती भइरहेको अवस्थामा बेनी– अर्थुङ्गे–तोरीपानी खण्डमा निर्माण कम्पनीले छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेकामा तीन महिनामा सम्पन्न भएको जनाएको छ ।

गत पुस १९ गते दुई करोड नौ लाखमा विकेश–दुप्चेश्वर–सुभम् जेभीले ठेक्का सम्झौता गरेको आयोजना आगामी असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी नगरपालिकाको अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, प्राविधिक, कर्मचारी सहभागी टोलीले मङ्गलबार आयोजनाको अनुगमन गरेको थियो ।

“निर्माण कम्पनीले सम्झौता अनुसार परिणाममा सडक स्तरोन्नतिका लागि संरचना निर्माण गरेको छ”, उपप्रमुख लामिछानेले भनिन्, “सडक र नालीमा ढलान उपकरणको सहायताले गरिएको हो । यसको नमुना परिक्षण गर्दा गुणस्तरीय सामग्रीको प्रयोग गरेर काम भएको पाएका छौँ ।” पहिलो चरणको ठेक्काबाट बचेको रु २० लाखरकम बराबरको थप काम गर्न हालै ठेक्का आह्वान गरिएको नगर उपप्रमुख लामिछानेले जानकारी दिइन् ।

उक्त आयोजनामार्फत बेनी–पाखापानी सडकको प्रवेशबिन्दु, रातोपहिरो, गिठिनी र बेनी नगरपालिका–९ र १० को सिमाना पात्लेखेतमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल र नाली निर्माण गरेर ढलान लगाउनेलगायत काम भएको नगरपालिकाका इञ्जिनियर सुदिप गौतमले जानकारी दिए । उनका अनुसार ढलान, नाली, ग्याबियन जाली भर्ने, पलम र मेसिनरी पर्खाल निर्माण भएपछि सडक यात्रा सहज र सुरक्षित भएको छ ।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौता लगत्तै पर्याप्त मजदुर परिचालन गर्नुका साथै आवश्यकता अनुसार उपकरण र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघि काम सम्पन्न गरेको इञ्जिनियर गौतमले उल्लेख गर्नुभयो । तत्कालीन जिल्ला विकास समितिले विसं २०५६ मा ट्रयाक खोलेको यो सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ ।

किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किमी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरिरहेको छ ।

नेप्टेचौरको वडा कार्यालयबाट गिठिनी हुँदै पात्लेखेततर्फको बेनी पाखापानी सडकको वैकल्पिक खण्डमा बेनी नगरपालिकाले स्तरोन्नति गर्न थालेको नगरप्रमुख सुरत केसीले जानकारी दिए । उनले जिल्लाको प्राथमिकतामा परेको बेनी–पाखापानी सडक आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजीकरण र समन्वय गरिएको बताए । रासस

म्याग्दीको अन्नपूर्ण हिमालमा एकै दिन चुचुरोमा पुगे ३२ आरोही

म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालू वसन्त यामको आरोहण शुरू भएको छ ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण शुरू भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण संघले जनाएको छ ।

संघका महासचिव मोहन लम्सालका अनुसार सेभेन समिट ट्रयाकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसनबाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुई जनाले अन्नपूर्णको सफल आरोहण गरेका छन् ।अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए ।

आरोहण टोलीका दुई जना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन् भने अरू सकुशल आधार शिविर फर्किएका छन् ।क्याम्प दुई र तीनको बीचमा हिउँपहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।

आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबूक’मा लेखेका छन् । ‘सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैं आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।’

वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूले भरिएको छ ।

अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।​​​

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

सेतढुङ्गा र छापाका यूवालाई १५ दिने भलिबल प्रशिक्षण

भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बेनी नगरपालिकाका दुई वडामा आधारभूत भलिबल खेल प्रशिक्षण सञ्चालिन गरिएको छ । बेनपा-५ सेतढुङ्गास्थित सेतढुङ्गा यूवा क्लवको आयोजनामा १५ दिने आधारभूत तालिम सञ्चालन गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका सचिव एवम् जिल्ला भलिबल संघ म्याग्दीका सचिव कुमार किसानले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै बेनपा-६, छापास्थित छापा यूवा क्लवद्धारा गाउँमा रहेका यूवाहरुलाई भलिबलमार्फत खेल पहिचान बनाउन १५ दिने भलिबल तालिम प्रदान गरिएको थियो।

नयाँ बर्ष बैशाख १ गते देखि आयोजना हुन लागेको छाप भलिबलको अवसरमा आयोजित तालिममा भलिबल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदको विकासमा लगाउने उद्देश्यका साथ आयोजित प्रशिक्षणमा दुबै वडामा ४० युवाको सहभागिता थियो।

प्रशिक्षणमा सहभागी खेलाडीलाई प्रशिक्षक किसानले शारीरिक व्यायाम, भलिबलका आधारभूत सिपहरु, फिङगर, डिक, डिफेन्स, ब्लक, सेटिङ्क, स्पाइकर, ग्रीप, जस्ता अभ्यास गराउनुभएको छापा यूवा क्लवको अध्यक्ष पुस्कल केसीले बताउनुभयो ।

गाउँघरमा आफ्नै तरिकाले भलिबल खेल्ने खेलाडीलाई प्रशिक्षक किसानले खेलको मापदण्ड, शैली मात्रै सिकाएनन, व्यवसायीक खेलाडीलाई आवश्यक पर्ने सीप समेत हस्तान्तरण गर्नुभएको थियो । वडास्तरमै खेलाडी उत्पादनमा पछिल्लो समय स्थानीय तहको लगानीले समेत सहज हुने प्रशिक्षक किसानको भनाई छ । म्याग्दीका यूवा क्लवले प्रतियोगितासँगै प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने गरेका छन् ।

सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो

जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकाधुरीमा पुग्न रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीबाट सडक निर्माण गरिएपछि यात्रा छोटिएको हो ।

ठाडाखानीबाट सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडक निर्माण भएको रघुगङ्गा-६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिए। “पहिले ठाडाखानीबाट तीन घण्टा पैदलयात्रा गर्नुपथ्र्यो, अहिले सडक मार्ग बनेपछि यात्राअवधि छोटिएर एक घण्टामा पुग्न सकिने भएको छ”, उनले भने।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु आठ लाख बजेटमा समुदायको अगुवाइमा थप रु १२ लाख जुटाएर सडक निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

सडक निर्माण सुरु भएको पाँच वर्ष भइसक्दा समेत ट्याक निर्माणले पूर्णता पाउन नसकेपछि देश तथा विदेशमा रहेका ठाडाखानीवासीबाट चन्दा सङ्कलन गरेर सडकलाई जोगी देउराली डाँडासम्म पु¥याइएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर छन्त्यालले बताए।

गत वर्ष गाउँपालिकाबाट रु १० लाख र स्थानीयवासीको चन्दा सङ्कलनबाट रु आठ लाख बजेट जुटाएर सरघारीसम्म सडकको ट्याक निर्माण गरिएको थियो । अहिले सडकको ट्याक पुगेको देउरालीधुरीमा सवारीसाधन पार्किङका लागि जग्गा सम्माइएको उनले जानकारी दिए।

प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी पुग्ने सडकको ट्याक निर्माणमा पालिकाको बजेटमा श्रमदान र सहयोग जुटाएर लक्ष्यभन्दा बढी काम गरी उपभोक्ता समितिले उदाहरणीय काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए।

“हामीले सडकको अनुगमन पनि गरेका छौँ, पालिकाको बजेटभन्दा बढी रकम समुदायस्तरबाट जुटाएर निर्माणमा खर्च गरेको पाएका छौँ, विकासमा सरकार र समुदायको साझेदारीले उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उहादरण ठाडाखानीवासीले दिएका छन्”, उनले भने। उनका अनुसार मालिकाधुरी जानका लागि मालिका गाउँपालिकाको बिमबाट सडक निर्माण भइरहेको छ ।

समुद्री सतहबाट तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मालिकाधुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले सडकको पहुँचसँगै अन्य पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिका कार्यालयले जनाएको छ । म्याग्दीका ३५ भन्दा बढी गाउँ देख्न सकिने मालिकाधुरीबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाको लहरै दृष्यावलोकन गर्न सकिन्छ भने यहाँबाट सूर्योदयको दृष्य मनमोहक देखिन्छ ।

मालिका क्षेत्रको जङ्गलमा पाइने लालीगुराँस, वन्यजन्तु, पशुपंछी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हुन् । पर्यटकीयस्थलको रूपमा विकास गर्न लागिएको मालिकाधुरीमा पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । चण्डी पूर्णिमा, ज्येष्ठी पूर्णिमा, भाइटीका र बालाचर्तुदर्शीमा यहाँ विशेष पूजा गरिन्छ ।

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन रहेको स्थानीय बताउँछन् । विसं १९१० देखि पूजाआजा हुने गरेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिबल चढाउने चलन बसाइएको छ । भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंबदन्ती रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।  रासस

हिमपहिरोमा बेपत्ता दुईजना शेर्पा भेटिएनन्

यहाँको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुई दिनदेखि दुईजना शेर्पा बेपत्ता छन् ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो र तेस्रो शिविरको बीचमा गत सोमबार दिउँसो आएको हिउँपहिरोमा परेर सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा बेपत्ता भएका थिए ।

सेभेन समिट ट्रेकबाट आरोहीको सहयोगी (शेर्पा) का रूपमा हिमालमा गएका उनीहरुको मङ्गलबार बिहानैदेखि हेलिकप्टरमार्फत खोजी गरे पनि फेला पार्न नसकिएको उद्धारमा खटिएका अन्नपूर्ण गाउँपालिका–३ दानाका इन्द्रसिंह शेरचनले बताए।

“मङ्गलबार दिउँसो कैलाश र प्रभुको हेलिकप्टरबाट सेभेन समिटका शेर्पासहितको टोलीले खोजी ग-यौँ तर फेला पार्न सकिएन”, उनले भने, “क्याम्प दुई र तीनको बीचमा निरन्तर हिमपहिरो खसेको छ ।”

खोजी कार्यमा ड्रोन क्यामेराको पनि प्रयोग गरिएको छ । अपराह्नदेखि मौसम खराब भएपछि आधार शिविर फर्किएको उद्धार टोली बुधबार बिहान पुनः त्यसतर्फ जाने भएको छ । टोलीले आरोहणका लागि तेस्रो शिविरमा पुगेका चार जना आरोहीहरूलाई हेलिकप्टरमार्फत आधार शिविर झारेको छ ।

हिमपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका भ-याङ भत्किएको शेरचनले जानकारी दिए । सोमबार बिहान ८ देखि ११ बजेको बीचमा ३२ जनाले अन्नपूर्ण आरोहण गरेका थिए । चालु वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । रासस

पर्यटकीय नरसिंहकोट पुग्न अब पदमार्गले सहज

बागलुङको निसीखोला गाउँपालिका–७ मा रहेको पर्यटकीय क्षेत्र नरसिंहकोटलाई बुर्तिवाङ बजारसँग जोड्न रेलिङसहितको पदमार्ग बनेको छ। यो पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई नरसिंहकोट पुग्न सजिलो बनाउने लक्ष्य राखिएको छ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत यो पदमार्ग निर्माण भएको हो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा छुट्याएको १० लाख रुपैयाँ बजेटबाट काम सम्पन्न भएको योजना अधिकृत नारायणप्रसाद रिजालले बताए। उनले भने, ‘उपभोक्ता समितिले ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब २५० मिटर पक्की रेलिङसहितको पदमार्ग बनाएको छ।’

बाइसे चौबिसे राज्यकालमा भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। निसीखोला गाउँपालिका–७ का अध्यक्ष दीपक कुँवरले भने, ‘पूर्वाधार थपिएपछि पर्यटकको आकर्षण बढेको छ। बुर्तिवाङ बजार नजिकै भए पनि पहिले पुग्न गाह्रो थियो, अब पदमार्गले सहज बनाएको छ।’ उनले गाउँपालिकाले २० लाख रुपैयाँ खर्चेर कालिका मन्दिर, खानेपानी, शौचालय र विश्रामस्थल पनि बनाएको जानकारी दिए। साथै, त्यहाँ खेलमैदान पनि बनिरहेको छ।

नरसिंहकोट पुग्न बुर्तिवाङ बजारबाट गाडीमा एक घण्टा र पैदल साढे एक घण्टा लाग्छ। सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को बाटो नहुँदा गाडीमा जाँदा लामो पर्छ। अध्यक्ष कुँवरको भनाइ छ, ‘पहिले यो ठाउँ ओझेलमा थियो, तर अहिले चर्चामा आएको छ। हरेक दिन पर्यटक आउँछन्, बिदाको दिन त झन् भीड हुन्छ। हामीले पूर्वाधार बनाउने र प्रचारप्रसार गर्ने कामलाई तीव्रता दिएका छौँ।’

नरसिंहकोटबाट बुर्तिवाङ बजार, बागलुङका विभिन्न ठाउँ, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँचीजस्ता जिल्ला देख्न सकिन्छ। साथै, धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खला र उच्चपहाडी क्षेत्रको मनोरम दृश्य पनि सहजै अवलोकन गर्न सकिन्छ। रासस

राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा विजय परियार

राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्य समिति म्याग्दीको अध्यक्षमा विजय परियार चयन हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न चौँथो जिल्ला अधिवेशनबाट परियारको अध्यक्षता नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा शिव वोहोरा, कोषाध्यक्षमा मनिका पुन, सहसचिवमा भुवन विश्वकर्मा र सहकोषाध्यक्षमा अस्मिता रोका चयन हुनुभएको छ ।

 

त्यस्तै सदस्यहरुमा सन्दिप मल्ल, गरिमा परियार, अनुपमा घर्ति, हरिकला सापकोटा, झरना विक, मार्कस विक, अभि वोहोरा र बाबुराम सुवेदी यचन हुनुभएको सचिव वोहोराले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुवास मल्लले संगीतकर्मीहरु देशको अवस्था र व्यवस्था परिवर्तनको संवाहक भएको बताउनुभयो ।

उहाँले कला, साहित्य र संस्कृतिको विकासका लागि सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताउँदै अवको संगीत परिवर्तन र विकास उन्मुख हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्र थापाले कला र संगीतले मानिसलाई सभ्यता र संस्कार समेत सिकाउने बताउनुभयो ।

जनजीवनका गीत र सृजनाहरु कालजयी बनेको उदाहरण प्रस्तुत गर्नुहुदै उहाँले कलाकारहरुले लोकप्रीयताका लागि भन्दा पनि जनताहरुलाई परिवर्तन र रुपान्तरण गर्ने खालका गीतहरु गाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले समाज विकासका लागि साँस्कृतिक जागरण आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक प्रमोद श्रेष्ठ, एमाले म्याग्दीका सचिव थमसरा पुन, सचिवालय सदस्य टकसरा राना लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल म्याग्दीका अध्यक्ष अमित विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष देवि जिसीको स्वागत र शिव वोहोराको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रशासनमा थन्किएका राष्ट्रिय परिचयपत्र वडामा लगेर वितरण सुरू

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण सुरू गरिएको छ । राष्ट्रिय परिचय बनाउन हतार गरेपनि छपाइ भएर आएका परिचयपत्रलाई लिन नआएपछि धवलागिरी गाउँपालिका-७, ताकमबाट वितरण सुरू गरिएको हो ।

वडा कार्यालयबाट प्रशासनका प्रतिनिधि कम्प्यूटर अपरेटर बिष्णु खत्री सहितको टोलीले वडा कार्यालयमै पुगेर ३ सय भन्दा बढी पुरानो परिचयपत्र वितरण गरेको र वडाको घुम्ती शिविरमा विवरण संकलन गरिएकालाई नम्बर वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनशक्तीको अभावका कारण पहिलो चरणमा धवलागिरी गाउँपालिका भित्र वितरण गरिने बताउनुभयो । ‘वडाको घुम्ती शिविरमा विवरण संकलन गरेकाहरूको कार्ड आइपुगेको छैन, हामीले परिचयपत्र नम्बर उपलब्ध गराउँछौ, कार्ड नआउँदासम्म सरकारी कामका लागि प्रयोग गर्न मिल्छ’ प्रजिअ ढकालले भन्नुभयो।

जिल्लाका ६ वटै स्थानीय तहको वडास्तरमै पुगेर सञ्चालित शिविरमा ३५ हजारभन्दा बढीको विवरण संकलन गरिएको थियो । म्याग्दीका स्थानीय तहसँग सहकार्य गरी प्रशासनमा थन्किएका रहेको परिचयपत्रहरु वितरणलाई तिब्रता दिने प्रजिअ ढकालको भनाई छ ।

राहदानी तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भरेको लामो समयसम्म पनि परिचयपत्र लिन नआएको २१ हजारको हाराहारीम परिचयपत्र वितरण हुन सकेको छैन । जिल्ला प्रशासनमा हालसम्म २८ हजार राष्ट्रिय परिचयपत्र तयार भएको छ । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्छ।