Wednesday, June 25, 2025
22.6 C
Beni
22.6 C
Beni
Wednesday, June 25, 2025
Home Blog Page 65

गण्डकीमा संस्थागत क्षमता मूल्याङ्कन नतिजामा जलजला प्रथम

म्याग्दी सदरमुकाम बेनी नजिकै रहेको पर्वतको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को नतिजामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जलजलाले ९८.५ अंक प्राप्त गरेको हो ।

मूल्याङ्कन अनुसार जलजलाले शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक प्रगतिमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधार १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ तथा सहकार्य र समन्वयमा छ अंक प्राप्त गरेको छ । गत वर्ष ८६ अंक पाएको थियो ।

पर्वतको महाशिला गाउँपालिकाले ८१.७५, मोदी गाउँपालिकाले ७८.२५, पैयु गाउँपालिकाले ८१, कुश्मा नगरपालिकाले ६७.७५, फलेवास नगरपाकिलो ७५.२५ र बिहादी गाउँपालिकाले ७१ अंक पाएका छन् । गाउँपालिका तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्न स्वमूल्याङ्कनले सहयोग गर्ने गरेको छ ।

आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउन पनि यसले भूमिका खेलेको छ । स्वमूल्याङ्कनको नतिजामा म्याग्दीका स्थानीय तहहरुमा बेनी नगरपालिकाले ९०.२५, अन्नपूर्ण गाउँपालिकाले ८०.७५, धवलागिरी गाउँपालिकाले ६६.५, मालिका गाउँपालिकाले ७१, मंगला गाउँपालिकाले ७०.५, रघुगंगा गाउँपालिकाले ७६.७५ अंक प्राप्त गरेका छन् ।

म्याग्दीका विद्यार्थीले सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट माग

म्याग्दीका विद्यार्थी संगठनले यातायातका सवारीसाधनमा विद्यार्थी छुट नदिएको भन्दै विद्यार्थीहरुको परिचयपत्रको आधारमा पाउने ४५ प्रतिशत छुट कार्यान्वयका लागि दबाब दिएका छन् ।

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दी र नेपाल स्वतन्त्र विद्यार्थी यूनियन म्याग्दी बहुमुखी क्याम्पसले सार्वजनिक यातायातमा विद्यार्थीको छुट कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीको ध्यानाकर्षण गराएको छ । म्याग्दी जिल्लाभित्र चल्ने रुट र जिल्ला बाहिरको लामो दुरीका सवारी साधनले विद्यार्थीहरुलाई छुट नदिएको भन्दै यसको कार्यान्वयनका लागि माग गरेको हो ।

स्वतन्त्र विद्यार्थी यूनियन म्याग्दीका सभापति संगम चोखाल क्षेत्री र अनेरास्ववियुका अध्यक्ष खुमबहादुर किसान, उपसचिव एवम् म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सचिव मन्जुर कटुवाल क्षेत्रीले ज्ञापनपत्र बुझाएका हुन् । सार्वजनिक सवारी साधनले मनपरी भाडा अशुल गर्दै आएको भन्दै यसलाई रोक्दै जान सरोकारका विषयमा ध्यान जान नसकेको भन्दै विद्यार्थीले खवरदारी गरिरहेका छन् ।

आफूखुशी भाडा अशुली गर्दै आएको भन्दै यसलाई नियनत्रणमा नलिए सर्वसाधारण मारमा परेको र त्यसबाट विद्यार्थीको छुटको अधिकार समेत गुमनाम भएको भन्दै विद्यार्थी संगठनको सक्रियता देखिएको हो ।

यसैबीच शुक्रबार नै कोरला यातायात प्रालिको आयोजना, म्याग्देली यूवा आवाजको सहआयोजनामा समेत विद्यार्थी छुटका लागि छलफल सहित निर्णय हुर्दैछ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विद्यार्थीको माग पुरा गर्न सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यार्थीले उठाएका जायज मागहरुको सम्बोधनका लागि काम अघि बढाउन सरोकारवाला निकायलाई थप दवाव दिने तयारीमा विद्यार्थी छन् ।

मुना-जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ ।

चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो ।

हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । सडक डिभिजन कार्यालयले रु एक करोडको लागतमा मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ ।

बेनीबाट मुना–खोरीया–मरेनी हुँदै करिब ५६ किलोमिटर ट्र्याक खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए।

“बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको ट्र्याक खुलेपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ”, उनले भने, “पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।”

म्याग्दीको धौलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।

बेनी– तातोपानी–बाबियाचौर–तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारको लगानीमा कालोपत्र भएको छ ।

गलकोटमा पिकअप जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते

गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारबाट कोतमैदानतर्फ जाँदै गर्दा पिकअप जिप दुर्घटना भएको हो । गलकोट नगरपालिका वडा नम्वर ३ को खसगाउँमा विहान १०ः३० बजेको समयमा ग १ ज ६१०० नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खस्न जाँदा १ जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् ।

दुर्घटनामा परेका गलकोट नगरपालिका वडा नम्वर ११ रिघाका २२ वर्षिय विष्णु रानालाई अस्पतालले १२ः१५ बजेको समयमा मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय हरीचौरले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परी चालक गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका २२ वर्षिय राजन विक, गलकोट नगरपालिका वडा नम्वर ४ डाँडाखेतका १९ वर्षिय रमेश सुनार र गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटका १९ वर्षिय अशोक बोहोरा घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको अहिले गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको छ ।

शिक्षकको काठमाण्डौ केन्द्रित आन्दोलनमा म्याग्दीबाट ३० भन्दा बढी शिक्षक सहभागि

शिक्षकहरूले बुधवारदेखि पुनः काठमाडौं केन्द्रित आन्दोलन गरेपछि म्याग्दीबाट समेत आन्दोलनमा सहभागि हुन शिक्षक काठमाण्डौ पुगेका छन् ।

नेपाल शिक्षक महासङ्घ म्याग्दीका सहित विभिन्न पेशागत संगठनका अगुवाको नेतृत्वमा ३० जनाभन्दा बढी शिक्षक अनिश्चितकालीन शैक्षिक आन्दोलनमा सहभागि भएको महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीले बताउनुभयो ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलनमा सहभागि भएको अध्यक्ष सुबेदीको भनाई छ ।

आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म जिल्ला नफर्किने अडान अन्दोलनरत शिक्षकको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको शिक्षक अगुवाहरूको भनाई छ ।

सांसदहरूले डेढ वर्षमा पनि एउटा कानुन बनाउन नसक्दा शिक्षकहरू दोस्रो पटक आन्दोलनका लागि सडकमा आउन बाध्य भएको शिक्षक महासंघले जनाएको छ । जिल्लामा बार्षिक परीक्षाको नतिजामा ब्यस्त रहेका शिक्षकले समेत सरकारले आनकानी गरेमा थप शिक्षक काठमाण्डौ जाने तयारीमा छन् ।

बिरुवा क्याराभानले मजदुरको खातामा ३ लाख हाले, बाँकी २० दिनमा दिने लिखित सहमति

अन्तत : बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङका मजदुरको ज्याला दिन बिरुवा क्याराभान कन्स्ट्रक्सन सहमत भएको छ । ज्याला दिन आनकानी गर्ने, मजदुरलाई धम्काउने, पुनः नापजाँच जस्ता अनावश्यक बखेडा झिकेको ठेकेदार कम्पनीले ३ लाख रुपैयाँ मजदुरको खातामा जम्मा गरी बाँकी २० दिनभित्र सबै ज्याला फिर्ता गर्ने लिखित प्रतिबद्धता जनाएको हो ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मजदुरका अगुवा रुकुम चौरजहारी नगरपालिका–८ का मजदुर तुलराम सार्कीको बैंक खातामा ३ लाख जम्मा गरेपछि भएको सहमतिमा बाँकी १० लाख दिने लिखित सहमतिपछि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को घटक संस्था नेपाल बिजुलि, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)को अगुवाइमा प्रदेश २–०३ को ००१ क ०१३४ नम्बरको गाडीमा लोड गरेको स्काभेटरलाई ठेकेदारलाई फिर्ता दिइएको छ ।

जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पूर्वाधार कार्यालयका प्रमुख ईन्जिनियर विष्णु पौडेल, क्युपेक केन्द्रिय सचिव एवम् महिला विभाग प्रमुख बलादेबी राई सहित मजदुरका अगुवाहरूको उपस्थिती रहेको थियो । छलफलमा प्रजिअ ढकालले सहमति अनुसारको मजदुरको ज्याला तोक्रिएको समयमै फिर्ता नगरे कानुनी उपचारको अन्तिम विकल्प भएको बताउनुभयो।

क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरी २०७९ मङ्सिर १५ गतेदेखि २०७९ चैत मसान्तसम्म काम गरेका मजदुरहरुले ज्याला नपाएको भन्दै चरणबद्ध आन्दोलन गरेका थिए । मङ्गला गाउँपालिका–२,रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी विच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक निर्माणमा समेत ढिलासुस्ती भइरहेको अवस्थामा पूरानो ज्याला नदिएपछि राजनीतिक दलले समेत मजदुरको समस्यामा प्रतिबद्धता जनाएका थिए ।

एसइई दिएर बसेका विद्यार्थीलाई एक महिने प्रशिक्षण

म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई जिल्ला भलिबल संघले एक महिने प्रशिक्षण दिने भएको छ । फर्सदको समयमा खेलकुद गतिविधिमा आर्कषित गर्ने उदेश्यले संघले चैत्र २४ गतेदेखि बैशाख २२ गतेसम्म खुल्लामञ्च बेनीमा प्रशिक्षण दिने संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

‘‘फुर्सदको समयलाई सदुपयोग गर्न प्रशिक्षण राखेका छौ’’, अध्यक्ष बानियाँले भन्नुभयो । विद्यालयस्तरबाटै भलिबल खेलाडीको पहिचान गर्ने उदेश्यले प्रतियोगिता सञ्चालन गरिरहेको संघले तालिमबाट उत्कृष्ट २० खेलाडीलाई छनौट गरी कक्षा ११ र १२ का लागि निशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।

तालिममा भलिवल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदको विकासमा लगाउने संघका सचिव कुमार किसानले बताउनुभयो । जिल्ला भलिबल संघले नियमित खेल अभ्यासका लागि कबड हल समेत बनाउने तयारीमा जुटेको छ ।

 

जिल्ला खेलकुद विकास समिति मुस्ताङको अध्यक्षमा अमित तुलाचन

जिल्ला खेलकुद विकास समिति मुस्ताङको अध्यक्षमा अमित तुलाचन मनोनित हुनुभएको छ । थासाङ गाउँपालिका वडा नं ३ लेते निवासी तुलाचनलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निर्णय अनुसार प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले सपथ ग्रहण गराउनुभएको हो ।

समितिको कोषाध्यक्षमा बिशाल शेरचन मनोनित हुनुभएको छ भने नेपाली कांग्रेसबाट उपाध्यक्ष, सचिवमा सिफारिस नभएकाले टुंगो लाग्न बाँकी छ ।

पर्यटन ब्यवसायी समेत रहनुभएका अध्यक्ष तुलाचनले आफ्नो कार्यकालमा मुस्ताङको सदरमुकाम जोमसोममा अलपत्र अवस्थामा रहेको कबड हललाई पूर्णता दिने, खेलमैदानको मर्मत तथा मौषम अनुकुल सञ्चालन गर्न सकिने खेलकुद गतिविधिलाई प्राथमिकता दिने बताउनुभयो ।

तल्लो र उपल्लो मुस्ताङमा हुने सक्ने खेलकुद गतिविधिको सम्भाब्यता अध्ययन गरी बार्षिक कार्ययोजना बनाउने अध्यक्ष तुलाचनको भनाई छ । अध्यक्ष तुलाचनले सबैभन्दा पहिलो प्राथमिकता भने कबड हलका लागि स्रोतसाधनको खोजी गर्ने बताउनुभयो ।

लोपोन्मुख शालिग्रामको महत्त्व झल्काउन मुक्तिनाथसम्म रथयात्रा

कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवम् बहुमूल्य शिला शालिग्रामको संरक्षणका लागि श्रीगजेन्द्र मोक्षनारायण–मुक्तिनाथ रथयात्रा मुस्ताङ प्रवेश गरेको छ ।

विश्वभरका हिन्दू धर्मावलम्बीहरूमार्फत सरोकारवाला निकायलाई प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपोन्मुख अवस्थामा पुगेको शालिग्रामको संरक्षणका लागि दबाब दिने उद्देश्यले चैत्र १८ गतेबाट सुरू भएको श्रीगजेन्द्र मोक्षनारायण–मुक्तिनाथ रथयात्रा बिहिबार छिमेकी जिल्ला म्याग्दी हुदै मुस्ताङ प्रवेश गरेको छ ।

करिब तीन सयभन्दा बढी भक्तजनसहित स्वामी कमलनयनाचार्यको टोली रथयात्रा टोलीलाई ठाउँठाउँमा भव्य स्वागत गरिएको सर्वशिद्धिधाम पञ्चकोटको अध्यक्ष जगन्नाथ आचार्यले बताउनुभयो । “धार्मिक महोत्सवमा नेपालका साथै भारत र तेस्रो मुलुकबाट करिब पाँच लाख धार्मिक पर्यटकहरू आउने अपेक्षा गरिएको छ”, आचार्य भन्नुहुन्छ । रथयात्रा चैत्र २४ गते अन्त्यसँगै मुक्तिनाथ क्षेत्रमा धार्मिक महोत्सवको शुभारम्भ भएर वि.स २०८२ साल बडादसैंसम्म सञ्चालन हुने आचार्यको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा कालीगण्डकी नदीमा मात्र पाइने कालो रङको बाटुलो, चिल्लो शालिग्राम शिलाका बारेमा छुट्टै प्रवचनको समेत तयारी भएको छ । स्वामी कमलनयनाचार्यले शालिग्रामको चोरी निकासीसँगै विकास निर्माणका गतिविधिको चपेटामा परेको बताउँदै समयमै ध्यान नदिए लोप हुने बताउनुभयो ।

मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थल भएकाले मुक्तिनाथ क्षेत्रमै लामो महोत्सवको आयोजना गरिएको बताउनुभयो । ‘‘पाठपूजा, हवनजस्ता धार्मिक कार्यमा प्रयोग हुने शालग्राम अहिले मनपरी प्रयोग गर्ने गरिएको छ’’, कमलनयनाचार्यले भन्नुभयो ।

कमलनयनाचार्यकै अगुवाइमा शालिग्राम संरक्षणसँगै पर्यटन प्रवर्द्धनको उद्देश्यले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ पर्यटकको आर्कषण मानिन्छ । वैष्णव तथा अन्य सनातनीहरूले विष्णुको अवतारको रूपमा पुज्ने गर्दछन् । मुक्तिनाथ, कागबेनी क्षेत्रमा घुम्न जानेले चोरी गर्ने, शालिग्राम फोडेर स्वरूप परिवर्तन गर्ने, अवैध रूपमा नदीबाट बालुवा गिटी उत्खनन गर्ने जस्ता गतिविधिले अहिले लोप हुने जोखिममा छ ।

मजदुर ठग्ने क्याराभान कन्स्ट्रक्सन: ‘आफ्नो मेहनतको कमाइ पनि भिक मागेजस्तो गरेर माग्नुपरेको छ’

पश्चिम म्याग्दी जोड्ने जिल्लाको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङमा काम गर्ने दिनरात नभनी काम गरेका सल्यान जिल्लाका निमबहादुर तमताले ज्याला नपाएको दुई बर्ष भयो ।

सल्यान जिल्लाबाट १० जना मजदुर ल्याएर सडकखण्डमा आएका मजदुर अगुवा तमता सहित जोखिम मोलेर काम गरेका मजदुरहरूले ज्याला माग्दा माग्दै नपाएपछि अहिले काम छोडेर अर्को ठाउँमा मजदुरी गर्नुहुन्छ ।

सडकखण्डमा सल्यान, रुकुम लगायत विभिन्न जिल्लाबाट मजदुरी गर्न आएका २० भन्दा बढी मजदुरले क्याराभान कन्स्ट्रक्सनलाई ज्याला माग्दा माग्दै हैरानी खेप्नुपरेको छ । ‘जोखिम मोलेर काम गरेको पैसा पनि पाएका छैनौ, भोकभोकै हिड्नुपर्ने अवस्था आएपछि अहिले अर्को आयोजनामा काम गरिरहेका छौ’ मजदुर तमताले भन्नुभयो ।

आफ्नो मेहनतको कमाइ पनि भिक मागेजस्तो गरेर माग्नुपर्ने भन्दै घरखर्च चलाउन समेत हम्मेहम्मे भएको मजदुरको गुनासो छ । ३ बर्षदेखि सडकखण्डमा काम गर्ने मजदुरको १३ लाख ज्याला दिन निर्माण कम्पनीले अटेर गरेपछि निर्माण क्षेत्रबाट लैजादै गरेको स्काभेटर सहितको ट्रकलाई बेनीबजारमा नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयललाई बुझाएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को घटक संस्था नेपाल बिजुलि, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)को अगुवाइमा प्रदेश २–०३ को ००१ क ०१३४ नम्बरको गाडीमा लोड गरेको स्काभेटरलाई जिल्ला प्रशासनमार्फत प्रहरीलाई बुझाइएको क्युपेक केन्द्रिय सचिव एवम् महिला विभाग प्रमुख बलादेबी राईले बताउनुभयो ।

‘मजदुरलाई ज्याला नदिएर ठेकेदारले निकै समस्या बनाएपछि अर्को ठाउँमा लैजादै गरेको निर्माण उपकरण रोकेका छौ, मध्यरातमा भाग्न खोजेपछि नियन्त्रणमा लिएका थियौं’ केन्द्रिय सचिव राईले भन्नुभयो ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मजदुरको ज्याला भुक्तानी गरेपछि मात्रै सबै उपकरणहरु सम्बन्धित निर्माण ब्यवसायीलाई फिर्ता गरिने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ सहित राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा भएको छलफलम ठेकेदार कम्पनी क्याराभान कन्स्ट्रक्सनले तत्काल मजदुरको ज्याला भुक्तानी गर्ने विषयमा साझा सहमति भएको थियो ।

क्याराभानका प्रतिनिधिको उपस्थितीमा भएको छलफलमा केही समय माग गरेपनि मजदुरले अस्वीकार गरेपछि तत्काल ३ लाख भुक्तानी गर्ने बताएपनि सबै भुक्तानी गरेपछि मात्रै उपकरण र सवारीसाधन फिर्ता दिने बताइएको छ । सडकखण्डमा २५ जनाको करिब ३० लाख ज्यउाला नदिएको रुकुम चौरजहारी नगरपालिका–८ का मजदुर तुलराम सार्कीले बताउनुभयो।

मजदुरका अगुवालाई ठेकेदारका प्रतिनिधिले समेत सहमतिमा आउन भन्दै पटकटपक दवाव दिएको क्युपेक नेपालकी केन्द्रिय सचिव राईको भनाई छ । क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरी २०७९ मङ्सिर १५ गतेदेखि २०७९ चैत मसान्तसम्म काम गरेका मजदुरहरुको रकम कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक चन्द्रप्रकाश थकालीले उपलब्ध नगराएको र रकम माग्दा उल्टै धम्की दिने गरेको मजदुरको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा यसअघि पटक पटक छलफल भए पनि ठेकेदारले रकम भुक्तानी गर्न अटेर गरेपछि अब अन्तिम सहमति नै सबै ज्याला बापतको रकम फिर्ता भएको मजदुरका नेताहरुको भनाई छ । मङ्गला गाउँपालिका–२,रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी विच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।