Wednesday, June 25, 2025
25.5 C
Beni
25.5 C
Beni
Wednesday, June 25, 2025
Home Blog Page 66

चैते दशैँ शुरू भएसँगै बाग्लुङको कालिका मन्दिरमा पर्यटक बढे

चैते दशैँ शुरू भएसँगै बाग्लुङको कालिका मन्दिरमा धार्मिक पर्यटक बढेका छन् । आइतवारदेखि नवरात्र शुरू भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ ।

चैते दशैँमा बाग्लुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् । चैतको नवरात्रमा बाग्लुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ ।

गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा रहेकाे मन्दिरमा अहिले भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । मेला आयोजनाका लागि ५५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

मन्दिरमा छिमेकी देश भारतबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको छ ।

त्यस्तै स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको मागसहित ध्यानाकर्षणपत्र

एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

यही चैतको १५ गते शुक्रवार देशको सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनको क्रममा आगजनी हुँदा पत्रकार रजकको जलेर मृत्यु भएको थियो । तीनकुनेमा रहेको एउटा घरबाट राजावादीहरुले आयोजना गरेको आन्दोनलनका भिडियोहरु खिचिरहेका पत्रकार रजक उक्त घरमा गरिएको आगजनीमा परेर अकालमै ज्यान गुमाएका थिए।

आगजनीमा परेर ज्यान गुमाएका पत्रकार रजकको हत्यामा संलग्नलाई कानुन अनुसार कडा कारवाही तथा पत्रकारले स्वतन्त्रतापूर्वक आफ्नो सञ्चार कर्म गर्न पाउनुपर्ने माग राख्दै प्रजिअमार्फत सरकारलाई ध्यानाकर्षणपत्र पठाइएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले बताउनुभयो ।

उहाँले पत्रकार तथा सञ्चारकर्मीको ज्यानै लिने गरी भएका हिंसात्मक घटनाहरुमा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कानुन अनुसार कडा कारवाही गर्नुपर्ने मागसहित ध्यानाकर्षणपत्र बुझाइएको जानकारी दिनुभयो ।

आन्दोलनको क्रममा राजावादीहरुले आगो लगाएको व्यक्तिको घरमा जलेर पत्रकार रजकको मृत्यु भएको थियो । यसैगरी राजावादी समर्थक आन्दोलनकारीहरुबाट अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतलामा आगो लगाउनुका साथै ढुङ्गामुढा गरी क्षति पुगेको छ ।

त्यस्तै कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुङ्गामुढा, हिमालयन टेलिभिजनको सवारीसाधनमा ढुङ्गा प्रहार, पत्रकार दिनेश गौतममाथि आक्रमण गर्दा खुट्टा भाँचिएको छ भने अर्का फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ । तसर्थ, आन्दोलनको नाममा भएका यी सबै घटनाहरुमा संलग्नलाई कारवाही गरेर क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरिएको छ।

म्याग्दीका प्रजिअमार्फत नेपाल सरकारलाई पठाइएको ध्यानाकर्षणपत्रमा आन्दोलनमा मृत्युवरण गरेका पत्रकारको परिवारलाई उचित क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरुलाई कानुनी दायरामा ल्याउन र क्षति भएका सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई आवश्यक क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

ध्यानाकर्षणपत्रमार्फत गरिएका मागहरुको एक साताभित्र सम्बोधन नभएमा पत्रकार महासंघले चरणबद्ध रुपमा आन्दोलन गर्ने जनाएको छ । उक्त ध्यानाकर्षणपत्र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र संस्थापक अध्यक्ष घनश्याम खड्काले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ ढकालले समाचार सङ्कलनको क्रममा पत्रकार तथा सञ्चारमाध्यममाथि भएको आक्रमणप्रति राज्य गम्भीर रहेको बताउनुभयो । उहाँले पत्रकार महासंघ म्याग्दी शाखाले उठाएका मागहरु सान्दर्भिक रहेको बताउँदै ध्यानाकर्षण पत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीलगायत सहभागी थिए । कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको समेत विशेष उपस्थिति रहेको थियो । पत्रकार महासंघले पत्रकार रजकको मृत्युलगायत अन्य घाइते पत्रकार र आक्रमण गरिएका सञ्चारमाध्यमको सुरक्षासहित दवावमूलक कार्यक्रम गर्दै आइरहेको छ ।

प्राचीन सोरठी नृत्यको संरक्षणमा म्यूजिक भिडियो

मगर संस्कृतिको धरोहर मानिने प्राचीन सोरठी नृत्य लोपलोपोन्मुख अवस्थामा पुगेपछि संरक्षण र प्रचारप्रसारमा सघाउन मौलिक लोक भाका ‘हर्क नि भराई तमुरो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मगर समुदायको मौलिक नृत्य आधुनिक गितसंगीतका कारण लोपउन्मुख अवस्थामा पुगेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङ घर भई हाल यूकेमा बसोबास गर्ने बिल पूर्जा पुन मगरले म्यूजिक भिडियोमार्फत संरक्षणमा जुट्नुभएको हो ।

धौलागिरी नौमति बाजा समुहका अध्यक्ष समेत रहनुभएका रचनाकार पूर्जाले देवी, देउता, पौराणिक घटना र कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिएपनि पछिल्लो पुस्तामा देखिएको कम आर्कषणलाई मध्यनजर गरी म्यूजिक भिडियो सार्वैजनिक गरेको बताउनुभयो।

मौलिक कला र संस्कृतिको संरक्षणका लागि करिब एक दर्जन सांगीतिक कोशेली पस्किनुभएका पूर्जा मगरले अधिकांस आफ्नै गाउँघरका क्षेत्रहरुमा म्यूजिक भिडियो छायांकन गर्नुभएको छ । गीतसंगीतसँगै नौमति बाजा संरक्षण तथा भाँक्रीको इतिहासलाई प्रर्बधनमा समेत सक्रिय हुनुहुन्छ ।

म्यूजिक भिडियोमा लय र शब्द संकलन बिल पुर्जा पुन मगरको रहेको म्यूजिक भिडियोमा कुमारी पुन मगर,टीका बुढा मगर,पार्वती पुर्जा मगर, प्रेमा पुर्जा मगर,खिमा पुर्जा मगर, एरेन्ज एल.बि. पुर्जा पुन मगर र नृत्य कलाकारहरुमा अर्चलबोट पुन मगर समाज÷ धौलासिरी पुन मगर समाज पुख्र्यौली समुह र निर्देशन देव चोचाङ्गी पुन मगर र सम्पादन सुजन कोइरालाको रहेको छ ।

सोरठी गीतमा मानिसका दुःख, वेदना, समस्यालगायत चाडपर्वका शुभकामनालाई पनि लयवद्धरूपमा प्रस्तुत गरिन्छ । मगर समुदायमा सोरठी नाच विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत नाच्ने गरिन्छ । सोरठी नाच्ने र गाउँने चलन कसले र कहिलेदेखि चलाएको हो भन्ने कुराको इतिहास अलिखित भएपनि यो नाच मगरसमुदायको मात्र नभइ साझा मौलिक संस्कार मानिन्छ । सोरठी नाच संरक्षण, जगेर्ना र प्रवद्र्धन गर्न सोरठीका अगु्वाहरुले निकै सक्रियता देखाएका छन्।

अरुणा शाही हिमालयन लाईफको व्यवसायिक सद्भावना दुत

‘सफलताको लागि आत्मविश्वास अनि सुरक्षित भविष्यको लागि हिमालयन लाइफ’भन्ने मुल नारा अगाडि बढेको हिमालयन लाइफ इन्स्योरेन्सले व्यवसायिक सद्भावना दुतमा राष्ट्रिय भलिबल टिमकी क्याप्टेन अरुणा शाहीसँग सम्झौता गरेको छ ।

नेपालको महिला भलिबलमा दुई दशकपछि अन्तराष्ट्रिय उपाधीसँगै दक्षिण एशियाली राष्ट्रमा बलियो उपस्थिती बनाउन सफल कप्टान शाहीलाई एक बर्षका लागि हिमालयन लाइफ इन्स्योरेन्सले सद्भावना दुत बनाएको हो ।

म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले नेपालीमाझ जीवन वीमाको सचेतना अभिवृद्धीसँँगै विभिन्न कार्यहरुमा सघाउनु हुने छ । साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफले महिला भलिबललाई उचाईमा पुर्याउन सफल शाहीलाई आबद्ध गराउन पाउँदा गौरवान्वित महसुस गरेको जनाएको छ ।

सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्नुभएकी शाहीको खेलमा लगनशिलता, संघर्ष र चुनौतीलाई सामाना गर्न सक्ने क्षमताले नै साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) सहित अन्य प्रतियोगितामा प्राप्त सफलता मान्न सकिन्छ ।

मजदुरको १३ लाख ज्याला दिन ठेकेदारले अटेर गरेपछि स्काभेटर र ट्रक नियन्त्रणमा

पश्चिम म्याग्दी जोड्ने जिल्लाको ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङमा काम गर्ने मजदुरहरूले काम गरेको ज्याला नपाएको भन्दै ठेकेदारको स्काभेटर र ट्रक नियन्त्रणमा लिइएको छ ।

३ बर्षदेखि सडकखण्डमा काम गर्ने मजदुरको १३ लाख ज्याला दिन निर्माण कम्पनीले अटेर गरेपछि निर्माण क्षेत्रबाट लैजादै गरेको स्काभेटर सहितको ट्रकलाई बेनीबजारमा नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयललाई बुझाएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को घटक संस्था नेपाल बिजुलि, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)को अगुवाइमा प्रदेश २–०३ को ००१ क ०१३४ नम्बरको गाडीमा लोड गरेको स्काभेटरलाई जिल्ला प्रशासनमार्फत प्रहरीलाई बुझाइएको क्युपेक केन्द्रिय सचिव एवम् महिला विभाग प्रमुख बलादेबी राईले बताउनुभयो ।

‘मजदुरलाई ज्याला नदिएर ठेकेदारले निकै समस्या बनाएपछि अर्को ठाउँमा लैजादै गरेको निर्माण उपकरण रोकेका छौ, मध्यरातमा भाग्न खोजेपछि नियन्त्रणमा लिएका थियौं’ केन्द्रिय सचिव राईले भन्नुभयो ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मजदुरको ज्याला भुक्तानी गरेपछि मात्रै सबै उपकरणहरु सम्बन्धित निर्माण ब्यवसायीलाई फिर्ता गरिने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ सहित राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा भएको छलफलम ठेकेदार कम्पनी क्याराभान कन्स्ट्रक्सनले तत्काल मजदुरको ज्याला भुक्तानी गर्ने विषयमा साझा सहमति भएको थियो ।

क्याराभानका प्रतिनिधिको उपस्थितीमा भएको छलफलमा केही समय माग गरेपनि मजदुरले अस्वीकार गरेपछि तत्काल ३ लाख भुक्तानी गर्ने बताएपनि सबै भुक्तानी गरेपछि मात्रै उपकरण र सवारीसाधन फिर्ता दिने बताइएको छ ।

सडकखण्डमा २५ जनाको करिब ३० लाख ज्यउाला नदिएको रुकुम चौरजहारी नगरपालिका–८ का मजदुर तुलराम सार्कीले बताउनुभयो ।

मजदुरका अगुवालाई ठेकेदारका प्रतिनिधिले समेत सहमतिमा आउन भन्दै पटकटपक दवाव दिएको क्युपेक नेपालकी केन्द्रिय सचिव राईको भनाई छ ।क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरी २०७९ मङ्सिर १५ गतेदेखि २०७९ चैत मसान्तसम्म काम गरेका मजदुरहरुको रकम कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक चन्द्रप्रकाश थकालीले उपलब्ध नगराएको र रकम माग्दा उल्टै धम्की दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा यसअघि पटक पटक छलफल भए पनि ठेकेदारले रकम भुक्तानी गर्न अटेर गरेपछि अब अन्तिम सहमति नै सबै ज्याला बापतको रकम फिर्ता भएको मजदुरका नेताहरुको भनाई छ ।

मङ्गला गाउँपालिका–२,रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी विच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

परिवारले बुझे पत्रकार सुरेश रजकको शव

गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव परिवारले बुझेको छ।बुधबार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको हो ।

यसअघि सुरेश रजकलाई गोली लागेको हल्ला चलेपछि एक्स–रे समेत गरिएको थियो । एक्स–रेमा गोली लागेको नदेखिएपछि बुधबार पोस्टमार्टम गरिएको हो ।

मुटुरोगसम्बन्धी शिविरबाट ११ सय बढीको चेकजाँच, १३ बिरामीको पहिचान

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा बुधबार सम्पन्न भएको शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतका ११ सय १५ जनालाई सेवा प्रदान गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलबार ५ सय ६५ जना, दोस्रो दिन ५ सय ५० जनाको चेकजाँच गरिएकोमा १३ बिरामीमा मुटुको समस्या देखिएको शिविर तथा तालिम ब्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

मुटुमा समस्या देखिएकालाई थप उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा पठाउने र उपचारमा समेत सहुलियत प्रदान गरिने जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले बताउनुभयो । मुटुसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी तथा सुविधासम्पन्न अस्पताल जानुपर्ने अवस्थामा मुटुसम्बन्धी समस्या भएकालाई सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताउनुभयो ।

शिविरमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङबाट सेवा लिन बिरामी आएका थिए । मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा रक्तपरीक्षण गरिएको थियो ।

उच्च रक्तचापका बिरामी पनि म्याग्दीमा उल्लेख्य भेटिएको थियो । शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका निर्देशक डा. रबी मल्लले शिविरमा ९ जना जन्मजात मुटुरोगको समस्या भेटिएको बताउँदै मुटुमा समस्या देखिएमा तुरुन्तै उपचारका लागि समेत अनुरोध गर्नुभयो । ‘लुकेर रहेका बिरामीको पहिचान गरी सम्पर्क गर्नुहोला,समस्या देखिएकाहरुलाई तुरुन्तै उपचार गछौं’ डा. मल्लले भन्नुभयो ।

शिविरमा म्याग्दी उद्योग वाणिज्य सङ्घ, राखु कल्याणकारी समाज, म्याग्दी जेसीज, नेपाल रेडक्रस सोसाईटी, ओमकुमारी शान्ति कोष र म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले स्वंयमसेवक परिचालन गरेका छन् बेनी नगरपालिकाको नगर प्रहरी सहितको अन्य थप जनशक्ती समेत खटिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

यसैबीच फोक्सो वा मुटुको गति रोकिएर मृत्युवरण हुने समस्यालाई रोक्न म्याग्दीको सदरमुकाम बेनीमा कार्डिओ–पल्मोनरी रिससिटेसन (सिपिआर) तालिम म्याग्दीका स्वास्थ्यकर्मी सहित कुल १ सय ५२ जनालाई प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयमा आयोजित तालिममा १ सय ३५ जना स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो भने अन्य १७ जनाले तालिम लिएका थिए ।

तालिमको सहजीकरण स्वास्थ्यकर्मी प्रतिवेदन डंगोल सहित ६ जना स्वास्थ्यकर्मीले गर्नुभएको थियो । तालिममा मुटु वा फोक्सो बन्द भएर हुने त्यही मृत्युलाई रोक्न आवश्यक विधि सहित सिपिआरको आधारभूत ज्ञान प्रदान गरिएको थियो ।

तालिममा शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले आधारभूत सैद्धान्तिक, प्रयोगात्मक अभ्यास सहितको करिब ५ घण्टा सहजीकरण गरिएको थियो । तालिमका सहभागिले निकै उपयोगी भएकाले आफ्नो क्षेत्रमा पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

काठमाण्डाैमा शिक्षकहरूको अनिश्चितकालीन प्रदर्शन

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डाैमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले आज काठमाण्डाैकाे माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

शिक्षक महासङ्घको आयोजनामा भएको प्रदर्शनमा काठमाण्डाैका विभिन्न ठाउँबाट निस्किएको र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हो । उनीहरूले अधिकार र कर्तव्यका लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेशालाई सम्मान गर, शिक्षक महासङ्घ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लेखिएकाे लगायतका प्लेकार्ड बोकेर अनिश्चितकालीन प्रदर्शन गरेका हुन् ।

यस आन्दोलनलाई शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दाेलनका रूपमा औँल्याएका छन् ।

नेपाल र थाइल्याण्डबीच ८ वटा समझदारीपत्रमा हस्ताक्षर

नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरे।

सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुईवटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्याण्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

त्यस्तै परराष्ट्रमन्त्री डा देउवा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डका गैरसरकारी क्षेत्रहरूबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।

यसमा नेपाल नेत्र ज्योति सङ्घ र थाइल्याण्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरे।

त्यस्तै, जनता एग्रो एण्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्याण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र थाइल्याण्डको व्यापार बोर्डबीचको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्ड पर्यटन परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

मुस्ताङमा च्याङ्ग्रा जोन : ७८ फार्म सूचीकृत

च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्याङ्ग्रा जोन विकास कार्यान्वयनमा रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आव २०७८/७९ देखि च्याङ्ग्रा जोन विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मुस्ताङमा पुस्तौँपुस्तादेखि व्यावसायिक रुपमा यहाँका स्थानीय किसानले च्याङ्ग्रापालन व्यवसायलाई पेशाका रुपमा अपनाउँदै आइरहेका छन् । च्याङ्ग्रा पालन व्यवसायलाई परिस्कृत गर्दै लैजाने र च्याङ्ग्रा पालन व्यवसायलाई प्रर्वद्धन गर्ने गरी मासुको आयात प्रतिस्थापन गर्न च्याङ्ग्रा जोन विकास कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको हो ।

च्याङ्ग्रा जोन विकास कार्यक्रम कार्यान्वयनमा आएको चौथो वर्ष हालसम्म मुस्ताङका तीन स्थानीय तहमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा ७८ कृषि फार्म सूचीकृत भइसकेका छन् । च्याङ्ग्रा जोन विकास कार्यक्रमका लागि सूचीकृृत हुन बर्सेनि कार्यालयले प्रस्ताव आह्वान गर्ने र त्यसपछि प्राथमिकताका आधारमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृत गर्दे लैजाने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए ।

मुस्ताङका पाँच स्थानीय तहमध्ये मागका आधारमा तीन स्थानीय तहका किसानलाई च्याङ्ग्रा जोन विकास कार्यक्रममा आबद्धता गरिएको कार्यालय प्रमुख गौतमले बताए । जिल्लाको बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गरी कूल ७८ फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएका हुन् । त्यसअन्तर्गत बारागुङ मुक्तिक्षेत्रमा ५६ फार्म, लोघेकर दामोदरकुण्डमा १६ फार्म र लोमान्थाङ गाउँपालिकामा नौ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएको कार्यालय प्रमुख गौतमले उल्लेख गरे ।

च्याङ्ग्रा जोन विकास कार्यक्रमको पहिलो आव २०७८/७९ मा आठ फार्म, दोश्रो वर्ष आव २०७९/८० मा १६ र तेस्रो आव २०८०/८१ मा १७ फार्म सूचीकृृत भएका थिए । चालु आवको चौथौ वर्ष २०८१/८२ मा ३७ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएको परियोजना कार्यान्यन एकाइले जनाएको छ । च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो वर्ष रु ७५ लाख ३० हजार, दोश्रो वर्ष रु ७२ लाख ४० हजार, तेस्रो वर्ष रु ८० लाख ४७ हजार र चालु आवमा रु ५९ लाख ११ हजार बजेट विनियोजन भएको थियो ।

पहिलो वर्षको च्याङ्ग्रा जोन कार्यक्रममा रु ४९ लाख १० हजार, दोस्रो वर्ष रु ७२ लाख नौ हजार र तेस्रो आवमा रु ५७ लाख ९८ हजार बजेट खर्च भएको कार्यान्वयन एकाइले जनाएको छ । परियोजना कार्यान्यवन एकाइअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा च्याङ्ग्राको खोर सुधारतर्फ ८५ प्रतिशत अनुदान सहुलियत दिने गरी सूचीकृृत १० खोरका लागि रु ३० लाख बजेट बजेट छुट्याइएको छ ।

स्थानीय तहसंगको समन्वयमा पशु नश्ल स्रोत केन्द्र स्थापना सुदृढीकरण सूचीकृत एक फार्मलाई ८५ प्रतिशत अनुदानमा रु आठ लाख ९२ हजार बजेट परेको छ । लक्षित जोनमा पशु नश्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रममा रु १२ लाख, पशु आहारा व्यवस्थापनमा रु तीन लाख १८ हजार र जोन सुधार सहयोग तथा जोन क्षेत्रमा कृषि यान्त्रिकीकरणतर्फ रु पाँच लाख बजेट ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरी कार्यक्रम तय भएको कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए ।

यसअघि मुस्ताङमा सञ्चालित च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो आवमा सूचीकृृत आठ फार्मलाई च्याङ्ग्राका पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट, रेन्कोट र पाल वितरण गरिएको छ । खोर सुधारमा आठ फार्म, पशु नश्ल स्रोत केन्द्र स्थापना एक र खसी बोका संकलन केन्द्र स्थापना केन्द्रतर्फ एक फार्मले अनुदान पाएका थिए ।

आव २०७९/८० मा सूचीकृृत १३ फार्मले च्याङ्ग्रा पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट र डिजिटर तराजु पाएका थिए । यस्तै पशु रोग नियन्त्रण गर्न औषधि वितरण २१ फार्म, खोर सुधार १० फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापना दुई सूचीकृृत फार्मले च्याङ्ग्रा जोनको अनुदान प्राप्त गरेका थिए ।

यसैगरी आव २०८०/८१ मा च्याङ्ग्राका पाठापाठी वितरणमा १० फार्म, औषधि वितरण २९ फार्म, च्याङ्ग्रा आहारा ३६ फार्म, खोर सुधार सात फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापनातर्फ दुई पशु फार्मले जोन विकासको अनुदान लिएका थिए । परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख गौतमले पशु वृद्धि गर्न पाठापाठी वितरण, औषधि, पूर्वाधार निर्माणका साथै च्याङ्ग्रा पालनमा आवश्यक उपकरण तथा प्रविधि अनुदानमा उपलब्ध गराइएको बताए ।

आगामी वर्षमा पशुको नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादन तथा पश्मिना व्यवसायतर्फ पशु फार्मलाई आकर्षित गर्दै लैजाने योजना रहेको प्रमुख गौतमको भनाइ छ । जोन कार्यक्रममा रही अबका वर्षमा पश्मिना उद्योगमा जोड दिने कार्यालयको उद्देश्य रहेको उहाले उल्लेख गरे । च्याङ्ग्रा जोन कार्यक्रमले स्थानीय पशुपालकको व्यवसायको संरक्षण, व्यावसायिकरणका साथै सबै सूचीकृृत पशु फार्महरुमा कम्तीमा तीन÷चार जनाले रोजगारी प्राप्त गरेको प्रमुख गौतमले जानकारी दिए ।

मुस्ताङमा च्याङ्ग्रा जोन विकास कार्यक्रमले सम्बन्धित पशु फार्महरुले सरकारबाट प्राप्त सुविधा लिएर च्याङ्ग्राको उत्पादन तथा बिक्री वितरणका साथै पश्मिना निकालेर दोहोरो आम्दानी लिनसक्ने वातावरण सिर्जना भएको कार्यालय प्रमुख गौतमको भनाइ छ । रासस