Sunday, June 8, 2025
18.8 C
Beni
18.8 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 65

चार बर्षदेखि अलपत्र मंगलाको १० सैयाको अस्पताल भवन

नेपालीमा एउटा उखान छ,..भन्दा देख्नेलाई लाज । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका-५, हाँडेभिरमा निर्माणाधीन १० सैयाको पालिकास्तरीय अस्पतालको भवनको अहिलेको अवस्था हेर्दा काम गर्ने ठेकेदारलाई भन्दा हेर्नेलाई लाज भइरहेको छ । विसं २०७७ पुस महिनामा शिलान्यास भएको अस्पताल भवन चारबर्षदेखि अलपत्र अवस्थामा छ । यो भवन २०८० साल असार महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

शनिबार नेपाली सेनाको गण्डकी प्रदेशस्तरीय संयुक्त बृहत बिपद् प्रतिकार्य नमुना अभ्यासको उद्घाटन गर्न पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले अलपत्र अस्पतालको भवन देखाउँदै ठेकेदारलाई कानुनी डण्डा देखाएर अपुरो कामलाई पूर्णता दिन अनुरोध गर्नुभएको थियो ।

‘भवन सम्पन्न भएपछि हामीले सेवा सुरू गछौं,अटेरी ठेकेदारका कारण काम अगाडी बढ्न सकेको छैन’ उपाध्यक्ष क्षत्रीले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले अलपत्र अस्पतालको भबनलाई पूर्णता दिन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तत्कालिन समयमा सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने निर्णय अनुसार गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गर्नुुभएको थियो। भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ साल असारमा ९ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो। भवनको कूल१२ करोड ९७ लाखको लागत अनुमान गरिएको थियो।

३५ वटा कोठा हुने भबनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमता,प्रयोगशाला, प्रशासन, औषधी कक्ष सहितको अपाङ्गतामैत्री भवन बनाउन लागिएको थियो। अस्पताल भवन नजिककै अर्मन स्वास्थ्य चौकी रहेको छ । उक्त स्वास्थ्यचौकीकै करिब ८ रोपनी जग्गा अस्पतालका लागि ब्यवस्थापन गरिएको थियो।

मङ्गला गाउँपालिकाले निर्माण कम्पनीले अटेर गरेपछि धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको थियो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोबामा भवन निर्माण सम्पन्न भएपनि प्रयोगविहिन अवस्थामा रहेको छ भने धवलागिरि गाउँपालिकाको ताकममा निर्माणाधीन पाँच शैया क्षमताको अस्पताल समेत पूर्णता भएको छैन ।

घाँस काट्न जाँदा खसेर वृद्धको मृत्यु

म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकममा आइतबार रुखबाट खसेर एक बृद्धाकोे ज्यान गएको छ । स्थानीय ६० बर्षिय थमन खत्रीको घरबाट करिब १ किलोमिटरको दुरीमा रहेको जंगलमा खनियाको रुखमा घाँस काट्ने क्रममा खसेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

स्थानीयले खवर गरेपछि साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो।प्रारम्भीक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लालीगुराँस फुलेर जंगल नै राताम्य

स्वरसम्राट स्व. नारायण गोपालको ‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु–मनैभरि फूलिदिन्छु’ गीतले भनेजस्तै हिमाली जिल्ला म्याग्दीका वनपाखामा यतिबेला लालीगुराँस ढकमक्क फुलेर जंगल नै राताम्यै भएको छ ।

वनमा लालीगुराँस मात्रै फुलेको छैन,लालीगुराँसलाई हेर्दै हिमाललाई पृष्ठभूमिमा पार्दै तस्वीर खिचाउन र भिडियो बनाउन जंगलमा उक्लिएका शहरका युवायुवतीहरुको मन पनि हिजोआज जंगलमा नै भुलेको छ ।

वनैभरि फुलेका लालीगुराँसका जंगलबाट उत्तरतिर देखिने चाँदी झै टल्किने सेता हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भीडले यतिबेला म्याग्दीका जंगलमा पनि रौनक बढेको हो ।

पश्चिम म्याग्दीको बाबियाचौरबाट लालीगुराँसमा रमाउन साथीहरु सहित देविस्थानको रुन्ममा पुग्नुभएका शेखर सापकोटाले हिमाल र लालीगुँरासलाई पृष्ठभूमि बनाएर तस्विर लिँदा निकै रमाइलो भएको बताउनुभयो । उहाँसँगै आएका साथीहरु पनि लालीगुँरासमा रमाउँदै फोटो खिचिरहेका थिए ।

लालीगुराँस फुलेर म्याग्दीका वन जंगल यतिबेला बेहुलीको सिउँदो जस्तै रंगिएका छन् । ढकमक्कै लालीगुराँस फुल्दिएपछि लेकाली पहाडमा बैँस चढेको छ । वसन्त ऋतुसँगै गुराँस फुलेपछि लेकाली क्षेत्र अहिले नवदुलही जस्तै सिँगारिएका छन् ।

फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्छ । नेपालको राष्ट्रिय फूलको मान्यता पाएको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रमा मात्रै होइन विकट जंगल र डाँडाकाँडामा पनि छुट्टै खालको रौनक छाएको छ ।

पश्चिम म्याग्दीको मालिका,मंगला र धवलागिरि गाउँपालिकाका सबै जंगलहरु अहिले लालीगुराँसले रंगिएका छन् । यसैगरी उत्तरी म्याग्दीका अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घार,मल्काबाङ,लगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ । यता बेनी नगरपालिकाको पर्यटकीयस्थल बेलढुङ्गा,ज्यामरुककोट,टोड्के लगायत क्षेत्रमा पनि ढकमक्कै लालीगुराँस फुलेको स्थानीयले बताएका छन् ।

वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटक पुगेर रमाउन थालेका छन् । उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित समुन्द्री सतहदेखि २ हजार ८७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा ३ हजार २१० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेको स्थानीय बताउँछन् । नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा मात्रै विभिन्न आठ प्रजातिका गुराँस फुल्छन् ।

लामो पात, झ्याम्म रुख राता फूलले जंगललाई सिंगारेको छ। अहिले गुराँसको मनमोहक दृश्य हेर्न विभिन्न जिल्लाका पर्यटक पनि म्याग्दी आएका छन् । सडकखण्ड छेउछाउमा समेत लालीगुराँस अवलोकन गर्दै यात्रा गर्न सकिन्छ । सुनसान बनेका यहाँका पर्यटकीय स्थलमा चहलपहल बढेको पर्यटन व्यवसायी बताउँछन् ।

कहिल्यै पनि वनजंगलमा नपुगेका युवायुवती पनि अहिले जंगली क्षेत्रमा पुगेका छन्। सधैँ मोबाइल र इन्टरनेटमा रमाउने युवायुवतीले प्रकृतिलाई नजिकैबाट नियाल्न र बुझ्ने अवसर पनि पाएका मालिका गाउँपालिका ५ देविस्थानका टेकबहादुर सिउथानीले बताउनुभयो ।

लालीगुराँससँगै रमाउने र तस्विर खिचाउनेमा युवा पुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्याथी पनि छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका वेला लालीगुराँस फुलेको ठाउँमा गाडी र मोटरसाइकल रोकेर तस्विर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधि पनि व्यस्त देखिन्छन् ।

लालीगुराँस फुलपछि ग्रामीण क्षेत्रको सौन्दर्य समेत बढेको छ । घोरेपानी र पुनहिलसहित जिल्लाको लेकाली क्षेत्रमा फुलेको गुराँसको आकर्षणले पर्यटकहरु लालायित भएका छन् । कोरोनाको त्रासले सहरबाट गाउँ पसेकाहरु, लालिगुराँस फुलेको हेर्न डाँडाकाँडा चहार्न थालिसके । वसन्त ऋतुमा मनै लोभ्याउने गरी फुल्ने लालीगुराँससँगै टाँसिएर फोटो, भिडियो खिच्न र सेल्फी लिन पर्यटकहरु आउनेगरेका मंगला गाउँपालिका २ का शेरबहादुर विकले बताउनुभयो ।

म्याग्दी जिल्लामा अहिले कुल ३ सय १४ वटा सामुदायिक वनहरु रहेकोमा सबै वन क्षेत्रमा गुराँस प्रजातिका बोटविरुवा पाइन्छन् । पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा तापक्रममा वृद्धि भएपछि समयभन्दा अगावै फुल फुल्ने विरुवाहरु चाँडै नै फुल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । उहाँले तल्लो क्षेत्रमा पुस–माघ र माथिल्लो क्षेत्रमा फागुन महिनापछि लालीगुराँस फुल्ने गरेको जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाको वन क्षेत्रमा झण्डै १० प्रजातिका गुराँसहरु पाइने अनुमान गरिएको छ । गण्डकी प्रदेशमा गुराँसको राजधानी र सबैभन्दा ठूलो गुराँसे जङ्गलका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिमा पर्ने पुनहिल–घोडेपानी र राम्चे क्षेत्रलाई मानिएको छ । यस क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका लालीगुराँसहरु पाइने स्थानीयवासी बताउँछन् ।

पत्रकारलाई घुम्ती शिविरबाट प्रेस पास वितरण तथा तालिम सञ्चालन

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा आइतबारदेखि दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी विषयमा तालिम सुरु भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

दुर्गम अर्थात् मोफसलमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिम आयोजनासँगै सूचना तथा प्रसारण विभागद्वारा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धी घुम्ती शिविर पनि सञ्चालन गरिएको छ । म्याग्दीसहित बागलुङ, पर्वत, बागलुङ र मुस्ताङलाई लक्षित गरी तालिम र शिविर चलाइएको हो ।

तालिम तथा घुम्ती शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले विगतको समयमा काठमाडौं पुगेर लिनुपर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र शिविरमार्फत जिल्लामै आएको हुँदा भरपुर उपयोग गर्न सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुलाई सुझाव दिनुभयो ।

उहाँले पछिल्लो समय बढ्दो प्रविधिसँगै पत्रकारिता क्षेत्रमा पनि चुनौतीहरु थपिएको हुँदा पत्रकारले आफूलाई समयानुकुल परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगमा पत्रकारिता क्षेत्रबाट अगाडि बढ्न सकिने भएकाले सकारात्मक हिसाबले सुरुवात गर्नुपर्ने उहाँको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रले सुशासन तथा बजार अनुगमनसहित आम नागरिकको हक, अधिकारसँग सम्बन्धित विषयहरुलाई उजागर गर्नुपर्ने बताउनुभयो ।

तालिमका प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले विगतमा पत्रकारले मात्रै पत्रकारिता गर्ने गरेकोमा अहिले नागरिकले समेत पत्रकारिता गर्ने भएकाले पत्रकारहरु सचेत भएर आफ्नो कर्म क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेलले पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारलाई सोही पेशमा टिकाउन समस्या भैरहेको हुँदा राज्यले पनि आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रले सत्य, तथ्य र सन्तुलित सूचना तथा जानकारीहरु सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्यायले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको पेशागत क्षमता वृद्धि र जिल्लामा प्रेस पास वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताको शिविर ल्याइएको बताउनुभयो ।

तालिमको उद्घाटनसत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा म्याग्दीबाट स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार तथा सञ्चारकर्मी र प्रशिक्षार्थी पत्रकारहरुको सहभागिता रहेको छ ।

आगामी तीन दिनसम्म चल्ने तालिममा पत्रकारिता सम्बन्धी विषयको तालिमसँगै सूचना तथा प्रसारण विभागबाट जारी हुने प्रेस प्रतिनिधि प्रमाणपत्र जारीका साथै नवीकरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताको कार्य भैरहेको छ ।

पेट्रोलमा ५ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँले भाउ घट्यो

नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँले घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६० रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६२ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५० रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६३ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५१ रूपैयाँ पर्नेछ ।

महिला उद्यम विकास समितिको ११औं वार्षिक साधारण सभा सम्पन्न

क्षत्री समाज म्याग्दीको १६औं वार्षिक साधारणसभा

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार समाजको भवनमा साधारणसभाको साथमा स्वागत, सम्मान र बधाई कार्यक्रम गरिएको हो ।

साधारणसभामा समाजका अध्यक्ष लक्ष्मीकुमारी केसीले संस्थागत, सचिव हिमबहादुर भण्डारीले प्रगति र कोषाध्यक्ष यामबहादुर बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष अमृतदेवी बानियाँले इतिहासविद् र अनुभवीहरुसँग आवश्यक समन्वय तथा सहकार्य गरेर क्षत्री समाजलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

क्षत्री समाज म्याग्दीको पूर्व अध्यक्ष समेत रहनुभएकी केन्द्रीय उपाध्यक्ष बानियाँले समाजको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने भन्दै क्षत्री बन्धुहरुको हकहित र उत्थानको लागि सबै एकापसमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावलले वि.सं. २०५३ सालमा नै क्षत्री समाज गठन गर्ने आफूले तयारी गरेको भए पनि केही अमुक व्यक्तिका कारणले १० वर्षपछि धकेलिन पुगेको भए पनि अहिलेको अवस्थामा ल्याइपु¥याउन सबैको साथ र सहयोग रहेको बताउनुभयो ।

कार्यक्रमको अवसरमा क्षत्री समाजको आजीवन सदस्यता वितरण गर्नुका साथै जिल्लास्थित पत्रकार महासंघ, म्याग्दी जेसीज, सञ्चारिका समूहलगायत विभिन्न संघसंस्थामा निर्वाचित क्षत्री बन्धुहरुलाई क्षत्री पोशाक ढाका टोपी र सल ओढाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, क्षत्री समाज म्याग्दीका वरिष्ठ उपाध्यक्ष एवं बेनी नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँ, म्याग्दी जेसीज वर्ष सन् २०२५ का शाखा अध्यक्ष विनोद घर्ती क्षत्री र आजीवन सदस्य एवं सम्मानित व्यक्ति नगेन्द्र पाण्डेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता, सचिव हिमबहादुर भण्डारीको सञ्चालन र महिला समाजका अध्यक्ष सन्जु बरुवालको स्वागतमा सम्पन्न भएको थियो । वि.सं. २०६३ सालमा स्थापना भएको क्षत्री समाज म्याग्दीले संस्थागत विकाससहित विगतमा हक, अधिकार तथा जातीय सद्भावका लागि विभिन्न आन्दोलन र क्षत्रीहरुको उत्थानमा आवश्यक सहयोग गर्दै आइरहेको जनाएको छ ।

अन्तत: स्थानीयको माग पूरा गर्ने जलविद्युत आयोजनाहरूले लिखित सहमति

अन्तत: स्थानीयबासीको चर्को दवावपछि म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरूले विभिन्न मागमा लिखित सहमति जनाएका छन् ।

विगत लामो समयदेखि समुदायका मागहरूलाई बेवास्ता गदैं आएका जलविद्युत आयोजनालाई राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयबासीसँगको विभिन्न समयमा भएको छलफलपछि गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत आयोजनाका प्रमुखहरुको छलफलमा जिर्ण सडकको स्तरोन्नती सहित मुख्य मागहरूमा लिखित सहमपित जनाएका हुन् ।

आयोजनाहरुले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नतीका लागि विगतका सहमति पालनामा अटेरी गरेपछि चरणबद्ध आन्दोलनमा उत्रिएपछि ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलब ५ मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलब ५ मेगावाट क्षमताको राहुघाट मङ्गले, २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलब ५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाले ३३ बुँदे लिखित माग पालना गर्ने बताएका थिए ।

गत फागुन १५ र २५ गते भएको सरोकारवालाहरुको भेलाले गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरुलाई उक्त माग प्रस्तुत गरेकोमा तत्काल र दिर्घकालिन रुपमा आयोजनाहरुले गर्नुपर्ने उत्तरदायित्वको सम्बन्धमा लिखित प्रतिबद्धजना गराईएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

जलविद्युत आयोजनाहरुले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाको सामुहिक मागको रुपमा पेश भएका बुँदाहरुमा बृहत छलफल गरी सहमित भएको अध्यक्ष भण्डारीको भनाई छ । रघुगंगाका सबै वडाबासीलाई प्रभावित क्षेत्रमा राखेर १० प्रतिशत शेयर वितरणका लागि समेत जलविद्युत आयोजना सहमत भएका छन् । जलविद्युत आयोजनाले यसअगाडी आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै सेयर प्रक्रियामा सहभागि गराउने गरेका थिए ।

सहमतिपत्रमा बेनी–जोमसोम सडकखण्डको घुमाउने तालदेखि मौवाफाँट हुँदै बाँध रहने बुक्ल सम्मको सडकलाई तत्काल ग्राभेल सहित स्तरोन्नती गर्न रघुगंगा हाइड्रोपावरले लिखित प्रतिबद्धता गरेको छ । हाल राहुघाट जलविद्युत आयोजनाको आयोजना प्रतिबेदनमा सो सडकलाई ठेकेदार कम्पनीले आयोजना हस्तान्तरणको क्रममा ग्राभेल सहित स्तरोन्नती गर्ने उल्लेख भएपनि सरोकारवालाहरुको माग बमोजिम घुमाउनेतालदेखि मौवाफाँट सम्मको सडकलाई जलविद्युत आयोजनाहरुले कालोपत्रे गरिने छ ।

राहुघाटको ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स लिमिटेडले आयोजनालाई सडक हस्तान्तरण गरेपछि डिबिएसटी प्रविधिको कालोपत्रे गर्नका लागि रघुगंगा हाइड्रोपावर लिमिटेडले ८० प्रतिशत र यस गाउँपालिकामा निर्माणधिन अन्य आयोजनाहरुले उत्पादन क्षमताका आधारमा बाँकी २० प्रतिशत लागत व्यहोर्ने छन् ।

त्यसैगरि मौवाफाँटदेखि दग्नाम, चिमखोला हुँदै पात्लेखर्कसम्मको मोटरबाटोलाई स्तरोन्नती गर्न तुँदी पावर, संयुक्त उर्जा र ठूलोखोला हाइड्रोपावर लिमिटेडले चालु आर्थिक बर्षमै थप १ करोड ५० लाख बराबरको काम गर्ने र दिर्घकालिन रुपमा सडकलाई स्तरीय बनाउन गाउँपालिकासंगै प्रदेश र संघीय सरकारसंगै हाल निर्माणधिन जलविद्युत आयोजनाले सहकार्य गर्ने सहमति समेत भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

त्यसैगरि आयोजना प्रभावित झिँ र पाखापानीमा समेत आयोजनाहरुले चालु आर्थिक बर्षमा सडक स्तरोन्नतीमा रु २५÷२५ लाख बजेट उपलब्ध गराउने सहमती भएको छ । आयोजनाहरुले सामाजिक उत्तरदायित्वको रकमलाई समेत पारदर्शी बनाउनका लागि वडा र पालिकाको संयुक्त सिफारिसमा मात्रै बजेट खर्च गर्ने सहमती गरेका छन भने खानेपानी योजना, सिंचाई योजना निर्माणमा सघाउने र प्रभावित क्षेत्रका विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक सहयोगलाई निरन्तरता गर्ने प्रतिबद्धता जनाएका छन् ।

आयोजनाहरुले गर्नुपर्ने प्रतिबद्धतामा रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसी, तुँदी पावर लिमिटेडका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल,ेठूलोखोला हाइड्रोपावर लिमिटेडका बित्त प्रमुख प्रदिप खतिवडा र संयुक्त उर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपाल प्रसाद निउरले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा र प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले सहमतिको पालना नभए जलविद्युत आयोजनाले चर्को मुल्य चुकाउनु्पर्ने चेतावनी दिएका थिए । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समुदायको मागलाई बेवास्ता गर्न नहुने बताएका थिए । आयोजनास्थलका सर्वसाधारणले दैनिक सडकको धुलो धुँवा र ध्वनी प्रदुषणको सास्ती व्यहोर्नु परेको गुनासो गरेका थिए ।

बाह्मण समाज म्याग्दीले आफ्नै समाजघर बनाउने

ब्राह्माण समाज नेपाल म्याग्दीले आफ्नै भबन बनाउन आर्थिक संकलन अभियान सञ्चालन गर्ने भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको चौथो साधारणसभाबाट भौतिक पूर्वाधारका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संस्था स्थापनाको १३ बर्षसम्म नियमित गतिविधिमा केन्द्रित भएको समाजले अब आफ्नै समाज घर बनाउने सहयोगीहरू माझ पुग्ने सचिव हरिप्रसाद पौडेलले बताए ।

म्याग्दीमा विभिन्न सामाजिक तथा जिल्लास्तरीय कार्यक्रममा सक्रिय सहभागिता जनाएको समाजले संस्थागत विकासमा विभिन्न निकायहरु तथा समाजका सदस्यहरुबाट सहयोग जुटाएर अभियानको थालनी गर्ने अध्यक्ष गौतमको भनाई छ । चौथो साधारणसभाको उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य गोविन्द पौडेलले आफ्नो आर्थिक, भौतिक र नैतिक सहयोग रहने प्रतिबद्धता जनाए ।

सोही अवसरमा केन्द्रिय सदस्य नारायणदत्त सुबेदी, सल्लाहकार ब्रहामण समाज महिला समिति रन्जता सुबेदी, सल्लाहकार बालकृष्ण सुबेदी,सोमनाथ ढुंगाना, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मी,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले संस्थागत विकासका लागि योजनाबद्ध तरिकाले अगाडी बढ्नुपर्नेमा जोड दिए । साधारणसभामा बोल्न बक्ताले धर्म र संस्कार नभएको मानिस अनुशासनहीन हुने बताएका थिए । समाजका तर्फबाट गोविन्द सुबेदीले बाह्मणसमाजसँग सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

साधारणसभामा समाजका गतिविधिमा सक्रिय सहभागिता जनाएका धौलागिरी भजन समुह, जडभरत शालग्राम गण्डकी संस्कृत मावि, बाह्मण समाज बरंजा इकाई, भजन समुह, कमला पौडेल, नहकुल ढकाल,जयन्ती सुबेदी आचार्य, बाल मादले सौरब सुबेदी, मन्दिरा पौडेल, टिकाराम आचार्यलाई कदरपत्रले सम्मान गरिएको थियो । समाजका अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, उपाध्यक्ष ठाकुरप्रसाद शर्माको स्वागत र सचिब सचिव हरिप्रसाद पौडेलले कार्यक्रमको सञ्चालनमा सम्पन्न भएको थियो । ब्राह्मण समाजले जिल्लास्तरीय भजनर्कितन,रत्यौली सहित विभिन्न प्रतियोगितामा समेत उपाधी जितेको छ भने म्याग्दीका सबै पालिकाका समाजको गठन तथा विस्तारलाई तिब्रता दिएको छ।

सहयोग जुटाएर म्याग्दीका दुई प्रमुख पर्यटकीयस्थलको म्याप सार्वजनिक

पछिल्लो समय म्याग्दी भित्रिने पर्यटकको प्रमुख आर्कषणकोे केन्द्र मानिएको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको यात्रालाई सहज बनाउन म्याप सार्वजनिक गरिएको छ ।

शनिबार पर्वतबेनीमा एक कार्यक्रम गरी पदयात्रामा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले विभिन्न रङका पोल सहित सम्पूर्ण विवरण सहितको लोकेशन म्याप (स्थानको नक्सा) सार्वजनिक गरिएको हो ।

संविधानसभाका सदस्य गोविन्द पौडेल, प्रतिनिधि सभा पूर्व सदस्य भुपेन्द्रबहादुर थापा, नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष कृष्णप्रसाद बरुवाल, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ र एक्याप धान्द्रुक कार्यालयका प्रमुख भिम उपाध्यायले सामुहिक रूपमा नक्सा सार्वजनिक गर्नुभएको हो ।

एकल वा सामुहिक रुपमा पदयात्रामा आउने पर्यटकलाई सहज रुपमा बाटो पहिचान गरी यात्रा सजिलो बनाउने उद्देश्यलेचन्दा सहयोग सङ्कलन गरेर प्राप्त भएको ६ लाख रुपियाँ खर्चिएर मौरिस हर्जोग ट्रेल र अन्नपूर्ण–धौलागिरि सामुदायिक ट्रेकको नक्सा तयार पारिएको योजनाकार एवम् पर्यटनकर्मी चित्र तिलिजाले बताए ।

‘पहिलोपटक आउने पर्यटकलाई म्यास अनिवार्य जस्र्तै हुन्छ, अब एकल यात्रा गर्दा पनि पर्यटक सजिलै गन्तब्यमा पुग्ने गरी म्याप तयार भएको छ, हामीले यसलाई आजैबाट वितरण गछौं’ पर्यटनकर्मी तिलिजाले भने ।

म्याप बनाउन मोना हङकङले २ लाख आर्थिक सहयोग गरेको छ भने स्थानीय पर्यटन ब्यवसायी, पर्यटन क्षेत्रका जानकारहरू लगायतबाट कुल ६ लाख संकलन गरिएको अभियान्ता तिलिजाको भनाई छ ।

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविरसम्म पुुग्ने पर्यटकको संख्या पछिल्लो दुई बर्षमा ह्वात्तै बढेको अवस्थामा अन्य सुविधासँगै म्याप समेत तयार गरिएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङको भनाई छ ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत अन्नपूर्ण गापा–४ नारच्याङ क्षेत्रमा स्वदेशी पर्यटक नै पदमार्गमा हराउने समस्यालाई म्यापले समाधान गर्ने र पर्यटन विकासमा समेत कोशेढुंगा सावित हुने पर्यटन ब्यवसायीको भनाई छ।

गाउँपलिका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको पर्यटन प्रवर्धन, प्रचार–प्रसार र पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको बताउँदै अब पर्यटकलाई पदमार्गस्थलमै रहेका होटलहरुले सेवा दिने बताए । चालु आवमा अन्नपूर्ण प्रथममा एक करोड २५ लाख लगानीमा पूर्वाधार निर्माण थालिएको छ ।

मौरिस हर्जोग पदमार्गको सबै क्षेत्र म्याग्दीमा पर्छ भने अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको छ ।

दुबै पर्यमार्ग मनोरम ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृंखलाको अवलोकन, एकान्त तथा शान्त स्थल भएकाले प्रकृतिप्रेमी पर्यटकको रोजाइमा पर्ने गरेको छ । पदमार्गमा होमस्टे र सामुदायिक लजको सुविधा समेत छ ।