Sunday, June 8, 2025
30.1 C
Beni
30.1 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 67

मासिँदै सिमल, लोप हुँदै गिद्ध

हिमाली तथा उच्चलेकाली क्षेत्रबाट सिमल प्रजातिको बनस्पति मासिँदै गएको छ । २०६४ सालमा बन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि सिमल मासिँदै गएको हो ।

सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्ध समेत मासिएको जानकारहरु बताउँछन् ।

वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एक दशक बित्न नपाउँदै सिमल सखाप भएकाे वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् । सिमल बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा पाइने सिमललाई अंग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री, कटन ट्री भनिन्छ ।

औषधीय गुण भएको यो वनस्पतिको मासिने क्रम तीव्र छ । त्यसमाथि म्याग्दीमा सिमल लोपोन्मुख बनस्पतिका रुपमा रहेको डिभिजनल वन कार्यालय म्याग्दीले जनाएको छ ।

पछिल्लो समय देशभर नै सिमल मासिँदै छ । सिमल मासिएसँगै गिद्ध, अन्य ठूला चराहरु पनि विस्तारै लोपोन्मुख भएका छन् । सिमलको बोक्राले हात, खुट्टा मर्केको स्थानमा लगाए ठीक हुन्छ, चोट लागेर रगत बगेमा यसको रसले रोक्छ । यसको दानाबाट गम र साबुन बनाइन्छ भने यसको भुवा रगत सफा गर्न समेत प्रयोग गरिन्छ ।

२०४९ सालमा सिमल कटानमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको थियो । तर, सरकारले नै २०६४मा सिमल कटानमा फुकुवा गरेपछि धमाधम सिमलका रुख काटिदा सिमल मासिँदै गएको सापकोटाले बताउनुभयो । सिमल संरक्षण गर्नुपर्ने वनस्पति हो । वन तथा वातावरण क्षेत्रका अगुवा चन्द्रवहादुर कार्कीका अनुसार २०७१को दफा ११को उपदफा ७ मा ‘व्यवसायीकरण हुनसक्ने जडीबुटी एवम् गैरकाष्ठ वन पैदावार खेतीको प्रविधि विकास गरी वन क्षेत्र र बाहिर विस्तार गरिने’ उल्लेख छ । त्यहीभित्र सिमल पनि पर्छ तसर्थ सिमलको सरक्षण गर्न जरुरी छ ।

सिमललाई ‘बम्बाक्स सेइबा’ पनि भनिन्छ । यो बैज्ञानिक नाम हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।

औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखहरू अनुसार सिमलका विविध अवयव विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै, टाउको दुख्दा पातको रस एक/दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२मा प्रकाशित ‘प्लान्ट्स एण्ड पिपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने लेख्नुभएको छ ।

सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेख अनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गरिएको छ ।

आर्युवेदिक चिकित्सक डा. जीवन शर्मा आचार्यका अनुसार महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ । धेरैजसो अनुसन्धानात्मक लेखहरूमा सिमललाई यौनसम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ ।

वन तथा वनस्पति विज्ञ नरहरि आचार्य र राजेश तामाङ लिखित इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल (सन् २०१७) शीर्षकको पुस्तक अनुसार चेपाङ समुदायले पेट दुख्ने, आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् ।

सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ । उल्लेखित अध्ययन र उदाहरणहरूले सिमल औषधिजन्य जडीबुटी रहेको देखाउँछन् । तर, वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् ।

स्वदेशी तथा विदेशी व्यापारीले कम राजश्व तिरेर हाम्रा वनस्पति विदेश निर्यात गर्छन् र तिनै जडीबुटीबाट बनाइएका औषधि हामी महंगो दाममा खरीद गरिरहेका छौं । कतिसम्म भने, निकासी हुने हाम्रा केही वनस्पति कुन प्रजाति हो भन्ने राम्ररी यकिन समेत नगरी व्यापारीलाई छोडपुर्जी दिने गरिएको छ ।

हाम्रा जडीबुटी आफैंले खपत गरी पर्याप्त औषधि उत्पादन गरेर आत्मनिर्भर बन्न सक्ने सम्भावना छ । सिमल नासिएसंगै वातावरणमा समेत असर परेको बताइन्छ ।

वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकारका रूपमा यसलाई लिने गरिन्छ । ‘डाइक्लोफेनिक’ औषधि खुवाइएका पशु मरेपछि गिद्धले खाँदा गिद्ध मर्ने भएकाले राज्यले गिद्धको संरक्षणका लागि उक्त औषधि बिक्री वितरणमा २०६३ साल जेठबाट प्रतिबन्ध लगाएको थियो । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एशियामा ९ र नेपालमा मात्रै ८ प्रजातिका पाइन्छ । पछिल्लो समय गिद्ध पनि लोपोन्मुख भइसकेको छ ।

मुक्तिनाथ मन्दिरमा प्रभु बैंककाे भीम युपिआई सेवा, भारतीय तीर्थयात्रीलाई सहज हुने

प्रभु बैंकले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा भीम युपिआई सेवा सुरु गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेवा सञ्चालनको घोषणा गरेका हुन्।

सेवा सुरुसँगै अब भारतका नागरिकले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्नेछन्।

यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा दिनुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

यो सेवा क्रस–बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको र यसले भारत तथा नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा लैजाने अपेक्षा बैंकको छ।

सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रु सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रु आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ। अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा रु एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ।

त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ। सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म रु ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो। फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात रु आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ।

चालु शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात रु पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापन शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात रु एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात रु सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ। जसमध्ये, कर राजस्वतर्फ रु १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात रु छ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ।

त्यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात रु ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ।

सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ। चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात रु नौ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ। रासस

फ्रि भिसा, रोजगारीको ग्यारेन्टी र डिपेन्डेन्ट भिसाको प्रलोभनमा नपार्न कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयकाे निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक शैक्षिक सेवा उपलब्ध गराउँदा फ्रि भिसा, रोजगारीको ग्यारेन्टी तथा डिपेन्डेन्ट भिसाको प्रलोभनमा नपार्न कन्सल्टेन्सीहरुलाई निर्देशन दिएको छ ।

शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा र तयारी कक्षा सञ्चालनको लागि स्वीकृति प्राप्त गरेका संस्थाहरूको नवीकरणको काम भइरहेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले अनुमति नलिइ शैक्षिक मेला, भेला तथा प्रदर्शनीलगायतका कार्यहरू नगर्न चेतावनी पनि दिएको छ ।

अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी अध्ययनका लागि सिफारिश नगर्न पनि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई भनेको छ ।

मन्त्रालयले विद्यार्थी तथा अभिभावकहरूलाई वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र परामर्श लिने आग्रह गरेको छ ।

अध्ययन गर्न चाहेको शिक्षण संस्थाले उपलब्ध गराउने उपाधि, तह र अवधिको समकक्षता तथा वैधानिकताबारे जानकारी लिन मन्त्रालयको आग्रह छ ।

दुई वडा जोड्ने पक्की पदमार्ग बन्दै, साइकिलिङ गर्न पनि मिल्ने

म्याग्दीको बेनी नगरपालिका वडा नं ८ क्याम्पसचोकदेखि बराहपाखो सामुदायिक बन जोड्ने पक्की पदमार्ग निर्माण भएको छ । डढेलो नियन्त्रणका लागि अग्नि रेखाको समेत काम गर्ने गरी क्याम्पसचोकदेखि वडा नं ७ मा पर्ने बराहपाखो सामुदायिक बन हुदै महारानीथान जोड्ने गरी पदमार्ग निर्माणको कार्य सुरू गरिएको हो ।

बेनी नगरपालिका वडा नं ८ ले चालु आर्थिक बर्षमा साढे ८ लाखको लागतमा करिब १ सय मिटर पक्की पदमार्ग निर्माण भएको क्याम्पसचोक–हिलसाइड हुदै बराहपाखो पदमार्ग उपभोक्ता समितिका अध्यक्ष होमलाल सापकोटाले बताउनुभयो । तीनबर्षदेखि सुरू भएको पदमार्ग निर्माणमा हरेक बर्ष वडा कार्यालयको बजेटबाट निर्माणको कार्य अगाडी बढेको छ ।

‘बस्तीलाई आगलागीबाट जोगाउन अग्नीरेखाको काम पनि गर्छ, आगामी बर्ष थप संरचना बनाउँछौ’ वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले भन्नुभयो ।

क्याम्पसचोकबाट प्रकाश माविको जंगल हुदै बराहपाखोसम्म जोड्ने पदमार्ग मर्निङ तथा इभिनिङ वाक गर्न, साइकिलिङ समेत गर्न मिल्ने गरी बनाइएको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । वडा नं ८ ले आफ्नो सिमासम्म पदमार्ग पुर्याएपछि वडा नं ७ ले बाँकी पदमार्गको काम पुरा गर्ने छ ।

पदमार्ग निर्माण भएपछि क्याम्पसचोक, खरेनी, हिलसाइड क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभान्वित हुने छ भने बेनपा–६,७ र ८ का बासिन्दालाई आवतजावतमा समेत सहज हुने छ ।

बेनपा-८ को वडाको बार्षिक बजेटबाट बजार बाहिरको बस्तीमा सडक तथा पदमार्ग जोड्ने कार्यलाई प्राथमकिता दिएको छ। पदमार्गस्थलबाट सदरमुकाम बेनीबजार, पर्वतबेनी, म्याग्दी र कालिगण्डकी नदी र वरपरका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ ।

 

मर्मतको पखाईमा….

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको जेल्टुङ गाउँमा सडक नजिकै संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको घर । विश्वकै सातौं अग्लो धौलागिरी हिमालको आधार क्षेत्र जाने प्रवेशद्धार मानिने जेल्टुङसम्म सडक पुगेपछि सहर पसेकाहरु समेत गाउँ फर्किने तयारीमा छन् । तस्वीर बेनीअनलाइन

म्याग्दीमा सुन्तलाको उत्पादन अहिलेसम्मकै उच्च, साढे ३३ करोडको सुन्तला निर्यात

हिमाली जिल्ला म्याग्दीमा पछिल्लो केही वर्षदेखि यता सुन्तलाको उत्पादन बढ्न थालेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाको विभिन्न स्थानमा व्यावसायिक रुपमा सुन्तला खेतीलाई जोड दिएपछि उत्पादनमा वृद्धि हुँदै गएको हो ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर कुल ४ हजार ७ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष २५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । जिल्लाको हालसम्म कुल ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती लगाइएको छ भने त्यसमध्ये ४ सय २५ हेक्टर क्षेत्रफलको सुन्तला खेतीले उत्पादन दिएको छ ।
प्रति हेक्टर ११ दशमलव २५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसवर्ष उत्पादित सुन्तलाको सरदर हिसाबमा प्रति केजी ७० देखि ७५ रुपैयाँको दरले जिल्लामा कुल ३३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । जिल्लामा उत्पादन भएको कुल सुन्तलाको परिमाणमध्ये ८० प्रतिशतभन्दा बढी जिल्ला बाहिर खपत हुने गरेको उहाँले बताउनुभयो ।
म्याग्दी जिल्लामा उत्पादित सुन्तलाको मुख्य बजार पोखरा, चितवन, धादिङ र काठमाडौं रहेको केन्द्र प्रमुख बाँस्तोलाको भनाइ छ । सुन्तला पाक्न थालेपछि व्यापारीहरु खरिद गर्नका लागि किसानको बगैंचामा नै पुग्ने गरेका छन् ।
म्याग्दीको बेनी नगरपालिकामा ३ नम्बर वडाको भकिम्ली, मरेक, राखु, ४ नम्बर वडाको बास्कुना, थामडाँडा, ९ नम्बर वडाको काउलेगौंडा, नेप्टेचौर, अन्नपूर्ण गाउँपालिकाको हिस्तान, दोसल्ले, घार, दाना, दोवा, नारच्याङ, रघुगंगाको राखुपिप्ले, भगवती, मंगलाको बरंजा, भोर्लेनी र अर्मन सुन्तलाको पकेट क्षेत्र मानिन्छन् ।
यसैगरी मालिकाको विम, देवीस्थान, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम र धारापानी क्षेत्र सुन्तला उत्पादनको हिसाबले अब्बल मानिने कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दी जिल्लाका व्यावसायिक सुन्तला उत्पादक किसानहरुले स्थानीय जातको सुन्तलाको खेती गर्दै आइरहेका छन् ।
विगतका वर्षहरुको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा धेरै वृद्धि भएको कृषि प्राविधिहरुको भनाइ छ । वर्षेनी जिल्लामा सुन्तला खेती विस्तार हुनुका साथै उत्पादन समेत बढ्दै गैरहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिनुभयो ।
यसवर्ष सुन्तला उत्पादन बढ्नुमा रोग तथा किराको प्रकोप नियन्त्रण, मौसम अनुकुल, सुन्तला खेतीको क्षेत्रफल विस्तार, बगैंचा सुदृढीकरण कार्यक्रम र किसानहरुलाई आवश्यक तालिम, गोष्ठी दिनुका साथै बिऊमल, विषादी, औजार–उपकरण र अनुदान सहयोग भएकाले उत्पादनमा वृद्धि भएको जनाइएको छ ।
हिमाली जिल्लामा सूचीकृत भए पनि म्याग्दीमा व्यावसायिक सुन्तला खेती फस्टाउँदै जान थालेपछि गण्डकी प्रदेश सरकारले सुन्तलाजात फलफुल उत्पादनमा विशेष जोड दिएको छ । म्याग्दीलाई आलु खेतीपछि नगदे बालीतर्फ सुुन्तला धेरै उत्पादन हुने जिल्लाको रुपमा लिन थालिएको छ । कृषि ज्ञान केन्द्रले स्थलगत रुपमा सुन्तलाको बगैंचामा पुगेर किसानहरुलाई आवश्यक प्राविधिक ज्ञानलगायत कृषि औजार तथा उपकरणमा सहयोग गरिरहेको छ ।
संघ, प्रदेश र स्थानीय सरकारले किसानहरुलाई लक्षित गरेर कृषि उत्पादन सम्बन्धी विभिन्न कार्यक्रमहरुमार्फत प्रोत्साहन तथा अनुदान सहयोग गरेपछि विदेशबाट फर्किएका किसानहरु समेत व्यावसायिक तरिकाले कृषि, फलफुल र पशुपालनको क्षेत्रतर्फ आकर्षित भएर लागिपरेका छन् । किसानहरुले अन्न उत्पादन हुने पाखोबारी तथा खेतलाई मासेर सुन्तला खेतीमा रुपान्तरण गरेका छन् ।
विगतमा धान, मकै, कोदो, जौ, तोरी, ऊवा, फापरलगायत खाद्यान्न बाली उत्पादन हुने जग्गामा अचेल व्यावसायिक रुपमा सुन्तलालगायत नगदे बालीको उत्पादन हुँदै आएको छ । सुन्तला खेती म्याग्देली किसानहरुको मुख्य आम्दानीको स्रोतका रुपमा विकास भैरहेको छ । सुन्तला खेतीबाट सामान्य किसानले न्यूनतम ५०÷६० हजारदेखि अधिकतम दशप्रन्ध लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।

म्याग्दी हिमाली जिल्ला भएको ६ बर्ष वित्यो, कार्यान्वयनमा अझै आलटाल

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

गएको फागुन १९ गते म्याग्दी जिल्लालाई नेपाल सरकारले २१ औं हिमाली जिल्ला घोषणा गरेको ६ बर्ष पूरा भएको छ । बि.स २०७५ फागुन १९ मा राजपत्रमा प्रकाशित गरेपनि अहिलेसम्म कागजमा मात्रै सिमित भएको छ ।

छिमेकी मुस्ताङ सहित अन्य हिमाली जिल्लाले पाउने सेवासुविधाबाट म्याग्दी बन्चित छ । हिमाली जिल्ला घोषणा भएपछि विकास निर्माण सहित आवश्यक पूर्वाधारमा बजेटको आकार बढ्नु त परैको कुरा कर्मचारी, शिक्षकले हिमाली मापदण्ड अनुसारको सेवा, सुविधा र अवसर पनि पाएका छैनन् ।

कागजमा ६ बर्षदेखि फेरिएको म्याग्दीको परिचय घोषणामा मात्रै सिमित भएको भन्दै कार्यान्वयनका लागि आबाज उठेपनि सुनुवाइ भएको छैन ।तत्कालिन समयमा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा घोषणा भएको हिमाली जिल्लाको मापदण्ड कार्यान्वयनका लागि हालका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले सदनमै कार्यान्वयनका लागि आवाज उठाए पनि सफल हुन सकेको छैन् ।

प्रतिनिधिसभाको बैठक, अन्य विभिन्न कार्यक्रमहरुमा समेत हिमाली जिल्लाको सुविधा कार्यान्वयनका लागि दबाब भने कायमै रहेको प्रतिनिधिसभा सदस्य गर्बुजाको भनाई छ । हिमाली जिल्लाका नाममा छिमेकी मुस्ताङ सहित अन्य जिल्लाले बर्षेनी बजेटको आकार तथा अन्य विभिन्न सुविधा प्रयोग गरिरहेका छन् ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले निर्णय गरेपछि संचार क्षेत्रमा हिमाली जिल्ला कार्यान्वयनको माग सहित नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल, सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारी सह–सचिव प्रदीप परियारलाई समेत ज्ञापनपत्र बुझाइसकेको छ । हिमाली जिल्लाको कार्यान्वयन नहुदाँ म्याग्दी जिल्लाले स्रोतसाधनको पहुँचमा अवसर गुमाइरहेको जानकारहरु बताउँछन् ।

सेवासुुविधा सहित बजेटमा समेत हिमाली जिल्ला प्राथमिकतामा पर्छ । विश्वकै सातौ अग्लो धौलागिरी हिमाल,१० औं अग्लो अन्नपूर्ण हिमाल सहित ५१ बढी सानाठूला चुचुरो रहेको म्याग्दीको भौगोलिक विकटता सहित अन्य कारणले समेत हिमाली जिल्लाको सूचीमा पर्नु राजनीतिक पहुँच नभई पहिचानको आधार भएपनि कार्यान्वय अझै नहुनु दुखद् भएको नेकपा एमालेका नेता एवम् पूर्व प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताउनुभयो ।

‘मैले राजपत्रमा प्रकाशित गर्न मात्रै धेरै समय खर्चिएको थिए, कार्यान्वयन नहुनुमा दबाब कम भएर हुनसक्छ’ थापाले भन्नुभयो ।

हिमाली जिल्लामा सूचिकृत भएको अवस्थामा कर्मचारी, शिक्षक तथा गैरसरकारी संस्थामा आवद्ध भएकाले प्राप्त गर्ने अतिरिक्त आर्थिक सुविधा,कार्यसम्पादन मुल्याङ्कनमा समेत कुनै हेरफेर भएको छैन्।

अति विकट मानिएका बस्तीहरूमा रहेका कर्मचारीले सुगमको जस्तै सुविधा लिनुपरेको छ। सूचिकृत हुदाँ उत्साहित जिल्लाबासी दैनिक सरोकार राख्ने शिक्षा,स्वास्थ्य, कृषी, पशु÷भेटेनरी समेतका कार्यक्रम पहाडी जिल्लाकै निरन्रतता छ ।

यसैबीच म्याग्दीमा कार्यरत नेपाल प्रहरीले बागलुङ र पर्वतको तुलनामा रासनपानी र अन्य सुविधा समेत कम पाउने गरेका छन् । रासनसुविधाका लागि बागलुङ भन्दा धेरै हुनुपर्नेमा म्याग्दीमा कम भएपनि भौगोलिक विकटता र हिमाली जिल्लाको कारण पनि हेरफेर हुनुपर्नेमा भएको छैन् ।

पशुपक्षीमा एन्टिबायोटिकको जथाभाबी प्रयोग हुँदा मानिसमा समेत समस्या

पशुपक्षीमा एन्टिबायोटिकको अत्यधिक प्रयोगले मानिसलाई समेत समस्या आउन थालेपछि औषधि व्यवस्था विभागले बिक्रीमा कडाइ गरेको छ ।

पशुपक्षीमा एन्टिबायोटिकको जथाभाबी प्रयोगले मासु, दूध तथा अण्डाको माध्यमबाट मानिसमा पुग्ने र मानिसमा समेत औषधिले काम नगर्ने अवस्था आएपछि सूचना निकालेर सचेत गराएको विभागले जनाएको छ ।

विज्ञहरूले एन्टिबायोटिक औषधि प्रभावकारी हुन छाड्नु चिन्ताको विषय भएको बताउँछन् । विभागले निकालेको सूचनामा ६ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न भनिएको छ । अत्यावश्यक अवस्थामा चिकित्सकको सिफारिशमा प्रयोग गर्नुपर्ने र त्यस्ता औषधि अस्पतालहरूमा फार्मेसीबाट मात्रै बिक्री गर्नुपर्ने विभागले जनाएको छ ।

ब्याक्टेरियाविरुद्ध प्रयोग हुने एन्टिबायोटिक औषधिहरूको नेपालमा व्यापक दुरुपयोग भइरहेको गुनासो आएपछि सूचना निकाल्नुपरेको विभागले जनाएको छ । नेपालमा कृषि क्षेत्रमा समेत उत्पादन बढाउन एन्टिबायोटिकको प्रयोग अनावश्यक रूपमा बढ्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा प्रयोग हुने भेटरीनरी औषधि र पूरक दानामध्ये झन्डै १३ प्रतिशत एन्टिबायोटिकको हुने गरेको छ । एन्टिबायोटिकको अत्यधिक प्रयोग हुने विश्वका ३० देशको सूचीमा नेपाल पनि पर्छ । पशुपक्षीलाई छिटो बढाउन वा धेरै दूध आउने बनाउनका लागि एन्टिबायोटिक प्रयोग हुने गरेको छ । Source: ujyaaloonline.com

म्याग्दीमा होली हर्षोल्लासपूर्वक मनाइयो

रङहरुको पर्व होली यसवर्ष म्याग्दीमा हर्षोल्लासपूर्वक मनाइएको छ । यस वर्षको फागुपूर्णिमा अर्थात् (होली) पर्व सदरमुकाम बेनीबजारसहित जिल्लाको ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरुमा साथीभाई र आफन्तहरुबीच एकापसमा रङ लगाएर मनाइएको हो । होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले आ–आफ्नो उमेर समूह बनाएर एक अर्कामाथि विभिन्न प्रकारका रङहरु दलेर शुभकामना साटासाट गरी होली पर्व मनाएका छन् ।

होली पर्वमा साना बालबालिका, युवापुस्ता, शिक्षक, विद्यार्थी, सर्वसाधारण, उद्योगी, व्यापारी, कर्मचारी, संघसंस्था लगायतले सहभागिता जनाएका थिए । होलीमा विभिन्न प्रकारका रङ लगाउँदै म्युजिकको तालमा गाउँदै, नाच्दै युवापुस्ता र बालबालिकाहरु रमाए।

स्कुले बालबालिकाहरुले समेत आ–आफ्नो अनुहारमा विभिन्न किसिमका रङहरु दलेर होली पर्व मनाएका छन् । बेनीबजारका सडक तथा गल्लीसँगै घरका ब्रान्ड र छतबाट पानी छ्याप्ने, लोला हान्नुका साथै अबिर फ्याँकेर रमाइलो गरिएको थियो । यसैगरी अण्डा समेत प्रहार गरिएको थियो ।

होलीमा सहभागी युवाहरु गीतसङ्गीतमा छमछमी नाचेका थिए । बेनीबजारसहित जिल्लाको अन्य बजार क्षेत्रमा होली विशेष कार्यक्रम गरिएको छ ।

यसैबीच म्याग्दी जेसीजको आयोजनामा खुल्लामञ्चमा होली विषेश कार्यक्रम गरिएको छ । गायक सम्भोज मल्ल, चन्द्र पुन लगायतको प्रस्तुत रहेको थियो । होलीलाई लक्षित गरी प्रहरीले बेनीबजार तथा आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएको थियो । म्याग्दीमा शान्तिपूर्ण रुपमा होली पर्व मनाइएको र अप्रिय खालको कुनै पनि घटना नघटेको म्याग्दी प्रहरीले जनाएको छ ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिहरुमध्ये होलीको आफ्नै किसिमको महत्व रहेको छ । रङहरूको पर्व होलीको दिन पुराना कटुता समाप्त गर्ने, नकारात्मक सोचको अन्त्य गरी खुसी साट्ने दिनका रुपमा पनि होली मनाउने गरिएको पाइन्छ ।

होलीमा लगाइने रङहरुको आ–आफ्नै विशेषता रहेकाले अरुको भावना विपरित रङ लगाउनु पर्वको मान्यताभन्दा बाहिर हुनेहुँदा सहमति र सहकार्यका लागि होली पर्वको महत्व रहेको छ ।हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीहरुको रङको पर्व होलीको आफ्नै खालको विशेषता रहेको छ । थकाली समुदायमा प्रमुख चाडका रुपमा मानिने हुँदा उनीहरुले मङ्गलबारदेखि नै होली पर्व मनाउन सुरु गरेका छन् ।