Sunday, June 29, 2025
21.1 C
Beni
21.1 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 701

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई गोल गर्दा कप्तान लिओनल मेसीले एक गोल गरे।

खेलको सुरुमा क्रोएसियाले अर्जेन्टिनामाथि दबाब बढाएको थियो। तर क्रोएसियाले कुनै आक्रमण भने बुन्न सकेन।

बिस्तारै खेलमा हाबी हुन थालेको अर्जेन्टिनाले खेलको ३४ मिनेटमा अग्रता लियो। अर्जेन्टिनाका मेसीले पेनाल्टीमा गोल गरे।

क्रोएसियाका गोलकिपर लिभाकोभिकले अल्भारेजलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।

जारी विश्वकपमा पाँच गोल गरिसकेका मेसीको समग्र विश्वकपको एघारौं गोल हो।

३९ मिनेटमा अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। उनले मध्यभागबाट एकल प्रयासमा बल अघि बढाउँदै गोल गरेका थिए।

गोल गर्नुअघि दुई पटक नियन्त्रण गुमाए पनि अल्भारेजले क्रोएसियन डिफेन्डरलाई छक्याएका थिए। अन्तिममा क्रोएसियन गोलकिपरलाई पनि बिट गर्दै उनले सिक्स यार्डभित्रबाट सानदार गोल गर्न सफल भए।

खेलको ६९ मिनेटमा अर्जेन्टिनाले तेस्रो गोल गर्न सफल भयो। कप्तान मेसीले मिहिनेत गरेर उपलब्ध गराएको उत्कृष्ट पासमा अल्भारेजले वान टचमा बललाई जाली चुमाएका थिए।  क्रोएसियाविरुद्ध दुई गोल गरेसँगै अल्भारेजले जारी विश्वकपमा आफ्नो गोल संख्या चार पुर्‍याएका छन्।

अर्जेन्टिना आठ वर्षको भित्रमा दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। यसअघि अर्जेन्टिना सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। त्यतिबेला फाइनलमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिनाको सपना चकनाचुर भएको थियो।

अब उपाधिका लागि अर्जेन्टिनाले आइतबार राति फ्रान्स वा मोरक्को मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता फ्रान्स र मोरक्कोबीच बुधबार राति दोस्रो सेमिफाइनलको खेल हुनेछ। source Setopati.com

आर्थिक अभावले शिशुको उपचारमा कठिनाइ, सहयोगको याचना

काठमाण्डौको टिचिङ अस्पतालको बाल कक्षको बेड नं ८७९ मा ९ महिने शिशु आरभ सिर्पाली आमाको काखमा छटपटाइरहेका छन् । जन्मिएको केहीदिनमा अस्वभाविक रुपमा टाउको फुलेपछि मनदेवी घर्ती सुनार छोराको उपचारका लागि अस्पतालमा छिन् ।

गएको जेठ २० गते र कात्तिक २० गते गरी दुईपटक टाउकोको शल्यक्रिया गरिएपनि निको नभएपछि चिकित्सकको सल्लाह अनुसार तेस्रो शल्यक्रियाका लागि अस्पतालमा पुगेकी म्याग्दी धवलागिरी गाउँपालिका वडा नं ४ मुदीको खिवाङकी मनदेवीसँग छोराको उपचारमा आवश्यक पर्ने आर्थिक छैन् ।

असह्य पीडाले काखमा रुँद छटपटाइरहेको छोराको उपचारमा जुटाएको आर्थिक सकिएपछि मनदेवी भक्कानिएकी छन् ।छोराको उपचारलाई केही सहज बनाउन र घरखर्च चलाउन भन्दै तीन महिना अगाडी मलेसिया गएका श्रीमान राम सुनारले समेत खर्च पठाउन सकेका छैनन् ।

शिशुलाई चिकित्सकले सिफारिस गरेको पोषण लगायतको खानेकुरा समेत खुवाउन समस्या भइरहेको छ । छोराको उपचारका लागि मात्रै नभई सामान्य खर्च गर्ने पैसाको जोहो गर्न नसक्ने अवस्था भएपछि मनदेवीले अस्पतालको शैयाबाटै सहयोगको याचना गरेकी छन् ।‘छोराको अर्को अप्रेशनका लागि पैसा छैन्,‘अहिले थोरैथोरै सहयोग जुटेको छ, अझै धेरै खर्च लाग्छ’ मनदेवीले भनिन् । उनले विगतमा गरिएको अप्रेसन सहित नियमित औषधी सेवनमा धेरै खर्च भएकाले अव आर्थिक संकलन नगरी उपचार सम्भव नभएको बताईन् ।

चिकित्सकले अप्रेसन सहित नियमित औषधी सेवन लगायत आवश्यक खर्च जुटाएपछि सहज उपचार हुने बताएको उनले बताईन् । ‘सहयोग गरी मेरो छोरा बचाइदिनुहोस्,‘हामीसँग भएको सबै पैसा सकियो’ मनदेवीले भनिन् । उनले विगतमा सहयोग र ऋण संकलन गरी उपचार गरेको बताईन् । यसैबीच शिशुको थप उपचारका लागि आर्थिक संकलन अभियान समेत सुरु गरिएको आशिष परियारले बताए । उनका अनुसार आर्थिक सहयोगसँगै काठमाण्डौमा भएकालाई अस्पतालमा पुगेर समेत सहयोग गर्न अपिल गरेका छन् ।

थप जानकारी-:  मनदेवी सिर्पाली-9866003909

 

रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन

जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदिशचन्द्र जोशी सहितको टोलीले मंगलबार मालिका गाउँपालिका–६ को रातोढुङ्गा र ७ को डाडाखेतमा निर्माणाधिन सवस्टेशनको अनुगमन गर्नुभएको थियो ।

अनुगमनपछि उहाँहरुले सम्बद्ध आयोजनाका प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउन निर्देशन दिनुभएको हो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले डाडाखेत देखि राहुघाट जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको छ । प्राधिकरण मार्फतनै सञ्चालित चार वर्षअघिनै सकिनुपर्ने ३३÷११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशनको काम अझै पुरा भएको छैन् ।

रातोढुंगा सबस्टेशन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन बिस्तार र विद्युत आपुर्ति प्रभावित भएको मालिका गाउँपालिका–१ का वडा अध्यक्ष टंकप्रसाद पुनले बताउनुभयो ।  मिलनचोक देखि रातोढुङ्गा जोड्ने प्रशारण लाइनको पोल गाड्न र तार तान्ने क्रममा विवाद भएपछि काम प्रभावित भएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।

५०० पोल गाडेर तार तान्नुपर्नेमा सिमलचौर लगायतका ठाउँमा जग्गाधनीले बिरोध गरेपछि ५० वटा पोल गाड्न र तार तान्ने काम रोकिएको उहाँले बताउनुभयो । २०१६ मा एटुजेड इञ्जिनियरिङले कम्पनीले ठेक्का लिएको यो आयोजना ढिलाई हुनुमा निर्माण कम्पनीको पनि कमजोरी भएको आयोजना प्रमुख ढकालको भनाई छ ।

पोल पर्ने जग्गाका धनीको अबरोधले पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइन निर्माण प्रभावित भएको छ । रु. आठ करोडमा सन २०१६ मा ठेक्का सम्झौता भएको सबस्टेशन र प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि पूर्णता पाएको छैन् ।

निर्माण कम्पनीका प्रतिनिधि सागर लुइटेलले सवस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । कन्ट्रोल रुमको भवन निर्माण अन्तिम चरणमा छ । बिवाद समाधान गरेर पोल गाड्ने र तार तान्ने वातावरण भएमा दुई महिनाभित्र सवस्टेशन चार्ज गर्ने लक्ष्य सहित काम थालेको लुइटेलले बताउनुभयो ।

वर्खामा केही ठाउँमा गाडेका पोल बगाएको छ । हालसम्म पोल गाड्ने, दुई वटा भवन बनिसकेको आयोजनाका लागि ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । पोल गाडिएको ठाउँमा तार समेत तानेका छन् । कर्मचारी आवास र प्रशासनिक भवन अधुरा छन्  ।

सवस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले स्थानीय स्तरमा देखिएका समस्या प्रशासन र पालिका, वडासँग समन्वय गरेर समाधान गरी काम गर्ने वातावरण बनाउने बताउदै घोषणा र प्रतिवद्धता अनुसार काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

गत जेठ महिनादेखि आयोजनाका अधिकारी, प्राविधिक, निर्माण ब्यवसायी र मजदुरहरु आयोजना स्थलमा थिएनन् । केही दिनअघि आएर काम गर्न थालेका छन् । रातोढुंगा सवस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालीका र मंगला गाउँपालीकामा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवा विस्तारमा सहज हुने नेपाल बिद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।

“हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपुर्ति गराउदाँ समस्या भएको छ,” उहाँले भन्नुभयो “२० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन समस्या भएको छ ।”

म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन डाडाखेतमा सवस्टेशन र प्रशारण लाइन निर्माण शुरु भएको हो । डाडाखेतमा ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सवस्टेशनका उपकरण राख्ने ठाउँ बनाउन शुरु भएको र प्रशारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

सन २०२१ को डिसेम्वर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधी ३० महिनाको छ ।

ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर स्वीचार्ड र कन्ट्रोल भवन निर्माण थालेको छ ।   डाडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गर्न मिल्ने संरचना निर्माण भइरहेको छ । प्राधिकरणका निर्देशक जोशीले निर्माण कम्पनीलाई मजदुर, उपकरण थपेर निर्माणको कामलाई तिब्रता दिन निर्देशन दिनुभयो ।
एशियाली बिकास बैंकको ऋणमा प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् । १२ वटा जलविद्युत आयोजना निर्माणको क्रममा छन् ।

मृगौला पीडित गोपाल पूर्जालाई नेपाली कांग्रेस भूरुङ तातोपानीको सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२,भुरुङ तातोपानीका एक मृगौला पीडितलाई नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं २ ले उपचारका लागि ३ लाखभन्दा बढी सहयोग गरेको छ । दुवै मृगौला फेल भएपछि पोखरामा उपचारार्थ गोपाल पूर्जाको मृगौला प्रत्यारोपणका लागि ३ लाख २६ हजार ३१५ रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । मंगलबार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा र प्रदेशसभाका सदस्य हरि भण्डारीले पीडित पूर्जाकी श्रीमति सुमित्रा पूर्जालाई हस्तान्तरण गर्नुभएको थियो ।

भुरुङ तातोपानीमा पशुपालनमा संलग्न पूर्जाको उपचारको क्रममा दुबै मृगौलामा समस्या देखिएपछि डायलासिस र नियमित औषधीमा सहयोग गर्ने उदेश्यले आर्थिक संकलन गरिएको गोपाल पूर्जा बचाउ अभियानका अमृतमान शेरचनले बताउनुभयो। सहयोग हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजाले विपिन्नको उपचारमा सहज हुने आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाउनुभएको थियो ।

मृगौला प्रत्यारोपणका लागि नेपालमा अझै कानुनी झन्झटका कारण पूर्जा भारतमा प्रत्याारोपणका लागि जाने तयारीमा रहेको गोपाल पूर्जा बचाउ अभियानले जनाएको छ । यसैबीच प्रत्यारोपण सहित अन्य विभिन्न खर्च हुने भएकाले सहयोग अभियानमा साथ दिन समेत अपिल गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले १० अति विपन्न परिवारको परिवारको निशुल्क स्वास्थ्य बीमा

राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले बेनी नगरपालिकाभित्रका विपन्नको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। चरम गरिबीकै कारण वार्षिक ३ हजार ५ सय रुपियाँ तिर्न नसक्नेको पहिचान गरी संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बैंकले १० परिवारलाई सहयोग गरेको हो । बेनी नगरले तयार गरेको तथ्याङ्कमा परेका अति विपन्नलाई स्वास्थ्यको पहुँचमा पु¥याउँन निशुल्क बीमा कार्यक्रम अन्तरगत गैर सरकारी संस्था संगम म्याग्दीको साझेदारीमा सहयोग गरिएको बैंकका बेनी शाखा प्रबन्धक नवराज ढुंगानाले बताउनुभयो ।

‘विपन्नलाई वित्तिय साक्षरता कार्यक्रममा समेत जोडेका छौ,‘वित्तिय पहुँच नपुगेकालाई हामीले संस्थागत सेवामा प्राथमिकता दिएका छौ’ प्रबन्धक ढुंगानाले भन्नुभयो । म्याग्दीमा क्रियाशिल संगम म्याग्दीले सिफारिसमा बैंकले २ जनाको नविकरण तथा ८ जना नयाँलाई स्वास्थ्य विमा गरिदिएको बैंकले जनाएको छ ।

स्वास्थ्य विमा हस्तान्तरणसँगै रत्नेचौर, घतान, पुलाचौर, पात्लेखेत र सिंगामा गरी ५ वडामा वित्तिय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । स्वास्थ्य विमा हस्तान्तरण कार्यक्रममा मेयर केसीले विपिन्नको समस्या समाधान तथा आत्मनिर्भर बनाउने अभियानमा सक्रिय रहेको बताउनुभएको थियो ।

‘विपन्नलाई निशुल्क विमामा वित्तिय संस्थाको सहयोग आवश्यक छ,‘यूवालाई फाईनान्सियल ट्रेनिङका कार्यक्रम ल्याउन पहल गरिरहेका छौ’ मेयर केसीले भन्नुभयो। बेनी नगरमा कार्यक्षेत्र बनाएका वित्तिय संस्थाले सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुलाई तालिम, विपन्नलाई सहयोग र सहुलियतमा कर्जामार्फत आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका रहेको मेयर केसीको भनाई थियो ।

जन्मदिन मनाउन बोलाएर बालिकालाई बलात्कार !

फेसबुकमा चिनजान भएका ३ जना बालिकालाई जन्मदिन मनाउन भन्दै बोलाएर बलात्कारमा गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । १ जना १६ र २ जना १५ वर्षका बालिकालाई बलात्कार गरेर फरार भएको आरोपमा धादिङ घर भएर पोखरा महानगरपालिका-८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा-१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा-८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो।

फरार भएका सन्दीप र राहुललाई प्रहरीले बागलुङ बजार र अशोकलाई काठेखोला गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । २३ गते साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका उनीहरु नफर्किएपछि परिवारले खोजी गर्दा २५ गते बागलुङ बजारको होटलमा फेला परेका थिए ।

प्रहरी र आफ्न्तको सोधपुछको क्रममा बालिकाहरु बलात्कारमा परेको खुलेको थियो । पक्राउ परेकाहरुले बालिकालाई जन्मदिन मनाउने भन्दै बोलाएको प्रहरीले जनाएको छ । पीडित बालिकाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।

म्याराडोनाको विश्वकप कीर्तिमान नजिक मेस्सी

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आफ्नै देशका डिएगो म्याराडोनाको नाममा रहेको सर्वाधिक ८ गोल असिस्टको कीर्तिमान नजिक पुगेका छन् । मेस्सीले अब एक गोल असिस्ट गरे म्याराडोनाको विश्वकपमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमानसँग बराबरी गर्नेछन् । जारी विश्वकपमा मेस्सीले ४ गोल र २ असिस्ट गरिसकेका छन् । उनले विश्वकपमा हालसम्म ७ गोल असिस्ट गरेका छन् । यसअघि मेस्सीले पाँचवटा विश्वकपमा गोल असिस्ट गर्ने विश्व कप कीर्तिमान बनाएका थिए ।

यस्तै उनले विश्वकपको एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरको खेलाडीका रुपमा पनि विश्व कीर्तिमान बनाइसकेका छन् । मेस्सीले अब एक गोल गर्न सके विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान पनि बनाउनेछन् ।अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध गोल गर्दै उनले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याए । त्यही गोलमार्फत विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा गाब्रियल बाटिस्टुटाको १० गोलको कीर्तिमानसँग मेस्सीले बराबरी गरेका छन् । nepalpress

‘झमझम पर्यो पानी गुर्जा घाटैमा‘

‘झमझम पर्यो पानी गुर्जा घाटैमा जाडो बढ्यो, सानी, आऊ न काखैमा झमझम पर्यो पानी’ …यो गीत पछिल्लो समय संगीतका पारखीको जिब्रोमा झुण्डिएको छ । टिकटक र युट्युवमा निकै रुचाइएको छ । बिना कुनै तामझाम, सामान्य पोशाक र घुम्न निस्किएको अवस्थामा तयार पारी ‘केटाहरू‘ नाम गरेका युट्युब च्यानलबाट भिडियो रिलिज भएको केही दिन भ्यूज सुस्त थियो ।

म्याग्दीको सदरमुकाम बेनीबजार हुदै पश्चिम म्याग्दीका विभिन्न बस्ती हुदै लुलाङ,,गूर्जाखानी लगायत विभिन्न बस्ती र स्थानलाई समेटिएको गीत गीतसंगीतमा स्थापित कलाकारका साथै विभिन्न क्षेत्रमा आफ्नो फरक पहिचान बनाएकाले समेत गीतमाथि टिकटक बनाएपछि गीत युट्युबको ट्रेन्डिङ २ मा आयो । एक्कासी चर्चामा आएको यो गीत अहिले पनि टिकटकमा निकै रुचाइएको छ । गीतमा म्याग्दीको सदरमुकाम बेनी, लुलाङ, मरेनी, देउराली, म्याग्दी नदी र गूर्जाखानीको धेरै चर्चा गरिएको छ ।

Video Link- झमझम पर्यो पानी …

धवलागिरी गाउँपालिका–२,लुलाङका जेम्स सिर्पाली र उनका साथी मिलन न्यौपानेको रचनामा तयार गरिएको गीतको म्यूजिक भिडियोको निर्देशन किशोर महर्जनले गरेका छन् भने स्वर प्रसन्न शाहको रहेको छ । चार जना यूवाहरू घुम्न गएको बेलामा भ्लग बनाएजस्तै गरी तयार गरेको म्यूजिक भिडियोले म्याग्दी जिल्लाको लुकेको बस्ती मानिने गूर्जा र दलितको बसोबास रहेको लुलाङलाई चिनाउन सफल भएको छ ।

भौगोलिक रुपमा विकट लुलाङ र गूर्जाको अवस्था, विवशता,बाध्यता।का साथै सम्भावनालाई गीतमार्फत सार्वजनिक गर्ने प्रयास गरेको रचनाकार लुलाङका जेम्स सिर्पालीले बताए । ‘सबै म्याग्दीलाई समेटेर गीत तयार पर्दा लामो हुने भएपछि पश्चिम क्षेत्रलाई मात्रै समेट्ने प्रयास गरियो’ सिर्पालीले भने ।

उनले गीतमा उल्लेख गरिएका क्षेत्र पश्चिम म्याग्दीको गहनाको रुपमा रहेको बताए ।प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको भएपनि लुलाङ र गूर्जाका बसोबास गर्नेले धेरै किसिमका दुख, कष्टको सामना गर्नुपरेको अवस्था रहेको सिर्पालीको भनाई छ ।

‘यो गीतले म्याग्दीलाई चिनाउन सफल भएको छ,‘अब थप तयारीसँगै आउँदैछौ’ उनले भने । उनले गूर्जाघाटबाट जलजला जाने क्रममा ठुलो बर्षा भएपछि गीतको बोल राखिएको बताए । करिब एकसाता म्याग्दीमा बिताएर तयार पारिएको भएपनि बर्षाका कारण मुख्य केही गन्तब्यमा जान असफल भएको निर्देशक महर्जनले भने ‘गीत बलियो भए भिडियो आफैं चल्छ भन्ने सन्देश दिन सफल भएका छौ’ उनले भने ।

पहिलोपटक म्याग्दीको विभिन्न स्थान घुम्दा कहिल्यै क्यामेराको सामना नगरेकाहरू समेत भिडियोमा नाच्न आउँदा उत्साहित भएको बताए । कलिला बालबालिकादेखि पाका सबै उमेर समूहका स्रोता–दर्शकले रुचाइदिएकोमा समुहका सदस्यहरू उत्साहित छन् । गीत चल्नुको अर्को महत्वपूर्ण पाटो त यसमा म्यूजिक भिडियोमा अनावश्यक तयारी गरिएको छैन भने ठाटीको धुरीमा चढेर समेत अभिनय, स्थानीयलाई समेत नाचगानमा जोड्ने समेत रहेको छ ।

सरल शब्द र ओझेलमा परेका स्थान, त्यहाँका मानिसको दैनिकीलाई उतारेका कारण दर्शकले गीतलाई रुचाइदिएको टोलीको ठम्याइ छ । गीतमा शब्दहरुको मिठास बेग्लै सुनिन्छ । जस्तै,’ म्याग्दी खोला बगी आयो गुर्जा खानीबाटजीवनभरि साथ दिन्छु, समाऊ मेरो हात, । मोटरमा घुम्न जानी बेनीको बजार ।’ टोलीको पहिलो गीतलाई सबै उमेर समूहका स्रोता–दर्शकले रुचाइदिएकोमा उत्साहित छन् । यो गीत एक महिना यता युट्युवमा झण्डै २६ लाख ३१ हजारले हेरेका छन् भने सयौंले टिकटकमा रुचाएर अभियन गरेका छन् ।

झमझम पर्यो पानी …
झमझम पर्यो पानी गुर्जा घाटैमा
जाडो बढ्यो, सानी, आऊ न काखैमा
झमझम पर्यो पानी गुर्जा घाटैमा
जाडो बढ्यो, सानी, आऊ न काखैमा
मुनाल गाम्छ “कति राम्रो जोडि”
मरेनीको मुनाल गाम्छ “कति राम्रो जोडि”
घर मेरो लुलाङ हो, बसाई सर्ने हो कि?
आहै, झमझम, झमझम, झमझम पर्यो पानी
झमझम, झमझम, झमझम पर्यो पानी
झमझम, झमझम, झमझम पर्यो पानी
(सररररररर) झमझम, झमझम, झमझम पर्यो पानी
म्याग्दी खोला बगी आयो गुर्जा खानीबाट
जीवनभरि साथ दिन्छु, समाऊ मेरो हात
मोटरमा घुम्न जानी बेनीको बजार
मया लाउन लेख्या रैछ दैवले जुरार
आहै, झमझम पर्यो पानी गुर्जा घाटैमा
जाडो बढ्यो, सानी, आऊ न काखैमा
झमझम पर्यो पानी गुर्जा घाटैमा
जाडो बढ्यो, सानी, आऊ न काखैमा
मरेनीको मुनाल गाम्छ “कति राम्रो जोडि”
मरेनीको मुनाल गाम्छ “कति राम्रो जोडि”
घर मेरो लुलाङ हो, बसाई सर्ने हो कि?
आहै, झमझम, झमझम, झमझम पर्यो पानी
झमझम, झमझम, झमझम पर्यो पानी
झमझम, झमझम, झमझम पर्यो पानी
(सररररररर) झमझम, झमझम, झमझम पर्यो पानी
तागमबाट उभोउभो लागेको गोरु
तिमीबिना यो जीवन ‘बाँचूँ कि मरूँ’
तागमबाट उभोउभो लागेको गोरु
तिमीबिना यो जीवन ‘बाँचूँ कि मरूँ’
देउरालीमा बोको काटी भाकल गरी आछु
देउरालीमा बोको काटी भाकल गरी आछु
टुनामुना पिरती, पागलै भाछु
आहै, झमझम, झमझम, झमझम पर्यो पानी
झमझम, झमझम, झमझम पर्यो पानी
झमझम, झमझम, झमझम पर्यो पानी
(सररररररर) झमझम, झमझम, झमझम पर्यो पानी
झमझम पर्यो पानी गुर्जा घाटैमा
जाडो बढ्यो, सानी, आऊ न काखैमा
झमझम पर्यो पानी गुर्जा घाटैमा
जाडो बढ्यो, सानी, आऊ न काखैमा
मरेनीको मुनाल गाम्छ “कति राम्रो जोडि”
मरेनीको मुनाल गाम्छ “कति राम्रो जोडि”
घर मेरो लुलाङ हो, बसाई सर्ने हो कि?
आहै, झमझम, झमझम, झमझम पर्यो पानी
झमझम, झमझम, झमझम पर्यो पानी
झमझम, झमझम, झमझम पर्यो पानी
(सररररररर) झमझम, झमझम, झमझम पर्यो पानी
झमझम

मालढुंगा–बेनी सडक ! काम छोडेर ठेकेदार सम्पर्कविहीन

निर्माण सामग्री अभाव देखाउँदै व्यवसायीले काम रोकेपछि करिब दुई महिनादेखि मालढुंगा–बेनी सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन । १३ किलोमिटर दूरीको सडक दुई लेनमा विस्तार गरी कालोपत्र गर्न २०७७ चैतमा एपेक्स खड्गकृष्ण जेभीले ठेक्का सम्झौता गरेको थियो । सडक चौडा पर्ने क्रममा जलजला गाउँपालिका–७ केराबारी नजिकै स्थानीयसँग सामान्य विवाद भएपछि असोजमा रोकिएको काम अझै अघि बढ्न नसकेको हो ।

निर्माण व्यवसायी र आयोजना कार्यालयका अनुसार सडक निर्माणका क्रममा आवश्यक निर्माण सामग्री (नदीजन्य पदार्थ) स्थानीय खोलानदीबाट निकाल्ने सर्त थियो । सोही सर्तबमोजिम ५२ करोड ८६ लाख रुपैयाँमा एपेक्स–खड्का–कृष्ण जेभीसँग ठेक्का सम्झौता भएको थियो । तर, गत २०७८ असार २९ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीको धार्मिक तथा ऐतिहासिक पहिचान बिथोलिने गरी नदीमा मेसिन लगाएर नदीजन्य पदार्थ निकाल्न रोक लगाइदियो । सर्वोच्चको यही आदेशकै कारण कालीगण्डकी नदीबाट नदीजन्य गिट्टी, बालुवा, ढुंगा निकाल्न नपाएपछि व्यवसायीले काम अघि नबढाउने बाहनाखोजिरहेको थियो ।

कालीगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाए पनि सडक चौडा पार्ने क्रममा निस्किएका ढुंगा, माटो लगायत प्रयोग गर्न पाउने गरी स्थानीय प्रशासन, आयोजना कार्यालयले सहमति दिएका थिए । सहमतिअनुरूप व्यवसायीले जलजला–७ केराबारीस्थित सडकलाई आवश्यक पर्नेभन्दा धेरै ढुंगा उत्खनन गरेको थियो । त्यहाँ रहेको ढुंगाखानी केही स्थानीयको निजी र केही सामुदायिक वनमा परेको भन्दै स्थानीयले विरोध गरे । विरोधका कारण व्यवसायीले निर्माण सामग्री नपाएको भन्दै काम रोकेको हो । गत असोजमा रोकिएको काम दुई महिनासम्म सुचारु नहुँदा स्थानीयवासी र यो सडक हुँदै बेनी, जोमसोम, मुक्तिनाथसम्म आउजाउ गर्ने यात्रीहरू गम्भीर मर्कामा परेका छन् ।

यो सडक राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । स्थानीयका अनुसार निर्माण कम्पनी ४ महिनादेखि सम्पर्कविहीन छ भने सडक अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । १३ किलोमिटर लामो यो खण्डमा म्याग्दीको बेनीदेखि छुटेका सवारीसाधन मालढुंगा पुग्न डेढ घण्टासम्म समय लाग्दा सुत्केरी, बिरामी तथा अत्यावश्यक यात्रीले दुःख पाउनेगरेका छन् । ‘निर्माण अलपत्र छोडेर भाग्नेलाई प्रशासनले खोजेर कारवाही गर्नुपर्ने हो,’ स्थानीय कोपिला आचार्यले भनिन्, ‘हामीलाई विकास चाहिएको हो । विकासका नाममा झनै सास्ती छ ।’ सवारीचालक राजकुमार पुनले बेनीबाट मालढुङ्गा पुग्न आधा घण्टा समय लाग्ने गरेकोमा सडक विस्तार हुन लागेपछि डेढ घण्टा लागेको बताए ।

आयोजनाका अनुसार अहिलेसम्म २४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । आगामी चैत मसान्तसम्म योजना सम्पन्न गर्ने आयोजनाले लक्ष्य राखेको थियो । तर ठेकेदार काम नै बन्द गरेर सम्पर्कविहीन भइदिँदा तोकिएको समयमा सडकको निर्माण कार्य सम्पन्न हुन समस्या देखिएको आयोजना प्रमुख जगत प्रजापतीले बताए । ‘सुरुमा निकै तीव्र गतिमा काम भइरहेको थियो,’ प्रजापतीले भने, ‘हामी पनि उत्साहित थियौं । अहिले लामो समय काम रोकिंदा समयमै सक्न मुस्किल पर्ने देखियो ।’ कालीगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाएपछि दुई करोड खर्चेर क्रसर मेसिन जडान गरेको व्यवसायीले त्यो पनि चलाउन नपाउँदा समस्या भएको उनले बताए । ‘क्रसर नचल्दा पनि व्यवसायीले विद्युत्लाई मासिक एक लाख महसुल बुझाउनुपर्छ,’ प्रजापतीले भने, ‘अहिले स्थानीयले विरोध गरेपछि क्रसर चलाउन पनि दिएको छैन ।’

सडकको काम रोकिएका कारण चौतर्फि बिरोधपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले काम नगर्ने व्यवसायीलाई तत्काल कारबाही गरी नयाँ प्रक्रिया अघि बढाउन आयोजना कार्यालयलाई भनेका छन् । ‘घाटा लाग्यो भनेर कामै छोड्न पाइँदैन,’ प्रजिअ सापकोटाले भने, ‘हामी त्यस्तालाई तत्काल कारबाही गर्छौैं । आयोजना प्रमुखलाई भनिसकेको छु ।’ आयोजनाको ठेक्का पाएको एपेक्स खड्गकृष्ण जेभीलाई जिम्मा दिएकोमा उसले पेटी ठेकेदारलाई जिम्मा लगाएको थियो । पेटी ठेकेदारलाई कानुनले नचिन्ने भएकाले मुख्य ठेकेदारलाई कारबाही गर्न प्रशासनले प्रक्रिया अघि बढाइसकेको प्रशासनले जनाएको छ । ekantipur.com

लायन्स क्लव म्याग्दी दोभानले मन्दिर सरसफाई र पोशाक सहयोग

सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ म्याग्दी दोभानले  मंगलबार प्रसिद्ध धार्मिकस्थल महारानी मन्दिरमा सरसफाई तथा पूजारीलाई बस्त्र हस्तान्तरण गरेको छ। क्लवले बेनी नगरपालिका–७, महारानीथान प्राङ्गनमा सरसफाई तथा मन्दिरका पूजारीमा बस्त्र हस्तान्तरण गरेको क्लवकी अध्यक्ष कमला जिसीले बताउनुभयो। सदरमुकाम बेनी आसपासमै रहेको मन्दिरमा आउने भक्तजनलाई सहज हुने र सफा र सुन्दर मन्दिर बनाउने अभियानमा क्लवले विगतदेखि नै विभिन्न कार्यक्रम गर्ने गरेको अध्यक्ष जिसीको भनाई छ ।‘रचनात्मक कार्यक्रमहरुलाई प्राथमिकता दिन्छौ,‘सामाजिक कार्यमा समय दिने गरी क्लवमा आवद्ध भएका छौ’ जिसीले भन्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन राधिका सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा क्लवकी संस्थापक अध्यक्ष अमृतदेवी बानियाँ लगायतको उपस्थिती रहेको थियो । म्याग्दी जिल्लामा लायन्समा आवद्ध रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय हुने उदेश्यले क्लवको स्थापना गरिएको थियो । क्लवमार्फत विभिन्न रचनात्मक कार्यक्रमसँगै आयमुलक तालिम समेत सञ्चालन गदै आइरहेको छ ।