Monday, June 9, 2025
25.1 C
Beni
25.1 C
Beni
Monday, June 9, 2025
Home Blog Page 73

‘महिलालाई अवसर दिन कन्जुसाइ गर्दा समाज पछाडी पर्‍यो’

नेपालको संविधानले महिलालाई अनिवार्य गरेको अधिकार व्यवहारमा लागू गर्न चुनौती रहेको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।

१ सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बेनी नगरकार्यपालिकाको कार्यालयद्धारा आयोजित कार्यक्रममा बोल्ने बक्ताले महिलाले पाएको अवसरलाई सदुपयोग गर्दै पुरुषसरह महिलाले पनि काम गर्न सक्छन् भन्ने सोच समाज विकास गर्न जरुरी रहेको बताइएको थियो ।

महिलालाई अवसर दिन कन्जुसाइ गर्दा समाज पछाडी परेको महिला अधिकारकर्मीको भनाई थियो । दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले अवसर र अधिकार दिने हो भने पुरुषले गरेको भन्दा महिलो गरेको कामकारबाही बढी प्रभावकारी हुन्छ भन्ने समाजमा नेतृत्वदायी भूमिकामा रहेका महिलाले सावित गरेको बताउनुभयो।

महिलाले केही गर्न सक्दैनन् होइन कि अवसर र अधिकार दिए जे पनि गर्न तयार छन् भन्ने उदाहरण हेरेर अब अवसरमा कन्जुसाई गर्न नहुने बताइएको थियो ।

सोही अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसी, जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्य, बह्माकुमारी इश्वरीय विश्वविद्यालय बेनी शाखाकी प्रमुख रिना दिदी, नेपाल पत्रकार महासंघ म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, दिदी बहिनी सहकारीकी अध्यक्ष सुगम श्रेष्ठ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) नगर अध्यक्ष अम्बिका ढुंगानाले मन्तब्य राखेका थिए ।

दिवसको अवसरमा महिला अवसर र नेतृत्व विषयक लोकगीत प्रतियोगिताको समेत आयोजना गरिएको थियो । बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक चक्र केसीको स्वागत र महिला विकास शाखाकी डम्सरा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो ।

सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए ।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।

म्याग्दीको टोड्केमा धौलागिरी जागरणको १८ औं वार्षिकोत्सव

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको पहिलो प्रकाशन धौलागिरी जागरण दैनिकको १८ औं वार्षिकोत्सव म्याग्दी जिल्लाको पर्यटकीयस्थल टोड्केमा सम्पन्न भएको छ ।

स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान गर्न तथा स्थानीय स्रोत साधनको पहिचान र प्रचारमा सहयोग गर्ने उद्देश्यका साथ धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव विगत १२ वर्षदेखि बागलुङ सदरमुकाम भन्दा बाहिर मनाउने क्रममा यस पटक टोड्केलाई गन्तव्य बनाइएको छ ।

धौलागिरीका पर्यटकीय संभावना बोकेका क्षेत्रलाइै उजागर गर्ने, प्रचार प्रसार तथा समाचार संकलन गर्ने उदेश्यले म्याग्दीको टोड्केमा वार्षिकोत्सव मनाइएको सम्पादक राम बहादुर जिसीले जानकारी दिनुभयो । यो वर्ष आदर्शका १०० पर्यटकीय गन्तव्य समेत सार्वजनिक गरेको बताउदै वर्षभरी उक्त गन्तव्यमा पुगेर आदर्शका प्रकाशनबाट प्रचार प्रसार गर्ने बताउनुभयो।

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको टोड्केमा वार्षिकोत्सव मनाइएको छ ।
टोड्केको प्रचार–प्रसार र पर्यटनको विकासका लागि स्थानीय पालिका रघुगंगा गाउँपालिका र टोड्के हिल रिसोर्टको संयोजनमा वार्षिकोत्सव कार्यक्रम मनाइएको हो ।

वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले पत्रकारिता मार्फत पर्यटनको प्रर्बद्धनमा जागरणले ल्याएका कार्यक्रम पृथक भएको बताउनुभएको छ । पर्यटनलाई क्षेत्र बनाएर एक दशक भन्दा बढी समयदेखि कलमलाई केन्द्रित गर्नु उदाहरणीय कार्य भएको बताउनुभएको छ । संकटपूर्ण समयबाट उदाएको जागरण दैनिक १९ वर्ष सम्म अनवरत रुपमा आफ्नो कलम चलाउदै आउनु मोफसलको पत्रकारितका लागि आफैमा इतिहास भएको बताउनुभएको छ ।

“१८ वर्षको अवधिमा बागलुङमा धेरै मिडिया सञ्चालनमा आएपनि निरन्तरता सबैभन्दा ठूलो कुरा रहेछ, यसपटकबाट जागरणले पर्यटन कोषको विषयमा पुरस्कार दिनेगरी कोष समेत घोषणा गर्नु आफैमा उदाहरण हो” थापाले भन्नुभयो “तडक भडकपूर्ण वार्षिकोत्सवलाई अन्त्य गर्दै पर्यटकीय स्थलको प्रचार–प्रसार संगै दुर्गम क्षेत्रमा पुगेर वार्षिकोत्सव मनाउने कार्यले स्थानीय पर्यटन व्यवसायीलाई उत्साहित गरेको छ ।“

कार्यक्रममा मंगला गाउँपालिकाका प्रवक्ता एकजित रोका, रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मन बहादुर शेरमन्जा, दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचन, प्रेस चौतारी गण्डकी प्रदेशका सचिव बालकृष्ण सुवेदी, प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर र प्रगतिशिल पत्रकार संघ बागलुङका अध्यक्ष बिजय रानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा धौलागिरीका २८ पालिकाका १०० पर्यटकीय गन्तव्य सार्वजनिक समेत गरिएको थियो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु)को अध्यक्षता, संस्थाका सह–सम्पादक सिर्जना पन्तको स्वागत तथा सम्पादक राम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

धौलागिरी क्षेत्रमा पहिलो सूचना तथा सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले १९ वर्षदेखि धौलागिरी जागरण दैनिक, १२ वर्षदेखि अग्रसर साप्ताहिक, ६ वर्षदेखि आदर्श सञ्चार अनलाइन सञ्चालन गर्नुका साथै ११ वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

 

म्याग्दीको मुदी केन्द्रविन्दु भएर भूकम्पको धक्का

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का धौलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देवीस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस भएको थियो। बिहानपख मानिसहरू सुतिरहेकै अवस्थामा भूकम्प गएपछि ठूलो धक्का महसुस भएपछि धेरै मानिसहरू घर बाहिर निस्किएको धौलागिरि गाउँपालिका–४ मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताए।

उनका अनुसार भूकम्पबाट अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन। यसअघि गत फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको देवीस्थान आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्म गएको थियो।

म्याग्दी जेसीजले होलीमा सांगितिक कार्यक्रम गर्ने

यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले फागुपूर्णिमा पर्वको अवसरमा बेनीमा सांगितिक कार्यक्रमको आयोजना गरेको छ ।

फागुन २९ गते बेनीमा साँगेतिक कार्यक्रम संगै श्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएको हो । यूवाहरूलाई जेसीजमा आर्कषित गर्ने विभिन्न तालिम तथा विद्यालयस्तरका खेलकुद गतिविधि सञ्चालन गर्ने गरेको म्याग्दी जेसीजले विगतमा भन्दा फरक तरिकाले यसपटकको होली पर्व मनाउने अध्यइा बिनोद घर्ती क्षत्रीले बताउनुभयो ।

होली कार्यक्रममा पछिल्लो समयका चर्चित गायक बागलुङका बसन्त थापा, पप गायक म्याग्दीका सम्भोज मल्ल सँगै दुई दशक अगाडी निकै लोकप्रिय घोरेपानी डाँडै बोलको गीतका गायक चन्द्र पुनको विशेष साँगेतिक प्रस्तुती रहने छ ।

बेनीको खुलामञ्चमा हुने उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत उपस्थिती हुने छ भने स्रष्टा सम्मान कार्यक्रम समेत तय गरिएको म्याग्दी जेसीजले जनाएको छ । दिनेश विश्वकर्माको संयोजक रहेको प्रतियोगिताको तयारी सुरु भएको छ ।

शिख माविमा गरिमा विकास बैंकको वित्तिय सचेतना कार्यक्रम

गरिमा विकास बैंकले समुदायस्तरमा वित्तिय साक्षरता कार्यक्रमलाई अभियानकै रूपमा अगाडी बढाएको छ । बैंकको पोखरेबगर शाखाबाट शुक्रबार अन्नपूर्ण गाउँपालिका-५,शिखस्थित शिख माविका विद्यालयका ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकलाई वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ सहित ग्राहकको सेवालाई उच्च प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको अवस्थामा वित्तीय रूपमा साक्षर बनाउने लक्ष्यका साथ ग्रामिण क्षेत्रमा कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय म्यानेजर ढुंगानाले विद्यार्थी र अभिभावकलाई खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधा, डिजिटल सेवा लगायत विभिन्न विषयमा जानकारी गराउनुभएको थियो ।

करिब १ सयभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा विब्यस अध्यक्ष बागबिर पाईजा, प्रधानाध्यापक मिना शर्मा सुबेदीले विद्यार्थी र अभिभावकलाई बचत गर्ने बानीको विकास तथा वित्तिय ज्ञान आवश्यकता रहेको अवस्थामा यो कार्यक्रम निकै उपलब्धीमुलक रहेको बताउनुभयो ।

सोही अवसरमा बैंकका पोखरेबगर शाखाका प्रमुख श्याम थापाले समुदायमै पुगेर सामाजिक सुरक्षा भत्ता सहित विभिन्न कार्यक्रमहरु गरिएको बताउनुभयो । यस साता शिखसँगै मालिका गापाको वडा नं ७ बिम र मंगला गापा–५, छिस्बाङमा गरी तीन स्थानमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।

गरिमा विकास बैंकले म्याग्दी, बागलुङ र पर्वतका ८ शाखा हेर्ने गरी म्याग्दीको सदरमुकाम बेनीबजारमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

धौलागिरीभित्र म्याग्दीमा बेनीबजार, पश्चिम म्याग्दीको बावियाचौर, दरबाङ, उत्तरी म्याग्दीको पोखरेबगर, बागलुङ जिल्लाको सदरमुकाम बागलुङ, बुर्तिवाङ, पर्वत जिल्लाको सदरमुकाम कुस्मा र फलेबासमा शाखा रहेको छ । विकास बैंकमध्ये ‘नम्बर वान’ बैंक बन्ने गतिका साथ अगाडी बढिरहेको बैंकले प्रविधिको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ।

विद्यामन्दिर पुस्तकालय नयाँ समितिको पदस्थापन

विद्यामन्दिर पुस्तकालयको फागुन १० गते भएको ७६ औं वार्षिक साधारणसभा बाट निर्वाचिन अध्यक्ष र अध्यक्षले मनोनित गरेका पदाधिकारीको पदस्थापन भएको छ । साधारणसभाबाट निर्वाचित अध्यक्ष रामचन्द्र शर्मा सहितका पदाधिकारीको बुधवार पदस्थापन भएको हो । शर्माले उपाध्यक्षमा राजनकुमार शर्मालाई मनोनित गरेका छन् । उनी यस अघि सचिव थिए । सचिवमा गगनबहादुर पुन मनोनित भएका छन् । सहसचिवमा कोपिला कंडेल र कोषाध्यक्षमा धनमाया शर्मा मनोनित भएका हुन् ।

सदस्यहरुमा निवर्तमान अध्यक्ष राम थापा अविरल, पूर्व अध्यक्ष गोबिन्द वझा, बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ छन् ।त्यस्तै सदस्यहरुमा युगेन्द्र श्रेष्ठ, सुधिर श्रेष्ठ, दल थापा, नवराज गौतम, मनोबिज्ञान श्रेष्ठ र गोकुल कंडेल छन् । पुस्तकाध्यक्ष गणेश सापकोटा पदेन सदस्य छन् । उनीहरुलाई निर्वाचन अधिकृत इश्वर श्रेष्ठले पदस्थापन गराएका थिए भने कावा प्रधान संरक्षक लालचन्द्र राजभण्डारीले प्रमाणपत्र बितरण गरे ।

कार्यक्रममा राजभण्डारीसहित निर्वाचन अधिकृत श्रेष्ठ, काठेखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्ग थापा, पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्य, साहित्यकार काजी रोशन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निर्वाचित अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता पूर्व अध्यक्ष गोबिन्द वझाको संचालन र निर्वतमान अध्यक्ष राम थापा अविरलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्‍याउन सेवा दिइरहेका छन्।

मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ। बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन। तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीका लागि भने निकै समस्या र चुनौती छ।

मुक्तिनाथको पहिले गेटबाट मन्दिर प्रवेशद्वारसम्म रेलिङसहितको ठाडो उकालो पैदल हिँड्नुपर्ने हन्छ। बसपार्कबाट पहिलो गेटसम्म समथर बाटो छ। बसपार्कबाट रानीपौवा बजार हुँदै मन्दिर जाने बाटोमा मोटरसाइकल र कुनै पनि सवारीसाधन लैजान पाइँदैन। यो त्यहाँको गाउँसमाजले बनाएको नियम हो। गाउँभित्रको पर्यटनमा असर नपुगोस् भन्ने हेतुले बसपार्कबाट माथि कुनै पनि सवारीसाधन लैजान निषेध नै गरिएको छ। यसैका कारण मुक्तिनाथका दर्शन गर्ने धोको बोकेर आइपुगेका दर्शनार्थी पैदल हिँड्न नसक्ने अवस्था भएमा घोडा वा स्टेचरमा चढेर मुक्तिनाथ पुग्नुपर्ने बाध्यता हुन्छ।

वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिङ्गा, झारकोट, मुक्तिनाथ रानीपौवा र छेङ्गुर गाउँका युवाले घोडामा चढाएर लैजान वैकल्पिक व्यवसाय चलाएका छन्। त्यहाँको चारवटा गाउँका युवाले मात्रै सशुल्क घोडा चढाएर दर्शनार्थीलाई मुक्तिनाथ पुर्‍याउने सेवा दिएका छन्। वारागुङ मुक्तिक्षेत्रका यी चारवटा गाउँबाहेक अन्यत्रका युवाले त्यहाँ गएर दर्शनार्थीलाई घोडामा चढाएर मुक्तिनाथ लैजाने काम गर्न पाउँदैनन्। यात्रीलाई घोडामा चढाएर मुक्तिनाथ ओसारपोसार गर्न समितिसमेत गठन गरिएको छ। घोडा समितिमार्फत घोडामा दर्शनार्थी लानेलैजाने सेवालाई व्यवस्थित गरिएको छ। यसरी रानीपौवा बसपार्कबाट मुक्तिनाथ प्रवेशद्धारसम्म दर्शनार्थी ओसारपोसार गरेबापत नेपाली आन्तरिक दर्शनार्थीलाई रु चार सय र भारतीय दर्शनार्थीलाई भारु चार सय शुल्क निर्धारण गरिएको छ।

मुक्तिनाथ रानीपौवाका स्थानीय युवा उर्गेन पाल्देन गुरूङले घोडा चढाउने व्यवसायले स्थानीय युवालाई वैकल्पिक आयआर्जनको माध्यम बनेको बताए। देशमा युवा जनशक्ति पलायन भइरहेको अवस्थामा यहाँका युवाालाई गाउँमा रोक्न घोडा चढाएर मुक्तिनाथ लाने लैजान व्यवसायले निकै ठूलो योगदान दिएको बताए। गाउँमा विकाससँगै पर्यटनको सम्भावना बढिरहेको अवस्थामा पनि युवहरू वैदेशिक रोजागारमा जाने अवस्था रहेकाले यस प्रकारको घोडा चढाउने व्यवसायले यहाँका युवापङ्क्तिलाई यहीँ आर्यआर्जन गर्न सक्ने गतिलो माध्यम बनेको उनले बताए।

वारागुङ मुक्तिक्षेत्र–१ को चारवटा गाउँमा एक २० घरपरिवारले मुक्तिनाथमा दर्शनार्थीलाई घोडा चढाएर जीविकोपार्जन गर्दै आइरहेका छन्। समितिअन्तर्गत सञ्चालन भएको दर्शनार्थीलाई घोडा चढाउने व्यवसायमा सबै गाउँका एकसाथ आएर पनि आलोपालो गरी दर्शनार्थी ओसारपोसार गर्न पाउँछन्। घोडाबाट दर्शनार्थी ओसारपोसार गर्न बिहानै ७ बजेभित्र घोडावाला धनीले नाम टिपाउनुपर्छ। नाम टिपाएपछि रोलक्रमअनुसार आलोपालो घोडा चढाएर मुक्तिनाथ लैजान पाउँछन्। यसरी दिनभरि घोडा चढाएरको पैसा हिसाब गरेर बाँड्छन्।

मुक्तिनाथमा घोडाधनीले आफैँले र घोडा भएर पनि कर्मचारी राख्न चाहनेले त्यहाँ अस्थायी बसोबास गरेका व्यक्तिलाई घोडाबाट दर्शनार्थी ओसारपोसार गर्न खटाउन पाइन्छ। यसरी गैरव्यक्तिले घोडाधनीको घोडा प्रयोग गरेबापत आधा उठेको आधा ज्याला पाउँछन्।

मुस्ताङमा सडक यातायातको सुविधा नहुँदा बेँसीबाट मालसामान ढुवानी गर्न र व्यक्तिगत प्रयोजनका लागि अधिकांशले घोडा पाल्ने गर्थे। पछिल्लो समय मुस्ताङमा यातायातको पहुँच जोडिएपछि पालन गरिएका घोडा विस्थापित हुन थाले। सडकमार्फत सहजै मालसामान ढुवानी गर्न सकिने अवस्था आएपछि मुस्ताङका घोडा लोप हुँदै गए। तर, मुस्ताङमा पालिएका घोडा संस्कृतिसँग पनि जोडिएका छन्।

उपल्लो मुस्ताङ र बाह्रगाउँ क्षेत्रका गुरूङ र विष्ट समुदायले महत्त्वपूर्ण चाडपर्वमा घोडाको संस्कृतिसँग जोडेर पर्व मनाउँछन्। तल्लो मुस्ताङका आंशिक थकाली समुदायले पनि विशेष पर्वमा घोडालाई संस्कृतिको रूपमा प्रयोग गर्ने गरेका छन्। वारागुङ–१ खिङ्गाका स्थानीय युवा सञ्जय गुरूङले मुस्ताङका लागि घोडा सांस्कृतिक धरोहर भएको उल्लेख गरे। उनले यार्तुङ, धज्याङ, ल्होसार, तिजीलगायत पर्वमा सांस्कृतिक वेशभुषा पहिरिएर घोडामा चढेर पर्व मनाउने प्रचलन छ। मुक्तिनाथ क्षेत्रमा दर्शनार्थीलाई घोडा चढाएर लैजाने व्यवसाय गर्न नपाउने होभने बाह्र गाउँका घोडासमेत विस्थापित हुने स्थानीय युवा गुरूङको भनाइ छ।

यसैगरी मुक्तिनाथमा युवाहरूले घोडा चढ्न नसक्ने अवस्थाका दर्शनार्थीलाई स्टेचरमा बोकेर मुक्तिनाथ लाने लैजाने गर्छन्।  मुक्तिनाथ बसपार्कबाट मुक्तिनाथ मन्दिर लाने लैजाने गरेबापत उनीहरूले नेपाली दर्शनार्थीलाई रु चार हजार र भारतीय दर्शनार्थीलाई भारु चार हजार लिने गर्छन्। यसरी मुक्तिनाथमा स्टेचर बोकर लैजान चार जना युवाको आवश्यकता पर्छ। मुक्तिनाथमा स्थानीय युवाहरूले सञ्चालन गरेको स्टेचरमा राखेर मुक्तिनाथ लानेलैजाने व्यवसायले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीलाई निकै ठूलो सहयोग मिलेको छ। सशुल्क सेवा भए पनि मुक्तिनाथ दर्शन गर्न जाने यस प्रकारको व्यवसायले मुक्तिनाथ दर्शन गर्न लाखौँ खर्चिएर आउने दर्शनार्थी भक्तजनका लागि निकै ठूलो सेवा सहयोगको माध्यम बनेको छ।

नेपालको ठेक्का प्रणालीमा अनावश्यक प्रतिस्पर्धा: गुणस्तरहीन निर्माणको मूल कारण!

– मिलन सुवेदी

नेपालमा ठेक्का प्रक्रियामा न्यूनतम लागत प्रस्तुत गर्ने ठेकेदारलाई छनोट गर्ने प्रणालीले निर्माण क्षेत्रलाई नै संकटमा पुर्‍याइरहेको छ। यो व्यवस्था सैद्धान्तिक रूपमा आर्थिक पारदर्शिता सुनिश्चित गर्ने लक्ष्यसहित लागू गरिएको भए पनि व्यवहारमा गुणस्तरहीन निर्माण, भ्रष्टाचारको बढावा, दीर्घकालीन खर्चको वृद्धि र पूर्वाधारको अस्थिरता जस्ता गम्भीर समस्याहरू निम्त्याइरहेको छ।

गुणस्तरभन्दा न्यून लागतलाई प्राथमिकता: दीर्घकालीन घाटा

विगतका अनुभवहरूले देखाएका छन् कि कम लागत प्रस्तुत गर्ने ठेकेदारहरूले नाफा सुनिश्चित गर्न गुणस्तरमा सम्झौता गर्छन्। यसका लागि सस्तो र कमजोर निर्माण सामग्री प्रयोग गर्ने, दक्ष श्रमिकभन्दा सस्तो श्रमशक्तिको भर पर्ने, प्राविधिक मापदण्ड पूरा नगर्ने जस्ता प्रवृत्ति अपनाइन्छ। परिणामस्वरूप, निर्माण भएका सडक, पुल, भवनलगायतका संरचनाहरू छोटो समयमै बिग्रन थाल्छन्।

कतिपय सडकहरू उद्घाटन भएको केही महिनामै उप्किने, पुलहरूको भार क्षमता अपेक्षित मापदण्डअनुसार नहुने, सरकारी भवनहरू सामान्य कम्पनमै चर्किनेजस्ता उदाहरण हाम्रा सामु प्रशस्त छन्। यस्तो अवस्थामा, अल्पकालीन रूपमा सरकारको बजेट जोगिए पनि दीर्घकालीन रूपमा भने मर्मत सम्भार र पुनर्निर्माणमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउँछ।

कमजोर अनुगमन र भ्रष्टाचारको चक्र

नेपालमा ठेक्का प्रक्रियामा अनुगमन कमजोर भएकाले न्यूनतम लागत देखाएर ठेक्का जित्ने तर पछि विभिन्न बहानामा अतिरिक्त बजेट माग्ने, निर्माण अवधि लम्ब्याउने, गुणस्तरहीन संरचना निर्माण गर्ने प्रवृत्ति हावी भएको छ। यसरी सरकारी संयन्त्रकै मिलेमतोमा अपारदर्शी लेनदेन हुने, ठेक्का सम्झौताका सर्तहरू तोडिने, सार्वजनिक हितभन्दा निजी स्वार्थ हावी हुने अवस्थाले समग्र पूर्वाधार विकासलाई नै असर गरिरहेको छ।

वैकल्पिक व्यवस्था: गुणस्तर र लागतको सन्तुलन आवश्यक

नेपालको निर्माण ठेक्का प्रणालीलाई प्रभावकारी बनाउन निम्न सुधारहरू आवश्यक देखिन्छ-

गुणस्तर सुनिश्चित गर्ने स्पष्ट मापदण्ड तोक्नुपर्छ -ठेक्का दिने बेलामा न्यूनतम लागत मात्र हेरिनुहुन्न, निर्माण सामग्री, प्रविधि र दक्ष जनशक्तिको मापदण्ड पूरा भए/नभएको समेत जाँच गर्नुपर्छ।

ठेकेदारको विगतको कार्य अनुभवलाई प्रमुख सूचक बनाउनुपर्छ -विगतमा गरेका कामहरूको गुणस्तर र सफलताका आधारमा ठेक्का दिने प्रणाली लागू गर्नुपर्छ।

स्वतन्त्र अनुगमन संयन्त्र प्रभावकारी बनाउनुपर्छ -निर्माण कार्य पूरा भएपछि मात्र नभई, परियोजनाको सम्पूर्ण अवधिमा पारदर्शी रूपमा निरीक्षण हुने व्यवस्था लागू गर्नुपर्छ।

नेपालको ठेक्का प्रणाली आर्थिक पारदर्शिताका दृष्टिले सकारात्मक देखिए पनि यसको गलत प्रयोगले निर्माण क्षेत्र कमजोर भइरहेको छ। केवल न्यूनतम लागतलाई प्राथमिकता दिनु “सस्तोको पछि लाग्दा महँगो पर्ने” प्रवृत्तिको ज्वलन्त उदाहरण बनिरहेको छ। ठेक्का प्रक्रियामा सुधार नगर्ने हो भने, देशको पूर्वाधार विकास अल्पकालीन फाइदामा सीमित हुनेछ र दीर्घकालीन रूपमा सरकार तथा जनताले नै क्षति बेहोर्नुपर्नेछ।

नेपालको निर्माण क्षेत्रलाई दिगो, पारदर्शी र गुणस्तरीय बनाउन ठेक्का प्रणालीमा व्यापक सुधारको खाँचो छ। अब समय आइसकेको छ कि हामी सस्तोको पछि लाग्न छोडेर दीर्घकालीन सोच राख्ने नीति अवलम्बन गरौँ।

निर्मल पूर्जालाई गृहजिल्लामा भब्य सम्मान (फाेटाेफिचर)

पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा (निम्स)का लागि बिहीबार गृहजिल्ला म्याग्दीमा एक भव्य समारोहबीच सम्मान गरिएको छ।

पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान मूल समारोह समितिको आयोजनामा विश्व किर्तिमानी निर्मल पूर्जा (निम्स दाइ)लाई नौमति, धिमे, थाली नाच सहित सांस्कृतिक बाजागाजाका साथ विभिन्न झाँकीले बेनीबजार परिक्रमापश्चात् जिल्ला समन्वय समितिको सभाहलमा पुगेर अभिनन्दन गरिएको थियो।

मूल समारोह समितिको आयोजना र बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा, मंगला, मालिका, धवलागिरि गाउँपालिका, म्याग्दी उद्योग वाणिज्य संघ तथा मिलन म्याग्दीको सहयोगमा पर्वतारोही पूर्जालाई नागरिक अभिनन्दन गरिएको समितिले जनाएको छ ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय पालिकाहरु, विभिन्न संघसंस्था, विद्यालय, निजी क्षेत्र, नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीसहित विभिन्न क्षेत्रबाट पूर्जालाई स्वागत, सम्मान र नागरिक अभिनन्दन गरिएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले छोटो समयमा नै पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेको भन्दै स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरिएको मूल समारोह समितिले जनाएको छ ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ इतिहास कायम गरेर गृहजिल्ला म्याग्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै नागरिक अभिनन्दन गरिएको समारोहका मूल संयोजक एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

पर्वतारोहणको क्षेत्रमा पूर्जाले अक्सिजन विना नै विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरुको चुचुरोमा पाइला टेकेर सातवटै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै पहिलो आरोही हुनुहुन्छ । पूर्जाले म्याग्दीमा रहेको विश्वको सातौं अग्लो धौलागिरि र १०औं अग्लो चुचुरो अन्नपूर्ण हिमालबाट आरोहण सुरु गर्नुभएको थियो ।

नागरिक अभिनन्दनपछि पर्वतारोही पूर्जाले आफ्नो अनुभव सुनाउँदै नेपालको विकासका लागि पर्वतारोहणको क्षेत्रमा धेरै सम्भावनाहरु रहेको बताउनुभयो । उहाँले देश विकास गर्न अब गाउँ गाउँबाट अभियान चलाउनुपर्ने बताउनुभएको छ । सोही अवसरमा पर्वतारोहीद्वय निङमाडेबिट शेर्पा र पुरुषोत्तम नेपालीले पनि आ–आफ्नो अनुभव सुनाउनुभएको थियो ।

बेनी नगरपालिका–३, भकिम्लीका १०१ वर्षीय भैरवबहादुर हुमेनले उद्घाटन गर्नुभएको पर्वतारोही पूर्जालाई आयोजित स्वागत तथा सम्मान कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र विद्यार्थी नेता प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्दै म्याग्दीलाई साहसिक पर्यटनको हवका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, विभिन्न वडाका वडाध्यक्षहरु र जनप्रतिनिधि लगायतको विशेष उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दी सदरमुकाम बेनीबजारमा जिल्लास्थित विभिन्न संघसंस्थाहरुको सहभागितामा प्लेकार्डसहित ¥याली निकालिएका थियो ।

बेनीबजारका स्थानीयवासीले आ–आफ्नो घर अगाडि जलघडा राखेर पूर्जाको स्वागत गर्नुका साथै घरका छत र बराण्डबाट जलफुलले वर्षा गरिएको थियो । कार्यक्रम मूल संयोजक गौतमको अध्यक्षता एवं स्वागत र सदस्य तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

म्याग्दीमा धमाधम निर्माण हुँदै जलविद्युत् आयोजना

* धवलागिरी, रघुगंगा, मालिका र अन्नपूर्णमा रोयल्टी बढ्ने
* केहीबर्षमा केन्द्रिय प्रशारण लाइनमा झण्डै ४ सय मेगावाट बिजुली थपिने
* मोटरबाटोको कल्पना नगरेका स्थानीयलाई मोटरबाटो
* डोरीमा झुन्डिएर यात्रा गर्दै आएका खाम्ला, नाउरा, जेल्टुङ गाउँमा सडक पु
* स्थानीयबासीले रोजगारी, कृषि उपजका साम्रागी बिक्री गर्न थाले
* म्याग्दी जलविद्युतको हब बन्दै

म्याग्दीमा जिल्लाका विभिन्न नदीहरूमा जलविद्युत् आयोजना धमाधम निर्माण चरणमा छन् । जलविद्युतको प्रचुर सम्भावना भएका नदीहरूमा म्याग्दी खोला, राहुघाट र मिस्त्री खोलामा अहिले आयोजना बन्ने लहर चलेको हो । जलविद्युत् आयोजनामा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी हुन थालेपछि अन्य स्वदेशी लगानीकर्ता पनि उत्साहित हुदै प्रबद्र्धनमा जुटेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण–४ स्थित ४२ मेगावाटको मिस्त्री खोला, ७१ मेगावाटको नीलगिरी क्यास्केट (एन–२), ४ मेगावाटको घलेम्दी खोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना गरी १ सय ११ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

अहिले म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ। धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एकसय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू भएको छ। ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ भने हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।

त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरूङ निर्माण सुरु गरेको छ । पश्चिम म्याग्दीकै प्रवेशद्धार मानिने मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाको सुरूङ सहितका संरचनामा काम भइरहेको छ ।त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण–४ स्थित ४०.७ मेगावाट क्षमताको नीलगिरी पहिलो (एन–१) र ६ मेगावाट क्षमताको रेले खोला आयोजना अन्तिम चरणमा छन् ।

रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ३७.५ मेगावाटको मंगले राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि २२.५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजनाले ७० देखि ९५ प्रतिशतसम्म भौतिक प्रगति गरेका छन् ।

बेनीदेखि मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमि खण्डमा बग्ने कालीगण्डकी नदीमा १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज, ५० मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५०.५३ मेगावाटको बेनी कालीगण्डकी गरी करिब ३ सय ८८ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् ।

त्यस्तै पश्चिम म्याग्दीको म्याग्दी नदी र सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठवटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीनवटा आयोजनाको निर्माण काम अघि बढेको छ ।

म्याग्दीको ६ स्थानीय तह अन्तरगत अन्नपूर्ण, रघुगंगा र धवलागिरी गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका जलविद्युतले उत्पादन सुरूसँगै पालिकाको आन्तरिक आम्दानी समेत ह्वात्तै बढ्ने छ । ‘हाम्रो पालिकाबाट आयोजनाबाट रोयल्टीसमेत आउन थालेको छ, अबको केही बर्षमा आन्तरिक आम्दानीले विकास निर्माणका कार्यमा सहज हुन्छ’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने ।

उनका अनुसार अब दुईवटा आयोजना समेत अन्तिम चरणमा रहेको बताए । यता धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले दर्ता रहेका जलविद्युत आयोजनालाई समेत स्थानीयको माग पूरा गदैं निर्माण चरणमा प्रवेश गर्न समेत अनुरोध गरिएको बताए ।

‘आन्तरिक आम्दानी न्यून छ, हामीले दर्ता भएकालाई समेत कानुनी प्रक्रिया पूरा गरी आएमा सघाउँछौ, यो क्षेत्र पर्यटन र जलविद्युतको हब हो’ अध्यक्ष पुनले भने । मुदीमा जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेसँगै दुर्गम बस्तीमा सडकको पहुँच विस्तारमा समेत सघाउ पुगेको छ ।

झुन्डिएर यात्रा गर्दै आएका मुदीको दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेपछि स्थानीयको दैनिकी समेत फेरिएको छ ।

आयोजनामा स्थानीय जनशक्तिलाई समेत प्राथमिकता दिएर काममा अवसर दिन र सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कार्यलाई प्रभावकारी बनाउन समेत गाउँपालिकाको पहलमा आयोजना पक्षले समेत सहज स्वीकार गरेको अवस्थामा समुदायस्तरबाट समेत अवरोध नभएको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तिले बताए ।

जलविद्युत आयोजना प्रवेश गरेको रघुगंगा गापाभित्रका अति विकट तथा राज्यको निकायबाट प्राप्त बजेटले समेत पूर्णता नपाउने सडकहरू सहज रुपमा निर्माण भएको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले भने । उनका अनुसार जलविद्युत आयोजनाले समुदायस्तरमा दुख दिएका घटनाहरुमा सचेत गराइएको र निर्माणकार्यमा समेत सघाएको बताए ।

‘अटेरी आयोजनालाई हामीले कडाई गरेका छौ, स्थानीयको माग पूरा नगर्नेलाई सबै दबाब दिन्छौ, साथमा लिएर जानेलाई प्रोत्साहन र साथ भइरहेको छ’ अध्यक्ष भण्डारीले भने । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका अधिकांस आयोजनाले पहुँचमार्ग, क्याम्प साइटलगायतका पूर्वाधार निर्माण सकेर बाँध र विद्युत गृहबाट सुरूङमा प्रवेश गरेका छन् । तस्वीर रासस र बेनीअनलाइन