Monday, June 9, 2025
31 C
Beni
31 C
Beni
Monday, June 9, 2025
Home Blog Page 72

उत्तरगंगा माविमा गरिमा विकास बैंकको वित्तिय सचेतना कार्यक्रम

गरिमा विकास बैंक बुर्तिबाङ शाखाले ढोरपाटन नगरपालिका वडा नं १ मा अवस्थित उत्तरगंगा माविमा अध्यनरत विद्याथीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयमा रहेका बालबालिकालाई बचत गर्ने बानीको विकास गर्ने उदेश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिती रहेको थियो ।

धौलागिरी भित्र रहेका शाखामार्फत वित्तिय सचेतना कार्यक्रमलाई तिब्रता दिएको बैंकले सोही अवसरमा जेहेन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामाग्रीहरु हस्तान्तरण समेत गरेको शाखा प्रबन्ध जित बहादुर गर्बुजाले बताउनुभयो । बैंकका क्षेत्रीय म्यानेजर कमलप्रसाद ढुंगानाले वित्तिय कारोबारसँगै सामाजिक उत्तरदाहित्वका साथै विभिन्न सहयोगमार्फत समुदायमा पुग्ने गरेको बताउनुभयो ।

विद्यालयमा रहेका बालबालिकालाई वित्तिउ सचेतनामार्फत समुदायमा फैलाउने उदेश्यले शाखा रहेका क्षेत्रमा पुगेर ज्ञान आदानप्रदान गर्ने गरिएको क्षत्रीय प्रमुख ढुंगानाको भनाई छ । करिब १ सय जनाको सहभागिता रहेको कार्यक्रममा क्षेत्रीय म्यानेजर ढुंगानाले विद्यार्थी र अभिभावकलाई खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधा, डिजिटल सेवा लगायत विभिन्न विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष बान बहादुर छन्त्याल, विद्यालयका प्रअ इश्वरीप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो । गरिमा विकास बैंकले म्याग्दी, बागलुङ र पर्वतका ८ शाखा हेर्ने गरी म्याग्दीको सदरमुकाम बेनीबजारमा क्षेत्रीय कार्यालय स्थापना गरेपछि अहिले शाखामार्फत समुदायस्तरका कार्यक्रमहरुलाई तिब्रता दिइएको छ ।

धौलागिरीभित्र म्याग्दीमा बेनीबजार, पश्चिम म्याग्दीको बावियाचौर, दरबाङ, उत्तरी म्याग्दीको पोखरेबगर, बागलुङ जिल्लाको सदरमुकाम बागलुङ, बुर्तिवाङ, पर्वत जिल्लाको सदरमुकाम कुस्मा र फलेबासमा शाखा रहेको छ । विकास बैंकमध्ये ‘नम्बर वान’ बैंक बन्ने गतिका साथ अगाडी बढिरहेको बैंकले प्रविधिको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ।

 

 

म्याद गुज्रिएका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती

म्याग्दीको सदरमुकाम बेनीबजार तथा ग्रामिण क्षेत्रमा गरिएको अनुगमनमा अत्याधिक मात्रामा म्याद सकिएका अखाद्य पेयपदार्थहरु भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त रुपमा भइरहेको बजार अनुगमनमा अन्य खाद्यान्न साम्रागीको तुलनामा म्याद गुज्रिएका पेय पदार्थ धेरै भेटिएबको छ ।

धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा धारापानीका १४ वटा किराना तथा खाद्यान्न पसल, २ वटा होटल र रेष्टुरेण्टमा अनुगमन गरी कुल २५ हजार सातसय ९० रुपैयाँ बराबरको म्याद सकिएका पेर्यपदार्थ र खाद्यवस्तुहरु जफत गरी नष्ट गरिएको थियो ।

यसअगाडी बेनी नगरपालिका, मंगला र मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा गरिएको अनुगममा समेत अन्य बस्तु सरह ठूलो परिमाणमा उपभोग गर्ने म्याद सकिएका कोकाकोला, स्प्राईट, मिरिण्डा, फेन्टालगायत पेयपदार्थहरु भेटिएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख अमृतप्रसाद कँडेलले बताए । दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बताइन् ।

अनुगमनको क्रममा पसलभित्र म्याद सकिएका सामानहरु बिक्री गर्न टाँसीमा राखेको, मूल्यसूची नटाँसेको, साइनबोर्डहरु नराखेको, एउटा नामको पसल दर्ता गरेर अर्को कारोबार गरेको, पसल दर्ता र नवीकरण नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका थिए । पोखरा, बेनी र ग्रामिण क्षेत्रमा रहेका पसल र डिलर तथा गाउँगाउँमा सामान बिक्री गर्न लैजाने व्यापारीहरुले म्याद सकिएका सामानहरु ग्रामीण भेगमा लगेर बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

अनुगमनमा भेटिएका कमजारीहरुलाई सुधार गर्न र कानुनी प्रक्रिया पुरा गरेर मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ । संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। तर, फितलो बजार अनुगमन र कमजोर कारबाही प्रक्रियाका कारण केही व्यवसायीहरुले मनोमानी ढंगले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष खेलबाट गरिरहेका छन्।

 

 

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका देशैभरमा द्वितीय, गण्डकी प्रदेशमा प्रथम

म्याग्दीको बेनी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनको नतिजा अनुसार देशैभर द्वितीय हुन सफल भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजामा बेनी नगरपालिकाले देशैभरमा द्वितीय स्थान हासिल गरेको हो ।
सार्वजनिक भएको कार्यसम्पादन मूल्याङ्कन अनुसार बेनी नगरपालिका द्वितीय भई ८१ दशमलव १७ अङ्क पाएको छ भने प्रथम हुने डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाले ८१ दशमलव ६६ अङ्क पाएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनको नतिजा अनुसार म्याग्दीको मंगला गाउँपालिकाले ६९ दशमलव ४९, रघुगंगाले ६९ दशमलव ३५, मालिकाले ६८ दशमलव ७५, अन्नपूर्णले ५९ दशमलव ९६ र धवलागिरि गाउँपालिकाले ४० दशमलव ८३ अङ्क पाएका छन् ।
बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरसभाबाट बजेट पारित भएको र आवधिक योजना बनाएको विवरणमा छुटेको अवस्थामा प्रमाणसहित पेश गरेपछि मुल्याङ्कनमा अंक बढेको बताउनुभयो । ‘सीमित स्रोतसाधन भए तापनि पालिकाले इमानदारीतापूर्वक कार्यसम्पादन गरेको छ,‘यो सफलता सबै जनप्रतिनिधि, कर्मचारी, जनताको साझा प्रयासबाट प्राप्त भएको हो । यसलाई निरन्तरता दिन हामी योजनाका साथ काम गर्छौं । हामीसँग सानाठूला योजनाहरुमा बजेट फ्रिज हुन नदिने गरी काम गरेका छौ, अगाामी बर्षको नतिजा झनै सुधार गछौं’ मेगर केसीले भन्नुभयो ।
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा गाउँपालिकातर्फ मंगला प्रथम भएको छ भने धवलागिरी सबैभन्दा पुछारमा छ । आयोगले स्थानीय सरकारको विभिन्न सूचकहरुको आधारमा रहेर हरेक वर्ष कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । सोही अनुसार स्थानीय सरकारहरुलाई आयोगले कार्यसम्पादनको मूल्याङ्कन गरेर अङ्क प्रदान गर्दै आइरहेको छ ।
आयोगले स्थानीय सरकारले हरेक वर्ष असार १० गतेभित्रै आगामी आर्थिक वर्षको लागि आयव्ययसहितको अनुमानित बजेट सम्बन्धित गाउँ तथा नगरसभामा पेश गरे÷नगरेको, आगामीको आवको राजश्व र व्ययको अनुमान असार मसान्तभित्र पारित गरे÷नगरेको, स्थानीय तहले सङ्कलन गर्ने घरजग्गा रजिष्टेशन शुल्क, मनोरञ्जन तथा विज्ञापन करवापत उठेको रकममध्ये ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आयव्यय पक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको विषयमा आधारित रहेर कार्यसम्पादनको मूल्याङ्कन गर्ने गर्दछ ।
यसैगरी आयोगले स्थानीय तहले आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यान्वयन वार्षिक समीक्षा गरी त्यसको विवरण कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र राजश्व परिचालनको अवस्था, गत आवमा विनियोजित रकमअनुसार खर्चको अवस्था, आव ०७९÷८० मा कुल लेखापरीक्षणबाट औल्याएका बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)को प्रयोग गरे÷नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे÷नगरेको, शैक्षिक सत्र २०८१ मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी खुद भर्नादर, शैक्षिक सत्र २०८० मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउदर तथा स्वास्थ्यसम्बन्धी सूचकहरुलाई आधार बनाइएको जनाएको छ । अ

केरा बेच्दै …

म्याग्दीको बेनी नगरपालिका–४,प्राकृतिक उपचार केन्द्र तातोपानीमा स्नान गर्न आउने बिरामीलाई केरा बेच्दै नन्दकुमारी किसान । तातोपानी कुण्डमा स्नान गर्न जाने र अवलोकन भ्रमणमा जानेहरुलाई केरा बेचेर नन्दकुमारीले उपचार र घरायसी खर्च चलाउनुहुन्छ । तस्वीर बेनीअनलाइन

‘ठाउँ छ मनैखानी जाउँ हिड घुम्नलाई …

प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गरेपछि धारामा नुहाउँदै बिरामी । जमिन मूनिबाट ५३ डिग्री सेल्सियससम्मको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ । अहिले तातोपानी कुण्डमा दैनिक करिब ४ सयदेखि ५ सय जनासम्म बिरामी, सर्वसाधारण तथा पर्यटकहरुले नियमित रुपमा नुहाउने गरेका छन्। तस्वीर बेनीअनलाइन

 

निर्मल पुर्जा विरुद्ध समाचार लेखेको हिमालयन टाइम्स कालोसूचीमा

पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा (निम्स)का बारेमा भ्रामक समाचार लेखेको भन्दै प्रेस काउन्सिल नेपालले हिमालयन टाइम्सलाई कालोसूचीमा राखेको छ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै हिमालयन टाइम्सलाई कालोसूचीमा राखेको हो ।

Nirmal ‘Nims’ Purja. Photo Courtesy: Project Possible

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका आरोही पूर्जालाई केही ब्यक्तिको गलत इसारामा तथ्यहिन र आरोही पूर्जाको चरित्र हत्या गर्ने गरी भ्रम फैलाउन निरन्तर समाचार प्रकाशित गरेको उक्त पत्रिकालाई प्रमाण पेश गर्न दिइएको निर्देशन अवज्ञा गरेको भन्दै कालो सूचीमा राखिएको हो ।

काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहद्वारा जारी बिज्ञाप्तीमा लेखीएकाे छ , कालोसूचीमा राख्ने’ निर्णयानुसार हिमालयन टाइम्सलाई  मूल्याङ्कन वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, लोककल्याणकारी विज्ञापनलगायत अन्य सुविधाबाट बन्चित गर्ने, सरकारी वा कुनै पनि सार्वजनिक निकायका तर्फबाट उपलब्ध गराइने कुनै पनि प्रकारका विज्ञापन वा सुविधाहरू उपलब्ध नगराउन सम्बन्धित निकायमा सिफारिस गर्नेसमेतका थप कारबाही किन नगर्ने ? स्पष्टीकरण माग गर्ने” निर्णय भएको हुँदा निर्णयानुसार ३ दिनभित्र स्पष्टीकरणसमेत पेस गर्न सूचित गरिन्छ भनीएकाे छ ।

दि हिमालयन टाइम्स दैनिक र thehimalayantimes.com बाट हिमालयन एडभेन्चर्स प्रा. लि. र निर्मल पूर्जा ‘NimsDai’ को नामसँग जोडेर सम्प्रेषित सामग्रीउपर मिति २०८१ जेठ १४ गते दर्ता भएको उजुरी सम्बन्धमा सम्बन्धितको खण्डन तथा प्रतिक्रियालाई स्थान दिई सम्प्रेषण गर्न एवं सम्प्रेषण गर्न नसकिने आधार / कारण भए सोको जानकारी गराउन ०८१ जेठ १८ गते पत्राचार भएकोमा त्यहाँबाट १९ मे २०२४ को फलोअप समाचार इलाइट एक्स्पेडकै पत्रका आधारमा तयार गरिएको र त्यसमा उल्लेख भएको खण्डन समावेश गरिएको हो ।’ भनी मिति ०८१।०३।१० गते प्राप्त जवाफ उजुरीकर्तालाई जानकारी गराइएको थियो ।

उक्त सम्बन्धमा उजुरीकर्ताबाट ‘खण्डनमा इलाइट एक्स्पेडकै पत्रको आधारमा समाचार तयार गरिएको भनिएको छ तर हाम्रो पत्रको आशयलाई गलत तरिकाले तोडमोड  गरेर अर्कै अर्थ लाग्ने गरी समाचार प्रकाशन भएको र प्रतिक्रया समेत चित्त नबुझेको’ भनी मिति ०८१ भदौ ८ गते बुँदागतरुपमा पेस भएको प्रतिक्रियाको अध्ययनपश्चात् त्यहाँ सञ्चार माध्यममा उजुरीकर्ताबाट पेस भएको प्रतिक्रियाको बुँदा १ देखि ३ लाई खण्डनकोरुपमा सम्प्रेषण गर्न मिति ८१ भदौ ११ गते पत्राचार गरिएकोमा त्यहाँबाट कुनै प्रतिक्रिया / जवाफ प्राप्त नभएपछि विभिन्न मितिमा ताकेता र पुनः ताकेता गर्दासमेत कुनै जवाफ पेस नभएको सन्दर्भमा उक्त  सञ्चार माध्यमलाई पत्रकार आचारसंतिा २०७३ (पहिलो संशोधन २०७६ ) को दफा ५(१) (ज) बमोजिम थप कारबाही अगाडि किन नबढाउने ? भनी मिति २०८१ भदौ २७ गते स्पष्टीकरण सोधिएकोमा त्यहाँबाट ढिलागरी मिति ०८१ असोज ११ गते ‘दि हिमालयन टाइम्स अंग्रेजी राष्ट्रिय दैनिक पत्रिकामा २३ सेप्टेम्बर २०२४ मा खण्डन प्रकाशन भएको’ भनी स्पष्टीकरणसहित पेस भएको खण्डनको अध्ययन / अनुगमन गर्दा – Purja denies any wrongdoing in Aussie climber’s case’ शीर्षकमा उजुरीकर्ताको प्रतिक्रियालाई आंशिक स्थान दिएको देखिएपनि यसमा Gilmore को भनाईलाई उद्धृत गर्दै उजुरीकर्ताको खण्डनको प्रतिखण्डन गरी समाचार प्रकाशन भएको देखिएको र सम्प्रेषित समाचारका सम्बन्धमा उजुरीकर्ताबाट पुनः०८ भदौ २७ गतेको मिति ०८१ असोज ६ गते उजुरी / निवेदन पेस हुनुका साथै मिति ०८१ असोज १३ गते हरेक समाचारको खण्डन गर्दै प्रकाशित समाचारको विषयमा आफ्नो खण्डन एवं प्रतिक्रिया समेटिएको १८ पृष्ठ लामो प्रतिक्रियासमेत पेस भएको थियो ।

उक्त सम्बन्धमा मिति ०८ असोज १८ गतेको बैठकबाट यस विषयमा थप अध्ययन/अनुसन्धान गनुपर्ने आवश्यकता देखिएकोले अध्ययन/अनुसन्धान गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने निर्णयबमोजिम गठन भएको कार्यदलले अध्ययन अनुगमन गरी पेस गरेको प्रतिवेदनका सम्बन्धमा मिति ०८१ फागुन ०८ गतेको बैठकमा छलफल हुँदा “प्रतिवेदनले एकपक्षीय / सन्तुलनरहित ढङ्गबाट सिलसिलेवररूपमा, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैप्रति अनुचित लाभ वा हानी पुऱ्याउने नियत राखी सञ्चार माध्यमले समाचार प्रकाशन् गरी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७ बमोजिम यथोचित कारबाही गर्न सकिने निष्कर्षसहित सिफारिस गरेको सन्दर्भमा सम्बन्धित सञ्चार माध्यमहरू ( पत्रिका/डिजिटल ) दुवैबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ४(३) (१), ४(६) (१) र ५(२) उल्लङ्घन गरेको ठहर गर्दै The Himalayan Times Daily र thehimalayantimes.com लाई पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७ १(ज) बमोजिम अवज्ञाकारी गरेको भनी कालोसूचीमा राखीएकाे प्रेस काउन्सिलले जनाएको छ ।

धवलागिरि गाउँपालिकामा बजार अनुगमन, म्याद सकिएका अखाद्य पेयपदार्थहरु धेरै भेटियो

म्याग्दीको धवलागिरि गाउँपालिका-३, मुना र ७ नम्बर वडा धारापानीमा  संयुक्त बजार अनुगमन भएको छ । दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त रुपमा बजार अनुगमन गरिएको जनाइएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य र पर्यटन तथा उद्योग कार्यालय प्रमुख अमृतप्रसाद कँडेलको विशेष उपस्थितिमा मुनाको विभिन्न स्थान र धारापानीमा सञ्चालित किराना तथा खुद्रा पसल, होटल तथा रेष्टुरेण्ट र बेकरीको अनुगमन गरिएको छ ।

अनुगमन टोलीले धारापानीमा रहेको सविना गेष्ट हाउस, अमृत ब्रदर्श किराना पसल, निशान एण्ड निश्चल किराना पसल, सक्षम किराना पसल, रुपकला विकको किराना पसल र खुसीका किराना पसलमा अनुगमन गरेको थियो । यसैगरी मुना र फलियागाउँमा सञ्चालित शेरपुञ्जा किराना पसल, पुन ब्रदर्श किराना पसल, जमुना पुन किराना पसल, पुन किराना पसल, जेभी किराना पसल, समिर होटल एण्ड किराना पसल, बिर्सना किराना पसल र राजेश किराना पसलमा अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

धारापानी र मुनाको विभिन्न स्थानमा सञ्चालित १४ वटा किराना तथा खाद्यान्न पसल, २ वटा होटल र रेष्टुरेण्टमा अनुगमन गरी कुल २५ हजार सातसय ९० रुपैयाँ बराबरको म्याद सकिएका पेर्यपदार्थ र खाद्यवस्तुहरु जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख कँडेलले बताउनुभयो । उहाँका अनुसार अनुगमनको क्रममा सबैभन्दा ठूलो परिमाणमा उपभोग गर्ने म्याद सकिएका कोकाकोला, स्प्राईट, मिरिण्डा, फेन्टालगायत पेयपदार्थहरु भेटिएका छन् । यसका साथै सुजी, भुजा, चिउरा, सस, घ्यु, बिस्कुटलगायत दैनिक उपभोग्य सामानहरु पनि म्याद नाघेको भेटिएपछि ती सबै पेयपदार्थ र खाद्यवस्तु जफत गरेर नष्ट गरिएको छ ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठूल्ठूला पसल र डिलर तथा गाउँगाउँमा सामान बिक्री गर्न लैजाने व्यापारीहरुले म्याद सकिएका सामानहरु ग्रामीण भेगमा लगेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । अनुगमनको क्रममा पसलभित्र म्याद सकिएका सामानहरु बिक्री गर्न टाँसीमा राखेको, मूल्यसूची नटाँसेको, साइनबोर्डहरु नराखेको, एउटा नामको पसल दर्ता गरेर अर्को कारोबार गरेको, पसल दर्ता र नवीकरण नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका थिए । त्यस्तै मुनामा सञ्चालित कोशेली बेकरी उद्योगले उत्पादन गरेको पाउरोटीलगायत बेकरीका आईटमहरुमा लेबल नटाँसिकनै खुलेआम रुपमा बिक्री गरेको पाइएको छ ।

अनुगमनमा भेटिएका कमजारीहरुलाई सुधार गर्न र कानुनी प्रक्रिया पुरा गरेर मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको सहायक प्रजिअ अनिशा आचार्यले बताउनुभयो । उपभोक्ताहरुको हकहित र स्वास्थ्यलाई मध्यनजर गरी व्यवस्थित तरिकाले पसल सञ्चालन गर्ने वातावरण निर्माण गर्नका लागि बजार अनुगमन गरिएको थियो । पर्यटन तथा उद्योग कार्यालय प्रमुख कँडेलले पसल दर्ता गरेर मात्रै सञ्चालन गर्न, समय समयमा नवीकरण गर्न, म्याद सकिएका सामानहरुलाई छुट्टै व्यवस्थापन गर्न, पसलमा मूल्यसूची र साइनबोर्ड राख्नेलगायत सुझावहरु दिइएको बताउनुभयो ।

अनुगमन कार्यमा जिल्ला प्रशासन र पर्यटन तथा उद्योग कार्यालयका कर्मचारी, धवलागिरि गाउँपालिकाको प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो । पालिकास्तरमा सञ्चालित पसलहरुको समय समयमा बजार अनुगमन गरी चुस्तदुरुस्त बनाउने र उपभोक्ताहरुलाई सचेत बनाउन व्यावसायिक तथा उपभोक्ता हितका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

गाउँ जोड्ने सडक बनाउन श्रमदान

म्याग्दीको रघुगंगा गाउँपालिका-३,मालिका टोलमा जाने मोटरबाटो तथा गोरेटो बाटो मर्मतमा वडाबाट विनियोजित बजेटले अपुग स्थानीयले श्रमदान गरेका छन् । गाउँसम्म जोड्ने बाटो कच्ची हुदाँ सवारीसाधन आवतजावत गर्न समस्या भएपछि वडा कार्यालयबाट विनियोजित २ लाख बजेटले अपुग भएपछि स्थानीयबासीले लगातार श्रमदान गरी सडक मर्मत गरेको स्थानीय गोपी परियारले बताउनुभयो।

‘कच्ची सडकमा सवारीसाधन आउन मान्दैनन, हामीले समुदायस्तरबाटै श्रमदान समेत गरेर बाटो बनाएका छौ, अब थप बजेट समेत मागेर राम्रो बनाउँछौ’ परियारले भने । सडकखण्डमा वडाबाट विनियोजित बजेटले खाल्टाखुल्टी मर्मत तथा मालिकामा २८ मिटर र जुकेपानीमा ५२ मिटर सडक सोलिङ गरिएको छ । जनश्रमदानमा जुटेकालाई स्थानीय वडा सदस्य आइती दर्जी र फुलकुमारी दर्जीले ब्यक्तिगत रुपमा खाजाको ब्यवस्थापन समेत गर्नुभएको थियो ।

उपभोक्ता समितिका अधयक्ष रमेश दर्जीका अनुसार करिब ३० लाख बजेट भएमा सडक स्तरोन्नतिका गर्न सकिने बताउनुभयो । मालिका टोलमा करिब ८० घरधुरी रहेको छ । सडकको स्तरोन्नती गरिएपछि विद्यालयमा जाने बालबालिका तथा गाउँपालिकाको केन्द्र मौवाफाट, भगवती लगायतका क्षेत्रमा आवतजावत र सामान ढुवानी गर्न, कृषि उपज निकासीमा सहज भएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसमा मंगलाका महिलाहरुलाई उद्घोषण तालिम

प्रताप बानियाँ

म्याग्दी– मंगला गाउँपालिका म्याग्दीको आयोजनामा शनिवार बाबियाचौरमा महिलाहरुलाई लक्षित गरी उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता तथा सशक्तिकरण’ भन्ने मूल नारासहित ११५औं अन्तर्राष्ट्रिय महिला दिवस–२०८१ को अवसरमा तालिम सञ्चालन गरिएको हो ।

ग्रामीण भेगका महिलाहरुलाई उद्घोषण तालिम सिकाएर बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले एकदिने उद्घोषणकला तालिमको आयोजना गरिएको मंगला गाउँपालिकाले जनाएको छ । तालिममा उद्घोषण, उद्घोषण गर्ने कला, उद्घोषणको परिचय, उद्घोषकले ध्यान दिनुपर्ने विषयवस्तु, उद्घोषकले गर्न नहुने कुराहरु, भाषणकला, औपचारिक कार्यक्रम सञ्चालन गर्ने तरिका, सम्बोधनलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको प्रशिक्षक तथा पत्रकारद्वय कृष्णबहादुर जिसी र प्रताप बानियाँले उद्घोषण सम्बन्धी विषयमा आधारित रहेर प्रशिक्षण दिनुभएको थियो । मंगला गाउँपालिकाको पाँचवटा वडाका विभिन्न टोल र वस्तीबाट ६८ जना महिलाहरुले सहभागिता जनाएको कार्यक्रममा सहभागीहरुलाई माईक्रोफोन समातेर कार्यक्रम सञ्चालन गर्न, स्वागत र शुभकामना मन्तव्य व्यक्त गर्नका लागि प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिमका सहभागीहरुले उद्घोषणकला तालिम व्यवहारिक भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएका छन् ।

तालिमको मंगला गाउँपालिका–२, बाबियाचौरकी ज्येष्ठनारी ७४ वर्षीया रत्नकुमारी खत्री र मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा ज्येष्ठनारी खत्रीलाई गाउँपालिकाको तर्फदेखि उपाध्यक्ष क्षत्रीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रम मंगला गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख महिला विकास निरीक्षक अनिताकुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको समापन गर्दै मंगला गाउँपालिकाका उपाध्यक्ष क्षत्रीले अन्तर्राष्ट्रिय महिला दिवस सन् १९०८ मार्च ८ मा अमेरिकामा महिलाहरुले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलव पाउनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित संघर्ष गरेकाले सोही दिनको सम्झनामा हरेक वर्ष दिवस मनाउँदै आइएको बताउनुभयो । उहाँले महिलाहरुलाई सक्षम र सबल बनाउन गाउँपालिकाको तर्फदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागी महिलाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

‘महिलालाई अवसर दिन कन्जुसाइ गर्दा समाज पछाडी पर्‍यो’

नेपालको संविधानले महिलालाई अनिवार्य गरेको अधिकार व्यवहारमा लागू गर्न चुनौती रहेको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।

१ सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बेनी नगरकार्यपालिकाको कार्यालयद्धारा आयोजित कार्यक्रममा बोल्ने बक्ताले महिलाले पाएको अवसरलाई सदुपयोग गर्दै पुरुषसरह महिलाले पनि काम गर्न सक्छन् भन्ने सोच समाज विकास गर्न जरुरी रहेको बताइएको थियो ।

महिलालाई अवसर दिन कन्जुसाइ गर्दा समाज पछाडी परेको महिला अधिकारकर्मीको भनाई थियो । दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले अवसर र अधिकार दिने हो भने पुरुषले गरेको भन्दा महिलो गरेको कामकारबाही बढी प्रभावकारी हुन्छ भन्ने समाजमा नेतृत्वदायी भूमिकामा रहेका महिलाले सावित गरेको बताउनुभयो।

महिलाले केही गर्न सक्दैनन् होइन कि अवसर र अधिकार दिए जे पनि गर्न तयार छन् भन्ने उदाहरण हेरेर अब अवसरमा कन्जुसाई गर्न नहुने बताइएको थियो ।

सोही अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसी, जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्य, बह्माकुमारी इश्वरीय विश्वविद्यालय बेनी शाखाकी प्रमुख रिना दिदी, नेपाल पत्रकार महासंघ म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, दिदी बहिनी सहकारीकी अध्यक्ष सुगम श्रेष्ठ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) नगर अध्यक्ष अम्बिका ढुंगानाले मन्तब्य राखेका थिए ।

दिवसको अवसरमा महिला अवसर र नेतृत्व विषयक लोकगीत प्रतियोगिताको समेत आयोजना गरिएको थियो । बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक चक्र केसीको स्वागत र महिला विकास शाखाकी डम्सरा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो ।

सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए ।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।