Wednesday, April 30, 2025
25.9 C
Beni
25.9 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 831

बुबाले आमाको हत्या गरेपछि दिपकको बिचल्ली

0

म्याग्दीको बेनी नगरपालिका-१,रत्नेचौरको सारेमारेका १० बर्षिय दिपक सार्कीको विचल्ली भएको छ । बुबा बिरबहादुरले आमालाई कुटपिट गरी हत्या गरेपछि दिपकले पेटभरी खान पाएका छैनन् । च्यातिएको पुरानो लुगा, आफन्तकोमा मागेर गुजारा चलाइरहेका दिपकले उचित हेरचाह र पढ्ने वातावरणको अभावले नियमित विद्यालय समेत जादैनन् । दिपकको खाने र बस्नेको ठेगान छैन ।

बि.स २०७७ भदौ १३ गते मध्यरातमा मदिरामा लठ्ठ बिरबहादुरले घरमा सुतिरहेकी ३६ बर्षिय आमा मायाँ बोहोरालाई मरणासन्न हुनेगरी कुटेर घर नजिकै खाल्टोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेपछि बेसहारा बनेका दिपकको नियमित विद्यालयमा जाने,राम्रो पढ्ने चाहनालाई आर्थिक अभाव बाधक बनेको छ।

रत्नेचौरको भानु माविमा कक्षा ४ मा अध्ययनरत दिपकलाई पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग गर्न सकेमा भविष्यमा राम्रो प्रगति गर्न सक्ने विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताए ।‘पढ्न वर्षभरि आवश्यक पर्ने साम्रगीकै अभाव छ,उनीबस्ने आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ,’ प्रअ खत्रीले भने ।

विद्यालयमा प्रवेश गरेको केहीदिन पछि प्रअ खत्रीले घरको अवस्था बुझ्दा दिपक भाबुक भएका थिए । ‘आमाको मृत्यु भयो, बुबा जेलमा हुनुहुन्छ’ दिपकको भनाई उद्धित गदैं प्रअ खत्रीले भने ।

उनले बुबाले आमालाई कुटपिट गरेको घटना बेलाबेला सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् गरेको बताए । दिपक विद्यालयका अनुशासित विद्यार्थी समेत हुन्। विद्यार्थीको अवस्थाका बारेमा जानकारी गराएपछि रत्नेचौरका विष्णु कार्कीले शैक्षिक पोशाकका लागि ३ हजार सहयोग गरेका छन् ।

अभिभावकविहीन भएका दिपककोे उचित लालनपालन र शैक्षिक गतिविधिलाई निरन्तरता दिने गरी सहयोग अभियान समेत सुरू गरिएको छ । सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेपनि जिल्लाका स्थानीय तहले सहयोगका लागि आवश्यक कोष ब्यवस्थापन र सक्रियता देखाउनेतर्फ चासो दिएका छैनन् ।

क्यूएए सम्बन्धनका लागि मंगला शिक्षा क्याम्पसको अध्ययन अवलोक भ्रमण

0

म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको टोलीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्त गरेका विभिन्न क्याम्पसको अवलोकन भ्रमण गरेको छ ।

अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्तीका लागि आवश्यक प्रक्रिया समेत अगाडी बढाएको क्याम्पसले गाउँपालिका उपाध्यक्ष पेमाकुमारी अधिकारी,प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना, क्याम्पसका पूर्वअध्यक्ष चन्द्रप्रसाद बुढाथोकी, निर्वतमान अध्यक्ष श्रीराम पौडेल, आर्थिक पूर्वाधार समिति योसुदा रोका, राजनीतिक दलका प्रतिनिधि, सहायक प्राध्यापक लगायतको उपस्थिती रहेको थियो

टोलीले पोखराको पृथ्वीनारायण क्याम्पसमा, कन्या बहुमुखी क्याम्पस पोखरामा,जनप्रिय बहुमुखि क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको क्यूएए टिमसँग आवश्यक प्रक्रिया सहित विभिन्न विषयमा छलफल गरेको थियो । भ्रमणबाट क्यूएए प्रक्रियामा सहज भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।

‘यहाँहरूबाट नियमित प्रक्रियाका बारेमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,‘हाम्रो टिमले नियमित सम्पर्क गर्ने गरी सम्बन्ध बनाएका छौ’ प्रमुख खत्रीले भन्नुभयो ।अवलोकन भ्रमणको क्रममा बहुमुखी क्याम्पसमा क्यूएए प्राप्तीपछिको शैक्षिक गुणस्तरका बारेमा समेत छलफल भएको सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।

क्यूएए प्राप्तीका लागि आवश्यक पर्ने बजेटमा गाउँपालिकाले समेत सहयोग गरेको छ । पश्चिम म्याग्दीको शैक्षिक धरोहरको रुपमा रहेको मंगला शिक्षा क्याम्पसले सुचना र प्राविको क्षेत्रमा अब्बल बनाउने गरी दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयबाट अनुमति लिन आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।

 

विश्व वातावरण दिवस : विकासका नाममा विनाश

0

मानवीय अतिक्रमण र लापर्वाहीका कारण म्याग्दीमा मानवीय लापर्वाही र प्राकृतिक प्रकोपका कारण वातावरणीय असन्तुलनका कारण जोखिम बढ्दै गएको छ।

जनप्रतिनिधि र जनता दुबैका नजरमा विकास भनेर सडक नै प्राथमिकतामा परेपछि  म्याग्दीका ग्रामीण क्षेत्रमा वातावरण क्षयीकरण हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटर लगायतका मेसिन गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको छ भने सुविधासँगै संकट पनि गाउँमा पसेर प्राकृतिक सम्पदा र मौलिक ग्रामीण जीवन पद्धतिमाथि प्रहार भएको छ।

ग्रामीण क्षेत्रको वातावरणीय सन्तुलनका आधार मानिने वरपीपल, चौतारी र पोखरी मासिएपछि स्वच्छ हावापानी दुर्लभ बन्दै गएको छ भने दौतरीसँगको भेटघाट हुने ठाउँ पनि पुरिएका छन्। गाउँघरका पाटीपौवा र चौतारा विस्थापित भएका छन्। साथै, गाउँबस्ती पनि जोखिममा पर्दै गएका छन्।

चौतारी र पाटी पौवा मासिँदै जाँदा ग्रामीण जीवनको एउटा गर्विलो इतिहास हराउँदै समेत गएको छ। अर्जुन मावि भकुण्डका शिक्षक रघुनाथ शर्मा भन्छन्, ‘अब थकाइ लाग्दा सुस्ताउने चौतारा पनि भेटिदैनन्। सडक विस्तारसँगै चौतारा विस्थापित भए। वर्षभरि धान फल्ने खेतमा पानी लाग्ने कुलो डोजर लगाएर सडक बनाएकै कारण मासिएका छन्, जसका कारण खेतीयोग्य जमिन बाँझोमा परिणत भएको छ।’

त्यस्तै विकासका नामा जथाभावी सडक निर्माण गर्दा गाउँघर नै कुरूप बनाएको मंगला गाउँपालिका–१ का हरिकृष्ण पौडेल बताउँछन्। सडकले पहिरोको जोखिमसमेत बढाएको छ र सडक खन्दा मन्दिर, विद्यालय, खानेपानीको मुहान होस् वा कुलो केही वास्ता नगर्ने गरेको उनले बताए। पानीको स्रोत कुवा, पँधेरो, मठमन्दिर, पाटीपौवा, चौतारा र कुलो मासेर बनाइने सडक विकास हो वा विनाश, स्थानीयले छुट्याउन नसकेको उनको तर्क छ।

वातावरणीय प्रभाव मूल्यांकन नगरीकन जथाभावी डोजर (स्काभेटर) चालकले प्राविधिक रेखदेखबिना सडक खन्दा गावै कुरूप बनेका छन् भने पहिरोको जोखिममा रहेको वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटा बताउँछन्। सापकोटा भन्छन्, ‘यसरी जथाभावी सडक खन्ने क्रम नरोकिए थप संकट निम्तिदै जाने र प्राकृतिक स्रोतको विनाश अझ बढ्नेछ।’

सरकारले सडक बनाउनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनिवार्य गर्नुपर्ने प्रावधान राखे पनि त्यसको बेवास्ता गरी आफूखुसी सडक बनाउँदा बस्ती थप जोखिममा पर्ने गरेको उनको भनाइ छ।

वनजंगलका छेउछाउमा र हरिया डाँडामा बस्ती विस्तार हुने क्रम बढ्दै गएपछि त्यहाँ बस्ने जनावर र चराको अस्तित्व पनि संकटमा पर्दै गएको वातावरणविद्ले बताएका छन्। यसरी रूख अनि जंगल फडानी गरेर बस्ती बसाउँदै गर्दा सम्भावित वातावरणीय चुनौती र प्राकृतिक विपत्तिको बारेमा सोच्न आवश्यक रहेको वातावरण संरक्षणकर्मी सापकोटाले बताए।

उनका अनुसार वातावरणीय अतिक्रमण र प्रदूषणका कारण जंगली जनावर, पक्षी र जलचर पनि लोप हुँदै गएको पाइएको छ।

त्यसैगरी बजारबाट निस्कने फोहोर, कलकारखाना र घरबाट निस्केको ढल कालीगण्डकी र म्याग्दी नदीमा मिसाइँदै नदीको जलचक्र प्रणाली नै खलबलिनुका साथै जलचर नासिँदै गएका छन् भने पवित्र नदीहरू प्रदूषित बन्दै गएका छन्। बजार क्षेत्रमा यातायात र कलकारखानाबाट निस्कने धुवाँ अनि धुलोको कारण बालबालिका र वृद्धवृद्धाको दैनिकी असहज बन्दै गएको गुनासा सुनिन थालेका छन्।

‘हामीले प्रकृतिसँग नजिक हुन र प्रकृतिलाई माया गर्न सकेनौँ भने ठूलो मानवीय संकट निम्तिने निश्चित छ’, सापकोटा भन्छन्, ‘धुलाम्मे शहरभित्र मास्क लगाएर सुदृढ भविष्य कोर्न अनि अस्वस्थकर र मुहान नै फोहोर भएका पानी पिएर स्वस्थ रहन असम्भव हुन्छ।’

१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो। उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तरराष्ट्रिय ऐक्यबद्धता बन्यो।त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जुन १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तरराष्ट्रिय दिनका रूपमा अंगीकार गरिएको हो।

विश्व वातावरण दिवसको अवसरमा बजार सरसफाई

0

विश्व वातावरण दिवसको अवसरमा न्यू होराईजन आवासीय माविले पर्वतको जलजला गाउँपालिकास्थित पर्वतबेनीमा सरसफाई गरी दिवस मनाएको छ । जथाभावी फालिने फोहोका कारण वातावरणमा गम्भीर असर गरेको भन्दै विद्यालय अन्तर्गत रहेको नवगठित जुनियर रेडक्रस सर्कलले पर्वतबेनीमा सरसफाई सहित सचेतनामुलक कार्यक्रम गरिएको प्रिन्सिपल अर्जुन पौडेलले बताउनुभयो ।

दिवसको अवसरमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिका भित्र वातावरणमैत्री संरचना, सरसफाई बृक्षारोपण जस्ता गतिविधिलाई दिवसमा मात्रै सिमित गर्न नहुने बताउनुभयो । उहाँले गाउँपालिकाले समेत वातावरणमैत्री गतिविधिलाई प्राथमिकता दिने बताउनुभयो । कार्यक्रममा विद्यालयक पुर्व व्यवस्थापन समिति अध्यक्ष श्री ठाकुर प्रसाद रेग्मी, सक्रिय सहभागिता जनाउने विद्यार्थी,शिक्षक लगायत वजारबासीको समेत सहभागीता रहेको थियो ।

वातावरण दिवसको अवसरमा लिटल गार्डेनको वृक्षारोपण (तस्बिरहरू)

0

विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीले वृक्षारोपण गरी मनाएको छ । दिवसको अवसरमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले बेनी–अर्थुङे सडकखण्ड आसपासमा बरपिपल,स्वामी लगायत वातावरणलाई अनुकुल बनाउने विभिन्न प्रजातिको विरूवा रोपेको प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।

विद्यालयले हरेक बर्ष दिवसको अवसरमा सरसफाई सहित रचनात्मक कार्य गदैं आइरहेको छ। बिग्रदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न चुनौतीको सामाना गर्ने गरी विद्यालयभित्र र समुदायलाई समेत सचेत बनाउने गरी दिवस बाहेक समेत विभिन्न समयमा कार्यक्रम गर्ने गरेको विद्यालयले जनाएको छ ।

विद्यालयले सामाजिक विकृति बिरुद्धका अभियानमा समेत विद्यार्थीको अग्रसरतामा कार्यक्रम गर्ने गरेको छ । दिवसको अवसरमा म्याग्दीमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।

दानाको मोतिचौरमा मुक्तिनाथको झल्को दिने गरी निर्मित १०८ धारा

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको घनाजंगलको बीचमा अवस्थित मौतिचौरमा मुक्तिनाथ मन्दिरको जस्तै झल्को दिने गरी निर्मित १०८ धाराको उद्घाटन गरिएको छ । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने मौतिचौरमा दानाबासीले १०८ धारा, मठमन्दिर, स्नानगृह सहित भक्तजनलाई बिश्राम गर्ने पाटीपौवा निर्माण गरिएको हो ।

गाउँपालिकाको करिब ८ लाख सहयोग बाहेक स्थानीयको पहलमा करिब २५ लाख जुटाएर १०८ पानीको मुल भएको स्थानमा १०८ धारा सहित सामान्य मन्दिरलाई ब्यवस्थित बनाएको उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले बताउनुभयो । भारतको राजस्थानबाट ढुंगा र गाईमुखी लिएर धारा बनाइएको छ ।

स्थानीयबासीले २० लाखको लागतमा १०८ धारा, कपडा फेर्ने घर ३ लाख, ठाँटी भवन मर्मत तथा जस्तापाता फेर्न २ लाख ७९ हजार खर्च गरिएको छ। मन्दिर अन्य संरचना बनाउन स्थानीय समाजसेवी लेप्टन बेलबहादुर पूर्जा, दाना हाल यूकेमा बसोबास गर्ने कृष्ण तुलाचन, हरिमायाँ राम्जाली, आनन्द पुन लगायतको अगुवाईमा भएको थियो ।

हिउँदमा पनि नसुक्ने १०८ ओटा मुलहरुबाट पानी ल्याइएकोले पनि यो धाराको विशेष महत्व रहेको छ । १०८ धारा सहित निर्मित संरचनाको शनिबार एक कार्यक्रमका बिच वडा अध्यक्ष रमेश पूर्जा, समाजसेवी कृष्ण तुलाचन,अन्नपूर्ण गापा कार्यपालिका सदस्य आशा गुरूङले उद्घाटन उद्घाटन गर्नुभयो ।

सोही अवसरमा वडा अध्यक्ष पूर्जाले मौतिचौरको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर अगाडी बढ्ने बताउनुभयो । त्यस्तै दाना घर भई हाल यूकेमा रहेका कृष्ण तुलाचनले हरेक योजनाहरू चन्दा संकलनबाट सम्भव नहुने भएकाले मर्मत तथा पूर्वाधारमा मौतिचौरमा उत्पादन हुने जडिबुटी, खानेपानी सहित विभिन्न आम्दानीको स्रोतबाट गर्नुपर्ने बताउनुभयो ।

डेढबर्ष अगाडीसम्म पूजाआजा गर्न आउँदा समेत बन्यजन्तुको आक्रमणबाट त्रसित हुनुपर्ने अवस्था,एकरात काट्न समेत चरम असुविधा रहेको अवस्थामा अहिले सयौंको संख्यामा भक्तजनहरू आउने गरेको मन्दिरका मुख्य पूजारी टेकबहादुर थापाको भनाई छ । मोतीचौरमा शिद्घबहार, गुफा मन्दिर र विष्णु लक्ष्मी मन्दिर रहेका छन् ।

सिद्धबहार र गुफा मन्दिरमा बली दिइन्छ भने विष्णुलक्ष्मी मन्दिरमा शाहकारी भाकल गरिन्छ । भाकल पूरा भएपछि भक्तजनले गरेको सहयोगले समेत मन्दिरमा थप संरचना बनाउन सहज भएको ब्यवस्थापन समितिको भनाई छ। मौतिचौरमा प्रत्येक वर्ष जनै पूर्णिमाको अवसरमा विशेष पूजाआजा हुन्छ । सन्तान प्राप्ती, बैदेशिक रोजगार, स्वास्थ्य, शिक्षा लगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन जाने गरेका छन् ।

कसरी पुग्ने?
अनकन्टार जंगल बीचमा अवस्थित मोतिचौर । चारैतिर डरलाग्दो पहाड,कानमै गुन्जिने अनेक जातका चराचुरुङ्गीको आवाजले आनन्द अनुभुती हुन्छ । यहाँ पुग्न बेनी–जोमसोम सडकखण्डबाट अन्नपूर्ण गाउँपालिका–३, दानासम्म सवारीसाधनको प्रयोग गरी पुग्ने ।त्यहाँबाट मौतिचौरसम्म पुग्न दुवाडीसम्म निर्माणधिन सडकबाट मोटरसाईकलमा पुग्न सकिने भएपनि ।

सडकमा घुम्ती धेरै भएकाले जोखिम रहेको अवस्थामा दाना डाँडागाउँदेखि जलुका, दुवारी, हिलेखर्क हुदै पैदलयात्राबाट करिब साढे ३ घण्टामा सजिलै पुग्न सकिन्छ । पदैलमार्गमा पर्ने बस्तीका बासिन्दाको हार्दिकताले समेत यात्रा सहज हुन्छ । बस्तीबाट उकालो लागेपछि पशुचौपाया, भेडीगोठमा रहेका कुकुरबाट सर्तक भने हुनुपर्छ ।

 

विपन्न परिवारलाई मोवाईल तथा इलेक्ट्रिक्स संघ म्याग्दीको सहयोग

0

म्याग्दीमा मोवाईल तथा इलेक्ट्रिक्स संघ म्याग्दीले मालिका गाउँपालिका–६,दरबाङको एक बिपन्न परिवारलाई खाद्यान्न र शैक्षिक साम्रागी सहयोग गरेको छ।

बिहान बेलुका समेत हातमुख जोड्न धौ–धौ हुनु अवस्थामा रहेका बागलुङ नगरपालिका–७ घर भई हाल दरबाङमा बस्दै आएका हरिप्रसाद विश्वकर्माको परिवारलाई १० हजार बराबरको सहयोग गरेको संघका सचिव विनोद सुबेदीले बताउनुभयो।

सोही अवसरमा दरबाङका स्टेशनरी ब्यवसायी गोपाल रेग्मीले १ हजार बराबरको सहयोग गर्नुभएको थियो ।  म्याग्दी जिल्लमा रहेको मोवाइल तथा इलेक्ट्रिक्स ब्यवसायीको साझा संस्था संघले ब्यवसायसँगै रचनात्मक कार्यहरु समेत गर्ने गरेको संघका अध्यक्ष हेमन श्रेष्ठले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष अर्जुन आचार्य, कोषाध्यक्ष रामकृष्ण सुबेदी, दरबाङ इकाई अध्यक्ष विष्णु खत्री लगायतको उपस्थिती रहेको थियो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संघमार्फत यसअगाडी समेत विभिन्न कार्यक्रम भएको थियो । संघले ब्यवसायीबाट सहयोग जुटाएर सामाजिक एवम् मानवीय सेवा गर्ने जनाएको छ ।

१८ औं अन्तर मावि लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम

0

म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ । जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम अन्तरगत शनिबार नेपाल भाषा मङ्काखलको सभाहलमा भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो । प्रतियोगितामा बेनी बोर्डिङ आवासीय मािव द्वितिय र बेनी सामुदायिक विद्यालय उतकृष्ट टिमको उपाधी जितेको छ ।

प्रतियोगितामा प्रथम हुने न्यु वेष्ट प्वाईन्टलाई नगद १० हजार रुपैयासहित रनिङ्ग कप, ट्रफि र प्रमाणपत्र, द्वितिय हुने बेनी बोर्डिङलाई नगद ६ हजार ५०० रुपैयासहित ट्रफि र प्रमाणपत्र र उतृकष्ट नृत्य प्रस्तुत गर्ने बेनी सामुदायिक विद्यालयलाई नगद ३ हजार ५०० रुपैयाँसहित ट्रफिले सम्मान गरिएको जेसिज सप्ताह कार्यक्रमका मुल संयोजक हरि भण्डारीले बताउनुभयो । प्रतियोगितामा विजेता विद्यालयलाई बेनी नगरपालिकाको उपमेयर ज्योती लामिछाने, नेपाल जेसिज पुर्व अध्यक्ष धनन्जकुमार श्रेष्ठ, म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्री, जेसिज सप्ताह कार्यक्रमका मूल संयोजक भण्डारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

लोक नृत्य प्रतियोगिताको अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछानेले युवाहरुको नेतृत्व विकासमा म्याग्दी जेसिज योगदान महत्वपूर्ण रहेको बताउनुभयो । जेसिजले नगरका जनप्रतिनिधिलाई पाचँबर्षभित्र नगरभित्र गनुपर्ने कामको तस्विर समेटिएको सन्देशमूलक मायाको चिनो प्रदान गर्दै जेसिज सप्ताह सम्पन्न गरेको छ।
अध्यक्ष खत्रीको अध्यक्षता, मुल संयोजक भण्डारीको स्वागत र कार्यक्रम संयोजक सुमन बानियाँको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जेसिज सप्ताह अन्तरगत दन्त शिविर, आँखा शिविर, सार्वजनिक भाषणकला तालिम लगायतको कार्यक्रम गरेको थियो ।

बेनीको खुल्लामञ्च बन्यो पार्किङस्थल…

0

म्याग्दीको सदरमुकाम बेनी बेनीमा रहेको खुल्लामञ्च निजी सवारीसाधन पार्किङस्थल बनेको छ । खुल्लामञ्चमा सवारीसाधन पार्किङ गर्दा खेलकुद गतिविधि प्रभावित भएको छ । मिनी रंगशाला बनाउने गरी योजना अगाडी बढेपनि बजेटले निरन्तरता नपाएपछि अलपत्र परेको खुल्लामञ्चमा राखिएको सवारीसाधन हटाउन खेलाडीले माग गरेपनि बेनी नगरपालिकाले बेवास्ता गरेको छ । गोलपोष्ट नजिकै गरिएको पार्किङले खेल्ने क्रममा चोट लाग्ने जोखिम रहेको खेलाडीको भनाई छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । खुल्लामञ्चमा धमाधम भइरहेको पूर्वाधार विस्तार सहितका योजनाहरू प्राथमिकतामा नपरेपछि अहिले लथालिङ जस्तै छ । तस्वीर सौजन्य बिनोद घर्ती क्षेत्री

खाडीबाट फर्केर गाउँमा भैंसीपालन, मासिक ४ लाख आम्दानी

0

१० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय सुरेश ढुङ्गाना परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने सन्देश दिन सफल भएका छन् ।

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका ढुङ्गानालाई गाउँ आएपछि साथीहरुले अमेरिका जान उचाले । उनले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाए । नौ वर्ष पहिले विसं २०७० मा कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ढुङ्गानाको फर्ममा अहिले २२ मुर्रा जातका भैंसी र दुई जर्सी गाई दुहुना छन् ।

ती भैँसी र गाईबाट दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको ढुङ्गाना बताउँछन् । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक चार लाख रुपैयाँ आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा वचत हुने उनको भनाइ छ । फार्ममा अहिले पचास लाख लगानी भइसकेको उनले बताए । ढुंगानाले भैंसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिएका छन् ।

‘बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पुर्‍याउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरी डेरी उद्योगमा दैनिक १५० लिटर दूध पुर्‍याएपछि बल्ल शरीरमा फुर्ति आउँछ’, ढुङ्गानाले भने ।

प्रतिलिटर ९० रुपैयाँमा दूध बिक्री हुने गरेको उनले बताए । ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पुर्‍याउँछन् । ‘बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर, गुणस्तरलाई खस्कन दिनुहुँदैन भन्ने मेरो मान्यता छ’ उनले भने ।

पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाए ।

उनले पाँच रोपनी जग्गामा फार्म बनाएका छन् । जहाँ दुई जनालाई रोजगारीसमेत दिएका छन् ।

भैंसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैं खटिने ढुङ्गाना विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताउँछन् ।

ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिदैन । आफूलाई फापेको भैंसीपालनसँगै उनले कुखुरापालन पनि सुरु गरेका छन् । अहिले ढुङ्गानाको फर्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक आठ लाख रुपैयाँ पुग्छ । गाईभैंसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उनको मासिक कमाइ चार लाख रुपैयाँ हुन्छ ।

म्याग्दीमा बढ्यो दूधको मूल्य

म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुँदा किसान मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुसी भएका छन् ।

मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर ११० र ब्यापारीले अधिकतम १३२ रुपैयाँसम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई १२० रुपैयाँमा बिक्री गर्ने गरेका थिए । गाईको प्रतिलिटर रू ८० कायम गरिएको छ ।

मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर २० र डेरी ब्यवसायीले १२ रुपैयाँ बढी पाउने केन्द्रका प्रमुख जीवन आचार्यले बताए ।

दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनी नपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताए । ‘हरेक वर्ष मूल्यवृद्धिअनुसार समायोजन हुनुपर्छ, कृषकको माग सम्वोधन भएको छ’ पौडेलले भने । यता उपभोक्ताले दूध आम उपभोक्तासामु पुर्‍याउन गुणस्तरमा ध्यान दिँदै मूल्यस्थिर बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनगुमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा सहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, विक्रेता कमिसनसम्म ध्यान दिँदा दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ ।

error: Content is protected !!