Wednesday, April 30, 2025
20.9 C
Beni
20.9 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 830

चौतारो जोगाउन प्रदेशको ऐन, क्षति पुर्‍याए कारबाही

0

करिब डेढ दशक अघिसम्म लेकबेसी, गाउँशहर गर्ने बटुवाको थकाइ मेटाउने थलो हुन्थ्यो, वरपिपलको चौतारो। यति मात्र नभई भरियाले भारी बिसाउने, दौतरीसँग भलाकुसारी गर्ने, युवायुवतीले प्रेम गर्ने र फुर्सदको समयमा बाघचालजस्ता खेल खेल्ने ठाउँ थियो चौतारो।

धार्मिक रूपमा पनि चौतारोको ठूलो महत्त्व थियो। बढ्दो आधुनिकताका कारण चौतारी मासिएपछि ग्रामीण जीवनको मौलिकता हराएको छ। मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारोहरू मासिन थालेका छन्।

मान्छे पैदल हिँडडुल गर्न छाडेसँगै चौतारोको महत्त्व पनि कम हुन थाल्यो। तर चौतारी अस्तित्व र महत्त्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको छ भन्छन्, पं‍‍.नीलकण्ठ शर्मा आचार्य।

उनले चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पिपलसँगै(नजिकै) रोपिने हुँदा वर र पिपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँपरम्परागत चौतारोको विशेषता भएको बताए।

अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त चौतारी? अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि म्याग्दीमा भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीको मर्मत र संरक्षण तथा नयाँ निर्माणमा चासो देखाएका छन्। गण्डकी प्रदेश सरकारले पनि पुर्खाले बनाएको चौतारी ब्युँताउने अभियान चलाएको छ।

गण्डकी प्रदेश सरकार विगत तीन वर्षदेखि ऐन नै बनाएर चौतारी संरक्षण अभियानमा लागेको छ। गण्डकी प्रदेश सभाले २०७५ साल माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पुर्‍याउनुलाई कानुनी रूपमा दण्डनीय कार्यको रूपमा परिभाषित गरेको छ। यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले क्षति पुर्‍याए प्रचलित कानुन बमोजिम दण्ड दिइने व्यवस्था समेत गरिएको छ।

यो ऐनले बर, पिपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ। ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तिव्रता दिन कोषको समेत व्यवस्था गर्न भनेको छ। कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकम समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पिपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरपर कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारो मर्मतबाहेक अरु काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै छ।

यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै गण्डकी प्रदेश मातहत गत आर्थिक वर्षमा मात्रै झण्डै २० वटा चौतारो निर्माण भइसकेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणको लागि एक लाख रुपैयाँ विनियोजन गर्ने गरिएको छ।

नदी नियन्त्रण योजनामा बदमासी

0

मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा बदमासी भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माणका क्रममा कमसल निर्माण सामग्रीको प्रयोग गरेको भेटिएको हो । डिजाइन र लागत अनुमानअनुसार गिट्टी, बालुवा र सिमेन्ट राखेर पर्खाल बनाउने सम्झौताविपरित ठूला आकारका ढुंगा राखेर ढलान गरिएको स्थानीयवासी मोतिराज गौतमले बताए ।

‘जेठ २१ गते रातिको समयमा ढलान गरिएका थियो’, उनले भने ‘फर्मा निकालेपछि हेर्न जाँदा गिट्टीको ठाउँमा ठूला ढुंगा हालेकाले पर्खालमा प्वालै प्वाल परेको भेटियो ।’ निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदीले पर्खाल निर्माणमा बदमासी गर्न खोजिएकाले छानविन गरेर गुणस्तर परीक्षण र पुनःनिर्माण गर्नुपर्ने बताए ।

दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन गाउँपालिकाको एक करोडभन्दा बढी लगानीमा दुई प्याकेजमा पक्की पर्खाल निर्माण भइरहेको छ । गत वर्ष हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्सनले ठेक्का लिएको पर्खाल निर्माणमा बदमासी भएको स्थानीयवासीले बताएका छन् ।

सो कम्पनीले ४२ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न गत वर्ष ५६ लाखमा ठेक्का लिएको थियो । गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएकाले यसपाली पूर्णता दिन ठेक्काको म्याद थपिएको हो ।

यस वर्ष विनियोजन भएको एक करोड बजेटको काम प्रतिस्पर्धामार्फत कार्यशक्ति कन्ट्रक्सन काठमाडौले ६४ लाखमा ठेक्का लिएको थियो । सो ठेक्काअन्तरगत ५६ मिटर लामो र सात मिटर पक्की पर्खाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गत वर्ष निर्माणाधिन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले निर्माणाधिन पर्खालको अनुगमन गरि ठुलो आकारको गिट्टी राखेका कारण ढलान बिग्रीएको पाइएको बताए ।

विग्रिएको खण्ड भत्काएर नयाँ ढलाल गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको प्रशासकीय अधिकृत काफ्लेले बताए ।कमसल साम्रागी प्रयोग गरिएको स्थानमा भत्काएर नयाँ बनाउन थालिएको छ । करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको छ ।

बेनी नगरपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन

0

बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार बसेका नगर कार्यपालिकाको पहिलो बैठकबाट बेनपा–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।

‘कार्यपालिकाको निर्णय पत्रकार सम्मेलनमार्फत भोली सार्वजनिक हुन्छ’ ढकालले भन्नुभयो । कार्यपालिकाको बैठकले विभिन्न विषयगत समितिको संयोजक समेत तोकेको छ ।

विषयगत समितिमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादीबाट कार्यपालिकामा प्रतिनिधित्व गर्नेहरुबाटै टुंगो लागेको स्रोतले जनाएको छ ।

प्रबक्तामा नियुक्ती भएपछि श्रेष्ठले जिल्लाका पत्रकारहरुसंग समन्वय र सहकार्य गरी कार्यपालिकाको सूचना प्रवाहलाई नगरबासीमाझ लैजाने बताउनुभयो ।

कार्यपालिकामा मेयर सुरत केसीको अध्यक्षतामा बसेको बैठकमा नगरपालिका भित्रका विभिन्न विषयमा छलफल भएको थियो । सहकार्य र सहमतिबाटै नगरपालिकाका समस्या समाधानमा जुट्ने जनप्रतिनिधिको भनाई छ ।

रैथाने खेती हराउँदै,विषादीको प्रयोग बढ्दै

0

३ दशकदेखि म्याग्दीको बेनी नगरपालिका २ खबरामा व्यवसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षिय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्नुहुन्थ्यो ।

कुनै पनि विषादी र भिटामिनको प्रयोग नगरिकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी,फलफूल, हिउँदे र बर्खेबाली विक्रि गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मंगलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउनुहुन्छ ।

जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन । आग्र्यानिक तरकारी मात्रै फलाउने र विक्रि गर्ने कार्कीले ‘इमानदार कृषक’ को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितिष्णा जागेको हो ।

जलवायु परिवर्तनका कारण माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएपछि आग्र्यानिक रैथाने कृषि उत्पादन अब तीब्ररुपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौदेखि गर्दै आएको ‘खेती गरौं की छोडौं’ को स्थितिमा पुगेको उहाँले बताउनुभयो ।

“मैले सुरुदेखि नै आग्र्यानिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडें” कार्कीले भन्नुभयो “विगत पाँच÷छ वर्षयता माटोमा अम्लिएपना बढ्दै गयो,रैथाने विऊबाट फसल उत्पादन घट्दै जान थाल्यो,विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो” उहाँले भन्नुभयो ।

“अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन,बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुख्खै छैन” कार्कीले भन्नुभयो ।कृषिमा जलवायु परिवर्तनले पारेको असरका कारण यस्तो समस्या उत्पन्न भएको अगुवा कृषक कार्कीको बुझाइ छ । कृषक कार्कीको बुझाइसंग कृषि विज्ञहरु पनि सहमत छन् । उनीहरुका अनुसार कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ ।

फलफूलहरु ढिलो पाक्न थालेका छन्,वातावरणीय सन्तुलन विग्रदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको कृषि विज्ञहरुले बताएका छन् ।कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन जताततै देखिन थालेका छन् ।

कृषि वैज्ञानिक कार्की भन्नुहुन्छ “जलवायु परिवर्तनका कारण रैथाने जातहरूको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बिऊहरु त लोप पनि भैसकेका छन् ।”

जलवायु परिवर्तनले रैथाने जातका बीउ हराउने मात्रै होइन कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको उहाँको भनाइ छ ।परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयासहरू नगरिदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइरहेको छ ।

किसानहरुका अनुसार सुन्तला,आँप लगाएतका फलफूलमा कोपिला लाग्ने,फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मंसिरमा पाक्न थालेको छ । पहिला पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकहरुले बताएका छन् ।नेपालका प्रायः सबै किसान प्राकृतिक हावापानीमा नै भर पर्ने हुनाले कृषिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्न थालेको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

त्यस्तै अनपेक्षित रूपमा कम वा बढी वर्षा हुँदा सिमी,आलु,करेला, भिन्डी, काँक्रो, बोडी र घिरौंला जस्ता तरकारीको गुणस्तर र रङ र स्वाद पनि बदलिएको कृषकहरुको भनाइ छ । हिउँदमा खेती गर्ने काउली र बन्दा जस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको बेनी नगरपालिका २ सानालेखका कृषक धु्रब थापाले बताउनुभयो ।

बालीनालीमा मात्रै होइन पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नु परेको किसानहरुको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो,मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु” कृषक तिर्थ सापकोटाले भन्नुभयो ।

कृषि प्राविधिकहरुका अनुसार जलवायु परिवर्तनका कारण मान्छेको खाद्यान्नमा झैं पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिकहरु बताउँछन् ।नेपालको कृषि प्राकृतिक मौसममा आधारित भएकाले जलवायु परिवर्तनबाट अझ धेरै प्रभावित हुने जोखिममा रहेको कृषि वैज्ञानिकहरुको भनाइ छ ।

किसानी माविको अध्यक्षमा चक्रबहादुर थापा चयन

0

म्याग्दीको धवलागिरी गाउँपालिका–७, धारापानीस्थित किसानी माध्यामिक विद्यालयको ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ सर्वसम्मत चयन गरिएको छ । सोमबार विद्यालयमा आयोजित अभिभावक भेलाबाट विब्यस अध्यक्षमा चक्रबहादुर थापा र शिअ संघको अध्यक्षमा देबेन्द्र थापालाई चयन गरेको हो ।

विब्यस अध्यक्ष म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीका निवर्तमान अध्यक्ष एवम् प्रमुख संरक्षक हुन् । लामो समयसम्म बैदेशिक रोजगार तथा ब्यवसायको सिलसिलामा न्युजरल्याण्डमा बसेका थापा धारापानीको विकास, शैक्षिक अभियानमा निरन्तर सक्रिय छन् । भेलामा विद्यालयको भौतिक तथा शैक्षिक सहयोगमा निरन्तर सक्रिय हुने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका स्रोतब्यक्ति गिरीप्रसाद छन्त्यालको विषेश उपस्थितिमा भएको भेलामा पूर्व अध्यक्ष,राजनीतिक दलका प्रतिनिधि सहितको उपस्थिती रहेको थियो । निर्वतमान अध्यक्ष किरण थापाले आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं निरन्तर विद्याmलयको शैक्षिक विकासमा सक्रिय हुने प्रतिबद्धता जनाए । भेलाको अध्यक्षता निर्वतमान अध्यक्ष थापा, विब्यस गठन अध्यक्षता जेष्ठ नागरिक चन्द्रबहादुर थापा, स्वागत शिक्षक मानबहादुर थापा र कार्यक्रम सञ्चालन शिक्षक प्रकाश बुढाथोकीले गरेका थिए ।

ढोरपाटनमा नाउर घटे, झारल बढे

0
पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ । कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो ।
गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गर्ने गर्छ । बर्सेनि १९ देखि २४ सम्म नाउर र १४ देखि १९ सम्मको सङ्ख्यामा झारलको सिकार कोटा तोकिने गरिएको आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो ।
“नाउरको सङ्ख्या घटेको पाइएपछि यस वर्ष न्यूनतम १९ वटाको मात्र सिकार कोटा तोकियो, झारल पनि १४ मा सीमित भयो”, उहाँले भन्नुभयो, “गणनामा भेटिने नाउर र झारलको सङ्ख्या विश्लेषण गरेर सिकार कोटा निर्धारण गरिन्छ ।” नाउरको सङ्ख्या घटेपछि विभागले सिकार कोटा पनि घटाएको देखिन्छ ।
केही वर्षअघिसम्म वार्षिक २२ देखि २४ सम्म नाउरको सिकार हुने गथ्र्यो । सहायक संरक्षण अधिकृत खड्काले आरक्षका सातै सिकार ‘ब्लक’मा पुगेर नाउर र झारलको गणना गरिएको बताउनुभयो । “झारल र नाउर समूहमा भेटिन्छन्, हेड काउन्ट नै गरिन्छ”, उहाँले भन्नुभयो, “हरेक सिकार ब्लकमा छुट्टाछुट्टै गणना हुन्छ, सिकार कोटा पनि त्यहीअनुसार तोकिन्छ ।”
पछिल्लो नाउर र झारलको गणना राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत गरिएको आरक्ष कार्यालयले जनाएको छ । नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजारमाथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ ।
लाङ्टाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउर पाइने भए पनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ । झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् । लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालायीत हुन्छन् । स्वदेशी सिकार कम्पनीमार्फत विदेशी सिकार खेल्न जान्छन् ।
बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । चालू आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले यस वर्ष सिकार खेलाएको थियो । अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए ।
विद्युतीय बोलपत्रमार्फत छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ । कम्पनीले यस वर्षको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शमशेर पराजुलीले जानकारी दिनुभयो ।
कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उहाँको भनाइ छ । बन्दाबन्दी र यात्रा प्रतिबन्धनका कारण महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ । –––

जिसस म्याग्दीको निर्वाचन असार ५ गते

0

स्थानीय तह निर्वाचन अन्तरगत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो ।

जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली प्रकाशन गने, २४ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, २५ गते संशोधित मतदाताको नामावली प्रकाशन गर्ने, २६ गते मतदाताको विरोधमा उजुरी दिने, २७ गते उजुरी उपर जाँचबुझ गर्ने र २८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् ।

त्यसैगरी असार १ गते उम्मेदवारको मनोनयन दर्ता संगै उम्मेदवारको सुची प्रकाशन गर्ने रहेको छ । २ गते उम्मेदवार उपर उजुरी, सोहि दिन जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसंगै उम्मेदारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

६ स्थानिय तह रहेको जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको संख्या अनुसार जिससमा नेकपा एमालेको बहुमत देखिएको छ । निर्वाचन कार्यविधी अनुसार ६ स्थानिय तहका प्रमुख र उपप्रमुखहरुले जिल्ला समन्वय समिति निर्वाचनको मतदाता हुनेछन् । जिल्ला समन्वय समितिका लागि १२ मत मध्ये ७ मत नेकपा एमालेको रहेको छ भने गठबन्धनतर्फ नेपाली काँग्रेसको ३ मत र नेकपा माओबादीको दुई मत रहेको छ ।

जिसस प्रमुखका लागि नेकपा एमालेतर्फबाट पाटीका जिल्ला सह–सचिव एवम् बेनी नगरपालिका वडानम्वर १ वडासदस्यमा निर्वाचित राजकुमार थापालाई बनाउने निर्णय गरेको छ । जिससका लागि ६ वटै स्थानीय तहलाई समेटेर ९ जनाको उम्मेदवार तय गरिने छ ।

फलफूलमा औँसा, केरामा खपटे र मकैमा फौजी कीराको प्रकोप

0

म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी किराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको फलफूलमा औंसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको प्रकोप देखिएको हो ।

फूल फुलेर चिचिला लाग्न थालेका सुन्तलाबारीमा फलेका काँक्रा, घिरौंला, गोलभेंडालगायतमा औँसा तथा घोगा लाग्न थालेका मकैमा फौजी कीरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका हुन् ।

प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित देखिन्छन् । किसानले लगाएको काँक्रा र पाकेका आरु, आरुपखडामा पनि औसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ ।

मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेंडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए । कीराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको कृषि प्राविधिकले बताएका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । यसैगरी गोलभेंडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेको बाबियाचौरका हरिकृष्ण पौडलले बताए ।

जिल्लामा मकैबालीमा फौजी कीराले ठूलो क्षति पुर्‍याएको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप बढेको हो ।

घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीराको आक्रमण बढी भएकोले बोट नै सकिन थालेको मङ्गलाका किसान टेकबहादुर विकले बताए । उनका अनुसार हाल विषादीले समेत फौजी कीराको आक्रमण रोकिन सकिएको छैन ।

बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायतका स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी व्यहोर्नुपरेको बताए ।

फौजी कीराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उनले बताए । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकैबालीमा फौजी कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी किराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।

प्रायः सुख्खा मौसममा देखिने फैजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि आक्रमण बढिरहेको कृषि प्राविधिक बताउँछन्। फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानुकासाथै मकैको घोगा, पात र गुभोमा पनि क्षति पुर्‍याउने कृषि प्राविधिक बताउँछन् ।

यसैगरी जिल्लामा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोट सुक्न थालेका छन् ।

जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।

त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका किसान खिमबहादुर कार्कीले बताए ।

यहाँका अर्का किसान बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको बताए ।

बगरफाँट गाउँका सबै किसान केराखेतीमा संलग्न छन् । सुरुवातमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको उनीहरुको भनाइ छ ।

आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गरेको दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यसवर्ष केराको उत्पादन घटेको बताए । हजारी जातको केरा खेतीबाट वार्षिक रु तीन लाख आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए ।

‘झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।’ उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको थापाले जानकारी दिए ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका खबराका किसान शोभित शर्माले बताए । ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,’ उनले भने ।

धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसान धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका हुन् । उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको मागसमेत गरेका छन् ।

उल्टो हिडेर बुटवलबाट मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुगे ऋषि परियार

0

उल्टो पैदल यात्रामा निस्किएका ३० वर्षीय ऋषि परियारले मुस्ताङको मुक्तिनाथसम्मको यात्रा गरेका छन् । उल्टो पैदल यात्राबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ६२ दिनको पैदल यात्रा सकिका परियारले दोस्रो अभियान अन्तरगत बुटवलबाट १५ दिनमा गएको मंगलबार म्याग्दीको सदरमुकाम बेनी आइपुगेका परियारले जेठ २२ गते मुक्तिनाथसम्मको यात्रा सकेका हुन् ।

‘स्वास्थ्यका लागि उल्टो पैदल यात्रा’ भन्ने नाराका साथ सम्पन्न भएको मेची–महाकाली यात्रापछिको ‘पर्यटन प्रवर्द्धनका लागि मुस्ताङसम्मको उल्टो पैदल यात्रा’ नाराका साथ यात्रामा निस्किएका परियारलाई बेनी जोमसोम सडकखण्ड अन्तरगत सबैभन्दा जोखिम मानिएको काभ्रेभीरमा असहज भएपनि अन्य स्थानमा सहजै यात्रा गरेको बेनीअनलाइनलाई बताए ।

‘मुस्ताङसम्मको यात्रा सकिएको छ,‘आज बसबाट पोखरासमम फर्किदैछु’ परियारले भने । उनले दोस्रो अभियानमा स्थानीयबासी, सुरक्षाकर्मीबाट प्राप्त साथ र सहयोगले थप उत्साहित भएको बताए । उनले आगामी नयाँ योजनाका बारेमा पछि जानकारी गराउने बताए ।

बुटवलको पुष्पलाल चोकदेखि पैदलयात्रा गरी पाल्पाको तानसेन, स्याङजा, पोखरा,पर्वत, हुदै मुस्ताङसम्मको यात्रामा केही अप्ठ्यारो र चुनौतीहरु झेल्न परेपनि जिल्लाका सुरक्षाकर्मीले उनको सुरक्षामा साथ दिएको परियार बताउँछन् ।

तराईको समथर भुभागमा जन्मिएका परियार पहाड र हिमाल छिचोल्दै उल्टो पैदलयात्रा तय गदै मुस्ताङसम्मको यात्रा नयाँ र अविस्मरणीय भएको बताए ।

परियारलाई सडकमा देख्दा वित्तिकै सवारीसाधनमा आवतजावत गरेका, स्थानीय, पदैलयात्रीले फूल मालाले स्वागत गरेका थिए । परियारलेमेची महाकाली उल्टो पैदल यात्रा सकेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि प्रक्रिया समेत अगाडी बढाएका छन् ।

मेसीको पाँच गोलमा अर्जेन्टिनाको फराकिलो जित

0
Argentina's Lionel Messi is pictured during the Copa America football tournament quarter-final match against Venezuela at Maracana Stadium in Rio de Janeiro, Brazil, on June 28, 2019. (Photo by Pedro UGARTE / AFP)

लियोनल मेसीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई फराकिलो अन्तरमा हराएको छ। गएराति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा मेसी एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो। खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले ४५ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए।

दोस्रो हाफको सुरूमै ह्याट्रिक पुरा गरेका मेसीले ७१ औं मिनेटमा चौथो र ७६ औं मिनेटमा पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए।  मेसीले राष्ट्रिय टोलीबाट एउटै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो।  कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले यसअघि युरो कप च्याम्पियन इटालीलाई ३-० ले हराउँदै फाइनलिसीमाको उपाधि जितेको थियो। setopati

error: Content is protected !!