Wednesday, April 30, 2025
22.3 C
Beni
22.3 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 832

सूर्यनारायण पुरस्कार संस्थाबाट बेनीका दुईजना सम्मानित

0

श्री सूर्यनारायण पुरस्कार संस्था बेनीबजार, म्याग्दीको आयोजनामासदरमुकाम बेनीमा घोषणा एवं समर्पण कार्यक्रम सम्पन्न भएको छ । सूर्यनारायण पुरस्कार संस्थाको १६औं श्रृङ्खला–२०७६ र १७औं श्रृङ्खला–२०७८ बाट बेनीका दुई जनालाई सम्मान गरिएको हो ।

बेनीका कलाकारद्वय तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई श्री सूर्यनारायण पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ । उनीहरुलाई जनही २० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो । बेनीका स्वर्गीय सूर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारद्वारा स्थापित संस्था सूर्यनारायण पुरस्कार संस्थाले कला, संस्कृति र साहित्यमा पु¥याएको योगदानको कदरस्वरुप पुरस्कृत गरिएको जनाएको छ ।

संस्थाले हरेक दुईदुई वर्षमा नेपाली लोक, संस्कृति, कला र साहित्यको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई पुरस्कार दिँदै आएको छ । कार्यक्रमको उद्घाटन तथा पुरस्कार प्रदान गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्व. सूर्यनारायण श्रेष्ठले कला, संस्कृतिसँगै समाज रुपमान्तरणमा खेलेको भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय श्रेष्ठले लोकभजन प्रस्तुत गर्नुभएको थियो भने कलाकार सञ्जयकुमार श्रेष्ठको टोलीले स्वं सूर्यनारायणको जीवनबारे गीत प्रस्तुत गरेको थियो ।

संस्थाले २०४९ सालदेखि हालसम्म विभिन्न १७ जना व्यक्तित्वहरुलाई सम्मान गरिसकेको जानकारी दिएको छ । सोही अवसरमा सूर्यनारायण पुरस्कार संस्थाद्वारा प्रकाशित गंगा नामक संस्थाको बुलेटिन विमोचन गरिएको थियो । कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक एवं नेपाल भाषा मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र साहित्यकार ध्रुवलाल शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम श्री सूर्यनारायण पुरस्कार संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठको स्वागत र सचिव अजयमिलन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य कार्यालयद्वारा म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परीक्षण

0

‘बाल स्वास्थ्य कार्यक्रम’ भन्ने मूल नारासहित स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा बालबालिकाहरुको स्वास्थ्य परीक्षण भएको छ । नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुको नियमित स्वास्थ्य चेकजाँच एवं उपचार गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्वत अस्पतालका बालरोग विशेषज्ञ डाक्टर कुशल बरालले बयस्क मानिसभन्दा बालबालिकाहरुमा छिटो रोग लाग्ने भएकाले पूर्व सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु सबैभन्दा राम्रो उपाय भएको बताउँदै विभिन्न रोगहरुबाट बचाउनका लागि समय समयमा स्क्रिनिङ क्याम्पहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल बाल सङ्गठन म्याग्दीका कोषाध्यक्ष हरिप्रसाद पौडेलले आगामी दिनमा पनि म्याग्दी बालगृहमा स्क्रिनिङ क्याम्प जस्ता स्वास्थ्यसम्बन्धी गतिविधिहरु नियमित गरिदिन आग्रह गर्नुभयो । स्वास्थ्य परीक्षण कार्यक्रममा आवासीय सुविधासहित बालगृहमा बस्दै आएका १० जना बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श सेवा तथा निःशुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा बालबालिकाको आँखा, दाँत, मुख र घाँटीको परीक्षणसहित बालरोगसँग सम्बन्धित सबैखाले रोगको परीक्षण गरिएको थियो भने सुआहारा कार्यक्रमको सहयोगमा बालबालिकाहरुको उचाई र तौल नापेर पोषणको अवस्था पत्ता लगाइएको थियो ।

स्क्रिनिङ क्याम्पमा बालरोग विशेषज्ञ डा. बरालसहित बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डा. गोविन्द पोखरेल, डेन्टल सर्जन डा. अस्मिता कटुवाल, हेल्ट असिस्टेन्ट कमल रावल, नेत्र सहायक सुनिता ढकाल र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले उपचार एवं परामर्श सेवा प्रदान गर्नुका साथै उचाई तथा तौलको नापजाँचसहित औषधी वितरण गर्नुभएको थियो ।

परीक्षणको क्रममा बालबालिकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यक्रम स्वास्थ्य कार्यालयका सिनियर अहेव अधिकृत सोमनाथ उपाध्यायको अध्यक्षता र परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बेनी-तातोपानीे कालोपत्रे सडकमा कहिल्य हुन्छ भाडा समायोजन ?

0

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी–तातोपानी ९ किलोमिटर खण्ड कालोपत्र गरिएको छ । कालोपत्रेसँगै यात्राको समय छोटिएको छ । ट्याक खुलेको १५ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानीसम्मको सडक कालोपत्रे भएपनि यातायात ब्यवसायीले कच्ची सडक सहर भाडा लिने गरेका छन् ।

कालोपत्रे सडकमा समेत कच्ची सडक सरह यात्रुबाट भाडा असुल्ने गरिएपनि नयाँ भाडा समायोजनका लागि सम्बन्धित निकायले चासो देखाएका छैनन् । बेनी–तातोपानी ९ किलोमिटर सडकसम्म यात्रा गरेको यातायात व्यवसायीले १ सय ४० भाडा लिने गरेका छन ।

कालोपत्रे भइसकेको अवस्थामा पटक–पटक इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले आफूखुसी मूल्य लिने गरेपछि यात्रु झनै ठगिने अवस्था बनेको छ । ‘कालोपत्रे सडकमा यात्रुले पूरानै भाडा तिरेर यात्रा गर्नुपरेको छ,‘सम्बन्धित निकालयले भाडा दर निधारण र अनुगमन आवश्यक छ’ यात्रु गोविन्द रिजालले भन्नुभयो ।

बेनी–तातोपानी र तातोपानी–बावियाचौरको सिमसम्म कालोपत्रे सडकमा तोकिए सरह भाडाको उचित निर्धारण नहुदाँ दैनिक यात्रु ठगिने गरेको उहाँको भनाई छ ।सडकखण्डमा गुड्ने बस, जिप, ट्याक्सीको भाडा निर्धारणका बिषयमा सर्वसाधारणले आवाज उठाउने गरेका छन् । कच्ची सडक हुँदा बेनीदेखि तातोपानी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमा पुग्न सकिने भएको यातायात व्यवसायीकै भनाई छ ।

त्यस्तै यात्रुले सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–२ सिमलचौरसम्म १ सय ६० र सिमसम्म १ सय ८० रुपैयाँ सम्म भाडा तिर्ने गरेका छन् । यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले कच्ची सडक सरह कालोपत्रेमा भाडा लिन नमिल्ने भएकाले यातायात व्यवस्थापन समितिले भाडा समायोजन गर्ने बताउनुभयो ।

‘गुनासो आउन थालेको छ,‘भाडा समायोजनका लागि बैठकमार्फत निर्णय गछौ’ प्रजिअ रानाले बेनीअनलाइनलाई भन्नुभयो । जिल्लाका यातायातसँग सम्बन्धित संघ–संस्थाको छलफलपछि भाडा समायोजन गरिने प्रजिअ रानाको भनाई छ । जिल्लाभरको भाडा समायोजन सहित कार्यान्वयनका लागि नियमित अनुगमनको आवश्यकता रहेको सरोकारवाला निकायको भनाई छ । समायोजन भएमा जिल्लाभरका प्रायः सबै स्थानको भाडा घट्ने अनुमान गरिएको छ ।

ट्र्याक खुलेको १५ वर्षपछि बेनी–तातोपानी सडक भयो कालोपत्रे

0

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी–तातोपानी ९ किलोमिटर खण्ड कालोपत्र गरिएको छ। मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो।

प्राकृतिक उपचारस्थ मानिने म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने यो सडक कालोपत्र भएपछि यस भेगका दुई दर्जनभन्दा बढी गाउँका साथै छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका बासिन्दालाई सहज भएको छ। ट्र्याक खुलेको १५ वर्षपछि यो सडक कालोपत्र भएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–तातोपानी खण्डको सडक कालोपत्र सकिएको जानकारी दिए। ‘पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकका ठाउँमा कालोपत्र सकिएको छ, ११ मिटर फराकिलो सडकमा ७ मिटर चौडाइका दरले कालोपत्र गरिएको हो‚’ उनले भने। ९ किलोमिटर भने डिबिएसटी प्रविधिको कालोपत्र गरिएको उनले जानकारी दिए।

सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो।

सडक कालोपत्रे भएपछि यात्राअवधि छोट्टिएको छ। कच्ची सडक हुँदा बेनीदेखि तातोपानी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमा पुग्न सकिने भएको यातायात व्यवसायीले बताएका छन्। ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले गत चैतदेखि शुरु गरिएको कालोपत्रे करिब २ महिनामा सकिएको बताए ।

तातोपानीदेखि सिमसम्मको ३ किलोमिटर सडक विस्तार सकेर पर्खाल र नाली निर्माण अन्तिम चरणमा पुगेको जानकारी उनले दिए। विसं २०७४ असोज ४ गते ४५ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदूर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो।

तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। जिल्लाको ‘लाइफ लाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो। आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ रूपैयाँमा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो।

पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मङ्गला गाउँपालिका–२ बाबियाचौरका हरिकृष्ण पौडेलले बताए। यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ। मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे २ किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन्।

४ किलोमिटर सडक कालोपत्रे गर्न २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले १० करोड ७० लाख २१ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ठेक्का सम्झौताको म्याद १८ महिनाको हो। सडकलाई ८ मिटर फराकिलो बनाएर, ७ मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गर्न लागिएको हो।

बेनी खुल्लामञ्च ‘काम गर्नेलाई भन्दा हेर्नेलाई लाज’ (फोटो फिचर)

0

एउटा उखानै छ,‘काम गर्नेलाई भन्दा हेर्नेलाई लाज’ । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्च विस्तार र स्तरोन्नतिको काम र अहिलेको अवस्था हेर्दा उखानमा भनेजस्तै गर्नेलाई भन्दा हेर्नेलाई लाज भन्थे त्यस्तै भैरहेको छ । जिल्लाको सदरमुकाम बेनीमा रहेको खुल्लामञ्चलाई मिनी रंगशाला बनाउने गरी योजना अगाडी बढेपनि बजेटले निरन्तरता नपाएपछि अलपत्र परेको छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । खुल्लामञ्चमा धमाधम भइरहेको पूर्वाधार विस्तार सहितका योजनाहरू प्राथमिकतामा नपरेपछि अहिले लथालिङ जस्तै छ ।

करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)

बेनी नगरपालिकामार्फत भइरहेको पूर्वाधार विस्तार सहितको योजनाहरू अहिले बजेटविहीन भएको छ । खुल्लामञ्चमा अहिले पार्किङ, अन्य निर्माण साम्रागी राख्ने स्थान बनाइएको छ भने मञ्च लगायत निर्माणधिन अवस्थामा रहेको संरचना अलपत्र जस्तै छ । प्याराफिट बनाउन र मैदान विस्तार गर्नका लागि गरिएका सबै काम अधुरा छन् ।

बेनीमा मिनी स्टेडियम बनाउने योजना भाषणमै सीमित भएको छ भने स्थानीय तह, प्रदेश र संघीय सरकारको प्राथमिकतामा परेको छैन् ।विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन शुरु गरिएको थियो । विगतमा बजेट विनियोजनले आश जागेपनि नियमित बजेट विनियोजन नहुदाँ मञ्च विस्तारको काम अलपत्र परेको छ ।

जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले खुल्लामञ्च विस्तारमा निरन्तर सक्रियता र चासो देखाएको अवस्थामा बजेट विनियोजन भएपनि समयमै काम नभएको बताउनुभयो । बेनी नगर कार्यपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक समेत रहेको बेलामा विश्वकर्माले मञ्चको विस्तारमा बजेट विनियोजनलाई प्राथमिकतामा राखेर काम गर्नुभएको थियो । अलपत्र अवस्थामा रहेको खुल्लामञ्चलाई अब अपुरा काम पुरा गर्ने गरी अगाडी बढ्ने नवनिर्वाचित वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको भनाई छ ।

खुल्लामञ्चबाट पार्किङ हटाउने, अन्य संरचनाहरू समेत नियमित गर्ने गरी काम गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । हाल म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाउने काम करिब आधा सकिएको छ । करिब १५ मिटर प्याराफिट बनाइएको छ । कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । जिल्लाका अन्य ठूला मानिएका खेलमैदानमा समेत न्यूनतम पूर्वाधारको अभाव रहेको छ । तस्वीर सौजन्य धिरन खत्री

प्रकृतिले गर्माएकाे पानीमा जब डुबुल्की मारिन्छ‍‍…

0

म्याग्दी ‘तातोपानीका कुण्ड’का लागि पनि प्रसिद्ध छ । यहाँ तातोपानीका अनेक कुण्ड छन् ।किन छन् ? निश्चय पनि यसको वैज्ञानिक कारण होला । यकिन गर्न अनुसन्धान आवश्यक छ । सम्बद्ध निकायले यसका बारेमा गम्भीर हुनु जरुरी छ । यस्ता कुण्डका सम्बन्धमा अनेक जनविश्वास र जनश्रुति स्थानीय समाजमा विद्यमान छन् । धेरैजसो कुण्डको चर्चा स्वास्थ्यलाभसँग जोडेर गर्ने गरिन्छ ।

म्याग्दीका तातोपानीका कुण्डको कुरा गर्दा सिंगा र भुरुङमा अवस्थित कुण्डको चर्चा बढी हुने गर्दछ । यहाँ सिंगास्थित कुण्डको बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ । भुरुङको तातोपानी बेनी—जोमसोम मार्गमा पर्ने भएकाले मार्फा, जोमसोम र मुक्तिनाथको यात्रा गर्ने जो–कोहीका लागि पनि सहज पहुँचमा छ भने सिंगाको तातोपानी पुग्नका लागि यहीँसम्मको यात्रा योजना बनाउनुपर्ने हुन्छ ।

म्याग्दीमा अवस्थित तातोपानीको कुण्डमध्ये सिंगास्थित कुण्ड बढी चर्चित छ । मैले पनि यस कुण्डको अवलोकन र यहाँ स्नान गर्ने रहर निकै पहिलेदेखि पालेको हुँ । तर सम्भव हुन सकिरहेको थिएन ।बेनी नगरपालिका–४ (विगतमा सिंगा गाविस) मा पर्र्ने यो कुण्ड नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि निकै चर्चित छ । यहाँ नेपालका अतिरिक्त भारत, बंगलादेश, भुटान, चीन, जापान आदि देशबाट पनि पर्यटक आउने गरेका छन् ।

मैले पहिलोपटक सम्भवतः ६९–७० सालतिर म्याग्दी जिल्ला टेकेको हुँ । त्यसबखतको बसाइ निकै छोटो थियो । मैले कतै पनि घुम्ने अवसर पाएको थिइनँ । सायद एक कप चिया खाएर म बेनीबाट फर्किएको थिएँ ।

अर्कोपटक २०७८ माघ महिनाको १७ गते म्याग्दी टेक्दा तातोपानीको संगत गरेको हुँ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा म्याग्दीका पत्रकारका लागि आयोजित पत्रकारिता तालिमको सहजीकरण गर्ने क्रममा मैले बेनीमात्र टेकिनँ, बरु तातोपानीसँग रम्ने भिज्ने अवसर पनि प्राप्त गरेँ ।

त्यसबेला सिंगास्थित श्रेष्ठ तातोपानी होटलमा तालिमको आयोजना गरिएको थियो । उत्कृष्ट होटलको उत्कृष्ट बसाइ । सिंगामा भव्य होटल रहेछ । खुसी लाग्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त होटल तातोपानीको कुण्डनजिकै अवस्थित रहेको हुँदा त्यो होटलमा बास बस्ने जो कोहीका लागि तातोपानी कुण्डमा स्नान सहज हुने मेरो बुझाइ हो ।

तातोपानी कुण्डमा स्नानका लागि आवश्यक सहजीकरण त्यही होटलका कर्मचारीले पनि गरिदिँदा रहेछन् । मैले उक्त होटलमा त्यसबखत दुई रात (२०७८ को जेठ १७ र १८) बिताउने अवसर प्राप्त गरेको थिएँ । त्यसबखत मैले सिंगामा बिताएका दुवै चिसा रातको साँझ कुण्डमा डुबेर उष्णताको अनुभव गर्ने मौका पाएँ । गज्जबको अनुभूति थियो ।

म्याग्दीमा सञ्चालित उक्त तालिमको क्रममा मैले पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष हरिकृष्ण गौतम, सचिव सन्तोष गौतमसहित रेशाखकौशल रेग्मी, निर्मल खत्री, राकेश शर्मा, जगत बानियाँलगायतका साथीहरूको अविष्मरणीय माया पाएको थिएँ । म यी साथीहरूबाट प्राप्त स्नेह र सम्मान कहिले बिर्सने छैन ।

यस्तै नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष सोनी शर्मा र महासचिव गोविन्द सुवेदीलगायतका पदाधिकारी र सदस्यहरूप्रति पनि अनुगृहित छु । प्रकृति पनि बडो गज्जबको छ । विश्वास गर्न पनि कठिन हुने । समुद्र सतहभन्दा ९३० मिटरको उचाइमा म्याग्दी नदीको किनारमा अवस्थित तातोपानीको कुण्ड । करिब ५० डिग्री सेल्सियसको तापक्रमको पानी । जाडो मौसममा नुहाउन त बडो आनन्द आउने । त्यसो त यहाँको पानी चर्म रोगलगायत अन्य रोगको पनि उपचारमा सहायक हुने विश्वास गरिन्छ ।

यसको वास्तविकता त कुनै रोगको उपचारका सन्दर्भमा यहाँ जानेहरूले नै राम्ररी बताउन सक्लान् । यहाँका बारेमा मेरो प्रत्यक्ष अनुभव के हो भने थकित भएर यहाँ गएर स्नान गर्दा सबै थकाइ भाग्छ र एउटा नयाँ स्फूर्ति प्राप्त हुन्छ ।

कुनै समय भैँसी आहाल बस्ने तालजस्तो देखिने तातोपानी कुण्ड अहिले हजारौँ बिरामीको उपचार केन्द्र बनेको छ । म्याग्दी खोलाको किनारमा अवस्थित तातोपानीलाई बर्खाको समयमा खोलाले बगर बनाउने गरे पनि स्थानीयले यसलाई जोगाउन निकै परिश्रम गरेका छन् । उनीहरूले चार दशकसम्म लगातार कुण्ड र पानीको मुहानको संरक्षण गरेका कारण आजको तातोपानी कुण्डले अन्तर्राष्ट्रिय चर्चा पाउन सम्भव हुन सकेको स्थानीयहरू बताउँछन् ।

यहाँ कहिलेदेखि तातोपानीको मुहान छ ? यकिनका साथ कसैले भन्न सक्दैनन् । निश्चय पनि यो प्राकृतिक हो । अतः प्रकृतिसँगै यसको पनि प्रादुर्भाव भएको हुनुपर्ने मान्न करै लाग्छ । तर यो कुण्डको औपचारिक व्यवस्थापनको कार्य २०२४ सालदेखि प्रारम्भ भएको मानिन्छ ।

२०२४ सालमा स्थानीयबासी प्रेमप्रसाद गौचन, टुंगलाल शर्मा, दुतबहादुर खत्री, सूर्यमान शाक्यको अगुवाइमा भैँसी बस्नेजस्तै पोखरी बनाइयो । स्थानीयबासीले तातोपानी संकलन गरी कुण्डलाई तातोपानीको स्रोतका रुपमा प्रयोग गर्न थाले । जाडो समयमा स्नान गर्न थाले । २०४२ सालमा समिति बनाएर तातोपानीको मूलको संरक्षण सुरु गरियो ।

कुण्डमा बिस्तारै पूर्वाधार विस्तारका साथै यसको प्रचारप्रसार सुरु गरियो । बिस्तारै कुण्डबाट आम्दानी हुन थालेपछि भौतिक पूर्वाधार विस्तारसहितका योजनाका आधारमा कुण्डमा आवश्यक संरचना बनाउने कार्य थालियो । अहिले यो कुण्ड निकै व्यवस्थित रहेको पाउन सकिन्छ ।कुण्डमा स्नान गर्न आउनेका लागि सामान्य शुल्कको प्रावधान रहे पनि ८० वर्षमाथिका बिरामी, अपांगता भएकालाई बिनाशुल्क स्नानको व्यवस्था मिलाइएको छ ।

माथि पनि चर्चा गरियो, तातोपानीको मुहानलाई स्थानीयले संरक्षण गरेर राखेका हुन् । स्थानीयले विगतमा तातोपानीको कुण्डलाई बिहान–बेलुकी स्नान स्थलको रुपमा प्रयोग गर्ने गरेका थिए । सोही स्थानले अहिले व्यवस्थित कुण्ड पोखरीको स्वरुप प्राप्त गरेको छ र अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अनुसार देशभरबाट विभिन्न रोगबाट ग्रसित वार्षिक २० हजारको हाराहारीमा बिरामी तथा १५ हजारभन्दा धेरै कुण्डको अवलोकनका लागि आउने गरेका छन् ।

समितिका अनुसार पहिले सिंगा आसपास र म्याग्दीका मानिसले मात्र यो कुण्डको प्रयोग गर्ने गरे पनि प्रचारप्रसारका कारण अहिले देशका सबैजसो जिल्लाबाट मात्र नभई विदेशबाट पनि विभिन्न रोग पखाल्न भन्दै बिरामीको घुइँचो लाग्ने गरेको छ ।

सिंगा तातोपानीको चर्चा पत्नी मुन्नीसहित मेरा घरपरिवारका अन्य सदस्यले पनि सुनेका थिए । उनीहरू पनि त्यहाँ एकपटक जान लालायित थिए । त्यहाँ उनीहरूलाई लिएर जाने मौका मिलिरहेको थिएन ।

यसै क्रममा मुक्तिनाथको दर्शन गरेर फर्कने क्रममा २०७९ को जेठ १४ गते सिंगाको तातोपानीमा डुबुल्किने अवसर जुर्‍यो । दुई दिन पहिला जेठको १२ गते राति हामी (म, मुन्नी, छोरी शिवार्ती र मुन्नीका भाइ अर्थात् मेरा साला अमृत मिश्र) काठमाडौँबाट मुक्तिनाथका लागि प्रस्थान गरेका थियौँ । १३ गते बिहान हामी बेनी पुगेका थियौँ । त्यहाँ चिया खाजा खाएर, तातोपानीको यात्रा भोलिका लागि थाँती राख्दै, मुस्ताङतर्फ लाग्यौँ ।

भोलि अर्थात् जेठ १४ गते साँझ करिब ५ बजे हामी बेनी पुग्यौं । मैले माथि पनि उल्लेख गरेँ, तातोपानी म यसभन्दा अघि पनि गइसकेको थिएँ । यसपटक मेरो दोस्रो यात्रा थियो भने मेरा भ्रमण दलका सदस्यहरूको पहिलो भ्रमण ।

मुन्नी, शिवार्ती र अमृत निकै हौसिएका थिए । मैले अनुभव गरेँ, उनीहरू निकै उत्साहित थिए । उनीहरूको अनुहारको चमक हेर्दा मलाई पनि आनन्दानुभूति भइरहेको थियो । म एकपटक पुनः भाइहरू हरिकृष्ण गौतम, निर्मल खत्री, राकेश शर्मा, प्रताप बानियाँप्रति आभार व्यक्त गर्न चाहन्छु । यी भाइहरूले तातोपानी जाने, त्यहाँ नुहाउने र खान–बस्नेलगायत सम्पूर्ण कार्यको सहजीकरण गरेका थिए ।

यसै सन्दर्भमा म नेपाली काङ्ग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीप्रति पनि अनुग्रहित छु । उहाँबाट प्राप्त सहयोग र आतिथ्यभाव मेरा लागि सदैव स्मरणीय रहने छ ।

हामी साँझ करिब साढे ६ बजे बेनीस्थित होटल कस्तुरी पार्कबाट तातोपानीका लागि प्रस्थान गर्‍यौँ । यसभन्दा अघि अर्थात गत माघमा आउँदा तातोपानी जाने पक्की बाटो निर्माणधीन थियो । यसपटक बाटो पक्की बनिसकेको रहेछ । करिब ९ किलोमिटरको यात्रा गाडीमा झन्डै १५–२० मिनेटजतिमा तय गर्न सकिन्छ ।

हामी गाडीबाट सिंगा बजार पुग्यौँ । गत माघको तुलनामा यहाँ खासै परिवर्तन भएको रहेनछ । मैले सिंगा जस्तो छोडेर गएको थिएँ– करिबकरिब त्यही अवस्थामा पाएँ । हरिकृष्ण, निर्मल र राकेशले सबै चाँजोपाँजो मिलाए ।

लुगालगायतका त्यहाँको औपचारिकता पूरा गरेर हाम्रो समूहका सबै कुण्डमा हेलियौँ । लुगाको औपचारिकता यस कारण भनियो कि, त्यहाँ आफूले पहिला धारण गरेको सबै लुगा फुकालेर एकसरो लुगा लगाएर कुण्डमा प्रवेश गर्नुपर्ने प्रावधान छ । त्यस्तो लुगा लिएर गइएको छैन भने त्यहाँ त्यस्तो लुगा पाइन्छ र किन्न सकिन्छ ।

हाम्रो समूहका सबैले नुहाउने लुगा लिएर गए पनि मुन्नी, शिवार्ती र अमृतसँग त्यस्तो लुगा नभएकाले त्यहीँ व्यवस्था गरियो । अघिल्लोपटक मैले यहाँ स्नान गर्दा चिसो मौसम थियो तर अहिले गर्मी । निश्चय पनि कुण्डमा केही असहज महसुस हुनु स्वाभाविक नै थियो । कुण्डमा डुबुल्किएको केहीबेरमै अभ्यस्त हुने प्रयास गरियो । मैले त आफूलाई छिटै अभ्यस्त बनाउन सकेजस्तो लाग्यो । तर मुन्नी र शिवार्तीलाई अभ्यस्त हुन केही समय लाग्यो ।

कुण्डमा रक्तचापका बिरामीले धेरैबेर नबस्नु भन्ने सल्लाह दिइँदो रहेछ । हामीले त्यसबारेमा खासै सजगता अपनाएनौँ । मुन्नी आनन्द मान्दै निकैबेर कुण्डमा बसिन् । बाहिर आएपछि उनलाई अलि अप्ठ्यारोजस्तो अनुभव भयो । साथीहरूसँग यसबारे चर्चा गर्दा रक्तचापको असरबारे बल्ल बुझियो । मुन्नीलाई न्यून रक्तचापको समस्या रहने गरेकाले पनि तातोपानी कुण्डमा नुहाउँदा केही समस्या भएको हुन सक्ने निष्कर्ष निकालियो ।

कुण्डमा नुहाउने कार्य सकिएपछि छेवैमा रहेको मना शेरचन बहिनीको होटलमा गइयो । कुण्ड प्रवेशअघि मनाकै सहजीकरणमा मेरा समूहका मभन्दा अन्य सदस्यका लागि नुहाउने लुगाको व्यवस्थापन सम्भव हुन सकेको थियो । मनाकै होटलमा म्याग्दी खोलाको असला माछाको झोल र भुजा खाइयो । माछाको झोलले काम गरेछ क्यारे मुन्नी अघिभन्दा थोरै सम्हालिएजस्तो लाग्यो । एक किसिमिले ढुक्क भइयो । धन्यवाद मना बहिनी ।

उपचार केन्द्रका रूपमा तातोपानी कुण्ड

स्थानीय बासिन्दाका अनुसार यस कुण्डमा नुहाउँदा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, मर्किएको, पेट दुख्ने, नसा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोग निको हुन्छ । खानामा अरुची हुनेले समेत कुण्ड स्नानलाई रोज्ने गरेका छन् ।

कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यका अनुसार निराश भएर आएका बिरामी एकदेखि दुई हप्तासम्म स्नान गरेपछि खुसी हुँदै घर फर्किने गरेका छन् । शाक्यका अनुसार दुई दशकसम्म वर्षको एकपटक नियमित स्नान गर्नेहरूको सङ्ख्या पनि उत्तिकै छ । बिरामीलाई कुण्ड वरदान सावित भएको अध्यक्ष शाक्य बताउँछन् । परिवारको सहयोगमा कुण्डमा आएका धेरै बिरामी घर फर्किने बेलामा आफ्नै खुट्टाले टेकेर जाने गरेका धेरै दृश्य देखेको शाक्यको भनाइ छ ।

शाक्यका अनुसार यो स्थान अहिले एक किसिमले प्राकृतिक अस्पताल नै बनेको छ । उनका अनुसार कुण्डमा स्नान गर्न नेपालीमात्र होइन दक्षिण एसियाली राष्ट्रबाट समेत मानिसहरू आउने गरेका छन् । कलिलै उमेरमा दुर्घटनामा परेका युवादेखि वृद्धवृद्धाको रोजाइमा परेको कुण्डमा स्नान गरेबापत तोकिएको शुल्कबाहेक पनि उपचारबाट खुसी भएर चन्दासमेत दिएर जाने थुप्रै सेवाग्राही रहेको अनुभव कर्मचारीको छ ।

जमिनभित्रबाट बिरे नुनको गन्धमा निस्कने तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेका बिरामीले अपेक्षा गरेभन्दा धेरै स्वास्थ्यमा सुधार आएको अनुभव सुनाउँछन् । हामीमध्ये पनि कतिपयमा शारीरिक समस्या थियो । हामीले पनि निको हुने विश्वास गर्‍यौं तर साथीहरूका अनुसार यसका लागि कम्तीमा एक साता यहाँ बस्नुपर्ने र दिनहुँ नुहाउनुपर्ने हुन्छ । तर हामीसँग यसपटक यति समय थिएन ।

९ सय मिटरभन्दा माथिको उचाइमा बिरे नुन र गन्धक (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने मुहानको अवस्थिति र यसको चिकित्सकीय प्रभाव स्वयंमा अचम्मको छ । जानकारहरूका अनुसार गन्धक आफैँमा एक प्राकृतिक एन्टिबायोटिक हो । यसकारण पनि कुण्डमा एकैपटक धेरैले स्नान गर्दा पनि एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।

घाउ चोटपटक लागेको ठाउँमा पानीमा नुन राखेर तातो बनाई कृत्रिम रुपमा सेक्ने चलनलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ । बिरे नुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्नु कृत्रिम घरेलु उपचारको तुलनामा सहज र सुविधायुक्त हुन्छ । कुण्डमा घन्टौँसम्म स्नान गर्न सकिने सुविधा भएकाले बिरामीको आकर्षण बढ्दै गएको अध्यक्ष शाक्यले बताए ।

पत्रकार निर्मल खत्रीका अनुसार एक दिनमा दुई पटक डेढ–दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर २० मिनेटसम्म कम्मल, काम्लो आदि न्याना कपडा ओढ्ने हो भने शरीरबाट पसिना निस्कने गर्दछ । यसरी पसिना निस्किँदा शरीरभित्रको विकार पनि सँगै निस्कने विश्वास गरिन्छ ।

खत्रीका अनुसार यो प्रक्रियालाई विचार गर्ने हो भने यसलाई ‘साउना बाथ’को प्रक्रियासँग तुलना गर्न सकिन्छ । तातोपानी पिउनु स्वयंमा स्वास्थ्यवर्द्धक हो । कुण्डमा स्नान गर्ने क्रममा बेलाबेलामा तातोपानी पिए त्यसले स्वास्थ्यमा फाइदा पुग्ने विश्वास स्थानीयको छ ।

र, अन्त्यमा

सिंगाबाट प्रस्थान गर्दा रातको करिब साढे ९ बजिसकेको थियो । बेनीस्थित हामी बस्ने होटल कस्तुरी पार्कमा नेपाली कांग्रेस म्याग्दीका सभापति भण्डारीजी हाम्रो बाटो कुरिरहनुभएको थियो । सन्ध्याकालीन रमझमका नाममा केही समय बिताएपछि हामी सबै अलग्गियौँ । भोलि बिहानै काठमाडौँ प्रस्थान गर्नुपर्ने भएकाले हामीलाई पनि समयको चटारो थियो । मुन्नी र शिवार्ती अघि नै कोठामा गएर निदाइसकेका थिए । अब म र अमृत पनि कोठातिर लाग्यौँ । साथीहरू पनि हामीसँग छुट्टिए । म ओछ्यानमा पल्टिएर पनि निकैबेरसम्म तातोपानीको रहस्यका बारेमा सोचिरहेको थिएँ ।  लेखक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । 

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकः व्यवसायी उत्साहित

0

राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी पर्यटक पैदल मार्ग हुँदै आउन थालेपछि यहाँको पर्यटन क्षेत्र पुरानै लयमा फर्किन सुरु भएको छ। कोरोना महामारीका कारण विगत दुई वर्षसम्म सुस्ताएको पर्यटन क्रियाकलापले गति लिन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।

कास्कीको नयाँ पुलबाट सुरू हुने राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढ सय बढी विदेशी र करिब ५०० को हाराहारीमा आन्तरिक पर्यटक भित्रिन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र वीरेठाँटी चेक पोष्टले जनाएको छ। आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा चहलपहल समेत बढ्दै गएको छ भने पूर्वाधार विकासले पनि गति लिन थालेको छ।

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै जान थालेपछि अधुरा रहेका पूर्वाधार विकासका काम पनि सुरु हुन थालेका घोडेपानीका होटल व्यवसायी सुरेन गुरूङले जानकारी दिए। गुरूङका अनुसार अन्नपूर्ण पदमार्गमा विशेषगरी जर्मनी, फ्रान्स, इजरायल, अष्ट्रेलिया, अमेरिका बेलायतलगायत देशका पर्यटक बढी आउने गरेका छन् भने पछिल्लो समय आन्तरिक पर्यटक उल्लेख्य बढेको छ।

पदमार्गमा असोजदेखि चहलपहल बढेको उनले बताए। वर्षौंदेखि पर्यटकलाई लक्षित गरी खोलिएका होटलसमेत कोरोनका कारण बन्द हुने स्थितिमा पुगेका थिए। पछिल्लो समय बन्द भएका होटलसमेत सञ्चालनमा आएका छन् भने नयाँ होटलसमेत थपिँदै गएको व्यवसायी बताउछन्। ‘यस क्षेत्रको मुख्य व्यवसाय नै होटल हो’, गुरूङले भने, ‘कोरोनाका कारण धेरै होटल बन्द भए। अहिले पर्यटक आउन थालेसँगै पुनः सञ्चालनमा आउन थालेका छन्।’

व्यवसायीका अनुसार कोरोनाले बन्द भएका होटल गत माघ महिनादेखि भरिभराउ हुन थालेका हुन्। पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ। कास्कीको नयाँ पुलबाट सुरू भएको पदयात्रा घान्द्रुक, छोमरूङ, अन्नपूर्ण आधारशिविर पुग्छ भने पर्यटक वीरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङ पुग्छन्।

अन्नपूर्ण पदयात्रा मार्गमा मोटरबाटो पुगेर पदमार्ग छोटिएको अवस्थामा नयाँ रुटको विकास गर्न टान पश्चिमाञ्चलले गृहकार्य गरिरहेको सो संस्थाका सुशील पौडेलले बताए।  उनका अनुसार २१ दिनबाट एक सातामा झरेको राउन्ड अन्नपूर्णको विकल्पमा अर्को रुटको तयारी भैरहेको छ। ‘वीरेठाँटीबाट घोडेपानी, स्वाँत, खोप्रा, हिडनलेक हुँदै छोम्रोङ पुग्ने र त्यहाँबाट लान्द्रुक, मर्दी हिमाल, माछापुच्छ्रे मोडेल ट्रेक हुँदै सार्दीखोला निस्कने र त्यहाँबाट घलेखर्क, तारा हिलटप, सिक्लेस, कफुचे, कोरी, क्व्होलासोंथर हुँदै नामुन पास भएर मनाङबाट बाहिरिने ट्रेलको अवधारणा छ, यो ट्रेलको  विकास गर्न सके २५ दिनसम्म अन्नपूर्ण क्षेत्रमा नै पर्यटकलाई भुलाउन सकिन्छ’, पौडेलले भन

जनप्रतिनिधिका चुनौती र अवसर

0

स्थानीय सरकारको दोस्रो कार्यकालका लागि निर्वाचन पनि भर्खर सम्पन्न भएको छ । निर्वाचनमा जनताले मतादेशका साथ महत्वपूर्ण सन्देश दिएका छन् ।

म्याग्दी जिल्लामा चुनाव र कार्यपालिकाको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले विगतमा अपेक्षित काम गर्न नसकेको, जनताको भावनाको कदर नगरेको, आवश्यकतामुखी भन्दा पहुँच र निकटलाई सेवा दिएको जस्ता आरोपको सामाना गर्नुपरेको थियो । पहिलो कार्यकालमा म्याग्दीमा अपवादबाहेक व्यवहारमा अधिकांश जनप्रतिनिधिहरूमा जनताका गुनासा नै गुनासा थिए ।

पहिलो पाँच वर्षे कार्यकाल बिताएर बिदाइ हुँदै गर्दा जनप्रतिनिधिहरूको विभिन्न दृष्टिकोणबाट समीक्षा भइरहेका छन्।अहिले भएका समीक्षाले फेरि दोहोरिने जनप्रतिनिधिलाई काम गर्न सहज हुने र निर्वाचनबाट आएका नयाँ जनप्रतिनिधिलाई पनि काम गर्न सहज हुन्छ।

म्याग्दीमा दुई पालिका प्रमुख सहित वडा अध्यक्ष र सदस्यहरू दोहोरिएका छन् भने अधिकांस नयाँ अनुहारले नेतृत्व सम्हालेका छन्। निर्वाचनबाट सक्षम, योग्य, इमानदार व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने बहसका बिच चुनिएका जनप्रतिनिधिमा अवसर र चुनौती दुबै छन् ।

पहिलो पाँच वर्षे कार्यकालमा स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक तथा जनताको आवश्यकता रहेको क्षेत्रमा कस्तो काम भयो ? जनताले समेत मुल्याङ्कन गरेको अवस्थामा अव जनप्रतिनिधिले समेत आफ्नो जिम्मेबारीलाई ध्यान दिएर कार्यसम्पादन गर्नुपर्ने अवस्था छ । अब कुनै पनि बहानामा स्थानीय तहका जनप्रतिनिधिहरूलाई आफ्नो कमजोरी लुकाउने छुट छैन।

जनताले पनि चुनेर पठाई दियौँ भनेर ढुक्क भएर बस्नुहुँदैन। स्थानीय तहको क्षमता विशाल छ। विकास र समृद्धिको ढोका स्थानीय तहबाट नै खुल्ने भएकाले स्थानीय तहका जनप्रतिनिधि आफ्नो जिम्मेबारी पूरा गदैं जनताप्रति जवाफदेही बन्नुपर्छ। स्थानीय तह सञ्चालन गर्ने जनप्रतिनिधिहरूको जवाफदेहिताले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि यसको प्रभाव पर्ने देखिन्छ ।

नगर, पालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूलाई प्रश्न सोध्ने वा उनीहरूले आफूले गरेका प्रतिबद्धताहरू कति कति पूरा भए, कति चालु अवस्थामा छन्,कति सकिए, किन सकिएनन् भनेर सोधखोज गर्नुपर्छ र उनीहरूले पनि जवाफ दिनु जरुरी छ। अब कुनै पनि बहाना देखाएर जनप्रतिनिधिहरू तर्किने छुट छैन। सुशासन स्थापनाका निम्ति जनप्रतिनिधिहरू उत्तरदायी र जिम्मेवारी हुन जरुरी छ ।

स्थानीय तहमा जनताको भोट तान्न लोकप्रिय कार्यक्रम कार्यान्वयन भएन भने त्यो कागजका रूपमा परिणत हुन्छ। जनप्रतिनिधिलाई पहिलो कार्यकालबाट विदाई भएकाहरुको कमजोरी, राम्रो अभ्यास सिक्ने र सोही अनुसार काम गर्ने अवसर जनप्रतिनिधिका काँधमा छ। अबका पाँच वर्ष खेर जान दिने छुट छैन। नत्र पछुताउनुको विकल्प हुन ेछैन।

 

 

जोगीको भेषमा गलेश्वर बजारमा आंतक

0

म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वर बजारमा जोगीको भेषमा रहेका एक ब्यक्तिले मदिराको सेवन गरी आतंक मच्चाउन थालेको गुनासो स्थानीयले गरेका छन् । प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आफूलाई धार्मिक सन्त बताउँदै आएका एक अपरिचित ब्यक्तिले मदिरा सेवन गदैं होहल्ला गर्ने, स्कुले विद्यार्थीलाई तर्साउने, अपशब्द बोल्ने गरेको प्रत्यक्षदर्शी प्रकाश शर्मा सुबेदीले बताउनुभयो ।

‘स्कुले विद्यार्थी भागभाग गर्छन,‘मानसिक सन्तुलन समेत गुमाएजस्तो देखिन्छ’ सुबेदीले भन्नुभयो । धार्मिकस्थल गलेश्वरधाममा आएको भन्दै नियमित मदिरा सेवन गर्ने, सार्वजनिक स्थानमा सुत्ने, आसपासबाट आवतजावत गर्नेलाई गाली गर्ने जस्ता गतिविधिका बारेमा पटकपटक गुनासो गरेपनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको भनाई छ ।

‘गलेश्वर र आसपासका क्षेत्रका क्षेत्रमा पुगेर मनपरी माग्ने, नदिए तल्लोस्तरको गाली गर्ने गर्छ,‘तत्काल ब्यवस्थापन गर्न प्रहरीलाई अनुरोध गछौं’ गलेश्वर आमा समुहकी गौमायाँ मगरले भन्नुभयो । गलेश्वर आसपासका क्षेत्रका बासिन्दाले तत्काल वडा कार्यालयमार्फत जिल्ला बाहिर पठाउने ब्यवस्था मिलाउन माग गरेका छन् । यता वडा कार्यालयबाट समेत आवश्यक समन्वय भइरहेको बताइएको छ । गलेश्वर मन्दिर आसपासमा आउने जोगीको पहिचान गरी आवश्यक ब्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।

‘कालीगण्डकी’माथि सय कविता

0

मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ । तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो ।

‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृंङ्खला सुरु गरेको थियो ।

दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘कालीगण्डकी’ कविताबाट आरम्भ गरिएको उक्त शृङ्खलामा देशभरबाट कवि जोडिएका छन् ।

कालीगण्डकीको महिमागानदेखि मानवीय अतिक्रमण झेलिरहेको नदीको चित्कारसम्मलाई उनीहरुले आफ्ना रचनामा मुखरित गरेका छन् ।

‘नदी सप्तक’को एक सयौँ कविता ‘म कालीगण्डकी नागबेली बग्छु’ मा कवि ओली लेख्छन् ।

‘मान्छेसित मिलेर
मान्छेसितै म मान्छेलाई भेट्न जाँदैछु

कता हो बाटो ?
मान्छेलाई भेट्ने ?

म कहिले बेगिँदै, कहिले सुस्ताउँदै
कहिले हतारिँदै, कहिले स्थिर हुँदै

पत्तो नलागेको मान्छेको
हृदयलाई छुन संवेदनशील
म कालीगण्डकी नागबेली बग्छु…’

हिमालय सभ्यतासँग जोडिएको पवित्र नदी कालीगण्डकीको संरक्षणका लागि सङ्घर्षरत अभियानले सिर्जनाकामार्फत रचनात्मक दबाब बढाउन कविता शृङ्खला चलाइरहेको छ । नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्ध रुपमा सम्प्रेषण गरिँदै आएको अभियानकर्मी आरके अदिप्त गिरीले बताए ।

‘आन्दोलन कविताका रुपमा यो अगाडि बढिरहेको छ, कालीगण्डकीमा चलिरहेको क्रुर दोहनको विरोधका लागि हामीले काव्यको सहारा लिएका हौँ’, उनले भने । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि कालीगण्डकीमा दोहनको अवैध धन्दा मच्चिनै रहेको छ । मङ्गलबार राति मात्रै प्रहरीले बागलुङ नगरपालिका–१ स्थित कालीगण्डकी किनारबाट गिट्टीबालुवा झिकिरहेको अवस्थामा तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।

नदीको अस्तित्व नै संकटमा पर्ने गरी भइरहेको मनलाग्दी दोहनका विरुद्ध सबैले बोल्ने बेला आएको अभियानकर्मी गिरीले बताए । प्रकृति, पर्यावरण र सम्पदा संरक्षणमा हरेक पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । अभियानकर्मी गिरीले अनेक आयामबाट कालीगण्डकीमाथि कविता लेखिएको सुनाए ।

‘कुनै कवितामा नदीको वैभव, कुनैमा सङ्कट, दुःख, बेदना र सर्जकको आक्रोस छ’, उनले भने, ‘नदी र पर्यावरण संरक्षणका पक्षमा कविहरुले सचेत आवाज दिएका छन् ।’ ठिक यही भावसहित हेटौँडाका कवि साम्ब ढकाल पनि ‘नदी सप्तक’ कविता शृंखलामा सामेल भए ।

‘हेरहेर तिम्रा पूर्खाको सभ्यता कहाँबाट सुरु भयो
बुझबुझ तिमी यहाँसम्म आइपुगेको
कुनकुन नदी तर्दै हो ?’

कवि ढकालले ‘नदी भञ्जकहरुका नाममा’ कवितामार्फत गरेको प्रश्न हो यो । उनी सोध्छन्,

‘नदीमाथि हुर्केको नदी सभ्यता बेमाख पार्दै
आज नदी भञ्जकहरुले विजयोत्वस मनाइरहेछन्

नदी भञ्जकहरुलाई एउटा यक्ष प्रश्न
के नदी सकिँदा तिमीहरुचाहिँ बाँच्छौ र ?’

नदी सङ्कटको सजिव वर्णन यसमा छ । कालीगण्डकीमाथि दोहनचक्र चलाउनेहरुका निम्ति यो एउटा प्रतिरोधी कविता हो । बागलुङका कवि गोविन्द सुवेदी भने पद्य शैलीको ‘सुन्दरी कृष्णागण्डकी’ कवितामार्फत ‘नदी सप्तक’मा जोडिए।

‘जसको काखमा बस्दा माताको स्नेह मिल्दछ
सेवा गरे उनैलाई पुण्यको फल लाग्दछ

स्वयंमा तीर्थ हुन् काली झन् अरु लाभ छन् कति
हरिकी जननी यस्ती सुन्दरी कृष्णागण्डकी…’

अभियानका अनुसार कविता शृङ्खला निरन्तर चल्नेछ । पछि प्रतिनिधि कविका रचनालाई ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गरिनेछ । स्रष्टाका आवाजलाई राज्ययन्त्र र नदी दोहनकारीसम्म पुर्‍याउनु कविता शृङ्खलाको उद्देश्य रहेको अभियानकर्मीले जनाएका छन् ।

‘नदी सप्तक’ सुरु हुनुअघि अभियानले खुलारुपमा कविता आह्वान गरेको थियो । कालीगण्डकीमाथि लेखिएका कविता, गीत बौद्धिक सम्पत्तिकारुपमा भावी पुस्तासम्म बाँचिरहने अभियानकर्मी गिरीले बताए ।

अभियानले यसअघि ‘ए कालीगण्डकी…’ बोलको गीत पनि सार्वजनिक गरिसकेको छ । प्रसिद्ध कवि श्रवण मुकारुङको रचना र सङ्गीतमा तयार भएको उक्त गीतमा लोकप्रिय गायक कर्ण दासको स्वर छ । यहाँका पर्यावरणप्रेमी युवा मिलेर डेढ वर्षअघि ‘कालीगण्डकी बचाऔँ अभियान’ सुरु गरेका थिए । नदीजन्य पदार्थ उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको अवैध दोहन रोकिनुपर्ने उनीहरुको माग छ ।

अनियन्त्रित दोहन नरोकिने हो भने नदीको अस्तित्व नै नामेट हुने खतरा रहेको अधिवक्ता राम शर्माले बताए । उनले कालीगण्डकी संरक्षणको मुद्दामा लामो समयदेखि पैरवी गर्दै आउनुभएको छ । ‘मैले नै दिएको निवदेनमा सर्वोच्चले नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ’, उनले भने, ‘स्थानीय तह, प्रहरी प्रशासनलगायत राज्यका निकायले चाहे भने मनपरी ढङ्गले भइरहेको दोहन रोक्न सक्छन् ।’

उनले नदीजन्य पदार्थ उत्खननका लागि जोखिम नभएका ठाउँ पहिचान गर्ने, तोकिएको मात्रामा उत्खनन गर्ने, व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याउने आदि गरेमा उत्खनन केही व्यवस्थित हुनसक्ने धारणा राखे ।

‘नदीबाट गिट्टीबालुवा झिक्नै नपाउने कुरा व्यवहारिक नहुन सक्छ, तर उत्खननलाई व्यवस्थित बनाउनुपर्‍यो, राज्यले कानुनी प्रबन्ध त्यही अनुसार गर्नुपर्‍यो”, अधिवक्ता शर्माले भन्नुभयो । पारिस्थितिक प्रणालीमै धक्का पुग्ने गरी मनपरी किसिमबाट दोहन भइरहे मानवजाति र प्रकृतिमाथि नै संकट निम्तने उनको भनाइ छ ।

अभियानकर्मी गिरीले भने गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने र ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने विचार राखे ।

ठूला यन्त्र, उपकरणको सहायतामा भइरहेको दोहनका कारण वर्सेनि नदी ‘बिरुप’ बन्दै गएको छ । अप्राकृतिक दोहनकै कारण वर्षात्मा नदीको धारपरिर्वतन हुँदा बाढीलगायतका विपद् निम्तिइरहेका छन् । कालीगण्डकी किनारमा बसोबास गर्ने लाखौँ मानिसको थातथलो र जीविका सङ्कटमा देखिँदै गएको छ ।

कालीगण्डकी नदीमा मात्र पाइने विष्णु भगवानका रुपमा पूजिने दुर्लभ शालिग्राम शिला लोप हुने जोखिम पनि उत्तिकै बढेको छ । मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटतिर धकेलिएका छन् । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचीन सभ्यता छ । यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ ।

कालीगण्डकी क्षेत्रका फाँटमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख छ । चिनियाँहरुले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारै किनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको बताइन्छ ।

कालीगण्डकी नदीलाई विश्व सम्पदामा सूचीकृत गर्नुपर्ने आवाज पनि बेलाबेला उठ्ने गरेको छ । हालै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी साँस्कृतिक महत्वको कालीगण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल लिन आग्रह गरेका छन् ।

error: Content is protected !!