Tuesday, April 29, 2025
15.7 C
Beni
15.7 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 839

म्याग्देली चेली दीया पुनले गरिन सगरमाथा आरोहण

0

अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख घर भएकी नेपाली चलचित्रकी नायिका दिया पुनले विश्व किर्तिमानधारी निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् ।

निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको सगरमाथा चढेको हो । सबैजना चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित र न्यानो भएर फर्किएको टोलीले जनाएको छ । यस अघि उनले नेपालको मनास्लु र अर्जेटिनाको अकोनकागुवा हिमाल आरोहण गरिसकेकी छिन् । चार जना शेर्पाले अक्सिजनको सहायताबिनै चुचुरो चुमेका थिए ।

आफ्नै ४२ लाख रुपैयाँ खर्चमा दीयाले तीन च्यारिटी उद्देश्यले सगरमाथा चढेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् । दीया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बनेकी छन् । दीयाले नेपाली चलचित्रहरू ‘वीर विक्रम’, ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’मा अभिनय गरिसकेकी छिन्।

बेनी नगरपालिकामा अब आइतबार पनि विद्यालय खुल्ने

0

बेनी नगरपालिकाले आइतबार पनि नियमित पठनपाठन गर्ने भएको छ । नेपाल सरकारले तोकेको दुई दिन बिदा शैक्षिक संस्थामा उचित नभएकाले आगामी आइतबारदेखि नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको हो।

नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, विद्यालयका प्रधानाध्यापक सहितको जनप्रतिनिधिको उपस्थितिमा भएको बैठकले चाडपर्व सहित अन्य शैक्षिक विदाका कारण पठनपाठन प्रभावित भइरहेको अवस्थामा हप्तामा दुई दिन बन्दले थप समस्या उत्पन्न हुने भएकाले विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो ।

बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जेठ पहिलो सातादेखि हप्तामा दुई दिन बिदा दिने निर्णयलाई सामुदायिक विद्यालयको हकमा कार्यान्वयन नगर्ने निर्णय भएको बताउनुभयो ।‘सरोकारवाला निकायको निर्णय अनुसार अब नियमित पठनपाठन हुन्छ,‘जनप्रतिनिधि र सरोकारवालाको सहमतिले कार्यान्वयनमा सहज हुन्छ’ ढकालले भन्नुभयो । बेनी नगरभित्रका कतिपय विद्यालय बन्द र केही खुलेपछि अभिभावक पनि अन्योलमा परेको थियो ।

शैक्षिक सत्र ढिला सुरु भएको र विगतमा कोभिडका कारण विद्यार्थीको सिकाइ कम भएकाले आइतबार पनि विद्यालय सञ्चालनमा जोड दिएको बेनपा–१,रत्नेचौरस्थित भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो । जिल्ला अन्य स्थानीय तहले समेत परीक्षणको रुपमा रहेको दुईदिने विदाबाट शैक्षिक क्षेत्रमा असर गरेकाले आइतबार नियमित पठनपाठन गर्ने तयारी गरेको छ।

बेनी-जोमसोम सडक : कैकुखोला-खन्ती खण्ड कालोपत्र

0

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोला–खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर ५०० मिटरमध्ये १६ किलोमिटर दूरीमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको जानकारी दिनुभयो । “तेस्रो प्याकेजको कालोपत्र गर्न अब ५०० मिटर मात्र छ”, उनले भने, “शर्मा–गजुरमुखीले नै ठेक्का लिएको दोस्रो प्याकेजको भुरुङ्गतातोपानी–घाँसा खण्डअन्तर्गत पर्ने काभ्रे, घोप्टेभिर खण्डमा विस्फोटक पदार्थको सहायताले सडक विस्तार अन्तिम चरणमा पुगेको छ ।”

एघार मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावियन पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राख्ने काम भइरहेको छ । सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको र आवतजावत सहज भएको छ ।

करिब डेढ घण्टा लाग्ने गरेकामा हाल ३० मिनेटमा पार गर्न सकिन्छ । सडक कालोपत्र भएपछि एक घण्टा यात्राअवधि छोटिएको छ । मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ । बेनी–जोमसोम सडकको पहिलो प्याकेजअन्तर्गत म्याग्दीको राहुघाटबाट बेगखोलासम्मको छ किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र अन्तिम चरणमा पुगेको छ । गलेश्वरमा एक किलोमिटर र बेगखोलाबाट भुरुङ्ग–तातोपानी खण्डको सडकको अधिकांश ठाउँमा विस्तार सकेर कालोपत्रको तयारी गरिएको छ ।

विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी छ ।

एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । आठवटा मोटर चल्ने पुल निर्माण सकिएका छन् ।

थप एकवटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन्। थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।सो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट सांसद प्रेमप्रसाद तुलाचनले बताए ।

आगलागी हुँदा घर नष्ट

0

बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गए राति विद्युत् सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताउनुभयो।

राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउ रानाले बताए । रासस

मालिकाको कार्यपालिकामा ८ सदस्य सहित एमालेको बहुमत

0

म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका ३, नेकपा माओवादीका २ र एकिकृति समाजवादीका १ जना निर्वाचित भएका छन । बिहिबार भएको कार्यपालिका सदस्य निर्वाचनको मत परिणाम अनुसार कार्यपालिका सदस्य मा महिला तर्फ नेकपा एमालेका छरदेवि घर्ति, प्रतिक्षा विश्वकर्मा र मन कुमारी पुन निर्वाचित हुनुभएको हो । उहाँहरुले १९÷१९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै महिला तर्फ नेकपा माओवादीका देवी पटेल निर्वाचित हुनुभएको छ उहाँले १९ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

नेकपा एमालेका गौमति चपाईँ, नेपाली काँग्रेसका तनदेवी पूर्जा, तुलसी देवि पूर्जा र भिमकुमारी पुन १७÷१७ मत लिएर पराजित हुनुभएको छ । दलित वा अल्पसंख्यकतर्फबाट नेकपा माओवादीका दल बहादुर खड्काथोकी २० मत लिएर विजयी हुनुभएको छ भने नेकपा एकिकृत समाजबादीका अनुप गौचनले १९ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दलित वा अल्पसंख्यकतर्फ नेकपा एमालेका खरमाया विटालु १८ र खिममाया पटेल १७ मत प्राप्त गरि पराजित हुनुभएको छ । कार्यपालिका सदस्य निर्वाचनमा एमालेको १७, काँग्रेसको १५ र माओवादीको ५ गरि ३७ जना मतदाता रहेका थिए । निर्वाचन पूर्व नेपाली काँग्रेस, नेकपा माओवादी र एकिकृत समाजबादीले तालमेल गरेका थिए ।

तालमेल गर्दा एमालेसंग मतदाता संख्या १७ र उनिहरुसंग २० पुगेको थियो । नेकपा माओवादीले फ्लोर क्रस गर्दा नेकपा एमालेका ३ जना सदस्य विजयी भएका हुन । १५ सदस्य रहेको कार्यपालिकामा नेकपा एमालेको ८ सदस्य सहित बहुमत पुगको छ । काँग्रेसको ३, माओवादीको ३ र एकिकृत समाजवादीका १ जना सदस्य रहेका छन ।

कांग्रेस-माओवादी तालमेल ‘निल्नु न ओकल्नु’

0

म्याग्दीमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन र मालिका गाउँपालिकामा सम्पन्न भएको कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल निल्नु न ओकाल्नु’ भयो । बिहिबार सम्पन्न भएको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेसँगै जिल्लामा सत्ता गठबन्धनको बाँकी सहकार्यमा झड्का लागेको छ।

नेकपा एमालेलाई हराउने उद्देश्य राखेर स्थानीय तहमा केही पालिकामा गरिएको तालमेलमध्ये धवलागिरी बाहेक अन्यमा सोचेजस्तो नतिजा नआएको र बेनी नगरपालिकामा माओवादी केन्द्रका भोटहरू एमालेका उम्मेदवारलाई खन्याइएको विषयमा मतभेद भइरहेको अवस्थामा बिहिबार मालिका गाउँकार्यपालिकाको निर्वाचनको दृष्यले समेत तालमेल र सहकार्यलाई पुर्नविचार गर्नुपर्ने अवस्था बनाइदिएको छ ।

पाँचदलीय गठबन्धनले तालमेल गरेर चुनावी मैदानमा होमिनबाट अलग भएको मालिकामा माओवादी केन्द्रले कांग्रेसलाई कार्यपालिकाको निर्वाचनमा आफ्नो शक्ती प्रर्दशन गरेको छ ।सत्ता गठबन्धनको सहकार्यमा कार्यपालिकाको निर्वाचन भएपनि माओवादी केन्द्रका २ र एकिकृत समाजवादीबाट १ जना र बाँकी ३ जना एमालेबाट निर्वाचित भएपछि तालमेललाई स्थायी रुपमै तोड्ने संकेत देखिएको छ ।

जिल्लामा कांग्रेस र माओवादी बिचको सहकार्य तोड्दिा फाइदा नेकपा एमालेलाई हुन्छ । बेनी नगरपालिका सहित अन्य स्थानीय तहको कार्यपालिकाको निर्वाचनमा अबको दृष्य रोचक हुने सम्भावना छ । नेकपा एमालेको मंगला र अन्नपूर्ण गाउँपालिकामा एकल बहुमत छ भने नेपाली कांग्रेसको रघुगंगामा एकल बहुमत छ ।

रघुगंगामा माओवादी केन्द्र क्लिन स्वीप भएको अवस्थामा कार्यपालिका एक सदस्यमा नेपाली कांग्रेसले सघाउने अवस्था देखिएको छ भने बेनी नगरपालिकामा समेत सत्ता गठबन्धनकै तालमेल छ । मालिकाको दृष्यले धवलागिरीमा छुदैन भने अन्य स्थानीय तहमा भने पर्ख र हेरको अवस्थामा पुगेको बताइएको छ ।

‘माओवादीसँगको सम्बन्ध चिनीभित्रको कमिला जस्तै भयो,‘सहकार्यलाई इमान्दारिताभन्दा पनि स्वार्थसँग जोड्ने गरिएको छ’ एक नेपाली कांग्रेसका नेताले भने ।बेनी नगरपालिकामा इमान्दारितापूर्वक उपमेयरमा सहयोग गर्दा समेत माओवादीले वडामा नराम्रो पाठ सिकाएको कांग्रेसका नेताहरुको भनाई छ भने माओवादी केन्द्रको नेताहरुले समेत तालमेलमा कमजोर स्थानमा धकेल्ने र सहज स्थानमा कांग्रेसले पन्छाउन खोजेको अवस्थामा सहकार्यमा असहज भएको बताएका छन् ।

‘बागलुङ र पर्वतमा भएको तालमेल यहाँका कांग्रेस नेताले सिक्न सकेनन्,‘कांग्रेसका नेताहरुको दम्भले पार्टीका कार्यकर्ताहरुलाई र जनप्रतिनिधिलाई समेत सम्हाल्न गार्यो भएको छ’ एक माओवादी नेताले भने । सत्ता सहकार्य गरेका दलहरु बिचको एकता बलियो बनाउनुपर्नेमा कांग्रेसबाट समेत इमान्दारितापूर्वक सहकार्य नभएको बताएका छन् ।

स्थानीय तहको कार्यपालिकाको निर्वाचनमा देखिएको दृष्यले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तीन दल एक्लै चुनावी मैदानमा देखिने वा केन्द्रमा तालमेल भएपनि जिल्लामा कांग्रेसका कार्यकर्ताले माओवादीलाई र माओवादीकाले कांग्रेसलाई सघाउने वातावरण कमजोर भएको बताएका छन् । तालमेलको दृष्य मतगणनास्थलमा देखिएपछि सत्ता गठबन्धनका नेताहरुमा सहकार्यभन्दा पनि अलग अलग उपस्थिती हुने सम्भावना देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा जिल्ला नेतृत्वको अपरिपक्काको कारण गठबन्धनको हातमै पुगेका केही पालिकाहरू गुमेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मालिका आफ्नो पोल्टामा पार्न खोज्दा अन्य धवलागिरी र बेनी नगर,अन्नपूर्ण गाउँपालिकामा तालमेल भयो । दुबै पार्टीका यूवा नेताहरूको अडान फोर्न नसक्नु जिल्ला नेतृत्वको कमजोरी भन्दै दुबै पार्टीका नेताहरुले आलोचना गर्ने गरेका छन् ।

मालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस

0

म्याग्दीको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेको छ। आज भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लोर क्रस गरेर एमाले र माओवादी केन्द्रका कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनको बहुमत रहेको कार्यपालिकामा नेकपा एमालेबाट प्रतिक्षा विक,मनकुमारी पुन, विजय भएका छन् भने नेकपा माओवादी केन्द्रबाट दलबहादुर खड्कथोकी, देवी पटेल र एकिकृत समाजवादीबाट अनुप गौचन विजय भएका छन् ।

स्थानीय तहको निर्वाचनमा तिक्ततापूर्ण सम्बन्ध रहेको सत्ता गठबन्धनले कार्यपालिकामा सहकार्य गरेपनि मतदान प्रक्रियामा माओवादीले एमालेलाई सघाएको छ ।माओवादी र एमाले बिचको सहकार्य पनि आश्चर्यजनक देखिएको छ । गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष खरमायाँ विटालु र निर्वतमान कार्यपालिका सदस्य गौमती चापागाईलाई भने पराजित गरिएको छ ।

िवटालु कार्यपालिका हुदैं जिल्ला समन्वय समितिमा आउने तयारी थियो । पार्टीले उपाध्यक्षको टिकटमा चलाखी गरेपनि विटालुले पार्टीलाई जिताउन निरन्तर फिल्डमा सक्रिय भएपनि कार्यपालिकामा प्रतिनिधित्वमा असहयोग गरिएको छ ।

कार्यपालिकामा अनुभवी भन्दा पनि नयाँलाई अवसर दिन खोजेजस्तै गरी एमालेबाट समेत प्रतिनिधित्व भएको छ । यता सहमति बाहिर गएर नेकपा माओवादीले राजनीतिक इमान्दारिता उल्लंघन गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ भने नेकपा माओवादीले भने प्रतिक्रिया दिएको छैन।जिल्लाका अन्य स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्र बिचको सहकार्यलाई समेत मालिकामा भएको गतिविधिले झस्काएको बताइएको छ ।

महावीर पुनलाई पोर्चुगलमा सम्मान

0

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

डा पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा प्रस्तुति दिनुभएको थियो । केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेय पदार्थ, रोबोटलगायतका विभिन्न नयाँ–नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उहाँले जानकारी गराउनुभएको थियो ।

नेपाली युवालाई विदेशिनबाट रोक्नका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राख्दै डा पु्नले रोजगारी सिर्जनाका लागि देश समृद्ध हुनुपर्ने बताउनुभयो । राज्यले दक्ष मानव पूँजीको पहिचान र सही प्रयोग गर्न नसक्दा देशको विकास हुन नसकेको पुनको भनाइ थियो । दक्ष मानव पूँजीको उत्पादनका लागि आफू लागिपरेको उल्लेख गर्दै डा पुनले नयाँ–नयां खोज, अनुसन्धान, आविष्कार, प्रविधि र उद्यमशीलताको क्षेत्रमा लाग्नेलाई केन्द्रले प्रोत्साहन गरिरहेको बताउनुभयो ।

डा पुन पोर्चुगलमा आयोजित कार्यक्रममा सहभागी भई बुधबार बेलायततर्फ प्रस्थान गर्नुभएको छ । यसअघि डा पुन बेलायत, डेनमार्क, स्वीडेन, फिनल्याण्ड, जर्मनी, स्वीजरल्याण्ड, फ्रान्स, लग्जेम्वर्ग, बेल्जियम, नर्वे, पोल्याण्ड, इटाली, स्पेनलगायतका देशमा नेपाली समुदाय तथा त्यहाँका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्ययन, अनुसन्धान, अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभएको थियो ।

यसैबीच राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि सङ्घले आर्थिक सङ्कलनसमेत गरिरहेको म्याग्दी प्रवासी नेपाली सङ्घ पोर्चुगलका महासचिव दिपु मगरले जानकारी दिनुभयो । केन्द्रको सहयोगार्थ सङ्घले हालसम्म ६ हजार युरो सङ्कलन गरिसकेको र करिब १० हजार युरो सङ्कलन गरी सहयोग रकम केन्द्रलाई हस्तान्तरण गरिने मगरले बताउनुभयो ।

अर्मनको चाङ्गामा ५ रोपनी क्षेत्रफलमा लगाइएको लागूऔषध अफिम नष्ट

0

पश्चिम म्याग्दीको मंगला गाउँपालिका-५, चाङ्गामा लगाइएको लागूऔषध अफिम खेती नष्ट गरिएको छ । लागूऔषध अफिमको खेती गरेको भन्ने गोप्य सूचनाको आधारमा अफिम खेतीलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएर गएको म्यादी प्रहरीसहित २८ जनाको टोलीले लागूऔषध अफिम खेतीलाई नष्ट गरेको प्रहरी निरिक्षक राजन ढकालले बताउनुभयो । अन्दाजी पाँच रोपनीको क्षेत्रफलमा लगाइएको अफिम खेतीलाई फडाँनी गरेर नष्ट गरिएको छ । सार्वजनिक स्थानमा कसले अफिमको खेती गरेको विषय भने खुल्न बाँकी रहेकाले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको आफ्नै नियमित कार्यक्रम अन्तरगत पश्चिम म्याग्दीको मालिका र मंगलामा लागूऔषध अफिम खेतीको नष्ट अभियानलाई तिब्रता दिएको छ ।  यसैगरी जिल्लाको अन्य ठाउँमा पनि हुन सक्ने लागूऔषधको खेती तथा कारोबारलाई नियन्त्रण गर्न आवश्यक खोजीकार्य र अनुसन्धान भैरहेको डिसएपी तिलक भारतीले बताउनुभयो । म्याग्दीमा पश्चिम क्षेत्रबाट यसअगाडी प्रहरीले भारी मात्रामा गाँजा सहित लागु औषध समेत बरामत गरेकाले सार्वजनिक र ब्यक्तिगत जग्गामा लगाइएको अफिम सहित चरेसको भण्डार समेत खोजीकार्य गर्ने गरेको छ ।

आलुबारी…

0

म्याग्दीको बेनी नगरपालिका–३, मुसुङ गाउँमा लगाईएको सामुहिक आलुखेती । आलुको पकेट क्षेत्र मानिने भकिम्लीको यो बस्तीमा रासायनिक मल र कुनै किीटनाशक औषधीको प्रयोगलाई स्थानीयले निरुत्साहित गदैं उन्नत आलु उत्पादन गर्ने गरेका छन् । रासायनिक मल र कीटनाशक औषधीको प्रयोगलाई स्थानीयले कम गरेपछि स्वादिलो आलुका लागि मुसुङ प्रख्यात छ । तस्वीर हरिकृष्ण गौतम

error: Content is protected !!