Monday, April 28, 2025
18 C
Beni
18 C
Beni
Monday, April 28, 2025
Home Blog Page 843

अन्नपूर्णमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गयो

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । आज दिउँसो करिव ३ः१५ बजेको समयमा बाग्लुङबाट टेकमाइन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको च ०४२३ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटना परि गोरखा बारपाक–४ बस्ने अन्दाजी ३१÷३२ बर्षका सन्तमान गुरुङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिनुभएको छ । जिपमा चालक सहित ५ जना सवार थिए ।

अन्य ४ जना घाईते भएका छन । उनिहरुको अवस्था सामान्य रहेको बुझिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप सडकबाट करिव ७ मिटर तल खसेको छ ।घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ढकालले जानकारी दिनुभयो ।

म्याग्दी कांग्रेसले प्रमुख,उपप्रमुख,वडा अध्यक्ष सहित ८८ पद जित्यो

0

म्याग्दीमा सम्पन्न भएको स्थानीय तहमा नेपाली कांग्रेसले विगतमा जितेका पालिकालाई जोगाउन नसक्दा दोस्रो स्थानमा खुम्चिएको छ । नेपाली कांग्रेसले रघुगंगा गाउँपालिका जितेपनि दुई वडा गुमाएको छ ।

जिल्लाभर दुई प्रमुख र एक उपप्रमुख जितेको कांग्रेसले १७ वडा अध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुल्ला महिला सदस्य गरी ८८ पदमा विजय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गएको स्थानीय तहमा जितेको कांग्रेसले बेनी नगरपालिकाको मेयर, मालिकामा अध्यक्ष र अन्नपूर्णको अध्यक्ष तथा उपाध्यक्ष पद गुमाएको छ ।

बेनी नगरपालिकामा वडा नं २, वडा नं ७, वडा नं ९ नेकपा एमालेबाट खोसेको छ भने वडा नं १० गुमाएको छ । ०७४ सालको निर्वाचनमा ’क्लिन स्विप’ भएको नेपाली कांग्रेसले वडा नं ४ बरंजा माओवादीबाट खोसेको छ ।

मालिका गाउँपालिकाको नेतृत्वमा पराजित भएपनि नेपाली कांग्रेसले वडा नं ४ ओखरबोट माओवादीबाट आफ्नो पोल्टामा पारेको छ भने धवलागिरी गाउँपालिकामा गूर्जाको वडा सदस्य, लुलाङ वडा सदस्यमा इन्ट्री गदैं वडा नं ३ मुनामा विजय हासिल गरेको छ ।

त्यस्तै वडा नं ७ ताकममा समेत सदस्य जितेको छ । यसपटक नेपाली कांग्रेसका लागि धवलागिरीको नतिजाले उत्साह थपिएको छ । वडा तहमा कांग्रेसले जितेपनि पालिकाहरुमा पराजय भोगेकाले सम्रगमा यसपटकको नतिजा सन्तोषजनक नरहेको जिल्ला सचिव हिरा पुनले बताउनुभयो । ‘यसपटक हाम्रो लक्ष्य अनुसारको नतिजा आएको छैन’ सचिव पुनले भन्नुभयो ।

म्याग्दीमा पहिलो शक्ती बनेसँगै एमाले लम्कियो

0

स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा म्याग्दीमा चार स्थानीय तह जित्दै पहिलो दल बनेको छ । नेकपा एमालेले बेनी नगरपालिकामा प्रमुख र मंगला, मालिका र अन्नपूर्ण गाउँपालिका प्रमुख तथा उपप्रमुख जितेको छ।

चार प्रमुख, ३ उपप्रमुख र २२ वडा अध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला र खुल्ला सदस्य ४५ गरी ११८ पद जितेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको बेनी नगरपालिका,मालिका प्रमुख र अन्नपूर्ण गाउँपालिका प्रमुख रउपप्रमुख एमालेले खासेको छ ।

गएको स्थानीय तहको निर्वाचनमा दोस्रो भएको नेकपा एमाले यसपटक बहुमत पालिका जित्दै पहिलो स्थानमा पुगेको छ । नेकपा एमालेले बेनी नगरपालिकामा गएको स्थानीयतहमा जितेको वडा नं २, वडा नं ४, वडा नं ७, वडा नं ९ यसपटक गुमाएको छ भने वडा नं १० मा जित हात पारेको छ ।

त्यस्तै मंगला गाउँपालिका वडा नं ३ समेत गुमाएको छ । यता मालिका गाउँपालिकामा वडा नं ३ रुम डाँडागाउँ गुमाएको छ भने वडा नं ७ बिम माओवादीबाट खोसेको छ । त्यस्तै धवलागिरी गाउँपालिकामा यसपटक एमालेले नमिठो हारको सामाना गर्नुपरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको दलले जितेको पालिकामा एमालेले वडा नं ३ मुना र वडा नं ७ ताकम गुमाएको छ ।

यता रघुगंगा गाउँपालिकामा एमालेले पालिका प्रमुख,उपप्रमुख गुमाएपनि वडा नं २ माओवादीबाट र वडा नं ३ पिप्ले र वडा नं ७ चिमखोला नेपाली कांग्रेसबाट खोसेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रमुख र उपप्रमुख जित्दै नेकपा एमालेले वडा नं २ मा माओवादीलाई तहसनहस बनाउँदै वडा नै जितेको छ भने वडा नं ६ घारमा सदस्य तथा वडा नं ७ हिस्तान समेत कांग्रेसबाट खोसेको छ ।

माओवादी केन्द्र म्याग्दीले २ उपप्रमुख, ६ वडा अध्यक्ष सहित ३० सदस्य जित्यो

0

नेकपा (माओवादी केन्द्र) म्याग्दीले यसपटकको नतिजा सन्तोषजनक नभएपनि लक्ष्य प्राप्तीका लागि सहज भएको बताएको छ । गएको स्थानीय तहमा प्रमुख, उपप्रमुख विहिन भएको माओवादीले बेनी नगरपालिकाको उपमेयर र धवलागिरी गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

त्यस्तै बेनपा वडा नं ३ मा चौतर्फी घेराबन्दीका बिच वडा जोगाउन सफल भएको छ भने वडा नं ४ नेकपा एमालेबाट खोसेको छ । वडा नं ७ मा १, वडा नं ९ मा २ वडा सदस्य जितेको छ । यता मंगला गाउँपालिका वडा नं ३ नेकपा एमालेबाट खोसेको छ भने मालिका गाउँपालिका वडा नं ३ नेकपा एमालेबाट आफ्नो पक्षमा पारेपनि वडा नं ४ ओरखबोट नेपाली कांग्रेस र वडा नं ७ बिम भने एमालेबाट जोगाउन सकेन् ।

गएको स्थानीय तहमा दुई वडा जितेको माओवादीले यसपटक एक वडामा खुम्चिएको छ । यता धवलागिरी गाउँपालिकामा वडा नं १ गुर्जा जोगाएको छ भने वडा नं ७ ताकम नेकपा एमालेबाट खोसेको छ ।

यता रघुगंगा गाउँपालिकामा माओवादी केन्द्र ’क्लिन स्विप’ भएको छ भने अन्नपूर्ण गाउँपालिका वडा नं ५ मा एक सदस्य जितेको छ। सम्रग जिल्लाभर माओवादी केन्द्रले २ उपप्रमुख, ६ वडा अध्यक्ष, ६ महिला, ६ दलित सदस्य र खुल्ला १० गरी ३० सदस्य जितेको छ । यसैबीच म्याग्दीमा निर्वाचनमा सहभागी भएको एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी,राष्ट्रिय जनमोर्चा, मंगोल नेशलन अर्गनाइजेसनले स्थानीय तहमा एउटा पनि सदस्य जित्न सकेनन् ।

बेनी नगरका मेयरको पहिलो स्वास्थ्य सम्बन्धि तीन निर्णय

0

बेनी नगरपालिका भित्र गरिबीको रेखामुनी रहेकालाई निशुल्क स्वास्थ्य विमा गरिने भएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले शुक्रबार पदभार ग्रहण गदैं स्वास्थ्य सेवा सम्बन्धि मौलिक हकको कार्यान्वयन गर्न र नगरबासीलाई सहज र सुलभ सेवा उपलब्ध गराउने तीन निर्णय गर्नुभएको हो ।

नगरपालिकाले विपन्नलाई निःशुल्क स्वास्थ्य विमा,७० बर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर नियमित स्वास्थ्य चेकजाँच, प्रत्येक महिनाको १५ गते ४५ बर्ष माथिका नागरिकलाई नसर्ने रोगको स्क्रिनिङ क्याम्प गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । नगरपालिकाले विपन्न घरधुरीको पहिचान गरेका २ सय घरधुरीमा बसोबास गर्नेलाई स्वास्थ्य विमा सहितको तीनवटै निर्णय यसै महिनादेखि कार्यान्वयन हुने नगर प्रमुख केसीले बताउनुभयो।

‘स्वास्थ्य सेवामा जनताको लगानी घटाउँछौ,घरदैलोमा दिने सेवाहरू विस्तार गछौं’मेयर केसीले भन्नुभयो।पदभारग्रहको अवसरमा मेयर केसीले प्रत्येक हप्ताको एकदिन बेनीबजार सहित आसपासका सडक दमकलले सरसफाई गरिने, छाडा पशुचौपायाको ब्यवस्थापन लगायतका विषयमा समेत तत्काल आवश्यक तयारी गर्न समेत निर्देशन दिनुभएको छ।

उपमेयर ज्योती लामिछानेले विपन्न महिला लक्षित सेवा सहितको योजनाका बारेमा छलफल गर्नुभएको थियो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगरपालिका भित्र हाल भइरहेका गतिविधि र योजनाका बारेमा जानकारी गराउनुभएको थियो । अब केही समयपछि बस्ने नगरकार्यपालिका बैठकबाट समेत थप अन्य योजनाहरूमा छलफल हुने जनाइएको छ ।

अन्नपूर्णमा एमालेले जितेपछि विजयउत्सव मनायो

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष र पाँचवटा वडासहित बहुमत जितेपछि आज (बिहीबार) विजय उत्सव ¥याली निकालेको छ । आजै बिहान सार्वजनिक भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार एमालेले पालिकामा पहिलो भएको खुसियालीमा विजयउत्सव मनाएको हो ।

अन्नपूर्णको विभिन्न ग्रामीण क्षेत्रबाट आएका एमाले नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुक र पालिका, जिल्ला, प्रदेश एवं केन्द्रीयस्तरका नेतासहितको टोली सहभागी भई विजयउत्सव मनाइएको एमाले अन्नपूर्णले जनाएको छ । एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको संयोजनमा गाउँपालिकाको केन्द्र पोखरेबगरमा विजयउत्सवको ¥यालीसहित बजारको परिक्रमा समेत गरिएको थियो ।

विजयउत्सव ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नरदेवी पुनले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको सेवालाई पहिलो प्राथमिकता दिन सुझाव दिनुभयो । उहाँले चुनावअघि गरिएका प्रतिबद्धताअनुसार अब जनप्रतिनिधिको रुपमा काम गर्नुपर्ने बताउँदै समग्र अन्नपूर्णको विकास तथा नागरिकको जीवनस्तरमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले यसअघि एमाले नेतृत्वको सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई पुरा गर्न र जनताको मुहारमा खुशी ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले अहिलेको निर्वाचन जिल्लामा एमालेको पक्षमा आएको हुँदा सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, सन्तोष रावल, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी र उपाध्यक्ष बालकृष्ण सुवेदीले स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध अन्य सबै दलहरुले मोर्चाबन्दी गरेको भए पनि एमाले एक्लै चुनाव लडेर जित्न सफल भएको दावी गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भरतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले चुनावको समयमा जनतासामु गरिएको प्रतिबद्धताअनुसार आफूहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

एमाले रघुगंगा गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर कार्की, जिल्ला सचिवालय सदस्य खड्ग गिरी, अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, अन्नपूर्ण–३, दानाका नवनिर्वाचित वडाध्यक्ष रमेश पूर्जा, एमाले नेता क्याप्टेन बलबहादुर गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम एमाले अन्नपूर्णका अध्यक्ष धनकुमार पूर्जाको अध्यक्षता र सिवानी ल्वागुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

दुर्घटनाका घाईतेको उपचारमा यातायात व्यवसायीले बेवास्ता गरेपछि चक्काजाम

0

बुधबार पर्वतमा भएको सवारी दुर्घटनामा घाईते भएकाहरुको उपचारमा यातायात व्यवसायी र सम्बन्धित सवारी धनीले व्यवास्ता गरे पनि अक्षेतेमा चक्का जाम गरिएको छ । बुधबार बागलुङबाट पोखरा जाँदै गरेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससंग ठोक्किदा घाईते भएकाहरुको उपचारमा वेवास्ता गरिएको भन्दै काठेखोलाका स्थानीयले अक्षेतेमा चक्का जाम गरेका हुन् ।

दुर्घटनामा रेशका ३१ वर्षीय सवारी चालक लालबहादुर थापाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा अन्य १३ जना घाईते भएका थिए । उनीहरुलाई उपचारका लागि पोखरा लगिए पनि घाईतेहरुको उपचारका लागि यातायात व्यवसायी र सम्बन्धित सवारी धनीले कुनै चासो नदेखाउने र सम्पर्कमै नआउने गरेपछि बाध्य भएर चक्का जाम गर्नु परेको तंग्रामका विष्णु आलेले बताए ।

chakka jam  (1).jpg

दुर्घटना घाईतेहरुको बेहाल छ, सवारी धनी यातायात व्यवसायीहरु कोही सम्पर्कमै आएका छैनन्,’ उनले भने,‘उपचारमा वेवास्ता भएका कारण घाईतेहरुको ज्यान जोखिममा परेपछि बाध्य भएर चक्का जाम गरेका छौं । घाईतेहरुको उपचारको सही व्यवस्था नहुँदासम्म चक्काजाम रहन्छ ।’ बिहीबार साँझबाट चक्काजाम गरिएको हो ।

चक्का जामपछि पश्चिम बागलुङतर्फ जाने सवारी साधनहरु अक्षेतेमै थुप्रिएका छन् । सवारी दुर्घटनामा घाईते भएकी तंग्रामकी २३ वर्षीया प्रतीक्षा पुनको पनि मृत्यु भएको छ । कुशुम पुन लगायतको पोखरामा उपचार भैरहेको छ । घाईतेहरुको उपचारमा बेवास्ता गरिएको र यातायात व्यवसायीहरु कोही पनि सम्पर्कमा नआएको तंग्रामका निवर्तमान वडाध्यक्ष केशव थापाले बताए ।

जिल्ला प्रशासनले भन्यो,‘निर्वाचनका घटनालाई लिएर धम्काउन र तर्साउन बन्द गर्नूस्‘

0

स्थानीय तहको निर्वाचनमा मत नदिएर पराजित भएको भन्दै म्याग्दीमा उम्मेदवारले मतदातालाई धम्काउन थालेका गुनासोलाई जिल्ला प्रशासन कार्यालयले चासो दिएको छ । वडास्तरमा चुनावी गतिविधिमा असहयोग गरेकाले पराजित भएको भन्दै धम्काउने गरेको अडियो र भिडियोसँगै दलका कार्यकर्ता बिच मनमुटाव र मुडभेडको जोखिमलाई लिएर जिल्ला प्रशासन कार्यालयले सर्वदलिय बैठकमार्फत समाधानको प्रयास गरेको छ ।

बेनपा–६,थाकनपोखरीमा नेकपा एमाले सर्मथित यूवाहरूले नेपाली कांग्रेसका यूवालाई धारियो हतियार प्रयोग गरी घाईते हुने गरी कुटपिट, बेनपा–१० मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले सार्वजनिक स्थानमा आफूमाथि गालीगलौज गरेको भन्दै परेको उजुरी, धवलागिरी गाउँपालिका वडा नं ३ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारले टेलिफोनमार्फत मतदातालाई तर्साएको जस्ता घटनाका बारेमा प्रशासनको ध्यानार्कषण गराइएको थियो ।

बिहिबार जिल्लाका विभिन्न स्थानमा चुनावको क्रममा भएको घटनालाई लिएर ठूला दल सहितको बैठक आयोजना गरिएको थियो । बैठकमा प्रजिअ चिरञ्जीवि रानाले लोकतन्त्रको सुन्दर अभ्यास निर्वाचन भएकाले निर्वाचन सम्बन्धि गतिविधिलाई लिएर मतदाता र उम्मेदवार बिचमा देखिएको विवाद, घटनाका बारेमा प्रशासनले अनुसन्धान गरिरहेकाले धम्काउन र तर्साउन बन्द गर्न अनुरोध गर्नुभएको थियो ।

‘आजदेखि चुनाव सकियो,म्याग्दीमा शान्तिपूर्ण तरिकाले मतदान सकिएको सन्देश प्रवाह भएको छ,‘सबैको सहयोग र सहकार्य आवश्यक हुन्छ’ प्रजिअ रानाले भन्नुभयो । जिल्ला प्रशासनमा चुनावको क्रममा नेपाली कांग्रेस, नेकपा एमालेबाट आफ्ना नेता तथा कार्यकर्ता माथि भएको घटनालाई छानविन गरी कारवाहीको माग समेत गरेका थिए ।

बेनपा–६ थाकनपोखरी मतदान केन्द्रमा मतदाना सकिएपछि भएको घटनामा भएको आक्रमणलाई कांग्रेसले कानुनी उपचारको खोजी गरेको छ भने नेकपा एमालेले समेत आफ्ना कार्यकर्तामाथि भएको आक्रमण, कुटपिटमा संलग्नलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

सर्वदलिय बैठकमा जिल्लाभर चुनाव आसपासमा भएका घटनाको प्रकृति हेरेर सामान्य भए छलफलबाट टुंगो लगाउन भने दलहरू समेत सहमत भएका छन् । त्यस्तै जटिल घटनालाई कानुनी प्रक्रियाबाटै टुंगो लगाउन समेत प्रशासनले आवश्यक पहल गर्नुपर्नेमा दलका नेताहरूको भनाई थियो ।

जिल्लाका ६ वटै स्थानीय तहमा चुनावको मुखमा घटेका घटनाहरूका बारेमा सर्वदलिय बैठकबाट विगतमा समेत समाधान गरिएको नजिर भएकाले यसपटक समेत चुनावी घटनालाई विभाजित र तिक्ततापूर्ण अवस्थामा पुर्याउन नदिन समेत दलहरू सहमत भएको बैठकमा सहभागी एक नेताले बताए । जिल्लाभर निर्वाचन अगाडी र पछाडी घटेका घटनालाई लिएर प्याकेजमै समाधानको खोजी भइरहेको छ ।

यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेले निर्वाचनले समुदाय र समाजलाई जोड्नुपर्ने बताउनुभयो । हरेक ५ बर्षमा स्थानीय, प्रदेश र संघीय निर्वाचन हुने भएकाले पराजित भएका उम्मेदवार र विजय भएका जनप्रतिनिधिले जनताको भावना अनुसार काम गरी निर्वाचनको लक्ष्यलाई पुरा गर्न समेत घिमिरेले अपिल गर्नुभएको छ । उहाँले म्याग्दी जिल्लामा राजनीतिक दल बिचको हार्दिकता र सहकार्य नमुना रहेकाले अपसी समझारीबाट चुनावको बेलामा भएका मतभेद अन्त्य गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्यका आचार्यलाई सफाई

0

आफ्नै सहकर्मीबाट घुस मागेको अभियोग लागेका स्वास्थ्य कार्यालय म्याग्दीका पूर्व कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहितको टोलीलाई विशेष अदालतले सफाई दिएको छ ।

बि.स २०७६ साउन १२ गते आफुले पेश्की लिएको कार्यक्रम फस्यौट गराउँदा तत्कालिन कार्यालय प्रमुख सहितको कर्मचारीले घुस मागेको भन्दै अख्तियारको शरणमा पुगेका कार्यालयका हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्य र उनकी पत्नी राधिका आचार्यको अभियोग दाबी नपुगेको भन्दै बिहिबार सफाई दिएको हो ।

लामो बहस र अनुसन्धानपछि नियतबस फसाउन खोजिएको भन्दै निमित्त कार्यालय प्रमुख आचार्य,स्टोरकिपर(अधिकृत छैठौं)रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मालाई समेत सफाई दिइएको जनाइएको छ ।

‘हामीलाई फसाउन गरिएका प्रयासहरुमा प्रमाण नै पुगेन, यति धेरै समय दुख पाइयो’ आचार्यले भन्नुभयो ।मुद्धाले कार्यालय बाहेक सेवाग्राहीलाई समेत सास्ती भएपनि अन्तिममा सत्यको विजय भएको आचार्यको भनाई छ ।पेस्की फछ्र्योट गरिदिने वाहनामा लिएको १ लाख ३० हजार रुपैयाँसहित कार्यालयबाटै अख्यितारको टोलीले नियन्त्रणमा लिएको थियो ।

सोही प्रकरणमा आर्थिक बर्ष २०७५÷०७६ मा स्वास्थ्य कार्यालय म्याग्दीले सम्पन्न गरेका कार्यक्रमहरुको अनुसन्धानको क्रममा मुद्धा हाल्ने आचार्यले पेश्की लिएर सम्पन्न गरेका कार्यक्रमहरुमा अस्वभाविक बिल र फर्जी बिल भरपाई पेश गरेर आर्थिक हिनामिना गरेको भेटिएपछि दम्पत्तीलाई नै नियन्त्रणमा लिएर अनसुन्धान समेत गरिएको थियो । घुस मागेको अभियोगबाट सफाई पाएपछि कर्मचारीलाई पुन काममा फर्किन सहज भएको छ ।

म्याग्दीको स्थानीय तहमा नेकपा एमाले पहिलो

0

म्याग्दीमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बहुमत पालिका जित्दै पहिलो राजनीतिक दलका रूपमा पुनस्थापित भएको छ । बि.स २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धेरै वडा जितेपनि जिल्लामा दोस्रो शक्ती भएको नेकपा एमालेले आजै सम्पन्न भएको अन्तिम गणनामा एमालेले ६ मध्ये ४ स्थानीय तहमा विजय हासिल गरेको छ ।

बिहिबार सकिएको मतगणनामा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा एमालेका भारतकुमार पुन ३५१९ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलबहादुर तिलिजा २९८६ मतमा रोकिएका थिए । उपाध्यक्षमा एमालेकै दिवाकुमारी तिलिजा ३५६० मतसहित निर्वाचित भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ललिता तिलिजा २९५८ मत ल्याईन्। अघिल्लो स्थानीय तहमा बेनी नगरपालिकाको प्रमुख,अन्नपूर्णमा प्रमुख र उपप्रमुख र मालिका गाउँपालिकामा प्रमुख जितेको नेपाली कांग्रेसबाट यसपटक एमालेले खोसेको छ । त्यस्तै धवलागिरी गाउँपालिकामा एमालेको प्रमुख र उपप्रमुख यसपटक पाँचदलिय गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जितेको छ ।

स्थानीय चुनावको परिणाम सार्वजनिक हुँदै गर्दा एमालेले विगतमा जितेका केही वडा गुमाएपनि सम्रगमा जिल्लामा आफ्नो बलियो उपस्थिती देखाएको छ । नेकपा विभाजनसँगै अलग भएको माओवादी र माधव नेपाल पक्ष बाहिरिएपछि कमजोर हुने आकलन गरिएको एमालेका नेताले यसपटक लक्ष्य अनुसारको सफलता मिलेको बताउँछन् ।

पाँचदलिय गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच भागबण्डा नमिल्दा यसपटक नेकपा एमालेलाई फाइदा पुगेको छ ।देशभर नेपाली कांग्रेसले सुविधाजनक सिट सहित पहिलो दल बन्दै गर्दा म्याग्दीमा भने दोस्रोमा खुम्चिएको छ । गठबन्धनबाट चुनाव लडेको नेपाली कांग्रेस बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिकामा पराजित भएको छ भने धवलागिरी गाउँपालिकामा सफलता मिलेको छ ।

जिल्लाको रघुगंगा, मालिका र मंगलामा एकल प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसले रघुगंगा गाउँपालिकामा भने बहुमत वडा सहित प्रमुख र उपप्रमुख जितेको छ। जिल्लाका ६ वटै स्थानीय तहमा नेकपा एमाले प्रमुख, उपप्रमुख ७, नेपाली कांग्रेस २ प्रमुख र १ उपप्रमुख र माओवादी केन्द्रले २ उपप्रमुख जितेको छ । ४५ वडामध्ये नेकपा एमालेले २२ वडा, नेपाली कांग्रेसल १७ र माओवादी केन्द्रले ६ वडामा जित निकालेको छ । अघिल्लो स्थानीय तहमा नेकपा माओवादी केन्द्रको अवस्था कमजोर भएपनि यसपटक सुधारिएको छ।

error: Content is protected !!