म्याग्देलीको लगानीमा काठमाण्डौमा संचालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले गृहजिल्ला म्याग्दीका बाढीपहिरोबाट पीडित सर्वसाधारणलाई आर्थिक सहयोग गरेको छ ।

असार २६ गतेको बाढी तथा पहिरोका कारण म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका वडा नं ६ को मराङ्ग, मालिका गाउँपालिका वडा नं ७ को बीम लगायतका स्थानबाट विस्थापित भएका परिवारलाई संस्थाले ८० हजार आर्थिक सहयोग गरेको हो प्रबन्ध संचालक तथा सचिव दिपबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

संस्थाले सहकारीको सामाजिक उत्तरदायित्ववहन गर्दै दुवै गाउँपालिकाको विपत व्यवस्थापन खातामा जम्मा हुने गरी आर्थिक सहयोग छन्त्यालको भनाई छ ।

धवलागिरी गाउँपालिकालाई मराङ्गबाट संस्थामा प्रतिनिधित्व गर्ने शेयर सदस्य खिमबहादुर गुरुङ्ग मार्फत पचास हजार रुपैयाँ र मालिका गाउँपालिकालाई बीमबाट प्रतिनिधीत्व गर्ने शेयर सदस्य गंगाप्रसाद पुर्जा मार्फत तीस हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

स्थापनाकाल देखि म्याग्दी जिल्लाको वहुपक्षीय क्षेत्रमा योगदान गर्दै आएको म्याग्दी सहकारीले बाढी तथा पहिरोबाट जनधनमा पुगेको क्षतिमा दुःख प्रकट गर्दै, ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।साथै संस्थाले विपतमा परेका मानिसलाई राहत तथा पुर्नवासको व्यवस्था गर्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण म्याग्देली बन्धुहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गर्न अपिल गरेको छ ।

संस्थाका उपाध्यक्ष सुशिला शेरचन, कोषाध्यक्ष इन्द्रजीत छन्त्याल, सचिव दिपबहादुर छन्त्याल, प्रबन्धक विष्णुप्रसाद पौडेल लगायतका पदाधिकारीहरुको बैठकले प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो । म्याग्दीका सबै ६ वटै स्थानीय तहका ४५ वडाका सेयर सदस्य रहेको सहकारीले हरेक बर्ष विभिन्न सामाजिक तथा मानवीय सेवामा सहयोग गदैं आइरहेको छ ।

Leave a Reply