म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७, मच्छिमका बाल गायक अंकित छन्त्यालले ‘सुपर भ्वाइस अफ त्रिवेणी किड्स’को उपाधि जितेका छन्।
पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको चौथो संस्करणको फाइनलमा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभा माध्यमिक विद्यालयमा अध्ययनरत अंकित विजेता बनेका हुन्। फाइनलमा २० जना बालप्रतिभाबीच प्रतिस्पर्धा भएको थियो।
उपाधिसँगै अंकितले नगद एक लाख रुपैयाँ, गीत रेकर्डिङको अवसर र ट्रफी प्राप्त गरेका छन्। प्रतियोगितामा आविष्कार पुन प्रथम रनरअप, रहाना पहारी द्वितीय रनरअप, इभा बास्तोला तृतीय रनरअप र रिहान सुनार चौथो रनरअप घोषित भए।
प्रतियोगितामा ओभिया गुरुङले पब्लिक च्वाइस अवार्ड र दीक्षिका थापाले जुरी च्वाइस अवार्ड प्राप्त गरे। विभिन्न विधामा गरी १२ जना प्रतिस्पर्धी पुरस्कृत भएका थिए भने अन्य आठ जनालाई तीन महिनाको निःशुल्क संगीत छात्रवृत्ति प्रदान गरिएको आयोजकले जनाएको छ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभागृहमा आयोजित फाइनलमा प्रतिस्पर्धीले एकल र युगल गरी दुईवटा गीत प्रस्तुत गरेका थिए। प्रतियोगितामा प्रथम हुनेले एक लाख, प्रथम रनरअपले ५० हजार, द्वितीय रनरअपले २५ हजार, तृतीय रनरअपले १५ हजार र चौथो रनरअपले १५ हजार रुपैयाँसहित ट्रफी तथा गीत रेकर्डिङको अवसर प्राप्त गरेका छन्।
त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक नवराज बरालका अनुसार प्रतियोगिताको प्रारम्भिक चरणमा करिब २५० जना बालप्रतिभाको सहभागिता रहेको थियो। विभिन्न चरणको प्रतिस्पर्धाबाट २० जना फाइनलका लागि छनोट भएका थिए।
त्रिवेणी संगीत पुरस्कार अक्षयकोषको सहयोगार्थ आयोजित प्रतियोगिताको उद्देश्य नयाँ पुस्तामा संगीतप्रतिको रुचि बढाउनुका साथै बालप्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।
म्याग्दीका अंकितले प्रतिष्ठित बाल गायन प्रतियोगिताको उपाधि जितेपछि जिल्लाको सांगीतिक क्षेत्रमा खुसी छाएको छ। उनको सफलताले म्याग्दीको प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउन थप योगदान पुग्ने अपेक्षा गरिएको छ।









