---Advertisement---

पुन मगर समाज युकेद्वारा मगर समुदायको जातीय पहिचानमाथि हस्तक्षेप भएको भन्दै आपत्ति

On: November 29, 2026 9:00 PM
Follow Us:

पुन मगर समाज युकेले राष्ट्रिय दलित आयोगद्वारा सार्वजनिक गरिएको जात, थर तथा उपथरसम्बन्धी सूचीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति व्यक्त गरेको छ।

समाजका अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त सूचीमा मगर समुदायका ऐतिहासिक सात थर (थापा, राना, आले, पुन, बुढा, घर्ती र रोका) अन्तर्गतका ३८ भन्दा बढी थर तथा उपथरहरू समावेश गरिएको उल्लेख छ। मगर समुदायको स्थापित जातीय पहिचानसँग जोडिएका थर तथा उपथरहरू यसरी सूचीकृत गरिनु समुदायको जातीय पहिचानमाथिको प्रत्यक्ष हस्तक्षेप भएको समाजको ठहर छ।

विज्ञप्तिमा जातीय पहिचान समुदायको इतिहास, पुर्ख्यौली निरन्तरता, संस्कृति र सामूहिक अस्तित्वसँग जोडिएको विषय भएकाले यस्ता संवेदनशील निर्णय गर्दा ऐतिहासिक तथ्य र प्रमाणलाई आधार बनाउनुपर्नेमा जोड दिइएको छ। साथै, सम्बन्धित समुदायसँग अर्थपूर्ण परामर्श गरी स्वतन्त्र, पूर्वसूचित तथा जानकारीमूलक सहमति लिने प्रक्रिया अपनाउन समेत समाजले माग गरेको छ।

पुन मगर समाज युकेले नेपाल मगर संघको मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै राष्ट्रिय दलित आयोग र सम्बन्धित निकायलाई उक्त सूचीको निष्पक्ष पुनरावलोकन गर्न, वर्गीकरणका मापदण्ड स्पष्ट पार्न तथा ऐतिहासिक प्रमाण र परामर्शका आधारमा त्रुटिपूर्ण प्रविष्टिहरू तत्काल सच्याउन आग्रह गरेको छ।

अन्त्यमा, समाजले मगर, दलित तथा सम्पूर्ण आदिवासी जनजाति समुदायबीच आपसी सम्मान, सद्भाव र एकता कायम राख्दै यस विषयको समाधान तथ्य, संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत खोज्न सबै पक्षलाई हार्दिक अपिल गरेको छ।

Leave a Comment