म्याग्दीको मालिका गाउँपालिका–७, बिम माल्थानका बिर बहादुर नेपाली दिनभरी ज्यामीको काम गरेर घर फर्किए। ज्याला मजदुरीबाट परिवारको गुजरा चलाउँदै आएका बिरबहादुरलाई गाउँको शिरानमा रहेको झुपडी सबैभन्दा सुरक्षित लाग्थ्यो।

गएको असार २५ गते पहिरोको सुईको पाए पनि घरभित्रै सुरक्षित हुने भन्दै घरभित्रै लुक्दा मुसलधारे वर्षासँगै घरमाथिबाट खसेको पहिरोले पुर्दा चारैजनाको एकै चिहान भयो। नेपालीसँगै छिमेकी पूर्णबहादुर नेपालीले पहिरोको संकेत पाएपछि बाहिरबाट गएर घरभित्रै बसेको अवस्थामा श्रीमति गौदेवी र छोरा विषेश नेपालीको ज्यान गयो।

खुट्टा र ढाडमा चोट लागेर चिच्याइरहेका पूर्णबहादुर नेपालीलाई जीवितै उद्धार गरी हाल पोखरामा उपचार भइरहेको छ। पहिरोमा ज्यान गुमाएका ६ जनाकै मृतक बिरबहादुरका कान्छा बुबा चाउरे नेपालीले काजकिरिया गरेर विस्थापित जिवन विताइरहेका छन्।

बिर र पूर्णबहादुरले पहिरोबाट जोगिन घरभित्रै बसेको अवस्थामा छिमेकी लालमति विकले घरमाथिबाट ठूलो आवाजसहित पहिरोको संकेत पाएलगत्तै परिवारलाई लिएर भागेर ज्यान जोगाइन्। घरभित्र बस्दा पहिरोले पुरिने जोखिमले छिमेकीलाई भाग्न अनुरोध गदैं गाउँतिर लागेकी थिइन्।

बिमकै नौरूङका इन्द्रबहादुर केसीकी छोरी १६ बर्षिय छोरी एलिशाले भाईबहिनी सञ्जय र इस्मा केसीलाई पहिरोबाट जोगाएर पुनः लुगा ल्याउन जाँदा बेपत्ता भइन्। उनको खोजीकार्यका लागि दैनिक पहिरोस्थलमा जाने इन्द्रबहादुर भाबुक भएर फर्किन्छन्। छिमेकी धवलागिरी गाउँपालिका–६, मराङमा पहिरोबाट जोगिएर पुनः घरभित्र सुत्न जाँदा केही यूवा र बालबालिकाले ज्यान गुमाए।

पहिरो रोकिएको भन्दै घरभित्र सुत्न जाने क्रममा ज्यान गुमाएको मृतकका आफन्तको भनाइ छ। प्राकृतिक विपत्तीबाट जोगिन आपतकालिन अवस्थामा अपनाउनुपर्ने सावधानीका बारेमा पूर्व जानकारी नहुदाँ जिल्लामा बर्षेनी धेरैले ज्यान गुमाउनुपरेको छ।

पहिरोको संकेत पाएपछि तत्काल सुरक्षित स्थानमा जान ढिलाई गर्ने, ज्यान जोगिएपछि पुनः सामान, पैसा लिन घरभित्र प्रवेश गर्ने, कलिला बालबालिकालाई बर्षाबाट जोगाउन घरभित्रै बस्दाँ मानवीय क्षति भएको मालिका–७ का वडा अध्यक्ष रेशम बहादुर जुग्जालीले बताए।

‘पहिरोको संकेत पाउँदा समेत सुतिरहेको अवस्थामा ६ जनाले ज्यान गुमाउनुप¥यो,‘जनचेतनाको कमीले मानवीय क्षति भयो’ जुग्जालीले भने। उनले भूकम्पबाट जोगिने उपाय जस्तै सर्वसाधारणलाई बाढीपहिरोबाट जोगिन आपतका्लिन तयारी तथा सुरक्षित स्थानमा जादाँ अपनाउने विधिका बारेमा घर–घरमा सन्देश पु¥याउनुपर्ने बताए।

भिषण बर्षाको समयमा अवेरसम्म सुत्ने, खुल्ला ठाउँभन्दा घरभित्रै सुरक्षित हुन्छ भन्ने मानसिकता ग्रामिण क्षेत्रमा रहेको धवलागिरी–७ मराङका वडा अध्यक्ष राजाराम सुबेदीको भनाइ छ। ‘पहिरोबाट जोगिन सक्ने अवस्थामा पनि ज्यान गुमाउनुपरेको छ,‘पूर्व जानकारी हुदाँ समेत पहिरोस्थलबाट भाग्न नखोज्नु जनचेतनाको अभाव पनि प्रमुख कारण हो’ अध्यक्ष सुबेदीले भने।

मराङमा १९ जनाले पहिरोमा ज्यान गुमाएका छन् भने १२ जना घाईते र दुई जना अझै वेपत्ता छन्। म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको म्याग्दीमा आपत्कालिन उद्धार र सक्रियतामा विषेश ध्यान दिनुपर्ने बताए।

‘बाढीपहिरोमा ज्यान जोगाउन सकिने अवस्थामा पनि धेरैको ज्यान गुमेको छ,‘जनचेतनामुलक गतिविधिबाट पनि धेरैको ज्यान जोगिन्छ’ विपद् ब्यवस्थापन समितिका संयोजक समेत रहेका ढकालले भने। म्याग्दीमा बर्षेनी चट्याङ र बाढीपहिरोबाट जोगिन सामान्य सावधानीका बारेमा समेत पूर्व जानकारी नहुदाँ ज्यान गुमाउने गरेका छन्।

Leave a Reply