७ बर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे स्वदेश फर्किने भएका छन् । मोरङका कमल वस्तीको हत्याको आरोपमा जेलमा रहेका निउरेलाई आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिरेपछि शुक्रबार फर्किन लागेका हुन् ।

वैदेशिक रोजगारीको क्रममा २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे आफ्नै कम्पनीम कार्यरत सहकर्मीको कुटपिटबाट गम्भीर घाईते भएको अवस्थामा उपचारका लागि अस्पतालमा लैजाने क्रममा ज्यान गएपछि दोषी ठहर गरिएको थियो।

साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई जेलमा परेका थिए । बेनीअनलाइनमा पहिलोपटक निउरेका आमा हरिमायाँको रोद सहितको समाचार प्रकाशित भएपछि उनका लागि सहयोगी हातहरु सक्रिय भएका थिए ।

साउदी सरकारले तोकेको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि जेलमै रहेको निउरेलाई जेलमुक्त गर्न विभिन्न देशमा रहेका म्याग्देली आवद्ध रहेको मोना तथा अन्य संघसंस्थामार्फत ‘राजकुमार निउरे बचाउ अभियान’ सुरु भएको केही महिनामै आवश्यक पर्ने ब्लड मनी संकलनको प्रयास सफल भएपछि साउदी जेलमुक्त भएका हुन् ।

निउरे घर फिर्ती अभियानको संयोजन गरेको मोना अन्तराष्ट्रियमार्फत ब्लड मनी (क्षतीपूर्ति) का लागि १५ लाख सहयोग हस्तान्तरण गरेको थियो । जेलमुक्त भएर छोरा फर्किने समाचारले निउरेको परिवारमा खुसीयाली छाएको छ ।

विपन्न परिवारमा जन्मिएका निउरे धन कमाउने सपना देखेर विदेशिएको अवस्थामा जेलमा परेको करिब पाँचबर्षपछि मात्रै परिवारको सम्पर्कमा आएका छोरालाई स्वदेश ल्याउने प्रयास सफल भएको राजकुमारकी दिदी पुनम खत्रीले बताईन् । ‘भाई फर्किने खवरले खुसीको सिमा छैन्,‘आमाबुबाको बषौंदेखि बगेको आँसु बल्ल रोकिन्छ’ उनले भनिन् ।

उनले सहयोग संकलन अभियानमा सक्रिय सबैलाई धन्यवाद दिदैं संकलित सबै आर्थिकको जानकारी दिने बताईन् । मोना साउदीका बरिष्ठ उपाध्यक्ष सुवोद बरुवालले संस्थागत रुपमै विदाई समेत गरिने बताए । राजकुमारलाई आवश्यक पर्ने हवाई टिकट समेत मोना अन्तराष्ट्रियले मिलाएको थियो । मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

कसरी जेल परे निउरे ?
२०६८ साल जेठ २९ गते गल्फ म्यानपावरमार्फत लेबर कामका लागि श्रम स्वीकृति लिएर गएका साउदी गएका राजकुमारसँगै रहेका कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि जेलमा छन् ।

बि.श २०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेका थिए । राजकुमारका बारेमा मोरङकै रमेश वस्तकोटीले जेलमा परेको पाँच बर्षपछि मात्रै जिवित रहेको परिवारले जानकारी पाएका थिए । राजकुमारका बारेमा जानकारी दिने बस्ताकोटीकै पहलमा उनी रहेको जेल र सजाय सार्वजनिक भएको थियो ।

कसरी सम्भव भयो अभियान ?
जेलबाट सम्पर्कमा आएको एकबर्षसम्म धेरै प्रयास गर्दा पनि परिवारका सदस्यको प्रयास सफल भएन । पदयनीय अवस्थाका कारण आर्थिक जुटाउन पनि सम्भव थिएन । छोरा छुटाउन हारगुहार गर्दैगर्दा थाकिसकेको अवस्थामा समाचारमार्फत छोराको अवस्थाका बारेमा सार्वजनिक भएपछि अभियानले गति लियो ।

घाईते साथीको उपचारमा सघाउने प्रयासमा दुर्भाग्यबस अर्काको गल्तीको सजाय भोगेका राजकुमारलाई जेलबाट छुटाउन मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ विटालु, काठमाण्डौमा रहेका ब्यवसायी बलभद्र ढकाल, गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन निजी सचिव चन्द्रमणी सापकोटा र वडा दरबाङका अध्यक्ष सन्तनाथ सुबेदी, मोना साउदीमार्फत सक्रियता सुरु भएको थियो ।

राजकुमारका आफन्तलाई काठमाण्डौमाश्रम र परराष्ट्र मन्त्रालयबाट आवश्यक प्रक्रिया पुरामा ब्यवसायी ढकालले धेरै सहयोग गरेको निउरेकी दिदी पुनम खत्रीले बताईन् । त्यस्तै मृतकका आफन्तलाई भेट्न गाउँपालिका अध्यक्ष रोका सहितको टोली मोरङ नै पुगेको थियो ।

मृतकका परिवारले सुरुवातमा ६० लाख माग गरेपनि ब्लड मनी २० लाख उपलब्ध गराइएको थियो । मोनाले १५ र अन्य संघसंस्थामार्फत ५ लाख पीडितलाई उपलब्ध गराइएको थियो । मृतकका आफन्तलाई उपलब्ध गराएको रकमको बैंक विवरण, कानुनी प्रक्रिया र पीडित परिवारको सहमति सहितको कागजात साउदी पुगेपछि मात्रै फिर्ती प्रक्रिया सम्भब भएको थियो ।

ब्लड मनी (क्षतीपूर्ति) नै फिर्तीको आधार
साउदीमा ब्लड मनी (क्षतीपूर्ति) लाई पीडित पक्षको पहिलो अधिकारको रुपमा ब्याख्या गर्ने गरिन्छ । अदालतको सजायसँगै मृतकको परिवारलाई तोकिएको क्षर्तीपुर्ती उपलब्ध गराउन नसकेमा जीवनभर जेलमै बस्नुपर्छ । पीडित पक्षको सहमति अनुसारको रकम उपलब्ध गराएमा निउरेलाई जेलमुक्त गर्न सकिने साउदीको कानुन छ ।

मृत्युदण्डको सजाय पाएकाले समेत ब्लड मनी (क्षतीपूर्ति) उपलब्ध गराए सजाय मिनाह हुने प्रावधान रहेको साउदीमा निउरेलाई तोकिएको सजाय भुक्तान गरेपछि मृतकको परिवारको सहमति नै फिर्तीको प्रमुख आधार रहेको थियो । म्याग्दी जिल्लाबाट हत्या लगायत विभिन्न आरोपमा खाडीको जेलमा रहेकाहरु मध्ये पहिलोपटक सार्वजनिक आभियानमार्फत ब्लड मनी (क्षतीपूर्ति) उपलब्ध गराएर घर फिर्ती भएका निउरे नै पहिला हुन् ।

यो पनि पढ्नुहोस् :

  1. साउदीको जेलबाट दिच्यामका निउरेको याचना
  2. हरिमायाँले आँसु पुछ्दै भनिन्,‘क्षर्तीपूर्ती तिर्न नसक्दा छोरा साउदीको जेलमा छ’ (भिडियो)
  3. मोनाको पहलमा राजकुमार बचाउन ‘ब्लड मनी’ जुट्यो

Leave a Reply