मानव जगतको अन्तिम लक्ष्य भनेको प्रकृतीको नियमित प्रक्रियामा सहभागी हुदै आफनो समाजको चेतनाको स्थर बृद्धि गराउनु हो । समाजमा हुने विविध शैक्षिक, राजनैतिक, धार्मिक, आध्यात्मिक आदी गतिविधीको मुख्य लक्ष्य  समाजको चेतनाको स्थर उकास्दै अघी बढ्नु हो ।

आजको समयमा सामाजिक शल्यक्रियाको मुल केन्द्रबिन्दुमा राजनिती रहेको छ । राजनितिक आनदोलनको परिणाम नेपालले संविधान सभा मार्फत नेपालको संविधान-२०७२ पाएको छ । जसले नेपाललाई संघिय गणतान्त्रिक राज्य, धर्म निरपक्षता, सामाजिक न्यायको सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिता लगायत धेरै राजनितीक अधिकारको सुनिश्चितता गरेको छ । त्यस्तै ३२ वटा विविध मौलिक हक प्रदान गरेको छ ।

यी उपलब्धीहरुको संरक्षण गर्दै अब प्रत्येक स्थानीय तहहरुले संविधान कार्यवनयनका लागी मुल भुमिका निभाउनु पर्ने समय आएको छ । यसका लागी प्रत्येक स्थानीय तहहरुले सचेत समाजिक आन्दोलनको नेतृत्व गर्नु अबको आवश्यकता हो ।  यसका निम्ती रघुगंगा गाउँपालिकाले निम्न आनदोलनको नेतृत्व, संरक्षण र सम्बर्द्धन गर्न आवश्यक छ ।

  • बेरोजगारी समस्याः रघुगंगा गाउँपालिकामा बार्षिक ३५०-४०० जना सम्म रोजगार बजारमा प्रवेश गर्छन् । यि मध्य औसतमा १५-२० जना मात्र नेपाली रोजगार बजारमा प्रवेश गर्ने गरेका छन् । अन्य अधिकांश अदक्ष कामदारका रुपमा विद्यार्थी वा काम गर्ने भिजामा बैदेशिक रोजगारमा जान वाध्य छन् । यसमा पुरुष सङ्ख्या अधिक मात्रामा रहेका छन् । भने महिलाहरुको ठुलो हिस्सा रोजगार बजारमा प्रवेश गर्नु भन्दा अघिनै बालबिवहा गरी पारिवारिक बन्धनमा खुम्चन बाध्य छन् ।

सबै भन्दा पहिले गाउँपालिकाले रोजगारका लागी तयार भएका युवाहरुलाई ट्रयाकिङ् गर्ने भरपर्दो मेकानिजम तयार गर्नु पर्छ । साथै उनिहरुको अध्ययन क्षेत्रको पहिचान गरी त्यो क्षेत्रका लागी आवश्यक अन्य तालिम र गृहकार्य स्थानीय तहले गर्नु पर्दछ । बेरोजगार न्युनिकरणका लागी तिन तहमा गृहकार्य गर्न आवश्यक छ ।

  • रोजगारका लागी तयार जनशक्तीः यो समुहलाई पहिले गाउँपालिकाले पहिचान गरी आधारभुत प्राविधीक सिप सिकाउनु पर्दछ । त्यसलगतै स्थानीय तथा बाह्य बजारमा आवश्यक जनशक्तीको आधारमा युवाको रुचीलाई मध्यनजर गर्दै कम्तीमा एउटा सिपमा पोक्त बनाएर रोजगार बजारमा छिर्ने बातावरण बनाउनु पर्दछ ।
  • रोजगार बजार पस्न तम्तयार जनशक्तिः कक्षा ९-१२ अध्ययनरत जनशक्ति रोजगार बजारमा छिर्ने तयारीमा रहेका हुनछन् । गाउँपालिकाले शैक्षिक कार्यक्रमलाई परिमार्जित गरी प्रविधीको प्रयोग सिकाई अनिवार्य गराउने र अब विकास हुदै गएको रोजगार बजारको माग पुर्ति गर्न सक्ने किसिमको सिप सिकाउने । र १२ कक्षा सक्दा आवश्यक अनुसार रोजगार बजारमा प्रबेश गर्न सक्षम बनाउने ।
  • केहि समयको अन्तरालमा रोजगार बजारमा छिर्ने जनशक्तिः यो जनशक्ती भनेको १-८ अध्यनरत पुस्ता हो । यिनीहरुका लागी गाउँपालिकाको गन्तब्य र देशको दशक पछीको अवस्थाको आकलन गरी त्यही अनुसार पुर्वतयारी गर्नु पर्दछ । यसका लागी शिक्षा प्रणालीमा विविध सुधार/ संरचनागत पुनर्निमाण आवश्कता छ । जुन अधिकार नेपालको संविधानले स्थानीय सरकारलाई प्रदान गरेको छ । (यसको पुर्ण व्याख्या शिक्षा अंशमा प्रकाशित हुनेछ । )
  • बालविवहाः रघुगंगा गाउँपालिकाले तत्काल समाधानका लागी गृहकार्य गर्नुपर्ने सामाजिक कुरिती बालविवहा पनी हो । पुरुषमा भन्दा महिलाहरु बालविवहाका सिकार धेरै गुणा भैरहेका छन् । यसले सामाजिक संरचनामै खलवली मच्चाईरहेको छ । समाजको सकरात्मक परिवर्तनका धेरै सकरात्मक कदमहरुमा यस कुरितीले बाधा पुर्याईरहेको छ । यसका लागी गाउँपालिकाले समस्या निराकरणको लागी दियो योजना निर्माण गरी लागु गर्न पुर्ण प्रतिबद्ध हुनुपर्छ । यस समस्या न्युनिकरणका लागी निम्न कार्य गर्न आवश्यक छ ।
  • १६-२० बर्ष उमेर समुहका युवायुवतीको ट्रयाकिङ् – गाउँपालिकाले बालविवहा उन्मुलन कार्यदल तयार गरी यो उमेर समुहका युवायुवतीहरुको अवस्थाबारे नियमित अपडेट रहने संयन्त्र तयार गर्नु अबको आवश्यकता हो । यसमा पारिवारीक आर्थिक अवस्था, पारिवारिक पृष्ठभुमी लगायतका तथ्याङ्क संकलन गर्नु पर्दछ ।
  • अध्ययन खर्च तथा रोजगारीको सुनिश्चिता – महिलाहरु बालविवहाको मुख्य शिकार परिवारले आध्ययनका लागी आर्थिक श्रोतको अनिश्चितता बोध गर्नु हो । यसका लागी गाउँपालिकाले अध्यनका लागी उपयुक्त बातावरण तयार गर्नु पर्दछ र शैक्षिक प्रणालीलाई रोजगार सँग जोड्ने बातावरण तयार गर्नु पर्दछ । महिलाको लागी छात्रबृती, सहुलियत ऋण आदी कार्यक्रम तयार गर्न सकिन्छ । जुन गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्दछ ।
  • जनचेतना – विद्यालयको संयोजनमा विद्यार्थी र अभिभावकलाई नियमित बालविवहाको दिर्घकालिन असरको बारेमा जनचेतनाका कार्यक्रमहरु नियमित रुपमा आयोजनाको व्यवस्थापन गर्ने ।
  • कानुनी प्रकृयामा सहभागिता – बालबिवहा बिरुद्धको कानुनी प्रकृयामा बालविवहाको सुचना पाउनासाथ गाउँपालिकानै कानुनी उपचारका लागी अग्रसर हुने संयन्त्र तयार गर्ने । यसले प्रतक्ष्य बालविवहाका धेरै घटना न्युनिकरण गर्न मदत पुर्याउछ । साथै बालविवहाको सुचना दिनेलाई उचित पुरुस्कारको व्यस्था गर्ने ।
  • जेष्ठ नागरिक तथा फरक क्षेमताका मानिसको संरक्षण – हाम्रो जस्तो अविकसित मुलुकमा भुमण्डलीकरणको कारणले भावनात्मक रुपमा टुटाएको जेष्ठ नागरिकहरुलाई हो । नवपरिवारहरु नै वाध्यता र विवसताले गर्दा देश छोडिरहेका छन् । जसले गर्दा जेष्ठ नागरिकहरु मानसिक र भावनात्मक रुपमा एक्लिदै छन । यसले सामाजिक संरचनामा सुस्म तर ठुलो हलचल ल्याउन सुरु गरेको छ ।

गाउँपालिकाले जेष्ठ नागरिकलाई आर्थिक रुपमा बर्गिकरण गर्दै जेष्ठ नागरिक आवास संचालन गर्नु अबको आवश्यकता हो (बृद्धाआश्रम भन्न खोजेको होईन) । साथै फरक क्षेमताका (चलन चल्तीको भाषामा शारिरिक तथा मानसिक अपाङ्ग) का मानिसहरुको पनी तत्काल व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।

 

  • भाषा तथा संस्कृतीको जगेर्ना- रघुगंगा गाउँपालिका भाषा तथा संस्कृतिमा धनी पालिका हो । मगर, छन्त्याल, दलित, क्षेत्री, ब्राह्मण, नेवार यहाँका मुख्य जातजाती हुन । सबै जातजातीका आफ्ना मौलिक भाषा र संस्कृती छ । मगर समुदायको मगर भाषा, छन्त्यालहरुको छन्त्याल भाषा, नेवार तथा संस्कृत भाषा । तर पछिल्लो समय नेपाली भाषा र संस्कृतीको प्रभुत्वका कारण यी बिभिन्न भाषा र संस्कृतीहरू लोपउन्मुख हुदै छन् ।

अब गाउँपालिकाले विविध जातजातिको संस्कृती संरक्षणका लागी प्रोत्साहन गर्दै मातृभाषामा आधारभुत तहसम्म अध्ययन गर्न पाउने अधिकारको सुनिश्रितता गर्नु पर्दछ । र युवाहरुलाई आफ्नो भाषाको बिशेष सिकाई कक्षा नियमित संचालनमा ल्याउनु पर्दछ ।

  • आर्थिक पारदर्शिता – सामाजिक सुद्धिकरणको अर्को मुख्य पाटो आर्थिक पारदर्शिता हो । यसको सुरुवात गाउँपालिका मार्फत गर्नुपर्छ । गाउँपालिकाले आफ्नो आयव्यय तथा योजनाहरुको बिबरण स्पस्ट रुपमा जनतालाई देखाउने संरचना अबको आवश्यकता हो । जस्तै गाउँपालिका वा वडाले कुनै कार्यक्रम संचालन गर्यो । त्यो कार्यक्रमका लागी कुन शिर्षकमा कती खर्च भयो सबैले सार्बजनिक रुममा सरल तरिकाले हेर्न मिल्ने गरि वेवसाईट र मोवाईल एप्समा हेर्न मिल्ने बनाउनु पर्दछ । साथै विद्यालय, अस्पताल, युवा क्लब, आमा समुह, बन समिती, मन्दिर समिती लगायतका सार्बजनिक महत्वका स्थानको कम्तीमा चौमासिक आर्थिक गतिबिधी गाउँपालिकाले संकलन गरेर सार्बजनिक गर्ने संयन्त्र तयार गर्नु अबको आवश्यकता हो ।

त्यस्तै छुवाछुत, महिला सशक्तीकरण, लागुपदार्थ दुर्बेसनी बिरुद्ध जनचेतना, लैङ्गीक हिंसा बिरुद्ध जनचेतनआदी विविध कार्य गाउँपालिकाले सचेत र नियमित रुपमा संचानमा गर्नु अबको आजश्यकता र गाउँपालिकाको दाहित्व हो । यसलाई एक बृहत र सचेत आनदोलनका रुपमा गाउँपालिकाले नेतृत्व गरेर अघी बढ्न सक्ने हो भने हाम्रो समृद्ध रघुगंगा गाउँपालिकाको सपना मुर्तकरण हुन सुरु गर्नेछ ।

यो पनि पढ्नुहोस्:

1. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने . (पहिलो काम)- ईन्टरनेट बिस्तार

2. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… दोस्रो काम) तथ्याङ्क संकलन, बर्गिकरण तथा व्यवस्थापन

3.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (तेस्रो काम)- सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना

4.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… (चौथो काम)- सुचना व्यवस्थापन तथा सम्प्रेषण