म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीमा शनिबार आयोजित एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सयभन्दा बढी लाभान्वित भएका छन् ।

गाउँपालिकाको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा पाखापानी तथा आसपासका क्षेत्रबाट १ सय ५ पुरुष, १ सय २० महिला गरी २ सय २५ जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिए ।

आयुर्वेद चिकित्सालय नरदेवी काठमाण्डौमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा.बुद्धि प्रसाद पौडेलको नेतृत्वमा भएको शिविरमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीका बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण र पञ्चकर्म विधिबाट उपचारसमेत गरेको थियो ।

आयूर्वेदिक औषधीका बारेमा जानकारी अभाव हुदाँ सामान्य रोगलाई समेत पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गदैं आयूर्वेद औषधीको प्रयोग तथा विधिका बारेमा समेत विरामीलाई जानकारी गराइएको थियो ।शिविरको गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले उद्घाटन गदैं जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता अनुसार शिविरको आयोजना गरिएको बताईन् ।

गाउँपालिकाले आगामी दिनमा समेत शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनीमा कार्यरत डा सन्देश अधिकारी र कविराज निरीक्षक दामोदर शर्मा, महेन्द्र राखु आयुर्वेद औषधालयका कविराज निरिक्षक लक्ष्मण शर्मा चालिसे, वैद्य निरिक्षक प्रेम प्रसाद गौतम, वैद्य विनोद कुमार यादवले चेकजाँच गरेका थिए ।

 

Leave a Reply