बैंक तथा वित्तीय संस्थाले अचाक्लि रुपमा ब्याजदर वृद्धि गर्दा व्यवसायिक क्षेत्र चर्काे मारमा परेको भन्दै पोखराका व्यवसायी पनि आन्दोलनमा उत्रेका छन्। वित्तीय संस्थाको दवावले लगानीकर्ता हच्किन पुगेको व्यवसायीको भनाई छ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आव्हानमा भएको आन्दोलनमा प्रदेशका सबैजसो क्षेत्रका व्यवसायी सहभागि थिए। व्यवसायीले बैंक तथा वित्तीय संस्थाको चर्काे सेवामा सुधार नआए थप आन्दोलनमा उत्रने पनि चेतावनि दिएका छन्। सबैभन्दा बढी मार ब्याजदरमा चर्काे वृद्धिले पारेको उनीहरुले बताए। व्यवसायीले पहिलो चरणमा सामान्य आन्दोलन थालेको भएपनि अहिलेको संकट समाधान नभए थप आन्दोलन गर्ने पनि बताएका छन्।

व्यवसायीले अहिले बढाएको ब्याजदर तिर्न सक्ने अवस्था नरहेको बताएका छन्। आन्दोलनका क्रममा व्यवसायीले चालु पुँजी निर्देशिका खारेज गर, ब्याजदर चर्काे भो, गरिखान गाह्रो भो, बैंक तथा वित्तीय संस्थाको उच्च सेवाशुल्क खारेज गर, ब्याजमा थप्ने मनपरि प्रिमियम बन्द गर, बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार नबाचे अर्थतन्त्र बाच्दैन, लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका थिए।

महासंघको आव्हानमा भएको आन्दोलनमा पोखरा क्षेत्रका पर्यटन सहितका व्यवसायिक संस्थाका प्रतिनिधि सहभागि थिए। उनीहरुले नेपाल राष्ट्रबैंक पोखरा कार्यालय मार्फत गर्भनरलाई ज्ञापनपत्र पनि बुझाएका छन्।  व्यवसायीले बैंक तथा बित्तीय संस्थाको ब्याजदर वृद्धि सबैभन्दा बढी तनावको विषय बनेको बताए। पर्यटन व्यवसायी सन्तोष पोखरेलले भने।

व्यवसायीले अरु क्षेत्रमा जस्तै वित्तीय संस्थाले पर्यटनलाई पनि उत्तिकै प्राथमिकतामा पानुपर्छ भन्ने माग राखेको उनले बताए। ‘सबैभन्दा बढी समस्या ब्याजदर वृद्धि हो। अहिले किस्ता तिर्न सक्ने अवस्था छैन। वित्तीय संस्थाले ताकेता गरिरहेका छन,’ उनले भने, ‘सबैतिरको दवावमा व्यवसायी छन्। ब्याजदर मात्र वृद्धि गरिएन की व्यवसायीलाई अप्ठेरो पार्नेगरि नयाँनयाँ नियम लागु गरिएको छ।’ आन्दोलमा उत्रेका व्यवसायीको र्‍याली चिप्लेढुंगाबाट सुरु भई राष्ट्रबैंक पुगेर टुंगिएको थियो।

व्यवसायीका अनुसार पछिल्लो एकवर्ष अवधिमा बैंकले किस्ताको ब्याजदर झन्डै दोब्बरले बढाएका छन्। अधिकांश बाणिज्य बैंकले कर्जाको ब्याजदर १५ प्रतिशत भन्दा माथि पुर्‍याएको व्यवसायीको गुनासो छ। नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा व्यवसायमा सकस थपिएको बताए। ‘कोरोना भाइरस संक्रमणले उठ्न नपाउँदै व्यवसायीलाई वित्तीय संस्थाले सकस थपिदिएका छन।

अहिले कम्तिमा १५ प्रतिशतसम्म ब्याजदर वित्तीय संस्थाले व्यवसायीसँग असुलेका छन्। ऋण लिँदा सात प्रतिशत हाराहारीमा रहेको ब्याजदर अहिले दोब्बर बढी हुँदा पनि सरकारले रोक्ने प्रयास नगर्दा व्यवसायी अप्ठेरोमा रहेको उनले बताए। ‘हामीले ऋण नतिर्ने भनेका छैनौ। मात्र बढेको ब्याजदर घटाइदेउ भनेका हौ,’ उनले भने, ‘किस्ता तिर्न सक्ने अवस्था पनि अहिले व्यवसायीमा छैन। दोब्बरले ब्याजदर बढेपछि व्यवसायी तनावमा छन्।’

Leave a Reply